डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’

काठमाडौँ । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई मंगलबार झापामा ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ ।

रूद्र-गौरी, श्री-अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार कोशी प्रदेश प्रमुख परशुराम खापुङले हस्तान्तरण गरेका हुन् । पुरस्कारको राशि पाँच लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी, यस वर्षको ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ झापाका बुद्धशान्ति गाउँपालिका-१ डुम्रिबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि एक लाख एक हजार एक सय ११ रुपैयाँ छ । १७ वर्षीय सविनले मिनी हवाइजहाज, रोबोट, ड्रोन, मोटरसाइकल, साइकललगायतका सामग्री बनाएका छन्

बचतकर्ता सडकमा, गैरकानुनी ऋण लिने लामिछाने सत्तामा


भैरहवा /कपिलवस्तु । बुटवलस्थित सुप्रिम सहकारीका बचतकर्ताहरूले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न र उनका व्यापारिक साझेदार तथा सहकारी ठगीका मुख्य नाइके गितेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् । सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले राई र लामिछानेसहितले ‘प्रक्रिया पूरा नगरी’ करिब १४ करोड गोर्खा मिडियामा सारेको किटान गरे पनि प्रतिवादीको सूचीबाट लामिछानेको नाम हटाएपछि बचतकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् 


इलाका प्रहरी कार्यालय बुटवलले गत शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा २ करोड र उनी प्रबन्ध निर्देशक रहेका बेला गोर्खा मिडिया नेटवर्कले १४ करोड लगेको उल्लेख छ ।

‘संस्थाका बचत सदस्य रवि लामिछानेका नाममा कुनै प्रक्रिया पूरा नगरी ऋण लगानी गरिएको छ’ प्रतिवेदनमा भनिएको छ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा पनि यही व्यहोरा उल्लेख छ । तर, लामिछानेलाई अभियुक्त बनाइएको छैन ।

रूपन्देहीका प्रमुख सहर बुटवल र भैरहवाबाट भेला भएका पीडितहरूले आफूले दुःखजिलो गरेर बचत गरेको रकम करोड–करोडका चेक काटेर बिनाधितो निकालेर हिनामिना गरिएको भन्दै यसमा संलग्नलाई कारबाही गर्न र रकम फिर्ता गर्न माग गरेका छन् । गृहमन्त्रीको पदमा लामिछाने भएकाले उनलाई उन्मुक्ति दिइएको उनीहरूको आरोप छ । सुप्रिम सहकारीमा राखिएको आफ्नो बचत हिनामिना भएको भन्दै १८ सय बचतकर्ताले प्रहरीलाई उजुरी दिएका थिए । तर, मुद्दा कमजोर बनाइएको भन्दै उनीहरू चिन्तित छन् ।

‘सहकारी ठगहरूलाई राजनीतिक संरक्षण बन्द गर’, ‘जीबी राई कहाँ छ ? रवि दाइलाई थाहा छ’, ‘सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर’, ‘सहकारी अनुगमन टोलीलाई कारबाही गर’, ‘पीडित जनता के भन्छ ? जीबी राई ल्याऊ भन्छ’, ‘गृहमन्त्री जिम्मेवार बन, जीबी राईलाई पक्राउ गर’ भन्ने प्लेकार्डसहित भेला भएका पीडितहरूले बचत फिर्ता नपाएसम्म आन्दोलन चर्काउने घोषणा गरेका छन् ।

प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाम, रकम, मिति, कैफियत र तथ्यसहित उल्लेख भए पनि मुद्दाको प्रतिवादीको सूचीबाट उनको नाम हटाइएकाले राज्यमाथि नै शंका उत्पन्न भएको बचतकर्ता मुकुन्दप्रसाद पौडेलले बताए । ‘न्यायको आस गरेकै निकाय (प्रहरी) बाट निरीहता प्रदर्शन हुँदा हामी चिन्तित भएका छौं । अब कसबाट आस गर्ने ? पीडित अझ पीडित बन्ने भए । सहकारीपीडितले न्याय नपाउने भए । त्यसैले सडक प्रदर्शनमा आउन बाध्य भएका हौं ।’ उनीहरूले मंगलबारबाट बुटवलको राजमार्ग चौराहादेखि ट्राफिकचोकसम्म प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी बुटवलका कृष्णप्रसाद खरेलले जीबी र रविकै मिलेमतोमा सर्वसाधारणको बचत हिनामिना गरिएको बताए । यसअघि लामिछाने बुटवल आएका बेला पीडितहरूले भेटेर आफ्नो भनाइ राखेका थिए । ‘दोषीलाई कारबाही गरेर बचत रकम फिर्ता गर्ने वाचा गरेका गृहमन्त्री लामिछाने पदमा पुगेपछि आफ्नो बचाउमा मात्र लाग्नुको कारण के हो ? हामी कारबाही र छानबिन माग गर्दै आन्दोलित छौं,’ खरेलले भने, ‘कसले हिनामिना गर्‍यो भनेर छानबिनको माग गर्दा रविजी चुप हुनुहुन्छ ।’

सहकारीमा खरेलको करिब ३ करोड रुपैयाँ डुबेको छ । सुरुमा आकर्षक ब्याजदर, मिठासपूर्ण काउन्सिलिङ र सुनको सिक्का दिएर प्रलोभनमा पारी बचत गर्न आकर्षित गरिएको उनले बताए । बुटवलमा पूजा सामग्री बिक्री गर्ने उनले भारतमा ३५ वर्ष श्रम गरेका थिए । ‘भारतमा पसिना बगाएर जोगाएको केही पैसा र दुई वटा घर बिक्री गरेर आएको रकम पनि सुप्रिममा जम्मा गरेको थिएँ, अहिले बर्बाद भइयो,’ उनले भने ।

बुटवलका पीडित देवीलाल भट्टराईले घर बनाउन तिलोत्तमाको मणिग्राममा रहेको घडेरी बिक्री गरेर साढे ६२ लाख रुपैयाँ सुप्रिम सहकारीमा जम्मा गरेका थिए । त्यही रकमबाट नयाँ घर बनाउने र छोरीको विवाह गर्ने उनको योजना थियो । ‘जायजेथा बेचेर सहकारीमा पैसा जम्मा गर्ने हामी पीडित भयौं, ठूल्ठूला कुरा गर्नेले पैसा झ्वाम पारे । सरकारले चाहेमा तत्काल दोषीलाई पक्राउ गरेर पीडितलाई न्याय दिन सक्छ । तर, यो बेला कसको आस गर्ने ? किनकि जीबी राई मात्र होइन, रवि लामिछानेलगायतको नाममा पैसा गएको छ,’ उनले भने ।

संघर्ष समितिका संयोजक विजयकुमार नेपालले पीडितहरूले सडक प्रदर्शनबाट माग पूरा नभए काठमाडौं पुगेर संघीय सदन घेराउ गर्ने चेतावनी दिए । ‘सुप्रिम सहकारीमा १० हजार बचतकर्ताको १ अर्ब ३१ करोड बचत हिनामिना भएको छ, हामीले जाहेरी दिएको थियो । १ हजार ८ सय २८ जनाले जाहेरी दिएपछि इलाका प्रहरी बुटवलले अनुसन्धान सुरु गरेको थियो । तर, अपूरो मुद्दा दर्ता गरिएको छ, यसले हाम्रो माग सम्बोधन गर्दर्नै,’ उनले भने ।

यता आफ्नै शुभचिन्तक सर्वसाधारण सडकमा आउन बाध्य भएका बेला गृहमन्त्री लामिछाने भने आफ्नो बचाउमा मात्र लागेका छन् । प्रहरी प्रतिवेदन र अदालतमा पेस भएको मिसिलका आधारमा कान्तिपुरलगायत सञ्चारमाध्यममा आएको समाचारलाई चुनौती दिँदै उनले जीबी राईको बदमासीको जिम्मेवारी लिन आफू बाध्य नहुने बताएका छन् । ‘रवि लामिछानेका नाममा फेक धितो ऋण खाता क्रेडिट गरी ऋण प्रवाह भएको देखाइएको हो, ऋण लिएको होइन । मेरो व्यक्तिगत खातामा सहकारीको पैसा आएको, लिएको, गएको केही होइन, छैन,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनुसन्धानले देखाएअनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाईसी फर्म, तीनपुस्ते विवरणलगायतका कुनै विवरण छैन । ल्याप्चे, हस्ताक्षरसमेत छैन । अर्थात् मैले ऋण लिएको छैन । मेरो नाम लेखिएको मात्रै छ ।’

आफूले सहकारीबाट पैसा लिएको प्रमाण ल्याउन उनले सञ्चारमाध्यमहरूलाई चुनौती दिएका छन् । यता, बुटवलको सुप्रिम सहकारीका बचतकर्ताको पैसा ल्याएको, त्यही रकम नै आफ्नो लगानी हो भन्ने विवरण कम्पनी रजिस्ट्रार कार्यालयमा हस्ताक्षरसहित बुझाएर लामिछानेले गोर्खा मिडिया प्रालिको १५ प्रतिशत सेयर किनेको प्रमाण कान्तिपुरसँग सुरक्षित छ । कम्पनी रजिस्ट्रारको कार्यालयमा लामिछाने स्वयंले पेस गरेको दस्ताबेजअनुसार उनले पेस गरेको लगानीको स्रोत सर्वसाधारणले पसिनाको कमाइबाट सहकारीमा जम्मा गरेको बचत हो ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाइएको विवरणअनुसार लामिछाने आफैंले ‘गोर्खा मिडिया प्रालिको सेयर बिक्रीमा छ भन्ने जानकारीमा आएको १ लाख ८० हजार थान सेयर लगानी गर्ने इच्छा भएकाले खरिद गर्न’ निवेदन दिएका थिए । २०७७ चैत १८ मा रवि लामिछानेमार्फत दुई करोड गोर्खा मिडिया नेटवर्कमा जम्मा भएको थियो ।

तर, यो रकम उनले अन्य कुनै स्रोतबाट जम्मा गरेका थिएनन्, बुटवलको सुप्रिम सहकारीकी कर्मचारी रोशनी गुरुङले जम्मा गरिदिएको पैसा नै देखाएका थिए । लामिछाने त्यही पैसाका आधारमा गोर्खा मिडियाको सञ्चालक र प्रबन्ध निर्देशक भए । उनी अहिले गृहमन्त्री भएका बेला गुरुङलाई भने प्रहरीले पक्राउ गरेको छ ।

निवेदनअनुसार पैसा पनि जम्मा भएकाले २०७७ चैत २५ मा सेयर दिने गरी बसेको गोर्खा मिडिया नेटवर्कको सञ्चालक समितिको बैठकको निर्णयमा भनिएको छ, ‘१ लाख ८० हजार थान सेयर खरिद गर्न अनुमति पाऊँ भनी रवि लामिछानेले निवेदन दिएकाले मागबमोजिम बिक्रीमा रहेको १ लाख ८० लाख थान सेयर खरिद गर्न अनुमति दिने निर्णय भयो ।’ सेयर खरिदका लागि लामिछानेले पैसा भुक्तान गरेको समेत माइन्युटमा लेखिएको छ । बुटवलको सहकारीबाट आएको रकम आफ्नो हो भनेर लामिछाने स्वयंले हस्ताक्षर गरी कम्पनी रजिस्ट्रार कार्यालयमा विवरण बुझाएका छन् । त्यसैका आधारमा उनले गोर्खा मिडिया नेटवर्कमा १५ प्रतिशत सेयर किनेका हुन् ।

यता, सहकारीको बचत हिनामिना गर्ने जीबी राईसहितको समूहमाथि कारबाही हुनेमा शंका नभएजस्तै ऋण लिने लामिछानेसहितका व्यक्तिमाथि कारबाही हुनेमा पनि कानुन स्पष्ट छ । सहकारी ऐन २०७५ को दफा १२२ ले ऋणीले पनि बेइमानी गरेमा जरिवाना र जेल सजायको स्पष्ट व्यवस्था गरेको छ । ‘झूटा विवरण दिई ऋण लिएमा, धितो कमसल ठहरिएमा वा कर्जा हिनामिना गरेमा बिगो भराइ, बिगो बराबरको जरिवाना र ६ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । कान्तिपुर दैनिकमा खबर छ ।

मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै

महोत्तरी । हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् । राम नवमीको पावन अवसरमा यहाँका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना भएका छन् ।

यस अवसरमा रामजानकी मन्दिरमा रामायण र श्रीमद्भागवत पाठ गर्नाका साथै र सुन्दरकाण्ड लीला आयोजना हुन्छ । श्रीराम चरित्र वर्णन गर्दै व्रतीहरूले दशमी तिथि लागेपछि साङ्गता गर्ने मैथिल चलन छ । चन्द्रमास गणनाको चैत शुक्ल नवमी मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन मानिन्छ ।

भगवान् विष्णुका २४ अवतारमध्ये त्रेतायुगमा भएको रामअवतार रामायणमा विशेष वर्णित छ । मिथिलामा श्रीरामको आगमन, सीता स्वयम्वरमा सरिकता, सीतासँग विवाह र विवाहपश्चात मिथिलाका विभिन्न क्षेत्रमा भएका श्रीरामको भ्रमणका कथाले रामनवमी पर्व यहाँ विशेष बन्दै आएको छ । महोत्तरीको मटिहानी–७ स्थित लक्ष्मीनारायण मठ, जलेश्वरस्थित ब्रह्मचारीकुटी र बर्दिबासस्थित रामजानकी मन्दिरसहित यहाँका बस्ती–बस्तीमा श्रीराम जन्मोत्सव मनाइँदैछ । श्रीराम भगवान् विष्णुका अवतार मानिएर मात्र नभई ज्वाइँ विशिष्ट अतिथि मानिने मैथिल परम्पराले पनि श्रीरामसम्बद्ध तिथि र उत्सव मिथिलामा सदियौँदेखि विशेष मानिदै आइएको सन्तहरू बताउँछन् ।

यसैगरी आज नै वासन्ती नवरात्रको अन्तिम दिन हो । देवी मन्दिरमा चण्डीपाठ र देवीपूजनका कार्यक्रम जारी छन् । हिन्दू परम्परामा असोज शुक्लपक्ष र चैत शुक्लपक्षका अघिल्ला नौ दिन देवी पूजनका विशेष अवसर मानिदै आइएको छ । शरद् ऋतुमा पर्ने हुँदा असोज शुक्लपक्षको नवरात्रलाई शारदीय र चैत शुक्लपक्षको लाई वासन्ती भनिन्छ । चैती दशहारा पनि भनिने यो पर्वमा देवी पूजन गरेर विसर्जन गरिने मैथिल परम्परा छ ।

एसीसी प्रिमियर कप : नेपालले आज साउदी अरेबियासँग खेल्दै

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । खेल बिहान पौने १२ बजे ओमानको अल अमिरातमा शुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले हराएको थियो ।

नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । चार खेलबाट चार अंक बटुलेको कतार दोस्रो स्थानमा आसीन छ । तीन खेलबाट दुई अंक बटुलेको साउदी अरेबिया तेस्रो, तीन खेलबाट दुई अंक जोडेको मलेसिया चौथो र तीन खेलबाट दुई अंक हात पारेको हङ्कङ पाँचौँ स्थानमा छन् ।

यो प्रतियोगिताको उपाधि विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।

काठमाडौं महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

काठमाडौ। काठमाडौँ महानगरपालिका (कामपा) ले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो ।

महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ । वडा नम्बर ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते, वडा नम्बर २५ र २७, इनबहालमा ७, ९ र १० गते, वडा नम्बर ३, महाराजगन्जमा ११ र १२ गते, वडा नम्बर २६, लैनचौरमा १४ गते, वडा नम्बर २०, भीमसेनस्थानमा १६ गते, वडा नम्बर २१, यंगालमा १७ गते, वडा नम्बर २३, ओमबहालमा १८ गते र वडा नम्बर १५, स्वयम्भूमा २० र २१ गते शिविर हुने मिति तोकिएको छ ।

रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा २३ गते, वडा नम्बर २, लाजिम्पाटमा २४ गते, वडा नम्बर २४, मखनमा २५ गते, वडा नम्बर २२, टेबहालमा २६ गते, वडा नम्बर १८, नरदेवीमा २७ गते, वडा नम्बर १९, कङ्केश्वरीमा २८ गते, वडा नम्बर ३२, पाल्पाकोट (छाप्रे), कोटेश्वरमा ३० र ३१ गते सर्वसाधारणले सेवा लिन पाउने छन् । शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ ।

कस्ताे छ डलरकाे भाउ ?

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया ३६ पैसा र बिक्री दर १३३ रुपैया ९६ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४५ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६६ रुपैयाँ ०५ पैसा र बिक्री दर १६६ रुपैयाँ ८० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ ०८ पैसा र बिक्री दर १४६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६१ पैसा र बिक्री दर ८६ रुपैयाँ छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ १६पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६२ पैसा र बिक्री दर ८ रुपैयाँ ६६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४२ पैसा र बिक्री दर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।

गजलकार पङ्गेनीकाे निधन

कास्की । पोखराका चर्चित गजलकार एवं गीतकार प्रकट पङ्गेनी ‘शिव’ को ७० वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमबार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको मगलबर निधन भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए । 

कास्कीको रुपा गाउँपालिका-५ स्थायी निवासी उनी जण्डिस र निमोनियाको  बिरामी थिए । स्व पङ्गेनीको बुधबार अन्त्येष्टि गरिने परिवारले जनाएको छ । स्व पङ्गेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन् । 

यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह) उनका प्रकाशित कृतिहरू हुन् । उनका श्रीमति, एक छोरा र एक छोरी छन् ।

आज रामनवमी मनाइँदै

आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ ।

हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ ।

संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवान्को जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो । “मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ”, उनले भने, “पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्र्ने चलन छ ।”

कस्ताे रहला आजकाे माैसम ?

काठमाडाै । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रहेको छ।

अहिले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ । त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

सहकारी ठगीमा मेरो संलग्नता छैन : गृहमन्त्री लामिछाने

काठमाडौँ ।उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको बताएका छन् । रुपन्देहीको सुप्रिमो सहकारी ठगी प्रकरणमा सार्वजनिक समाचारका विषयमा गृहमन्त्री लामिछानेले आज सामाजिक सञ्जालमार्फत उक्त प्रकरणमा आफ्नो सहभागिता अस्वीकार गरेका हुन् ।

उहाँले आफ्नो नाममा नक्कली खाता खोलेर ऋण प्रावह भएको जनाउँदै आफूले ऋण नलिएको र व्यक्तिगत खातामा सहकारीको पैसा नआएको दाबी पनि गरेका छन् । उनले अनुसन्धानले देखाएअनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फारम, तिनपुस्ते विवरणलगायतका कुनै विवरण नभएको तथा ल्याप्चे, हस्ताक्षरसमेत नभएको पनि बताएका छन्।

उहाँले के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ? भन्दै प्रश्न पनि गरेका छन् । उनले गोरखा मिडिया नेटवर्क प्रालिमा तत्कालीन समयमा शेयरधनी रहेकोबाहेक अरु केही नभएको जानकारी गराउँदै अभियोगपत्रमा पनि सोही कुरा उल्लेख भएको दाबी गरेका छन् । उनले सहकारी ठगी कार्यमा कहीँकतैबाट नजोडिएको र नदेखिएको तथ्य पुष्टि हुँदाहुँदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न पनि अनुरोध गरेका छन् ।

कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

काठमाडौ। काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार)देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो ।

महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ । वडा नम्बर ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते, वडा नम्बर २५ र २७, इनबहालमा ७, ९ र १० गते, वडा नम्बर ३, महाराजगन्जमा ११ र १२ गते, वडा नम्बर २६, लैनचौरमा १४ गते, वडा नम्बर २०, भीमसेनस्थानमा १६ गते, वडा नम्बर २१, यंगालमा १७ गते, वडा नम्बर २३, ओमबहालमा १८ गते र वडा नम्बर १५, स्वयम्भूमा २० र २१ गते शिविर हुने मिति तोकिएको छ ।

रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा २३ गते, वडा नम्बर २, लाजिम्पाटमा २४ गते, वडा नम्बर २४, मखनमा २५ गते, वडा नम्बर २२, टेबहालमा २६ गते, वडा नम्बर १८, नरदेवीमा २७ गते, वडा नम्बर १९, कङ्केश्वरीमा २८ गते, वडा नम्बर ३२, पाल्पाकोट (छाप्रे), कोटेश्वरमा ३० र ३१ गते सर्वसाधारणले सेवा लिन पाउने छन् । शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ ।

‘बेजुरु प्रक्रिया हो, पछिल्लो समय सम्परीक्षण नभएर बढी देखिएको हो’

काठमाडौ । “बेरुजु प्रत्येक वर्ष बढ्दै गएको छ, छ वर्षमा बेरुजु न्यूनीकरण गर्ने योजना के छ रु”, भन्ने सांसदको जिज्ञासामा प्रस्तावित महालेखापरीक्षक तोयम रायाले भने, “बेजुरु प्रक्रिया हो, पछिल्लो समय सम्परीक्षण नभएर बढी देखिएको हो, नियमित, असुलउपर र पेस्की सबै गरेर बेरुजु बढी देखिएको हो ।”

रायाको संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा समितिका सदस्य जनार्दन शर्माले प्रश्न गरे , “बेरुजु प्रत्येक वर्ष बढ्दै गएको छ ? छ वर्षमा सुधारको ठोस योजना के छ ? त्यस्तै, समितिका सदस्य महेश बर्तौलाले थपे, “बेरुजुको समस्या बढेर गएको छ, सरकारी निकायमा यसरी बेरुजु बढ्दा सुशासनलाई गिज्याइरहेको देखिन्छ, यस्तो अवस्थामा स्वतन्त्र, निश्पक्ष पारदर्शी तरिकाले काम गर्न सक्नुहुन्छ ?” समितिका सदस्य रमेश लेखकले जिज्ञासा पनि उस्तै थियो, “बेरुजु कम गर्ने योजना के छ रु” समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको प्रश्न थियो, “बेरुजु, अनियमितता र भ्रष्टाचार एकआपसमा कसरी अन्तरसम्बन्धित छन् ?”

समितिका सदस्य सुनिता बरालले सरकारी कार्यालयहरुमा राज्यको सूचना दुरुपयोग भइरहेको विषयलाई व्यवस्थापन गर्ने योजनाका बारेमा जिज्ञासा राखेका थिए । त्यस्तै, सदस्य ईश्वरी घर्ती र प्रकाश अधिकारीको प्रश्न पनि एउटै थियो, “चाङका चाङ बेरुजु घटाउने योजना के छ रु” समितिका अधिकांश सदस्यको प्रश्न बेरुजु बढेको र घटाउने योजनाकै विषयमा थियो ।

महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ अनुसार आर्थिक वर्ष २०७८/०७९ का अनुसार रु पाँच खर्ब ८७ अर्ब रहेको छ । प्रस्तावित महालेखा परीक्षक रायाले समितिका सबै सदस्यहरुको जिज्ञासाको उत्तर दिँदै भन्नुभयोे, “बेरुजु न्यूनीकरण गर्नमा मुख्य प्राथमिकता रहनेछ, त्यसका लागि तीन तहबाटै लेखा परीक्षण गर्ने संयन्त्र चाहिन्छ, त्यसका लागि सबै सरोकारवाला निकायको सहयोग चाहिन्छ ।”

प्रस्तावित महालेखा परीक्षक रायाले समितिमा १५ पेजको आगामी छ वर्षका कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्ययोजनामा स्वतन्त्रता र संस्थागत सुदृढीकरण परिवर्तित सङ्घीय शासन प्रणालीअनुरूप महालेखा परीक्षकको कार्यालयको सङ्गठन पुनःसंरचना गरिने रहेको छ ।

त्यस्तै, सार्वजनिक लेखापरीक्षणलाई गुणस्तरीय, जवाफदेही र विश्वसनीय बनाउन नैतिक सङ्गठनका पूर्वाधारहरू तयार गरिने, लेखा परीक्षणका लागि विद्यमान रणनीतिक योजनाको कार्यान्वयन, भावी रणनीतिक योजनाको तयारी, निर्माण र कार्यान्वयन गरिने, वित्तीय अनुशासन पालना गर्न, गराउन सरोकारवाला सबै पक्षसँग अन्तक्र्रिया, समन्वय, सहकार्य र सम्बन्ध विस्तार गरिने कार्ययोजना रहेको छ ।

त्यस्तै, पूर्वमहालेखा परीक्षक एवं पूर्वकर्मचारीसँग अनुभवको आदानप्रदान तथा सुधारका विभिन्न पक्षहरूमाथि निरन्तर छलफल चलाइने र सुधारका लागि सुझाव लिइने, आन्तरिक संस्थागत सम्बन्ध सुदृढ गर्न सार्वजनिक लेखा समिति, संवैधानिक निकाय, नागरिक समाज, निजी क्षेत्र, तिनै तहका सरकार, संसद्स/भा र नेतृत्व, तथा आन्तरिक लेखापरीक्षण गर्ने निकायसँग समन्वय र सहकार्य गरिने रहेको छ ।

लेखापरीक्षणसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्बन्ध विस्तार, विकासका साझेदारसँग समन्वय र सहकार्य गरिनुका साथै संस्थागत समन्वयमार्फत सरोकारवालाबीच सहकार्य गरी लेखापरीक्षणको गुणस्तर र प्रभाव अभिवृद्धि गरिने रहेको छ ।

लेखा परीक्षणमा व्यावसायिकताको विकासमा आधुनिक लेखापरीक्षण प्रविधि, डाटा एनालिटिक्स र सूचना प्रविधिसम्बन्धी सीपहरूमा ध्यान केन्द्रित गर्दै लेखापरीक्षकहरूका लागि व्यापक प्रशिक्षण कार्यक्रममार्फत मानव संशाधन विकास गर्दै लगिने रहेको छ ।

उच्च कार्यक्षमता प्रदर्शन गर्ने कर्मचारीहरुलाई उत्प्रेरित र पुरस्कृत गर्न प्रोत्साहन प्रणालीको विकास गर्न नीतिगत व्यवस्थाका लागि सम्बद्ध पक्षसँग सहकार्य गरी अघि बढाइने र लेखापरीक्षणमा कार्यरत कर्मचारीहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि विशिष्टीकृत तालीम नीति ९सेवाकालीन, अल्पकालीन र मामिलामा आधारित० तर्जुमा गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ ।

लेखापरीक्षण कार्यको प्रभावकारिता अभिवृद्धि गर्न प्रविधिमैत्री भौतिक पूर्वाधार तथा बहुआयामिक जनशक्तिको विकास गर्दै लगिने र लेखापरीक्षणको समकक्षी पुनरावलोकन गराई विद्यमान लेखापरीक्षण प्रक्रियाका सुधारका क्षेत्रहरू पहिचान गरी कार्यान्वयन गरिने रहेको छ ।

समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताउनुभयो संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

जनकपुर । मधेश प्रदेश सरकारले मङ्गलबार मन्त्रिपरिषद् पुनर्गठन गरेको छ । मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रपरिषद् पुनर्गठन गरेका छन् ।

लोकतान्त्रिक समाजवादीका पार्टी नेपालले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने निर्णय गर्दै सरकार छोडेपछि मुख्यमन्त्री यादवले सरकार पुनर्गठन गरेका हुन्।

लोसपाबाट वन तथा वातावरण मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिए पछि उनले सम्हाल्दै आएको वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री यादवले आफैसँग राखेका छन् ।

गगनको प्रश्नः सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन की होइनन् ?

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सम्बन्धमा काँग्रेसले उठाएको विषय पुष्टि भएको बताएका छन् ।

संवाद यात्राका क्रममा कञ्चनपुरको पुनर्वासमा बोल्दै उनले प्रहरीले छानबिन गर्न नसक्ने भनेपछि संसदीय छानबिन समिति आवश्यक भएको जिकिर गरेका छन् ।

कांग्रेसले भनेको कुरा अहिले प्रमाणित भएको दाबी गर्दै थापाले थपे,‘हामीले भनेको कुरा हिजो त प्रमाणित भयो। अदालतमा सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्यो,मुद्दा दर्ता गर्दै गर्दा प्रहरीको अनुसन्धानलाई आधार बनायो, र प्रहरीको अनुसन्धानलाई आधार बनाएर लैजादाखेरी के भन्यो भने कि सहकारीमा ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन की होइनन् भन्ने थाहा नभएको हुनाले मैले त्यो अनुसारले प्रतिवादी बनाउन सकिनँ भनेर भन्यो।’

कानुनको शासनको मुख्य कुरा भनेको एउटा सर्वसाधारणले कुनै कुरा गर्दा गल्ति र अपराध मानेर दण्ड पाउँछ भने शक्तिशालीले पनि त्यो कुरा गर्दा गल्ति नै हुन्छ ।

सर्वसाधारणले कानुन मिच्दा जुन दण्ड पाउँछन् ठूला भनिएका व्यक्तिले पनि सोही मुताविकको दण्ड पाउनुपर्ने उनले बताए । सजायको पुरानाले पाउने र नयाँले नपाउने भन्ने नहुने थापाले बताए । ‘आफ्नै पार्टीको होस्, अरु पार्टीको होस्, यो पार्टीको होस् त्यो पाटी भन्दैनौं,’ थापाले भने ।

जनतामा लोकप्रिय र सरकारमा शक्तिशाली छु भन्दैमा कानुन भन्दा कोही माथि नहुने उनले बताए ।

मधेश प्रदेशका वनमन्त्रीले दिए राजीनामा

जनकपुर । मधेश प्रदेशमा वनमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् । कुर्मीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

कुर्मी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट वनमन्त्री बनेका थिए । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । लोसपाले उनलाई विश्वासको मत नदिने भएको छ ।