यस्तो छ तपाईंको  ७ बैशाख २०८१, शुक्रबार आजको राशिफल हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रतिस्पर्धामा विजयी बन्ने योग छ। मन खुशी हुनेछ। चन्द्रमाको गोचर राशिबाट पञ्चम रहने भएकाले पढाईमा उचित ध्यान दिंदा शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ। परिवारबाट साथ र सहयोग मिल्नेछ। यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचना हुनेछ । शेयर बजारबाट सामान्य लाभ मात्र गर्न सकिनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूका लागि आज समय सामान्य छ। चन्द्रमाको गोचर राशिबाट चतुर्थ स्थानमा रहने भएकाले छाती दुख्ने तथा पाचनप्रणालीमा गडबडी आउँन सक्छ। सवारी साधनबाट चोट लाग्न सक्ने सम्भावना रहेकाले प्रयोग गर्दा ध्यान दिनुहोला। प्रेम जीवनमा अविश्वास देखा पर्न सक्छ।  प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्र कमजोर हुनाले तपाईको कमजोरीको अरुले फाईदा उठाउन सक्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छ । शत्रुहरु पराजित हुनेछन्। पहिले गरेको कामबाट राम्रो फाइदा हुन सक्छ। साथीभाई तथा आफन्तको आर्थिक तथा भौतिक सहयोग मिल्न सक्छ। शेयर बजारबाट पनि आज फाइदा लिन सकिने समय रहेको छ। विद्यार्थीले पढाई तथा परिक्षाबाट राम्रो नतिजा हात पार्न सक्ने समय छ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिका लागि आज पनि समय शुभ छ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा सफलता मिल्नुका साथै परिक्षा उत्तीर्ण गर्न सक्ने समय छ । सानासाना कामबाट प्रशस्त आम्दानी हुने हुनाले व्यवसायमा थप लगानी गर्ने वातावरण बन्नेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ । स्वास्थ्य भने कमजोर रहन सक्छ। शेयर बजारबाट सामान्य लाभ लिन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि भएकाहरुका लागि आजको दिन शुभ रहेको छ । बौद्धिक कार्यमा सहभागी हुने अवसर प्राप्त हुनेछ । व्यवसाय तथा कामको लागि आजको दिन राम्रो रहेको छ।  पठनपाठनमा प्रगतिका साथै आजको परिक्षा उत्तीर्ण गर्न सक्ने योग छ। मिठो भोजनका साथै पारिवारिक भेटघाटले मन प्रशन्न रहन सक्छ। प्रेम तथा पारिवारिक जीवन आज राम्रो रहन सक्छ। शेयर बजारबाट पनि लाभ लिन सक्ने समय छ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज समय त्यति अनुकूल रहेको छैन। व्यापार व्यावसायमा लगानी अनुसारको नाफा कमाउन कठिन हुन सक्छ  । काममा सहकर्मीबाट हुन सक्छ। स्वास्थ्य कमजोर रहनुका साथै खर्च पनि बढ्न सक्छ। विद्यार्थीले राम्रो नतिजाको लागि धेरै मेहनत गर्नुपर्ने समय छ। शेयर बजारबाट आज घाटा हुन सक्छ। प्रेम तथा पारिवारिक जीवनमा केहि असमझदारी आउन सक्ने भएकाले ध्यान दिंदा राम्रो हुन्छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज समय शुभ छ । समयमा काम बन्ने हुनाले अन्य क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ भने व्यवसायिक यात्रा हुन सक्छ । अध्ययनको क्षेत्र राम्रो रहनुका साथै परिक्षा उत्तीर्ण गर्ने समय छ । स्वास्थ्य राम्रो रहनुका साथै प्रेम तथा पारिवारिक जीवन पनि सुखमय रहन सक्छ। शेयर बजारमा आज लगानी गर्दा राम्रो नाफा कमाउन सकिने समय रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज समय राम्रो छ । व्यापार व्यवसाय गर्नेहरुले आज राम्रो सफलता प्राप्त गर्न सक्ने योग छ भने रोकिएका लेनदेनहरु पनि आज मिल्न सक्छ। प्रेम तथा पारिवारिक सम्बन्ध तथा स्वास्थ्य आज राम्रो रहन सक्छ। शेयर बजारबाट पनि नाफा हुन सक्छ। अध्ययन अध्यापनको क्षेत्र पनि आज राम्रो रहन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज पनि समय मध्यम रहन सक्छ । आज कामको कारण यात्रा धेरै गर्नुपर्ने हुन सक्छ। स्वास्थ्यमा केहि कमजोरी देखा पर्न सक्ने भएकाले ध्यान दिनुहोला। आर्थिक तथा व्यवसायिक क्षेत्रबाट सामान्य लाभ लिन सकिन्छ। प्रेम तथा पारिवारिक जीवन राम्रो रहनेछ। विद्यार्थीले पढाईमा ध्यान केन्द्रित गर्न सक्ने नतिजा राम्रो आउनेछ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज समय सामान्य रहन सक्छ । मेहनत अनुसारको परिणाम नमिल्नाले मन खिन्न रहन सक्छ। अनावश्यक तथा विना प्रयोजनको यात्रा गर्नुपर्ने हुन सक्छ। वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिन्छ। स्वास्थ्यमा पेट तथा टाउको दुख्ने समस्या हुन सक्छ। पढाईमा उचित ध्यान दिन नसक्दा परिणाम राम्रो नआउँन सक्ने भएकाले ध्यान दिनुहोला। आज शेयर बजारमा नयाँ लगानी नगर्दा नै राम्रो होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुनेहरुको लागि आज दिन शुभ रहेको छ। आज सुरु गरिएका कामबाट सोचेजस्तो आम्दानी हुन सक्छ । नयाँ काम पाइने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको सम्भावना छ । राजनीति तथा समाजसेवामा राम्रो पद प्राप्तिको योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिएको छ । वैदेशिक कार्यको प्रारम्भ पनि आज गर्दा राम्रो हुनेछ । पठनपाठन पनि आज राम्रो हुनेछ भने शेयर बजारबाट लाभ मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । नयाँ कामको सुरुवात तथा नयाँ लगानीको लागि आज समय राम्रो रहन सक्छ। अध्ययन अध्यापनमा आज उचित समय दिन सकिनेछ र त्यसबाट राम्रो परिणाम आउनेछ। प्रेम तथा पारिवारिक जीवनमा रहेका समस्याहरु समाधान हुनेछन्। शेयर बजारबाट पनि राम्रो नाफा आर्जन गर्न सक्ने समय छ।

प्रधानमन्त्रीसँग विपिनका परिवारको भेट, रिहाइका लागि थप प्रयासका गर्न अनुरोध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गरे ।

यसअघि बिपिनका बुवाले गृहमन्त्री रबि लामिछानेलाई समेत भेट्ने प्रयास गरेका थिए ।

सुर्खेतमा एन्फा महिला लिग छनोट

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग–२०२४ छनोट फुटबल प्रतियोगिता’ हुँदैछ ।

अखिल नेपाल फुटबल सङ्घको आयोजनामा वीरेन्द्रनगरस्थित रङ्गशालामा हुने प्रतियोगितामा सातै प्रदेशका खेलाडी र अफिसियल गरी एक सय ५० भन्दा बढीको सहभागिता हुने सुर्खेत जिल्ला फुटबल सङ्घका अध्यक्ष रवीन्द्र चन्दले जानकारी दिनुभयो । प्रतियोगिता ‘राउण्ड रविन’ ढाँचामा सञ्चालन हुनेछ ।

शीर्ष तीन टोली एन्फा महिला लिग–२०२४ को दोस्रो चरणमा प्रवेश गर्ने र तिनले नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बल र नेपाल पुलिस क्लबको महिला टोलीसँग प्रतिस्पर्धा गर्ने उनले बताए। अध्यक्ष चन्दका अनुसार उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले रु २० लाख र राष्ट्रिय खेलकुद विकास परिषद्बाट रु २५ लाख विनियोजन भएको छ ।

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।

दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिए । उनले स्थानीय पुजन बरालसहित १५ स्थानीयको गहुँबालीमा आगलागी भएको बताए ।

“आगलागीबाट सात बिघा जमिनको गहुँबाली पूर्ण रूपमा क्षति भएको छ”, बस्नेतले भने, “स्थानीय, सुरक्षा निकाय, जनप्रतिनिधि र भीमदत्त र दोधारा चाँदनी नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको थियो ।”

भित्र्याउने बेलाको गहुँ खेतमै जल्यो

टीकापुर– कैलालीको जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा आगलागीबाट किसानको घर भित्र्याउने बेलाको गहुँ खेतमै जलेको छ । जोशीपुरमा १३ कठ्ठा र भजनीमा आठ कठ्ठा जमिनमा लगाएको गहुँ नष्ट भएको हो ।

आगलागीबाट जोशीपुर–४ खर्चुवाका किसान परशुराम चौधरीको काटेर थुपारेको र काट्न बाँकी रहेको गहुँ जलेको इलाका प्रहरी कार्यालय जोशीपुरले जानकारी दिएको छ । तेह्र कठ्ठा जमिनमा लगाएको बाली नष्ट भएपछि चौधरीको परिवार पीडामा छ ।
स्थानीयका अनुसार बिजुलीको तार गहुँखेतमा लत्रिएका कारण आगलागी भएको हो । आगो स्थानीय बासिन्दा, प्रहरी र टीकापुरको दमकलको सहायतामा निभाइएको थियो ।

यसैगरी, भजनी नगरपालिका वडा नं ८ जनकपुरमा नारायणप्रसाद देवकोटाले आठ कठ्ठामा लागएको काट्ने बेला भएको गहुँमा आगो लागेको छ ।

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

काठमाडौ । अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीले भेटेका छन् ।

वासिङटनडिसीमा बोलीसँग भएको भेटमा मन्त्री पुनले नेपालले चुनौतीहरुबीच आर्थिक स्थिरतालाई दृढतापूर्वक कायम राखेको बताए । गत वर्षको तुलनामा यो वर्ष अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मक भएको उनको भनाइ थियो । ऊर्जा र पर्यटन क्षेत्रले अर्थतन्त्रमा राम्रो योगदान गरेको भन्दै उनले वैदेशिक मुद्रा सञ्चितीको अवस्थासमेत धेरै राम्रो हुँदा अर्थतन्त्रको बाह्य क्षेत्र राम्रो रहेको उल्लेख गरे । यद्यपि सोचेजस्तो पुँजीगत खर्च सन्तोषजनक नहुँदा र राजश्व संकलनको लक्ष्य हासिल हुन नसक्दा आन्तरिक पक्ष केही दबाबमा रहेको उनले बताए । गत महिना आफूले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेदेखि पुँजीगत खर्च र राजश्व संकलनमा वृद्धिका लागि प्रयास अघि बढाएको मन्त्री पुनले जनाए ।

उनले सहुलियतपूर्ण ऋण, नीतिगत परामर्श तथा क्षमता अभिवृद्धि लगायतमा नेपाललाई निरन्तर सहयोग गरेकामा आईएमएफ व्यवस्थापन र कार्यकारी बोर्डलाई धन्यवाद दिए । सन् १९७६ यता कोषले लगातार नेपालको अर्थतन्त्र सुधारमा महत्वपूर्ण सहयोग गर्दै आएको भन्दै उनले १९८० को दशकमा नेपालले प्राप्त गरेको संरचनात्मक समायोजन सुविधा र ०७२ को महाभूकम्प तथा कोभिड–१९ महामारीले निम्त्याएको संकटका बेला गरेको सहयोग स्मरणयोग्य रहेको उल्लेख गरे । नेपालले कोषसँग वित्तीय क्षेत्रको नियमन, राजस्व तथा सुशासनका क्षेत्रमा मिलेर काम गर्न चाहेको उनको भनाइ छ । राष्ट्र बैंक ऐन संशोधनमा कोषका सुझावलाई ध्यान दिइने प्रतिबद्धता पनि मन्त्री पुनले जनाए । बो–लीसँग मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा हुने तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा उच्चस्तरको प्रतिनिधित्व र लगानीकर्ता आउने वातावरण निर्माणका लागि समर्थनको माग गरे । नेपालमा लगानीको राम्रो वातावरण रहेको भन्दै लगानीकर्तामा विश्वास जगाउन आईएमएफको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

भेटमा बो–लीले नेपाल राष्ट्र बैंकको ऐन संशोधनका विषयमा मन्त्री पुनसँग चासो राखेका थिए ।
आईएमएफले नेपाल राष्ट्र ऐन–२०५८ संशोधन गरी गभर्नरको नियुक्ति सरकारले नभई संसदले गर्नुपर्ने अडान राख्दै आएको छ । राष्ट्र बैंकले आफ्नो उद्देश्यअनुसार स्वतन्त्रपूर्वक दिगो आर्थिक विकासका लागि मूल्य तथा शोधनान्तर स्थिरता र समग्र वित्तीय स्थायित्व कायम गर्न गभर्नरसहित सञ्चालक समिति सदस्यको नियुक्ति संसदबाट हुनुपर्ने सर्त आईएमएफको छ । विद्यमान ऐनमा अर्थमन्त्रीको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने र मन्त्रिपरिषदले तीनमध्ये एकलाई नियुक्त गर्ने व्यवस्था छ ।

त्यस क्रममा उनले नेपालको वित्तिय स्थायित्व, राजश्व परिचालन र बैंकिङ क्षेत्रको पूर्वाधारमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम नगर्न कर्मचारीलाई मन्त्रालयकाे अपिल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा कार्यरत रहेका चिकित्सक तथा कर्मचारीलाई ध्यानाकर्षण गराएको छ ।

मन्त्रालयले बिहीबार विज्ञप्ति निकालेर त्यसरी काम गर्नु कानूनको प्रतिकुल रहेको भन्दै यसबाट पर्ने असरप्रति स्वयं जिम्मेवार हुने स्पष्ट गरेको छ ।

‘मन्त्रालय अन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरू बिदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरू तथा विदेश स्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरूमा पूर्णकालिन रूपमा कार्यरत रहेको भनी गुनासो प्राप्त भएको हुँदा यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, स्वास्थ्य सचिव मधुसुदन बुर्लाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसरी काम गर्नु प्रचलित कानून र विधिको प्रतिकूल हुने हुँदा यस सम्बन्धी कार्यमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूलाई संयमित तथा कानून सम्मत क्रियाकलाप गरिदिनुहुन मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित (र्यान्डम) प्रक्रियाबाट गर्ने भएको छ । स्वचालित विधि हाललाई काठमाडौँ जिल्लाबाट नमूनाका रुपमा कार्यान्वनमा ल्याइने छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीलाई दुःख दिने नियतबाट अब केन्द्र निर्धारण नगर्न निर्देशन दिनुभएपछि बोर्डले नयाँ थालनी गर्न लागेको हो । 
यो विधिमा हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याका आधारमा विद्यालय र केन्द्रको दूरी निकालेर विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको छ  । सकभर औसतमा एक सय ५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी केन्द्र बाँडिएको छ । एउटै सञ्चालक भएका विद्यालयहरूमा केन्द्र नपर्ने गरी छनोट गरिएको थियो भने दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्काकामा पनि नपर्ने गरी व्यवस्था गरिएको जनाइएको छ ।

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया ३७ पैसा र बिक्री दर १३३ रुपैया ९७ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९६ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६६ रुपैयाँ ३५ पैसा र बिक्री दर १६७ रुपैयाँ १० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४७ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८९ पैसा र बिक्री दर ८६ रुपैयाँ २८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ३५पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६३ पैसा र बिक्री दर ८ रुपैयाँ ६७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४३ पैसा र बिक्री दर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।

एसीसी प्रिमियर कप : आज नेपाल र यूएई भिड्दै

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)को सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा सुरु हुनेछ। ।

नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो भने युएई समूह बी को उपविजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो।समूह चरणमा नेपाल अपराजित रह्यो।

नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह छन् ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही वैशाख २८ र २९ गते काठमाडौँमा आह्वान गरेको छ । बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणमा छलफल गरिने छ ।

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी बाँडफाँड, आगामी असारमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटका मापदण्ड तय गरिने छ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुने छ । पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन आयोजना गर्न लागेको छ ।

जसले बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए

कास्की । पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको काम गर्ने ४३ वर्षीय मनोहर पवर पसलको रु १७ लाख जम्मा गर्न आज १ः३० बजेतिर बैंक निस्किए ।

मोटरसाइकलको लेगार्डमा कालो रङ्गको झोलाभित्र पैसा राखेर उनी नयाँ बजारस्थित कृषि विकास बैंक गए । बैंकमा पुगेर हेर्दा पैसा भएको झोला मोटरसाइकलमा थिएन । पैसाको झोला बाटोमा खसेको मनोहरले पत्तो पाएन । वरपर खोज्दा झोला फेला नपरेपछि उनी ठूलो तनावमा परे, यसबारेमा प्रहरीलाई खबर पुग्यो ।

पोखराका मुख्य बजारबाट ठूलो रकम हराएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माको कमाण्डमा तत्कालै प्रहरी परिचालित भयो । हराएको पैसाको झोला भारत घर भई पोखरा–३ नदीपुर बस्ने ६५ वर्षीय छोटुलाल शर्माले बाटोमा भेटाएको रहेछ । टिस्यु पेपर लगायतका व्यापार गर्ने शर्माले पैसाको झोला फेला पारेपछि प्रहरी खोज्दै हिँडेको अवस्थामा खोजीमा खटिएको प्रहरी टोलीले भेटाएको थियो । शर्माको साथमा मोबाइल नभएकाले प्रहरीमा समयमै सम्पर्क गर्न सकेका थिएन ।

“पृथ्वीचोकबाट १७ लाख हरायो भनेपछि ठूलो घटना हुने भयो भनेर सबै ठाउँबाट तत्कालै प्रहरी परिचालित भयो ।” प्रनाउ शर्माले भने, “पैसाको झोला भेटाएपछि उहाँ (छोटुलाल) प्रहरी खोज्दै हिँड्नुभएको रहेछ, प्रहरीलाई देख्ने वित्तिकै उहाँले पैसाको झोला बुझाउनुभयो ।”

प्रनाउ शर्माले फेला परेको पैसा सम्बन्धित व्यक्तिको पुष्टि भएपछि शर्माको रोहबरमा ज्वैलर्सका सञ्चालक पोखरा–५ बस्ने ४३ वर्षीय धुव्रकुमार सुनार बुझाइएको जानकारी दिए ।

आजकाे माैसम : यी स्थानमा वर्षा हुने

काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा वर्षा र हिमपातको पनि सम्भावना छ ।

आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार कोशी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्नेछ । लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको लागि अंग्रेजी भाषा अनिवार्य गर्ने कार्यविधि खारेज

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्व प्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो शंसोधन खारेज गरेको छ । विहीबार मन्त्रिस्तरीय निर्णयबाट गत २०८० असोज ७ गते गरिएको कार्यविधिको पहिलो शंसोधन खारेज गरिएको हो ।

गत पुस २४ गते प्रधानमन्त्री पुष्पकमल दाहालले आन्तरिक रोजगारी प्रवद्र्धन, वैदेशिक रोजगारी व्यवस्थापन र सामाजिक सुरक्षा लगायतका बिषयमा मन्त्रालयलाई १६ बुँदे निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनको कार्यान्वयनको अवस्था र कार्यान्वनयमा देखिएका समस्या लगायतका बिषयमा अध्ययन गरी सुझाव पेश गर्न मन्त्रालयले गत फागुन २९ गते एक कार्यदल गठन गरेको थियो । कार्यदलले गत चैत २७ गते नै श्रममन्त्री डोल प्रसाद अर्याललाई प्रतिवेदन बुझाएको थियो । कार्यदलको सुझाव अनुसार मन्त्रालयले कार्यविधिको पहिलो संशोधन खारेज गरेको हो ।

कार्यविधि शंसोधनको खारेजीसँगै पूर्व प्रस्थान अभिमुखीकरण तालिमको शुल्क ७०० नै कायम भएको छ ।

तर, कार्यविधिलाई व्यवहारिक र समयसापेक्ष बनाउनका लागि आवश्यक सुझाव दिन एक समिति गठन गरिने भएको छ । मन्त्रालय अन्र्तगतको सीप विकास तथा तालिम शाखा प्रमुखको संयोजकत्वमा ३० दिन भित्र सुझाव पेश गर्ने गरी समिति गठन गरिएको छ । समितिले सरोकारवालाहरुसँग समेत छलफल गरी पाठ्यक्रम र तालिमको मोडालिटी तय गर्नेछ भने तालिमको शुल्कको बिषयमा समेत मन्त्रालयलाई सुझाव दिनेछ ।

त्यस्तै, मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको लागि अँग्रेजी भाषा अनिवार्य गर्ने सम्बन्धि २०८० मंसिर ६ गतेको निर्णय समेत खारेज गरेको छ । यो निर्णयसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकले अँग्रेजी भाषाको परिक्षा दिनुपर्ने छैन ।

यसका साथै मन्त्रालयले वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने (पहिलो शंसोधन) कार्यविधि २०८० समेत खारेज गरेको छ । कार्यदलको सुझाव अनुसार कार्यविधि खारेज गरिएको हो । मागपत्र प्रमाणीकरण निर्देशिका २०७५ को व्यवस्था अनुसार मागपत्र प्रमाणीकरण गर्ने निर्णय गरिएको छ । निर्देशिका बमोजिम मागपत्र प्रमाणिकरणको काम सम्बन्धित मुलुकमा रहेका दुतावासले नै गर्नेछन् ।

कार्यदलले दिएको प्रतिवेदन अनुसार अन्य सुझावहरु कार्यान्वयनका लागि अध्ययन भै रहेको छ । प्राप्त सुझावहरु क्रमश : कार्यान्वयन गर्दे जाने मन्त्रालयलले जनाएको छ ।

बागमती प्रदेशको प्रदेश प्रमुख सचिवमा सहसचिव कार्की

काठमाडौँ । सरकारले बागमती प्रदेशको प्रदेश प्रमुख सचिवमा सहसचिव गोविन्द बहादुर कार्कीलाई कायम मुकायम नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त प्रदेश प्रमुख सचिवमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हाे ।

सहसचिव कार्की अहिले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा सहसचिवको जिम्मेवारीमा छन् । केहि दिन अघि मात्रै बागमती प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारीमा रहेका घनश्याम उपाध्यायको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा भएपछि बागमती प्रदेश सरकारको प्रमुख सचिवको पद रिक्त भएको थियो ।

सहसचिव अधिकारी सचिवमा बढुवा

काठमाडाै । सरकारले सहसचिव वैकुण्ठ बहादुर अधिकारीलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव अधिकारीलाई लेखापरीक्षकतर्फ रिक्त एक सचिव (उपमहालेखापरीक्षक)मा बढुवा गर्ने निर्णय गरेको हो ।

मंगलबार लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिव अधिकारीलाई सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो ।