उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने

फिक्कल (इलाम) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताएका छन् ।

इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो-कोहीलाई कडा कारबाही गरिने बताएका हुन् ।

उनले पैसा बाँड्न आउनेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारबाही गर्ने बताए । “मौन अवधिमा धेरै पैसाको चलखेल हुन्छ, यदि कसैले पैसा दिन खोज्यो भने फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुहोला”, उनले भने, “२४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौँ ।”

उहाँले गाउँगाउँमा पैसा बाँड्दै हिँडेर इलामको भविष्य किन्न खोज्नेलाई सार्वजनिक गरेर आम नागरिकसामु चिनाउने बताए । “सुरक्षाकर्मी साथीहरू यही हुनुहुन्छ, चोकचोकमा खटिएर नागरिकलाई सचेत गराउनुहोला, पैसाको पोको बोकेर गाउँ छिर्नेलाई त्यही पोकोमा पोको पारेर हिरासतमा पठाइदिनुहोला”, उनले सुरुक्षाकर्मीलाई निर्देशन दिँदै भए ।

लामिछानेले आफ्नो पार्टीको उम्मेदवार जिताउन मात्रै इलाम नआएको उल्लेख गर्दै इलामलाई जिताउन र आम इलामेली नागरिकलाई जिताउन चुनावी घरदैलोमा आएको बताए ।

रास्वपाले इलाम-२ मा पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । रास्वपाको टोली अहिले चुनावी घरदैलोमा छ । यही वैशाख १५ गते इलाम-२ मा उपनिर्वाचन हुँदैछ ।

अमेरिका भ्रमण सकाएर फर्किए अर्थमन्त्री पुन

काठमाडौँ, ८ वैशाख । अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फकिर्एका छन् ।
वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर मन्त्री पुन शनिबार स्वदेश फर्किएका हुन् । चार सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए ।
मन्त्री पुन विश्व बैंक र मुद्रा कोष बैठकमा सहभागी हुनुका साथै जलवायु परिवर्तनको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठक, हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा संक्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी भए । पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेटघाट गरे ।
मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफपी) का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्ससहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।
सम्बोधन तथा भेटघाटहरुमा मन्त्री पुनले आगामी १७ र १६ वैशाखमा हुने तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरे । नेपालको ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न उनले अपिल गरे । लगानी सम्मेलनको वातावरण बनाउन सरकारले लगानीका लागि प्रतिकूल ठानिएका करिब दर्जन ऐनमा अध्यादेशमार्फत सुधार गर्न लागिएको जानकारी उनले अन्तर्राष्ट्रिय समुदाय, लगानीकर्ता र विकास साझेदारलाई दिए । यस्तै आगामी जुनमा काठमाडौंमा हुने विश्व बैंक समूहअन्तर्गतको सहुलित दरमा ऋण दिने संस्था इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन -आईडीए_–२१ बैठक तयारीबारे समेत अवगत गराए । मन्त्री पुनले विकास साझेदारहरुलाई नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार्फत लगानीका थप क्षेत्र पहिल्याउन भनेका छन् ।
भी–२० मा उनले जलवायु परिवर्तनमा नेपालको न्यून भूमिका रहेको भन्दै जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय जगतमा दृढतापूर्वक वकालत गर्ने उल्लेख गरे ।

मन्त्री पुन र विश्व बैंकका उच्च अधिकारीहरुबीचको वार्तामा संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलासययुक्त आयोजनाको वित्तिय ढाँचाबारे महत्वपूर्ण सहमति भएको छ । आगामी जुनमा विश्व बैंकले उक्त आयोजनाका लागि वित्तिय व्यवस्थापन टुंग्याउने तयारी अघि बढाउने भएको छ ।
अमेरिकी व्यवसायीहरुको संस्था –यूएस) चेम्बर अफ कमर्शका पदाधिकारीहरूसँगको अन्तरक्रियामा उनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको बताए ।
मन्त्री पुनले ‘एसियामा नवीकरणीय ऊर्जा संक्रमण’शीर्षक साइडलाइन सत्रलाई सम्बोधन गर्दै नेपालले जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताए ।
त्यस क्रममा विश्व बैंकसहित विकास साझेदार संस्थाका प्रतिनिधिहरुले नेपालमा लगानीको उपयुक्त वातावरण बन्दै गएको भन्दै लगानी सम्मेलनमा उच्चस्तरको सहभागिता हुने प्रतिबद्धता जनाएका थिए ।

एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको छ ।


लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनले पार्टी जीवनको लोकतान्त्रिकरणका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ ।

तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रस्तुत ‘जनताको बहुदलीय जनवाद’लाई सिद्धान्तका रूपमा अङ्गीकार गर्दै आएको एमालेले उक्त लक्ष्य पूरा गर्न वर्तमान सरकारलाई दिगो, परिणामुखी र सफल तुल्याउँँदै अर्थतन्त्रलाई चलायमान बनाउने, सहकारीपीडितलाई न्याय दिने, सार्वजनिक सेवालाई प्रभावकारी बनाई सुशासन कायम गर्ने, सङ्घीयता कार्यान्वयनका जटिलता फुकाउने सवालमा नीतिगत प्राथमिकता र चासो दिएको छ ।

एमालेले भ्रष्टाचार र बेइमानीपूर्ण कार्य गर्नेलाई कारबाही गर्ने, मुलुकमा जवाफदेहिता सुनिश्चित गर्ने, कृषिको औद्योगिकीकरण र स्वदेशी उत्पादनका साथै यातायात, सञ्चार र पूर्वाधार विकासमा जोड दिने, विद्युत् उत्पादन र खपत बढाउने जस्ता १३ नीतिगत प्राथमिकता निर्धारण गरेको छ ।

यस्तै प्रविधिक शिक्षाको विस्तार र लैङ्गिक समानता कायम, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने र वैदेशिक सम्बन्धलाई राष्ट्रिय स्वाधिनताका आधारमा सृदृढ बनाउन एमालेको जोड रहेको छ । ती विषयमा एमाले नेतृत्वले महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग समूहगत छलफलबाट सारभूत र रणनीतिक सुझाव मागेको छ । परिषद् बैठकमा आज प्रतिवेदन र श्रव्यदृष्य सामग्री प्रस्तुतिको क्रम रहेको छ भने आइतबार समूहगत छलफल र पारित हुनेछ ।

परिषद् बैठकमा सहभागी दुई हजार चार सय ५४ प्रतिनिधिमाझ अध्यक्ष ओलीबाट प्रस्तुत प्रतिवेदनमा पार्टी सदस्यता वितरण, नवीकरण र परीक्षण, प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन, कमिटी सञ्चालन, चेन अफ कमाण्ड र कार्यकर्ताको (मूल्याङ्कन), कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण, आर्थिक–सामाजिक रुपान्तरण र जनचासोका विषयको सम्बोधन र निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सम्बन्धमा कार्यकर्ताबाट व्यापक छलफलसहित सुझावको अपेक्षा गरेका छन् ।

अध्यक्ष ओलीले मुलुकमा बढ्दो चरम राजनीतिक विकृति, आर्थिक र व्यावसायिक क्षेत्रमा उत्पन्न सङ्कट र रोजगारीका क्षेत्र साँघुरिएका अवस्था एवं सुशासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा छाएको टिप्पणी गर्दै यसलाई वर्तमान सरकारले चिर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री ओलीले यस स्थितिले सिर्जना गरेको असन्तुष्टिलाई एकातिर लोकप्रियतावाद र पुरातन तथा दक्षिणपन्थी शक्तिले प्रयोग गर्न सक्ने भएकाले सत्तापक्ष र प्रतिपक्ष राष्ट्रिय समस्याको समाधानमा संवादमा माध्यमबाट एक ठाउँमा आउनुपर्ने बताए ।

गत २०७८ मङ्सिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा भएको १०औँ राष्ट्रिय महाधिवेशनपछि आन्तरिक र बाह्य सङ्कट व्यहोरेको एमालेले सत्ता हाल आफूलाई सहज स्थितिमा कायम गर्न सकेको विश्लेषण गरेको छ । पछिल्लो समयमा समीकरणमा हेरफेर भई सत्तापक्ष बनेको एमालेको परिषद् बैठकमा हुने छलफल र पारित हुने दस्तावेज तथा घोषणाहरूलाई महत्वका साथ हेरिएको छ ।

पार्टीका महासचिव पोखरेलको साङ्गठनिक प्रतिवेदनमा कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण, आर्थिक–सामाजिक रुपान्तरण र जनचासोका विषयको सम्बोधनलगायत विषयलाई विद्यमान समस्या र चुनौतीका रुपमा प्रस्तुत गरिएको छ ।

उच्च प्रविधियुक्त व्यवस्थापनमा भइरहेको परिषद् बैठकमा यसबीचमा पार्टीले चलाएको ‘मिसन ग्रासरुट’ अभियान, ‘झुलाघाट–चिवाभञ्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ जस्ता कामको समीक्षा गर्दै त्यसका आधारमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा निष्कर्ष निकालिने महासचिव पोखरेलले बताए ।

उनले मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गर्ने विश्वास व्यक्त गरे ।

दुई महाधिवेशनका बीचमा हुने ठूलो निकायका रूपमा रहेको परिषद् बैठकले ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नाराका साथ दशौँ महाधिवेशनबाट चुनिएको नेतृत्वका कामको समीक्षासहित भावी कार्यदिशा तय गर्ने सो पार्टीका सचिव योगेश भट्टराईको भनाइ छ ।

परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि छलफल हुनेछन् । बैठकबाट वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना छलफलसहित पारित गराउने तयारी रहेको एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

सोमबार नेकपा स्थापनाको ७५औँ वर्षका अवसरमा सम्मानलगायत विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरूलगायत शीर्ष नेताहरुको उपस्थिति रहने जनाइएको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ । वनमा लागेको आगो हावाहुरीका कारण दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो ।

भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा भएको भीषण आगलागीबाट झण्डै २० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले बताए ।

भीषण आगोले गाउँ नै सखाप भएको बाजाखर्कका स्थानीय हरिप्रसाद भुसालले बताए । प्रहरी, दमकल, स्थानीयले आगो निभाउने प्रयास गरिरहे पनि नियन्त्रण बाहिर रहेको प्रहरी निरीक्षक रावलको भनाइ छ । जिल्ला प्रहरी कार्यालयबाट गएको टोली र स्थानीयको टोलीले नियन्त्रणको प्रयास गरिरहेको छ ।

मानवीय क्षति नभए पनि पशुचौपाया मरेको, घरगोठ जलेको स्थानीय टेकराज भुसालले बताउनुभयो । क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीको भनाइ छ । पाणिनी गाउँपालिका–३ खुलैलेमा तीन घरगोठ जलेर नष्ट भएका छन् ।

आगलागीबाट शोभाखर बन्जाडेको गोठ, रेशम परियारको घर र गोठ, वसन्त मल्ल ठकुरीको घर गोठ, विष्णु जिएम खोकाको पसल जलेको छ । साथै गङ्गाबहादुर र दुर्गा विकको थोरे घर, पूर्णप्रसाद भुसालको गोठ र बाइक, भुपलाल भुसालको गोठ र भैसी जलेका छन् । प्रहरीका अनुसार झबिवाल भुसाल, खिमप्रसाद भुसाल, तिलक भुसाल, ईश्वरी भुसाल काशीराम भुसालको घर जलेको छ भने गङ्गा भुसालको गोठ, रामजी भुसालको घर र थारो, कृष्ण ओलीको घर, थारो र भैसी, दोलप्रसाद भुसाल र पिताम्बर भुसालको थारो जलेको प्रहरीको भनाइ छ ।

खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

गुल्मी । बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सत्यवती गाउँपालिका-६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँ रहेका छन् ।

शुक्रबार दिउँसो माछा मार्न बाडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोजने क्रममा खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग भेटवार्ता भएको छ । शुक्रबार इलामको माङसेबुङ ५ स्थित गुरुको निजी आश्रममा पूर्व प्रधानमन्त्री खनालले किरात धर्मगुरुसँग मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग भेटवार्ता गरेका हुन्

भेटवार्तामा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगु र पूर्व मन्त्री तथा संसद् खिनु लङवा समेत सहभागी थिए । आगामी वैशाख १५ गते हुन लागेको इलाम २ को उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताहरूले किरात धर्मगुरुसँगको भेटलाई तीव्र बनाएका छन् ।

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ । शक्तिशाली भूकम्पमा पनि नभत्कने गरी बनाइएको उक्त भवनमा पाँच कोठा छन् ।

नगरप्रमुख रामलाल डगौरा थारुले शुक्रबार भवन उद्घाटन गर्दै नगरपालिकाले नगरमा आवश्यक भौतिक पूर्वाधार निर्माणलाई निरन्तरता दिने बताए । उनले नगरवासीको सुविधाका निम्ति बाटो, भवन, पुललगायत संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत दमनसिंहलेअब सेवा प्रवाहमा सहजता हुने बताउँदै जनभावनाअनुसार जनप्रतिनिधि र कर्मचारीले नगरवासीको सेवा गर्ने विश्वास व्यक्त गरे ।

तत्कालीन नारायणपुर गाउँ विकास समितिका पूर्वअध्यक्ष फकिरसिंहले सेवा प्रवाहमा सुधार गरी नागरिकको मन जित्न सुझाव दिए ।

कार्यक्रममा वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले जिल्ला समन्वय समिति, नगरपालिका लगायत निकायले भवन निर्माणमा सघाएकामा कृतज्ञता व्यक्त गरे ।

पेमेन्ट गेटवे अनियमितता प्रकरण : सुनील पौडेल दोषी, सचिव मरासिनीसहित ८ लाई सफाइ

काठमाडौँ — सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने राष्ट्रिय भुक्तानी प्रणाली (नेसनल पेमेन्ट गेटवे) का लागि उपकरण तथा परामर्श सेवा खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक दोषी ठहर भएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक छँदा भएको पेमेन्ट गेटवेका उपकरण र परामर्श सेवा खरिदमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको हो ।

पेमेन्ट गेटवे अनियमितता प्रकरण : सुनील पौडेल दोषी, सचिव मरासिनीसहित ८ लाई सफाइ
यो मुद्दाका प्रतिवादी सरकारका सचिव मधुकुमार मरासिनी र पूर्वसचिव सञ्जय शर्मासहित ८ जनाले भने अदालतबाट सफाइ पाएका छन् । विशेषले सचिव मरासिनी र तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (केन्द्रका अध्यक्ष) शर्मासहित तत्कालीन कार्यकारी निर्देशक प्रणीता उपाध्याय, केन्द्रका सहायक निर्देशक रमेश पोखरेल, लेखा अधिकृतद्वय रामबहादुर बुढा र निमबहादुर वली, कम्प्युटर इन्जिनियर रामशरण गायक र वर्तमान उपनिर्देशक सफल श्रेष्ठलाई सफाइ दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेल, सचिव मरासिनी र पूर्वसचिव शर्मासहित नौ जनाविरुद्ध यो प्रकरणमा २०८० असोज १५ मा २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अभियोग दायरको ७ महिनामै विशेष अदालतले मुद्दाको किनारा लगाएको छ । अदालतले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेललाई मात्रै दोषी ठहर गरी बाँकी आठै जना प्रतिवादीलाई सफाइ दिएको हो ।

पौडेलविरुद्ध हुने सजाय निर्धारण गर्न अदालतले वैशाख २५ मा पेसी तोकेको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए । टेलिकमको प्रबन्ध निर्देशक नियुक्त हुनुअघि पौडेल केन्द्रको कार्यकारी निर्देशक थिए । त्यही बेला भएको पेमेन्ट गेटवेका उपकरण र परामर्श सेवा खरिद प्रकरणमा दोषी ठहर भएका हुन् । पछिल्लो पटक विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको इजलासले यो मुद्दालाई प्राथमिकतामा राखेर निरन्तर सुनुवाइ गरेको थियो ।

सफाइ पाएका मरासिनी निलम्बनमा थिए । मुद्दा दायर हुँदा उनी उद्योग सचिव थिए । अर्थको बजेट महाशाखा प्रमुख छँदा प्रक्रिया छलेर रातो किताबमा बजेट घुसाएको र यसरी मिलेमतोमा उपकरण खरिदका लागि मरासिनीले बजेटको बन्दोबस्त गरिदिएको र अभियोगमा अख्तियारले प्रतिवादी बनाएको थियो । आफू मातहत र माथिल्लो निकाय/अधिकारीलाई जानकारी नै नदिई सिलिङभन्दा बाहिर गई २५ करोड रकम विनियोजन गरी रातो किताबमा समावेश गराएको भन्दै अख्तियारले प्रतिवादी बनाएको थियो ।

राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्नुपूर्व सो प्रणालीलाई प्रभावकारी बनाउन राष्ट्र बैंक र अन्य बैंक तथा महालेखा नियन्त्रक कार्यालयलगायत वित्तीय संस्थाहरूसँग समन्वय र संयोजन गर्नुपर्नेमा त्यसको पहिचानसमेत नगरी र पूर्वतयारीबिना उपकरण र परामर्श सेवा खरिद गरेको र खरिद गरेका उपकरण प्रयोगमा नल्याई सरकारी सम्पत्ति हानिनोक्सानी गरेको अनुसन्धानबाट खुलेको थियो ।

२०७५ असार २९ भित्र पेमेन्ट गेटवेको पूर्वाधार निर्माण सम्पन्न गर्ने गरी केन्द्रले स्वीडेनको ‘सीएमए स्मल सिस्टम एबी’ सँग सम्झौता गरेको थियो । तीनवटा बोलपत्रदाता बंगलादेश र जेपी कम्पास यूकेको संयुक्त, मोन्ट्रान कर्पोरेसन अमेरिका र स्वीडेनी कम्पनीसँग केन्द्रले आर्थिक प्रस्ताव मागेकामा अरू दुईको प्रस्ताव खोल्दै नखोली स्वीडिसको सेटिङमा कम्पनीलाई ठेक्का सुम्पिएको थियो । कान्तिपुरमा खबर छ ।

एमाले महाधिवेशन परिषद् बैठक आजदेखि

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ ।

दुईदिने उक्त बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी दुई हजार चार सय ५४ जना सहभागी हुने छन् । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा हुने उक्त परिषद् बैठकमा उहाँले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठानिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकमा वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना प्रस्तुत गरिने छ । प्रस्तुत प्रतिवेदन र कार्ययोजनामाथि बैठकमा सहभागीले सुझाव दिनेछन् ।

मुलुकको आवश्यकता, जनचाहना अनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिलाई सुनिश्चित गर्न सुदृढ र निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले दिशानिर्देश गर्ने विश्वास विभाग प्रमुख गौतमले व्यक्त गरे ।

परिषद् बैठकपछि वैशाख १० गते पार्टी स्थापनाको ७५औं वार्षिकोत्सवका अवसरमा नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान गरेका व्यक्तिलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गर्ने कार्यक्रम छ ।

आज यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्ने सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने तथा बाँकी भागका मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।

आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान र बाँकी प्रदेशका केही ठाउँमा तथा बेलुका गण्डकी र लुम्बिनीका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अवैध औषधि बेच्ने दुई मेडिकल बन्द

ढोरपाटन – बागलुङमा अवैध रुपमा औषधि बेच्ने दुई मेडिकल हल बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बागलुङ र औषधि विभाग काठमाडौँले आज अनुगमन गर्दा अवैध रुपमा औषधि बिक्री–वितरण गर्ने धौलाश्री मेडिकल हल र बुद्ध डेन्टल होम बन्द गरेको हो।

अनुगमनका क्रममा औषधि व्यवस्था विभागमा दर्ता नभएका, जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने औषधि बेचबिखन गरेको पाइएपछि दुईवटा मेडिकल बन्द गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका नायब सुब्बा रामप्रसाद उपाध्यायले बताए।

सम्बन्धित व्यवसायीको अनुपस्थितिमा गैरव्यक्तिले अनाधिकृत रुपमा उपचार गरी औषधि बिक्री–वितरण गरेको, विभागमा दर्ता नभएका औषधि भण्डारण गरी बिक्री–वितरण गरेको, लागू मनोद्विपक औषधिको रेकर्ड नराखेको पाइएपछि औषधि जफत गरी तत्कालका लागि मेडिकल बन्द गरिएको उनको भनाइ छ।

अनुगमनका क्रममा देखिएका कमजोरीका विषयमा तीन दिनभित्र औषधि व्यवस्था विभागमा सम्बन्धित व्यवसायीलाई कारणसहित उपस्थित हुन लिखित रुपमा अनुरोध गरिएको उपाध्यायले बताए।

अनुगमनका क्रममा अस्पताल रोडको बुद्ध डेन्टल होम पनि बन्द गरिएको छ। डेन्टल होम सञ्चालनका लागि आवश्यक पर्ने कागजपत्र फेला नपरेको र सञ्चालकसमेत फेला नपरेकाले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएर डेन्टल होम बन्द गरिएको हो।

काठमाडौँ महानगरमा कार्यान्वयनमा आयो निःशुल्क उपचार सेवा

काठमाडौँ । अस्पतालहरूले १० प्रतिशत उपचार लक्षित वर्गलाई निःशुल्क गर्नुपर्ने व्यवस्था काठमाडौँ महानगरपालिकामा कार्यान्वयनमा आएको छ ।

स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डको दफा ७० (घ) मा उल्लेख भएको ‘अस्पतालमा उपचारको लागि आउने विपन्न बिरामीको लागि कुल शय्याको १० प्रतिशत शय्या छुट्याएर निःशुल्क उपचार अनिवार्य रूपमा गराउनुपर्नेछ,’ भन्ने व्यवस्था काठमाडौँमा लागू भएसँगै लक्षित वर्गका बिरामीले निःशुल्क उपचार पाउन थालेका हुन् ।

महानगरपालिकाले २ जना बेवारिसे र ३१ जना विपन्न गरी ३३ जना बिरामीको निःशुल्क उपचार गरेको छ । उनीहरूलाई महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरूबाट उपचार सेवा दिइएको बताइएको छ ।

उनीहरूमध्ये १५ जनाको मिर्गौला डायलायसिस भइरहेको छ । उपचार सेवा लिँदालिँदै २ जना बिरामीको मृत्यु भएको छ । १२ जना डिस्चार्ज भएका छन् । १ जनालाई अर्को अस्पतालमा रेफर गरिएको छ । ३ जना अहिले पनि उपचाररत छन् ।

८ जनालाई फेमिली मेडिसिन सेवा दिइएको महानगरले जनाएको छ । ३ जनाले दम, क्षयरोग जस्ता छाती सम्बन्धी (पल्मोलोजी)ं २ जनाले सर्जरी (शल्यक्रिया), २ जनाले आकस्मिक सेवा, १ जनाले स्त्री तथा प्रसूति रोग सेवा, १ जनाले पेट सम्बन्धी र १ जनाले आँखाको उपचार सेवा लिएका छन् । सर्जरी गर्ने बिरामीमध्ये एक जनाको पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया र १ जनाको हर्नियाको अपरेसन भएको छ ।

उपचारका लागि लागेको प्रतिव्यक्ति खर्च हेर्दा सबैभन्दा कम खर्च आँखाको उपचारका लागि २ हजार ५ सय रुपैयाँ भएको देखिन्छ । धेरै खर्च लागेको उपचार २ लाख ७४ हजार रुपैयाँ बराबरको छ । यो खर्च अस्पतालहरूले व्यवहारेका छन् ।

बिरामीहरूमध्ये ६ जनाले पिपल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट, ३ जनाले काठमाडौं मोडेल अस्पतालबाट, २ जनाले काठमाडौँ मेडिकल कलेजबाट उपचार लिएका छन् । यस्तै ब्लु क्रस अस्पताल, मेट्रो अस्पताल, कालीमाटी चेस्ट अस्पताल, मनमोहन टिचिङ अस्पताल, नेपाल आँखा अस्पताल, स्तूपा सामुदायिक अस्पताल र क्षेत्रपाटी सामुदायिक अस्पतालबाट १/१ जना बिरामीले सेवा लिएका छन् ।

काठमाडौँ-तराई-मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत

काठमाडौँ । रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई जिम्मेवारी सुम्पिएको काठमाडौँ–तराई–मधेश द्रूतमार्ग सहित चारवटै उत्तर-दक्षिण रणनीतिक सडकको निर्माणमा विनियोजित बजेटअनुरुप शतप्रतिशत नै लक्ष्य हाँसिल भइरहेको बताएका छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सदस्यले उठाएको प्रश्नको जवाफमा उनले देशको कठिन भूगोल र दुर्गमस्थानलाई सडक सञ्जाल जोड्ने सरकारको लक्ष्यलाई सेनाले सहयोग पु-याइराखेको बताए ।  मन्त्री उप्रेतीले भन्नुभयो, “सेनाको जनशक्ति तथा उपकरणको उपलब्धताको तुलनामा न्यून बजेट विनियोजन हुँदा क्षमताको पूर्णसदुपयोग हुन सकेको छैन । मुलुकको आर्थिक समृद्धि र रणनीतिक महत्वसँग जोडिएका सडक छिटो सम्पन्न गर्न मन्त्रालयले हरसम्भव समन्वय गरिरहेको छ ।”

आयोजना निर्माणकार्य समयमा पुरा गरी सर्वसाधारणले छिटो लाभ प्राप्त गर्न सकुन भन्नेमा मन्त्रालय सजग रहेको बताउँदै उनले  खोकना क्षेत्रको जग्गा अधिग्रहण, पुरक वातावरणीय अध्ययन, विष्फोटक पदार्थ र अन्य निर्माण सामग्री व्यवस्थापन चूनौतिकाबीच निर्माणकार्य दू्रतरुपमा अघि बढिरहेको जनाए ।

प्रधानसेनापति प्रभुराम शर्माले सेनाको व्यवस्थापनमा निर्माणाधिन आयोजना कावुबाहेक निर्धारित समय र तोकिएको बजेटको सीमाभित्र पुरा गर्ने दृढता ब्यक्त गरे ।

उहाँले भन्नुभयो, “केही विधि र प्रक्रियाकोकारण बाहेक पूर्वनिर्धारित लक्ष्यअनुरुप नै प्रगति हासिल भाएकोछ, काबुबाहिरको परिस्थितिबाहेक आयोजना समयमै पुरा हुन्छ, प्रेरणा दिने र आत्मवल बढाउने काम गरौँ, शंका नगरौँ ।”

पुल र सुरुङ निर्माणलाई गुणस्तरीय तुल्याउन सेना अरोरात्र खटिएको बताउँदै प्रधानसेनापति शर्माले हालसम्म विनियोजित बजेटअनुरुप काम गर्न सफल भएकाले तोकिएको समयसीमा भित्र पुरा हुनेमा विश्वस्त छौँ भने । 

करिव ७१ किमी दुरीको काठमाडौँ–तराई–मधेश दू्रतमार्ग(फाष्ट ट्रयाक)का हालसम्म ३३ प्रतिशत भौतिक र वितीय प्रगति हासिल भएको सो अवसरमा जानकारी दिइयो ।

निर्माणलाई १३  समूहमा विभिजन गरी आयोजना अघि बढाइएकामा प्रस्थान विन्दुक्षेत्र खोकनाबाहेक अरु क्षेत्रको काम भकाभक अघि बढिरहेको जानकारी दिइयो । त्यस मार्गमा बनाइनुपर्ने छ वटा सुरुङमध्ये तीन वटाको निर्माण समग्रमा ७६ प्रतिशत प्रगति हाँसिल भएको बताइयो । 

आयोजनाका लागि हालसम्म ३० हजार ५९१ रुख कटान गरिएकामा एक रुख बराबर २५ कादरले पाँच लाख विरुवा रोपेर हुर्काउने कामसमेत भइरहेको सेनाको भनाइ छ । केही रुख कटान, केही जग्गा अधिग्रहण, मुआब्जा वितरण लगायतका समस्या भने सुल्झाउन बाँकी नै रहेको जानकारी दिइयो । 

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले राजनीतिक, धार्मिक र सांस्कृतिलगायतका विभिन्न विषयबस्तुसँग गाँसिएको रणनीतिक महत्वको आयोजनालाई तीव्रगतिमा अघि बढाउन समयमै प्रयाप्त बजेटको अभावमा श्रोत, जनशक्ति र उपकरणको पूर्णरुपमा सदुपयोग  हुन नसकेको प्रतिक्रिया दिए ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपककुमार खरालले मुलुकको सर्वाधिक प्राथमिकता प्राप्त आयोजना समयमै सम्पन्न गर्ने सेनाको प्रयासमा मन्त्रालयका तर्फबाट हरसम्भव सहयोग र समन्वय भइरहेको विश्वास दिलाए ।

सेनाको व्यवस्थापनमा निर्माण भइरहेका रणनीतिक महत्वका चार वटा उत्तर–दक्षिण सडकको समग्र प्रगति भने ८८ प्रतिशत रहेको पनि सो अवसरमा जानकारी दिइयो ।

भौतिकपूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले मुलुकको रणनीति महत्वको द्रुत मार्गलगायतका उत्तर–दक्षिण सडक कोरिडोर मन्त्रालयको प्राथमिकतामा रहेको बताए ।

यसअघि बैठकमा सेनाको तर्फबाट दु्रतमार्ग र रणनीतिक महत्वको उत्तर–दक्षिणका चार वटा सडकको हालसम्मको कार्यप्रगति, कठिनाई र चूनौतिबारे समितिलाई जानकारी दिइयो ।

नेपाली सेनाका सहायकरथी विकास पोखरेलले दु्रतमार्गका लागि  अधिग्रहण गर्नुपर्ने १५ हजार ४१६ रोपनी जग्गामध्ये ३९२ बाँकी नै रहेको तथा प्रस्थान विन्दुमा देखिएको समस्या सुल्झाउन विभिन्न ६ विकल्पमा अध्ययन भइरहेको जानकारी दिए ।

सेनाले विभिन्न कानुनी, नीतिगत, प्रक्रियागत कार्य र भौगोलिक चूनौतिकाबीचमा पनि आफनो नेतृत्वमा अघि बढिरहेका आयोजनालाई समयमै पुरा गर्न दिलो ज्यान र सम्भव भएसम्मको ज्ञान प्रयोग गरी पारदर्शी ढङ्गबाट लक्ष्य बमोजिम काम भइरहेको जनाएको छ । करिव रु दुई खर्ब ११ अर्ब ९४ करोडको लागतमा अघि बढिरहेको द्रुतमार्गमा हालसम्म रु ५७ अर्ब खर्च भइसकेको जानकारी दिइयो ।

यसअघि बैठकमा सदस्यले आयोजनासम्बन्धी आएका विभिन्न टिक्का टिप्पणी, प्रगति र सुल्झाउन पर्ने अड्चनबारे जिज्ञासा राखे । बैठकमा सभापति रामहरि खतिवडाले मुलुकको आर्थिक विकास र समृद्धिसँग प्रत्यक्ष सरोकार जोडिएका कोरिडोर र द्रूतमार्ग समयमै सम्पन्न गर्न आवश्यक बजेट विनियोजनका लागि समितिले सरकारलाई निर्देश गरेको  बताए। यसअघि समितिले सेनासँग गत पुसमा ती आयोजनाकाबारेमा जानकारी लिएको थियो । विसं २०७४ जेठमा शिलान्यास भई २०७६ असोजबाट कार्य प्रभारम्भ भएको द्रुत मार्ग आगामी २०८३ चैतसम्ममा निर्माण पुरा गर्ने गरी सेनाको व्यवस्थापनमा अघि बढिरहेको छ ।

९ महिनाको अवधिमा २ सय ८६ उद्योग दर्ता


काठमाडौं । चालु आर्थिक वर्ष २०८०÷८१ को ९ महिनाको अवधिमा २८६ वटा उद्योग दर्ता भएको तथ्यांकमा देखिएको छ । उद्योग विभागका अनुसार साउन–चैतसम्म सो संख्यामा उद्योग दर्ता भएका हुन् ।
चैत महिनामा मात्र २८ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा ३६ वटा ठूला उद्योग दर्ता भएका छन् । २७ वटा मझौला उद्योग र २२३ वटा साना उद्योग दर्ता भएको विभागले जनाएको छ । यस वर्ष विभागले ८० ठूला, ८५ मझौला र २०० वटा साना उद्योग दर्ता हुने प्रक्षेपण गरेको थियो ।
यस अवधिमा १ खर्ब ६५ अर्ब रुपैयाँ प्रस्तावित लगानी आएको छ । चैतमा मात्र १० अर्ब ५९ करोड रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ । विभागका अनुसार चैतसम्म दर्ता हुन आएका उद्योगमा २० हजार १३७ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।
चैतसम्म विदेशी लगानीका २६९ उद्योग दर्ता भएका छन् । १६ वटा चैतमा दर्ता भएको विभागको तथ्यांक छ । यस अवधिमा ३० अर्ब १० करोड विदेशी लगानी प्रस्तावित भएको छ । चैत महिनामा मात्र आएका उद्योगले १ अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेको विभागले जनाएको छ ।

चैत महिनासम्म यति धेरैले लिए श्रम स्वीकृति


काठमाण्डौँ । चालू आर्थिक वर्षको चैत महिनासम्म करिब साढे पाँच लाखजनाले श्रम स्वीकृति लिएका छन् । चैत महिनामा मात्र ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् ।
श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र ६ हजार ६ सय ९२ महिला रहेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिए ।
उप्रेतीका अनुसार श्रम स्वीकृति लिनेमध्ये १३ हजार तीन सय ७३ जना अदक्ष अर्थात सीप नभएका, ५१ हजार तीन सय २८ जना सीप भएका, पाँच हजार छ सय ८४ जना अर्धदक्ष, चार सय ८२ जना व्यावसायिक दक्षता र ६६ जना उच्च दक्ष रहेका छन् ।
यसैगरी, चालू आवको साउनमा ५५ हजार पाँच सय ७५, भदौमा ५० हजार आठ सय ८४, असोजमा ५६ हजार दुई सय ३५, कात्तिकमा ४३ हजार छ सय २२, मंसिरमा ७१ हजार दुई सय ७६, पुसमा ६५ हजार आठ सय १३, माघमा ६२ हजार एक सय ४७ र फागुनमा ६५ हजार ६ सय ५८ जनाले श्रम स्वीकृति लिएर विदेश गएका विभागको तथ्यांकमा उल्लेख गरिएको छ।
विभागको तथ्यांकअनुसार चैतमा मात्रै १७ हजार आठ सय १८ जना नेपाली रोजगारीका लागि युएई पुगेका छन् ।