आयल निगमका तत्कालीन प्रमुख खड्काविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कालाई पर्याप्त सजाय नभएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

आफूले मागदाबी गरे अनुसार सजाय र जरिवाना नभएको भन्दै अख्तियारले विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको हो । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा १५ असार, २०८० मा खड्कालाई ९ करोड १९ लाख जरिवाना र १५ महिना जेल सजायको फैसला गरेको थियो ।

आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध रु १८ करोड ६६ लाख पाँच हजार बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतमा सम्पत्ति जफत र २ वर्ष कैद सजायको माग गरेको थियो ।

अख्तियारले खड्कामाथि शर्मिला खड्का र अंकिता लामाको नाममा समेत सम्पत्ति लुकाएको आरोप लगाएको थियो ।आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार लामो समयदेखि आयोगले खड्काको सम्पत्तिका बारेमा छानबिन गर्दै आएको बताइएको थियाे । विशेष अदालतले त्यसलाई आंशिक रुपमा ठहर गर्दै उनीहरुको नाममा रहेको ३ कित्ता घरजग्गा बिगोको हदसम्म जफत गर्नु भनी आदेश दिएको छ ।

अख्तियारले खड्का विरुद्ध पुनरावेदन दर्ता गर्दै आफ्नो मागदावी अनुसार सजाय हुनुपर्ने भनेको छ ।

सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सीआईबीले बुझ्यो

काठमाडौं । सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुझेको छ ।पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो ।

आइतबार गृह मन्त्रालयमा प्रतिवेदन बुझेको सीआईबी स्रोतले जानकारी दिएको छ । आज हामीले प्रतिवेदन बुझेको छौं । अब अध्ययन गरेपछि कारबाही प्रक्रिया अघि बढाउँछौं ।’

विमानस्थलको भन्सार जाँच पास गरेको तस्करी भएको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागिरहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो ।

त्यसबीचमा सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए ।

आयोगले सुन तस्करीमा संलग्नहरुसँग बयान, स्थलगत अध्ययन, प्राविधिक विश्लेषणलगायतका आधारमा केही महत्वपूर्ण सिफारिसहरु सहित गृह मन्त्रालयलाई चैत १ गते प्रतिवेदन बुझाएको थियो ।

जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री रविको निर्देशन

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्री रविले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

उनले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई आइतवार निर्देशन यस्तो दिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा केही समयअघि भएको छलफलमा गृहमन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयमा आयोजित भेटघाटमा मन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजै सुरु गर्न समेत निर्देशन दिएका छन् । सो का लागि विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिने भएको बुझिएको छ । 

यस्तो छ तपाईंको ४ चैत्र २०८०, आईतवार आजको राशिफल

मेष : समय राम्रो छ । समयको सदुपयोग गर्नु राम्रो हुन्छ । मनमा शान्ति मिल्नेछ । साथीले सहयोग गर्नेछन् । अन्यायमा परेकालाई सहयोग गर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । तपाईंलाई लगानीको क्षेत्रबाट फाइदा हुनेछ । शिक्षामा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको लगानीबाट उल्लेखनीय फाइदा हुनेछ । परिवारिक सम्बन्धबाट साथ र सहयोग निरन्तर रहनेछ ।

मिथुन : समय राम्रो छ । धर्म र अर्थको क्षेत्रमा उत्साह बढ्नेछ । देशभित्र अवसरको सिर्जना हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीमा ठग सक्रिय भएकाले सचेत हुनुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेमममा खुशी मिल्नेछ ।

कर्कट : दिन सामान्य छ । परिवारले शंका गर्ने दिन छ । लगानी गर्दा सचेत बन्नुपर्ने दिन छ । मिठा कुरा गरेर आफूलाई बदनाम गर्नेसँग सचेत हुनुपर्नेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने अपेक्षा गर्न सकिन्छ । परिवारबाट सहयोग मिल्नेछ ।

सिंह : आजको समय राम्रो छ । लगानीका क्षेत्रबाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक लगानीबाट फाइदा हुन्छ । परिवारले मर्म नबुझ्दा मनमुटाव हुनसक्छ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ ।

कन्या : समय राम्रो छ । अपेक्षा नगरेको आम्दानी हुनसक्छ । यात्रा गर्नुभए सफल र रमाइलो हुनेछ । परिवारको माया पाइने छ । प्रेममा हुनुहुन्छ भने सम्बन्ध सफल बन्नेछ । स्वदेशमै काम गर्ने अवसर मिल्नेछ ।

तुला : दिन राम्रो छ । स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट खुशी मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक : आजको समय राम्रो छ । एउटा गलत काम खोज्ने साथी सक्रिय भएकाले काम गर्दा सचेत हुनु राम्रो हुन्छ । मातापिताको आज्ञा लिएर अगाडि बढ्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

धनु : दैनिकी राम्रो छ । ठुलो उद्योगमा लगानी गर्नु फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । धार्मिक यात्रा गर्ने योग रहेको छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । साथीको माया मिल्नेछ ।

मकर : दिन राम्रो छ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ । समाज सेवा गर्ने अवसर मिल्नेछ । सोचेको काम भने अधुरो बन्ने देखिन्छ । परिवारसँगको सम्बन्धमा खटपट हुने जोखिम छ।

कुम्भ : दिन सामान्य राम्रो छ । अचानक अप्रिय शब्द सुन्नुपर्ने हुनसक्छ । मानसिक चिन्ताले सताए पनि धार्मिक क्षेत्रमा मन जानेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : समय राम्रो छ । श्रम गरेको क्षेत्रबाट फाइदा हुनेछ । शिक्षामा देखिएका समस्याको सुधार हुनेछ । सामाजिक क्षेत्रमा विरोधको आवाज सुन्नुपर्नेछ । आम्दानी भन्दा खर्च बढी हुने दिन छ । परिवारको साथ र सहयोग मिल्नेछ ।

कांग्रेसबाट पटकपटक धोका भयो : प्रधानमन्त्री

काठमाडौ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट गरेका छन् ।

आज बिहान पोखरामा पार्टीका अगुवा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले भने, “कांग्रेसबाट पटकपटक धोका भयो । कांग्रेसबाट हामीलाई भोट ‘ट्रान्सफर’ हुने पनि देखिएन । सबैजसो निर्वाचनमा धोका भयो । भोलि पनि यस्तै हुने देखियो । एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ ।”

प्रधानमन्त्री दाहालले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताए । उनले भने, “राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। पूर्वदेखि पश्चिमसम्मको तराई–मधेशलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई–मधेशलाई जोडेर उत्तर–दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ ।”

गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उनले बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले भने, “गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुङ्ग्याएपछि एउटा निष्कर्षमा पुग्नेछौँ ।”

केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले स्पष्ट गरे । उनले भने, “कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ । त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो । त्यो चुनौती पार गरिएको छ । देशको राजनीति सही बाटोमा आएको छ ।”

नेसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडाै । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । बैठक मध्याह्न १२ बजे केन्द्रीय कार्यालय तीनकुनेमा बस्नेछ ।

अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीमा परामर्श नगरी बैठक बोलाएको भन्दै अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले यो बैठक बहिस्कार गर्ने भएको छ ।

चितवनमा सवारी दुर्घटना, एक भारतीय नागरिकको मृत्यु

चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोतिहारीका ३५ वर्षीय गौरी दास रहेका छन् ।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।

गएराति पौने तीन बजे तिर ग १ ख ८५२४ नम्बरको बसना रायणगढ-मुग्लिन सडकको जलबिरेमा दुर्घटना भएकाे हाे ।

ट्राफिक प्रहरीको लापसे चेकिङ : ४ जना चालक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकलाई
शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बा ३ च ८८२ नम्बरका एम्बुलेन्स चालक दोलखाको कालिन्चोक गाउँपालिका ३ का २५ वर्षीय सागर दर्जी, प्रदेश १-०१- ००१ ख ४३ ४० नम्बरका बसका चालक सुनसरीको धरान उपमहानगरपालिका १५ का ४३ वर्षीय भोला चिमरिया, बागमती प्रदेश ०३ ००१ ख १९ ९५ नम्बरका ट्रक चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका १० का २४ वर्षीय प्रविण ठकुरी र ना ७ ख ९५
८२ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १० का २५ वर्षीय निलकण्ठ थापालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा‍ लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ ।

बिरामी बोक्ने एम्बुलेन्स तथा यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम बिपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए । यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले
तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नु अनुरोध गरिएको छ ।

यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडाै‌ । नेपाल राष्ट्र बैंकले आज आइतबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आइतबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ३१ पैसा र बिक्री दर १३२ रुपैया ९१ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ०६ पैसा र बिक्री दर १४५ रुपैयाँ ७१ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६८ रुपैयाँ ४७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४९ रुपैयाँ ८४ पैसा र बिक्री दर १५० रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ८९ पैसा र बिक्री दर ८७ रुपैयाँ २८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७६ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ २० पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९० पैसा र बिक्री दर ८ रुपैयाँ ९४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

कोका–कोलाले नेपालको लागि बनायो ’द लार्जेस्ट मोमो पार्टी’ को गिनिज वल्र्ड रेकर्ड

काठमाडौं । कोका–कोलालेनेपालमा ’द लार्जेस्ट मोमो पार्टी’ को लागि गिनिज वल्र्ड रेकर्ड ऐतिहासिक उपलब्धि कायम गरेको छ । यो निर्विवाद छ की नेपालले साँच्चै कोक र मोमो निकै मन पराउँछ।

शुक्रबार, चैत २ गतेका दिन बौद्ध, काठमाडौंस्थित हायात रेजेन्सी ग्राउन्डमा ’काठमाडौँ इज कुकिंग’ को दोस्रो संस्करणको एउटा भागको रूपमा ’द लार्जेस्ट मोमो पार्टी’ मार्फत नयाँ गिनिज वल्र्ड रेकर्ड कायम गरेर अविस्मरणीय अनुभव सिर्जना गरी कोका–कोलाले इतिहास रचेको छ ।

कोका–कोलाले ५०० जना भन्दा बढी उत्साही सहभागीहरूका साथ यो कार्यक्रम सफलतापूर्वक आयोजना गरेको थियो। प्रत्येक सहभागीलाई २५० एमएल कोकको बोतलसहित दुईवटा मोमो खान दिएको थियो। खाद्य सुरक्षा र स्वच्छताको उच्चतम मापदण्ड सुनिश्चित गर्न, एकजना समर्पित फुड हईजिन इन्स्पेक्टर र दुईजना साक्षीहरु पनि कार्यक्रममा उपस्थित रहेका थिए ।

कार्यक्रम लगभग १५ मिनेट चलेको थियोर सहभागीहरूले कोका–कोलासँगै स्वादिष्ट मोमोको स्वाद लिएका थिए । यस उपलब्धिले समुदायमा हर्ष र एकताका क्षणहरू सिर्जना भएको छ र यसका लागि कोका–कोला सदैब तत्पर रहेको छ ।
कोका–कोला नेपालकी कन्ट्री डाइरेक्टर, चन्द्रिका कालियाले कम्पनीको उपलब्धिमा गर्व व्यक्त गर्दै भने, “कोका–कोला र मोमो नेपालीहरुलाई साँच्चै नै मन पर्दछ र यो उपलब्धि त्यस कुराको साक्षी बन्न पुगेको छ । परिकारहरुको यो उत्सव नेपाली संस्कृतिको जीवन्तताको प्रमाण हो । हामी नेपाली समुदायमा उत्सव र आनन्दको अविस्मरणीय अनुभवहरू सिर्जना
गर्न पाउँदा गर्व गर्दछौं ।“

कोका–कोलालाई विश्वव्यापी सबले मन पराउछन् र लामो समयदेखि विभिन्न किसिमका परिकारको स्वादको पूरक बन्ने क्षमताको लागि प्रशंसा गरिन्छ । स्वादिलो खानेकुरादेखि चटकदार स्न्याक्ससम्म, कोका–कोलाले विश्वभरिका मानिसहरुका मनपर्ने व्यञ्जनहरूसँगै आफूलाई एक स्टेपलको रूपमा स्थापित गरेको छ । पुस्तौँदेखि, कोका–कोलालाई विभिन्न
परिकारहरूका स्वादहरू समृद्ध पार्ने आदर्श सहयोगीको रूपमा लीईन्छ ।

यसबाहेक, कोका–कोलाले विश्वभरका फूड लभरहरूलाई मोहित गर्ने प्रिय डम्प्लिब डिश मोमोको साथमा छनौट गरिने पेय पदार्थको रूपमा लोकप्रियता हासिल गरेको छ । परम्परागत रूपमा मासुका कीमा वा तरकारीहरूले भरिएको र बाफमा पकाइने मोमो र कोका–कोलाका रिफ्रेशिंग विशेषताहरूले एक भिन्न जोडी बनाउँछन्, जसले स्वाद र टेक्स्चरको उत्तम फ्युजनको परिणाम दिन्छ र सबैलाई अझ मोमो खान उत्सुक बनाउँछ ।

कोका–कोलाले नेपालमा कोक र स्थानीय परिकारको अवधारणालाई आत्मसात गर्न लगातार नौ वर्षदेखि मोमो उत्सव अभियान आयोजना गर्दै आएको छ । यो पहलले नेपालको प्यारो कोका–कोलाको र मनपर्ने मोमोको फ्युजनलाई देशभरि आनन्द र खुशी फैलाउने उत्सव मनाउँछ । नेपाली जनताको मोमोप्रति अटुट स्नेह छ, र चीसो कोकको बोतलको साथ तातो–
तातो मोमोको जोडीले हामीलाई मोहित गर्दछ ।

नेपालमा कोक र मोमो बीचको सम्बन्ध खानाको प्राथमिकताभन्दा बाहिर फैलिएको छ; यो नेपाली समाजमा गहिरो रूपमा निहित संस्कृतिको रूपमा विकसित भएको छ । स्वाद र विविधफिलिंग्सका लागि प्रख्यात मोमो, नेपाली परिकारको अपरिहार्य अंग बनेको छ, जुन सबै क्षेत्रका व्यक्तिहरूले मन पराउँछन्। घरघरमा बनेको होस् वा स्ट्रीट फूड स्टलबाट स्वाद लिइएको
होस्, मोमोले नेपाली जनताको हृदयमा विशेष स्थान ओगटेको छ ।

कोका–कोला, नेपालमा आफ्नो सर्वव्यापी उपस्थितिको साथ, मोमो–खाने अनुभवलाई निर्बाध रूपमा पूरक बनाउँछ, यो मनपर्ने परिकारको साथमा मनपर्ने पेय पदार्थको रूपमा उभिएको छ । साथै, कोक र मोमोरमाइलो मात्र होइन, संस्कृतिको संयोजनको प्रतीक पनि हो, जसले नेपालको जीवन्त परिकारका परिदृश्यमा साम्प्रदायिक भोजनको सार र साझा आनन्दका
क्षणहरूलाई मूर्त रूप दिन्छ ।

कोका–कोलाले नेपालमा आफ्नो ५० वर्ष मनाउँदै गर्दा, यो गिनिज वल्र्ड रेकर्ड उपाधिले कोका– कोलाको सांस्कृतिक एकता र मनोरञ्जन प्रदान गर्ने आफ्नो विरासतलाई कायम गरेको छ । कोका–कोला नेपालको जीवन्त सामुदायिक भावना र समृद्ध सम्पदाको उत्थान गर्न प्रतिबद्ध रहेको छ ।

मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति

पथरी (मोरङ) । मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा रु एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ ।

मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।


बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै आर्थिक वर्ष २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

स्कुलमा शुल्क नतिर्दा एसइईको परिक्षाबाटै वञ्चित

काठमाडौं । काठमाडौं महानगरपालिका– ४ धुम्बाराहीस्थित कान्तिपुर इंग्लिस हाई सेकेन्डरी स्कुलले शुल्क नतिरेको भन्दै विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरेको छ । कक्षा १० मा अध्ययनरत सोफी शेर्पालाई स्कुलले परीक्षा दिन रोक लगाएको हो ।स्कुलले बुधबारदेखि एसइई (सेकेन्डरी इजुकेसन एक्जामिनेसन)को तयारीमा रहेका विद्यार्थीको ‘फाइनल टर्मिनल’ परीक्षा लिइरहेको छ । सोफी पनि एसइई परीक्षाको तयारीमा छिन् । तर, स्कुलले उनलाई शुल्क नतिरेको भन्दै परीक्षा दिनबाट वञ्चित गरेको छ । कक्षा पाँचमा अध्ययनरत उनका भाइ फुर्वा शेर्पालाई पनि स्कुलले बुधबारदेखि नै विद्यालय प्रवेशमा रोक लगाएको छ ।

नयाँ पत्रिकाको सम्पर्कमा आएका स्कुलका एकाउन्टेन्ट राजु श्रेष्ठले शुल्क नतिरेपछि सोफीको परीक्षा रोकिएको स्वीकार गरे । ‘म स्कुलको प्रिन्सिपल होइन । उनीहरूको डिटेल जानकारी मलाई थाहा भएन । पढाउने म्यामहरूको भनाइअनुसार उनीहरूले शुल्क तिरेका छैनन् । सोही कारण परीक्षा दिन रोकिएको होला,’ उनले भने ।

सोफी र फुर्वाका बाबु कामी शेर्पाले भने दुवैको शुल्क चुक्ता भइसकेको र उनीहरूले आफूसँग थप एक लाख रुपैयाँ मागिरहेको बताए । सोही रकम तिर्न नसकेपछि स्कुलले छोरी सोफीलाई परीक्षा दिन रोक लगाएको र छोरा फुर्वालाई विद्यालय प्रवेश गर्न नदिएको दाबी गरे । ‘मैले स्कुललाई उनीहरू आफैँले तयार गरेको मापदण्डभन्दा धेरै शुल्क बुझाएको छु । तर, उनीहरूले विभिन्न शीर्षकमा थप एक लाख रुपैयाँ माग गरेका छन् । थप रकम किन तिर्नु ? मैले रकम तिर्न इन्कार गरेँ । बदलामा उनीहरूले छोरीलाई एसइईको मुखमै परीक्षा दिनबाटै वञ्चित गराए । छोरालाई स्कुल प्रवेश गर्न दिएनन् । यसले मेरा स–साना छोराछोरीमा गम्भीर मानसिक असर परेको छ,’ उनले भने ।

कामी शेर्पाका अनुसार स्कुलले काठमाडौं महानगरपालिकामा बुझाएको शुल्क मापदण्डभन्दा आफूसँग धेरै रकम असुल गरेको बताए । महानगरपालिकामा स्कुलले पेस गरेको शुल्क तालिकाअनुसार कक्षा ९ र १० का लागि वर्ष दिनभित्र बुझाउनुपर्ने शुल्क दुई लाख ५० हजार तीन सय २५ रुपैयाँ निर्धारण गरिएको छ । कक्षा चार र पाँचका लागि वर्ष दिनको शुल्क एक लाख २३ हजार दुई सय ५० रुपैयाँ तोकिएको छ । उल्लेखित शुल्क मासिक पढाइ, वार्षिक, भर्ना, धरौटी, परीक्षा, कम्प्युटर, शैक्षिक भ्रमण, शैक्षिक सामग्री खरिदबापतको एकमुस्ट शुल्क हो ।

तर, नयाँ पत्रिकालाई प्राप्त विवरणअनुसार कामी शेर्पाले छोरी सोफीका लागि कक्षा ९ र १० मा शुल्कबापत दुई लाख ५७ हजार नौ सय ९० रुपैयाँ बुझाएको देखिन्छ । जुन स्कुलले महानगरपालिकामा पेस गरेको शुल्क विवरणभन्दा सात हजार ६ सय ६५ रुपैयाँले धेरै छ । त्यस्तै, छोरा फुर्वाका लागि कक्षा चार र पाँचमा शुल्कबापत एक लाख ३८ हजार रुपैयाँ बुझाएको देखिन्छ । जुन महानगरपालिकामा पेस गरिएको शुल्क विवरणभन्दा १४ हजार सात सय ५० रुपैयाँले धेरै छ ।

‘मैले स्कुललाई उनीहरू आफैँले निर्धारण गरेको शुल्कभन्दा धेरै रकम बुझाएको छु । मसँग यसका सबै प्रमाण छन् । उनीहरूले दिएको रकम रिसिभ गरेको रसिद मसँग छ । उनीहरू मसँग अझै एक लाख रुपैयाँ मागिरहेका छन् । इमेलमार्फत विभिन्न धम्की दिइरहेका छन् । शुल्क नतिरेको भन्दै अबोध बालबालिकालाई विद्यालय प्रवेश गर्न रोक्नु कहाँसम्मको न्याय हो ?’ शुल्कबापत विद्यालयमा बुझाएको रकमको विवरण देखाउँदै कामीले प्रश्न गरे ।

काठमाडौं महानगरपालिकाले घटना सम्बन्धमा छानबिन भइरहेको जानकारी दिएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साहका शिक्षा विभाग सचिवालय सल्लाहकार सस्मित पोखरेलले घटनाको सूचना महानगरपालिकामा पनि आएको र छानबिन भइरहेको बताए । (आजकाे नयाँ पत्रिकामा खबर छ)

कस्ताे रहला आजकाे माैसम ?

काठमाडाै। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसकाे प्रभावलेहाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भाेजपुर आगलागी अपडेट : तीन बालबालिकाको मृत्यु

टक्सार । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिए।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।