विमानस्थलबाट सुन सहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना महिला पक्राउ परेका छन् ।

मंगलबार बिहान ५० ग्राम सुन सहित प्रहरीले सिरहाकाे धनगढीमाई नगरपालिका–११ का पुरुषोत्तम शर्मालाई नियन्त्रणमा लिएकाे हाे ।

भन्सार छलेर सुन ल्याएको भन्दै २३ वर्षीय शर्मा पक्राउ परेका हुन् । उनीबाट ५० ग्रामको सुनको ब्रासलेट बरामद गरिएकाे हाे ।

प्रहरीले उनलाई अन्तर्राष्ट्रिय आगमनकाे पार्किङ क्षेत्रबाट पक्राउ गरिएकाे हो । उनलाई विमानस्थल भन्सार कार्यालय गौचरमा लगिएकाे छ ।

पाल्पाकी १९ वर्षिय युवतीको घाँटी रेटेर हत्या

काठमाडाैं । पाल्पामा एक १९ वर्षिय युवतीलाई घाँटी रेटेर हत्या गरेको छ।

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा बीभत्स तरिकाले हत्या भएको अवस्थामा युवतीको शव फेला परेको हो। मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारीलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटीएको स्थानीयले बताएका छन्।

रिब्दीकोट गाउँपालिका वडा नं १ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलकाअनुसार मृतक १९ वर्षीया पद्मा ख्याहा कराङ्दीका दल बहादुर र कमला सुनारकी छोरी हुन्।

दिउँसो ४ बजे घरबाट नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा बीभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको पोखरेलले जानकारी दिए।

उनको घाँटी र हातका औलाहरू काटिएका छन्, घटनास्थलको प्रकृती हेर्दा पद्मालाई जबरजस्ती गर्न खोज्दा बच्ने प्रयत्न गरेपछि हत्या भएको देखिन्छ। घटनाको अनुसन्धान भइरहेकोले हत्या कस्ले गरेको अहिले नै एकीन हुन नसकेको प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र चन्दले बताउनु भयो ।

यस्तो छ तपाईंको १४ चैत्र २०८०, बुधबार आजको राशिफल

मेष : दिन राम्रो छ। कुनै कुराले मनमा शान्ति छाउनेछ । घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन् । पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ ।

वृष : व्यापारमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक सेवाको क्षेत्रमा सम्मान मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारसँगको सहयात्रा रमाइलो बन्नेछ।

मिथुन : शेयरमा फाइदा हुनेछ। नसोचेका व्यक्तिले सहयोग गर्ने योग छ। शिक्षा क्षेत्रको लगानीबाट नाम र दाम प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह मिल्नेछ।

कर्कट : अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। विरोधका आवाज लगातार सुन्नुपर्ने हुनसक्छ। व्यापार व्यवसायमा सरकारको आँखा लाग्नसक्छ।

सिंह : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगरे जटिल स्वास्थ्य समस्या देखिनसक्छ। व्यावसायमा आदर्श व्यक्तिसँग संगत हुनसक्छ।

कन्या : दैनिकी राम्रो छ। घरजग्गाको कारोबार राम्रो बन्नेछ। विद्यामा उन्नति हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। धन कमाउने बाटो खुल्नेछ। परिवारको साथ रहनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छैन। जेसुकै गरे पनि काम नबन्ने जोखिम हुन्छ। धेरै मानिससँगको असन्तुष्टिमै दिन जानेछ। सञ्चित धन खर्च हुनेछ। आफन्तसँग भेट हुनेछ। व्यापार र लगानीमा हात नहाल्नु राम्रो हुन्छ।

धनु : शुभकार्यमा सहभागी हुने मौका मिल्नेछ। साथीसँगको यात्रा रमाइलो होला। खर्च बढ्ने योग रहेको छ। मित्रबाट सहयोग मिल्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ।

मकर : नयाँ ज्ञानको अवसर मिल्नेछ। साथीको सहयोग रहनेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। समाजसेवामा मन जानेछ।

कुम्भ : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

मीन : साथीले असहयोग गर्ने दिन छ। सहयोगी भन्दा विरोधी धेरै छन्। यात्रामा सचेत हुनु राम्रो हुन्छ। सामान हराउने खतरा भएकाले विशेष ख्याल गर्नुपर्ने हुनसक्छ।

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने

काठमाडौ । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ ।

चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि रु एक अर्ब विनियोजन भएको थियो । कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भएको बैठकले उक्त कार्यक्रम स्थगन गरी त्यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गरेको हो ।

जाजरकोट भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनःनिर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेको तथा मुसहर, चेपाङलगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमुना सामुदायिक विद्यालय सञ्चालन गर्न रकम नभएको अवस्थामा अन्यत्रका विद्यालयलाई पूर्वाधार विकासका निम्ति बजेटको व्यवस्था गर्न सान्दर्भिक नहुने अभिमत प्रकट हुँदै आएको थियो । मन्त्रालयले आगामी आर्थिक वर्षमा ती क्षेत्रको शैक्षिक विकासमा ध्यान दिने शिक्षामन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

२३ वटा निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ वटा निर्माण कम्पनी/ आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै चैत्र १३ गतेकाे निर्णयअनुसार १३ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको छ। ‘विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने गरी २३ वटा कम्पनीलाई कालोसूचीमा राखिएको हो ।

उक्त कम्पनीलाई तीन वर्षदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको सार्वजनिक सूचनामा उल्लेख छ ।

‘हेल्थ डेस्क’का कर्मचारी ६ महिनादेखि तलबविहीन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले छ महिनादेखि तलब पाएका छैनन् ।

कोरोना भाइरसको महामारीका बेलादेखि कार्यरत आफूहरूलाई स्वास्थ्य निर्देशनालयले नियमितरुपमा काममा लगाए पनि अहिलेसम्म तलब नदिएको कर्मचारीको गुनासो छ । तलब नपाउने यी कर्मचारी करार सेवामा कार्यरत रहेका छन् ।

कैलालीको त्रिनगर सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले सुदूरपश्चिम प्रदेशका त्रिनगर, गड्डाचौकी, पुलघाट, झुलाघाट, खक्रौलालगायतका सीमानाकाका हेल्थ डेस्कका कर्मचारीले छ महिनादेखि तलब नपाएको बताए ।

पारिश्रमिक नपाउनेमा त्रिनगर हेल्थ डेस्कका १० कर्मचारीसहित प्रदेशका सबै सीमानाकामा गरी जम्मा २७ कर्मचारी छन् ।

त्रिनगर हेल्थ डेस्कमा कार्यरत कर्मचारीलाई सुरुको अवस्थामा कञ्चनपुरको पुनर्वास नगरपालिकाले संघीय सरकारको बजेटबाट तलब खुवाएको थियो । त्यसपछिको समयमा सङ्घबाट बजेट नआए पनि नगरपालिकाले आफ्नै बजेटबाट तलब खुवाएको थियो ।

कोरोना भाइरसको महामारीको बेला स्वास्थ्यका कर्मचारीलाई दिइएको जोखिम भत्तासमेत यी कर्मचारीले पाएका थिएनन् । त्यति बेला पनि शुद्ध तलबबाहेक अन्य कुनै सुविधा नपाएको कर्मचारीको गुनासो छ । विगतमा देखिएको कोरोनाको महामारीका समयदेखि प्रदेश सरकारले सीमानाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो ।

हेल्थ डेस्कमा कोरोना भाइरस, एचआइभी, क्षयरोग, मलेरिया, डेङ्गु, कालाजार, स्क्रब टाइफस रोगको नमुना जाँच हुने गरेको छ । यसबाहेक प्राथमिक उपचारको सेवाका साथै सीमामा अलपत्र परेको बेसहारा नागरिकको उद्धारको कामसमेत गर्ने गरिएको छ ।

इटहरी गोल्डकप :चर्च ब्वाइज सेमिफाइनलमा

धरान इटहरीमा जारी इटहरी गोल्डकपको क्वाटरफाइनल खेलमा र न्युरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको गोल्डकपको मङ्गलबार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा चर्च ब्वाइजका अबायोमी फकुन्ले र सुरज ठकुरीले गोल गरेर आफ्नो टोलीलाई जिताएका हुन् । एनआरटीका अफिज ओलावालेले एक गोल फर्काएर आफ्नो समूहको साख जोगाएका थिए ।

खेलको ३७ औँ मिनेटमा अबयोमीले गोल गर्दै आफनो टिमलाई अग्रता दिलाएका थिए भने पहिलो हाफमा १–० को अग्रता लिएको चर्च ब्वाइजमाथि एनआरटीका ओलावाले खेलको ८२औँ मिनेटमा गोल फर्काउन सफल भएका थिए ।

मङ्गलबारको खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका ठकुरी घोषित भए । उनले नगद रु १० हजार र ट्रफी प्राप्त गरेका छन् । आज त्रिभुवन आर्मी र सगरमाथा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

राज्य व्यवस्था समितिको बैठक बस्दै, यस्ताे छ कार्यसूची

काठमाडाै‌ । संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । दुवै समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि उपस्थित हुने भनिएकाे छ ।

बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

नेपाल बहराइनसँग तीन–शून्यले पराजित

काठमाडौ । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।

बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको खेलमा नेपाल बहराइनसँग तीन–शून्य गोलअन्तरले पराजित भएको हो । बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान एक–एक गोेल गरे ।

समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो । यही चैत ८ गते बहराइनमै भएको खेलमा नेपाल बहराइनसँग पाँच–शून्य गोलअन्तरले पराजित भएको थियो । त्यसअघि नेपालले युएईविरुद्ध चार–शून्यको हार बेहोरेको थियो भने यमनसँग दुई–शून्यले पराजित भएको थियो ।

नेपाल चार खेलमा अङ्कविहीन रहँदै समूहको अन्तिम स्थानमा छभने युएई १२ अङ्कसहित समूहको शीर्षस्थानमा छ । नौ अङ्क बटुल्दै बहराइन दोस्रो र यमन तीन अङ्कसहित अङ्कतालिको तेस्रो स्थानमा छ । अब नेपालले छनोटका बाँकी दुई खेलमा युएई र यमनको सामना गर्नेछ ।

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । राष्ट्र बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैया ९६ पैसा र बिक्री दर १३३ रुपैया ५६ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ ३१ पैसा र बिक्री दर १६९ रुपैयाँ ०७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ ५५ पैसा र बिक्री दर १४८ रुपैयाँ २२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १८ पैसा र बिक्री दर ८७ रुपैयाँ ५८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ०३ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ४७ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ७९ रुपैयाँ पैसा र बिक्री दर ८ रुपैयाँ ८३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४२ पैसा र बिक्री दर १८ रुपैयाँ ५० पैसा रहेको छ ।

हराएका २० ओटा दुईपाङग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण

काठमाडौँ । विभिन्न मितिमा हराएका २० ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मङ्गलवार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १८ ओटा मोटरसाइकल र २ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, बौद्ध, गौशाला, सुन्धारा, माछापोखरी, स्वयम्भू, चापागाउँ, बुङ्गमती लगायतका स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
म‌गलबार बुझाइएका २० ओटा सहित २ सय ८५ ओटा सवारी साधन चालु आर्थिक वर्षको हाल सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रुपमा नेपाल भित्रिएका १७ ओटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताउनु भयो । चालु आर्थिक वर्षको हाल सम्म चोरीका २४ ओटा २ पाङ्ग्रे सवारी साधन सहित संलग्न २९ जना व्यक्तिलाई पनि कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबीच के के भयाे कुराकानी ?

बेइजिङ। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उनका चिनियाँ समकक्षी वाङ यीबीच आज द्विपक्षीय भेटवार्ता भएको छ। बेइजिङस्थित स्टेट गेष्ट हाउसमा आज अपराह्न भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको थियो।

भेटमा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाएर लैजानेबारेमा छलफल भएको थियो। प्रतिनिधिमण्डलस्तरमा भएको उक्त वार्तामा नेपाल–चीन सीमा क्षेत्रमा रहेका १४ वटा परम्परागत नाकालाई तुरुन्त सञ्चालनमा ल्याउने समझदारी भएको छ।

भेटमा चिनियाँ विदेशमन्त्री वाङले विभिन्न प्रयोजनका लागि चीन आउने नेपाली नागरिकलाई प्रवेशाज्ञा (भिषा) शुल्क फ्रि गर्न चीन सकारात्मक भएको जानकारी दिँदै त्यसलाई चाँडै नै कार्यान्वयनमा लैजाने विश्वास दिलाएका थिए। नेपालले पनि केही समयदेखि चिनियाँ नागरिकलाई भिषा शुल्क फ्रि गरिरहेको छ।

उनीहरुबीच नेपाल–चीन अन्तरदेशीय प्रसारण निर्माणलाई छिटो अघि बढाउने तथा यसअघि सचिवस्तरमा रहेको उच्चस्तरीय परामर्श संयन्त्रलाई मन्त्रीस्तरीय बनाउने सहमति भएको छ। नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) कार्यान्वयन कार्ययोजनामा चाँडै हस्ताक्षर गर्ने समझदारी भएको छ।

संयुक्त सीमा निरीक्षण टोलीले काम थाल्नेलगायतका विषयमा पनि दुवै पक्षबीच समझदारी भएको छ। दुई पक्षबीच नेपालमा कृषि प्रविधि उद्यान निर्माणको प्रक्रिया छिटो अघि बढाउने तथा विकासका योजनाका बारेमा ठोस प्रस्ताव लिएर अघि बढ्ने समझदारी भएको छ।

भेटमा चिनियाँ विदेशमन्त्री वाङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धताको सरहाना गर्दै आगामी दिनमा पनि नेपालको प्रतिबद्धता अटुट रहने विश्वास व्यक्त गरे। सो क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएका थिए। नेपालको निमन्त्रणालाई स्वीकार गर्दै उनले यही वर्ष नै नेपाल भ्रमण गर्ने विश्वास दिलाएका छन्।

प्रतिनिधिमण्डलस्तरीय वार्तापछि परराष्ट्रमन्त्री श्रेष्ठ र विदेशमन्त्री वाङबीच झण्डै एक घन्टा ‘वान टु वान’ वार्ता भएको थियो। भेटवार्तापछि चिनियाँ विदेशमन्त्री वाङले नेपाली प्रतिनिधिमण्डललाई रात्रिभोजको आयोजना गरेका थिए। दोस्रो पटक परराष्ट्रमन्त्रीमा नियुक्त भएसँगै मन्त्री श्रेष्ठको यो पहिलो चीन भ्रमण हो।

उपप्रधानमन्त्री श्रेष्ठले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवं सहसचिव कृष्ण ढकाल, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादव, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, परराष्ट्र मन्त्रालयका उपसचिव अरुणा घिसिङलगायत सहभागी थिए।

चिनियाँ प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ, विदेश मन्त्रालय उपमन्त्री र प्रवक्ता र वरिष्ठ अधिकारीको सहभागी थिए।

उपप्रधानमन्त्री वाङ चिनियाँ विदेशमन्त्री वाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा आएका हुन्। उनले आजै बेइजिङस्थित नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गरेका थिए। सोमबार बेइजिङ आइपुगेका उपप्रधानमन्त्री श्रेष्ठले सोमबार चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)का अध्यक्ष वाङ हुनिन तथा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गरेका थिए।

आजकाे माैसम : यी प्रदेशमा वर्षाकाे सम्भावना

काठमाडाै । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भू- भागमा आंशिकदेखि साधरणतया बदली रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखले जनाएकाे छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेस प्रदेश र बाँकी पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई अङ्गरक्षकलाई तत्काल थुनामुक्त गर्न आदेश


काठमाडौ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई अङ्गरक्षकलाई तत्काल थुनामुक्त गर्न आदेश गरेको छ ।न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका अङ्गरक्षक रामकुमार धिमाल र दीपक खड्कालाई आज थुनामुक्त गर्न आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “हतियार इजाजतपत्रको शर्तबमोजिम बोकी हिँडेको कार्यलाई प्रचलित कानुनले कसुर कायम गरेको नदेखिएको हुँदा यी निवेदकलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १३२ को कसुरमा जरुरी पक्राउ पुर्जी जारी गरी पक्राउ गरेको तथा काठमाडौँ जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरेकोसमेतको अनुसन्धान तहकिकातको कार्य कानुनसम्मत नभई निवेदकको थुना गैरकानुनी देखिन आयो ।”

आदेशमा निवेदकलाई दिएको जरुरी पक्राउ पुर्जी, थुनुवा पुर्जी तथा म्याद थपको आदेश तथा पत्रलगायतका काम कारबाही र निर्णय उत्प्रेषणको आदेशले बदर गरी निवेदकलाई गैरकानुनी थुनाबाट आजै मुक्त गरिदिनु भनिएको छ । धिमाल र खड्कालाई प्रहरीले यही चैत ५ गते सर्वोच्च अदालत प्रवेश गर्ने क्रममा पक्राउ गरेको थियो ।

अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा हैरानी नदिन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न पनि आग्रह गरेका छन् ।

अध्यागमन विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैदेखि सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन पनि आग्रह गरे । उनले अध्यागमन सुधारका योजना ल्याउन आग्रह गर्दै उक्त योजनामा मन्त्रालयले सक्दो सहयोग गर्ने विश्वास दिलाए ।

केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको सन्दर्भ जोड्दै उनले खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाई जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती रहेको स्वीकार गर्दै उनले प्रयास जारी राख्न अनुरोध गरे ।

उनले भने, “हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहान्न, भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनुहुन्न, दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला ।” सो क्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाइ र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए । कार्यक्रममा विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे जानकारी गराएका थिए ।