कतारका अमिर स्वदेश फिर्ता

काठमडौँ । दुई दिने नेपाल भ्रमण सकेर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा मंगलबार नेपाल भ्रमणमा आएका थानीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थल पुगेर विदाई गरेका हुन् ।

उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपप्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थ अधिकारी पनि थानीको विदाई गर्न विमानस्थल पुगेर थानीको विदाईमा सहभगाी भए । नेपालमा रहँदा थानीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए ।
थानीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल र कतारबीच ८ बुँदे सहमझदारी र सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।

नेपाल र कतारबीच यी क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौँ । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ ।

कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि उनीहरुको उपस्थितिमा कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यसैगरी युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गरेका छन् ।

यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरे । रासस

बजुरामा खानेपानीको हाहाकार


बाजुरा ।
बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ७, सेरकाटिया दलित बस्तीमा खानेपानीको हाहाकार भएको छ  । २०५० सालमा निर्माण भएको भैँसापानी प्याउना खानेपानी योजनाले बस्तीमा पानी सुविधा दिएको थियो ।
पछिल्लो समय उक्त खानेपानी योजनाको मर्मतसम्भार नहुँदा पाइपलाइन फुटेर बिग्रिँदै गएपछि खानेपानीको अभाव भएको हो । परिवारको सङ्ख्या धेरै र खानेपानीको धारा कम भएको र धारा पनि बिग्रिँदै गएपछि दलित बस्तीमा खानेपानी समस्या देखिएको स्थानीय जसवीर विकले बताए  ।
उनका अनुसार गाउँमा पानीका धेरै धारा छन्, पानी भने कहिल्यै नआउने गरेकाले ६० घरपरिवारलाई खानेपानीको अभाव झेल्नु परेको हो । सरकारले ‘एक घर एक धारा’ निर्माण गरे पनि पानी नआउने गरेको गुनासो स्थानीयको छ । गाउँघर सरसफाइ अभियानसँगै दलित बस्तीका सबै परिवारले घर घरमा शौचालय निर्माण गरेका छन् । घरको अगाडि निर्माण गरेका खानेपानीको धारामा पानी नआउँदा ती शौचालयसमेत फोहोर बन्न थालेको विकले बताए ।
गाई, भैँसीका लागि खोलाको पानी भए पनि स्थानीयलाई पिउनयोग्य सफा खानेपानीको अभाव देखिएको छ । थानीय दलबहादुर विक भने, “घर घरमा धारा त छन् तर पानी आउँदैन ।” उक्त बस्तीमा खानेपानी मर्मतसम्भारका लागि तीन पटक रकम विनियोजन गरेको वडाध्यक्ष अशोकबहादुर दानीले बताए  ।
पछिल्ला चैत्र, बैशाख र जेठ माहिना गरी यी ३ महिनाको समयमा सुदूरपश्चिमका सबैजसो ठाउँमा खानेपानीको हाहाकार हुने गरेको छ ।

लगानी प्रवर्द्धनका लागि १२ कानून र नियमावलीमा अध्यादेशमार्फत भएको संशोधनको स्वागत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले लगानी सम्मेलन नजिकिँदै गर्दा सरकारले लगानी प्रवर्द्धनका लागि १२ कानून र नियमावलीमा अध्यादेशमार्फत भएको संशोधनको स्वागत गरेको छ।

महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशत मात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा यो संशोधनले थप सहयोग पुग्ने जानकारी दिएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ,‘यहीँ बैसाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनलाई लक्षित गरि निजी क्षेत्रको आग्रहमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६, वन ऐन, भूमि सम्बन्धि ऐन लगायतका कानूनमा संसोधन गरेको छ। नया व्यवस्थाले वातावरणीय प्रभाव मुल्यांकन, हदबन्दीलगायतका बिषयलाई सम्बोधन गरेको छ।
महासंघको पहलमा नियमावली बनाइ स्टार्ट अपको परिभाषा दिने बिषय पनि यस पटकको केहि नेपाल ऐन संसोधनमा परेकोमा महासंघले खुशी व्यक्त गरेको छ। यस अघि परिभाषाको अभावमा स्टार्ट अपलाई सुविधा दिन सकिएको थिएन। महासंघले नै नियमावली मार्फत परिभाषा खोजेपनि यसपटक सिधै ऐनबाट सम्बोधन हुनु सकारात्मक छ। प्रधानमन्त्री कार्यालका तत्कालीन सचिव एक नारायण अर्यालको संयोकत्वमा गठित नीतिगत सुधार कार्यदलको सुभाव अनुरुप ऐन नियममा संसोधन भएको हो ।

अध्यादेशबाट पारित कानूनी व्यवस्थालाई संसदले पनि अनुमोदन गर्ने महासंघको विश्वास छ। यसैगरी संशोधित कानून कार्यान्वयन हुनेमा महासंघ आशावादी रहेको बताइएको छ।

कतारका राजा अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल भेटवार्ता


काठमाडौं । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज सोल्टी हेटलमा भेटवार्ता भएको छ ।
सोल्टी होटलको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुने जनाईएको छ । त्यसपछि कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए ।
पहिलोपटक नेपाल भ्रमणमा आएको अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिएको थियो ।

वेस्ट इन्डिजको क्रिकेट टोली नेपाल पुग्यो

काठमाडौं । दुई पटक एकदिवसीय र टी(२० विश्वकप विजेता वेस्ट इन्डिजको क्रिकेट टिम नेपाल आइपुगेको छ । यो टोलीले नेपाली टोलीसँग ५ टी–२० खेलको सिरिज खेल्नेछ ।

रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिज ए टोली नेपाल आइपुगेको हो । वेस्ट इन्डिजसँगको ५ वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको सिरिज अन्तर्गत पहिलो खेल अप्रिल २७ शनिबार हुनेछ । अप्रिल २८ मा दोस्रो, मे १ मा तेस्रो, मे २ मा चौंथो र मे ४ मा अन्तिम खेल हुनेछ ।

वेष्ट इण्डिज ए अन्तर्राष्ट्रियस्तर अनुसार नेपाल आउने सबभन्दा उच्च स्तरको टोली हो । यसअघि एसोसिएट राष्ट्रका प्रमुख दुई टोली नेदरल्यान्ड्स र स्कटल्यान्ड नेपाल आइसकेका छन् ।

प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्र लैजाँदै गरेको मदिरा नियन्त्रण

ताप्लेजुङ । ताप्लेजुङस्थित पवित्र साथै प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्र लैजाँदै गरेको मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । सदरमुकाम फुङ्लिङ बजारदेखि पाथीभरा क्षेत्र जाँदै गरेको सवारी जाँच गर्ने क्रममा मदिरा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार पाथीभरा क्षेत्रअन्तर्गत फुङ्लिङ नगरपालिका–९ देउरालीबाट मदिरा नियन्त्रणमा लिइएको हो । पाथीभरा क्षेत्र जाँदै गरेका विभिन्न सवारी साधन जाँचका क्रममा एक कार्टुन खुकुरी रम ९मदिराजन्य वस्तु० फेला परेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको लुङ्गेलीले जानकारी दिए ।

पाथीभरा दर्शनमा आउने तीर्थयात्रीको शान्ति सुरक्षा र स्वास्थ्य संवेदनशीलतालाई दृष्टिगत गरी पाथीभरा क्षेत्रमा मदिरा सेवन तथा बिक्री वितरण गर्न निषेध गरिएको छ । निषेधित क्षेत्रमा मदिराजन्य वस्तु लैजाँदै गरेको पाइएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पाथीभरा क्षेत्रअन्तर्गत काफ्ले पाटी, बलु डाँडा, गुराँसे हुँदै माथिल्लो फेदीमा बजार तथा होटलहरु सञ्चालनमा रहेका छन् ।

‘विगतबाट पाठ सिकौँ, भूकम्पप्रति सचेत बनाँऔँ’ भन्ने नारासहित भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुँदै


काठमाण्डौ । बि.सं. २०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको सम्झनामा भूकम्पीय जोखिम न्यूनिकरणका लागि सचेतना फैलाउन आज बृहत फोटो प्रदर्शनी हुँदैछ । ‘विगतबाट पाठ सिकौँ, भूकम्पप्रति सचेत बनाँऔँ’ भन्ने नारासहित खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको आयोजना तथा महिला पत्रकारको संस्था ‘संवाहिका समाज नेपाल’को सह–आयोजनामा बृहत फोटो प्रदर्शनीको आयोजना गरिएको हो ।
खानी तथा भूगर्भ विभाग, लैनचौर परिसरमा प्रदर्शनी हुँदैछ । गोरखा भूकम्प तथा विभिन्न अरु जिल्लाहरु डोटी, बझाङ्ग, जाजरकोटमा गएका भूकम्पबाट भएको क्षति तथा मानव समाज र भूगोलमा आएको परिवर्तनका दृष्यहरु समावेश गरी फोटो प्रदर्शनी गर्न लागिएको हो ।
२०७२ साल वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको थियो । यो १९९० सालको महाभूकम्पपछि नेपालमा गएको सबैभन्दा ठूलो भूकम्प मानिन्छ । झण्डै ९ हजार मानिसले यो भूकम्पमा ज्यान गुमाएका थिए । आठ लाखभन्दा धेरै भौतिक संरचनाको क्षति भएको थियो । भूकम्पमा २२ हजार भन्दा धेरै मानिस घाइते भएका थिए ।
विगत केही वर्षयता मुख्यगरी नेपालको पश्चिमी क्षेत्रमा पटक पटक भूकम्पको धक्का महसुस गरिएको छ । गएको कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । जाजरकोट भूकम्पमा एक सय ५६ जनाले ज्यान गुमाएका छन् ।
जाजरकोट, रुकुम पश्चिमसहितका जिल्लामा अहिले पुनर्निर्माण तथा पुर्नस्थापनाको काम भैरहेको छ ।

बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति

सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु. छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् ।

बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो ।

आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा रु. छ लाखबराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित दुई जना घाइते भएका छन् । घाइतेको दुवै हात र खुट्टा जलेका प्रहरीले जनाएको हो । अर्का स्थानीय २३ वर्षीयका राज मङ्गलको दाहिने हात जलेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यसैबीच, गए राति जिल्लाको कविलासी नगरपालिका–२, पिपरियामा भएको आगलागीबाट स्थानीयको ८० हजार मूल्य बराबरको परालको कुन्यू नष्ट भएको छ । आगलागीबाट सोही स्थानका वारिस शेख, ह्रदय राय, बहादुर राय र विजिन्दर पासवानको कुन्यू जलेको हो ।

दुवै स्थानमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वारुणयन्त्रको सहायतामा निभाइएको थियोे ।

लेखा अधिकृत नहुँदा कामकाज ठप्प, दुई वर्षदेखि दरबन्दी रिक्त

म्याग्दी । लेखा अधिकृत नहुँदा म्याग्दीको धवलागिरि गाउँपालिकाको कामकाज तीन महिनादेखि ठप्प भएको छ ।

लेखा शाखा कर्मचारीविहीन भएपछि आर्थिक काम ठप्प बनेको हो । आर्थिक काम रोकिएपछि प्रशासनिक काम समेत प्रभावित बनेको छ । कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब पाएका छैनन् । सामाजिक सुरक्षा भत्ता वितरण रोकिएको छ । विकास निर्माणका काम रोकिएको सेवाग्राहीको गुनासो छ ।

निर्माण व्यवसायी, आपूर्तिकर्ता र उपभोक्ता समितिले भुक्तानी पाउन सकेका छैनन् । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले लोकसेवा आयोगमा लेखा अधिकृत माग गरिए पनि पदपूर्ति नभएको बताए । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कोष तथा लेखा नियन्त्रकको कार्यालयमा अनुरोध गर्दा लेखा शाखाको कर्मचारी नपाइएको बताए ।

“लेखा शाखामा पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगमा माग गरेका छौँ”, उनले भने, “लोक सेवाबाट नआउँदासम्म काम फुकाउन छोटो समय र दुर्गमको कारण देखाएर आउन मानेनन् ।” गाउँपालिकामा लेखा अधिकृत र लेखापालको दरबन्दी विगत दुई वर्षदेखि रिक्त छ ।

यसअघि करिब डेढ वर्षसम्म आन्तरिक लेखापरीक्षक तिलक शङ्कर पौडेललाई लेखा शाखा प्रमुखको जिम्मेवारी दिइएको थियो । आर्थिक प्रशासन नियमन गर्नुपर्ने दायित्व भएका लेखा परीक्षकलाई आर्थिक कारोबारको जिम्मेवारी दिन नमिल्ने भएपछि २०८१ फागुन २१ गतेको कार्यपालिका बैठकले पौडेललाई लेखा परीक्षकको मात्रै जिम्मेवारी दिएको छ ।

ठेक्का सम्झौता गरेका र काम सम्पन्न भइसकेका विकासे आयोजनाका भुक्तानी निर्माण व्यवसायी र उपभोक्ता समितिले पाउन सकेका छैनन् ।

चालु आव २०८०/८१ को ९ महिनामा कूल बजेटको ३० दशमलव ८ प्रतिशत मात्र खर्च भएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले लेखा अधिकृत र लेखापालको जिम्मेवारीका लागि धेरै जनालाई अनुरोध गरिए पनि आउन नमानेको बताए ।

कूल ५० भन्दा बढीको दरबन्दी भएको धवलागिरि गाउँपालिकाको प्रशासनिक, प्राविधिक, लेखा, कृषि, भेटेरिनरी, शिक्षा शाखामा एक तिहाइभन्दा कम मात्र कर्मचारी कार्यरत छन् ।

कति पुग्याे डलरकाे भाउ ?

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया ०६ पैसा र बिक्री दर १३३ रुपैया ६६ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ८४ पैसा र बिक्री दर १६५ रुपैयाँ ५८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८९ पैसा र बिक्री दर ८६ रुपैयाँ २८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ५२ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६० पैसा र बिक्री दर ८ रुपैयाँ ६४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३६ पैसा र बिक्री दर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौ । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ ।

कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सीबीच समाचार आदाप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ ।

कतारी अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले दिवाभोजको आयोजना गर्नेछन् ।

स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम

गण्डकी । रोजगारीको खोजीमा युवा जमात बिदेसिने क्रम बढिरहेका बेला पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयले युवा लक्षित तालिम सञ्चालन गरेको छ ।

‘सीप सिकौँ, दक्ष बनौँ’ नाराका साथ वडाले कटाई सिलाई तालिम, ब्युटी पार्लर र लोक सेवा आयोगको अनलाइन तयारी कक्षा निःशुल्क सञ्चालन गरेको वडाध्यक्ष किरण बरालले जानकारी दिए। बेरोजगार युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्य तालिम सञ्चालन गरिएको उनले बताए ।

तालिममा ४५ जना युवायुवती सहभागी छन् । सिलाई कटाई तालिम तीन महिना, ब्युटी पार्लरसम्बन्धी तालिम एक महिना र लोक सेवा आयोगको तयारी कक्षा दुई महिनासम्म सञ्चालन हुनेछ ।

कतारी राजा थानीको बुधबारको कार्यक्रम के-के छ ?

काठमाडौं । नेपालको राजकीय भ्रमणमा आएका कतारी राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा राष्ट्रपति रामचन्द्र पौडेलले रात्रीभोज दिएका छन् । थानी बसेकै सोल्टी होटलमा उनले भोज दिएका हुन् ।

त्यसअघि शीतलनिवासमा थानी र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको थियो । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच बिहान १०ः३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुने कार्यक्रम छ । औपचारिक वार्ता ४५ मिनेटका लागि हुनेछ । त्यसपछि बिहान ११ः२० मा विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिहान १२ बजे प्रधानमन्त्री प्रचण्डले कतारी राजाको सम्मानमा होटेल द्वारिकाजमा दिवाभोज दिनेछन् ।

दिवाभोजमा सहभागी भएर कतारका राजा बत्तीसपुतलीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यतालिका छ। बुधबार अपराह्न २ बजे कतारको दोहा प्रस्थान गर्नेछन् ।

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ। नेकपा (एकीकृत समाजवादी)पार्टी, संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त भएको चारदिन बितिसक्दासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। मुख्यमन्त्री नियुक्ति भएकै दिन नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेशसभा सदस्य कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्रीको शपथ गराइएको थियो।

सोही दिन मन्त्रीमा शपथ लिन प्रदेश प्रमुखको कार्यालयमा पुगेकी नाउपाकै अर्का सदस्य टीका थापाले आफूले चाहेको मन्त्रालय नदिइएको जनाउँदै शपथ नै बहिष्कार गरेकी थिइन्। त्यसलगत्तै आफूले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको उनले सामाजिक सञ्जालमार्फत गराएकी थिइन्।

मुख्यमन्त्रीले विना विभागीय मन्त्रीको रुपमा शपथ खुवाउने तयारी गरेपछि आफूले चाहेको मन्त्रालयमा नियुक्ति हुनुपर्ने अडानसहित थापा विना विभागीयमन्त्रीको शपथ नलिई हिँडेकी थिइन्। सत्ता साझेदार ठूलो दल नेकपा (माओवादी केन्द्र), संसदीय दलका नेता मानबहादुर धामीले अर्को साझेदार दल नेकपा (एमाले)को रबैयाले मन्त्रिपरिषद् विस्तार र सरकारको स्थायित्वका बारेमा आशंका जन्माएको बताइन्।

उनले भनिन्, ‘सत्ता साझेदार दलबीच वैशाख ७ गते बिहान एक पटक छलफल भएको थियो, त्यसयता मन्त्रिपरिषद् विस्तारका विषयमा कुनै छलफल हुनसकेको छैन।’ उनले बझाङको प्रदेशसभा सदस्यका लागि हुन लागेको चुनावी प्रक्रियालाई लिएर नेकपा एमालेले ‘बार्गेनिङ’ गरिरहेको आरोप लगाइन्।

नेकपा (एमाले) संसदीय दलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थन गरे पनि तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ। यो निर्णयसँगै प्रदेश सरकारका विषयमा थप अन्योलता देखिएको छ। मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ भन्नेमा अझै केही भन्न सकिने अवस्था नरहेको सत्तापक्षीय दलकै प्रदेशसभा सदस्यको भनाइ छ।

मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइले प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रमलगायतका विषयमा गर्नुपर्ने तयारी प्रभावित हुने देखिएको छ। मन्त्रालय मन्त्रीविहीन हुँदा सरकारका नीतिगतलगायतका काम कारबाही पनि प्रभावित हुने देखिएको कर्मचारीको भनाइ छ।

यसअघि मुख्यमन्त्रीमा दाबी पेश गरेका नाउपाका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा नियुक्त दीर्घबहादुर सोडारीको दाबी नपुगेको जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्चले कारणदेखाउ आदेश जारी गरिसकेको छ।

लक्ष्मणकिशोर चौधरीले आफूले बहुमत प्राप्त प्रस्ताव पेस गरे पनि दाबी नपुगेको भनेर रद्द गरी असंवैधानिक काम गरिएको र अल्पमतका व्यक्तिलाई मुख्यमन्त्रीमा नियुक्ति गरिएको जिकिरसहित सर्वोच्चमा रिट गरेका थिए। उनले प्रदेश प्रमुखको मुख्यमन्त्री नियुक्तिको निर्णय खारेज गरी आफूलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि अन्तरिम आदेश माग गरेका छन्।

प्रदेश प्रमुखले गत चैत २३ गते गरेको पहिलो आह्वानमा नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले छुट्टाछुट्टै रुपमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। पेस गरिएको दाबीका आधारमा कुनै आधार स्पष्ट हुन नसकेको कारण जनाई प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२)बमोजिम दुई दिनको समय दिएर मुख्यमन्त्रीमा पुनःदाबी पेस गर्न आह्वान गरेका थिए।

सो आह्वानबमोजिम माओवादी केन्द्र, एमाले, नाउपा र स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका१०, नाउपाका सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ। रिक्त एक प्रदेशसभामा यही वैशाख १५ मा उपचुनाव हुँदैछ।