आज गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवस

सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायक, पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपाली कांग्रेस तथा अन्य विभिन्न संघसंस्थाले उनको स्मृतिमा देशका विभिन्न स्थानमा र विदेशमा रहेका नेपालीहरुले पनि विधिध कार्यक्रम गरी मनाउदै छन् । निडर र दुरदर्शि नेताका रूपमा चिनिने ‘गिरिजाबाबु’ को २०६६ साल चैत ७ गते निधन भएको थियो । वि.स. १९८१ मा कोइरालाको जन्म भएको थियो ।

विराटनगर जुट मिलमा मजदूरको रुपमा रहेर त्यहींबाट नेपाली राजनीतिको नेतृत्व गरेका गिरिजाप्रसादको नेतृत्वमै २०६२–६३ को आन्दोलन सफल भएको थियो । १० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँद्धे सम्झौता र दोस्रो जनआन्दोलनको नेतृत्व गिरिजाबाबुले नै गरेका थिए । संवैधानिक राजतन्त्रको पक्षमा रहेको काँग्रेस पार्टीलाई उनी पार्टी सभापति हुँदा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजान सफल भएका थिए ।

श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या

विराटनगर । माेरङको बेलबारी – १ मा श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्महत्या गरेका छन् । बेलबारी १ मा ५० वर्षीय बम बहादुर लिम्बुले ४५ बर्सिया श्रीमती गीता लिम्बुको हत्या गरेका हुन् ।

घरयासी विवाद हुँदा श्रीमतीको हत्या गरेकाे प्रहरीकाे प्राराम्भिक अनुसन्धानमा खुलेकाे छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।

मनकामना केबलकार एक दिनका लागि बन्द

काठमाडौं । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ ।

नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले आज एक दिनका लागि सेवा बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने र बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

गोरखाको सहिद लखन गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी वि.सं. २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो।

मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।

ताप्लेजुङको मेरिङदेनमा आगलागी

ताप्लेजुङ । ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुईवटा घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् ।

घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन् । जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सातवटा घर जलेका उक्त कार्यालयले जनाएको छ ।

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज बुधबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार बुधबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ५६ पैसा र बिक्री दर १३३ रुपैया १६ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४३ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६९ रुपैयाँ ९८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४९ रुपैयाँ २७ पैसा र बिक्री दर १४९ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३६ पैसा र बिक्री दर ८६ रुपैयाँ ७५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ १४ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ८१ पैसा र बिक्री दर ८ रुपैयाँ ८५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

मर्यादितरुपमा होली मनाउन काठमाडौ प्रशासनको अनुरोध

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागू पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले मगलबार सूचना जारी गर्दै होलीमा अमर्यादित, उच्छृङ्खल अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी गराएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले चाडपर्वका अवसरमा शान्तिसुरक्षामा असर पर्नेगरी सार्वजनिक स्थानमा होहल्ला एवं झै–झगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छाविपरीत रङ एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबर्जस्ती रङ दल्ने कार्य नगर्न सबैमा अनुरोध गरेको छ ।
विगतका तुलनामा फागुपूर्णिमामा अनावश्यक तडक भडकसहितका विभिन्न खर्चिला/भड्किला कार्यक्रम हुने गरेको उल्लेख गर्दै काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने विषयलाई व्यवस्थित र नियमन गरेकातर्फ ध्यानाकर्षण गराएका छन्।

दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बस्नेछ ।

प्रतिनिधि सभा बैठकमा शून्य समय, विशेष समय, मन्त्रालयगत प्रश्नोत्तर, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ. एस. ए.) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । अन्य विधायीकी कार्य, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव माथिको छलफलको क्रममा उठेका प्रश्नको अर्थमन्त्रीबाट जवाफ दिने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा उठेका विषयवस्तु समावेश भएको प्रतिवेदन सम्बन्धित निकाय पठाउन निर्देश गर्नेलगायतका सम्भावित कार्यसूची छन् ।

राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द्व अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।

आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुनेछ भने अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्ताव गर्ने र प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।

अर्थमन्त्री पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने बैठकको सम्भावित कार्यसूची रहेको छ ।

२२ जना सहसचिव र उपसचिवको सरुवा

काठमाडाै । गृह मन्त्रालयले मंगलबार २२ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । गृहमन्त्रालयले मंगलबार विभिन्न जिल्लामा २२ जना सहसचिव र उपसचिवको सरुवा गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवजासम्बन्धि निर्णय गरेका हुन् । निष्पक्ष रुपमा सरुवा गरिएको मन्त्रालयको दाबी छ ।

हालै गृहमा सरुवा भएका सहसचिवहरुलाई विभिन्न जिल्लामा सिडिओका रुपमा खटाइएको छ । धनुषामा रामुराज कडरिया, खोटाङमा शिवकुमार कार्की, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मिना अर्याल र ताप्लेजुङमा रविन्द्र आचार्यलाई सिडिओमा खटाइएको छ। त्यस्तै, संखुवासभामा सहसचिव धुव्रबहादुर खड्का, अर्घाखाँचीमा सूर्यबहादुर खत्री, लमजुङमा बुद्ध बहादुर गुरुङ र ओखलढुंगामा नारायण ढकाललाई पठाइएको छ । रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटामा ऋषिराज आचार्य सिडिओ भएका छन् । सरुवाअघि कार्यविधि संशोधन गरिएको छ ।

त्यस्तै, अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव कोषहरी निरौलालाई दिइएको छ भने नरबहादुर थापालाई विमानस्थल अध्यागमनको प्रमुख बनाइएको छ ।

आजकाे माैसम : यी स्थानमा वर्षाकाे सम्भावना

काठमाडाै । हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाे छ । जसकाे प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार आज दिउँसाे देशका केही भू-भागमा आज वर्षाको सम्भावना रहको छ । त्यस्तै कोशी र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।

दिउँसो कोशी ,मधेश, वाग्मती र गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, मधेश र वाग्मती प्रदेशको थोरै स्थानमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौंमा पहिलो पटक अधिकृत समाज गठन

काठमाडौं । गत साता दक्षिणकालीमा आयोजित अधिकृत समाज काठमाडौंको प्रथम साधारण सभाबाट गोबिन्दराज आचार्यको अध्यक्षतामा कार्यसमिति गठन भएको छ ।

आजका मितिसम्म काठमाडौं जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको साझा संस्था नभएको र सोको कारण अन्तर कार्यालय समन्वयमा समस्या देखिएकोले जिल्ला भित्रका कार्यालयबीच आपसी सम्बन्ध र समन्वय भई कार्य सम्पादन प्रभावकारी हुने महसुस गरि काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीकै पहलमा सो समाज गठन गरिएको हो ।

समाजका संरक्षक काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको सो कार्यक्रममा एक सय जना भन्दा बढि अधिकृत कर्मचारीहरुको सहभागिता थियो

हाल जिल्ला भित्रका अधिकृतहरु संगठित रहेको समाजमा भविष्यमा अधिकृत भन्दा तलका सम्पूर्ण कर्मचारी समेत जोडेर बृहत कर्मचारी समाज बनाउने समेत परिकल्पना गरिएको संस्थाका उपाध्यक्ष नारायण दत्त भण्डारीले बताए ।
सोही अवसरमा गठन भएको सो समाजको तदर्थ समितिको पदाधिकारीहरुमा अध्यक्ष गोबिन्दराज आचार्य, आन्तरिक राजश्व कार्यालय, नयाँबानेश्वर, उपाध्यक्ष नाराणय दत्त भण्डारी, सडक डिभिजन कार्यालय, काठमाडौं, उपाध्यक्ष नमुना कार्की दाहाल, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहल सचिव दिपक कुमार के.सी., दक्षिणकाली नगरपालिका, काठमाडौं, सह–सचिव सुजन कुमारी बर्देवा, जिल्ला प्रशासन कार्यालय, काठमाडौं कोषाध्यक्ष लता महत, नागार्जुन नगरपालिका, काठमाडौं सदस्य भूमिराज भूसाल, को.ले.नि.का., सुन्धारा, सदस्य गीता पौडेल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, काठमाडौं, सदस्य तिलक राज बोगटी, आन्तरिक राजश्व कार्यालय, ठमेल, सदस्य कुल प्रसाद पराजुली, श्री प्रकाश दुलाल, नापी कार्यालय, मनमैजु, सदस्य अनुपम पौडेल, जिल्ला प्रशासन कार्यालय, काठमाडौ सदस्य खगेन्द्र सिंह धामी, सदस्य डुरदेव बराल, गोश्वरा हुलाक कार्यालय, डिल्लीबजार सदस्य शिवलाल गैहे, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज लगायतका छन् ।

दक्षिणकालीमा एक पिकनिक कार्यक्रमको समेत आयोजना गरि उक्त समिति गठन गरेको हो ।

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडाै ‌। सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।

सानिमा बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठ र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट दाबी प्रमुख श्री नवराज पराजुलीज्यूले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।

दुर्घटनामा परेका टेक बहादुर मगरले सानिमा बैंकको एकान्तकुना शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए ।

सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगहरुको उपचार बीमा, रु. १० हजारसम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा, रु. ५० हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

पाँच दलीय गठबन्धनको साझा संकल्प के-के छ ? (पूर्णपाठ)

काठमाडौँ । सत्तारुढ पाँच राजनीतिक दलले साझा संकल्प सार्वजनिक गरेको छ ।

मङ्गलबार सिंहदरबारमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै गठबन्धनले यस्तो दाबी गरेको हो । “अर्थतन्त्र सुधार, सुशासनदेखि नागरिकमा देखिएको निराशा अन्त्य गर्नेगरी काम गर्ने,” कार्यक्रम सार्वजनिक गर्दै लेखन समितिका संयोजक विष्णुप्रसाद पौडेलले भने ।

‘निराशा चिर्दै आशा जगाउँदै’ भनेर सुरू गरिएको प्रस्तावनामा समाजमा प्रकट नैराश्यता आक्रोश र नकारात्मक सोचमा परिवर्तन गरी सबै संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धि रक्षा गर्ने उल्लेख छ । संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा प्रकट विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहिनता एवम् व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने उल्लेख गरिएको छ ।

प्रसाईंलाई ८४ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति अर्याल पक्राउ

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ८४ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति ४४ वर्षीय केदार अर्याल पक्राउ परेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनी काठमाडौं–३ महाराजगन्ज (हाल : कागेश्वरी मनोहरा–१० पेप्सीकोला)का हुन् । अर्याललाई काठमाडौं प्रहरी अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार बिहान ९ बजे राजधानीकै सिनामंगल गोल्डेन गेटबाट पक्राउ गरिएको हो ।

उनी पक्राउ पर्नुको कारण भने प्रसाईंको उजुरी होइन । अर्याल पम्मी देवानको हजुरआमाको झापा दमकमा भएको तीन बिगा जग्गा ग्लोबल आईएमई बैंकमा रहेकोमा बैंककै प्रतिनिधि बताएर प्रलोभनमा पार्दै कारोबार गरेकोमा ५० लाख बैंकिङ कसुर मुद्धामा फरार थिए । सो मुद्धामा पक्राउ परेका हुन् ।

यसअघि उनले मेडिकल व्यवसायी प्रसाईंलाई ठगेका थिए । उनीसँगको लेनदेन मुद्दामा झापा जिल्ला अदालतबाट ८४ लाख बिगो र २ दुई वर्ष कैदको फैसला भएको छ । अर्यालले अन्यलाई पनि ठगी गरेको हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको प्रहरी जनाउँछ ।

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा र संसदीय छानबिनको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सकिएसँगै फेरि संसद अवरोध उठेर अवरोध गरेको छ ।

गृहमन्त्री रवि लामिछानेको विषयमा सहकारीको रकम अपलचन गरेको विषयमा प्रधानमन्त्रीले दिएको उत्तर चित्त नबुझेको भन्दै कांग्रेसले अवरोध गरेको हो ।

नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामिछाने सहकारी प्रकरणमा संलग्न भएको प्रमाण नभएको भनेको प्रति आपत्ति जनाउदै संसदीय समिति गठन गर्ने माग गरेका छन् ।

‘प्रधानमन्त्रीले रविविरुद्ध कुनै प्रमाण छैन भन्नु भएको छ, हामी पर्याप्त प्रमाण छ अत्यन्त ज्यादा प्रमाण छ भनिरहेका छौं । यसको छिनोफानो कसले गर्ने त ? संसदको अभ्यासमा भएको, संसदीय मान्यतामा स्थापित भएको यही सदन भित्र छानबिन समिति गठन गरौं ।’

‘प्रधानमन्त्रीले कांग्रेसले संसदीय काम प्रभावित गरेको आरोप लगाउनु भयो । संसदको कामलाई अवरुद्ध गरेका छैनौँ, यसरी गम्भीरतापूर्क कुरा उठाउँदा सरकारले सुनेन भने सरकार आफैँले संसद् अवरुद्ध गरेको मानिने छ,’उनले भने, ‘संसदभित्र निष्पक्ष छानबिनको वातावरण सुनिश्चित गरौँ ।’

निष्पक्ष छानबिनको वातावरण भनेर कांग्रेसले गृहमन्त्रीले राजीनामा दिनुपर्ने शर्त राखेको छ । यसअघि संसदीय छानबिन हुँदा आरोप लागेका मन्त्रीले राजीनामा गरेका थिए । लामिछानेबारे छानबिनको माग गर्दै कांग्रेसले संसद्मा नियमित रुपमा आवाज उठाइरहेको छ ।

नेप्सेमा सामान्य अंकाे गिरावटसंगै, कारोबार रकम भने बढ्यो

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकले घटेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ६.२४ अंक घटेर २०६७.२९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ६३ हजार ८०१ पटकको कारोबारमा ३ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ बराबरको ९४ लाख ७८ हजार कित्ता शेयर कारोबार भएको छ।

नेप्सेका अनुसार आज ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बुद्धभुमी नेपाल हाइड्रोपावर लिमिटेड, सर्वोतम सिमेन्ट लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् ।    

आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.०८ प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार शिभम् सिमेन्ट लिमिटेडको भएको छ । आज यस कम्पनीको २५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।