काठमाडौ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)कै हाराहारीमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुँदासमेत आर्थिक वृद्धिमा त्यसको उल्लेख्य योगदान देखिन नसकेको धारणा यस क्षेत्रका जानकारहरूले राखेका छन् ।
आज यहाँ आयोजना भएको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ का वक्ताहरूले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा उत्पादनमूलक क्षेत्रमा जानुपर्ने र अर्थतन्त्रको वृद्धिमा योगदान पुर्याउनुपर्ने धारणा राखेका हुन् ।
राजस्व सचिव डा रामप्रसाद घिमिरेले उत्पादन तथा उत्पादकत्व बढाउनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्ने मुख्य दुईवटा चुनौती मुलुकले भोगिरहेको बताए । पुँजी निर्माणमा हुने खर्च घटेका कारण लक्ष्यअनुसार आर्थिक विकास हुन नसकेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाले उत्पादन र रोजगारी बढाउने गरी कर्जा विस्तार गर्नुपर्नेमा पनि उनले जोड दिए ।
मुलुकको कुल गार्हस्थ्य उत्पादनको तुलनामा राजस्व सङ्कलन सन्तोषजनक रहे पनि नेपालको विकास आवश्यकता धेरै भएका कारण बढी स्रोत आवश्यक पर्ने सचिव घिमिरेले बताए । आर्थिक गतिविधि चलायमान भएमात्र राजस्व बढ्ने पनि उनको भनाइ छ ।
व्यापारमा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित अर्थतन्त्रका रूपमा विकास गर्दै लैजानुपर्ने आवश्यकता पनि उनले औँल्याए । नेपालको आन्तरिक उत्पादन बढ्ने र प्रतिस्पर्धी हुने गरी सरकारले निजी क्षेत्रलाई विश्वासको वातावरण बनाइदिनुपर्नेमा उनले जोड दिए ।
सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा प्रकाशकुमार श्रेष्ठले मुलुक सङ्घीय संरचनामा गइसकेपछि सरकारी वित्त बुझ्न थप कठिन भएको बताए । अहिले सरकारी कोषमा ठूलो रकम थुप्रिएको र यसले बजार मागमा सङ्कुचन ल्याउन भूमिका खेलेको उहाँको भनाइ छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाप्रति नकारात्मकता बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । सहकारी क्षेत्रमा समस्या देखिँदा त्यसको असर बैंक तथा वित्तीय संस्थामा परेको पनि निर्देशक श्रेष्ठले बताए । विदेशी वस्तु प्रयोग गर्दा गर्व गर्ने संस्कृति विकास हुँदै गएकामा अब विस्तारै स्वदेशी वस्तु प्रवर्द्धन र प्रयोगलाई बढावा दिनुपर्ने बताए ।
हाल तरलताको अवस्था सकारात्मक रहेको, विदेशी मुद्राको सञ्चिति राम्रो रहेको, ब्याजदर न्यून रहेकोलगायतका सकारात्मक अवस्था हुँदाहुँदै पनि निजी क्षेत्र आशावादी हुन नसकेको धारणा उनले राखे । आन्तरिक मागमा कमी आएको, श्रमको अभाव भएको, उत्पादनशीलता बढ्न नसकेकोलगायत कारण अर्थतन्त्रमा आशातित गतिशीलता आउन नसकेको श्रेष्ठले बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले नेपालको कृषि, पर्यटन, जडीबुटी, जलविद्युत्लगायतका क्षेत्रमा लगानी बढाइनुपर्ने बताए। मूल्य अभिवृद्धि हुने वस्तु तथा सेवामा लगानी गर्दा त्यसले रोजगारी सँगै अर्थतन्त्र विकासमा पनि मद्दत पुग्ने राणाले बताए । सरकारको नीति निजी क्षेत्रमैत्री हुनुपर्नेमा पनि उनले जोड दिए ।
आगामी आर्थिक वर्षको बजेटमार्फत कुन क्षेत्रमा कस्ता योजना ल्याउने भनेर सरकारले निजी क्षेत्रसँग पर्याप्त छलफल गरिनुपर्ने धारणा राणाको छ । बैंकिङ क्षेत्रमा पर्याप्त स्रोत हुँदाहुँदै पनि कर्जा लगानी हुन नसक्नुका कारण पत्ता लगाउन पहल गरिनुपर्नेमा उनले जोड दिए।
पूर्वबैंकर परशुराम कुँवरले बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा बढ्दा व्यावसायिक हुन सघाएको बताए । ग्राहकलाई सेवाको गुणस्तर बढाउनेबारे थप सोच्नुपर्ने आवश्यकता उनले औँल्याए । बैंकिङ क्षेत्रका चुनौती कसरी समाधान गर्ने भनेर स्वदेश र विदेशका असल अभ्यासलाई अवलम्बन गर्नुपर्ने कुँवरको भनाइ छ । बैंकिङ क्षेत्रमा सूचना प्रविधिको प्रयोग र नवप्रवर्तनको क्षेत्रमा लगानी विस्तारलाई प्राथमिकताका साथ हेरिनुपर्ने उनको भनाइ छ ।
वित्तीय क्षेत्रसँग सम्बन्धित सूचना प्रविधि (फिनटेक) विज्ञ सञ्जीव सुब्बा बैंकिङ क्षेत्रमा साइबर सुरक्षा चुनौती बढ्दै गएको बताए । बैंक वित्तीय संस्थाले साइबर सुरक्षाका क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको उनको भनाइ छ । त्यस्तै प्रविधि बुझेका कर्मचारीको सङ्ख्या बैंकिङ क्षेत्रमा निकै कम रहेको पनि उनले बताए । अन्तरदेशीय कारोबार सुरु भइसकेपछि बैंक तथा वित्तीय संस्थामा साइबर चुनौती थप बढेको पनि सुब्बाको भनाइ छ । सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगका लागि पूर्वाधार तयार पारिनुपर्ने आवश्यकता उनले औँल्याए ।
हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतीका बारेमा अर्थविद्, बैंकिङविज्ञ तथा उद्यमीका बीचमा छलफल गरी त्यस्ता समस्या र चुनौतीलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ विकासका लागि दिशानिर्देश गर्न यो सम्मेलन आयोजना गरेको आयोजक राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।
काठमाडाै । नेपाल राष्ट्र बैंकले आज शनिबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बैकका अनुसार शनिबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ३१ पैसा र बिक्री दर १३२ रुपैया ९१ पैसा कायम भएकाे छ ।
युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ०६ पैसा र बिक्री दर १४४ रुपैयाँ ७१ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ४७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४९ रुपैयाँ ८४ पैसा र बिक्री दर १५० रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८९ पैसा र बिक्री दर ८७रुपैयाँ २८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७६ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ २० पैसा छ ।
राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९० पैसा र बिक्री दर ८ रुपैयाँ ९४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।
काठमाडाै । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रित-आंशिक प्रभाव रहेको छ। जसकाे प्रभावलेहाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडाै । नाम द्रुत भएपनि काम सुस्त भनेर लामो समयसम्म पनि सम्पन्न हुन नसकेको भन्दै आलोचना खेप्दै आएको काठमाडौं–तराई (मधेस) द्रुत मार्ग(फास्ट ट्रयाक) मा अब भने काम धमाधाम हुन थालेको छ ।
पछिल्लो समय काठमाडौं–तराई फास्ट ट्रयाकमा सुरुङ मार्ग खन्ने, सडक तथा पुलहरू बनाउने काम तीव्र रूपमा हुन थालेको छ । ती क्षेत्रमा प्राविधिक दक्ष कामदारहरूले धमाधम सुरुङ खन्न खटिरहेका देखिन्छन् भने नेपाली सेनाले त्यहाँ प्रभावकारी अनुगमन गरिरहेका छन् ।
नेपाली सेनाका अनुसार हालसम्म निर्माणाधीन तीनवटा सुरुङ मार्गहरूको जम्मा लम्बाइ ६ दशमलव ४१५ किलोमिटरमध्ये ४ दशमलव ५६० किलोमिटर अर्थात् ७१ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ। दस वटा सेनाले क्याप नै खडा गरेर घाम पनि अनि दिन रात नभनी खटिरहेका देखिन्छन् । प्रारम्भिक चरणका काममा केहि समय लागे पनि अब भने कामले रफतार लिने महासेनानी इन्दिवर गुरुङले बताए । रक्षा मन्त्रालय र सचिव किरणराज शर्माको गहकिलो समन्वयका कारण नै निर्माण कार्यले तीव्रता लिएको देखिन्छ । जसअनुसार मकवानपुर जिल्लामा पर्ने महादेवटार सुरुङमार्गको स्वीकृत डीपीआरबमोजिमको लम्बाइ ३ दशमलव ३५५ किमीमध्ये हालसम्म २ दशमलव ०३२ किमी सुरुङ खन्ने काम सम्पन्न भएको जनाइएको छ ।
यसै गरी धोद्रे सुरुङ मार्गको स्वीकृत डीपीआरबमोजिमको जम्मा लम्बाइ १ दशमलव ६३ किमिमध्ये हालसम्म १ दशमलव २५३ किमि सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । सेनाका अनुसार लेनडाँडा सुरुङमार्गको १ दशमलव ४३ किमिमध्ये १ दशमलव २७५किमि सुरुङ खन्ने कार्य सम्पन्न भएको छ। देवीचौर, सिसौटार र चन्द्राम भीरको सुरुङको काम भने सुरू भइसकेको छैन । सुरुङ खनिएका तीनवटै ठाउँका सुरुङहरूको छिटै ‘ब्रेक थ्रु’ हुने सेनाले बताएको छ।
चुनौती
नेपाली सेनाको निर्माण व्यवस्थापनमा सञ्चालन भइरहेको रणनीतिक महत्वको फास्ट ट्रयाकमा कामहरू धमाधम भइरहेको भए पनि विभिन्न समस्याका कारण आयोजना निर्धारित समयमा सम्पन्न गर्न भने चुनौती देखिएको छ।
निर्माणस्थलमा स्थानीयको मुआब्जा विवाद, सो विवाद समाधानमा राजनीतिक नेतृत्ववाट गरिएको बेवास्ता, ठेकेदारबीचको द्वन्द्वका कारण उत्पन्न अदालती समस्या र मुद्दा लम्बिने प्रक्रिया, केन्द्रबाट रूख कटान गर्न दिने अनुमति र स्वीकृतिमा चरम ढिलाइ तथा निर्माणस्थलमा निर्माणजन्य सामग्रीको अभावका कारण आयोजनाले थप चुनौती भोग्नुपरेकाले काममा ढिलाइ भइरहेको जनाइएको छ । तरपनि कतिपय ठेक्का प्रक्रियामा भने प्रश्न सिर्जना भइरहेका छन्।
ठूलो महत्व बोकेको राष्ट्रिय गौरवको आयोजना भएकाले यसको ठेक्का प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी र वैज्ञानिक बनाउन जरुरी देखिएको छ। आयोजनाको भौतिक प्रगति ३१ प्रतिशत मात्रै आयोजनाको भौतिक प्रगति भने अपेक्षित देखिन सकेको छैन । आर्थिक वर्ष २०८०।८१ को हालसम्मको समष्टिगत भौतिक प्रगति ३१ दशमलव ९० प्रतिशत मात्रै रहेको छ । समष्टिगत वित्तीय प्रगति मोबिलाइजेसनसहित ३१ दशमलव ७९ प्रतिशत रहेको छ। २०७४ साल वैशाख २१ गतेको मन्त्रिपरिषद् निर्णयमार्फत् सरकारले फास्टट्रयाक निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको थियो ।
शुरुका दिनमा फास्टट्रयाको काममा आवश्यक फाउन्डेसन बनाउन, तयारी गर्न, अन्तर्राष्ट्रिय परामर्शको व्यवस्थापन गर्न समय लागेको भए पनि अब भने सबै तयारी पूरा भएको र कामले सबै प्रकारको लय समातिसकेकाले निर्धारित समयमा नै काम सक्ने योजनासहित अघि बढेको महासेनानी गुरुङले जानकारी दिए । सरकारले सो आयोजनाको समय २०८३ चैत्र मसान्तसम्म थप गरिसकेको छ ।
कतिपय ठाउँमा स्थानीयले अनावश्यक रूपमा मुआब्जा विवाद झिकेर समस्या पार्ने गरेको समेत देखिएकाले त्यसमा स्थानीय स्तरमा राजनीतिक नेतृत्वले समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ।
यसै गरी आयोजनालाई समयमा नै सम्पन्न गर्न सबै पक्ष मिलेर मुआब्जा विवाद समयमा नै समाधान गर्नुपर्ने, रूख कटान अनुमति र स्वीकृति तत्काल प्रदान गर्नुपर्ने, स्थानीय तहले निर्माणजन्य सामग्री समयमा नै उपलब्ध गराउनुपर्ने र अदालतले पनि मुद्दा मामिलालाई यथाशक्य टुंगाएर बाटो खुला गर्नुपर्ने आवश्यकता रहेको बताइएको छ।
ललितपुरको खोकना प्रस्थानबिन्दु र बाराको निजगढ अन्तिम बिन्दुको रूपमा रहेको सो फास्ट ट्रयाकको कुल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर रहेको छ। हाल सो मार्गमा प्रस्तावित ६ वटा सुरुङ मार्गमध्ये तीनवटा सुरुङ मार्गमा सुरुङ खन्ने काम तीव्र गतिका साथ भइरहेको छ।
नेपाली सेनाले फास्ट ट्रयाकको काममा गति दिन १३ वटा निर्माण प्याकेजहरू बनाएर काम गरिरहेको छ । जसमध्ये प्याकेज नं १ देखि ७ र १० गरी जम्मा ८ वटा प्याकेजहरूको खरिद प्रक्रिया सम्पन्न भई कार्यान्वयनमा रहेको बताइएको छ। आयोजना हेर्ने जिम्मेवारी पाएका नेपाली सेनाका आयोजना कार्यान्वयन तथा अप्रेसन महाशाखा प्रमुख प्राविधिक महासेनानी गुरुङले आयोजनाका करिब ९५ प्रतिशत प्याकेजहरू कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको बताए । उनले फास्टट्रयाक आयोजना निर्धारित समयमा नै सम्पन्न गर्ने गरी सेना अघि बढिरहेको भए पनि विभिन्न खाले चुनौतीको सामना गर्नुपरिरहेको स्पष्ट पारे ।
यो आयोजना महाभारत पर्वत श्रृंखलाको जटिल र कमजोर भूवनोट तथा चुरे एवं सिवालिक श्रृङ्खलामा पर्ने साँघुरो जमिनलाई छिचोल्दै तराईको समथर भूभागसँग चार लेनको सडकले जोड्नुपर्ने भएकाले थप चुनौतीपूर्ण छ।’ उनले विभिन्न स्थानमा देखिएको जग्गा मुआब्जा विवाद, आयोजना क्षेत्रमा पर्ने रूख कटानको अनुमति र स्वीकृतिमा प्रक्रियागत ढिलाइ, निर्माणजन्य सामग्रीको अभावलगायतका कारणले समेत आयोजना निर्धारित समयमा सम्पन्न गर्न चुनौती थपिएको बताए ।
रुख कटानको बदलामा बृक्षारोपण
सडक निर्माणका क्रममा काटिएका रुखका सट्टा सेनाले एक मेजर कै नेतृत्वमा बृक्षा रोपण अभियान नै चलाएको छ। बारा र रौतहटका कतिपय स्थानमा आफनै नर्सरी तयार गरि विभिन्न जातका बोटबिरुवा रोपि सकेको छ भने यो अभियान जारी राखेको देखिन्छ ।
तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ । । चालु अधिवेशन तीन दिनमात्रै चलेको थियो ।
प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयका अनुसार कुनै ‘बिजनेस’ नभएकाले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।
काठमाडाै । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निमगले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटाएकाे छ ।
मूल्य घटेसँगै अब पेट्राेल प्रतिलिटर पहिलाे वर्गकाे लागि १६८ रुपैयाँ पचास पैसा, दाेस्राे वर्गकाे लागि १७० रुपैयाँ र तेस्राे वर्गकाे लागि १७१ रुपैयाँ लागू हुने छ । नयाँ मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले जनाएकाे छ ।
मोरङ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एकजना स्टाफ नर्सको हत्या भएको छ । सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ ।
सिराहाको फुल्काहकट्टी घर भएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएकाे हाे। उनकाे शव शौचालयमा फेला परेको प्रहरीले जनाएकाे छ।
धारिलो हतियार प्रयाेग गरेर हत्यापछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनी बसेकाे घरको कोठाभित्रको शौचालयमा शव भेटिएको डीएसपी रन्जनकुमार दाहालले बताए। दास अस्पताल नजिक बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्।
दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको उनले बताए। घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ।
काठमाडौं । लघुवित्तपीडित संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति भएको छ । अर्थ मन्त्रालयमा भएको उक्त सहमतिसँगै संघर्ष समितिको तर्फबाट आजैदेखि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ ।
सरकारी पक्षका वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट पुनाराम ज्ञवालीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।
विभिन्न माग राखी आन्दोलनमा उत्रिएका रहेका ऋणीहरूसँग वार्ता गर्न अर्थमन्त्री वर्षमान पुन अनन्तले बुधबार समिति गठन गरेका थिए। अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको संयोजकतत्वमा वार्ता टोली बनाइएको थियो।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अनुसन्धानको घेराभित्र रहेको व्यक्ति गृहमन्त्री भएर सुशासन कायम हुन सक्छ त भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् भने पाली कांग्रेसकै सांसद कुसुमदेवी थापाले सहकारीको रकम अपचलनको विषयमा अनुसन्धानको दायरामा रहेका रवि लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारी दिएर सरकारले दूधको साक्षी बिरालो राखेको भन्दै गम्भीर आपत्ति जनाएकी छिन् ।
प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै नेता पौडेलले प्रधानमन्त्री यसको जवाफ दिनबाट भागेको पनि आरोप लगाए । साथै उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजीनामा दिएर निष्पक्ष छानबिनका सघाउन आग्रह गरे । विगत केही दिनदेखि प्रमुख प्रतिपक्षले निरन्तर रुपमा संसदमा प्रश्न उठाउँदै आएको छ । प्रधानमन्त्री ती प्रश्नको सामना गर्नुको साटो भागेर हिँड्नु भएको छ । सम्माननीय प्रधानमन्त्रीको यस विषयमा डबल स्टयान्डर्ड देखियो । अहिलेका गृहमन्त्रीले विगतमा प्रश्न गर्ने पेशा अपनाउनु भएको थियो ।
सांसद थापाले नेप्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद थापाले अनुसन्धानको दायरामा भएको व्यक्तिलाई नै अनुसन्धान गर्ने मन्त्रालयको बागडोर सम्हाल्न दिनु दूधको साक्षी बिरालो भएको स्पष्ट पारेकी हुन् । हाल देशैभरिका निम्न वर्गीय नागरिकहरु आफ्नो गास कटाएर सहकारीमा बचत गरेको रकमको साँबा ब्याज फिर्ता पाउनको लागि आन्दोलनरत छन् । देशमा राजनीतिक, सामाजिक निराशालाई मलजल गर्ने गरी आर्थिक निराशा र असुरक्षा चुलिएको वर्तमान अवस्थामा नेपालको तीन खम्बे अर्थनीतिको एउटा खम्बा सहकारीमा केही सहकारी ठगहरुले सहकारीको मान्यता विपरीत रकम अपचलन गरेका कारण आज सहकारी तहसनहस अवस्थामा छन् ।
एजेन्सी । गाजा सहरमा सहायताको प्रतीक्षामा रहेका विस्थापित प्यालेस्टिनी भेला भएको स्थानमा इजरायलले गरेको आक्रमणमा कम्तीमा २१ प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।
उक्त घटनामा १५० जना घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । प्यालेस्टिनीहरूको एउटा समूह सहयोग प्राप्त गर्न भेला भएको स्थानमा हेलिकप्टरबाट मेसिन गनद्वारा आक्रमण भएको स्थानीयले बताएका छन् । घटनास्थलको अवस्था चुनौतिपूर्ण भएपनि मृतकलाई उद्धार गर्ने र घाइतेलाई निकाल्ने प्रयास जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।
घाइतेमध्ये केही गम्भीर अवस्थामा रहेका कारण मृतकको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ ।
गत अक्टोबर ७ मा हमासले इजरायली सेनाले सुरक्षा दिँदै आएको क्षेत्र र शहरहरूमा गरेको आक्रमणपछि इजरायली आक्रमण सुरु भएको थियो ।
इजरायली प्रतिरक्षा बल (आईडीएफ)ले शुक्रवार दक्षिणी गाजामा प्यालेस्टिनीहरूलाई लक्षित गरी आफ्नो सेनाले सशस्त्र कारबाही गरेको भन्ने समाचारको खण्डन गरेको छ ।
काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रवार साँझ पाँच बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
सुनकाे अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयाेगकाे प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रबार अपराह्न ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । बैठकबाट केही महत्त्वपूर्ण निर्णय लिने तयारी भएकाे छ ।
सरकारले सुनको तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठन गरेको आयोगले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।