८२ शाखा अधिकृतको पदस्थापन, को-कहाँ खटिए (सूचीसहित)

काठमाडौँ । ८२ जना शाखा अधिकृतलाई पदस्थापन गरिएको छ।

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  नवनियुक्त शाखा अधिकृतहरूलाई पदस्थापन गरेको हो।

उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् ।

हर्नुहोस् सूची :

उपत्यकासहित देशका पहाडी जिल्लामा वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी भूभागमा मंगलबार साँझ हल्का वर्षाको सम्भावना रहेको छ।

पश्चिमी र स्थानीय वायुको प्रभावका कारण बेलुकापथ उपत्यकासहित पहाडी भूभागमा मेघ गर्जन, चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखामा मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। बादलको विकास हुनेक्रम जारी रहेकाले साँझपख चट्याङ् सहित हल्का वर्षाको सम्भावना रहेको उनको भनाइ छ।

मौसमविद् लामिछानेले भने, ‘अहिले देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली भएको छ। बादल विकसित भइरहेकाले साँझपख पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।’’

अहिले कोशी र गण्डकी प्रदेशका पहाडी एक–दुई स्थानमा हल्का वर्षा भइरहेको उनले बताए।

प्रि मनसुनको समय भएकाले बिहानीपख मौसम राम्रो भएपनि साँझपख भने मेघ, गर्जन, चट्याङ्सहित वर्षाको सम्भावना हुने उनको भनाइ छ।

आगामी तीन दिन नै मौसममा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् लामिछानेको भनाइ छ।

एकीकृत समाजवादीले लियो चौधरीलाई दिएको समर्थन फिर्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन नेकपा (एकीकृत समाजवादी) ले फिर्ता लिएको छ ।

मङ्गलबार एकीकृत समाजवादी, सुदूरपश्चिम प्रदेश सभाका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर मुख्यमन्त्रीमा दाबी पेश गरेका नाउपाको रेशम चौधरी पक्षका सांसद लक्ष्मणकिशोर चौधरीलाई आफूहरूको समर्थन नरहेको पत्र बुझाएका हुन् ।

यस अघी लक्ष्मणकिशोर चौधरीलाई एकीकृत समाजवादी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नाउपाको रेशम चौधरी पक्षको वैकल्पिक समर्थन दिएको थियो ।

जबकि गठबन्धनका तर्फबाट नाउपाकै रञ्जिता श्रेष्ठ चौधरी पक्षका सांसद कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । केन्द्रीय गठबन्धनमा सत्ता साझेदार दलको रूपमा रहेको एकीकृत समाजवादीले कैलाश चौधरीलाई समर्थन नगरी लक्ष्मणकिशोर चौधरीलाई गरेको थियो ।

एकीकृत समाजवादीले सुदूरपश्चिममा पहिलो चरणमा नै मुख्यमन्त्री नपाए केन्द्रीय गठबन्धनसमेत धरापमा पर्ने चेतावनी दिएको थियो । यसपछि यता काठमाडौंमा मुख्यमन्त्री दिनेबारे छलफल भएको थियो । यसपछि एकीकृत समाजवादीले लक्ष्मणकिशोर चौधरीलाई आफूहरूको समर्थन नरेहको पत्र प्रदेश प्रमुख मियाँलाई थमाएको हो ।

यससँगै अब प्रदेशमा मुख्यमन्त्री नियुक्तिको कोर्स फेरिएको छ । यसअघि एउटै दलबाट दुईदुई सांसदले ‘दलका सबै सांसद मेरो समर्थनमा छन्’ भनेर मुख्यमन्त्रीका लागि दाबी पेश गर्दा प्रदेश प्रमुख मियाँलाई सकस भएको थियो । एकीकृत समाजवादीले लक्ष्मणकिशोर चौधरीलाई समर्थन नभएको स्पष्ट पारेसँगै अन्तर्दलीय अन्योलता हटेको छ ।

२७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

काठमाडौं । २७२ किलो गाँजासहित सशस्त्र प्रहरी बलले एउटा कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्ड अन्तर्गत बाइपास इलाकाबाट २७२ किलो ३३ ग्राम गाँजासहित एउटा कन्टेनर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई जाँच गर्दा गाँजा फेला परेको हो ।

नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमाण्डमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर र भारत घर भएका ३६ वर्षीय चालक सतनम सिंहलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका सिंहलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ।

चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु

एजेन्सी। पाकिस्तानमा चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु भएको छ । शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएका छन्। मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ।

पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको थियाे।

हावाहुरीका बेला चट्याङ पर्ने जोखिम खुला, ग्रामीण क्षेत्रमा बस्ने मानिस बढी हुने गरेका छन्। बलुचिस्तान प्रान्तमा चट्याङ लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ। प्रान्तका २५ जिल्ला वर्षाका कारण प्रभावित भएका छन् भने केही क्षेत्र डुबानमा परेका छन्। रमजानको पवित्र महिना इद उल फित्रको बिदापछि विद्यार्थीहरू फर्कन ढिलाइ गर्दै सोमबार र मङ्गलबार प्रान्तका विद्यालयहरू बन्द गर्न आदेश दिइएको थियो।

दक्षिणी सिन्ध प्रान्तमा बाढीका कारण सडक दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा भारी वर्षाका कारण घर भत्किँदा चार बालबालिकासहित आठ जनाको मृत्यु भएको छ। पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै चट्याङका घटनामा वृद्धि हुनुमा जलवायु परिवर्तनसम्बन्धी घटनालाई जिम्मेवार मान्न सकिने बताएका छन्।

पाकिस्तान अप्रत्याशित मौसमी ढाँचाका साथै प्रायः विनाशकारी मनसुनी वर्षाको जोखिममा रहेको छ। पाकिस्तानमा सामान्यतया जुलाईमा मनसुनी बर्षा हुने गर्छ। 

बिपिनका पिता हारगुहार गर्दै गृह मन्त्रालयसम्म, भेटेनन् गृहमन्त्रीले


काठमाडौँ । सर्वसाधारण जनताको निम्ति आफ्नो समस्या राख्न सिंहदरबार प्रवेश लोकतान्त्रिक ब्यबस्थामा पनि सहज हुन सकेको छैन । कुनै माध्यमबाट प्रक्रिया पुरा गरि भित्र छिर्न पाए पनि गृह मन्त्रालय भित्र प्रवेश गर्न भने सकृय राजतन्त्र भन्दा कडाइ गरिएको गुनासो पोख्न जानेहरूको भोगाइ छ ।
आफ्नो छोराको पिडा पोख्न सोमबार गृह मन्त्रालय पुगेका सुदुरपश्चिमका एक नागरिकको भोगाइले गृह मन्त्रालयको झल्को पाइएको बताइएको छ ।
समाचार श्रोतका अनुसार इजरायलमा हमासको कब्जामा परेका बिपिन जोशिका पिता महानन्द जोशी आफ्नो छोरा बिपिनको न्यायको निम्ति गृहमन्त्रालय धाइरहेका छ्न । गृहमन्त्री रबि लामिछानेलाई भेट्न आएका उनले झन्डै ६ घन्टा कुर्दा समेत भेटन पाएनन् । मन्त्रीको प्रतीक्षा गरिरहेका उनले सचिवालयको राम्रो व्यबहार नहुदा पिडा बोकेरै भएपनि अन्तिम सम्म धर्य गरे तर गृहमन्त्री लामिछानेले भेटन भने पाएनन् ।
हमासको कब्जामा परेका बिपिनको अझैसम्म अत्तोपत्तो नभएको पिता महानन्दले सम्पत्ति न्युजलालाई बताए । सुरक्षाको दृष्टिकोणलाई ध्यानाकर्षित हुँदै आवतजावत लाई कडाइ गरिएको बताइए पनि समस्या लिने नागरिकलाई न त राम्रो सग बस्ने ब्यबस्थापन छ न त कुनै समस्या समाधानका पहल कदमी लिने कार्ययोजना जसले गर्दा गृहका कार्ययोजनामा परिपक्कता कहिले आउला भन्ने प्रश्न समेत उठेको छ । प्रायोजक बनाएर जतिसुकै संचारमाध्यममा जे जस्ता सुधारका गफ बाहिए पनि नागरिकको तहमा हुने सेवा प्रवाहमा भिन्नता आउन नसकेको बताइएको छ ।
विपीनलाई हमास समूहले कब्जामा लिएको भनिए पनि उनको हालको अवस्थाबारे यकिन जानकारी भने कतैबाट आएको छैन । हमास समूह स्वयंले आफूसँग बन्धक रहेको कुरा स्वीकार नगर्दासम्म उनको अवस्था यकिन नहुने प्रस्ट छ । यसरी विपीनको अवस्था महिना दिनसम्म अज्ञात रहँदा आफन्तजन मात्र नभई नेपाल सरकारका तर्फबाट पनि विभिन्न पक्षहरूसँग उनको अवस्था जानकारी लिन हारगुहार चलिरहेको छ । नेपाली विद्यार्थीको कुरा सुनेलगत्तै परराष्ट्रमन्त्री एनपी साउदले जोशीको अवस्थाबारे पत्ता लगाइदिन अन्तर्राष्ट्रिय कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय रेडक्रस (आइसिआरसी), अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थासँग अपिल गरेका थिए । यस्तै परराष्ट्र मन्त्रालयले समेत सहयोगको आह्वान गरेको थियो ।
नेपालमा रोजगारी नपाएर प्रदेशिने प्रत्तेक घरपरिवार बिच घरघरका कहानी बन्दै पछिल्ला दिनहरुमा मानसिक रुपमा तनाव लिएर बस्नुपर्ने अवस्था सृजना यो घटनाले गराएको छ । पद र कुर्सी नपाउन्जेलसम्म केही गर्छु भन्नेहरुका निम्ती गृहबाट भएका ब्यवहारले आम नागरीकलाई झस्काएको छ ।
आफ्नो योग्यता र क्षमता बमोजिमको रोजगारी नेपालमा नपाईने भएपछि यहाँका अधिकांश युवाहरु दिन–प्रतिदिन बैदेशिक रोजगारीको लागि निस्कने गरेका छन् ।

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, सूचक २,००० विन्दु तल झर्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साताको तेस्रो कारोबारको दिन आज मंगलबार पनि दोहोरो अंकले घटेर बन्द भएको छ ।

मंगलबार नेप्से सूचक १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा बन्द भएको छ। पछिल्लो दिनहरुमा कारोबार रकम पनि घट्दै गएको छ। मंगलबार कारोबार रकम २ अर्ब १० करोड रुपैयाँमा सिमित भएको छ। यस दिन २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँ बराबरको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर कारोबार भएको हो।

  नेप्सेमा आज २ अर्ब १० करोड ३० लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४२ वटाको बढेको छ भने २०० वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।       

नेप्सेका अनुसार आज दुई स्क्रिप्टको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमा एसबीएल डिभेञ्चर र गुराँस फाइनान्स रहेका छन् । यी कम्पनीको सेयर मूल्यमा आज क्रमशः  सकारात्मक ९.९९ र ९.९६ प्रतिशतले बढेको छ ।  

आज रुरु जलविद्युत कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयर मूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार गुराँस फाइनान्स लिमिटेडको भएको छ । आज यस कम्पनीको १७ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो  ।  

डोल्पाका तत्कालीन कार्यालय प्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

ठूलीभेरी नगरपालिका-३ दुनै, डोल्पामा खेलकुद मैदान निर्माणको लागि कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको अख्तियारको दाबी छ ।

आयोगले सामाजिक विकास कार्यालय डोल्पाका प्रमुख आचार्य, सव-इञ्जिनियर मोतीप्रसाद बुढा, उपभोक्ता समितिका अध्यक्ष अभिषेक शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध रु ९ लाख ९३ हजार नौ सय ४० बराबरको बिगो दावी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

खेल मैदान निर्माणका क्रममा २०७६-०७७ मा लागत अनुमान र सम्झौता उल्लिखित कामभन्दा फिल्डमा भएको कामभन्दा बढी झुट्टा बिल भरपाई बनाइ गैरकानुनी लाभ र हानी पुर्‍याउने बदनियतले भुक्तानी दिने/लिने काम गरी भ्रष्टाचार गरेको पुष्टि भएको बताए ।

एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा ८ करोड जम्मा

तनहुँ । सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले रु ८ करोडको पुँजी सङ्कलन भएको छ । बन्दीपुर गाउँपालिका–४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल ८ करोड जम्मा भएको छ ।

करिब तीन वर्षसम्म समूहले रु एक, दुई, दश, बीस, पचास र रु एक सयका दरले क्रमिक रूपमा बचत गर्दै आएको थियो । विसं २०५४ सालमा समूहले सहकारी सञ्चालन गर्ने निर्णय अनुरुप मस्र्याङ्दी आमा बचत तथा ऋण सहकारी संस्था स्थापना गरेका थिए ।

आमा समूहले बचत गर्दै आएको पैसाले सहकारी सञ्चालन गरेपछि अहिले संस्थाको पुँजी रु आठ करोडभन्दा बढी पुगेको हो । महिलाले सञ्चालनमा ल्याएको उक्त सहकारी गाउँपालिकामै नमुना र अनुकरणीय गर्न योग्य रहेको संस्थाकी लेखा संयोजक बबिता थापाले बताइन् । अहिले सहकारी संस्थामा आठ सयभन्दा बढी शेयर सदस्य छन् । उनले भनिन्, “सुरुमा एक रुपैयाँ बचत गर्ने महिलाले अहिले मासिक रु एक हजार पाँच सयसम्म जम्मा गर्न थालेका छन् ।”

सहकारी संस्थामा कार्यरत सबै कर्मचारी महिला छन् भने लेखा समिति, शिक्षा उपसमिति, ऋण उपसमिति, धितो मूल्याङकन समिति लगायतमा महिलाले नै नेतृत्व गर्दै आएका छन् । धितो राखेर रु पन्ध्र लाखसम्म ऋण दिन सक्ने अवस्थामा सहकारी पुगेको संस्थाकी अध्यक्ष बास्ना कुमारी मगरले बताइन् । सहकारीले कृषि र उच्च शिक्षा पढ्नका लागि शिक्षा धितोमा १२ प्रतिशत र अन्य शीर्षकका कर्जामा १४ प्रतिशत ब्याज निर्धारण गरिएको छ ।

गाईपालन, तरकारी, धूप तालिम र घरबास सञ्चालन लगायतमा लगानी गर्ने गरिएको सो संस्थाले जनाएको छ । संस्थाको आफ्नै भवन रहेको छ । तत्कालीन समयमा रु एक लाख ४६ हजारमा जग्गा खरिद गरी केही नगद खर्च र श्रमदानबाट भवन निर्माण गरिएको लेखा संयोजक थापाले बताइन् ।

वडामा रहेका आमा समूहले सामाजिक क्रियाकलाप विवाह, व्रतबन्धलगायतका कार्यमा सक्रिय हुँदै आएको छ भने वडाभित्र सीमित रहेको सहकारी संस्थालाई पालिका तहसम्म क्षेत्र विस्तार गरिएको छ । आगामी दिनमा सहकारीलाई गण्डकी प्रदेशस्तरमा लैजाने लगायतका योजना बनाइएको अध्यक्ष मगरले जानकारी दिइन् । रासस

सडक निर्माणको जिम्मा लिएर वर्षौंसम्म अलपत्र छोड्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न पत्र


काठमाण्डौँ । सडक निर्माणको जिम्मा लिएर वर्षौंसम्म अलपत्र छोड्ने बिरूवा कन्स्ट्रक्सन प्रालिलाई जिल्ला प्रशासन कार्यालय रूपन्देहीले कारबाही गर्न सडक डिभिजन कार्यालय बुटवललाई ध्यानाकर्षण गराएको छ ।
जिल्ला प्रशासन कार्यालयले पत्र लेख्दै बुटवल बेलहिया सडक आयोजना अन्तर्गत बेलहिया खण्ड नेपाल–भारत सीमा क्षेत्रको सडक स्तरोन्नतिका लागि भएको ठेक्का सम्झौताको कार्य प्रगति अत्यन्तै निराशाजनक रहेको भन्दै सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको हो ।
गृह मन्त्रालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सडक विभागलाई बोधार्थ गर्दै उक्त निर्माण व्यवसायीलाई कारबाहीका लागि हस्तक्षेपसहित निर्देशन दिन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रमार्फत् आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हस्ताक्षर गरी पठाएको उक्त पत्रमा जिल्ला प्रशासन कार्यालय रूपन्देहीको पहलमा पटकपटक गरिएका छलफलमा उक्त निर्माण व्यवसायीले आयोजनाको काम तत्काल सुचारू गर्ने लिखित प्रतिबद्धता जनाए पनि बेवास्ता गर्दै आएको उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालले सडकको क्षेत्रभित्र पर्ने सरकारी लगायतका संरचना हटाउने जस्ता कार्यहरूको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयले लिई निर्माणस्थल खाली गराई विगतमा देखिएका भनिएका समस्याहरू समाधान भइसके पनि सडक निर्माणको काम भने अगाडि नबढेको बताएका छन् ।
सडक निर्माणको लागि भौतिक संरचनाहरू हटाइएको कारण सीमाक्षेत्र अस्तव्यस्त बन्दा सिमानाकाको आवागमन कष्टकर बनेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
यसअघिका छलफलमा सडक डिभिजन कार्यालयले प्रत्येक दिनको कार्य प्रगतिको अभिलेख राख्ने निर्णय भए पनि कार्यालयले अपेक्षित पूर्वक्रियाशीलता लिन नसकेको जिल्ला प्रशासन कार्यालयको ठहर छ ।
जिल्ला प्रशासन कार्यालयले विभिन्न मितिमा भएको छलफल र निर्णय बमोजिमको कार्य अगाडि बढाउन सडक डिभिजन कार्यालयबाट गरिएको क्रियाशीलता र निर्माण व्यवसायीलाई के–कस्ता निर्देशन दिइएको छ? सोको विवरण समेत तत्काल उपलब्ध गराउन निर्देशन दिइएको छ ।
उक्त पत्रमा ’सडक आयोजनाको ठेक्का सम्झौताको म्याद कहिले सम्मका लागि थप भएको छ?, अब म्याद थप हुन्छ÷हुन सक्छ वा सक्दैन?, आयोजनाको दुरावस्था संवोधन गर्न ताँहा कार्यालयको थप योजना लगायतका तयारी, तत्परताको अवस्था के रहेको छ? यसै निर्माण व्यवसायीबाट आयोजना सम्पन्न हुन सक्ने वस्तुगत विश्लेषण कार्यालयको हो वा अन्य वैकल्पिक योजना बनाइएको छ ? निर्माण व्यवसायीलाई पूर्वनिर्धारित क्षतिपूर्ति लगाइएको छ वा छैन? आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गर्ने वा म्याद थप गर्दै जानेमध्ये कुन विकल्प उपयुक्त हुनसक्छ’ लगायतका विषयमा स्पष्ट हुने गरी ३ दिनभित्र स्थितिपत्र सार्वजनिक गरी सोको एक प्रति जिल्ला प्रशासन कार्यालयलाई समेत उपलब्ध गराउन’ भनिएको छ ।
उक्त निर्माण कम्पनीले बेलहिया बुटवल ६ लेन सडकखण्ड अन्तर्गत बेलहियादेखि बाइपास सम्मको ७ सय ५० मिटर सडक निर्माणको लागि २०७३ सालमा १७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
स्थानीयवासीले सडक निर्माणका लागि पटकपटक दबाब दिँदै सडक समेत बन्द गराए पनि ठेकेदार कम्पनीले भने सडकको दुवैतर्फ नाली बनाउनेबाहेक अरू काम गरेको छैन ।
सोही कम्पनीले २०७३ सालमै ठेक्का लिएको बुटवल राजमार्ग चौराहदेखि चिडियाचौकी सम्मको साढे तीन किलोमिटर सडक पनि अहिलेसम्म अलपत्र छ ।
२०७३ सालमा भ्याट समेत गरी ४७ करोड २७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको उक्त सडकको लागत थप गरी ५३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै यही सडकको लखनचोकदेखि अञ्चलपुर सम्मको २ किलोमिटर सडक पनि बिरुवा श्रेष्ठ एपेक्स जेभीले निर्माणको जिम्मा लिएको थियो । २०७२ साल माघ महिनामा ४१ करोडमा ठेक्का सम्झौता गरेको उक्त सडकको सर्भिस लेन पनि अझै अधुरै छ । सम्झौता गर्दा ३० महिनामा निर्माण पूरा गर्नुपर्ने भनिए पनि निर्माण कम्पनीले विभिन्न बहानामा काबु बाहिरको परिस्थिति भन्दै सम्झौता अवधि थप गर्दै आएको छ ।
बेलहियादेखि बुटवल गोलपार्क सम्मको अरू खण्डको निर्माण कार्य सम्पन्न भए पनि बिरूवा कन्स्ट्रक्सन प्रालिका जिम्मामा रहेका तीन वटा खण्ड अधुरै रहँदा बुटवल बेलहिया सडकको विषयलाई लिएर सरकारको निरन्तर आलोचना भइरहेको छ ।

मुख्यमन्त्री चयनको विषयमा प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच छलफल

काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच आज भेटवार्ता भएको छ । भेटमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्ने विषयमा छलफल भएको र प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म निकास निकाल्ने आश्वासन दिएको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेता खनाल बिहान प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरूले पाउनुपर्ने भेटमा खनालले प्रचण्डलाई बताउनुभएको थियो । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का रेशम चौधरी पक्षसँग सहकार्य गर्ने भएपछि सत्ता गठबन्धनभित्र तरङ्ग सिर्जना भएको छ । यही कारण सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्ति अझै हुन सकेको छैन ।

गएको आइतवार नागरिक उन्मुक्ति पार्टीकै दुई जना सांसदले बेग्लाबेग्लै समूह र समर्थक जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेपछि मुख्यमन्त्री नियुक्ति अन्योलमा भएको हो । प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई अघि बढाउनुभएको छैन ।

नागरिक उन्मुक्ति शुरुदेखि नै दुई समूहमा विभाजित छ । एउटा समूहले केन्द्रीय सत्ता गठबन्धन र अर्को समूहले कांग्रेससहितको गठबन्धनमार्फत सरकार निर्माणका लागि पहल गरिरहेका छन् ।

केन्द्रीय सत्ता गठबन्धन विपरीत एकीकृत समाजवादीले कांग्रेससहितको सरकार गठन गर्न समर्थन दिएको छ । कांग्रेसका कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएकाले आफूले अध्ययन गरेर निर्णय गर्ने जनाइएको छ ।

२३ किलो चरेशसहित एक जना नियन्त्रणमा

बर्दिया । सशस्त्र प्रहरीले बर्दियाको सीमा इलाकाबाट करिब २३ किलो चरेशसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नयाब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर ५ स्थायी वतन भएका वर्ष ३४ का बम बहादुर पुन रहेका छन् ।

मङ्गलबार बिहान ३ः४५ बजे बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर २ फुटाहास्थित सीमा इलाकामा शङ्कास्पद हर्कत गरिरहेका पुनलाई शङ्का लागि चेकजाँच गर्दा उनको साथमा रहेको दुई वटा झोलाबाट पलास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागू औषध चरेश सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) फुटाहा बर्दियाले बरामद गरेको हो ।

पुन उक्त समानसहित नेपालबाट भारतर्फ जान लाग्दा पक्राउ परेका हुन् । पुनलाई बरामद सामानसहित थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

३४ जना शाखा अधिकृतको एकैचोटी उपसचिवमा बढुवा

काठमाडौं । ३४ जना शाखा अधिकृतहरुको एकैचोटी उपसचिवमा बढुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, समान्य प्रशासन समूहबाट कार्यक्षमता मूल्यांकनका आधारमा ३४ जनालाई उपसचिवमा बढुवा गरेको हो ।

तृतीय श्रेणीका अधिकृतहरुको द्वितीय श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले बढुवा भएका उपसचिवहरुलाई ५ दिने अभिुमखकीरण पनि दिने छ । उनीहरूको पदस्थापनको निर्णय पनि भइसकेको छ ।

त्यसका लागि मन्त्रालयले मंगलबार नेपाल प्रशासनिक प्रशक्षिण प्रतिष्ठानमा बढुवा भएकाहरुको सूस्चीसहित पत्राचार गरेको छ ।

काठमाडौँमा ६ घण्टा बिजुली कटौती हुने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यी क्षेत्रहरूमा भोलि (बुधवार) बाट वैशाख ८ गते सम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ । विद्युत् प्राधिकरणले मङ्गलवार सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई नयाँ कन्डक्टरले बदली गरी मर्मत कार्य गर्न लागिएको हुँदा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने भएको जानकारी दिएको छ ।

बिजुली कटौती हुने क्षेत्रहरूमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भन्याङ, ठुलो भन्याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गेधारा, क्लब घर र तरकारी बजार (बालाजु सब स्टेसन पछाडि) रहेका छन् ।

झुलाघाट नाका ७२ घण्टा बन्द

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजबाट बन्द हुने भएको छ । झुलाघाट नाका आजबाट ७२ घण्टाका लागि बन्द हुने भएको हो ।

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै आजबाट सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गर्दै आज साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म ७२ घण्टा झुलाघाट नाका बन्द रहने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको हो । सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।