झलनाथ खनाल र प्रधानमन्त्री ‘प्रचण्ड’बिच भेटघाट, इलामको चियाको समस्याबारेमा छलफल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज बालुवाटारमा भेटघाट भएको छ। उक्त भेटघाटमा इलामको चियाको समस्याबारेमा छलफल भएको हो।

डेढ वर्ष अघि पनि भारतले नेपालको चिया आयातमा रोक लगाएको थियो। तर पूर्व प्रधानमन्त्री र तत्कालीन प्रधानमन्त्रीबिच कुराकानी भएर चिया नियमित किनबेच भइरहेको थियो। अहिले फेरि भारतीय पक्षले नेपालको चिया लान छोडेपछि इलामका उद्योगपतिहरू र किसानहरू मार्कामा परेका थिए।

त्यही क्रममा इलामका चिया व्यवसायीले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई भेटी समस्याको बारेमा जानकारी गराएपछि आज पूर्व प्रधानमन्त्री झलनाथ खनाल चिया व्यवसायी र प्रधानमन्त्रीबिच चियाको समस्याको समाधान गर्नको लागि भारतीय सम्बन्धित पक्षलाई यसको यो समस्याको समाधानका लागि छलफल गर्ने सहमति भएको छ।

कतारका अमिर नेपाल आइपुग्दै

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज अपरान्ह ४ः ४० बजे काठमाडौं पुग्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर दुई दिनसम्म नेपालमा बस्ने कार्यतालिका रहेको छ।

बंगलादेशको राजधानी ढाकाबाट उनी विशेष विमान र अन्य दुई ठूला विमानगरि काठमाडौं आउने बताइएको छ।

उनलाई स्वागतका लागि राष्ट्रपति पौडेल आफैँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्। त्यहाँ नेपाली सेनाले कतारी अमिरको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ।

त्यसपछि विमानस्थलबाट अमिर राष्ट्रपति पौडेलसँग भेटवार्ताका लागि सोझै राष्ट्रपति कार्यालय शीतल निवास पुग्ने कार्यक्रम रहेको छ।

साँझ होटल सोल्टीमा राष्ट्रपति पौडेलले कतारी अमिरको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्।

अमिर र उनको टोलीको बस्ने प्रबन्ध सोल्टी होटलमा मिलाइएको छ।

एकैदिन ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो । सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँमा झरेको छ ।

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।

महाधिवेशनको तयारी, पार्टी संगठन तथा जनवर्गीय संगठनका कार्य प्रगतिबारे छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गरिनेछ ।

स्थायी कमिटी बैठकले पारित गर्ने राजनीतिक, सांगठनिक, विधानसम्बन्धी प्रतिवेदन तथा एजेण्डालाई केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ ।

महाधिवेशन व्यवस्थापनका लागि गठित सबै कमिटीका तयारी, नवीकरण गरिएका संगठित सदस्यका साथै नयाँ सदस्यता अनुमोदनलगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल हुने नेता गौतमले जानकारी दिए ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको उक्त पार्टीले यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिएको छ । रासस

एनसिईले सार्वजनिक शिक्षा सुधार गर्न एक हप्तासम्म अभियान संञ्चालन गर्ने


काठमाण्डौ ।
शिक्षा अधिकार तथा सार्वजनिक शिक्षा रुपान्तरणका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले नेपालको सार्वजनिक शिक्षा सुधार गर्न एक हप्तासम्म अभियान संञ्चालन गर्ने भएको छ ।
एनसिईका अध्यक्ष राजेन्द्र पहाडीले शिक्षा अभियान सङ्घ, प्रदेश तथा पालिकामा विभिन्न कार्यक्रम गरी मनाउन लागिएको जानकारी दिए ।
अभियानअन्तर्गत सोमबार माइतीघरमा दिउँसो १ बजेदेखि ३ बजेसम्म नागरिक समाजको भेला कार्यक्रम भएको छ । अब १५ गतेसम्म सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गर्ने, विद्यालयमा विद्यार्थीहरूद्वारा पत्र लेखन तथा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
यस्तै भोलि ‘सार्वजनिक शिक्षामा रूपान्तरण किन’ विषयक अन्तरक्रिया गरिने आयोजकको भनाइ छ । एनसिईले सार्वजनिक शिक्षा सुदृढीकरण गर्न सरोकारवालालाई जवाफदेही बनाउने उद्देश्यले सन् २००३ देखि नेपाललगायत विश्वका एक सय ५० भन्दा बढी देशमा विश्वव्यापी कार्य सप्ताह मनाउँदै आएको छ ।
यस्तै भोलि ‘सार्वजनिक शिक्षामा रूपान्तरण किन’ विषयक अन्तरक्रिया गरिने आयोजकको भनाइ छ । एनसिईले सार्वजनिक शिक्षा सुदृढीकरण गर्न सरोकारवालालाई जवाफदेही बनाउने उद्देश्यले सन् २००३ देखि नेपाललगायत विश्वका एक सय ५० भन्दा बढी देशमा विश्वव्यापी कार्य सप्ताह मनाउँदै आएको छ ।
यस वर्षको विश्वव्यापी अभियानले सरकारको प्रतिबद्धता पूरा गर्न र सार्वजनिक शिक्षा सुदृढीकरणका लागि रचनात्मक दबाब सृजना गरी शिक्षामा रुपान्तरण गर्ने लक्ष्यसहित कार्य सप्ताह मनाउन लागेको अध्यक्ष पहाडीले बताए ।

६३ जना लेखा अधिकृत कामकाजमा खटिए

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले थप ६३ जना लेखा अधिकृत तथा कोष नियन्त्रकहरुलाई अदलबदल गरेको छ ।

अर्थ मन्त्रालय अन्तर्गत रहेको महालेखाले सोमबार बढुवा भई रिक्त रहेका कार्यालयहरूसमेतमा गरी ५१ जना र खारेज तथा दरबन्दी कटौती भई फाजिल भएका १२ लेखा अधिकृतसमेतलाई कामकाजमा खटाएको हो ।

सोमबार नै नयाँ नियुक्त भएका ८४ जना लेखा अधिकृतहरुकोसमेत पदस्थापन गरिएको छ ।

बालाजु बाइसधारामा मेला, सवारी डाइभर्सन

काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा आज मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाइसधारामा मेला लाग्ने गर्दछ । यो मेला पाँच दिनसम्म चल्ने छ ।

स्थानीय नेवार समुदायले ‘ल्हुति पुन्हि’ पनि भन्ने यो मेला भर्नेहरुको आज बिहानैदेखि घुइँचो छ । मेला भर्नेहरुको घुइँचोका कारण सवारी साधन डाइभर्सन गर्नुपरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले जानकारी दिए । मेलामा दुई लाख ३० हजार सहभागी हुने अनुमान समितिले गरेको छ ।

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

काठमाडाै । मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री भरतपुर महानगरपालिका–११ गणेशस्थानका ६० वर्षीय कुमार गुरुङको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल चालक मकवानपुर मनहरी गाउँपालिका–३ का ३३ वर्षीय सुदर्शन अधिकारी र मोटरसाइकल पछाडि सवार भरतपुर–९ वसन्तचोकका ४९ वर्षीय सन्तोष बुर्लाकोटी घाइते भएका छन् । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

शुक्लाफाँटामा बाघको सङ्ख्या बढे


दोधारा चाँदनी . महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ ।

निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिएभने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो । निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको सङ्ख्या ४४ पुगेको हो । गत मङ्सिरदेखि ९१ वटा क्यामेरा ट्रयापिङबाट गरिएको अनुगमनमा बाघको सङ्ख्या बढेर ४४ पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।

“यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भने, “यहाँ चोरीसिकारी पनि छैन त्यसकारण बाघको सङ्ख्या बढ्दै गएको छ ।” शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको उनले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटनको प्रमुख केन्द्र बन्नसक्ने भए पनि पर्याप्त प्रचार–प्रसार नहुँदा यसबाट लाभ लिन नसकिएको यहाँका पर्यटन व्यवसायी जगदीश भट्ट बताउनुहुन्छ । “शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात छ तर यहाँ बाह्य पर्यटक आएका छैनन्”, उनले भने ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्नसके यहाँको आर्थिक विकास टेवा पुग्ने बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ, बाह्रसिङ्गे र गैँडालगायतका दुर्लभ वन्यजन्तुका लागि प्रसिद्ध भए पनि प्रचारप्रसारको अभावमा पर्यटक आगमनमा वृद्धि नभएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

आज लाेकतन्त्र दिवस मनाइँदै

काठमाडौं । १९ दिने आन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदैछ ।

२०६३ वैशाख ११ गते अर्थात् आजकै दिन आन्दोलनका बलमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले संसद पुनर्स्थापना गरेसँगै लोकतन्त्र आएको स्मरणमा यो दिवस मनाउने गरिएको हो।

विसं २०५९ असाेज १८ गते जननिर्वाचित प्रधानमन्त्रीलाई तत्कालीन राजा ज्ञानेन्द्रले अपदस्थ गरेका थिए। त्यसपछि २०६१ माघ १९ गते मन्त्रिपरिषदको अध्यक्षसमेत आफै गर्ने निर्णय गरेका थिए।

माघ १९ पछि तत्कालीन आन्दोलनरत सात दल र सशस्त्र युद्ध गरिरहेको नेकपा माओवादीबिच २०६२ मङ्सिरमा १२ बुँदे समझदारी भएको थियो। सोही सहमतिको आधारमा आन्दोलन भएको थियो।

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनपछि २०६३ सालमा वैशाख ११ गते संसद पुनःस्थापना भएको थियो।

लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहितका घोषणा गरेको थियो। सोही घोषणाबमोजिम पहिलोपटक २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भएको थियो।

संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो।

पहिलो संविधानसभाले संविधान बनाउन सकेन। दोस्रो संविधानसभाबाट २०७२ अशोज ३ गते संविधान जारी भई कार्यान्वयनको क्रममा छ।

वैशाख ११ गतेपछि नै यो राजनीतिक विकास भएकाले प्रत्येक वर्ष यस दिन लोकतन्त्र दिवसका रूपमा स्मरण गरिन्छ।

तर, देशमा लोकतन्त्र स्थापना भएको १६ वर्ष हुँदा पनि अझै पनि लोकतन्त्र संस्थागत हुन नसकेको टिप्पणीहरू हुँदै आएको छ।

कतिपयले त सत्ता सञ्चालकबाटै लोकतन्त्र संस्थागतभन्दा पनि संकटमा पार्ने प्रयास भइरहेको भन्दै चिन्ता प्रकट गर्ने गरेका छन्।

राजनीतिक सहमतिमै अध्यादेश ल्याइएको हो, कसैको विरोध छैनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् ।

लगानी बोर्डद्वारा सोमबार साँझ अबेर आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादसँगको अन्तरक्रियामा मन्त्री पुनले अध्यादेशमा कसैको बिमति नरहेको बताए । मन्त्रिपरिषद बैठकले सोमबार लगानी प्रतिकूल ठानिएका कानूनका विभिन्न प्रावधान संशोधनका लागि अध्यादेश ल्याउने निर्णय गरेको थियो । लगानी सम्मेलन सरकार वा सत्ता पक्षमा रहेका राजनीतिक दलको मात्र नभई नेपालको भएको मन्त्री पुनको भनाइ थियो । उनले सम्मेलनमा सरकार मात्र नभई सत्ता पक्ष र प्रतिपक्षको अनुहार देखिने उल्लेख गरे । ‘नेपालमा वैदेशिक लगानी ल्याउनुपर्छ र मुलुकको विकास गर्नुपर्छ भन्नेमा सत्तामा र सत्ताबाहिर रहेका कसैको पनि असहमति वा विरोध छैन’, मन्त्री पुनले भने, ‘लगानी सम्मेलन सरकारको वा सत्तापक्षमा भएका दलहरुको मात्र होइन । प्रतिपक्षको पनि हो र यो नेपालको हो ।

सम्मेलनको उदघाटनदेखि समापनसम्म सबै राजनीतिक दलको अनुहार देखिने गरी कार्यक्रम बनाएका छौं ।’ मन्त्री पुनले राजनीतिक संक्रमण र निर्वाबचन प्रणालीका कारण बीचबीचमा सरकार परिवर्तन हुने गरेको भए पनि विकास, लगानी तथा स्वदेशी र विदेशी निजी क्षेत्रका लागि नीतिगत निरन्तरता रहँदै आएको स्पष्ट गरे । ‘सरकारमा अनुहार फेरिने गरेको छ । तर, नीतिगत निरन्तरता छ’, पुनले भने, ‘०६४ सालमा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले लिएको नीतिगत निरन्तरताका कारण आज हामी विद्युत निर्यात गर्ने अवस्थामा पुगेका छौं । सिमेन्टमा आन्तनिर्भर मात्र भएका छैनौं निर्यात हुन थालेको छ ।’ मन्त्री पुनले पहिलो र दोश्रो लगानी सम्मेलनमार्फत आएका लगानीकर्ता तेश्रो सम्मेलनमा पनि उत्साहित भएको आफूले पाएको बताए । पुँजी र लगानीको प्रवृत्ति नाफा कमाउनु भएकाले नेपालमा त्यसको वातावरण बन्दै गएकाले ठूलाो संख्यामा वैदेशिक लगानी भित्रिने उनको विश्वास थियो ।

‘पुँजीको प्रवृत्ति भनेकै बजार र नाफा हो’, उनले भने, ‘सरकारमा समाजवादी वा पुँजीवादी अनुहारको व्यक्ति छ भन्ने कुरामा लगानी निर्भर गर्दैन । वाद र विचार धाराभन्दा अहिले मानिसले बजार र नाफा हेरेर लगानी गर्ने अवस्था छ ।’ वैदेशिक लगानी आकर्षित गर्ने मात्र नभई सरकारले आन्तरिक लगानीकर्ता र उद्यमीलाई समेत प्रेरित गर्ने तथा उनीहरुको मनोबल उठाउने काम गरिरहेको मन्त्री पुनले उल्लेख गरे ।

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया ०९ पैसा र बिक्री दर १३३ रुपैया ७९ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४२ रुपैयाँ ५७ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपैयाँ ९३ पैसा र बिक्री दर १६४ रुपैयाँ ६७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४५ रुपैयाँ ९५ पैसा र बिक्री दर १४६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६४ पैसा र बिक्री दर ८६ रुपैयाँ ०३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ४३ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६० पैसा र बिक्री दर ८ रुपैयाँ ६४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३७ पैसा र बिक्री दर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।

६ उपसचिव तथा ३२ शाखा अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं । ६ जना उपसचिव तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा मन्त्रालयका उपसचिवको सरुवा गरेको हो ।

जसमा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई जनकपुरधाम उप–महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ भने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीलाई कमलामाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव राजमणि निरौलालाई उदयपुरको कटारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजङ्ग शाहीलाई कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत सरुवा गरेको छ ।

त्यस्तै युवा तथा खेलकुद मन्त्रालयका उपसचिव दशरथ बुढालाई बर्दियाको राजापुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव केशवप्रसाद उपाध्यायलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ ।

मन्त्रालयले ३२ जना शाखा अधिकृतको पनि सरुवा गरको छ । मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत अधिकृतको सरुवा गरेको हो ।

कतारका अमिर आज अपराह्न आउँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नेछन् । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उहाँहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी यहाँ आउन लागेका हुन् ।

कस्ताे रहला दिनभरकाे माैसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई देशका बाँकी भू-भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मगलबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश लगायत कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।