उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् ।

राष्ट्रपति पौडेलले वैशाख १५ गते अर्थात् शनिबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

प्रवक्ता भट्टराईका अनुसार राष्ट्रिय सुरक्षा परिषद्को वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको हो ।

नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।

१२ कक्षाको परीक्षा भोलिदेखि, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै

काठमाडौँ । भोली शुक्रबारबाट कक्षा १२ को परीक्षा सुरु हुँदैछ । यो वर्ष कक्षा १२ को परीक्षाका लागि ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेडवृद्धितर्फका विद्यार्थी हुन् ।

७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । गतवर्षभन्दा यसपालि १८ हजार परीक्षार्थी बढेकाले परीक्षा केन्द्र पनि अघिल्लो वर्षको तुलनामा थपिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाए ।

बझाङ उपनिर्वाचनः ६५१ जनशक्ति परिचालन

बझाङ । बझाङमा उपनिर्वाचनका लागि कर्मचारी मतदान स्थलतर्फ लागेका छन् । कर्मचारीलाई नियुक्तिपत्र र मतदान सामग्री बुझाएर मतदान स्थलतर्फ खटाइएको छ ।

मतदानका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीले नियुक्तिपत्रसँगै निर्वाचन खर्च र सामग्री बुझाएर सुरक्षाकर्मीसहित मतदान केन्द्र र मतदान स्थलमा पठाएको छ प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए । आगामी वैशाख १५ गते बझाङमा हुने प्रदेशसभाको उपनिर्वाचनका लागि १२ सयको संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रजिअ कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी उक्त संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिए। निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर सो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । म्यादी प्रहरीको प्रयोग नहुने भएकोले दुई सङ्गठनका प्रहरी निर्वाचनमा प्रयोग हुने कुइँकेलले बताए । उपनिर्वाचनलाई शान्त र भय रहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन क्षेत्रभित्र रहेका मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कुईकेलको भनाई छ।

बझाङ जिल्ला भरमा ९३ मतदान केन्द्र र ७४ मतदान स्थल रहेका छन्। जिल्ला निर्वाचन कार्यलयले मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई मतदान केन्द्रमा खटाएर आज नै प्रहरीहरु समेत परिचालन गरिएको जनाइएको छ । जिल्ला निर्वाचन कार्यालयले भने आज कर्मचारीहरुलाई सम्बन्धित मतदान केन्द्रमा खटाएको छ।

जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीकाअनुसार सोमबार नै साइपाल गाउँपालिकाअन्तर्गतका ५ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पठाई सकिएको भए पनि अन्य पालिकाका लागि आज अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पठाएको बताए।

आयोगकाअनुसार प्रत्येक मतदान केन्द्रमा सातजना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाएको छ। मतदान केन्द्र अनुसार बझाङमा ६५१ जनशक्ति परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

ललितपुरको ग्वार्कोबाट १३ जना जुवाडी पक्राउ

काठमाडौं । ललितपुरको ग्वार्कोबाट जुवा खेलिरहेका अवस्थामा १३ जना जुवाडी पक्राउ परेका छन् । ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

जुवा खालबाट १३ जनालाई पक्राउ गरेको र ४ लाख ३५ हजार ९६० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

काठमाडौंका झण्डै २६ जना महिलामा क्यान्सर पोजेटिभ


काठमाण्डौँ । काठमाडौं महानगरपालिकाका वडा नम्बर ३, ३१, २५, र २७ का महिला जनप्रतिनिधि र कर्मचारी गरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको छ । जसमध्ये (जनप्रतिनिधि, कर्मचारी, वडा नं. ३१, २५ र २७ गरी) ७७९ जनाको रिपोर्ट आइसकेको महानगरले जनाएको छ ।
रिपोर्ट आएकामध्ये २६ जनामा पोजेटिभ (क्यान्सरको सम्भावना) देखिएको जनस्वास्थ्य निरीक्षक रञ्जनाकुमारी शाहले जानकारी दिइन् ।
रामघाट प्राथमिक स्वास्थ्य केन्द्रका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुनिता लम्सालकाअनुसार पोजेटिभ देखिएकामध्ये ९ जनाको कल्पस्कोपी (विशेष क्यामराबाट पाठेघरको मुखको अवस्था हेर्ने) र बायोप्सी (परीक्षणका लागि मासुको नमूना निकाल्ने) गरिएको छ ।
बायोस्पीको रिपोर्ट आउन ७ दिन लाग्छ । आज रामघाटमा कल्पस्कोपी र वायोप्सीका लागि १२ जनालाई बोलाइएको छ ।

हिमाली जिल्लासमेत औलोको जोखिममा

सुर्खेत । कर्णालीका हिमाली जिल्लामा औलो रोगको प्रभाव देखिन थालेको छ ।

विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णालीले सुर्खेतमा गरेको अन्तर्क्रियामा विगतमा तराईमा मात्रै देखिने औलो रोग अहिले हिमालसम्म पुगेको तथ्यांक सार्वजनिक गरेको हो ।

औलो रोगको अवस्थासम्बन्धी पाँच वर्षयताको तथ्यांक सार्वजनिक गर्दै निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल आचार्यले हुम्लाको ताजाकोट गाउँपालिका–२, ३ र ४ तथा कालीकोटको खाँडाचक्र नगरपालिका–२ औलो रोगको उच्च जोखिममा रहेको बताए ।

उनका अनुसार हुम्लाको ताजाकोट १, चङ्खेलीको २, अदानचुली गाउँपालिकाको २ र ३, मुगु सोरु गाउँपालिकाको ४, ५, खत्याडको १, वीरेन्द्रनगर नगरपालिका–७ सहित ९ वडा मध्यम जोखिमका रहेका छन् ।

उनका अनुसार सुर्खेतमा २०, दैलेखमा ३ र कालिकोटमा १ गरी हाल कर्णालीमा २४ जना औलोका बिरामी छन् । उनीहरू सबैको निःशुल्क उपचार भइरहेको छ ।

सडक यातायातका साथै जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा हिमाली क्षेत्रमा लामखुट्टे देखिन थालेपछि रोग फैलिन थालेको हो ।

विभिन्न माध्यमबाट लामखुट्टे हिमाली क्षेत्रमा पुगेर त्यहाँको फोहर, खाल्डाखुल्डीमा वृद्धि हुन थालेको जनाइएको छ ।

जोखिम बढेपछि माइक्रोस्कोपी र आरडीटी विधिबाट औलो परीक्षण र उपचारका कार्य भइरहेको आचार्यले बताए ।

स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका निमित्त निर्देशक डा। रविन खड्काले औलो रणनीतिक योजना सन् २०१४–२०२५ अनुसार नेपाललाई सन् २०२५ सम्ममा औलोमुक्त राष्ट्र बनाउने सरकारको लक्ष्य रहेको बताए ।

सोही लक्ष्यअनुसार कर्णालीमा पनि तीव्ररूपमा नियन्त्रणको कार्यक्रम भइरहेकोे बताउँदै उनले औलो परीक्षण गरिएका व्यक्तिहरूलाई झुल वितरण, बिरामी व्यक्ति तथा नजिकका छिमेकीमाथि औलो परीक्षण तथा निगरानी भइरहेको बताए । रासस

चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही सहित सात जनाविरुद्ध मुद्दा दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित सात जानविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उपभोक्ता समिति बनाएर बाटो निर्माण गर्दा अनियमितता गरेको भन्दै अख्तियारले बिहीबार सात जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सब–इन्जिनियर हर्कधन बुढाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । त्यस्तै उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाय, सचिव धनपति ऐडी, कोषाध्यक्ष पुनी ऐडी र चंखेली ३ का वडाध्यक्ष शालिग्राम एडीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको जनाएको छ ।
अख्तियारका प्रवक्ता घिमिरेका अनुसार उनीहरूले हुम्लाको सुकिचौरै हुँदै चिमाङसम्मको बाटो निर्माण गर्दा भएकोभन्दा बढी कामको मूल्याङ्कन गराएको, झुटा बिल तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी पेस गरेको अख्तियारको ठहर छ ।
अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर वली, असिस्टेन्ट सब इन्जिनियर बुढा, उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षबाटबाट दुई लाख २२ हजार बिगो मागदाबी गरेको छ ।

स्टइन्डिज ‘ए’सँग खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइन्डिज ‘ए’सँग खेल्ने नेपाली टोलीको घोषणा गरेको छ।

बिहीबार क्यानले वेस्टइन्डिज ‘ए’सँग खेल्ने टी-२० शृंखला खेल्ने नेपाली टोलीको घोषणा गरेको हो। रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।

जसमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द रहेका छन्।

वेस्टइन्डिजको टोली बुधबारनै काठमाडौं पुगिसकेको छ। खेल शनिबारदेखि क्रितिपुर मैदानमा हुनेछ।

बसको ठक्करबाट एक तीर्थयात्रीको ज्यान गयो

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको ज्यान गएको छ ।

राप्ती-२ गड्यौलीस्थित पूर्व(पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका-२ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट ज्यान गएको हो ।

उक्त बसले उनलाई ओर्लने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेजमा उपचारकोक्रममा ज्यान गएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

ठक्कर दिने बस र त्यसका चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका-१८ बस्ने वर्ष ४१ क कृष्ण सापकोटालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरिएको उनले जानकारी दिए ।

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न


काठमाडौँ ।
नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ ।
बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले आज जनाएको छ । बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरुको प्रारुप छनोट, कार्यान्वयन एवं अनुगमनबारे विचारविमर्श भएको थियो ।
दुवै पक्षले यो वर्षको मध्यतिर दुई पटक बैठक गर्ने तथा अन्त्यमा परियोजना कार्यान्वयनको समीक्षा गर्न सहमति जनाएका छन् । बैठकमा दुवै पक्षले तिब्बतसँग सिमाना जोडिएका नेपाली भूभागका जनताको जीवनस्तर सुधारमा सहयोग बढाउन पनि सहमति जनाएका उक्त महावाणिज्य दूतावासले जनाएको छ ।
बैठकमा नेपाली पक्षको नेतृत्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व तिब्बतको विदेश मामिला कार्यालयका उच्च अधिकारीले गरेका थिए ।
बुधबार नै नेपाली प्रतिनिधिमण्डलका नेता भट्टराईले तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष छन छेङ्कीसँग शिष्टाचार भेट गरे । त्यसअवसरमा आपसी हितका विविध विषयमा विचार आदानप्रदान हुनुका साथै नेपाल–चीन सम्बन्ध अभिवृद्धि गर्ने सामाजिक–आर्थिक मामिलामा छलफल भएको थियो ।
सहायता परियोजनाको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा आगामी महिना आयोजना गरिने छ । रासस

कर्णालीका मुख्यमन्त्री यामलालले आज लिँदैछन् विश्वासको मत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दै छ ।

मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिन लागेकाले प्रदेश सभाको बैठक दिउँसो तीन बजे बोलाइएको सूचना अधिकारी उपेन्द्र कुमार गुरुङले जानकारी दिए ।

कर्णाली प्रदेशसभा ४० सदस्य छन् । नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एकरएक सांसद छन् । नेकपा एमाले र माओवादी केन्द्रको मात्रै संख्या जोड्ने हो भने पनि मुख्यमन्त्री कँडेलले विश्वासको मत पाउँछन् ।

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका कँडेल गत चैत २७ गते नियुक्त भएका थिए । मुख्यमन्त्री कँडेलले बुधबार नेकपा माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग सहमति नजुट्दा मन्त्रिपरिषदले पूर्णता भने पाएको छैन । विहीबार विश्वासको मत लिएपछि मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् ।

बुधबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुको बैठकले मन्त्रालय भागबण्डा भने टुंगो लगाएको थियो । बैठकमा भएको सहमतिअनुसार नेकपा एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास, आन्तरिक मामिला र भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालय पाउने छ ।

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौं । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सन् १९९५ अर्थात २९ वर्षअघि स्थापनाभएको वल्डलिंकले हालै ग्राहक सङ्ख्यामा यो नयाँ उचाइ हासिल गरेको हो ।

आजभन्दा २९ वर्षअघि कम्पनीका संस्थापक दिलीप अग्रवालले अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट वर्ल्डलिंकको यात्रा सुरु भएको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त गरी सेवा विस्तारमा लागेको कम्पनीले २०७४ सालको जेठमा एक लाख ग्राहकलाई इन्टरनेट कनेक्सन उपलब्ध गराउन सफल भएको थियो ।

२०७५ साल जेठसम्म आइपुग्दा कम्पनीका ग्राहक दुई लाख नाघेका थिए भने सोही वर्षको माघ महिनामा अर्को आंकडा पार गर्दै कम्पनीले तीन लाख ग्राहकलाई आफ्नो नेटवर्कमा जोड्न सफल भएको थियो ।

यसरी निरन्तर रूपमा सेवा विस्तारसँगै ग्राहकलाई सेवा उपलब्ध गराउने क्रममा कम्पनीले २०८० भदौ महिनामा आठ लाख र त्यसको एक वर्ष नपुग्दै वर्ल्डलिंकले अर्को नयाँ उचाइ छोएको हो । यसरी कम्पनीले पछिल्लो नौ महिनाको अवधिमा थप एक लाख ग्राहक बढाएको हो ।

‘नौ लाख घरधुरीको कोसेढुंगा पार गर्नु भनेको वर्ल्डलिंकको सेवा प्रति ग्राहकहरूले देखाउनु भएको विश्वासको प्रमाण हो,’ कम्पनीका सीईओ केशव नेपालले भने, ‘यो कोसेढुंगा हाम्रो सेवामा ग्राहकले देखाएको विश्वासको प्रमाण हो । ग्राहकलाई थप प्रभवकारी र गुणस्तरीय सेवा उपलब्ध गराउन सेवा र क्षमतालाई थप विस्तार गर्न हामी प्रतिबद्ध छौं ।’

घरायसी, साना तथा मझौला व्यवसाय तथा कर्पोरेट गरी विभिन्न प्याकेजमा ग्राहकको आवश्यक्ता अनुसार सहुलियत दरमा कम्पनीले गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ ।

दुई वर्ष अघि वर्ल्डलिंकले ठूलो विदेशी लगानी भित्र्याउन सफल भएको थियो । जुन नेपालको इन्टरनेट सेवा प्रदायक मध्येको पहिलो र एक मात्र कम्पनी हो । कम्पनीले ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फन्ड (डीआईएफआईआई) मार्फत विदेशी लगानी भित्र्याएको छ ।

विदेशी लगानी भित्रिएसँगै कम्पनीले देशव्यापी रूपमा गुणस्तरीय सेवा विस्तारका साथै कर्मचारीहरूको सिप अभिवृद्धिमा समेत ठूलो लगानी गरिरहेको छ ।

आजका दिनमा वर्ल्डलिंक देशको सबैभन्दा ठूलो रोजगारदताको रूपमा समेत स्थापित भइसकेको छ ।

हाल वर्ल्डलिंकमा ५३ सय भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । कुल १३० शाखा मार्फत कम्पनीले देशका सातै प्रदेशका ७३ जिल्लामा इन्टरनेट उपलब्ध गराइरहेको छ । बाँकी रहेका ४ जिल्लामा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार हाल कम्पनीले नेपालको कुल इन्टरनेट बजारको ३५ प्रतिशत बजार हिस्सा ओगट्ने गरेको छ भने हाल देशको कुल इन्टरनेट ट्राफिक मध्ये ४० प्रतिशत वर्ल्डलिंकमार्फत नै प्रवाह हुने गरेको छ ।

कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्री वाईफाई समेत उपलब्ध गराइरहेको छ ।

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव

काठमाडौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् ।

अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार सॅाझ बानेश्वरस्थित एक होटलमा सुझाव लिएका हुन् । त्यस क्रममा पूर्वअर्थमन्त्रीहरुले महात्वाकांक्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउन सुझाए । उनीहरुले बजेटको आकार नबढाउन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

यस्तै उनीहरुले राष्ट्रिय गौरबका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना र बहुवर्षीय ठेक्का स्वीकृत भएका चालु आयोजनाबाहेक बिना तयारीका योजनामा बजेट विनियोजन नगर्न भनेका छन् । ‘बजेटको आकार ठूलो नबनाउनुस् । जे पजि गर्छु भन्ने टाइपका नल्याउनुस्’, निवर्तमान अर्थमन्त्री महतले भने, ‘पपुलिज्मको पछाडि कोही लाग्नु हुँदैन । कार्यान्वयन नहुने कुरा गरेर पछि हल्का हुने काम नगर्नुस् भन्ने मेरो सुझाव छ ।’ अर्का पूर्वअर्थमन्त्री डा. खतिवडाले पनि अर्थमन्त्रीको यो कार्यकाल नै अन्तिम हो भन्ने ठानेर पपुलिष्ट बजेट नल्याउन सुझाए । उनले बजेटको आकार अनावश्यक ठूलो बनाउने प्रवृत्तिले कार्यान्यवन नै नहुने समस्या रोगका रुपमा विकास भएको भन्दै बजेटको साख गिराउने काम गर्न नहुने उल्लेख गरे । ‘हामीले विगतदेनि नै बजेटको साख गिराउने काम गर्दै आएका छौं’, खतिवडाले भने, ‘यो पटक पनि राष्ट्रिय योजना आयोगले दिएको १८ खर्बको बजेटको सिलिङ ठूलो हो ।’ खतिवडाले दायित्वजति संघीय सरकारमा राखेर श्रोतजति प्रदेश र स्थानीय तहमा पठाउने प्रवृत्ति हानिकारक रहेको औंल्याउँदै त्यसो नगर्न भने । ‘दायित्वजति संघीय सरकारमा राख्ने र श्रोतजति तल पठाउँदा अर्थमन्त्री असफल भयो भन्ने आरोप आउने गरेको छ’, खतिवडाले भने, ‘श्रोत तल पठाउने हो भने त्योसँथै दायित्व पनि पठाउनुस् भन्ने मेरो आग्रह छ ।’

अर्का पूर्वअर्थमन्त्री डा. लोहनीले देशको अर्थतन्त्र संकटउन्मुख रहेको भन्दै एक जना अर्थमन्त्रीले मात्र चाहेर सुधार गर्ने ठाउँ नहुने स्पष्ट गरे । त्यसका लागि प्रधानमन्त्रीदेखि मन्त्रिपरिषदका सबै, राजनीतिक दल र राज्य संयन्त्र नै सक्रिय हुनुपर्ने उनको भनाइ थियो । ‘एकजना अर्थमन्त्रीले मात्र चाहेर केही गर्न सक्दैन’, उनले भने, ‘नीति निर्माता सबैले सोच्नुपर्छ । अरु मन्त्रालयहरुको पनि सहभागिता चाहिन्छ ।’ राजनीतिक स्थायित्वको ग्याण्रेटी नभएसम्म आर्थिक विकास नहुने भन्दै उनले असुरक्षाको वातावरण निर्माण हुनुमा अस्थिरता बाधक रहेको औंल्याए । उनले कम्तिमा तीन वर्ष वर्तमान सरकारले निरन्तरता पाउनुपर्छ भन्ने पक्षमा आफू रहेको बताए । अर्का पूर्वमन्त्री शंकर कोइरालाले विगतमा जलश्रोतमा लगानी गर्दा श्रोत नखोज्ने र १५ वर्षसम्म थप आयकर नलाग्ने नीतिका कारण अहिले विद्युत निर्यात हुने अवस्था आएको चर्चा गर्दै आर्थिक स्थायित्वका लागि कम्तिमा यस्तै एउटा क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने बताए । अर्का अर्थमन्त्री जनार्दन शर्माले अख्तियार सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धा र सिआईबीजस्ता निकायले जथाभावी अधिकारको दुरुपयोग गरेका कारण कर्मचारीको काम गर्ने मनोबल घटेकाले पुँजीगत खर्च निराशाजनक रहेको उल्लेख गरे । ‘नियामक संस्थाहरुका कारण निजी क्षेत्र आतंकित भएको छ’, उनले भने, ‘सचिवदेखि कर्मचारीहरुलाई हुँदै नभएको मुद्धा लगाइदिने प्रवृत्तिका कारण कोही पनि फाइल सदर गर्ने अवस्थामा छैन ।’

अर्का पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले कागजमा मात्र अर्थतन्त्रको आकार बढाउने तर यथार्थमा कार्यान्वयन नहुने बजेट नल्याउन सुझाव दिए । पाण्डेले गलत नियतका साथ सामाजमा राजनीतिज्ञ र कर्मचारीतन्त्र सबै खत्तम भन्ने मनोविज्ञान फैलाइएकाले त्यसलाई नचिरेसम्म काम गर्ने वातावरण नबन्ने औंल्याए । ‘पुँजीगत खर्च किन हुँदैन भने कोही कर्मचारी फाइल सदर गर्न तयार छैन । विधिपूर्वक काम गर्दा केही हुँदैन भन्ने ग्यारेण्टी गरिनुपर्छ’, पाडेले भने, ‘कुन दिन कसलाई अख्तियारमा लाने हो टुंगो छैन । काम गरेबापत गाउँमा सबैले भ्रष्टाचारी भन्छ । करिअर पनि सकिन्छ ।’ संसदस्य समिति, अख्तियार, सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धानजस्ता निकाय राज्यभन्दा अलग नभएको उनको भनाइ थियो । ‘देश बनाउने हो भने सबै एकैतिर फर्किनुपर्छ । कोही कता कोही कर्ता फर्किएर मुलुक बन्दैन’, पाण्डेले भने । पाण्डेले नियामक निकायलाई राजनीतिक वा व्यक्तिगत प्रतिशोधका आधारमा प्रयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।
पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन फुकाएर बजेट बनाउने अवस्था नभएकाले प्रधानमन्त्रीदेखि मन्त्रिपरिषदका सदस्य र सरकारमा संलग्न दलका नेताहरुलाई अहिलेको अथार्थ अवस्था, बाध्यता र सीमाबारे बुझाउन अर्थमन्त्री पुनलाई आग्रह गरे । उपलब्ध श्रोतबाट अवस्था सुधार्न कठिन भएकाले नीतिमार्फत सुधार गर्न उनले सुझाव दिए । बजेटको विश्वसनीयता कायम राख्न आकार अनावश्यक ठूलो बनाउन नहुनेमा उनको पनि जोड थियो । ‘असीमित ढंगले बजेटको आकार फराकिलो बनाउन सकिँदैन’, पौडेलले भने, ‘राष्ट्रिय गौरबका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र चालु आयोजनामा मात्र बजेट राखौं । अनगिन्ती योजना थप्ने काम नगरौं ।’ उनले विगतमा राजनीतिक दबाबका कारण बिना तयारी र बिनाश्रोत राखिएका हजारौं टुक्रे आयोजना खोज गर्न आँट गर्न अर्थमन्त्री पुनलाई सुझाव दिए । त्यसमा आफू र आफ्नो दलका तर्फबाट अर्थमन्त्रीलाई साथ रहने प्रतिबद्धता जनाए ।

मन्त्री पुनले पूर्वअर्थमन्त्रीहरुका सुझावलाई मनन गरी बजेट निर्माण गर्ने बताए । विकास र सुशासनलाई सँगै लाने तथा उत्पादन र रोजगारी वृद्धि गर्ने खालको बजेट ल्याउने उनको भनाइ थियो । उनले अर्थतन्त्रलाई तीव्रता दिन वस्तुगत बजेट बनाउने भन्दै अर्थमनत्रीहरुका सुझावलाई गाइडलाइनका रुपमा गह गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी, राजश्व सचिव डा. रामप्रसाद घिमिरे, बजेट लेखन समिति संयोजक सहसचिव धनिराम शर्मा, सहसचिवहरु बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्य, महेश आचार्य, ईश्वरी अर्याल, पार्वती शर्मा र रामप्रसाद आचार्यलगायत थिए ।

भ्रष्टाचारमा दोषी ठहर भएका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा गरेको छ ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतको आदेशअनुसार सांसद गुरुङको निलम्बन फुकुवा भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा गुरुङ दोषी ठहर भएका छन्।

मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ २०७९ पुस १२ गतेदेखि निलम्बनमा थिए।

अख्तियारले भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा भ्रष्टाचार गरेको अभियोगमा २०७५ माघ २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

कुनै पनि सार्वजनिक पदाधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएमा स्वतः निलम्बन हुने भ्रष्टाचार निवारण ऐनको व्यवस्था छ।

विशेष अदालतका तत्कालीन अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई २०७९ फागुन १६ गते भ्रष्टाचारी ठहर गरेको थियो।

बद्रीप्रसाद न्यौपाने महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार रूपैयाँ भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो। गुरुङ भृकुटीमण्डप फनपार्कको मेला सञ्चालक थिए।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गत चैत १६ गते सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको हो।

भ्रष्टाचारको मुद्दा लाग्नेबित्तिकै निलम्बित हुने कानुनको व्यवस्था छ तर गुरुङ भने भ्रष्टाचार मुद्दामा दोषी नै ठहर भइसकेका व्यक्ति हुन्।यस्तो अवस्थामा निलम्बन फुकुवा गर्नु जायज नहुने विशेष अदालतका अध्यक्षसमेत भइसकेका पूर्वन्यायाधीश गौरीबहादुर कार्की बताउँछन्।

‘भ्रष्टाचार मुद्दा लाग्नेबित्तिकै कुनै पनि सार्वजनिक पदाधिकारी निलम्बन हुने कानुनको स्पष्ट व्यवस्था हो,’ कार्कीले भने, ‘यस (गुरुङको मुद्दा)मा त अभियुक्त दोषी ठहर भई जरिवानासमेत तोकिएको छ। भ्रष्टाचार निवारण ऐनको व्यवस्था कसैको लागि लागु हुने र कसैका लागि नहुने भन्ने कहीँ पनि लेखिएको छैन।’

कति पुग्याे डलरकाे भाउ

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया ०२ पैसा र बिक्री दर १३३ रुपैया ६२ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र बिक्री दर १४२ रुपैयाँ ७७ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६५ रुपैयाँ ४५ पैसा र बिक्री दर १६६ रुपैयाँ २० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४५ रुपैयाँ ४५ पैसा र बिक्री दर १४६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५० पैसा र बिक्री दर ८६ रुपैयाँ ८९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १९ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ६३ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ५९ पैसा र बिक्री दर ८ रुपैयाँ ६३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३६ पैसा र बिक्री दर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।