नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । 

भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा सार्वजनिक सूचना प्रकाशन गर्दै जङ्गी अड्डाले २६ सय १५ रिक्त पदमा आवेदन मागेको हो । 

नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स, सूचिकार, सपाइकर्मी, चर्मकर्मी, लोहाकार पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ । 

आगामी जेठ ५ गतेसम्म आवेदन दिन सकिने भए पनि दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिने सूचनामा उल्लेख छ । 

कोशी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्धको संकल्प प्रस्ताव पेस

विराटनगर । कोशी प्रदेशसभामा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव शुक्रबार बहुमतले पारित भएको छ ।  सभामुख अम्बरबहादुर विष्टले संकल्प प्रस्तावको पक्षमा ५२ सांसद  र मत दिन्न भन्ने पक्षमा जम्मा ३ सांसद रहेका कारण बहुमतले प्रस्ताव पारित भएको सभालाई जानकारी गराए । कांग्रेस सांसदहरू भने मत विभाजनमा सहभागी भएनन् । 

सभामुखले संकल्प प्रस्ताव पारितपछि प्रदेशसभाको विशेष अधिवेशनको औचित्य समाप्त भएको भन्दै सभामुखले अधिवेशन अन्त्य भएको घोषणा गरे ।

संविधानको धारा १८३ को उपधारा ३ अनुसार प्रदेश सभाका दुईचौथाइ सदस्यहरूको लिखित अनुरोधमा प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेको विशेष अधिवेशनको बिहीबार बसेको पहिलो बैठकमा संकल्प प्रस्ताव पेस भएको हो । 

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेश सभाको पहिलो बैठकमा मुख्यमन्त्री कार्कीलाई २५ वैशाखभित्रै कि त संसद् फेस गर्नुपर्ने, कि त राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गर्दै संकल्प प्रस्ताव संसद्मा टेबुल गरेका थिए । भण्डारीले पेस गरेको प्रस्तावलाई माओवादी सांसद गणेश उप्रेती र एमालेका किशोरचन्द्र दुलालले समर्थन गरेका थिए । संकल्प प्रस्ताव शुक्रबार बहुमतले पारित गराउने योजना विपक्षी दल एमाले र माओवादीको छ ।

एमाले प्रमुख सचेतक भण्डारीले संसद्ले पारित गरेको संकल्प प्रस्ताव मान्नुपर्ने विश्वव्यापी संसदीय प्रणालीको मान्यता भएको र यसबारे कुनै पनि अदालतमा मुद्दा नचल्ने बताए । उनले प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्च अदालतले गरेको फैसलाको नजिर अनि संविधानको धारा र प्रदेश सभा सञ्चालनको नियम पालना गर्दै अल्पमतमा परिसकेका मुख्यमन्त्री कार्कीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरे । 
 

यो सरकारप्रति जनतामा कुनै उत्साह छैन : नेपाली काँग्रेसका नेता महत

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले वर्तमान सरकारप्रति जनतामा कुनै उत्साह नरहेको बताएका छन् । उनले जनतामा आशा जगाउनकै लागि कांग्रेसले अहिलेको गठबन्धन सरकारको विकल्प खोज्नुपर्ने अवस्थाबारे चर्चा गरेको दाबी गरे ।
शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले सरकारले जनतामा आशा जगाउन नसकेको र विकल्प खोज्ने विषयमा छलफल सुरु भएको बताए ।

‘यो सरकारप्रति जनतामा कुनै उत्साह नै छ, न आशा छैन, यसको विकल्प खोज्नुपर्छ भनेर काँग्रेसले मात्रै भनेको होइन, सत्तामै भएका दलहरू र स्वयम् एमालेले समेत यो सरकारको विकल्पबारे छलफल थालिसकेको छ ।

उनले सरकारमा भएकै दलभित्रपनि सरकारप्रतिको निराशा रहेको छर्लङ्ग बाहिर आइरहेको बताए ।
महतले गृहमन्त्री रवि लामिछानेलाई लागेको सहकारी ठगी सम्बन्धी आरोपमा गृह मन्त्रालयभन्दा फरक संयन्त्रबाट अनुसन्धान भएमात्रै विश्वास गर्न सकिने बताए ।

नेपालमा पहिलोपटक सिरिन्ज उत्पादन शुरु, ५० करोड भन्दा धेरै लगानी

काठमाण्डौ । फरच्युना हेल्थ केयरले नेपालमै पहिलोपटक सिरिन्ज उत्पादन शुरु गरेको छ । उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणासहितको टोलीले मेडिकलजन्य सामग्री सिरिन्ज उत्पादन शुरु गरेको हो ।

ललितपुरको चुनिखेलमा स्थापना गरेको सिरिन्ज उद्योगको उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज उद्घाटन गर्नुभएको छ । उद्घाटनसँगै फरच्युना ब्रान्डका सिरिन्ज बिक्रीरवितरणसमेत शुरु भएको छ ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको सिरिन्जलगायत मेडिकलजन्य सामग्री उत्पादन तथा बिक्रीरवितरण गर्ने उद्देश्यले उद्योग स्थापना गरिएको फरच्युना हेल्थ केयर प्रालीकी अध्यक्ष भवानी राणाले जानकारी दिए ।

नेपालमा वर्षमा ५७ करोड ८३ लाख रुपैयाँभन्दा बढीको सिरिन्ज आयात भइरहेको छ । १७ भन्दा बढी देशबाट आयात हुने सिरिन्जको गुणस्तर परीक्षण नहुँदा स्वास्थ्यकर्मी र सेवाग्राहीले दुःख पाइरहेका कारण गुणस्तरीय सिरिन्ज उत्पादन गर्न थालेको राणाले बताउनुभयो । अध्यक्ष राणाले देशमा आवश्यक हुने सिरिन्ज उत्पादन गर्नसक्ने पूर्ण क्षमता रहेको दाबी पनि गरे ।

८० करोड रुपैयाँको अनुमानित लागत रहेको सिरिन्ज उद्योगमा ५० करोड रुपैयाँभन्दा धेरै लगानी भइसकेको छ ।

बैंकहरूको नाफा १३ प्रतिशतभन्दा बढीले घट्यो

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म धेरै वाणिज्य बैंकहरूको नाफा घटेको छ । अघिल्लो वर्ष यही अवधिको तुलनामा यस वर्ष १३ प्रतिशतभन्दा बढीले नाफा घटेको हो ।

आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरूको खुद नाफा ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ थियो । यस वर्षको साउनदेखि चैतसम्म बैंकहरूले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँमात्र नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकको नाफा घटेको छ भने सात वटा बैंकको नाफा भने केही बढेको छ ।

सबैभन्दा धेरै नाफा बढ्नेमा कृषि विकास बैंक रहेको छ । यस बैंकको खुद नाफा ९७ दशमलव २२ प्रतिशतले बढेर २ अर्ब ५ करोड ३१ लाख ६६ हजार पुगेको छ । यसैगरी समीक्षा अवधिमा लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा र एभरेस्ट बैंकले पनि नाफा बढाएका छन् ।

सबैभन्दा धेरै नाफा घट्नेमा नेपाल बैंक रहेको छ । यसको नाफा ९२ दशमलव ६८ प्रतिशतले घटेर १३ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ ।

यस्तै चैतको अन्त्यसम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । दोस्रोमा ग्लोबल आईएमई बैंकले ३ अर्ब ३० करोड नाफा कमाएको छ ।

एसीसी प्रिमियर कपः नेपाल यूएईसँग ६ विकेटले पराजित

काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको छ । आज भएको खेलमा यूएईले नेपाललाई ६ विकेटले हरायो । साविक विजेता नेपाललाई हराउँदै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको हो । योसँगै एसिया कपमा भारत, पाकिस्तानसँग खेल्ने नेपालको सपना समाप्त भएको छ ।

नेपालले दिएको १ सय २० रनको सामान्य लक्ष्य यूएईले १७ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । यूएईका अलिशान शरफुले नट आउट ५५ रन बनाए । नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए ।

यसअघि ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनायो । नेपालका सन्दीप जोराले अर्धशतक बनाए । सन्दीप ४० बलमा ५० रन बनाएर आउट भए । यस्तै गुल्सन झाले २०, करण केसीले १७ रन बनाए । यसैगरी कुशल भुर्तेल पहिलो बलमै आउट भए । अन्य ५ जना ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यूएईका जुनैद सिद्दिकी, अली नसीर र बसिल हमीदले समान २ विकेट लिए ।

एसीसी प्रिमियर कपको दोस्रो सेमिफाइनलमा आजै ओमान र हङकङ खेल्दैछन् । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । अब नेपालले तेस्रो स्थानका लागि भोलि खेल्नेछ । फाइनल खेल आइतवार हुनेछ ।

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ८५० ग्राम सुन बरामद गरेको छ।

शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हमास समूहको आक्रमणमा मृत्यु भएका साहको परिवारलाई पाँच लाख रकम प्रदान


जनकपुरधाम । हमास समूहको आक्रमणमा मृत्यु भएका धनुषाका आनन्द साहको परिवारलाई मधेश प्रदेश सरकारले सहयोग स्वरुप पाँच लाख रुपियाँ उपलब्ध गराएको छ ।
मधेश सरकारबाट घोषणा भए अनुसार शुक्रबार मुख्यमन्त्री सरोजकुमार यादवले मृतक साहका बुवा सोमन साहलाई पाँच लाख रुपियाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।
गत पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले साहको परिवारलाई राहत स्वरुप पाँच लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।
गत असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समूहले गरेको आक्रमणमा परि धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ४ बस्ने २२ वर्षीय आनन्द साहसहित अध्ययन भ्रमणमा रहेका १० जना विद्यार्थीको ज्यान गएको थियो ।

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका–१४ मा आज मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

बिहीवार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जनाएको छ ।
पैदल हिँडिरहेका मण्डललाई ०२–००७प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

उनको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए ।

मोटरसाइकल चालक विदेह नगरपालिका–६ इकराहीका ३० वर्षीय रोहित मण्डल फरार छन् । उनको मोटरसाइकल भने प्रहरीले इकराहीबाट बरामद गरेको छ ।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार

काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँले बढेर एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी भने घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर एक हजार ७२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।

एसीसी प्रिमिअर कपको सेमिफाइनलमा यूएईले टस जित्यो, नेपाल ब्याटिंग गर्दै

काठमाडौँ । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन् ।

आज पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दै छन् । यस खेलमा यूएईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ, जसमा पछिल्लो खेल खेलेका प्रतिस जिसीको ठाउमा सोमपाल कामी प्लेइङ ११ मा रहेका छन् ।

ताप्लेजुङको ओलाङचुङगोलामा गुडे चार पाङ्ग्रे सवारी साधन


काठमाण्डौँ ।
ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलामा सडकको ट्र्याक खोल्ने काम सकेर पहिलो पटक चार पाङ्ग्रे सवारी साधन पुगेका छन् ।
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्ना दलका केही नेता र सरकारका दुई मन्त्रीहरू लिएर बिहीवार ओलाङचुङगोला पुगेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट राख्दै उनले पहिलो पटक उक्त ठाउँमा सडक पुगेको बताए । उनले जोगबनी हुँदै भारत र चीन जोडिने त्यो सबैभन्दा छोटो मार्ग भएको बताएका छन् ।
सडक विभागका अधिकारीहरूले ट्र्याक खुले पनि तत्कालका लागि फाट्टफुट्ट गाडी गुड्ने अवस्थामात्रै रहेको भन्दै उक्त सडकलाई कालोपत्रे गर्ने सहितका बाँकी काम पूरा गर्न कम्तीमा विक्र‍म संवत् २०८६ सालसम्म लाग्नसक्ने जनाएका छन् ।
तमोर कोरिडोर राष्ट्रिय गौरवको परियोजनाका रूपमा सूचीकृत गरिएको छैन ।
तर कोशी प्रदेशको सीमामा अवस्थित जोगबनीदेखि चीनसम्म सिमामा रहेको सङ्खुवासभामा अवस्थित किमाथाङ्कासम्मको कोशी कोरिडोरमा अब तीन किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको भन्दै अधिकारीहरूले स्रोतको सुनिश्चितता भए कामले अझ तीव्रता पाउन सक्ने धारणा राखेका छन् ।
ओलाङचुङगोलामा गाडी गुड्न थालेपछि त्यहाँका स्थानीहरुलाई आवतजावत तथा समान ढुवानीमा निकै सहज भएको छ ।

चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौँ ढुवानी


काठमाण्डौँ । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी भइरहेको छ ।
११ महिना गोदाममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौँतर्फ ढुवानी भएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबिच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौँ पठाइएको भन्सार कार्यालयले जनाएको छ ।
तीन हजार पाँच सय टन मलमध्ये हालसम्म एक हजार दुई सय टनभन्दा बढी मल जाँच पास भएर काठमाडौँ पुगेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए ।
बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौँ पुग्ने जनाईएको छ ।

कञ्चनपुरमा आगलागी, झण्डै १० बिघा गहुँबाली सखाप


कञ्चनपुर । कञ्चनपुरमा आगलागी हुँदा गहुँ सखाप भएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिकामा हिजो गहुँबालीमा आगलागी हुँदा झण्डै १० बिघा जमिनमा लगाएको गहुँबाली सखाप भएको हो ।
दोधारा चाँदनी–७ बाबाथानमा हावाहुरी चल्दा रुखको हाँगा बिजुलीको तारमा खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए ।
स्थानीय वीरसिंह सुनार, चन्द्रबहादुर सुनारसहित १५ जना किसानको गहुँबालीमा आगलागीबाट क्षति भएको छ । स्थानीयबासिन्दा, सुरक्षा निकाय, भीमदत्त र दोधारा चाँदनी नगरपालिकाको दमकललगायतको सहायताले आगो निभाइएको छ ।
पकेको गहुँ खेतमै जलेपछि किसानहरु चिन्तित भएका छन् ।

जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जन्ती लिएर शुक्रबार बिहान बसमा ५० जना चढेका थिए । 

दोलखाको भीमेश्वर नगरपालिका- १ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोक त्रिपुरासुन्दरी-४ पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको जन्ती बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी-५ तौथली नजिकै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-१ का मानबहादु थामी र शिव श्रेष्ठ रहेका छन् । अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको घटनास्थलबाट भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उनले बताए। उनका अनुसार बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको छ।