ग्लोबल मनी विकमा कृषि विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

, १३ चैत । कृषि विकास बैंकले ग्लोबल मनी किमा देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

यसैबीच कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरूङको उपस्थितिमा कोशी प्रदेशको आयोजनामा हरिनगरा माध्यमिक विद्यालय, हरिनगरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरे ।

विद्यालयका एघार र वाह्य कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृतले वित्तीय साक्षरता कार्यक्रममा वित्तीय साक्षरताका सम्वन्धमा बैंक, विद्यतीय बैंकिंग सेवा, क्रिप्टो करेन्सी, क्यासलेस, पेपरलेस बैंकिंग सेवाहरु, बेलैमा बचत गर्ने बानीको विकास, कर्जा, निक्षेप, एजेन्सी सेवा लगायत बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतीय कारोवार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारीक खर्चको लेखापालन जस्ता विषयका सम्वन्धमा जानकारी गराउनुका साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भूमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादनमुलक क्षेत्रमा लगाउनु पर्ने बारे प्रकाश पारे ।

साथै कार्यक्रममा गुरूङ हरिनगरा क्षेत्रका कर्जा ग्राहकहरुसंग कृषि बिकास बैंकले प्रदान गर्दे आएको सेवा सम्वन्धमा जानकारी समेत लिएका थिए ।

बैंकका उपमहा प्रबन्धकहरु प्रताप सुबेदी, बाबुकाजी थापा, यज्ञ प्रकाश न्यौपाने, दीर्ध बहादुर अर्याल र प्रेम कुमार श्रेष्ठको उपस्थितिमा बैंकका प्रदेश कार्यलयहरुले चैत्र ५ देखी ११ गतेसम्म सामुदायिक विद्यालय लगायत विभिन्न २४ स्थानहरुमा वित्तीय सारक्षता कार्यक्रम संचालन गरेको हो भने नेपाल राष्ट्रबैंकले लुम्बीनी प्रदेशमा आयोजना गरेको प्रभातफेरी कार्यक्रम प्रदेश कार्यालय भैरहवाको सहभागीता रहेको थियो ।

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

मुगु । गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ ।

दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे । मृत्यु हुनेमा जीप चालक कविराज नेपाली र पहिचान नखुलेका एक जना महिला रहेकी छिन् । दुर्घटनामा चार जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ ।

आन्तरिक राजस्व र भन्सारमा नयाँ महानिर्देशक : राजस्वमा तिवारी, भन्सारमा निरौला

काठमाडाै । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई पठाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज तिवारीलाई विभागको महानिर्देशक बनाई पठाएका हुन् ।

त्यसैगरी भन्सार विभागको महानिर्देशकको रुपमा ढुण्डीप्रसाद निरौला सरुवा भएका छन् । विभागका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गर्दै निरौलाललाई भन्सार विभागमा पठाइएको हो ।

निरौला र तिवारी र हालसालै अर्थमा भित्रिएका सहसचिवहरू हुन् ।

राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुंगो लाग्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने बताएका छन्।

द्वन्द्वपीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्रीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । 

सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालिन न्याय टुङ्ग्याउन सकिएको छैन, प्रधानमन्त्री प्रचण्डले भने, शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने शक्ति पनि सक्रिय नै छन्,त्यसले गर्दा कतिपय समस्या भएको छ ।”

उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले द्वन्द्व पीडित परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउन,द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको जिकिर गरे। प्रधानमन्त्रीले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्‍याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताए।

अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले अनलाइन फार्मेसीबाट औषधिको झुटा तथा भ्रमात्मक प्रचार गरी बिक्रीवितरण गर्न पाइएकाले अनलाइन फार्मेसी बन्द गर्न निर्देशन दिएको बताए । 

अहिलसम्म विभागमा अनलाइन फार्मेसीको स्वीकृत नलिएको र त्यसरी सामाजिक सञ्जालको प्रयोग गरी अनलाइन फार्मेसीका नाममा विभिन्न छुट उल्लेख गरी औषधि गैरकानुनी रुपमा बिक्री वितरण गरिएको महानिर्देशक ढकालले बताए । अनलाइन फार्मेसीका नाममा औषधिको भ्रमात्मक प्रचार गरी छुटलगायत प्रलोभन देखाई बिक्री वितरण गरिएको उनले बताए। 

औषधि ऐन, २०३५ को दफा १९ बमोजिम औषधिको झुट्टा तथा भ्रमात्मक प्रचार गर्न नहुने कानुनी व्यवस्था छ । “सामाजिक सञ्जाल वा पत्रपत्रिकामा औषधिको विज्ञापन गर्नुपूर्व औषधि ऐनको दफा १९ बमोजिम यस विभागबाट पूर्व अनुमति लिनुपर्ने स्पष्ट कानुनी व्यवस्था छ,” महानिर्देशक ढकालले भन्नुभयो । 

अनलाइन फार्मेसीबाट बिक्री वितरण गरिएका औषधिको सुरक्षितता, गुणस्तरीयता र प्रभावकारिताका सम्बन्धमा उपभोक्ता आफैँ जिम्मेवार हुनुपर्ने र त्यस्ता अनलाइन फार्मेसीबाट औषधि खरिद गरी सेवन नगर्न /नगराउन सबैमा अनुरोध गरिएको छ ।  

अनलाइन फार्मेसी सञ्चालन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ ।

बाँसबारीको जग्गा सरकारको नाममा आइसकेको छ : गृह सचिव अर्याल

काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको बताएका छन् ।

बुधवार(आज) प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सचिव अर्यालले बाँसबारी छाला, जुत्ता कारखानाको अतिक्रमित सार्वजनिक जग्गा नेपाल सरकारको नाममा आइसकेको जानकारी दिएका हुन् । सूचना दिएर सहयोग गर्न सबै नागरिकहरूलाई अपिल गरिएकोसमेत बताएका गृह सचिव अर्यालले मन्त्रालयले अपराध अनुसन्धान र अभियोजनलाई उच्च प्राथमिकतामा राखेको पनि जानकारी गराएका छन् । निष्पक्ष रूपमा काम गर्न प्रहरीलाई निर्देशन दिइएको उनको भनाई छ ।

उनले देशका विभिन्न भागमा अतिक्रमित भएका सार्वजनिक सरकारी जग्गाहरुको लगत संकलन गर्न सम्बन्धित निकायहरुसँग समन्वय गरी त्यस्ता जग्गाहरु साविककै अवस्थामा फर्काउन स्थानीय प्रशासनलाई निर्देशन गरिएको पनि बताए ।

यस सम्बन्धी सूचना दिएर सहयोग गर्न सबै नागरिकहरुलाई अपील गरिएको पनि उनले स्पष्ट पारे । अर्यालले सुनको अवैध आयात, तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको बताए ।

बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनको चरणमा रहेको उल्लेख गर्दै उनले अध्ययनपश्चात् कार्यान्वयनमा लगिने जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर राखिएको ५० प्रतिशत हतियार नविकरण नगरिएको प्रारम्भिक प्रतिवेदन आएको भन्दै मन्त्रालयले व्यक्तिहरुसँग गैरकानूनी रुपमा राखिएका हतियार नियन्त्रण गरी शुन्यमा झार्ने नीति अवलम्वन गरेको पनि बताए ।

सचिव अर्यालले अहिले अपराधको विश्लेषण गर्दा आत्महत्या, बैंकिङ कसुर, ज्यानसम्बन्धी कसुरहरु, अभद्र व्यवहार, सार्वजनिक शान्ति विरुद्धको कसुर, लागुऔषध दुव्र्यसन, चोरी, जबर्जस्तीकरणी, बहुविवाह र ठगी जस्ता अपराधहरुको हिस्सा ठूलो देखिएको जानकारी दिए ।

उनले यस प्रकारका अपराधहरु सम्पूर्ण अपराधको ८० प्रतिशत भन्दा बढी रहेको उल्लेख गरे ।

वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ परेका छन् । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर नगरपालिका-५ पालबारी बस्ने ३८ वर्षीय सुवास आचार्य, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ घर भई हाल काठमाडौं बुढनिलकण्ठ नगरपालिका-७ हात्तीगौडा बस्ने २७ वर्षीय महेन्द्र अधिकारी र म्याग्दी बेनी नगरपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-११ जाल्पाचोक बस्ने ३९ वर्षीय राममाया गुरूङ रहेका छन् । 

पक्राउमध्ये सुवासले युकेमा वोर्किङ भिषामा पठाईदिन्छु भन्दै नक्कली अफर लेटर देखाई पीडितबाट १६ लाख ८० हजार रूपैयाँ ठगी गरेको र महेन्द्रले अष्ट्रेलिया पठाईदिन्छु भन्दै १२ लाख ठगी गरेको र राममायाले माल्दिभ्स पठाईदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सुवासलाई काठमाडौं पालबारी, महेन्द्रलाई काठमाडौं जोरपाटी र राममायालाई काठमाडौं कालिमाटीबाट पक्राउ गरको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नेप्सेमा १०.८३ अंकको गिरावट, निरन्तर खुम्चिँदै कारोबार रकम 

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । यस दिन नेप्से परिसूचक १०.८३ अंक घटेर २०३०.८६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक घटेको छ।

नेप्सेमा आज २ अर्ब २३ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५१ वटाको बढेको छ भने १८८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।     

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सर्वोतम सिमेन्ट लिमिटेड र हिमालयन ८०–२० रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।       

आज कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.६६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन जोशी हाइड्रोपावरको ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

 

सहकारी प्रकरणमा मेरो नाम बाहेक केही छैन : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा मेरो नाम बाहेक केहि नभएको बताएका छन् । बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम मात्र उल्लेख रहेको तर त्यसबाहेक केहि नभएको बताएका छन् । उनले यो विषयमा अदालतमा समेत मुद्धा दर्ता भएको आफुले सुनेको र त्यसमा आफ्नो नाम नरहेको बताए ।

‘सहकारीमा जहाँ मेरो नाम छ भनिएको छ, नामबाहेक केही छैन । केवाईसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे छैन’, उनले भने, सुनिएअनुसार मुद्दा अदालतमा दर्ता भएको छ, म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन ।’

प्रहरीकहाँ परेको जाहेरीमा पनि तथ्य नभएको कुरा प्रहरी महानिरीक्षक बसन्त कुँवरले स्पष्ट पारेको उल्लेख गर्दै गृहमन्त्री लामिछानेले आफ्नो संलग्नता नरहेको बताए । प्रहरीमा जाहेरी छ, सूचनाका रूपमा, त्यो दर्ता नभएको कुरा पनि छ, उनले भने ।

कांग्रेस पार्टी सरकारमा हुँदा र आफू प्रतिपक्षमा हुँदा नै प्रहरीमा जाहेरी परेको लामिछानेले स्मरण गराए । माननीयहरूको पार्टी नै सरकारमा हुँदा भएको हो । बात निस्किएपछि जवाफ त दिनुपर्ने होला । मलाई भोट हाल्ने मान्छेले ठगै होला भन्लान् फेरि, उनले भने, अनुसन्धान प्रहरीले गर्ने हो । मन्त्रीले अनुसन्धान गर्ने होइन । मन्त्रीले निर्देशन दिने होइन । म सरकारमा आउनुभन्दा धेरै अगाडिको कुरा, धेरै पहिलेको कुरा भएको हुो ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरले पोखराको सूर्यदर्शन सहकारीका सम्बन्धमा ठाडो उजुरी परेको र त्यसमा रवि लामिछानेको नाम रहेको बताएका थिए । उनले त्यस उजुरीलाई पुष्टि गर्ने तथ्य नरहेको पनि राज्यव्यवस्था तथा सुशासन समितिलाई जानकारी दिएका थिए ।

सूर्यदर्शन सहकारी ठगीको मुख्य व्यक्ति जीवी राईलाई ल्याउन गाह्रो भयो: आईजीपी कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सूर्यदर्शन सहकारी ठगीको मुख्य व्यक्ति संस्थापक अध्यक्ष जीवी राई भएको बताएका छन् ।

‘सहकारी ठगीका विषयमा रवि लामिछानेमाथि ठाडो उजुरी मात्रै परेको हो, थप प्रमाणपत्र आएको छैन,’ उनले भने, ‘जीबी राईका कारण नै मुख्य समस्या आएको हो ।’ 

राईको सन्दर्भमा प्रहरी संवेदनशील भएको बताउँदै संसद्को राज्य व्यवस्था समितिको बैठकमा उनले भने, ‘सबै इस्यूको जड त्यही मान्छे हो, उनलाई ल्याउने प्रयास गरिरहेका छौँ ।’

आईजीपी कुँवरले राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)_ बाट रेड नोटिस जारी भइसकेको बताए । ‘उनी मलेसियामा छन् भन्ने छ, तर मलेसियासँग सुपुर्दगी सन्धि छैन । मुलुकी अपराध संहिताले पनि एमएलए गर भन्छ’, कुँवरले भने, ‘मलेसिया सरकारले सुपुर्दगीको रिक्वेस्टका रूपमा पत्र पठाउन भनेपछि मन्त्रालय मार्फत पठाइसकेका छौं ।’

तर पत्र पुग्दा पनि सुर्पुदगी सन्धि नभएकाले राईलाई डिपोर्ट गर्न मलेसिया सरकार बाध्य नभएको उनले बताए । यद्यपि यसमा परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासले पनि काम गरिरहेको उनले बताए ।

हाल सूर्यदर्शन सहकारीसँग जोडिएका ५ जना पुर्पक्षका लागि थुनामा छन् भने १५ जना फरार छन् ।

कर्जन्हा नगरपालिकाका मेयरसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन मेयर पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलले स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वानको लागि निर्णय गरी सार्वजनिक सम्पत्तिको नोक्सानी पुर्‍याएको जनाएको छ ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८-७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनियमितता गरेको अख्तियारको दाबी छ ।

उच्च अदालत जनकपुरले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र स्थानान्तरण नगराउन आदेश दिएको थियो ।

त्यस्तै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार र लेखापाल प्रविनकुमार महतोले निर्माणस्थलको व्यवस्था नभइ भवन बनाउनको लागि सम्झौता गरेको र निर्माण कम्पनीलाई पेश्की रकम दिएको अख्तियारले दाबी गरेको छ ।

निर्माण व्यवसायी महालक्ष्मी/पाण्डे एण्ड कम्पनी/ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवले कर्जन्हा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि पेश्की लगेर काम सुरू नगरेको अख्तियारको भनाइ छ ।

अदालतको आदेशसमेत नमानी सार्वजनिक सम्पत्तिको नोक्सानी पुर्‍याएको भन्दै अख्तियारले सबै प्रतिवादीलाई १ करोड ८ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना गर्नुपर्ने दाबी गरेको छ ।

आफ्नो भूमि आफ्नो माटो सम्झनामा………..

आफ्नो भूमि आफ्नो माटो सम्झनामा राखेको छु        

यो देशको निम्ति दिएको बलिदानको सम्मान गर्छु

नेपाल राज्य एकताको कथा सुनाउँछु 

स्वतन्त्र राष्ट्र हो यो यसैमा खुसी छु 

नेपाल माताको जय भनेर सम्झँदै छु

यो देशको गौरवशाली झन्डा फहराउँदै छु

कति राम्रो देश छ मनै बाट खुसी छु 

यो देशलाई स्वर्ग जस्तै ठानेको छु

यो देश सिर्जना गर्न पुर्खाहरूको पसिना र रगत बगेको छ

नरुनु नेपाल आमा जित पक्का हाम्रो हुन्छ

मैले मेरो देशलाई देश ठानेको छु

सङ्घर्षका कथाहरू मन भित्र कोरेको छु

नेपाल आमाको सामु देशको रक्षाको लागि कसम खान्छु

आफ्नो भूमि आफ्नो माटो सम्झनामा राखेको छु 

नेपालमा गहुँबालीको कालो सिन्दुरे रोगको प्रजाति फेला

काठमाडौं । नेपालमा गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोगको प्रजाति यूजी ९९ को टिटिकेटिटि पहिलोपटक पत्ता लागेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, खुमलटारका वैज्ञानिकहरुले पहिलोपटक यो रोगको प्रजाति नेपालमा पनि देखिएको कुरा पुष्टि गरेका हुन् । उक्त केन्द्रका प्रमुख सुरज बैद्यका अनुसार वैज्ञानिकहरुले गत कार्तिक २२ गते देलखाको दांगढुंगे र खरिढुंगाका क्षेत्रहरुमा गाइवस्तुको आहाराको लागि हरियो घाँसको रुपमा खेती गरिएको गहुँको बोटमा रोगको सर्वेक्षणका क्रममा यो प्रजाति भेटिएको हो । उक्त स्थानका दुईवटा गहुँबारीबाट संकलित नमूनालाई ग्लोबल रष्ट रिसर्च सेन्टर डेन्मार्कको प्रयोगशालामा परीक्षण गर्दा टिटिकेटिटि नामक यूजी ९९ को प्रजाति देखा परेको बताइएको छ ।
यूजी ९९ को टिटिकेटिटि प्रजातिले अफ्रिकन देशहरुमा गहुँबालीमा करिब ८० प्रतिशत भन्दा बढी क्षति पु¥याएको पाइएको छ । हालसम्म दक्षिण तथा पूर्वी एसियाका देशहरुमा नदेखिएको यो प्रजाति नेपालमा देखिएकोले यो देशभित्र र बाहिर फैलिएमा भविष्यमा यो क्षेत्रका गहुँबालीमा ठूलो क्षति पु¥याउनसक्ने आँकलन नार्कका वैज्ञानिकहरुले गरिरहेका छन् ।
गहुँमा लाग्ने रोगहरुमध्ये सिन्दुरे प्रमुख रोग हो । यो तीन प्रकारको हुन्छः तराईमा खैरो, पहाडमा पहेंलो र पहाडमा फाट्टफुट्ट कालो सिन्दुरे रोग देखा पर्दछ । नेपालमा यसअघि कालो सिन्दुरे रोगबारे कुनै तथ्य पत्ता नलागे तापनि करिब २३ वर्षअघि अफ्रिकाको युगाण्डामा यो प्रजातिको व्युत्पत्ति भई गहुँबालीमा ठूलो नोक्सान गरेको थियो । त्यसपछि उक्त प्रजाति इथियोपिया, केन्या, सुडान, इरिट्रया, इजिप्ट हुँदै एसियाका इरान, यमन, ओमन, इराक, जोर्डन लगायतका देशमा फैलिएको देखिन्छ । यूजि ९९ लाई टिटिकेएसके नामबाट चिनिने र हालसम्म यसका १५ किसिमका व्युत्पन्न प्रजाति विकसित भइसकेका जनाइएको छ । ती १५ मध्ये टिटिकेटिटि नेपालमा पनि देखिएको हो ।
यो रोग पक्सिनिया ग्रामिनी ट्रिटिसी नामक ढुसीबाट लाग्ने र यो ढुसी हावाको माध्यमबाट सयौं किलामिटरसम्म फैलिने कुरा पुष्टि भैसकेकोले यो रोगलाई नेपालमा फैलिन नदिन रोगको वृहत् सर्वेक्षण, रोग अवरोधक जातको छनोट र रोग व्यवस्थापन प्रविधि पत्ता लगाउन अध्ययन अनुसध्ना गर्नु जरुरी रहेको कुरा वैज्ञानिकहरुले औंल्याएका छन् । केन्द्रका प्रमुख सुरज बैद्यका अनुसार विजय, जिंक गहुँ २, बोलोर्क २०२०, मुनाल, च्याखुरा, डाँफे, वाणगंगा, हिमगंगा, तिलोत्तमा, स्वर्गद्वारी, खुमल शक्ति, आदि जातहरुमा यो प्रजाति अवरोधी क्षमता छ । यी बाहेक अन्य अवरोधी जातहरुको विकास गरी समयमै रोगको व्यवस्थापनमा ध्यान दिनुपर्ने वैज्ञानिकहरुको भनाइ छ ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा। कालिकाप्रसाद उपाध्यायले नेपालमा क्षेत्रफलको आधारमा धान र मकै पछि गहुँको स्थान रहेकोमा नेपालमा गहुँको क्षेत्रफल ९५ प्रतिशत भन्दा बढी नेपालमै अनुसन्धानबाट विकास गरिएका जातहरुले ढाकेका छन् । विगत ६० वर्षमा गहुँको क्षेत्रफल ७ गुणा, उत्पादन १५ गुण र उत्पादकत्व २ गुणाले बढेको अवस्थामा यस्ता रोगहरुको बेलैमा व्यवस्थापन गर्नसके उत्पादन अँझै बढाउन सकिने कुरा डा। उपाध्यायले बताए ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार

काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन प्रतितोला ३०० रुपैयाँले घटेको सुनको मूल्य आज भने ४०० बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २६ हजार २०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १ हजार ४९० रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच छलफल

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गए राति छलफल भएको छ। 

गएराति १० बजे प्रचण्डलाई भेट्न देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।  प्रधानमन्त्री प्रचण्ड र देउवाबीच झण्डै १ घण्टा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। 

भेटमा टीआरसी विधेयक, बैशाख १५ गते हुने उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल भएको स्रोतको दाबी छ।  मंगलबार दिउँसो राष्ट्रिय सभाका संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो। त्यसपश्चात कांग्रेसका अन्य नेता लिएर सभापति देउवा बालुवाटारमा प्रचण्डलाई भेट्न गएका हुन्।

भेटमा देउवाले आन्तरिक रुपमा गम्भीर छलफल नगरी गठबन्धन परिवर्तन गरेको भन्दै असन्तुष्ट व्यक्त गरेका थिए। नयाँ गठबन्धन बनेपछि प्रचण्ड र देउवाबीच पहिलो पटक छलफल भएको हो। 

संसदीय समितिबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी मुद्दा (टिआरसी) विधेयक पास गर्ने उद्देश्यले बोलाइएको बैठक तत्कालीन कानुन मन्त्री धनराज गुरुङले एक पटक पुन: प्रधानमन्त्रीसँग छलफल गर्ने भन्दै रोकेपछि प्रचण्ड असन्तुष्ट बनेका थिए।

लगत्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालबीच ८ बुँदे सहमति गर्दै प्रचण्डले गत फागुन २१ गते नयाँ सत्ता समीकरण बनाएका थिए।