काठमाडौँ । महालेखापरीक्षकमा तोयम राया नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को सिफारिसमा नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Month: February 2022
सुदूरपश्चिमः मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय सकिंदै
काठमाण्डौ । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बेलुका ५ बजे सकिंदैछ । सत्तारूढ गठबन्धनभित्र भएको छलफल अनुसार एकीकृत समाजवादीले संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई अघि सारेको भए पनि एमालेले औपचारिकरुपमा समर्थन गरिसकेको छैन ।
एकीकृत समाजवादीले पहिलोपटक चैत २३ मा सरकार गठनका लागि दिइएको समयमा कांग्रेससँग मिलेर नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेको थियो । चौधरीले वैशाख २ मा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
एमाले र माओवादीको समर्थनमा नाउपाकै अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले निष्कर्षमा पुग्न नसकिएको भन्दै सरकार गठनका लागि पुनः आह्वान गर्नुभएको थियो ।
यो बीचमा एकीकृत समाजवादीका सोडारीले लक्ष्मणकिशोरलाई समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाउनुभएको थियो ।
मनकामना केबलकार किन हुँदैछ बन्द ?
काठमाडौँ । आकस्मिक मर्मत सम्भारका लागि मनकामना केबलकार शुक्रबार बन्द गरिने भएको छ । शनिबारबाट भने नियमित रूपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।
गत चैत ७ मा पनि नियमित मर्मतका लागि एक दिन केबलकार बन्द गरिएको थियो । चितवनको कुरिनटारदेखि गोरखाको मनकामनामा केबलकार सञ्चालनमा छ ।
शनिबार बिहान साढे ६ बजेदेखि र अघिपछि बिहान साढे ७ बजेदेखि साँझ साढे ५ बजेसम्म केबलकार सञ्चालन हुने गरेको निर्देशक श्रेष्ठले बताए । केबलकारमा ३४ वटा डब्बा सञ्चालनमा छन् । केबलकार सञ्चालनमा आएको २६ वर्षमा १ करोड ८४ लाख यात्रुले सेवा लिइसकेका छन् । जसमा ७० प्रतिशत नेपाली रहेको मनकामना दर्शन प्रालिले जनाएको छ ।
जलिरहेको युवतीको शव बरामद
जनकपुरधाम । जनकपुरमा एक युवतीको शव बरामद भएको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो ।
शव महोत्तरीको मनरासिसा नगरपालिका वडा नम्बर २ कि २३ वर्षीया मप्रियंका महतोको रहेको डीएसपी अवाले बताए ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका प्रहरीको छ । यद्यपि पोस्टमार्टम रिपोर्ट र थप अनुसान्धानपश्चात् मात्रै भन्न सकिने डीएसपी अवाले बताए ।
स्वीकृत बिनाका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही हुने
काठमाण्डौ । पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नभएका विदेशी पुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । केही विद्यालयले कानुनी व्यवस्थाको प्रतिकूल हुने गरी स्वीकृत नभएका विदेशी पाठ्यपुस्तकहरू प्रयोग गरिरहेको गुनासो आएको भन्दै केन्द्रले यसबारे सचेत गराएको हो ।
सबै पालिका र शिक्षा विकास तथा समन्वय इकाइहरुलाई अनुगमन गर्न र अनुगमनको क्रममा कानुनी व्यवस्था विपरीत पाठ्यपुस्तक प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही गर्न समेत केन्द्रले अनुरोध गरेको छ ।
यसअघि केन्द्रले सबै पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक÷पाठ्यसामग्री÷सिकाई सामग्री मात्र प्रयोग गर्न गराउन सूचित गरिसकेको थियो ।
काँग्रेसका शीर्ष नेताहरुसँग छलफलमा देउवा
काठमाडौँ । नेपाली काँग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न र धारणा बनाउन बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन् । बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन् ।
सभापति देउवाको आह्वानमा आकस्मिकरुपमा बैठक बसेको एक नेताले जानकारी दिए । कांग्रेसले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीलाई समेटेर बैकल्पिक गठबन्धन बनाउने प्रयास गरेको थियो । बुधबार साँझमात्रै सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए ।
दुग्ध विकास संस्थानको महाप्रबन्धकका लागि दरखास्त आह्वान
काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)मा महाप्रबन्धकको लागि दरखास्त खुलेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सूचना जारी गर्दै डीडीसीको महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको हो ।
कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तिमा १० वर्षको कार्य अनुभव भएका नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिनसक्ने छन् ।
दुग्ध विकास संस्थानको वर्तमान अवस्था, चुनौती र सुधारका विषय समेटिएको व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
गुजरातको कमजोर ब्याटिङमा दिल्ली विजयी
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको गुजरात १७.३ ओभरभित्र ८९ रनमै अलआउट भएको थियो । प्रतियोगितामा गुजरातको यो अहिलेसम्मकै सबैभन्दा कम स्कोर हो । रसिद खानको ३१ रन नै सर्वाधिक ठूलो स्कार रह्यो ।
यो यस सिजनको आईपीएलमा कुनै पनि टिमले बनाएको सबैभन्दा कम रन हो। यो जितपछि दिल्ली अङ्क तालिकामा छैटौँ स्थानमा उक्लिएको छ।
दिल्लीको ७ खेलमा ३ जित र ४ हारसहित ६ अङ्क रहेको छ। त्यसै गरी ७ खेलमा ३ जित र ४ हारसहित ६ अङ्क जोडेको गुजरात अङ्क तालिकामा सातौं स्थानमा रहेको छ।
यस्ताे छ तपाईंकाे ६ बैशाख २०८१, बिहीबार आजकाे राशिफल
मेष : बिहानकाे समय प्रतिकूल देखिएकाले काममा हतार नगर्नुहाेला। साथीभाइ टाढिनेछन्। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
वृष : यात्रामा खर्च बढ्नेछ। आफन्तसँग रमाइलो भेट हुने दिन छ। धेरै मानिस तपाईंसँग प्रभावित हुनेछन्। व्यापारबाट फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : यात्रा फलदायी बन्नेछ। धार्मिक क्षेत्रमा विश्वास बढ्नेछ। स्वदेशमै लगानीको अवसर सिर्जना हुनेछ। आजको दिन ठुलो कामको सुरुवात गर्नु राम्रो हुनेछ।
कर्कट : तपाईंको प्रगति हुने दिन छ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आमाबुवाको आज्ञा लिएर अगाडि बढ्नुभयो भने काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
सिंह : चञ्चले स्वभावको फाइदा अरुले लिनसक्ने जोखिम छ। काम गर्दा सोचेर बोल्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।
कन्या : परिवारको साथ र सहयोग मिल्नेछ। यात्रा रमाइलो हुनसक्छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
तुला : मेहनतको फल प्राप्त हुनेछ। लगानीका क्षेत्रबाट सन्तोष मिल्नेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिक : शुभकार्यमा सहभागी हुने दिन छ। ठुलो काममा हात नलगाए पनि नियमित काममा अवरोध हुनेछैन। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने योग छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।
धनु : मन शान्त नहुनसक्छ। यात्रामा जोखिम देखिन्छ। सधै सहयोग गर्ने साथीको साथ नमिल्ने दिन बन्नेछ। शिक्षा क्षेत्रको लगानीबाट उन्नति हुनेछ। परिवार र प्रेमिकासँगको सम्बन्ध रमाइलो हुनेछ।
मकर : राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। मनमा उत्साह बढ्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। सञ्चित धन खर्च हुनसक्छ। परिवारमा खटपट हुने भएकाले थोरै बोल्नु राम्रो हुन्छ।
कुम्भ : सफल यात्राको योग छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। साथीले शंकाको दृष्टिले हेर्ने छन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। लाभ हानी बराबर देखिएकाले काम गर्दा विवेक प्रयोग गर्नु राम्रो हुन्छ।
मीन : धन कमाउनका निम्ति नयाँ स्रोत भेटिनेछन्। आम्दानी भन्दा खर्च बढी हुने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ। नाम, दाम र सम्मान प्राप्त हुने योग छ।
सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन कक्षा एकमा अङ्ग्रेजी
टीकापुर । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने भएको छ ।
पालिकाले सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने व्यवस्था गरेको हो । सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घटेपछि सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन र शैक्षिक गुणस्तर वृद्धिका लागि सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइने पालिकाले जनाएको छ ।
जानकी गाउँपालिकाका तीन वटा बाल विकास कक्षा र ३० वटा सामुदायिक विद्यालयमा अब अङ्ग्रेजी माध्यमको पढाइ हुनेछ । गाउँपालिकाका शिक्षा अधिकृत धर्मानन्द कपाडीले शैक्षिक गुणस्तर वृद्धि र विद्यालय उमेर समूहका बालबालिकाको विद्यालयमा उपस्थिति बढाउन अङ्ग्रेजी माध्यमबाट अध्यापन सुरु गर्ने निर्णय भएको बताए।
पालिकाका ३३ वटै विद्यालयमा गाउँपालिकाले भर्ना अभियानसँगै अङ्ग्रेजी माध्यममा पढाइ हुनेगरी व्यवस्थापन थालेको छ । अङ्ग्रेजी माध्यमबाट अध्यापनका लागि गाउँपालिकाले शिक्षकको क्षमता अभिवृद्धि गर्न ‘मन्टेश्वरी’ तालिमसमेत सञ्चालन गरिसकेको छ ।
गाउँपालिका र विद्यालयको तयारीसँगै गाउँपालिकामा शैक्षिक गुणस्तरको लागि अभिभावक सकरात्मक भई बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन आवश्यक रहेको अभिभावक बताउँछन् ।
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन असारमा
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आगामी असार १६ देखि २० गते काठमाडौँमा १० औँ राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । आगामी जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन आन्तरिक तयारी अपुग भएकाले असारमा सार्न लागिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीले दीर्घ सोडारीलाई उम्मेदवार बनाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा आज सम्पन्न सचिवालय बैठकले पार्टीको सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको हो । नयाँ गठबन्धन निर्माणका क्रममा कुनै एक प्रदेशको मुख्यमन्त्री पद एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो ।
युरोपियन च्याम्पियन्स लिगबाट बाहिरियो म्यानचेस्टर सिटी, रियल सेमिफाइनलमा
काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको साविक विजेता म्यानचेस्टर सिटी स्पानिस क्लब रियल मड्रिडसँग पराजित भएको छ । योसँगै यो सिजनको च्याम्पियन्स लिगको उसको यात्रा टुंगिएको छ ।
म्यानचेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रियलले सेमिफाइनल यात्रा तय गरेको हो ।
यसअघि सिटी र रियलको दुई लेगको खेल समग्रमा ४–४ को बराबरीमा टुंगिएको थियो । त्यसपछि हार जित छुट्याउन पेनाल्टी सुटआउटको निर्णय लिइएको हो ।
रियलले खेलको १२औं मिनेटमै गोल गर्दै अग्रता बनाएको थियो । रोड्रिगोले १२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ७६औं मिनेटमा सिटीका केभिन डे ब्रुएनाले गोल गर्दै खेललाई बराबरीमा फर्काए । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा ३० मिनेटको समय थपियो । तर फेरि पनि हार जित छुट्टिएन र पेनाल्टी सुटआउटमा प्रवेश गर्यो ।
अब सेमिफाइनलमा रियलले बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।
देशभरिका बालबालिकालाई आज भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ ।
प्रत्येक वर्ष बालबालिकालाई वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क रूपमा खुवाउँदै आएको सरकारले यसपटक पनि आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका तथा जुकाको औषधि एक देखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।
भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने मन्त्रालयले जनाएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने मन्त्रालयले जनाएको छ ।
गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक
काठमाडौ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द रहेको गीतमा गायिका सुम्निमाकै सङ्गीत रहेको छ । गीतको भिडियोलाई अभि सम्पाङ राईले निर्देशन गरेका छन्। भिडियोमा विराज घिमिरेको सहनिर्देशन रहेको छ । विकेश मगर र समन महर्जनको संयुक्तरूपमा छायाङ्कन गरेको भिडियोको सम्पादन विकेश, समन र सुम्निमाले गरेका हुन् ।
भिडियोमा रङ संयोजन विकेश मगरले गर्नुभएको छ । गीतमा सुमित तामाङ, रजीन तामाङ, दीपेन्द्र तामाङ, राजाराम तामाङ र सम्राट तामाङको नृत्य रहेको छ । सार्वजनिक भिडियोलाई सुम्निमाकै आधिकारिक युट्युब च्यानलमार्फत प्रस्तुत गरिएको छ । सुम्निमाको यसअघि मन्नतलगायतका विभिन्न गीतहरू सार्वजनिक भइसकेका छन् ।
https://www.youtube.com/watch?v=1h7qRCQK3WU
भी–२० बैठकमा मन्त्री पुनले भनेः जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ
वासिङटन । अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् ।
विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित भी–२० को १२औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका हुन् । भी–२० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा त्यसबाट विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न संक्रमणकालीन अवस्थामा वित्तीय सहयोग अभिवृद्धिका लागि विश्व समुदायमा आवाज उठाउने निकाय हो ।
पुनले बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित विकासोन्मुख मुलुकले सामना गरिरहेको समस्याबारे विश्व समुदाय समयमै सचेत र गम्भीर हुनुपर्ने बताए । उनले जलवायु परिवर्तनको जोखिमबाट बच्न विश्वस्तरमै सामूहिक प्रतिबद्धताको खाँचो औंल्याए । जलवायु परिवर्तनको प्रभावका कारण नेपालमा खास गरी गरिब र सीमान्तकृत वर्गका मानिसहरु प्रताडित हुने गरेको उनको भनाइ थियो । मन्त्री पुनले नेपाल जलवायुको उच्च जोखिममा हुनुमा आफूहरुको योगदान न्यून रहेको स्पष्ट गरे ।
गत वर्ष संयुक्त अरब इमिरेट्सको दुबर्र्र्इमा सम्पन्न संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) लाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको भूमिका शून्य भए पनि जलवायु परिवर्तनको प्रभावबाट उच्च जोखिममा परेको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराएको स्मरण गरे । ‘कोप–२८ बैठकमा मेरा प्रधानमन्त्रीले स्पष्ट रुपमा भन्नुभएको थियो कि जलवायु परिवर्तनमा नेपालको अत्यन्तै न्यून भूमिका छ’, पुनले भने, ‘हाम्रा प्रधानमन्त्रीको सन्देशलाई म यहाँहरु समक्ष राख्न चाहन्छु कि विकसित देशहरूले जलवायु परिवर्तनका प्रभावको असमान जोखिमबाट अल्पविकसित मुलुकहरुलाई तत्काल आर्थिक र प्राविधिक सहयोगको आवश्यकता छ ।’
मन्त्री पुनले जवलायु परिवर्तनको प्रभावबाट भएको क्षतिपूर्ति पाउनुपर्ने अडान प्रस्तुत गर्दै जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय जगतमा दृढतापूर्वक वकालत गर्ने उल्लेख गरे । जलवायु परिवर्तनका कारण नेपालका हिमालयहरुमा तीव्र रुपमा हिउँ पग्लिन थालेको, हिमनदीहरुमा पानीको बहाव घटेको, हिम तालहरु विस्फोटको जोखिम बढेको, तथा अनावृष्टि र अतिवृष्टिजस्ता समस्याका कारण बाढी, पहिरो तथा खडेरीजस्ता प्रकोप डरलाग्दो रूपमा बढ्दै गएकोमा विश्व समुदायको ध्यानाकर्षण गराए ।
यस्तै जलवायु परिवर्तनले उत्पन्न प्राकृतिक विपत्तिहरुका कारण विकासका पूर्वधारको दिगो विकास प्रयास मात्र नभई मानव स्वास्थ्य तथा जीविकोपार्जनसमेत खतरामा परेको मन्त्री पुनको भनाइ थियो ।
विकसित अर्थतन्त्र भएका मुलुकहरुले जलवायु परिवर्तनमा न्यून भूमिका भएर पनि उच्च जोखिममा रहेका नेपालजस्ता तेश्रो विश्वका मुलुकहरुमा जलवायु अनुकूलन कार्यक्रमहरुका लागि आर्थिक सहायता प्रदान गर्नुपर्नेमा मन्त्री पुनले जोड दिए । उनले जलवायु परिवर्तनबाट भएको क्षति लागि स्थापना गरिएको क्षतिपूर्ति कोष, जैविक विविधता कोष र अनुकूलन कोषसहितका सुविधाहरुमा प्रमुख हक नेपालजस्ता अल्पविकसित र हिमाली देशहरुको रहनुपर्ने उल्लेख गरे ।
जलवायु परिवर्तनका असरबाट विश्वलाई बचाउन विकसित मुलुकहरु आफूले गर्दै आएका प्रतिबद्धतामा इमान्दार हुनुपर्ने मन्त्री पुनले स्मरण गराए ।
परिवर्तनको असर तथा त्यसबाट उत्पन्न प्राकृतिक विपदहरुको सामना गर्न नेपालको आन्तरिक श्रोत अपर्याप्त रहेकामा उनले सदस्य राष्ट्रहरुलाई अगवत गराए । ‘जलवायु परिवर्तनका दुस्प्रभावहरुसँग जुध्नका लागि विश्वव्यापी प्रतिबद्धता र सहकार्यको आवश्यकता रहेकोमा विश्व समुदायको ध्यान जानुपर्छ भन्ने विषयमा ध्यानाकर्षण गराउन चाहन्छु’, मन्त्री पुनले भने, ‘नेपालजस्ता विकासोन्मुख देशहरूका लागि जलवायु कोषमार्फत विशेष अनुदान र सहुलियतपूर्ण पहुँच खोजिरहेका छन् ।