आज पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडौँ । आज संघीय संसद्अन्तर्गत पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने आर्थिक समितिको बैठकमा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा अर्थ मन्त्री वर्षमान पुनसँग छलफल हुनेछ । बैठकमा कार्य योजना उपसमितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा उदयपुर र हेटौँडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा बाल सुधार गृहमा रहेका बालबालिका र कैद भुक्तान गरिरहेका व्यक्तिको मानवअधिकारको अवस्था र केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल गरिने कार्यसूची छ ।

त्यस्तै साढे १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

साथै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक ११ बजे बस्नेछ । समितिको कार्यक्षेत्र र कार्ययोजनाबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

अधिक तरलताको व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ बजारबाट तान्दै राष्ट्र बैंक

काठमाडाै । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलताको व्यवस्थापन गर्न बिहीबार ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । उक्त उपकरण बिहीबार नै बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति चैत २२ गते निर्धारण भएको छ । राष्ट्र बैंकले यसअघि जारी गरेको निक्षेप संकलन उपकरणको सावाँ र ब्याज भुक्तानी हुने मितिकै दिन पुनः बोलकबोल गर्न लागेको हो ।

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस

काठमाडाै । आज २१ मार्च अर्थात् अन्र्तराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस । विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस देशैभर मनाईदै छ ।

संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरे पनि नेपालले भने सो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो ।

तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ । यसवर्ष पनि जातिय भेदभाव अन्त्यका लागि चेतना जगाउने उद्देश्यका साथ विभिन्न जिल्ला र ग्रामीण स्तरमा समेत विभिन्न कार्यक्रम आयोजना हुदैछन् ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

मध्यविन्दु । मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का ३० वर्षीय अनिल विकको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

त्यसैगरी, दुर्घटनामा परी गम्भीर घाइते भएका  मध्यविन्दु–११ निवासी २५ वर्षीय अजय ठकुरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छभने मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर विक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । मध्यविन्दु नगरपालिका–११ दमारमा नै बुधबार अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियोभने दुईजना घाइते भएका थिए । 

यस्ताे छ विहीबारकाे विदेशी मुद्राको विनिमय दर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज विहीबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार विहीबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ७६ पैसा र बिक्री दर १३२ रुपैया ३६ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा र बिक्री दर १४४ रुपैयाँ ५८ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १६९ रुपैयाँ ३२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४९ रुपैयाँ ०३ पैसा र बिक्री दर १४९ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५३ पैसा र बिक्री दर ८६ रुपैयाँ ९२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ०६ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ७५ पैसा र बिक्री दर ८ रुपैयाँ ७९ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४४ पैसा र बिक्री दर १८ रुपैयाँ ५३ पैसा रहेको छ ।

नेपाल प्रहरीका १४१ जना डिएसपीको सरुवा (सूचीसहित)

काठमाडाै‌ । नेपाल प्रहरीका १४१ जना प्रहरी नायव उपरीक्षक(डिएसपी)को सरुवा भएको छ।

प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

रुसमा मृत्यु भएका नेपालीकाे शव पहिचान गर्न आफन्तको ‘डिएनए’ परिक्षण गरिँदै

काठमाडौ । रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनीहरुका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइनदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुरलर सेवा विभागले सम्पर्कमा आएका सम्बन्धित व्यक्तिमध्ये मङ्गलबार सात जनाको र बुधबार एक जनाको ‘जेनेटिक टेस्ट’ गर्न नेपाल प्रहरी केन्द्रीय कार्यालयमा पठाएको जनाएको छ । विभागले खोमबहादुर भुजेल, विमलकुमार गजमेर, प्रेमप्रकाश न्यौपाने, भीमबहादुर विक, क्षितिज बस्नेत, सोमेश सुनुवार, विजयबहादुर थोकर र जीतेन्द्रबहादुर घिसिङका आफन्तको ‘डिएनए’ परीक्षणका लागि पठाएको हो ।

रुसी सेनामा भर्ना भएका नेपालीमध्ये पछिल्लो समय थप १५ जनाको मृत्यु भएको आशङ्का गरिएको छ । मृत्यु भएकामध्ये नेपालीको शव पहिचान र ‘जेनेटिक टेस्ट’ का लागि उहाँहरुका निकटस्थ पारिवारिक सदस्यको डिएनए नमुना पठाइन दिन रुस सरकारले मस्कोस्थित नेपाली राजदूतवासमार्फत आग्रह गरेको थियो ।

नेपाल प्रहरीबाट डिएनएको रिपोर्ट आएलगत्तै उक्त विवरण मस्को पठाइने विभागका महानिर्देशक प्रकाशमणि पौडेलले जानकारी दिए । उनका अनुसार विभागमा हालसम्म रुसी सेनामा भर्ना भएकामध्ये दुई सय ७१ नेपाली नागरिकका आफन्तले उद्धार तथा खोज यकीन गरिपाउँ भनेर आवेदन दिएका छन् । परराष्ट्र मन्त्रालयले यसअघि पटकपटक गरी रुसी सेनामा भर्ना भएकामध्ये १७ नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरिसकेको छ ।

आजकाे माैसम : यी स्थानमा पानी पर्ने

काठमाडाै । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल सबै प्रदेशमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

बिहीबार विहान कोशी , मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षा भइरहेको छ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात समेत भइरहेको छ ।

पेरिसले निःशुल्क कन्डम वितरण गरेर ओलम्पिक रोमान्स पूरा गर्ने

पेरिस । पेरिस ओलम्पिक आयोजकहरूले यस वर्ष प्रेमको सहरमा हुने खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीहरूलाई दुई लाख २० हजार कन्डम वितरण गर्ने भएका छन् । खेलाडीहरूले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न सक्ने भए पनि उनीहरू चाहे भने शारीरिक सम्पर्क गर्न स्वतन्त्र हुनेछन् । टोक्योमा कोभिड महामारीको समयमा भएको पछिल्लो ओलम्पिकमा यसको विपरीत खेलाडीहरूलाई ‘शारीरिक सम्पर्कबाट अनावश्यकरूपमा बच्न’ आग्रह गरिएको थियो ।

जुलाई २६ देखि अगस्ट ११ सम्म हुने खेलमा पुरुषका लागि दुई लाख र महिलाका लागि २० हजार कन्डम खेलग्राममा उपलब्ध गराइने पेरिस २०२४ मा प्राथमिक चिकित्सा तथा स्वास्थ्य सेवाका इन्चार्ज लरेन्ट डालार्डले बताए । “कति मानिसले कन्डमको प्रयोग गर्ने सम्भावना छ भन्ने हामीलाई थाहा छैन र स्पष्टरूपमा आवश्यक परेको खण्डमा हामी आवश्यकताअनुरूप हुनेछौँ”, उनले मङ्गलबार पत्रकारहरूसँग भने । सुरक्षित यौन सम्बन्धलाई प्रोत्साहित गर्न र तत्कालीन समयमा विश्वभर फैलिएको एचआइभी–एड्स महामारीका बारेमा चेतना जगाउन सन् १९८८ को सोल ओलम्पिकमा खेलाडीहरूलाई केही हजार कन्डम पहिलोपटक निःशुल्क वितरण गरिएको थियो । त्यस बेलादेखि यो प्रत्येक ओलम्पिक आयोजनाका लागि एउटा परम्परा बनिसकेको छ । पछिल्ला दशकहरूमा वितरित कन्डमको सङ्ख्या नाटकीयरूपमा बढेको छ । सन् १९९२ को बार्सिलोना ओलम्पिकमा ५० हजार, सन् २००८ मा बेइजिङमा एक लाख र सन् २०१२ मा लन्डनमा एक लाख ५० हजार कन्डम वितरण गरिएको थियो ।

सन् २०१६ मा रियो ओलम्पिक खेललाई अहिलेसम्मको सबैभन्दा कामोत्तेजक खेल मानिएको छ । उक्त प्रतियोगितामा चार लाख ५० हजार कन्डम वितरण गरिएको थियो । यो प्रत्येक खेलाडीका लागि ४२ बराबर थियो । डालार्डले फ्रान्समा यौन सञ्चारित रोगहरू बढ्दै गएको उल्लेख गर्दै गाउँमा पोस्टरहरूले खेलाडीहरूलाई खतराका साथै सहमतिको मुद्दाबारे शिक्षित गर्न खोज्ने बताए । युरोपेली सङ्घ (इयु) को स्वास्थ्य एजेन्सीले गत वर्षको तुलनामा सम्पूर्ण महादेशमा यौन सञ्चारित सङ्क्रमण (एसटिआई) मा ‘समस्याजनक वृद्धि’ का बारेमा मार्च ७ मा चेतावनी दिएको थियो । युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (इसिडिसी) का अनुसार सन् २०२२ मा इयुमा गोनोरियाको मामिला ४८ प्रतिशत, सिफलिसमा ३४ प्रतिशत र क्ल्यामिडियामा १६ प्रतिशतले वृद्धि भएको थियो ।

शुल्क निर्धारण एवं छात्रवृत्ति कार्यान्वयन गराउन शिक्षा मन्त्रालयले गर्‍यो स्थानीय तहलाई अनुरोध

काठमाडाै‌ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयमा शुल्क निर्धारण एवं छात्रवृत्ति कार्यान्वयन गराउन स्थानीय तहहरूलाई अनुरोध गरेको छ ।
शिक्षा मन्त्रालयले बुधबार १० बुँदे अनुरोध पत्र सार्वजनिक गर्दै शुल्क निर्धारण एवं छात्रवृत्ति कार्यान्वयन कडाइका साथ कार्यान्वयन गराउन स्थानीय तहहरूलाई अनुरोध गरेको हो ।

यस्ताे छ १० बुँदे अनुराेध पत्र :

१. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) मा गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार अन्तर्गत खण्ड (ज) आधारभूत र माध्यमिक शिक्षा तर्फ बुँदा नं १६ मा निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन सम्वन्धमा व्यवस्था भएकोले सोही बमोजिम स्थानीय तहबाट स्वीकृत कानून (मापदण्ड वा निर्देशिका वा कार्यविधि वा अन्य) समेतका आधारमा सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका वि‌द्यालयमा शुल्क निर्धारण एवम् छात्रबृत्ति वितरण सम्वन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न गराउनु हुन । 

२. अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धी नियमावली, २०७७ को नियम ५ मा उल्लेख भए बमोजिम सार्वजनिक वि‌द्यालयले माध्यमिक तहसम्म विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक बापत कुनै पनि शीर्षकमा शुल्क लिन नपाउने व्यवस्थालाई सोही बमोजिम कार्यान्वयन गर्ने गराउने ब्यवस्था हुन ।  

३. अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धी ऐन, २०७५ को दफा २७ को उपदफा (३) मा उल्लेख भए बमोजिम प्रत्येक निजी लगानीका विद्यालय र सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित वि‌द्यालयले प्रारम्भिक बालबिकास तथा शिक्षादेखि बाह्र कक्षासम्मका पाँच सय जनासम्म विद्यार्थी भएका वि‌द्यालयले कम्तिमा दश प्रतिशत, पाँच सयदेखि आठ सय जनासम्म विद्यार्थी भएका वि‌द्यालयले कम्तिमा बाह प्रतिशत र आठ सयभन्दा बढी विद्यार्थी सङ्ख्या भएका वि‌द्यालयले कम्तीमा पन्ध्र प्रतिशत वि‌द्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्न स्थान आरक्षण गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने गराउने ब्यवस्था हुन ।

४. अनिवार्य तथा निःशुल्क शिक्षा सम्वन्धी नियमावली, २०७७ को नियम ११ र १२ मा उल्लेख भए अनुसार स्थानीय तहका अध्यक्ष वा प्रमुखको अध्यतामा छात्रवृत्ति व्यवस्थापन समिति गठन र तोकिए बमोजिमको प्रक्रिया पूरा गरी नियमानुसार प्रदान गरिने छात्रवृत्ति र विशेष व्यवस्था तथा अवसर प्राप्त गर्ने बालबालिकाको पहिचान, छनौट तथा वितरणको उचित व्यवस्थापन र सोको अनुगमन गर्ने गराउने व्यवस्था हुन । 

५. शिक्षा नियमावली, २०५९ को नियम १४७ को उपनियम २ सँग सम्वन्धित अनुसूची २२ को खण्ड (ख) ले तोकेका शुल्क निर्धारणका आधारहरुको प्रयोग गरी नियम १४७ को उपनियम (२), (३), (४) र (५) अनुसार निजी लगानीका (संस्थागत) वि‌द्यालयको शुल्क निर्धारण गर्ने गराउने व्यवस्था हुन ।

६. निजी लगानीका (संस्थागत) वि‌द्यालयहरुले शिक्षा नियमावली २०५९ को नियम १४६ ले तोकेका शीर्षक (मासिक पढाइ, वार्षिक, अर्ना, परीक्षा, कम्प्यूटर, स्थानान्तरण प्रमाण पत्र, विशेक्ष प्रशिक्षण, आवाशु परिवहन र भोजन शुल्क) बाहेक शुल्क लिन नपाइने हुँदा नियम १४६ का साथै संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ को दफा १४.१ अनुसार शुल्कको अधिकतम सीमा, कायम गरी तोकिए बमोजिम शुल्क निर्धारण गर्ने गराउने ब्यवस्था कार्यान्वयन हुन ।

७. वि‌द्यालयहरुले आफ्ना विध्यार्थीहरुलाई विध्‌यालय परिसर भित्रै वा विद्यालयले तोकेको स्थान/पसलबाट पुस्तक, स्टेशनरी, पोशाक लगायतका सामग्री खरिद गर्न अनिवार्य गर्ने गरेको जनगुनासो प्राप्त हुन आएकोले यस खालको कार्य अविलम्व बन्द गरी अभिभावकलाई खुला बजारबाट खरिद गर्ने अवसर प्रदान गर्ने गराउने ब्यवस्थाका लागि आवश्यक सहजीकरण हुन ।

८. विद्यालयहरुले प्रदान गर्ने छात्रवृत्ति र संस्थागत विद्यालयको शुल्क सम्बन्धी विवरण तथा सोको कार्र्यान्वयनको अवस्था बारे स्थानीय स्तरमा सम्बन्धित गाउँ तथा नगरपालिकाबाट र जिल्ला स्तरमा जिल्ला समन्वय समितिबाट अनुगमनको व्यवस्था हुन ।  

९. शुल्क र छात्रवृत्तिको विवरण सम्बन्धित विद्यालय र गाउँ तथा नगरपालिकाबाट वेबसाइट वा अरू माध्यमबाट सार्वजनिक गर्न हुन । 

१०. उल्लिखित विषयलाई विद्यालयको मूल्याङ्कनको आधार बनाउन हुन ।

१० दिनका लागि प्रतिनिधिसभा बैठक स्थगित, विदेश जाँदै सभामुखको टोली

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १० दिनका लागि स्थगित भएको छ। उनीहरू भोलि अर्थात चैत ८ गते त्यसतर्फ प्रस्थान गर्नेछन् भने चैत १६ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

सभामुखसहित दलका प्रमुख सचेतकहरू अन्तरव्यवस्थापिका संघ (आइपियू) को बैठकमा  सहभागी हुन स्वीट्जरल्याण्ड जाने भएपछि बैठक १० दिनका लागि स्थगित गरिएको हो।

सभामुख देवराज घिमिरे सहितको टोली स्वीट्जरल्याण्डको जेनेभा जाने कार्यक्रमका कारण झन्डै एक साता बढी संसद् बैठक स्थगित भएको हो । आगामी चैत १० गतेदेखि १४ गतेसम्म जेनेभामा हुने अन्तर व्यवस्थापिका संघ (आइपीयू) को १४८ औँ सम्मेलनमा भाग लिन सभामुख घिमिरेसहित १० जनाको टोली त्यसतर्फ प्रस्थान गर्दैछन् । 

सभामुखको भ्रमण टोलीमा संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रियसभा सदस्य गंगा बेल्बासे, संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव र सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई भ्रमण टोलीमा रहेका छन् । 

 सभामखुसहित प्रमुख दलका प्रमुख सचेतकहरू पनि स्वीट्जरल्याण्ड जाने भएपछि संसद बैठक चैत १८ गतेसम्मका लागि स्थगित भएको हो।

नेप्सेमा सामान्य अंकको गिरावट, ३ अर्ब ४९ करोडको कारोबार

काठमाडौं । शेयर बजार नेपाल स्टक एक्स्चेञ्‍ज (नेप्से)मा साताको कारोबारको चौथो दिन बुधबार पनि गिरावट आएको छ। यस दिन नेप्से परिसूचक ३.३४ अंक घटेर २०६३.९५ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३६ अंक र फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक बढेको छ।

यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ६३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको ६० हजार १६ पटकको कारोबारमा ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको ९४ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

घटेको बजारमा पनि ५ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। जसमध्ये गुराँस फाइनान्स लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको साढे १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको करिब १२ करोडको शेयर किनबेच भएको छ।

कसैको दबाब र प्रभावमा नपरी काम गर्न नवनियुक्त सिडिओलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा भएका अधिकारीलाई  नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानूनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा बुधबार बसेकाे बैठकमा गृहमन्त्रीले गृह मन्त्रालयमा केही दिनअघि सरुवा भएका प्रमुख जिल्ला अधिकारीलगायतका कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा चैत्र ६ गते उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा भएको थियो । जिम्मेवारी सम्हाल्न दिनुअघि उनीहरूलाई गृहमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

उपप्रधान एवं गृहमन्त्रीको निर्देशनः नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानूनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्नुस्। सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्छ। आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्वको सञ्जाल तोड्नुस्, तिनका सहयोगी बन्ने होइन। सेवा प्रवाहमा तत्काल सुधार, गुण्डागर्दी, तस्करी, राजस्व चुवावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिबृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्नुस्।

राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुस्। आज्ञापालक होइन, सिर्जनशिल प्रशासक बन्नुस्। नागरिकबाट मानसम्मान खोज्ने होइन, उनीहरुलाई गर्नुस्। औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्नुस्। जिम्मेवारी दिँदा नै ‘सक्दिन’ भन्नुस्, लिएपछि नभाग्नुस्। अध्यागमनका समस्या समाधानका योजना ल्याउनुस्, हरसंभव सहयोग हुन्छ। त्यहाँ सेवाग्राहीले सास्ती भोग्नु नपरोस्।

गृहसचिवको निर्देशन: सुरक्षा र सेवा प्रवाहमा तत्कालै सुधार हुनुपर्छ। स्थानीय सरकारसँग समन्वय गर्नुस्। समयमै निर्णय र रिपोर्टिङ गर्नुस्। गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभूवन विमानस्थल, अध्यागमन कार्यलय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा चैत्र ६ गते उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गरेको थियो। जिम्मेवारी सम्हाल्न दिनुअघि उनीहरुलाई गृहमन्त्रीले निर्देशन दिनुभएको हो।

आयरल्याण्ड वुल्भ्स र भारतमा हुने टी-२० सिरिजका लागि नेपाल क्रिकेट टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले घरेलु मैदानमा आयोजना हुने आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने फ्रेन्डसिप कपका लागि आज नेपाली टोली घोषणा गरेको छ ।
रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । छनोट हुने नेपाली टोलिमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द छन् ।
नेपालले आयरल्यान्डसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही चैत १२ र १३ गते ट्वान्टी–ट्वान्टी खेल खेल्नेछ । त्यसपछि नेपाली टोली भारत जानेछ । भारतमा नेपालले पहिलो खेल यही चैत्र १८ गुजरातसँग खेल्नेछ भने दोस्रो खेल चैत २० गते बरोडासँग खेल्नेछ ।

त्यस्तै नेपालले आफ्नो तेस्रो खेल चैत २१ गते गुजरातसँग खेल्नेछ । उक्त सिरिजको अन्तिम खेल नेपालले चैत २३ गते बरोडासँग खेल्नेछ । लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल भने चैत २५ गते हुनेछ ।

सहकर्मीमाथि दुर्व्यवहारको आरोपमा राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त

काठमाडौ । नेपाल राष्ट्र बैंककी एक महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि  बैंककै टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यलाई बर्खास्त गरिएको छ । एक उच्च तहकी महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि राष्ट्र बैंक मानव संशाधन विभागले बर्खास्ती  गरेको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

बैंकको निर्णयमा राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी आचार्यलाई मंगलबारदेखि सेवाबाट हटाइएको उल्लेख छ।

गत पुस २७ गते राष्ट्र बैंकले भक्तपुरको नगरकोटस्थित एक होटलमा तनाव व्यवस्थापनसम्बन्धी दुईदिने आवासीय कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्याक्रममा आचार्यले महिला कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए । तालिम सकिएपछि आयोजित रात्रिभोजमा संलग्न भइरहेका बेला आचार्यले दौडिएर ती उच्चपदस्थ महिला कर्मचारीलाई पछाडिबाट अंगालो हालेका थिए।  

आचार्यले आफूमाथि दुर्व्यवहार गरेको भन्दै पीडितले निवेदन दिएपछि घटनाबारे राष्ट्र बैंक आफैँले छानबिन गरिरहेको थियो ।