यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया ३६ पैसा र बिक्री दर १३३ रुपैया ९६ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४१ रुपैयाँ ९३ पैसा र बिक्री दर १४२ रुपैयाँ ५७ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६६ रुपैयाँ १४ पैसा र बिक्री दर १६६ रुपैयाँ ८९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ ४० पैसा र बिक्री दर १४७ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ७० पैसा र बिक्री दर ८६ रुपैयाँ ०९ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ६० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ०३ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६२ पैसा र बिक्री दर ८ रुपैयाँ ६६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४२ पैसा र बिक्री दर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा हुरीबतासको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ ।

अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली भएको तथा अन्य स्थानमा मौसम सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदू्रपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने र बाँकी भेगमा मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडै क्षेत्रका एक–दुई स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

१ लाख २० हजार घुससहित अख्तियारकाे नियन्त्रणमा

काठमाडौँ । कैलालीको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल १ लाख २० हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धिकृत प्रभात पालई घुससहित पक्राउ गरेका हुन्।

पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ परेको आयोगले जनाएकाे छ ।

सचिव बढुवाका लागि केदारनाथ शर्माको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवाका लागि केदारनाथ शर्माको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त एक सचिवका लागि शर्माको नाम सिफारिस गरेको हो ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता (२० प्रतिशत) बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव शर्माको नाम मात्रै सिफारिस गरिएको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

रहेनन् पूर्वमुख्यसचिव शाक्य

काठमाडौ । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सरसम्बन्धी रोगको उपचारका क्रममा आज बिहान ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्य ८१ वर्षको थिए ।

उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए । नेपालको कानुनको मस्यौदा कार्यमा दख्खल प्राप्त गर्नुभएका उहाँ कानुन, न्याय  तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत थिए ।

पूर्वसचिव गोपीनाथ मैनालीका अनुसार लोकसेवा आयोगमा रहँदा उहाँको नेतृत्वमा पदपूर्ति प्रणालीमा सुधारका थुप्रै काम भएका थिए । स्व शाक्यका दुई छोरी र दुई छोरा हुनुहुन्छ भने श्रीमतीको करिब तीन महिनाअघि मात्र निधन भएको थियो ।

सातदोबाटो-बालकुमारी सडक केही दिन रातको समय बन्द हुने

काठमाडौं । ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड केही दिन रातको समयमा बन्द हुने भएको छ ।

ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि ६ देखि ११ वैशाखमा सडक बन्द गरिने भएको हो । यी दिनमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ ।

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन असारमा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आगामी असार १६ देखि २० गते काठमाडौँमा १० औँ राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।आगामी जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन आन्तरिक तयारी अपुग भएकाले असारमा सार्न लागिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीले दीर्घ सोडारीलाई उम्मेदवार बनाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा आज सम्पन्न सचिवालय बैठकले पार्टीको सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको हो । नयाँ गठबन्धन निर्माणका क्रममा कुनै एक प्रदेशको मुख्यमन्त्री पद एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो ।

नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षक गन्तव्य होः अर्थमन्त्री पुन


वासिङटनडीसी । अर्थमन्त्री वर्षमान पुन अनन्तले अमेरिकी व्यवसायीलाई लगानीका लागि नेपाल आउन अपिल गरेका छन् ।
अमेरिकी (यूएस) चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग वासिङटनडिसीमा गएराति भएको अन्तरक्रियामा (नेपाली समयअनुसार) मन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य भएको उल्लेख गरे । भू–परिवेष्ठित अवस्थितिका कारण विश्वका दुई उदयीमान आर्थिक केन्द्र बन्दै गरेका भारत र चीनलाई जोड्न सक्ने एक मात्र मुलुक नेपाल भएकाले वैदेशिक लगानीकर्ताका लागि उपयुक्त गन्तव्य भएको उनको भनाइ थियो ।
नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानीको राम्रो अवसर रहेको मन्त्री पुनले बताए । निजी क्षेत्रका लगानीकर्तालाई सुरक्षा दिने सरकारको स्पष्ट नीति रहेको चर्चा गर्दै उनले निर्यातमा प्रोत्साहन, लचिलो कर नीति तथा सजिलै मुनाफा लैजान सकिने नीतिगत व्यवस्थाका कारण अनतर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल बलियो गन्तव्य हुन सक्ने उनले उल्लेख गरे ।
पछिल्लो समय नेपालको वैदेशिक मुद्रा सञ्चितीले उच्च बिन्दु कायम गरेको भन्दै उनले समग्रमा आर्थिक अवस्था राम्रो रहेको तथा आर्थिक गतिविधिहरु बढ्न थालेकाले अर्थतन्त्र दबाबमुक्त रहेको बताए ।
मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा ‘उदीयमान नेपाल’ भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरेको स्मरण गराउँदै त्यसअघि नै सरकारले अध्यादेशमार्फत लगानी प्रतिकूल ठानिएका करिब एक दर्जन कानूनमा संशोधन गर्न लागेको जानकारी दिए ।

यस्तै कम्पनी दर्ता र लगानीको सुरुआत तथा नाफा बाहिर लैजान पाउने गरी व्यवहारिक प्रक्रिया तय गरिने प्रतिबद्धता उनको थियो । नेपाल कानूनको शासन भएको लोकतान्त्रिक मुलुक भएकाले उद्योग–व्यवसाय मैत्री कानून र संरचनाको राम्रो विकास गरिएको मन्त्री पुनले जानकारी दिए । सरकारका तर्फबाट लगानीकर्ताहरूलाई सहजीकरण गर्न तथा लगानीमैत्री र प्रतिस्पर्धात्मक वातावरण सुनिश्चित गर्न सरकार तयार रहेको बताए ।
लगानी सम्मेलनका क्रममा लगानी बोर्डले जलविद्युत उत्पादन, प्रसारण लाइन विस्तार, पर्यटन, कृषि उत्पादन र सूचना प्रविधिसहित १ सय ३३ वटा आयोजना प्रदर्शनीमा राख्ने जानकारी दिँदै मन्त्री पुनले अमेरिकाबाट निजी क्षेत्रका प्रतिष्ठित घरानाहरुको सहभागिता हुने विश्वास गरिएको बताए । अमेरिकाले लामो समयदेखि ऋण र अनुदान सहायतामार्फत नेपालको विकासमा हातेमालो गर्दै आएको भए पनि निजी क्षेत्रको लगानी भने न्यून रहेको उनले उल्लेख गरे । अमेरिकाको निजी क्षेत्रका लागि नेपालको लगानी सम्मेलन अवसर हुन सक्ने मन्त्री पुनको भनाइ थियो । कार्यक्रममा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कस्यपससहित प्रतिष्ठित व्यवसायीहरु तथा अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) की उपसहायक प्रशासक अञ्जली कौरलगायत सहभागी थिए ।

शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

बुधबार अपरान्ह राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री दाहाल शीतल निवास पुगेका हुन्। भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

विराटनगरस्थित रानी क्षेत्रमा दुई समूहबीच झडप

काठमाडौँ । दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ ।

एक समूहले निकालेको मोटरसाइकल र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई विराटनगर १५ मा अर्को समूहले अवरोध गरेको थियो । बुधबार दिउँसो अवरोधपछि सुरु भएको विवाद बढेपछि रानी क्षेत्र तनावग्रस्त भएको हो ।

सो क्षेत्रमा अवस्था नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालन गरिएको र नियन्त्रणका लागि प्रहरीले केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्याँस पनि प्रहार गरेको मोरङ प्रहरीले जनाएको छ ।

स्थानीयबासीका अनुसार विराटनगरको वडा नम्बर १५ र १७ को बीचमा एउटा समूहले र्‍यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो ।

गृहमन्त्रीले पदबाट राजीनामा गरेर न्यायालयलाई सघाउनुपर्छ : नेपाली कांग्रेसक

काठमाडौं । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले राजीनामा दिएर सहकारी ठगीको अनुसन्धानमा सघाउनुपर्ने बताएका छन्। बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहकारीको छानबिन निष्पक्ष र विश्वसनीय बनाउन गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने माग गरेका हुन्।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएको मुद्दा अदालतमा दर्ता भइसकेकाले अब पदबाट राजीनामा दिएर सघाउनुपर्ने कांग्रेसले माग गरेको छ । कांग्रेस नेता पुष्पा भुसालले सहकारी ठगी प्रकरणमा संलग्नता नै देखिएपछि पदमा बस्न नहुने र अदालती प्रक्रियालाई लामिछानेले सघाउनुपर्ने बताइन् । जनतालाई विश्वसनीय बनाउन लामिछाने जिम्मेवारीबाट बाहिरिनुपर्ने तर्क गरे

सत्ता गठबन्धन एमालेले भने संसद्‌मा गृहमन्त्री लामिछानेले आफूविरुद्धको मुद्दामा बोल्न खोजिरहेकाले पहिले सम्बोधन गर्न दिनुपर्ने जनाएको छ । त्यसपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न सकिने एमाले प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ ।

माओवादी केन्द्रसँगको सत्तागठबन्धन भत्किएसँगै कांग्रेसले प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मतलिने दिनदेखिनै लामिछानेको मुद्दालाई संसद्‌बाट उठाउँदै आएको छ । प्रमुख विपक्षी कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समितिको माग राख्दै सदनमा विरोध गर्दै आएको छ । सत्ता गठबन्धन दल एमाले र माओवादी केन्द्र त्यसको विपक्षमा उभिएको छ । अवरोधकै बीच सरकारले विधेयक अधिवेशन अन्त्य गरिसकेको छ ।

बरिष्ठ पत्रकार श्रेष्ठले आफ्नो जन्मोत्सवमा गरे बृक्षारोपण


काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोपण गरी आफ्नो जन्मदिन मनाएका छन् ।

तराई बिकास तथा संचार केन्द्र नेपालले रौतहटबाट पहिलोपटक सुरुवात गरिएको ‘जन्मदिनलाई सत्कर्मसंग जोडौँ’ अभियान अन्तर्गत बरिष्ठ पत्रकार श्रेष्ठले आज पर्न गएको आफ्नो जन्मदिनको उपलक्ष्यमा काठमाण्डौँको तिनकुनेमा बिभिन्न किसिमका बिरुवाहरुको रोपण गरी जन्मदिन मनाएका हुन् ।

श्रेष्ठको जन्मदिनको अवसरमा शुभकामना प्रदान गर्न वरिष्ठ पत्रकार श्रेष्ठको धर्मपत्नी सितादेबी श्रेष्ठ अभियानमा साथ दिन आउनुभएको थियो।त्यसैगरी प्रधान सम्पादक श्रेष्ठको जन्म दिनलाई साथ दिन र आफ्नो पनि जन्मदिन परेको हुँदा पत्रकार खेमराज खनाल पनि सहभागी भई उनले पनि एकअर्कामा शुभकामना आदानप्रदान गरी बृक्षारोपण गरेका थिए ।

यस्तै, ‘जन्मदिनलाई सत्कर्मसंग जोडौँ’ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका सचिव गोबिन्दप्रसाद चौलागाईले यो अभियानमा जोडिएका उहाँहरुलाई जन्मदिनको शुभकामना दिदै भने– ‘यो अभियानमा हामीले कुनै ब्यक्ति तथा संस्थाबाट अहिलेसम्म कुनै प्रकारको सहयोग मागेका पनि छैनौँ र माग्दैनौ पनि जन्मदिनको नाममा बिदेशी संस्कारहरुलाई भित्रिन नदिन र वातावरणलाई जोगाउन र सुरक्षा गर्नका निम्ती यो अभियान अगाडी बढाएकाले सहयोग मागेर अभियान थाल्नी गर्नु राम्रो नहुने भएकाले रोपिएका बिरुवा जोगाउन सरकारी तहमै अपिल गर्छौ तर आर्थिक सहयोग माग्दैनौ। बृक्षारोपण मात्र नभई हामी दीन दुःखी, गरिब, बेसाहराको साहारा बन्नका निम्ती हामी देशब्यापी रुपमा अभियानलाई जोडदै अगाडी बढाउछौँ’ ।

जन्मदिनलाई सतकर्ममा जोडौ अभियान लाई साथ दिन राष्टिय समाचार समितीका महाप्रबन्धक सिद्धराज राई,वरिष्ठ पत्रकार रमेशराज पौडेल, सिता पोखरेल कार्यक्रममा सहभागी हुनुभएको थियो ।कार्यक्रममा रौतहट घर भएका दिपक चौलागाई, सन्तोष खनाल, हिमान्सु मिश्र, शुदाम्सु मिश्र ,उदय मास्के लगायत रौतहट बासीहरुको समेत उपस्थिती रहेको थियो ।

एसीसी प्रिमियर कपमा नेपालको चौथो जित

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएको छ । साउदी अरेबियाले दिएको ७४ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा ७.२ ओभरमै पूरा गरेको हो ।

नेपालको जितमा गुल्सन झाले ३२ रन, कप्तान रोहित पौडेलले १६ रन तथा दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए । साउदी अरेबियाका लागि इश्तियाक अहमदले २ तथा वाजी उल हसन र उस्मान नजिबले १-१ विकेट हात पारे ।

टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको थिोथ । उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए थिए । उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएन ।

नेपालका लागि करन केसी र अभिनाश बोहोराले दुईरदुई विकेट लिए भने प्रतीस जिसी र ललित राजवंशीले एक÷एक विकेट लिए थिए।

समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ ।

नेपाललाई साउदीले दियो ७४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा नेपालले ७४ रनको लक्ष्य पाएको छ । वर्षाका कारण ८ ओभरमा घटाइएको खेलमा साउदीले ७ विकेट गुमाएर ७३ रन बनाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले आठ ओभरमा सात विकेटको क्षतिमा ७३ रन बनाएको छ । उसका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए । उनले १६ बल खेल्ने क्रममा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

नेपालका लागि करन केसी र अभिनाश बोहोराले दुईरदुई विकेट लिए भने प्रतीस जिसी र ललित राजवंशीले एक÷एक विकेट लिए ।

समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा साउदी अरेबिया हराउँदै नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्ने दाउमा छ । साउदी अरेबियाले समान तीन खेलमा एकमा जित तथा दुई खेलमा हार बेहोरेको छ ।

अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता

अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाका विषयमा छलफल भएको छ ।

पुन र विश्व बैंकका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच छलफल भएको हो । बैठकमा एसियाली विकास बैंक (एडीबी) का नेपाल निर्देशक आर्नो कोश्वा तथा अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का प्रतिनिधिसमेत सहभागी थिए ।

बैठकमा नेपालबाट अर्थमन्त्री पुनका साथै सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, सह–सचिवद्वय उत्तरकुमार खत्री र रितेशकुमार शाक्य तथा डीसीबाट अर्थसचिव कृष्णहरि पुष्कर, सह–सचिव श्रीकृष्ण नेपाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी थिए ।

नेपाल सरकार र १६ विकास साझेदारले सन् २०२१ मा संयुक्त रुपमा अनुमोदन गरेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) का लागि रणनीतिक कार्ययोजना समावेश गरिएको काठमाडौँ घोषणापत्रको मार्गनिर्देशनमा अघि बढेको जानकारी उनले दिए।

उक्त घोषणापत्रको अवधारणाअनुसार आगामी वर्ष पहिलो हरित उत्थान र समावेशी विकास कार्र्यक्रम अन्तर्गतको (ग्रिड डिपीसी) कार्यान्वयन गर्न लागिएको उनको भनाइ थियो । मन्त्री पुनले १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलासययुक्त आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलासययुक्त आयोजनामा विश्व बैंकले लगानी गर्न देखाएको तत्परताका लागि प्रशंसा गरे।

विश्व बैंकको पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेनसँग भएको भेटमा मन्त्री पुनले नेपालले पूर्वधार विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । सरकारका तर्फबाट ऊर्जा, यातायात र शहरी पूर्वाधार केन्द्रित योजनामा जोड दिइएको उनको भनाइ थियो।

उनले गत साता मात्र दुई ठूला जलविद्युत आयोजनाहरू माथिल्लो अरुण र दूधकोशीको वित्तिय ढाँचाबारे विश्व बैंकका काठमाडौँस्थित अधिकारीहरुसँग भएको राउण्डटेबल बैठक फलदायी भएको भन्दै उनले छिट्टै वित्तीय व्यवस्थापनको टुंगो लाग्ने आशा व्यक्त गरे।

दुवै आयोजना नेपालको नेपालको ‘गेम चेन्जर’ आयोजना रहेको भन्दै उनले ती अयोजनाको विकासले नेपालको ठूला पूर्वधार निर्माण क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे । आगामी असार महिनाभित्रमा माथिल्लो अरुण जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन हुनेमा आफूहरु ढुक्क रहेको बताए।

माथिल्लो अरुण आयोजना क्षेत्रका प्रभावितलाई मुआब्जा र क्षतिपूर्ति वितरण, पहुँच मार्ग निर्माण तथा जमिनको अधिग्रहणजस्ता काम सकिने चरणमा पुनेको जानकारी उनले दिए । नेपालले जलविद्युतका लागि क्षेत्रीय बजारको समेत सुनिश्चितता गरेको भन्दै उनले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता गरेको र बंगलादेशले समेत नेपालको विद्युत किन्ने प्रक्रिया अघि बढिसकेको स्पष्ट गरे।

आईएफसीका उपाध्यक्ष पुलिटीसँगको भेटमा मन्त्री पुनले आगामी दिनमा आईएफसी र नेपालबीचको सहकार्य थप प्रगाढ र सुदृढ भएर जाने विश्वास व्यक्त गरे । नेपाल र आएफसीबीच पाँच दशक लामो सहकार्य रहेको स्मरण गर्दै मन्त्री पुनले नेपालको पर्यटन क्षेत्रमा आईएफसीले पहिलोपटक लगानी गरेको स्मरण गरे।

उनले सोही होटलमा आगामी जुनमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ ९आईडीए०–२१ बैठक आयोजना गरिएको पनि जानकारी गराए । निजी क्षेत्रसँग सम्बन्धित भएर नेपालको आर्थिक विकास प्रयास तथा पुँजीको व्यवस्थापनमार्फत निजी क्षेत्रको विकासमा आईएफसीले गरेको सहयोग सराहनीय रहेको उनको भनाइ थियो । उनले आगामी दिनमा लगानीका क्षेत्र बढाउन तथा पुँजी परिचालन तथा प्राविधिक सहयोग बढाउन पनि अपिल गरे।

नेपालको पर्यटन, ऊर्जा, यातायात र कृषि क्षेत्रमा आईएफसीको सहयोग रहँदै आएको उनले बताए । आगामी दिनमा नेपालमा सूचना प्रविधि क्षेत्रका लागि लगानीको राम्रो वातावरण रहेको उनले बताए । सानो अर्थतन्त्र भएका कारण लगानीयोग्य पुँजी रहेकाले वैदेशिक लगानीका स्वागत गर्ने नीति अख्तियार गरिएको बताए । निजी पूँजी परिचालन बढाउन, थप रोजगारीका अवसर सिर्जना गर्न तथा आर्थिक गतिविधि र वित्तीय पहुँच बढाएर जनताको जीवनस्तर उकास्न सरकार लागिपरेको मन्त्री पुनले उल्लेख गरे।

तीनवटै भेटमा पुनले वैदेशिक लगानी भित्र्याउन आगामी १६ र १७ वैशाखमा तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गरिएको भन्दै त्यसमा उच्चस्तरको सहभागिताको अपेक्षा राखिएको बताए । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन मन्त्री पुन सोमबार बिहान अमेरिका प्रस्थान गरेका गरेका थिए।