सहकारीपीडितले कहिले न्याय पाउँछ: परियार

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सडकमा उभिएका सहकारीपीडितले कहिले न्याय पाउँछन् ?’ कहिले मिटरब्याजपीडित त कहिले सहकारीपीडित, कहिले कर्तव्यज्यान मुद्दा त कहिले बलात्कार मुद्दामा पीडितहरुले पटक-पटक आन्दोलित हुनुपर्ने अवस्थाप्रति राज्य संवदेनशील हुनुपर्ने उनले बताए ।

पीडितले न्याय नपाउँदा राजनीतिक रूपमा स्वतन्त्र जनप्रतिनिधि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगर प्रमुख हर्क साङपाङहरूले गिज्याउने अवस्था उनको भनाइ छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले सहकारीपीडितले न्याय नपाउने भए सरकारमा बस्ने नैतिकता कसैलाई नहुने बताए । “देश सुन तस्करको अखडाजस्तो बनेको छ । आमजनता वाक्क र दिक्क भएका छन्, जुन जोगी आए पनि कानै चिरिएको त हैन भन्ने अवस्था भएको छ,” उनले भने, “लाखौँलाख सहकारीपीडितलाई न्याय दिलाउन नसके सरकारमा बस्नुको कुनै औचित्य हुँदैन । बालेन र हर्कहरूले गिज्याएका छन्, पीडितले न्याय कहिले पाउने ? काठमाडौंको सकडमा आएर आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।”

निर्मला पन्त र आरती साहको हत्या, मिटरब्याजको समस्या, उखु किसान र सहकारीपीडितका विषय कांग्रेसले पटक–पटक उठाइरहेको भन्दै उनले उनीहरूले कहिले न्याय पाउने भनी प्रश्न गरे । सांसद परियारले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाइसकेको अवस्थामा सानो वा ठूलो कुनै विभेद नगरी सबैलाई कारबाही गरिनुपर्नेमा जोड दिए ।

नेविसंघद्वारा गृह र अर्थमन्त्रीको पुत्ला दहन

काठमाडौँ । नेपाल विद्यार्थी संघ पशुपति क्याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । उनीहरूले यो सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

सोमबार नेविसंघ पशुपति क्याम्पस इकाईले सुन काण्ड र लामिछाने सहकारी काण्डमा मुछिएकाहरुलाई सरकारमा सामेल गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। सो क्रममा उनीहरुले अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ।

मन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। उनीहरुले पुन र सुनको सम्बन्ध सार्वजनिक गर, भ्रष्ट सरकार मुर्दाबाद, सुन तस्कर र सहकारी ठग गठबन्धन सरकार मुर्दाबाद लगाएत प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरे ।

सहकारी ठगीमा मुछिएका सांसदमाथि कारबाहीबारे बोल्न सत्तापक्षका सांसदलाई आग्रह: कांग्रेसका महामन्त्री गगन

काठमाडाैं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगीमा मुछिएका सांसदमाथि कारबाहीबारे बोल्न सत्तापक्षका सांसदलाई आग्रह गरेका छन् । सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन गर्नुपर्ने बताएका छन् ।

आफू सत्तापक्षमा रहँदा भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाउन, सुन तस्करी छानबिनका लागि अयोग बनाउन र अख्तियारमा बयान दिएका मन्त्रीलाई घर पठाउन संसद्‌मा बोलेको उनले स्मरण गरे । सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा महामन्त्री थापाले सहकारी ठगीमा मुछिएकालाई कारबाही गर्नुपर्छ भन्ने हिम्मत गर्न सत्तापक्षका सांसदलाई आग्रह गरेका हुन् ।

‘शरणार्थी प्रकरणको विषयमा खुट्टा नकमाउ भनेर रोस्टमबाट बोलेको हुँ, सुन तस्करी छानबिनका लागि आयोग बनाउने कुरामा साथ दिएको हो । अख्तियारले छानबिन गरेकालाई घर पठाउ भनेको थिए’, थापाले भने, ‘सत्तापक्षबाट भन्नु हुनेछ, सुनकाण्ड एक जनाले पनि उन्मुक्ति नपाओस्, रुखको छहारी मुनी बसेको होस कि घाम ताप्ने या घण्टी बजाउने होस भन्ने हिम्मत गर्नुपर्छ ।’

थापाले अगाडि भने, ‘सहकारी काण्डमा शक्तिशाली होस्, लोकप्रिय होस्, नयाँ होस् । गल्ती गरेको रहेछ भने अपराधबाट मुक्ति नपाओस् भन्ने हिम्मत राख्छौं कि राख्दैनौं रु सिंगो सदनको विवेक माथिको प्रश्न हो । अनुसन्धान फेयर होस् भन्ने हामी चाहन्छौं ।’

त्यस्तै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभएपनि गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ गैरकानुनी रुपैयाँ लिएको भन्दै यस प्रकरणमा छानविन हुनुपर्ने बताएका हुन् ।

उनले लामिछानेले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन भनेको भरले उन्मुक्ति पाए अर्बौं रुपैयाँ ठग्ने अरु सय जनाले पनि उन्मुक्ति पाउन पर्ने बताए । उनले लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुन्धान नगर्ने हो भने अन्य धेरै सहकारीलाई पनि छोड्नुपर्ने हुने भएकाले सबैलाई छानविन गर्नुपर्ने बताए । उनले गृहमन्त्रीलाई प्रहरीले अनुसन्धान गर्ने कुरामा आशंका पनि व्यक्त गरेका छन् । उनले यो प्रकरणको सम्बन्धमा प्रहरीको जवाफको माग गरेका छन् ।

नेप्सेमा सामान्य अंकको वृद्धि

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक ३.२७ अंक बढेर २०७३.५३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.३० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ३ बर्अ ३८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०३ स्टकको ५३ हजार २५६ पटकको कारोबारमा २ अर्ब ८८ करोड ५६ लाख रुपैयाँ बराबरको ७४ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा गोर्खाज फाइनान्स लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, पिपुल्स पावर लिमिटेड, र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।  

आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । कारोबार रकमका आधारमा यस दिन गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्स एण्ड आयलको साढे १३ करोडको शेयर किनबेच भएको छ।

सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक व्यक्ति पक्राउ

काठमाडौं । सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक व्यक्ति पक्राउ परेका छन् ।

सोमबार (आज) दिउँसो सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

आज सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ । खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । प्रहरीले उनको साथबाट एउटा बन्दुक पनि बरामद गरेको छ ।

सूचना पाएपछि भारततर्फ भाग्न खोज्दै थिए महरा ?

काठमाडौँ ।  सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।पश्चिम (गन्तव्य यकिन नभएको)तर्फ जाँदै गरेका महरालाई सोमबार रुपन्देही प्रहरीले कपिलवस्तुको सीमाबाट काठमाडौं फर्काएको थियो ।

महरालाई काठमाडौँ ल्याउनका लागि प्रहरीले यति एयरलाइन्सको फ्लाइट करिब एक घण्टा होल्ड गराएको थियो । पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले सुन तस्करीमा महराको संलग्नता रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

महरालाई काठमाडौँ ल्याउनका लागि प्रहरीले यति एयरलाइन्सको फ्लाइट करिब एक घण्टा होल्ड गराएको थियो । पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले सुन तस्करीमा महराको संलग्नता रहेको भन्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै महरालाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हिरासतमा राखेको छ ।

महरालाई विमानस्थलबाट सिधै सीआईबी लगिएको थियो ।

इसानाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इसानाथ नगरपालिका नगर कार्यपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रौतहटको ईशानाथ नगरपालिका-५ लक्ष्मिनिया, जटहरामा श्री आधारभूत विद्यालयको दुई कोठे पक्की भवन निर्माण गर्दा प्रमुख प्रशासकीय अधिकृत गुप्ता, तत्कालीन इन्जिनियर सत्यपाल सौरभ र विद्यालयका तत्कालीन प्रधानाध्यापक महमद समिम अख्तरले मापदण्ड, गुणस्तर र इष्टिमेट विपरीतको कार्य गरी भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार तत्कालीन इन्जिनियर सौरभले तयार गरेको कार्य सम्पादन प्रतिवेदनमा ब्रिक मेसनरी कार्य फिल्डमा ४७.८४ क्यूविक मिटर भएकोमा ५३.३७ क्यूविक मिटर उल्लेख गरी सम्झौताको दररेटभन्दा बढी कायम गरी जम्मा ८६ हजार ६४७ रुपियाँ कायम गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । 

यसैगरी, अन्तिम भुक्तानीका लागि प्राविधिकबाट तयार गरिएको नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा १४ लाख ३५ हजार नौ सय रुपियाँ कार्य बराबरको रकम खर्च भएको देखिए पनि प्रमुख प्रशासकीय अधिकृत गुप्ताले दुई लाख ३५ हजार ८९५ रुपियाँ बढी भुक्तानी गरेको आयोगको अनुसन्धानबाट खुलेको अख्तियारको ठहर छ ।

आयोगका प्रवक्ता घिमिरेका अनुसार विद्यालयका तत्कालीन प्रधानाध्यापक अख्तरले १३ लाख ५३ हजार ५० रुपियाँ खर्च देखाउनुपर्नेमा तीन लाख तीन हजार सात सय ९७ रुपियाँ बढी खर्च लेखेका थिए ।

आयोगले इन्जिनियर सौभरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र ८६ हजार ६४७ रुपियाँ बिगो जरिवानाको मागवादी लिएको छ । त्यस्तै अर्का प्रतिवादी गुप्ताविरुद्ध सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम दुई लाख ३५ हजार ८९५ रुपियाँ बिगो जरिवानाको मागवादी गरेको छ । साथै अख्तरको हकमा पनि सोही ऐनको एउटै दफा र उपदफा अनुसार कैद सजाय र तीन लाख तीन हजार ७९७ रुपियाँ बराबरको बिगो जरिवानाको मागवादी अख्तियारले गरेको छ ।

मधेस प्रदेश लोक सेवा आयोग पदाधिकारीविहीन

जनकपुर । मधेस प्रदेश लोक सेवा आयोग पदाधिकारीविहीन अवस्थामा छ । पदाधिकारी नहुँदा पछिल्लो केही दिनदेखि कर्मचारी नियुक्ति सिफारिसको प्रक्रिया ठप्प छ । प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ८ को उपदफा ३ मा आयोगको तत्काल कायम रहेका अध्यक्षसहित दुई जना सदस्य उपस्थित भएमा आयोगको बैठक बस्न सक्ने व्यवस्था छ । तर, अहिले आयोगमा एक जना मात्र पदाधिकारी छन्, जसका कारण आयोगको बैठक नै बस्न सकेको छैन । बैठक बस्न नसक्दा आयोगको दैनिक कार्य सञ्चालन बाहेकका अन्य काम हुन सकेका छैनन् ।

अध्यक्ष र सदस्यलाई नियुक्ति गरिएको थियो तर उमेर हद नाघेका कारण अध्यक्ष सुरेन्द्रप्रसाद यादवले २०८० फागुन २२ गते अवकाश प्राप्त गर्नुभएको आयोगको कार्यालयले जनाएको छ । आयोगका अर्का सदस्य महारुद्र झाले पनि उमेर हद नाघिसकेका कारण २०७९ पुस ३ गते अर्थात् एक वर्ष चार महिनाअगाडि नै अवकाश प्राप्त गर्नुभएको छ । आयोगका पदाधिकारीमा डा. सुजाता देव मात्र एक जना सदस्य हुनुहुन्छ । पदाधिकारीको उमेर हद म्याद ६५ वर्ष तोकिएको छ ।

आयोगले माग सङ्कलन (रिक्त दरबन्दी माग), विज्ञापन निकाल्ने, पाठयक्रम/प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, अन्तर्वार्ता र नियुक्तिका लागि सिफारिस गर्ने मुख्य काम रहेको प्रदेश लोक सेवा आयोगका प्रवक्ता उपसचिव गगेशगुञ्जन झाले जानकारी दिनुभयो । “आयोगले रिक्त दरबन्दीको मागदेखि सिफारिससम्म प्रत्येक कामका लागि प्रत्येक चरणमा नीतिगत निर्णय गर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “नीतिगत निर्णय आयोगको बैठकले मात्र गर्न सक्छन् । यसका लागि अध्यक्ष र कम्तीमा एक जना सदस्य अनिवार्य हुनु पर्दछ । रिक्त भएको अध्यक्ष र एक जना सदस्यमा अहिलेसम्म कसैलाई नियुक्त नगरिएकाले आयोगको बैठक बस्न सकेको छैन ।”

आयोगले विभिन्न तहका गरी एक लाखभन्दा बढी सहभागीको परीक्षा लिइसकेको छ । आयोगका सदस्य डा. सुजाता देव भन्नुहुन्छ, “उत्तरपुस्तिका परीक्षणका लागि आयोगको बैठकबाट निर्णय लिनुपर्ने हुन्छ । आयोग (पदाधिकारी) छैन, निर्णय कसरी 

गर्ने ? उत्तरपुस्तिका परीक्षणका लागि आयोगको बैठकले दक्ष, विषय विशेषज्ञ मनोनयन/चयन गर्नु, निर्णय लिनु पर्छ,” उहाँले थप्नुभयो, “म एक्लै छु निर्णय कसरी गर्न सक्छु ? विज्ञ मनोनयन र उत्तरपुस्तिका परीक्षणका लागि नीतिगत निर्णय नहुँदा परीक्षाका उत्तरपुस्तिकाको परीक्षण रोकिएको छ ।”

यस्तै आयोगले विज्ञापन गरेको इन्जिनियरिङ, स्वास्थ्य, वन र कृषि सेवाका विभिन्न समूहमा करिब छ हजार आवेदन दर्ता भएको छ । आयोगका प्रवक्ता उपसचिव झाले चौथो, पाँचौँ, सातौँ र ११ औँं तहका ती पाँच/छ वटा विज्ञापनको परीक्षाको मिति घोषणा गरिसकेको छ । यही वैशाखमा लिने परीक्षाका लागि पनि नीतिगत निर्णय लिनुपर्दा समस्या आउने सक्ने भएकाले परीक्षा नै स्थगन गर्नुपर्ने सम्भावना बढेको उहाँले बताउनुभयो । 

आयोगमा पदाधिकारी नभएको कारण अहिले दक्ष, विज्ञ मनोनयन/चयन, परीक्षा सञ्चालन कार्य, परीक्षा भइसकेको विज्ञापनको उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, अन्तर्वार्ता सञ्चालन र नियुक्तिका लागि सिफारिस कार्य प्रभावित बनेको प्रवक्ता झाले बताउनुभयो । 

विसं २०७६ भदौ २२ गते स्थापना भएको मधेश प्रदेश लोक आयोगले आर्थिक वर्ष २०७७/७८ देखि २०८०/८१ सम्ममा चौथो, पाँचौँ, सातौँ र नवौँ तहको खुला विज्ञापनबाट १७५ जना उत्तीर्ण उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरिएको उहाँले बताउनुभयो । यस अवधिमा खुला ६४५ र बढुवा ३७५ गरी एक हजार २० जना (पद) को माग गरिएको छ । सहायक चौथोदेखि माथि अधिकृत ११ औँं तहसम्म विभिन्न सेवा समूहका गरी खुलामा ६४५ जना माग भएकामा १७५ जनाको सिफारिस भइसकेको उहाँले बताउनुभयो । 

यस्तै बढुवाका लागि ३७५ जनाको माग भएकामा सबैको विज्ञापन भइसकेको उहाँले बढुवा समितिका अध्यक्षमा आयोगका सदस्य वा अध्यक्ष रहने व्यवस्था रहेकाले सोको निर्णय पनि आयोगको बैठकले गर्नुपर्नेमा उक्त कार्य पनि प्रभावित बनेको उहाँले बताउनुभयो । पदाधिकारी नभएर आयोगको कामकारबाही प्रभावित बनेको सम्बन्धमा मुख्यमन्त्री र सभामुखलाई मौखिक रूपमा जानकारी गराइसकेको आयोगका सदस्य डा. देवले बताउनुभयो । उहाँहरूले नियुक्तिका लागि चाँडै पहल गर्नुहुन्छ भन्ने विश्वास रहेको उहाँको भनाइ छ । 

प्रदेश लोक सेवा आयोगमा अध्यक्ष र सदस्य नियुक्तिका लागि ऐनमा सिफारिस समिति रहने व्यवस्था गरिएको छ । प्रदेश लोक सेवा आयोग, २०७६ को दफा ३ को उपदफा २ मा प्रदेश सरकारका मुख्यमन्त्री अध्यक्ष, प्रदेश सभाका सभामुख सदस्य र प्रदेश सभाका विपक्षी दलका नेता सदस्य रहने गरी सिफारिस समितिको व्यवस्था छ । समितिमा प्रदेश सरकारका प्रमुख सचिव सदस्यसचिव रहने पनि व्यवस्था छ । सिफारिस समितिले महिलासहित समावेशी सिद्धान्तका आधारमा अध्यक्ष र सदस्य नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने व्यवस्था गरिएको छ । 

यस सम्बन्धमा मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का प्रमुख सचिव दिनेशकुमार घिमिरेले पदाधिकारी रिक्त रहेको सम्बन्धमा आयोगले जानकारी गराइसकेको बताउनुभयो । पदाधिकारी रिक्त रहेको सम्बन्धमा मुख्यमन्त्री सरोजकुमार यादवले जानकारी लिइसक्नुभएको बताउँदै उहाँले भन्नुभयो, “चाँडै नै सिफारिस समितिको बैठक बसेर नियुक्ति प्रव्रिmया अगाडि बढाइने छ ।”

माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका महरालाई प्रहरीले लुम्बिनी, भैरहवालबाट नियन्त्रणमा लिएको हो ।

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले महरामाथि पनि मुद्दा चलाउन सिफारिश गरेको थियो। त्यसकै आधारमा उनीमाथि थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

जनमतले लुम्बिनी प्रदेशको सीमांकन र नामांकन  परिवर्तन गर्न आन्दोलन गर्ने

वीरगञ्ज । कोशी प्रदेशमा चलिरहेको पहिचानवादीको आन्दोलनको मर्मबमोजिम पहिचानसहितको प्रदेश सीमांकन तथा नामांकन गर्न जनमत पार्टीले आन्दोलन गर्ने निर्णय गरेको छ । जनमत पार्टीको केन्द्रीय समितिको बैठक विभिन्न सातवटा निर्णय गर्दै सकिएको छ। शनिबार र आइतबार दुई दिन वीरगञ्जमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले विभिन्न विषयमा सातवटा निर्णय पारित गरेको पार्टीका राष्ट्रिय सचीव बिपी साहले जानकारी दिए ।

बैठकपछि पत्रकार सम्मेलन गर्दै अध्यक्ष सिके राउतले पहिचानसहितको प्रदेश सीमाकंन तथा नामाकंनका लागि आन्दोलनको नेतृत्व गर्ने निर्णय गरिएको बताए । मधेश–थरूहट आन्दोलनको मर्म बमोजिम लुम्बिनी प्रदेशको सीमांकन तथा नामांकन परिवर्तन गराउन समेत आन्दोलन गर्ने निर्णय भएको उनको भनाइ छ ।

बैठकले विभिन्न ७ बुँदे निर्णय गरेको उनले बताए । अध्यक्ष राउतका अनुसार बैठकले आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने निर्णय समेत गरेको छ ।

त्यस्तै, आगामी वर्षायाममा किसानलाई मलखाद र बीउबिजनको समयमै सहज उपलब्धताका लागि समेत सरकारलाई दबाब दिने निर्णय समेत बैठकले गरेको छ ।

केन्द्रीय समिति बैठकमा ‘आखिर नेपालको विकास किन भएन ? रिभर्स इन्जिनियरिङ दृष्टिकोण’ तथा ‘गणतन्त्र तथा सामाजिक लोकतन्त्रको लडाइ’ शीर्षकका दुई राजनीतिक प्रस्तावहरु पेश गरिएका थिए । दुवै प्रस्तावहरुमाथि छलफलपछि पारित गरिएको अध्यक्ष राउतले बताए ।

त्यसैगरी, प्रदेशहरूलाई अधिकार सम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐनकानुनहरू चाँडै निर्माण गराउन पहल गर्ने, मधेसमा सुख्खायाममा हुने गरेको खानेपानीको अभावको समस्यासँग जुध्न पूर्वतयारी गर्न स्थानीय सरकारलाई आवश्यक बजेट प्रदान गर्न संघीय सरकारलाई दबाब दिने निर्णय गरिएकाे छ।

आगामी जेठ १५ गते काठमाडौंमा हुने भनिएको आमसभालाई भव्यताका साथ सम्पन्न गर्न तयारी गर्ने जनमत पार्टीले जनाएकाे छ।

सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा

काठमाडौं | देशको सुरक्षा र शान्तिका निम्ति सदैव सजग रहने नेपाली सेनाले आफ्ना सैनिकहरूको कल्याणकारी कार्यलाई पनि उच्च प्राथमिकता दिएको छ। नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको छ। प्रधानसेनापति प्रमुराम शर्माका अनुसार विसं २०८० पुस मसान्तसम्म रु ८२ अर्ब ६६ करोड १२ लाख जम्मा भएको हो।

सैनिक मञ्च टुँडिखेलमा नेपाली सेना कल्याणकारी बोर्डको संयोजन तथा नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापनमा आज आयोजित कार्यक्रममा उनले करिब १० लाख हिताधिकारीमार्फत कोषमा ८२ अर्बभन्दा बढी रकम जम्मा भएको जानकारी दिए। विसं २०८० पुस मसान्तसम्म यस कोषमा ८२ अर्ब ६६ करोड १२ लाख रुपैयाँ जम्मा भइसकेको प्रधान सेनापति प्रभुराम शर्माले बताउनुभएको छ। करिब १० लाख हिताधिकारीबाट रकम सङ्कलन गरी यो कोषमा जम्मा गरिएको हो। गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म यस कोषमा ७१ अर्ब ५ करोड ६१ लाख मात्र रहेकोमा पछिल्लो समयमा यति ठूलो रकम थपिएको हो।

सैनिक कल्याणकारी कोषमा हरेक वर्ष करिब रु छदेखि आठ अर्ब खर्च भइरहेको जानकारी दिँदै प्रधानसेनापति शर्माले कोषमा ठूलो रकम देखिएता पनि एकै पटक रकम उपलब्ध गराउन कठिन भइरहेको बताए। शर्माले कोषलाई कालान्तरसम्म दिगो राख्न आयआर्जनलाई विस्तार गर्न जरुरी रहेको र यस विषयमा सरकारका सम्बद्ध निकायमा कुरा राखिएको उनले जानकारी दिए।

उनले अवकाशप्राप्त सकल दर्जालाई एकै ठाउँमा भेटघाटका साथै बहालवाला र अवकाशप्राप्त सैनिकबीच सामीप्यताको भावना जागृत गराउन सेनाले विविध कल्याणकारी कार्यक्रम गर्दै आएको उल्लेख गरे। प्रधानसेनापति शर्माले सैनिकको देश, समाज र जनताप्रति उत्तिकै जिम्मेवारी रहेको भन्दै राष्ट्रलाई आइपरेका जुनसुकै विपद् र महामामा राष्ट्रभावका साथ स्वतस्फूर्त सक्रिय भएर भूमिका निर्वाह गर्न तत्पर हुनुपर्ने धारणा राखे।

उनले भने, ‘राज्यका लागि तपाईंहरु हिजोका दिनमा जति महत्वपूर्ण हुनुहुन्थ्यो, आज अवकाशप्राप्त जीवनमा पनि उत्तिकै महत्वपूर्ण सम्पत्तिका रुपमा हुनुहुन्छ। विभिन्न प्रकारका विपद्, महामारीलगायत राष्ट्रिय सङ्कटमा आवश्यक योगदान गर्न तयार रहनुभएको छ र भविष्यमा पनि तयार रहनुहुन्छ भन्ने विश्वास लिएको छ।’

सैनिक कल्याणकारी कोषका प्रमुख कार्यकारी अधिकृत अवकाशप्राप्त रथी गौरव तण्डुलले अवकाशपछिको जीवन एकापसमा भेटघाट, सुख–दुःख बाँड्न र अपनत्वको भावना विकास गराउन सम्मेलनले महत्वपूर्ण भूमिका रहने बताए। उनले सैनक कल्याणकारी कोषमार्फत हिताधिकारीहरु लक्षित गरी विभिन्न कल्याणकारी कार्यक्रमहरु सञ्चालन भइरहेको र उक्त रकमलाई आयमूलक क्षेत्रमा लगानी गरी शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतलाई क्रमशः विस्तार तथा सेवामुखी बनाउन कल्याणकारी बोर्ड तथा सैनिक कल्याणकारी निर्देशनालयले नयाँ चिन्तनका साथ भूमिका निर्बाह गर्दै आएको जानकारी दिए।

कार्यकारी निर्देशक तण्डुलले ‘स्वरोजगारका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम तथा व्यावसायिक सीप विकास कार्यक्रम’ अवकाश प्राप्त सैनिक र परिवारमा लोकप्रिय रहेको बताए। उनका अनुसार सहुलियतपूर्ण कर्जा कार्यक्रमबाट हालसम्म अवकाश प्राप्त तथा एकल महिलातर्फ २३ हजार ५८ र बहालवालातर्फ नौ हजार नौ सय ८५ गरी कूल ३३ हजार ४३ जनाले रु सात अर्ब ४५ करोड ७७ लाख ७५ हजार सुलभ व्याज दरमा कर्जा सुविधा हासिल गरेका छन्, जसमध्ये महिला उद्यमशीलता कर्जातर्फ मात्र हालसम्म अवकाश प्राप्त सैनिकका परिवार तथा एकल महिलातर्फ एक हजार नौ सय ४७ र बहालवाला सैनिकका परिवारतर्फ एक हजार एक सय ६५ जना गरी जम्मा तीन हजार एक सय १२ जनाले रु दुई अर्ब ४६ करोड ६४ लाख ३० हजार कर्जा सुविधा लिइरहेका छन्।

सेनाले गरिरहेका विभिन्न काम, कारबाहीका बारेमा अवकाश प्राप्त सैनिकहरुलाई जानकारी गराउने तथा भूपूसैनिक र उनीहरुका परिवारको हितका लागि भएका कार्यक्रमको जानकारी गराउने उद्देश्य साथ भूपूसैनिक सम्मेलन गरिँदै आएको सेनाले जनाएको छ।

‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समर्पण र भरोषा’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा विभिन्न जिल्लाबाट अवकाश प्राप्त सकल दर्जाको उपस्थिति थियो।  सो सम्मेलनमा एकै परिवारबाट चारजनाभन्दा बढी सन्तानले नेपाली सेनामा सेवा गरेका आमा–बुबालाई सम्मान गरिएको थियो। कार्यक्रममा नेपाली सेनाद्वारा विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो।

यस्तो छ तपाईंको ५ चैत्र २०८०, सोमबार आजको राशिफल

मेष : ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानी बढ्नेछ।

वृष : आज आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । लाभदायक र सुखद् यात्रा हुने योग पनि छ ।तपाईंको राम्रो सोच्ने अभिभावक र साथीसँग भेट हुनेछ। परिवारको साथ मिल्ने योग छ। वैदेशिक क्षेत्रको लगानीबाट मन खुशी हुनेछ।

मिथुन : दैनिकी राम्रो छ। राम्रो सन्देश सुन्नाले मन प्रशन्न हुनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। जागिरमा बढुवा हुनेछ। परिवारबाट साथ र सहयोग रहनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ।

कर्कट : दिन सामान्य छ। परिवारिक टकराबले मन अशान्त हुनेछ। सामाजिक क्षेत्रमा विवादको सामना गर्नुपर्नेछ। लामो यात्रामा नजानु राम्रो हुन्छ। न्यायपूर्वक गरेको श्रम र लगानीबाट सन्तोष मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रमबाट सन्तोष मिल्नेछ।

सिंह : आजको दैनिकी राम्रो छ। धेरै चुनौतीबाट खारिएपछि मात्र तपाईंको उदय हुनेछ। थोरै बोलेर धेरै काम गर्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ र सहयोग रहनेछ। स्वदेशमा गरेको श्रमबाट राम्रो आम्दानी हुनेछ।

कन्या : समय राम्रो छ। एक पटक सोचेर बोल्नु राम्रो हुन्छ। शिक्षामा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा शंकाको दृष्टिले हेर्नेछन्। आलस्य त्यागेर काम गर्नु राम्रो हुन्छ। परिवार र प्रेम सम्बन्ध राम्रो बन्नेछ।

तुला : दैनिकी राम्रो छ। बलले भन्दा बुद्धिले धेरै काम गर्नुपर्नेछ। हल्ला गर्नेहरु असफल हुँदा तपाईं सफल बन्ने योग छ। शिक्षामा सफलता मिल्नेछ। परिवारमा सकारात्मक भाव सञ्चार भएकाले सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : आज शनिदेवको छाया योग परेको छ। अरु सफल बन्दा तपाईंले बढी श्रम गर्नुपर्ने हुनसक्छ। परिवारको साथ, सहयोग र माया प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुने योग छ। जागिरमा बढुवा हुने योग छ।

धनु : दैनिकी राम्रो छ। मनमा उत्साह बढ्नेछ। काममा जोस र जाँगर उस्तै रहनेछ। मासु, मदिरा र सुन्दरताको पछाडि नलाग्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रमा गरेको लगानी सफल हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता प्राप्त होला।

मकर : दिन सामान्य छ। अचानक धन खर्च हुने योग छ। हतारमा निर्णय गर्नु राम्रो हुँदैन। बौद्धिक व्यक्तिसँग सुझाव लिएर काम थाल्नु राम्रो हुन्छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। व्यापार गर्नुहुन्छ भने आम्दानी बढ्नेछ। परिवारमा अनविश्वास बढ्नेछ।

कुम्भ : दिन राम्रो छ। शनिदेवको छाया योग परेको छ। जन्मकुण्डलीको ३, ६ र ११ औं स्थानमा शनि रहेको भए ठुलो उपलब्धि हुनेछ। बोलीमा नम्रता र भावमा शुद्धता भने आवश्यक पर्छ। परिवारको साथ र सहयोग रहनेछ।

मीन : दिन सामान्य छ। खर्च बढ्ने योग छ। वर र पिपलको दर्शन गर्नुभयो भने दिन राम्रो हुनेछ। शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ। वैदेशिक लगानीमा गरेको श्रमबाट उत्साह बढ्नेछ।

एनआरएनएको वार्षिक साधारणसभा काठमाडौँमा सम्पन्न, मनोरेलसहित ३ वटा सम्झौता

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को वार्षिक साधारणसभा काठमाडौमा सम्पन्न भएको छ । ‘वंशज नागरिकताको निरन्तरता नै हाम्रो आवश्यकता’ भन्ने नारासहित सुरु भएको साधारणसभा चैत्र ४ गते काठमाडौँमा सम्पन्न भएको हो ।

४२ देशका प्रतिनिधि सहभागी रहेको साधारणसभाको उद्घाटन संघका संरक्षक डा. शेष घलेले गरेका थिए । घलेले नेपालको लागि अझै धेरै गर्न बाँकी रहेको भन्दै सबै गैरआवासीय नेपालीहरु एकजुट हुनुपर्ने बताए । केही समस्या देखिएपनि नेपाल र नेपालीको लागि आफूहरुभित्रैबाट दित्तचित्तले लागेको बताउँदै घलेले नागरिकतालगायतका विषयमा अझै संघर्ष जारी रहेको बताए ।

“हामीले नेपालको लागि अझै गर्न धेरै बाँकी छ । लगानीलगायतका विषयमा सजिलोको लागि हामीले नागरिकताको विषय उठाउँदै आएका थियौँ, सरकारले नागरिकता प्रदान गरे पनि गैरआवसीय नागरिकताले केही अप्ठ्यारा फुकाउन सकेको छैन” घलेले भने । उनले नागरिकतालाई कागजको खोस्टोमा सिमित बनाउन नहुने समेत बताए ।

संघका आईसीसी अध्यक्ष विनोद कुँवरले संस्थाको उद्देश्य पूरा गर्न विधिमा चलाउनुपर्ने बताए । उनले १० औं महाधिवेशनमा विधिलाई धोती लगाउनेहरुकै कारण संघमा विवाद उत्पन्न भएको बताए । “हामीले संस्थालाई विधिमा लैजाउ भनेका थियौं, केही साथीहरुले विधिभन्दा पनि मनखुशी संघलाई चलाउन खोज्दा समस्या पैदा भएको हो । हामी अझैपनि विधिवत रुपमा संघलाई अगाडि बढाऔं भनिरहेका छौं” कुँवरले भने । उनले त्यसैको लागि आफूहरुले महाधिवेशन रोकेर बार्षिक साधारणसभा गरेको बताए ।

आफूहरुले आवाज उठाएको २० बर्षपछि नागरिकता प्राप्ति भएको तर त्यसमा समित अधिकार तोकिएकोले समस्या समाधान नभएको बताए । आफूहरुलाई लगानीको वातावरण नबनेको भन्दै कुँवरले भने, “हामीहरुलाई स्वागत चाहिँदैन, देशको समृद्धिको लागि विदेशमा कमाएका पैसा नेपालमै लगानी गर्ने वातावरण बनाइदिनुुस् भनेका छौं । दिनदिनै युवा पलायन भइरहेको भन्दै त्यसलाई रोक्न पनि हामी लगानी भित्र्याएर रोजगारी सिर्जना गर्छौं, त्यसको लागि वातावरण चाहिएको हो ।”

कार्यक्रममा उपाध्यक्ष थर्क सेनले संघभित्र रहेका विधि नमान्ने र पदलोभीहरुका कारण १० औं महाधिवेशनमा विवाद उत्पन्न भएको बताए । उनले आफूहरुले संघको विधान र विधि मानेकोले मुलधार भएको बताए । अर्को उपाध्यक्ष भूमा लिम्बु, पूर्वउपाध्यक्ष सोनाम लामालगायतले संघलाई विधिमा चलाउनुपर्नेमा जोड दिएका थिए ।

साधारणसभाको बन्दशत्रमा एनसीसी, आरसी, महासचिव, कोषाध्यक्षको रिपोर्ट प्रस्तुत गरिएको थियो । साधारणसभाले महासचिव जानकी गुरुङले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन पारित गरेको छ ।

त्यसैगरी साधारणसभामा मनोरेलसहित तीनवटा महत्वपूर्ण सम्झौता समेत भएका छन् । काठमाडौँका तारकेश्वर नगरपालिकामा मनोरेल स्थापना गर्ने, भूकम्पबाट क्षति भएको जाजरकोटको भेरी नगरपालिका र पश्चिम रुकुमको आठबीस नगरिपालिकाको पुनर्निर्माण गर्ने सम्झौता पनि भएका छन् ।

पर्यटक प्रवद्र्धनको लागि तारकेश्वर नगरपालिकामा मनोरेल स्थापना गर्ने सम्बन्धी सम्झौतामा नगर प्रमुख कृष्णहरी महर्जन र नेपाल मनोरेल कम्पनीको प्रमुख कार्यकारी अधिकृत संगिता कार्कीले हस्ताक्षर गरेका छन् ।
संघका अध्यक्ष विनोद कुँवर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त र कोरियान नागरिक जिहोङ सुन रोहबरमा उक्त सम्झौतामा हस्ताक्षर भएको थियो ।

त्यसैगरी भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण सम्बन्धी सम्झौतामा संघको तर्फबाट संरक्षक शेष घले, अध्यक्ष विनोद कुँवर र भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती र आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, कोरियन कस्मेटिक (एनके) नेपालमै उत्पादनको लागि पनि सम्झौता भएको छ ।

मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु

जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ ।

संसारकै लामो यात्रा मानिएको १५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत आज बिहान महोत्तरीको कञ्चनवनमा साधु, सन्त, महात्माले भगवान् रामचन्द्र र सीता माताको प्रतिमामा रङ, अबिर हालेपछि सम्पूर्ण मिथिलाञ्चलमा विधिवत् रूपमा होली प्रारम्भ भएको हो ।

पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थानका लागि भङ्गहा नगरपालिका–९ कञ्चनवनमा पुगेका साधु, सन्त, महात्मासहित सम्पूर्ण परिक्रमा यात्रीले आज बिहान भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिमा रङ र अबिर लगाइयो भने परिक्रमामा सहभागी सयौँ साधुसन्त र परिक्रमा यात्रीले एकापसमा रङ अबिर दलेका थिए ।

होलीको विधिवत् प्रारम्भसँगै प्रत्येक वर्षझै यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत गाउँने, नाचगान गर्ने, हाँसो ठट्टा र व्यङ्गात्मक कविता वाचन तथा चुटकिला भन्ने तथा नाटक देखाइनेछ ।

रुसको राष्ट्रपतिमा पुटिन पुनः निर्वाचित

मस्को । भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएका हुन् ।

रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले आइतबार आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको जानकारी दिएको थियो । जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला उनी ७७ वर्षका हुनेछन् ।

जोसेफ स्टालिनपछि पुटिन रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुन् । उनी विगत ३ दशकदेखि शक्तिमा रहेका छन् । यसअघि प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुन्थ्यो । तर सन् २००८ मा कार्यकालको अवधि छ वर्षका लागि थप गरिएको थियो ।