वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

काठमाडौ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

विभागले बुधबार नै पत्राचार गरी नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी महासङ्घ र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभललाई हवाइ टिकटमा नै खाना, खाजा तथा पानीको सुविधा हुने गरी उचित मूल्यको व्यवस्थापन गर्न आग्रह गरिएको जनाएको हो। 

मलेसिया तथा मध्यपूर्वका मुलुकहरूमा वैदेशिक रोजगारीका लागि जाने श्रमिकले औसतमा चार घण्टाको यात्रा तय गर्नुपर्ने र उडान समयभन्दा तीन घण्टा अगाडि नै विमानस्थलभित्र प्रवेश गरिसक्नुपर्ने हुन्छ ।यतिलामो यात्रामा पनि श्रमिकले न्यूनतम खाना, खाजा तथा पानीसमेत नपाउने गरेको गुनासो आउन थालेपछि विभागले सम्बन्धित निकायलाई बोलाएर छलफल गर्नुका साथै लिखित आग्रह गरिएको विभागका महानिर्देशक डुण्डुराज घिमिरले बताए । 

“खाना, खाजा तथा पानीसमेत नपाउँदा श्रमिकहरूले भोकभोकै यात्रा गर्नुपर्ने अवस्था रहेछ । यस्तो धेरै गुनासो सुनिएपछि सरोकारवालालाई बोलाएर छलफल गर्यौ । छलफलपछि बुधबार नै सम्बन्धित निकायलाई जहाजको टिकटमै अत्यावश्यक सुविधा तोक्न आग्रह गरेका हौ”, घिमिरेले भने । 

त्यस्तै, विभागले म्यानपावर व्यवसायीले नै व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीमा पठाउन थालेको गुनासो आएकासम्बन्धमा पनि व्यवसायीलाई आफनो क्षेत्राधिकारभित्र रहेर काम गर्न सचेत गराइएको महानिर्देशक घिमिरेले जानकारी दिए ।

जिउँदै इँटाभट्टाको चिम्नीमा हालेर मारेको आरोप लागेका आलमसहित ४ जनालाई जन्मकैद

रौतहट । बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टाको चिम्नीमा हालेर मारेको आरोप लागेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलम र उनका भाइ मोहम्मद महताब आलमसहित ४ जनालाई जिल्ला अदालत रौतहटले बिहीबार जन्मकैद फैसला गरेको छ ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात अर्थात् २०६४ चैत २७ मा भएको बम विस्फोटमा परेका घाइतेलाई जिउँदै इँटाभट्टाको चिम्नीमा हालेको आरोपमा घटनाको १२ वर्षपछि २०७६ असोज २६ मा आलम पक्राउ परेपछि मात्रै यो मुद्दा न्यायिक प्रक्रियामा गएको थियो । जिल्ला अदालत गौरको आदेशमा २०७६ कात्तिक २९ मा पुर्पक्षका लागि कारागार चलान भएका आलम अहिले ललितपुरको नख्खु जेलमा छन् भने उनका भाइ महताब गौर कारागारमा छन् ।

जिल्लाको साविक राजपुर फरदहवा–४ स्थित कांग्रेस नेता स्व. शेख इद्रिसको गोठमा भएको विस्फोटका घटनामा यमुनामाई गाउँपालिकास्थित सरुअठा गाउँका पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र ओसीअख्तर मियाँलाई जिउँदै चिम्नीभट्टामा हालेर मारेको आरोपमा प्रहरीले मोहम्मद आफताब आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सेराज, शेख फजलेहक, शेख भदै, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारलगायत ११ जनामाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थको कसुरमा जन्मकैद सजायको मागसहित २०७६ कात्तिक १८ मा अदालतसमक्ष अभियोगपत्र दर्ता भएको थियो ।

बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले राजपुर विस्फोट घटनामा पूर्वमन्त्री आलम, उनका भाइसहित शेखसराज र बद्री सहनीलाई साविक मुलुकी ऐनबमोजिम जन्मकैद सजाय सुनाएको अदालतका स्रेस्तेदार उद्धव ढोडारीले बताए । उनले घटनामा संलग्न भनिएका मुक्ति साहको अभियोगमा दाबी नपुगेकाले सफाइ पाएको बताए । स्रेस्तेदार ढोडारीका अनुसार विस्फोट घटनामा फरार मोहम्मद मोबिन, शेख फजले, शेख भदै, साहिल आलम, गौरीशंकर साह र शेख जुमैको मुद्दा मुल्तबीमा राख्ने फैसला भएको छ ।

सोमबारदेखि निरन्तर सुनुवाइ भएको यो मुद्दामा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता बद्रीबहादुर कार्की, अधिवक्ता पुष्पराज पौडेल र दीनानाथ रिजालले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट बार एसोसिएसन अध्यक्ष गोपालकृष्ण घिमिरेलगायतले बहस गरेका थिए ।

बम विस्फोटको घटनालाई आलमसहितका व्यक्तिले गुपचुप राख्न खोजेका थिए । घटनाका केही घाइतेलाई भारतमा उपचार गर्न पठाइएको थियो भने केहीलाई बोलेको खण्डमा जे पनि हुन सक्ने धम्की दिएर चुपचाप पारिएको थियो । विस्फोट घटनाको तीन दिनपछि २०६४ चैत ३० मा आलमसँगै निर्वाचन लडेका एमालेका नेता शैलेन्द्र साहले घटनाबारे प्रहरीमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय गौरमा रायसहितको प्रतिवेदन बुझाएको थियो । तर, त्यतिबेला सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो । यो निर्णयलाई महान्यायाधिवक्ता कार्यालयले पनि सदर गरेको थियो ।

बिस्फोट घटना पछि तत्कालै प्रहरी पुगेर घटनास्थलमा कुनै किसिमको बिस्फोट नभएको मुचुल्का तयार पारेको थियो । त्यसको एक वर्षपछि आलम आफै जिल्ला प्रहरीमा हाजिर भए । त्यसैदिन उनलाई जिल्ला न्यायाधीवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गर्दै छाडेको थियो । त्यसपछि २०६५ असार ३० मा तत्कालीन महान्यायाधीवक्ता यज्ञमूर्ति बञ्जाडेले मुद्दा नचल्ने निर्णय गरे ।

बिस्फोटमा मृत्यु भएका ओसीअख्तरकी आमा रुक्सनाको २०६७ माघ ८ साझ दुर्गाभगवती गाउँपालिकास्थित माइतीबाट आफ्नो घर सरुअठा आउँदै गर्दा गौडा ढुकेर बसेको हतियारधारी समूहले गोली हानी हत्या गरेको थियो । रुक्सानाले पनि छोरालाई जिउँदै चिम्नी भट्टामा हालेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

सर्वोच्च अदालतले २०६९ जेठ १६ मा महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिटमा फैसला सुनाउँदै गम्भीर रूपले अनुसन्धान गरी मुद्दा चलाउनू भन्दै सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो । त्यसलगत्तै जिल्ला प्रहरी रौतहटले आलमको मुद्दामा चासो देखाएको हो । तत्कालीन एसपी (हाल एसएसपी) भूपेन्द्रबहादुर खत्रीले मुद्दाको अनुसन्धान गरेपछि मात्र आलम पक्राउ परेका थिए ।

रौतहटको साविक राजपुर फरदहवा गाविस–४ (हाल राजपुर नगरपालिका–४) मा २०१९ मा जन्मेका आफताबले ४ पटक रौतहट २ बाट संसद्मा प्रतिनिधित्व गरिसकेका छन् । मुस्लिम बाहुल्य यो क्षेत्रमा हरेकपल्ट आफताब चुनाव लड्दा झन्डै एकलौटी मत उनकै पक्षमा खस्थ्यो ।

उनका परिवारका सदस्यहरू २०१५ देखि राजपुर क्षेत्रबाट राजनीतिक नेतृत्व गरिरहेका छन् । आफताबका काका शेख इद्रिसले २०१५ मा भएको निर्वाचनमा प्रजापरिषद्बाट चुनाव जितेका थिए । २०४८ मा भएको संसदीय निर्वाचनमा पनि इद्रिस कांग्रेस पार्टीबाट यही क्षेत्रबाट चुनाव उठी निर्वाचित भएका थिए । काकाको मृत्युपछि आफताब यो क्षेत्रबाट राजनीतिक रूपमा उदाए । आफताबले क्षेत्र नम्बर २ बाट २०५३ को उपनिर्वाचनमा पहिलो पटक सांसद बन्ने मौका पाए । २०५६ र २०६४ को निर्वाचनमा विजयी भएका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका आफ्नै भान्जा मुस्ताक आलमसित पराजित भए ।

२०७४ मा संसदीय निर्वाचन भने फेरि आफताबकै पोल्टामा पुग्यो । उनी निर्वाचित भए । दुई पटक कांग्रेसको जिल्ला सभापति भएका आफताबले २०५१ मा काका शेख इद्रिस वनमन्त्री हुँदा छायामन्त्रीकै हैसियतमा सारा काम गरेर शक्ति केन्द्रसँग सम्बन्ध विस्तार गरेका थिए ।

आलम पक्राउपछि पनि उनको परिवारको राजनीतिक यात्राले विश्राम लिएको देखिन्न । आफताबका कान्छा छोरा डा. राजिक आलम गएको स्थानीय तह निर्वाचनमा राजपुर नगरपालिकाको प्रमुख निर्वाचित भए । आफताबका जेठो छोरा फिरदोस आलम गत संसदीय चुनावमा एमालेका उम्मेदवार किरणकुमार साहबाट पराजित भए ।

राजनीतिक यात्रामा बारम्बार मन्त्री भएका आफताब सधैं शक्ति केन्द्रको निकट थिए । २०५४ मा श्रम सहायकमन्त्री भए । २०५५ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा वन सहायकमन्त्री भए । २०५६ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा स्थानीय विकास राज्यमन्त्री भए । २०५८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वकै सरकारमा भूमिसुधार मन्त्री पनि बने । २०६६ मा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा समेत उनी श्रम तथा यातायातमन्त्री बने । ‍- कान्तिपुर दैनिकमा खबर छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।

पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ ।

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

भक्तपुर । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुहुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ ।

यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन् ।

परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको भएकाे छ। सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ/मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौँका परीक्षा केन्द्र निर्धारण गरेको हो ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार एक सय ७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।

परीक्षामा लागि आवश्यक पर्ने उत्तरपुस्तिकालगायतका सामग्री परीक्षा केन्द्रहरुमा पु¥याउने कार्य सम्पन्न गरिसकेको छ भने यसवर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइने भएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’ को व्यवस्था गरेको छ ।

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिक बदली हुनेछ । गण्डकी प्रदेशका उच्च पहाडी भागका तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

काठमाडौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेटका विषयमा बिहीबार अर्थविदहरुसँग परामर्श गर्ने क्रममा मन्त्री पुनले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय लिइने बताए । सरकारी श्रोतमा भएको सीमितताका कारण सरकारले टाइट गर्नुपर्ने र निजी क्षेत्रले खुकुलो वातावरण चाहेका कारण सन्तुलन मिलाउनुपर्ने चुनौती रहेको उनको भनाइ थियो ।

‘अर्थतन्त्रमा केही सुस्तता छ । जनता र खास गरी युवाहरुको अपेक्षा धेरै माथि छ’, उनले भने, ‘निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रलाई उत्साहित बनाउन केही न केही बोल्ड निर्णय गर्नुपर्ने छ ।’ मन्त्री पुनले बजेट बनाउनुअघि आफूले सम्वद्ध सबै क्षेत्रको सुझाव लिने उल्लेख गरे । सरकार वा मन्त्री परिवर्तन हुँदैमा नीतिमा परिवर्तन गर्न नहुनेमा जोड दिँदै मन्त्री पुनले विगतका मन्त्रीहरुका असल अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

छलफलमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा. रेशम थापा, सोही छलफलमा विभागका पूर्वप्रमुख डा. रामप्रसाद ज्ञवाली, त्रिभुवन विश्वविद्यालयका पूर्वरेक्टर तथा प्रा.डा. शिव भुसाल, त्रिभुवन विश्वविद्यालयमै कार्यरत अर्थशास्त्रका प्राध्यापक सञ्जय आचार्य, विश्व बैंकको मुख्यालयमा कार्यरत अर्थशास्त्री गोविन्द तिमिल्सिना, अर्थशास्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता डा. विजय पौडेल, अर्थतन्त्रका जानकार पूर्वअर्थसचिव कृष्ण घिमिरेलगायत सहभागी थिए ।

त्यस क्रममा उनीहरुले कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथामकितामा राख्न सुझाव दिए । कार्यान्वयन नहुने गरी ठूलो आकारको बजेट नबनाउन तथा बिनातयारीका आयोजनामा बजेट विनियोजन नगर्न उनीहरुको सुझाव थियो । यस्तै बजेटले रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । अर्थमन्त्रीले यसअघि बुधबार पछिल्लो २० वर्षयताका ७ पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका थिए । पूर्वअर्थमन्त्रीहरुले पनि ठूलो आकारको बजेट कार्यान्वयन नहुने भन्दै यथार्थपरक बजेट ल्याउन सुझाएका थिए ।

सहसचिव पदकाे लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । लोकसेवा आयोगले सहसचिव पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगका अनुसार २ जना सहसचिवका लागि प्रशासनतर्फ खुलामा ४, एक जना महिला कोटाको सहसचिवका लागि ४ र एक जना मधेशीतर्फको सहसचिवको लिखित परीक्षामा ३ जना पास भएका छन् । प्रशासनतर्फ सहसचिवका लागि लिखितमा १ हजार २५ जना सहभागी थिए ।

यसैगरी न्याय सेवा, कानून समूहको खुलातर्फ एक जना सहसचिवको लिखित परीक्षामा ३ जना उत्तीर्ण भएका छन् । यो परीक्षमाा ९४ जना सहभागी भएका थिए ।

यसैगरी लेखापरीक्षण सेवाको मधेशीतर्फ एक जना सहसचिवको लिखित परीक्षामा ६ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा १८ जना सहभागी थिए ।

टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार, रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश

काठमाडाै । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ ।

जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । बिहीबार न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरुलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गर्दै उच्च अदालत पाटनकै आदेश सदर गरेको हो ।

थुनामै रहनेहरुमा तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा रहेका छन् ।

यो प्रकरणमा उनका छोरा सन्दीप रायमाझी भने यसअघि नै धरौटीमा रिहा भैइसकेका छन् ।

देशका सात जिल्लामा हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन अभियान सञ्चालन गर्ने


काठमाडौँ । सरकारले देशका सात जिल्लामा हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन अभियान सञ्चालन गर्ने भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम मार्फत आगामी १६ गतेदेखि सो अभियान सुरु गर्ने भएको हो । झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा, र कपिलवस्तुमा औषधि खुवाइने छ ।
सात जिल्लाका १०१ स्थानीय तहमा ५० लाख ७८ हजार जनालाई हात्तीपाइलेको औषधि सेवन गराउने महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले बताए ।
देशका ६३ जिल्लाबाट सुरु गरिएको यो अभियान ५३ जिल्लामा बन्द भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सिंहसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कालिकोटको महावै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहसहित ९ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

गाउँपालिका स्थित सिमखेतदेखि ओदा जाने सडक अन्दाजी २५ मिटर मात्र डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं वास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाई बढी रकम भुक्तानी लिएको अख्तियारको दाबी छ ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७५-७६ मा सिमखेतदेखि पादमघाटसम्म सडक निर्माण उपभोक्ता समितिमार्फत निर्माण गर्दा कार्य सम्पन्न प्रतिवेदनमा सडकको लम्बाइ ८२० मिटर, चौडाइ ४ मिटर र कडा चट्टान काटिएको परिमाण २०४५ घनमिटर उल्लेख गरेको देखिएको तर ५२० मिटर, चौडाइ औसत ३.७ मिटर र कडा चट्टान काटिएको परिमाण १६९.८० घनमिटर मात्र देखिएको छ ।

यसरी यसरी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी नभएको कामको अठतीस लाख छयहत्तर हजार दुई सय सत्तरी रुपैयाँ हानी नोक्सानी गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

मानव र चितुवा बिच द्वन्द्व बढेपछि गतिविधि नियाल्न स्वचालित क्यामरा जडान

बैतडी । मानव र वन्यजन्तु (चितुवा) बिच द्वन्द्व बढेपछि नरभक्षी चितुवा र बँदेलको गतिविधि नियाल्न बैतडीमा स्वचालित क्यामरा जडान गरिएको छ ।

मानव र वन्यजन्तुबिचको द्वन्द्वबढेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रम अन्तर्गत ग्वाल्लेक, मेलौली नगरपालिका वडा नम्बर ३, सलेना, तिताबै र महारुद्र क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको हो ।

तल्लोस्वराड क्षेत्रको मेलौली, शिवनाथ र पञ्चेश्वरमा चितुवाको आक्रमणबाट २८ जना मरिसकेका छन् भने चितुवा र जङ्गली बँदेलको आक्रमणमा परेर २० जनाभन्दा बढी घाइते भएका छन् । मानवले थापेको पासोमा परेर १२ वटा चितुवाको पनि मृत्यु भएको छ ।

जिल्लाको ग्वाल्लेक संरक्षित वन क्षेत्रमा ५० वटा स्वचालित क्यामरा जडान गरिएका क्यामरा ट्र्यापर सुमन मल्लले जानकारी दिए । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा बाघ संरक्षण तथा वन्य जन्तु र मावनबिचको सहअस्तित्व कायम गर्न विज्ञटोलीसहित उनी बैतडी आएका हुन ।

पहिलो चरणमा मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकासम्म चितुवाको अध्ययन गरिने बताइएको छ ।

अनुसन्धान टोलीमा इनल्यान्ड नर्वे युनिभर्सिटी अफ अप्लाइड साइन्सका वन्यजन्तु अध्ययनकर्ता इमिल इरिकसन र कलरा मार्थिनोभिक पनि रहनुभएको छ । युरोपमा मानव–वन्यजन्तुको द्वन्द्व नरहेकाले मानव–वन्यजन्तुबिचको द्वन्द्व अध्ययन गर्न उहाँहरू आइपुगेका हुन ।

उक्त अनुसन्धानपछि यो क्षेत्रका बासिन्दाले सुरक्षा अपनाउन सक्ने आशा गरेको अध्ययन टोलीले बताएको छ । चितुवाको अध्ययन गर्न ५० वटा स्वचालित क्यामरा १५ रातसम्म राखिने छन् । स्वचालित क्यामराले वन्यजन्तुको चाल र शरीरको तापक्रम पाउने बित्तिकै गतिविधि रेकर्ड गर्ने क्यामरा ट्र्यापर मल्लले बताए ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाए

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए ।

४० सदस्यीय प्रदेशसभामा कांग्रेसका तीन जना सांसद अनुपस्थित देखिए । एक जना निलम्बनमा परेका र दुई जना अनुपस्थित थिए। सभामुखसहित ३८ मध्ये मतदानमा ३५ जना सदस्य सहभागी भएका थिए । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १२ र एक सांसद तटस्थ बसे ।

एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले मत दिएका हुन् । कांग्रेसका १५ जना सांसदमध्ये संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने सांसद राजीव विक्रम शाह र जानकी सिंह संसद्‌मा उपस्थित भएनन् ।

मुख्यमन्त्री कँडेलले प्रतिप्रश्न नउठाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘मेरो प्रतिबद्धता भनेको कर्णालीलाई विकास र समृद्धिको बाटोमा लैजाने नै हो ।’ कँडेल चैत्र २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । यद्यपि कँडेलले अहिलेसम्म सरकारलाई पूर्णता भने दिन सकिरहेका छैनन् ।

उप–निर्वाचन हुने दुवै जिल्लामा २ हजार ३ सय ८७ प्रहरी कर्मचारी खटिने


काठमाडौं । बैशाख १५ गते हुन गईरहेको उप–निर्वाचनलाई भब्य रुपमा सम्पन्न गर्नका लागि सुरक्षा तयारी पूरा भएको छ ।
बैशाख १५ गते इलाम २ (प्रतिनिधि सभा) र बझाङ १ (प्रदेश सभा) मा हुन गइरहेको उपनिर्वाचनको तयारी पूरा भएको नेपाल प्रहरी स्रोतले बताएको हो ।
बिहीबार नेपाल प्रहरीले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उपनिर्वाचन हुने दुवै क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । प्रहरीले निर्वाचन पूर्वको सुरक्षा, निर्वाचनको दिनको सुरक्षा र निर्वाचन पछिको सुरक्षालाई अलग–अलग कार्ययोजना बनाएर सुरक्षा व्यवस्था मिलाएको जनाएको हो ।
उप–निर्वाचन हुने दुवै जिल्लामा २ हजार ३ सय ८७ प्रहरी कर्मचारी खटिने भएका छन् । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता भीमप्रसाद ढकालले निर्वाचनमा प्रदेश प्रहरी प्रमुखहरुले प्रत्यक्ष अनुगमन र समन्वय गर्नेगरि व्यवस्था मिलाइएको बताए ।

क्यानाडा पठाइदिन्छु भनेर ४१ लाख २० हजार रुपियाँ ठगी, दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु भनेर ४१ लाख २० हजार रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इनरुवा नगरपालिका–३ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका वडा नम्बर५ घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर १६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उहाँका अनुसार पक्राउ परेकामध्ये सत्यन्द्रले क्यानडा पठाइदिने भन्दै पीडितबाट रु. ३८ लाख २० हजार ठगी गरेको र विवेकले माल्टा पठाइदिने भन्दै तीन जना पीडितबाट रु. तीन लाख ठगी गरेको खुल्न आएकाले सत्येन्द्रलाई अनामनगर र विवेकलाई बागबजारबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताए ।

शेयर बजार आज तीन दशमलव २४ अङ्कले घट्यो

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २४ अङ्कले घटेर एक हजार नौ सय ६५ दशमलव ९३ विन्दुमा झरेको छ ।

आज फाइनान्स, बीमा, म्युचल फन्ड, व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार ओरालो लागेको दिन सबैको लघुवित्त कम्पनीको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन मल्टीपर्पोज फाइनान्स कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज तीन सय तीन वटा कम्पनीका ६३ लाख १२ हजार कित्ता शेयर दुई अर्ब ३६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको ११ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भयो ।