बस दुर्घटना ११ विद्यार्थीको मृत्यु, ४२ जना घाइते

एजेन्सी । केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण चिप्लिएर व्यस्त राजमार्गमा ट्रकसँग ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै ४२ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

केन्याको राजधानी नैरोबीबाट ३६० किलोमिटर टाढा रहेको माउन्गुमा स्थानीय समयअनुसार सोमबार साँझ ५ः५० बजे केन्याटा युनिभर्सिटीका विद्यार्थीहरू तटीय शहर मोम्बासातर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जनाको घटनास्थलमा नै मृत्यु भएको र एक जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । भारी वर्षा भइरहेको बेला विश्वविद्यालयको बसका चालकले अन्य सवारी साधनलाई उछिन्दा ५८ जना सवार बस सडकको दाहिनेतिर चिप्लिएको र ट्रकसँग ठोक्किएको थियो ।”

अनलाइन जुवा खेलाउने गरेका ४ जना पक्राउ

काठमाडौं ।विभिन्न एप्लीकेशनमार्फत् अनलाई जुवा खेलाउने चार जनालाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। 

पक्राउ परेकाहरूमा काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० की २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–८ की २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडाकी २३ वर्षीया पूर्णिमा राई र नुवाकोटको शिवपुरी गाउँपालिका–१ का २८ वर्षीय तेम्बा लामा रहेका प्रहरीले जानकारी दिएको छ।

उनीहरूले क्यासएप र फायरक्रिन एप्लिकेशन लगायतबाट अनलाइन जुवा खेलाउने गरेका खुलेको छ। अनलाइन जुवा खेलाउन उनीहरूले प्रयोग गरेका ५ थान ल्यापटप र ११ थान मोबाइल पनि प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि अनुसन्धान हुँदैछ।

गृहमन्त्री लामिछानेको बचाउ गर्दै ओलीले भने- कांग्रेसले  बदनाम गर्न खोज्यो

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस उनलाई बदनाम गराउने र फसाउने खेलमा लागेको आरोप ओलीको छ ।

प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने,‘रवि लामिछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरू कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफूतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ,’ अध्यक्ष ओलीले भने।

रवि लामिछाने र उनको पार्टी कांग्रेसतिर नलागेकै कारण फसाउन खोजेको दाबी गर्दै ओलीले यसलाई महत्व दिन आवश्यक नभएको बताए ।

उनले आफू प्रधानमन्त्री भएको बेला शेर बहादुर तामाङ र गोकुल बास्कोटाको प्रसङ्ग उल्लेख गर्दै भने, ‘मैले बोलाई चिप्लेकै कारण शेर बहादुर तामाङ र गोकुल बास्कोटालाई फिर्ता बोलाए, तर भएको केही पनि थिएन। नेपाली काँग्रेसका मन्त्री त झन्डा हल्लाउँदै अख्तियार गएका थिए, सबैले देखेको होइन, अनि अहिले गृहमन्त्रीका बारेमा कुन नैतिकताले प्रश्न उठाउने रु’

उनले कांग्रेसले सरकार छोड्नु परेको पिडामा छाती पिटिरहेको व्यङ्ग्यसमेत गरे। ‘काँग्रेसको अहिलेको कदम, सरकारबाट बाहिरिएको पिडा हो । उसले सरकारबाट बाहिरिएको पिडामा छाती पिटेर रुँदै के भन्छ रु त्यसलाई धेरै महत्त्व दिइराख्नुपर्ने आवश्यकता छैन,’ अध्यक्ष ओलीले भने।

उनले सुन काण्डमा माओवादीका उपाध्यक्ष पक्राउ परेको घटनामा पत्रकारहरूले राखेका जिज्ञासामा कानुनअनुसार हुने बताए।’‘सोमबार माओवादीका नेता पक्राउ परेका होईनन्। माओवादीका नेता पक्राउ पर्दैनन् तर अनुसन्धानभित्र आएका जो कोही पनि पक्राउ पर्न सक्छन्,’ अध्यक्ष ओलीले भने।

प्रधानमन्त्रीको स्पष्टीकरण : सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,सम्झौता नगर्ने स्पष्ट पारेका छन्। यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन।’

प्रतिनिधिसभाका सांसदहरूले सोध्नु भएको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने स्पष्ट पारे।  

सुशासनको संकल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए।  

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरूले उठाएको विषयमा प्रधानमन्त्री प्रचण्डले भने, ‘हालसम्मको अनुसन्धानले गृहमन्त्रीको सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन।’

प्रधानमन्त्री प्रचण्डले सहकारीमा रवि लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फर्छ्योट भएको देखिन आएकाले उनको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ‘ब्रिफिङ’ भएको सदनलाई जानकारी गराए। 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाएको विषयमा संसदमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रीको बचाउ गरेका हुन् ।

हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख र वडाध्यक्षसहित १० जना विरुद्ध मुद्दा दर्ता

काठमाडौँ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही जिल्लाको हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुकादेवी काफ्लेलगायत व्यक्तिविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

हरिपुर नगरपालिकाका तत्कालिन उपप्रमुख रेणुकादेवी काफ्ले, निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेलसँगै वडा नं. १ का तत्कालीन वडा अध्यक्ष कुमार लामा, वडा सदस्य वेदकुमारी बलम्पाकी, सदस्य लक्ष्मी कुमर, नगरपालिकाका इन्जिनियर रंजित साह, सव–इन्जिनियर संजीव चौधरी, नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शम्सेरबहादुर बस्नेत, सचिव इन्द्रबहादुर घिसिङ्ग र कोषाध्यक्ष निर्मालाकुमारी देवी विरुद्ध विशेष पनि विशेष अदालत काठमाडौंमा आयोगले मुद्दा दर्ता गरेको हो ।

आयोगका प्रवक्ता नरहरी घिमिरेलेका अनुसार उनीहरुले आर्थिक वर्ष २०७५–०७६ मा नगरपालिकाको वडा नम्बर एक स्थित लखनदेही खोलामा तटबन्ध निर्माणको कार्य नै नगरी आर्थिक अनियमितता गरेको पुष्टी भएपछि अदालतमा मुद्दा दायर गरिएको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेल, इन्जिनियरसाह, सव–इन्जिनियर चौधरी विरुद्ध ८५ लाख १८ हजार ६३२ रुपैयाँ विगो दाबी गरिएको उनले बताए । यस्तै उपप्रमुख काफ्ले, सदस्य बलम्पाकी, सदस्य कुमर, वडा अध्यक्ष लामालाई कैद र जरिवानासमेतको सजाय हुन माग दाबी गरिएको छ भने उपभोक्ता समितिका अध्यक्ष बस्नेत, सचिव घिसिङ्ग र कोषाध्यक्ष देवी विरुद्ध ८५ लाख १८ हजार ६३१ रुपैयाँ विगो दाबी गरिएको प्रवक्ता घिमिरेले बताए ।

१४ कर कार्यालयमा एकैदिन प्रशासनको छड्के

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले १४ वटा कर कार्यालयहरूमा सोमबार एकैदिन छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीहरू र प्रशासकीय अधिकृतहरूको नेतृत्वमा छुट्टा–छुट्टै १४ वटा टोलीले काठमाडौंका १४ वटा आन्तरिक राजस्व कार्यालयहरूमा छड्के अनुगमन गरेको हो । 

प्रशासनले चावहिल, जोरपाटी, पुतलीसडक, बत्तीसपुतली, नयाँ बानेश्वर, कोटेश्वर, त्रिपुरेश्वर, कलंकी, कालीमाटी, बालाजु, टंगाल, ठमेल, महाराजगञ्ज र न्यूरोडमा रहेका आन्तरिक राजस्व कार्यालयहरूमा एकैपटक अनुगमन गरेको हो । अनुगमनपछि सबै कार्यालयका प्रमुखहरूलाई बोलाएर काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन र सेवाग्राहीहरूको चापलाई ध्यानमा राखेर व्यवस्थित सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । प्रजिअ बस्नेतले छलफलका क्रममा अनुगमनमा देखिएका कमजोरीहरूलाई सुधारेर अघि बढ्न समेत निर्देशन दिएका छन् ।

प्रशासन कार्यालयका अनुसार ती कार्यालयको प्रगति, कार्यसम्पादन सूचक, ड्रेस कोड, सरसफाई, अभिलेख व्यवस्थापन र राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको पाइएको छ । त्यस्तै, कर्मचारीहरूले समयको पालनालाई गम्भीर भएर पालना नगरेको पाइएको प्रशासनले जनाएको छ । ‘कार्यालयहरुमा कर्मचारीहरुको समय पालनाको अवस्था चाहिँ मिश्रित देखियो,’ प्रशासनले विज्ञप्तिमार्फभन् भनेको छ, ‘कतिपय कार्यालयहरुमा सबै कर्मचारीहरु समयमा उपस्थित भएको देखियो भने केही कार्यालयहरुमा कर्मचारीहरु समयमा कार्यालयमा नआएको देखियो ।’

कर कार्यालयहरूले कार्यालयमा सूचना अधिकारीको व्यवस्था भएपनि सूचनाको हकसम्बन्धी ऐन तथा नियमावली बमोजिम त्रैमासिकरुपमा स्वतः प्रकाशस गर्नुपर्ने सूचनाहरू भने सार्वजनिक नगरेको पाइएको प्रशासनले जनाएको छ।

गृहमन्त्री लामिछानेविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने विरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । सहकारी प्रकरणमा मुछिएका लामिछानेलाई मन्त्री बनाएको भन्दै तत्काल पदबाट हटाउनुपर्ने मागका साथ उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले सिंहदरबारबाहिरको पर्खालमा सहकारी पीडितलाई न्याय खै,नैतिकता खोइ,अर्थमन्त्री सुनमन्त्री लगायत लेखिएका पोष्टर टासेका थिए ।

पोष्टर टासेपछि प्रहरीले हस्तक्षेप गरि केहि विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ । उनीहरुले गृहमन्त्री राजीनामा दे,सहकारी पीडितलाई न्याय दे, लगायतका नारा लगाएका थिए । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने विरुद्ध कांग्रेसले सदनमा र भातृसंगठनले सडकमा विरोध गर्दै आएको छ । 

यसैक्रममा सोमबार चाबहिलको पशुपति क्याम्पसका नेविसंघ विद्यार्थीहरुले लामिछानेको पुत्ला दहन गरेका थिए । उनीहरु मंगलबार बिहान सिंहदरबारको दक्षिण गेट अगाडि प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले अर्थमन्त्री वर्षमान पुन विरुद्ध पनि प्रदर्शन गरे ।

अध्यागमनमा नयाँ महानिर्देशक निरौला तोकिए

काठमाडौँ । गृह मन्त्रालयले लामो समयदेखि रिक्त अध्यागमन विभागको महानिर्देशमा कोषहरी निरौलालाई नियुक्त गरेको छ । गृह मन्त्रालयका सहसचिव निरौलालाई महानिर्देशक बनाइ पठाएको हो ।

यसैगरी विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको सरुवासमेत गरेको छ भने मन्त्रालयमा रहेका नयाँ सहसचिवहरूको पदस्थापन पनि गरेको छ । नयाँ अनि महत्त्वपूर्ण जिम्मेवारी पाउने अध्यागमनका महानिर्देशक निरौला भर्खरै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाट गृह मन्तालयमा सरुवा भएका सहसचिव हुन्।

सूचिहरु :-

राजस्व अनुसन्धान सकृय ब्यापारी फर्म धमाधम कार्वाहीमा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको रु ७९ करोडभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सन्दीप ट्रेडर्सका मुख्य कारोबारी दयाशङ्कर चौधरी र उक्त फर्मका प्रोपाइटर विमलावती चौधरीले सबैभन्दा बढी राजस्व छली गरेको पाइएको छ । उनीहरूविरुद्ध बिगो मूल्याङ्कन गर्दा रु १२ करोड ८५ लाखभन्दा बढी बिगोबराबरको राजस्व छली गरेको निष्कर्ष निकाल्दै बिगोबराबरको जरिवाना र हदैसम्मको कैद सजाय माग गरी सोमबार मुद्दा दर्ता गरिएको हो ।

उक्त ट्रेडर्सको कारोबारसम्बन्धी कागजात तथा विरणहरुको विश्लेषण गर्दा विसं २०७९ भदौ देखि २०८० भदौसम्ममा भिसिटिएस प्रणालीमा प्रविष्टी गरेको विवरणमा रु छ लाख ४९ हजार चार सयबराबरको मालवस्तु खरिद गरेको देखिएको तर भन्सार प्रज्ञापनपत्रलगायतका अन्य विश्वसनीय स्रोत बिना नै करोडौँका मालवस्तु बिक्री गरेको देखिएको अधिकारीले बताउनुभयो । उक्त ट्रेडर्सले भन्सार चोरीपैठारी गरी राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण ऐन० २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरेको पाइएको विभागले बताएको छ ।

यस्तै अन्य प्रतिवादीहरु गुरु इम्पेक्सका प्रोपाइटर सीताराम रौनयार, शुभश्री इन्टरप्राइजेजका रिजवान अन्सारी, न्यु कञ्चन इन्टरप्राइजेजका मीराकुमारी श्रीवास्तव, एसपी कन्सर्नका प्रभुशङ्कर रौनियार न्यु एसकुमार इन्टरनेशनलका रामछत्री कलवारले गरेको कारोबारका सम्बन्धमा छानबिन गर्दा राहुल दुवेदीसहितका ती फर्मका प्रोपाइटरहरु तथा भारतीय नागरिकसमेतको मिलेमतो र संलग्नतामा ठूलो परिमाणको मालवस्तु भन्सार छली मालवस्तु नेपाल भित्र्याइ चोरीपैठारी गरेको पाइएको विभागको निष्कर्ष छ ।

विभागले प्रयोगमा ल्याएको भिसिटिएस प्रणालीमा राहुलकुमार दुवेदीले प्रविष्ट गरेको विवरण र आन्तरिक राजस्व विभागले सञ्चालन गरेको प्रणालीमा प्रविष्ट गरेको विवरणबाट प्राप्त भ्याट रिटर्न अनुसन्धान तथा विष्लेषणमा विभागले उक्त तथ्य पत्ता लगाएको हो ।

भन्सार छली तथा मालवस्तु चोरी पैठारीको आरोपमा विभागले राहुलकुमार दुवेदीको हकमा रु १७ करोड ३८ लाख, सीताराम रौनियारको हकमा रु एक करोड ८२ लाख, रिजवान अन्सारीको हकमा रु दुई करोड ११ लाख, मीराकुमारी श्रीवास्तवको हकमा रु दुई करोड ११ लाख, प्रभुशङ्कर रौनियारको हकमा रु एक करोड ७८ लाख र रामछत्री कलवारको हकमा रु एक करोड ७७ लाख बिगो बराबरको भन्सार छली गरेको निष्कर्षसहित मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

मिटरब्याजपीडितको गुनासो सम्बोधन गर्न सहजीकरण डेस्क स्थापना (सुचनासहित)

काठमाडौं ।  गृह मन्त्रालयले मिटरब्याजपीडितका गुनासाको तत्काल सम्बोधन गर्न सहजीकरण डेस्क स्थापना गरेको छ।

मन्त्रालयले मिटरब्याजसम्बन्धी पीडितहरूका गुनासाको तत्काल सम्बोधन गर्ने शाखा अधिकृत चिरञ्जीवी जीएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकेको छ। उनले जिल्ला प्रशासन कार्यालयहरु तथा सम्बन्धित अन्य निकायसँग समन्वय गर्ने मन्त्रालयले जनाएको छ।

त्यस्तै मिटरब्याजसम्बन्धी उजुरी, निवेदन र पीडितका गुनासा तत्काल सुनुवाइ गर्न जिल्ला प्रशासन कार्यालयहरूमा पनि अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकेर सहजीकरण डेस्क स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको छ।

डेस्कमा खटिने कर्मचारीहरूको विवरण कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न पनि जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको छ। यसअघि गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्न गत फागुन २८ मा ४ बुँदे सहमति भएको थियो।

त्यसअघि सरकारले गठन गरेको अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले पनि गृह मन्त्रालयमा मिटरब्याजपीडितका समस्या समाधानका लागि छुट्टै डेस्क स्थापना गर्न सुझाव दिएको थियो।

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। सोमबारको तुलनामा आज एकै दिन सुनको मूल्य सात सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार (मंगलबार) आज छापावाल सुनको मूल्य प्रतितोला सात सय बढेर प्रतितोला एक लाख २५ हजार दुइ सय रुपैयाँ कायम भएको छ।

त्यसतै तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय २५ रुपैयाँ रहेको छ ।

दुई भारतीय नागरिक सर्लाहीबाट पक्राउ

काठमाडौँ । दुई भारतीय नागरिकलाई नेपाल प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ ।

 विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका र मोस्टवान्टेड सूचीमा रहेका भारत बिहार सीतामढी सैयाराग्रामका सन्नीकुमार सिंहर मोतीहारी गंगापिपराका जितेन्द्र राउतलाई गएराति बरहथवा नगरपालिका–६ बाट पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट ९– एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद गरेको जनाइएको छ ।

प्रहरीले उनीहरूलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याउने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । दुवै खुट्टामा गोली लागेका राउतको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ भने सिंहको अवस्था सामान्य छ ।

महाधिवेशनकाे तयारीमा जुट्न कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । जनतामा रहेको निराशालाई सम्बोधन गर्न हामीले प्रयास गर्नुपर्ने बताउँदै उनले भने,’हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नुपर्छ । तर कुनै पनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान संगठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित गर्नुपर्छ ।’

बदलिएको परिस्थितिमा पार्टी अर्को गठबन्धनमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मन्त्रीहरूबाट परिणाममुखी काम होउन्, सरकारले राम्रो काम गरोस् ।” पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्न लागेको महाधिवेशनको तयारी सुरु गरेको छ । नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटीका साथै विभिन्न १३ वटा कमिटी गठन गरिएको छ । केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्यलाई कमिटीको सदस्यमा राखिएको छ ।

महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सङ्गठन सुदृढीकरण तथा विस्तारकार्य जारी राखेको छ । पार्टीले राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेन लेखन कार्य ९० प्रतिशत सम्पन्न गरेको जनाएको छ । महाधिवेशन केन्द्रित अभियान दुई महिनासम्म सञ्चालन गरेकामा यही चैत २५ गतेसम्म चल्ने छ ।

पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरी ती प्रतिवेदनका आधारमा एउटै दस्तावेज तयार गरिने सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टीभित्रको सबै वैचारिक पक्षलाई समेटेर महाधिवेशनमा एउटै दस्तावेज प्रस्तुत गरिने जनाइएको छ ।

शिक्षकहरुको जिल्लान्तर सरुवामा रोक

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ ।

हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए ।

यस्तो छ तपाईंको ६ चैत्र २०८०, मंगलवारको राशिफल हेर्नुहोस्

मेष : अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

वृष : समय राम्रो छ। शेयरमा लगानी भए फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। परिवारबाट रचनात्मक साथ र सहयोग मिल्नेछ।

मिथुन : दैनिकी राम्रो छ। नयाँ ठाउँको यात्रा गर्ने योग रहेको छ। धर्ममा मन जानेछ। साथी सकारात्मक छन्। लगानीका क्षेत्रबाट घाटा हुनेछन्। परिवारको साथ र सहयोग रहनेछ।

कर्कट : दैनिकी राम्रो छ। भविष्य बनाउने योजना बनाउने दिन छ। अरुलाई प्राथमिकता दिँदा आफू ओझेलमा पर्ने जोखिम हुन्छ। परोपकारको मौका मिल्नेछ। परिवारमा व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ ।

सिंह : आजको दैनिकी राम्रो छ । आर्थिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । सामाजिक र राजनीतिक क्षेत्रमा खर्च गरेको धनबाट फाइदा हुनेछ। उचाइमा पुगँे भनेर धरातल बिर्सनु हुँदैन । परिवारको माया निरन्तर प्राप्त हुनेछ ।

कन्या : समय राम्रो छ । मनमा उत्साह बढ्नेछ । समस्या विस्तारै किनारा लाग्नेछन् । शिक्षामा गरेको लगानीको प्रतिफल मिल्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : आजको दिन राम्रो छ । आफूलाई केन्द्रमा राखेर काम गर्नु राम्रो हुन्छ। खानपानका कारण स्वास्थ्यमा गढबढी हुनसक्छ। नियमित खाइरहेको औषधी नछुटाउनु राम्रो हुन्छ । वैदेशिक क्षेत्रमा लगानी गरेको भए सचेत हुनुपर्ने दिन छ। परिवारको साथ र सहयोग निरन्तर मिल्नेछ।

वृश्चिक : दैनिकी राम्रो छ । सामाजिक क्षेत्रमा गरेको लगानीले उचाई बढ्नेछ। गलत नियतले पछ्याउनेहरु कमजोर बन्नेछन् । श्रमको मूल्य प्राप्त हुने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उपलब्धि हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दैनिकी राम्रो छ। सामाजिक क्षेत्रमा गरेको लगानीबाट मन उत्साहित हुनेछ। परोपकार गर्ने मौका मिल्नेछ। शिक्षा क्षेत्रको लगानी फस्टाउने योग छ। आफन्त र परिवारको साथ रहनेछ।

मकर : दिन सामान्य छ। ठुलो योजना नबनाएकै राम्रो हुन्छ। अरुले गल्ती गरे पनि दोष तपाईंमाथि नै आइलाग्न सक्छ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । शिक्षा क्षेत्रमा गरेको लगानी सन्तोषजनक नहुनसक्छ। परिवारमा विचारको द्वन्द्व हुने खतरा छ ।

कुम्भ : पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

मीन : समय राम्रो छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। सञ्चित धन खर्च गर्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रको लगानी र यात्रा भए सचेत हुनुपर्ने दिन छ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।