मनि ट्रान्सफरका सञ्चालकमाथि गोली चलाउने समूहका तीन जना पक्राउ

रौतहट ।मनि ट्रान्सफरका सञ्चालकमाथि गोली चलाउने समूहलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेकाे छ । रौतहटमा शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको बताइन् । हामीले गोली चलाउने समूहका तीन जनालाई पक्राउ समेत गरेका छौं । थप अनुसन्धान हुँदैछ’ ।

पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । घाइतेलाई भने उपचारका लागि वीरगञ्ज पठाइएको छ । लुटेराको समूहले लुटपाट गर्ने उदेश्य गोली चलाएको पाइएको छ ।

घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेका अहिले नै सबै विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

कांग्रेसले माग्यो गृहमन्त्रीको नियुक्तिमा प्रधानमन्त्रीसँग जवाफ

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् सांसद रवि लामिछानेको विषयमा प्रधानमन्त्रीसँग जवाफ माग गरेको छ । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो । तर सभामुख देवराज घिमिरे उक्त कार्यसूचीमा प्रवेश गर्नुअघि नै कांग्रेस सांसदहरु उठेर अवरोध गरेका छन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लागेकाले त्यस विषयमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने बताए ।

सुन तस्करीमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस

काठमाडौँ ।  सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ ।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख समेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

आयोगले हिजो (बिहीबार) उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप ’मा भेपमार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ । पूर्व सभामुख महरालाई फेरि अनुसन्धान गरेर मुद्दा चलाउन आयोगले सिफारिस गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले जानकारी दिएका छन् ।
६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट काठमाडौँमा सुन तस्करी भएको थियो । असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो ।

पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन भएको समितिमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज सदस्य थिए । करिब साढे ५ महिनापछि बुझाएको प्रतिवेदनमा महरालाई दोषी किटान गरिएको छ । महरालाई आयोगले बयान समेत लिएको थियो ।

उनका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीबाट गम्भीर त्रुटि भएको समेत बताएका छन् ।

गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया किशोरी मृत फेला

काठमाडौं । गोरखनाथ मन्दिरमाथिको जंगलमा एक किशोरीको शव फेला परेको छ।  सिन्धुली घर भएकी बर्ष १९ कि एक किशोरी काठमाडौंको पशुपति मन्दिर नजिक जंगलको रुखमा झुण्डिएको अबस्थामा मृत अबस्थामा भेटिएकी छिन ।

गोरखनाथ मन्दिरमाथिको जंगलमा सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा आज बिहान फेला परेको गौशाला प्रहरी वृत्तकाले बताए । आज बिहान मर्निङवाक गर्न जानेहरुले रुखमा झुण्डिएको अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव रुखमा झुण्डिएकाे अवस्थामा फेला परेकाे थियाे ।’

 मृत अबस्थामा भेटिएकी सुस्मिता अघिल्लो दिनदेखी परिवार र आफन्तको सम्पर्क बाहिर थिइन । घरमा एक प्रेस नोट लेखी छोडेर उनी घरबाट निस्किएको र सम्पर्क बाहिर रहेको परिवारले जनाएको छ । सिन्धुली घर भएकी अहिले उनी बालुवाखानी, कपनमा बस्ने गर्थिन् ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।

गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन् ।

शुक्रबार बिहान बालुवाटारस्थित निवासमा पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई आयोगले तयार पारेको छानबिन प्रतिवेदन बुझाएका हुन्। आयोगले बिहीबार गृहमन्त्री समक्ष सो प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिए।

गृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

यस्तो छ तपाईंको २ चैत्र २०८०, शुक्रबार आजको राशिफल

मेष : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । साथीभाइ सकारात्मक छन्। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। दैनिक भन्दा फरक शैलीले काम गर्नुपर्ने हुनसक्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : सरकारी कडिकडाउको शिकार भइनेछ । आम्दानीका बाटा धेरै छन्। बिहान शिवको भजन सुनेर कामको सुरुवात गर्नु राम्रो हुन्छ। प्रतिस्पर्धी शान्त हुनेछन्। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मिथुन : दैनिकी राम्रो छ। आफन्त र साथीको सहयोग मिल्नेछ। गुरुले माया गर्ने दिन हो। व्यापारमा नाफा हुनेछ। सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर मिल्नसक्छ।

कर्कट : समय राम्रो छ। श्रम गरेको क्षेत्रबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षा क्षेत्रमा अब्बल बन्नुहुनेछ। परिवारले एक अर्काको मर्म नबुझ्दा पर्ख र हेरको अवस्था सिर्जना हुनसक्छ।

सिंह : समय राम्रो छ। आफूले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने दिन छ। व्यापारमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी राम्रो हुनेछ। परिवारले भने शंका गर्नेछन्। मर्यादामा रहेर शंका चिर्ने काम गर्नुपर्नेछ।

कन्या : दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा सफलता मिल्नेछ। मन भने दुःखी हुनसक्छ। वैदेशिक क्षेत्रमा भन्दा स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

तुला : समय राम्रो छ। बोलीमा नम्रता रहेको खण्डमा तपाईंलाई सहयोग गर्ने धेरै हुनसक्छन्। आर्थिक क्षेत्र शक्तिशाली देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। तर लगानीमा गलत नजर लगाउने धेरै भएकाले सचेत हुनुपर्नै देखिन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : आजको समय सामान्य छ। प्रतिस्पर्धी सक्रिय भएकाले सतर्क रहनु राम्रो हुनेछ। पुरानो रोगले पीडा दिनेछ। खानपानमा ख्याल गर्नुपर्ने समय छ। वैदेशिक क्षेत्रको लगानी राम्रो हुनेछ। परिवार र प्रेम सम्बन्ध रमाइलो बन्नेछ।

धनु : दिन राम्रो छ। तपाईंले आर्जन गरेको धनलाई अवैध भन्ने धेरै छन्। न्याय भने तपाईंलाई नै हुनेछ। नसोचेको स्वास्थ्य समस्या हुने जोखिम देखिन्छ। परिवारले विश्वास नगर्ने समय छ।

मकर : समय राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लाभ हुनेछ। खुट्टा तान्नेहरु सक्रिय छन्। बोल्दा सोचेर बोल्नु राम्रो हुन्छ। आफन्त टाढा भए पनि परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। आफन्तले कुरा काटेको सुन्नुपर्ने हुनसक्छ। अचानक खर्च बढ्नेछ। गुरुले सहयोग नगर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : दैनिकी राम्रो छ। श्रम गरेको भए फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। बोलीमा ख्याल नगर्दा खर्च बढ्नेछ। ऋणको भार पर्ने जोखिम छ। खर्च कटौती गर्नुपर्ने दिन हो। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

एलजीको नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प

काठमाडौं । सबै मौसमका लागि एलजी एसी नाराका साथ अघि बढिरहेको अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले निस्शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ ।

गर्मी बढेसँगै चैत १ गतेदेखि सीमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी “निस्शुल्क ए।सी। सर्भिस र एक्सचेन्ज क्याम्प” योजना अघि सारेको एलजीले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसीमा निस्शुल्क सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीमा बिगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङकनका साथ एलजीको उच्च गुणस्तरिय एसीसँग साट्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकले धधध।अनभभिह।अयmरभहअजबलनभ मा गई आफ्नो पुरानो एसोको मूल्याङकन आँफै पनि गर्न सक्ने कम्पनीले जनाएको छ।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले टोल फ्री नं १६६(००(१००(२११ वा ०१(५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेज मार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ।

रजिस्टर पश्चात एलजीका टेक्नीसियन ग्राहकहरुका घरमै गई यो सुविधा प्रदान गर्नेछन् । यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको एसी खरिद गर्दा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । साथै ग्राहकले नयाँ एसीमा ४००० बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन् । नयाँ एलजीको एसीहरुमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेण्टी रहेको कम्पनीले जनाएको छ ।

स्वास्थ्य बीमा बोर्डमा राेजगारीकाे अवसर

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले करार सेवामा कर्मचारी माग गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक नागरिकले चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घसँग बीमा सम्बन्धी अन्तक्र्रिया

काठमाडाै । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्योगी व्यवसायीहरूको आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

नेपाल बीमा प्राधिकरणद्वारा वीरगञ्ज उद्योग वाणिज्य सङ्घसँग बुधबार वीरगञ्जमा आयोजित बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बजारको अध्ययन अनुसन्धान गरी नयाँ बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई पनि निर्देशन दिएको जानकारी दिए ।

अध्यक्ष सिलवालले भने, “उद्योग व्यवसायको जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न प्याकेजमा कभर हुने गरी सम्पत्ति बीमा निर्देशिका जारी गरिएको छ, यसमा केही कमी कमजोरी देखिएमा सुधार गर्न सकिन्छ, बीमा कम्पनीले पुनर्बीमा गर्ने भएकाले त्यसलाई ध्यान दिनुपर्छ र अन्तर्राष्ट्रिय अभ्यासलाई पनि हेर्नुपर्छ ।”

बीमा दाबी भुक्तानीमा कहीं कतै समस्या भए पनि बीमा कम्पनीहरूले ७५ प्रतिशतभन्दा बढी दाबी भुक्तानी गरेको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, “केही बीमितले समयमैं आवश्यक कागजात तथा प्रमाण नपु¥याएकाले वा कहीं सर्भेयरबाट प्रतिवेदन दिन ढिला हुनाले दाबी भुक्तानीमा ढिलाई भएको हुनसक्छ, दाबी भुक्तानी छिटो गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिइएको छ, निर्देशनलाई अटेर गरी दाबी भुक्तानी नगरेमा त्यस्ता कम्पनीका संचालक तथा प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गर्न प्राधिकरण पछि हट्दैन ।”

अध्यक्ष सिलवालले बीमाको पहुँच बढाउनका लागि बीमा सम्बन्धी जनचेतना अभिवृद्धिमा प्राधिकरणले जोड दिँदै आएको र त्यस क्रममा हालसम्म तीन सयभन्दा बढी स्थानीय तहमा बीमा सचेतना कार्यक्रम आयोजना गरिसकिएको बताए. ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल कुमार अग्रवालले आर्थिक शिथिलताको हालको अवस्थामा उद्योग व्यवसायीहरूलाई बीमाशुल्कमा छूट दिने व्यवस्था गर्न आग्रह गरे ।

कार्यक्रममा उद्योगी व्यवसायीहरूले सम्पत्ति बीमा निर्देशिका परिमार्जन गरी जोखिम नदेखिएको अवस्थामा बीमाशुल्क तिर्नु नपर्ने व्यवस्था गर्न, न्यून बीमाको पहुँच रहेको मधेश प्रदेशमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धिमा जोड दिन, कोरोना बीमाको बाँकी दावी भुक्तानी छिट्टै पाउने व्यवस्था गर्न र बीमा दावी भुक्तानीलाई सरल एवम् सहज बनाउन आग्रह गरेका थिए ।

साथै, उनीहरूले विभिन्न देशमा बीमादर कम हुँदा पनि नेपालमा केही बीमालेखमा बीमादर बढी भएका कारण उद्योगी व्यवसायीहरूलाई मर्का परेको भन्दै त्यसतर्फ नेपाल बीमा प्राधिकरणको ध्यानाकर्षंण गरेका थिए ।

राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने मिसन ८४ः अध्यक्ष ओली

महेन्द्रनगर (कञ्चनपुर) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताएका छन् । एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार महेन्द्रनगरमा सम्बोधन गर्नुहुँदै उनले निर्वाचन र यसको परिणामले कस्को शक्ति कस्तो छ भन्ने कुरा स्पष्ट पार्ने बताए । “ हामी नेपालको राष्ट्रिय शक्तिलाई निर्णायक रुपमा सुदृढ र बलियो बनाउन चाहन्छौँ”, अध्यक्ष ओलीले भने, “यसको मापन निर्वाचन परिणामबाट हुन्छ यसै कारण हामीले मिसन ८४ भनेका छौँ ।”

उनले वर्तमान संयुक्त सरकारले लिएको नीतिले मुलुकमा समृद्धि हासिल हुने बताए। उनले भने, “मेची–महाकालीबाट गएका मिटरब्याज पीडितसित सरकारले सहमति गरेको छ, र समस्या समाधानको सुरुआत सरकारले गरेको छ ।”

अबको तीन महिनाभित्र गृह मन्त्रालयका हरेक सूचक सकारात्मक हुनुपर्छ : गृहमन्त्री लामिछाने

काठमाडौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले तस्करी, गुण्डागर्दी र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न ७७ जिल्लाका जिल्ला सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । विहीबार साँझ गृहमन्त्रालयबाट ‘भर्चुअल’ रुपमा निर्देशन दिँदै उनले आपराधिक गतिविधि नियन्त्रण गर्न कसैको निर्देशन कुरिरहनु नपर्ने बताए ।

“गृह मन्त्रालय हिजो कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चल्दैन, गृह मन्त्रालयको नेतृत्व फेरिएको महसुस नागरिकले भोलि नै गर्नुपर्छ । गृहमन्त्रीका रुपमा नागरिकका पक्षमा, आशा जगाउने गरी काम गर्नेछु”, गृहमन्त्री लामिछानेले भन्नुभयो । समस्या लिएर आउने सेवाग्राहीको काम तत्काल गरिदिन निर्देशन दिँदै उनले काम नहुने अवस्था छ भने कारणसहित सम्झाउन आग्रह गरे । 

उपप्रधानमन्त्री लामिछानेले सरुवा–बढुवाका लागि दबाब दिने तथा गल्ती गर्दा बचाउन सिफारिस गर्ने विद्यमान प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै भने, “अमूक नेता, तस्कर, स्वार्थ समूहले फलानो मान्छे चाहियो भन्यो भने जसको नाम आउँछ उसलाई चाहीँ कारबाही गर्छु ।” उनले दण्डहीनताको अन्त्य र फरार अपराधीको नियन्त्रणमा तत्काल देखिने गरी काम गर्न निर्देश गरे ।  

अबको तीन महिनाभित्र गृह मन्त्रालयका हरेक सूचक सकारात्मक हुनुपर्नेमा जोड दिँदै गुहमन्त्री लामिछानेले काममा आलटाल गर्ने, निर्देशन पालना र लक्ष्य पूरा नगर्नेलाई कारबाही गरिने बताए । “निर्देशनमा होइन टिमको सदस्यका रुपमा योजनाबद्ध र प्रभावकारी काम गरौँ”, उनले भने, “समाजमा रहेका गलत पात्र र प्रवृत्ति तपाईंहरु नै चिन्नुहुन्छ भने सुधारमा के समस्या रह्यो ?” 

सो अवसरमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक ओकप्रकाश जोशीले पनि जिल्ला सुरक्षा समितिका अधिकारीलाई सुरक्षा, सुशासन, सेवा प्रवाह, नागरिक सेवालगायत विषयमा निर्देशन दिएका थिए ।

कस्ताे छ आज डलरकाे भाउ ?

काठमाडाै । नेपाल राष्ट्र बैंकले आज शुक्रबारकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार शुक्रबारकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया २२ पैसा र बिक्री दर १३२ रुपैया ८२ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ६६ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६९ रुपैयाँ ६५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १५० रुपैयाँ ३९ पैसा र बिक्री दर १५१ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६२ पैसा र बिक्री दर ८८ रुपैयाँ ०१ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ १७ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ६२ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ९५ पैसा र बिक्री दर ८ रुपैयाँ ९९ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

संसद्मा आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

काठमाडौँ । संसद्ममा आज दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्न लागिएको हो ।

बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्नेछ भने राष्ट्रियसभा बैठक बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभाबाट उत्पत्ति भएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रियसभा बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति तथा कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन)विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी दुवै सदनमा आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्न लागेको हो ।

यसअघि गत फागुन २८ गते बोलाइएको स्थायी समिति बैठक स्थगित गरिएको थियो ।

बैठकमा पार्टीको विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीले सन्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएकाे छ ।

आजकाे माैसम : यी स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको जल तथा माैसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।