इलाम उपनिर्वाचन मतगणना अपडेट : एमालेका नेम्बाङको अग्रता कायमै

फिक्कल (इलाम) । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुुहाङ नेम्बाङको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार उनले सात हजार ६ सय ७७ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पाँच हजार तीन सय ९५ मत प्राप्त गरेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले चार हजार ४५ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार एक सय ६२ मत प्राप्त गरेका छन्।

हालसम्म १९ हजार एक सय ८१ मत गणना सम्पन्न भएको छ । सो क्रममा दुई सय ३३ मत बदर भएको छ । पछिल्लो समय फाकफोकथा गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ । अहिले चुलाचुली गाउँपालिका–६ को मतगणना सुरु भएको छ ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले आज न्यौपानेलाई रु २५ करोड ६९ लाख ७५ हजार जरिवाना पनि सुनाएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा न्यौपानेलाई रु १२ करोड ८४ लाख ८७ हजार बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अभियोग लगाइएको थियो ।

गत चैत २५ गते अदालतबाट दोषी ठहर भए पनि सजाय निर्धारणका लागि आज पेसी तोकिएको थियो । न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ साल असार १८ देखि २०५७ मङसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मङसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।

ठूलो मात्रामा लगानी गर्न पूर्वअर्थमन्त्री डा. महतको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीका लागि नेपाल राम्रो गन्तव्य भएको बताएका छन् ।

आजदेखि यहाँ सुरु भएको लगानी सम्मेलनको सत्रलाई सम्बोधन गर्दै उनले सरकारी नीतिमा स्थिरता रहेको, भारत र चीनजस्ता ठूला छिमेकी देश भएकाले बजारको समस्या नरहेको बताए ।

उद्योग सञ्चालनमा श्रमिकको समस्या नरहेको, मुनाफा आर्जन गरेर लैजान पाउने कानुनी व्यवस्था रहेको लगायतका कारण विदेशीहरूलाई नेपालमा ठूलो मात्रामा लगानी ल्याउन उनले आग्रह गरे ।

पूर्वअर्थमन्त्री डा. महतले पार्टीहरुबीच राजनीतिक विचारधारा फरक भए पनि सम्बन्ध राम्रो रहेको भन्दै लगानीकर्ता अन्योलमा रहनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । “विचारधारा फरक भए पनि हामी एकताबद्ध भएर काम गर्छौँ । सरकारमा भए पनि नभए पनि हाम्रो धारणा एउटै हुन्छ, नीति र कानुनमा स्थिरता छ,” उनले भने, “लगानीमैत्री वातावरणका लागि कानुनमा सुधार गरिएको छ । लगानीका धेरै अवसर छन्, त्यसैले अवसरको सदुपयोग गर्न आग्रह गर्छौँ ।”

डा. महतले जलविद्युत् लगानीको मुख्य क्षेत्र भएको उल्लेख गरे । “बजारको समस्या छैन । भारतले १० हजार मेगावाट लिने गरी दीर्घकालीन सम्झौता गरेको छ भने बङ्गलादेश पनि विद्युत् लैजान इच्छुक छ,” उनले भने ।

भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् लाने गरी गत पुस १९ गते दीर्घकालीन विद्युत् व्यापार सम्झौता गरेको थियो ।

डा. महतले पर्यटन, कृषि र सूचना प्रविधि लगानीकर्ताका लागि राम्रो क्षेत्र भएको उल्लेख गरे । “फरक फरक तापक्रमको भूगोल छ । सांस्कृतिक पक्षमा उस्तै विविधता छ,” उनले पर्यटनमा लगानी गरेर मुनाफा कमाउन सकिने बताए ।

“नेपाल अग्र्यानिक उत्पादनका लागि हब हो । कृषिमा लगानी गर्न चाहनेका लागि नेपालमा स्वागत छ । यो उत्कृष्ट गन्तव्य हो,” उनले भने, “सूचना प्रविधि पनि लगानीको क्षेत्र हो, कोभिडपछिको निर्यातले यसको पुष्टि गरेको छ ।”

सूचना प्रविधि क्षेत्रले गत वर्ष ६७ अर्बको सेवा निर्यात गरेको तथ्याङ्क छ । “हामीकहाँ सबैभन्दा तीव्र रूपमा विकास भएको क्षेत्र सूचना प्रविधि हो । यो क्षेत्रलाई प्रोत्साहन गर्न ५० प्रतिशत कर छुट गरिएको छ,” डा महतले भने ।

उनले धेरैजसो उत्पादनको बजार नेपाल नै भएकाले लगानीकर्ता अलमलमा नपर्न आग्रह गरे । नेपालमा व्यक्तिगत रूपमा सानो लगानीभन्दा व्यावसायिक रूपको ठूलो लगानीको खाँचो रहेको उनको भनाइ थियो ।

श्रमाधान कल सेन्टर (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०८१ जारी

नेपालमा वा विदेशमा रहेका श्रमिकले श्रम र रोजगारसँग सम्बन्धित समस्या, गुनासो, सुझाव र जिज्ञासा भएमा श्रमाधान कल सेन्टर कक्षमा आफै उपस्थित भएर पनि दर्ता गराउन सक्नेछन् ।

कुनै माध्यमबाट श्रमाधानको कार्यालयमा पत्राचार गरेर ।
श्रमाधानको एपको प्रयोग गरेर ।
टोल फ्रि टेलिफोन नम्बर ११४१ वा १६६००१५०००५ मा सम्पर्क गरेर ।

+९७७ –९८०१८०००१३, +९७७ – ०१–५९७०००८ वा +९७७ –९८५१३४७२२२ मा कल वा एसएमएस गरेर ।

विभिन्न Voice Over Internet Protocol (VO IP) नम्बरमा सम्पर्क गरेर ।

इमेल ठेगना shramadhan@feb.gov.np मा इमेल गरेर ।

श्रमाधान कल सेन्टरको आधिकारिक फेसबुक पेज facebook.com/shramadhan2 मा मेनसन, ह्यासटयाग र म्यासेज पठाएर ।

श्रमाधान कल सेन्टरको आधिकारी एक्स पेज x.com/shramadhan2 मा मेनसन वा ह्यासटयाग र म्यासेज पठाएर ।

श्रमाधान कल सेन्टरको आधिकारिक युटयुब च्यानल youtube.com/@shramadhan मा कमेन्ट गरेर ।

श्रमाधान कल सेन्टरको आधिकारिक इन्स्टाग्राम ID Instragram.com/shramadhan2 मा मेनसन, ह्यसटयाग र म्यासेज पठाएर ।

+९७७–९८०१८०००१३, +९७७ –९८०१३०००३३, +९७७–९८५१३४७२२२ मा इमो, भाइबर, हट््सएप, सिग्नल मार्फत म्यासेज पठाएर ।

सिंहदरबार प्रवेश गर्न सोमबारदेखि नयाँ प्रणाली सुरु

काठमाडौं । सर्वसाधरणहरु सिंहदरबार प्रवेश गर्न सोमबारदेखि नयाँ प्रणाली सुरु गरिएको छ । अब ई गेट पासको अवधारणा कार्यान्वायनमा ल्याइएको छ ।

गृह मन्त्रालयले यससम्बन्धि प्रणाली सञ्चालनमा ल्याइको हो । वेभसाइडमा गएर इ–गेटपासका लागि आग्रह गर्नुपर्ने र स्वीकृत भएपछि जारी हुने मन्त्रालयले जनाएको छ ।

नीतिगत तथा आर्थिक भ्रष्टाचार छानबिन गर्न पाँच सदस्यीय समिति गठन


काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भनिएको नीतिगत तथा आर्थिक भ्रष्टाचार छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट आइतबार समाज कल्याण परिषद्का कार्यसमिति सदस्यको संयोजकत्वमा समिति गठन गरिएको हो । छानबिन समितिमा परिषद्को अनुगमन विभाग प्रमुख, प्रशासन विभाग प्रमुख, कानुनी सल्लाहकार र चार्टर एकाउन्टेन्ट रहेका छन् ।
भ्रष्टाचार भएको विषय छानबिन गरी दोषीउपर कारबाही माग गर्दै उजुरीहरु परेको भन्दै त्यस सम्बन्धमा सत्य–तथ्य छानबिन गर्न समिति गठन गरिएको परिषद्का कामु निर्देशक दुर्गाप्रसाद भट्टराईले रेडक्रस कार्यालयलाई आइतबार गरेको पत्राचारमा उल्लेख छ । नीतिगत तथा आर्थिक भ्रष्टाचार विरुद्धका उजुरीउपर सत्य–तथ्य पत्ता लगाएर ४५ दिनभित्र सिफारिस सहितको प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ ।

बझाङः तीन हजार मतगणना हुँदा एमालेको अग्रता कायमै

बझाङ । बझाङमा १ (क) मा सम्पन्न उपनिर्वाचनको प्रारम्भिक मत परिणाममा नेकपा (एमाले) ले अग्रतालाई कायमै राखेको छ। नेकपा (एमाले) का दमन भण्डारी नेपाली कांग्रेसका अविशेक सिंहभन्दा ६४९ मतले अग्रता कायमै राखेका छन् ।

एमालेका भण्डारीले १३ सय ३ मत ल्याएका छन् भने कांग्रेसका अभिषेक सिंहले ६५४ मत पाएका छन् ।

नेकपा (माओवादी केन्द्र) का जनक बुढाले ४०१ मत ल्याउनुभएको छ भने समाजवादी पार्टीका दिलबहादुर सिंहले ३६९ मत पाउनुभएको छ। राप्रपाका किशोर खड्काले २० मत पाएका छनु ।

अहिले एमालेका उम्मेदवार दमन भण्डारीको वडासहित तीन वडाको तीन हजार ५ मत गणना सम्पन्न हुँदा ४६ मत बदर भएको छ।

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढ्यो


काठमाण्डौ । हप्ताको पहिलो दिन आज (आईबार) शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ३३ अङ्कले बढेर एक हजार नौ सय ८० दशमलव २७ विन्दुमा झरेको छ ।
व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको हो । पोखरा फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज रिभर फल्स पावर कम्पनीको शेयर साढे चार प्रतिशतभन्दा धेरैले घटेको छ ।
दोहोरो अङ्कले बजार बढेको दिन तीन सय आठ वटा कम्पनीका ६८ लाख ७८ हजार कित्ता शेयर दुई अर्ब ६८ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्सको १३ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको हो ।

सुदूरपश्चिमका किसानहरुलाई गहुँ भित्र्याउने चटारो

दार्चुला । दार्चुला सहित सुदूरपश्चिमका किसानहरुलाई यती बेला गहुँ भित्र्याउने चटारो परेको छ । यहाँका किसानले मङ्सिरमा गहुँ लगाउने र वैशाखको पहिलो हप्ताबाट काट्न सुरु गर्दछन् । दार्चुला, बैतडीमा वैशाख जेठमा असिना पानी पर्ने गरेकोले यती बेला किसानलाई पाकेको गहुँ त्यो बाट कसरी बचाउने भन्ने चिन्ता बढेको दार्चुलाका किसान गोबिन्द कुँवरले बताए ।

जिल्लाका केही ठाउँमा वैशाख सुरुवात सँगै गहुँ बाली पाक्न सुरु भएता पनि उच्च पाहाडी क्षेत्रका केही ठाउँमा भने बैशाखको अन्तिम जेठको पहिलो साताबाट पाक्न सुरु हुन्छ । गहुँ हिउँदे बाली भएकोले हिउँदमा वर्षा भएन भने उत्पादन घट्छ वर्षा भएमा उत्पादन बढ्छ ।

पछिल्लो समय यहाँका किसानले उन्नत जातको गहुँको बीउको प्रयोग गर्नाले पनि गहुँ उत्पादनमा केहि वृद्धि हुने गरेको पाइन्छ । दार्चुलामा अहिलेपनि अधिकाङ्स ठाउँमा आकाशे पानीको भरमा खेती हुने गरेको छ ।

जिल्लाको उत्पादन बढाई खाद्य सुरक्षामा टेवा पु¥याउन सिँचाइको क्षेत्रमा विस्तार गर्न निकै आवश्यक रहेको छ । बैतडीमा १५ हजार ४०० हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिदै आएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न, भण्डारीको अग्रता

चैनपुर । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्राप्त परिणाम अनुसार एक हजार छ सय ९२ मतगणना हुँदा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले सात सय ५७, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले तीन सय ८०, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले दुई सय २६, नेकपा एकीकृत (समाजवादी) का दिलबहादुर सिंहले एक सय १५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको नौ मतप्राप्त गर्नुभएको छ भने २८ मत बदर भएका छन् । रासस

मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गर्यो

काठमाडौँ । मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले पराजित गरेको छ । जीतका लागि १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले नटआउट रहँदै ७१ रन बनाए । उनले ४८ बलमा ६ चौका र २ छक्का हिर्काए । त्यस्तै गुल्सन झाले २६ रन तथा लोकेश बमले १७ रन बनाए । आरिफ शेखले १२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । गुडकेश मोटीले ०० रन प्रहार गरे । त्यस्तै, कप्तान रोस्टन चेसले २३ रन तथा ओपनर जोनसन चार्ल्सले ११ रनको योगदान दिए । नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २–२ विकेट लिए ।

जारी टी-२० क्रिकेटमा कप्तान रोहितकुमार पौडेलले वेस्टइन्डिज ‘ए’ विरुद्ध अर्धशतक गरे पूरा

काठमाडौं । घरेलु मैदान कीर्तिपुरमा जारी टी-२० क्रिकेटमा कप्तान रोहितकुमार पौडेलले वेस्टइन्डिज ‘ए’ विरुद्ध अर्धशतक पूरा गरेका छन् ।

लगातार विकेट गुमिरहँदा दबाबमा परेका कप्तान पौडेलले अर्धशतक गरेका हुन् । ३४ बलमा अर्धशतक गर्न पौडेलले चार चौका र एक छक्का प्रहार गरे ।

वेस्टइन्डिजविरुद्ध शनिबार भएको पहिलो खेलमा कप्तान पौडेलले शतक गरेका थिए ।

आज पनि अर्धशतक गरिसकेका कप्तान पौडेल टिमलाई जिताउन संघर्ष गरिरहेका छन् । १६१ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरको खेल सकिदा ७ विकेट गुमाएर १२२ रन जोडेको छ

इलाम उपनिर्वाचन नतिजामाः कांग्रेसको अग्रता

इलाम । इलाम–२ मा सुरु भएको मत गणना स्थल गौतमबुद्ध सभा गृहको बाहिर नतिजा पर्खेर मतदाता, राजनीतिक दलहरु पर्खिरहेका छन्। दिउँसो १२ बजे सुरु भएको मतगणनाको पहिलो नतिजा आइसकेको छ।

प्रारम्भिक नतिजामा कांग्रेसका नम्बर खड्काले अग्रता लिएका छन् । उनले ६५७ मत ल्याएका छन् । एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाउनुभएको छ भने स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १२७ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङले ११५ मत पाउँदा राप्रपाका लक्ष्मी गुरुङले ४ मत पाएका छन् ।

वेस्ट इन्डिज ‘ए’ ले दियो नेपाललाई १६१ रनको लक्ष्य

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’विरुद्ध टी–२० सिरिजको दोस्रो खेलमा जितका लागि नेपालाई वेस्ट इन्डिज ‘ए’ ले एक सय ६१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनायो ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ४३ रन बनाए । यस्तै गुडाकेश मोतीले अविजित ३३ रन बनायो । कप्तान रोस्टन चेजले २३, ओपनर जोनसन चाल्र्सले ११, केसी कार्टीले १० र म्याथ्यु फर्डले अविजित ११ख रन बनाए ।

बलिङमा नेपालका सागर ढकाल र कुशल भुर्तेलले दुई दुई विकेट लिए। सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट झारे ।

नेपाल आज बलियो वेस्ट इन्डिजविरुद्ध लगातार दोस्रो जित निकाल्दै सिरिजमा २–० को अग्रता बनाउने लक्ष्यमा छ । यस्तै पाँच खेलको सिरिजमा वेस्ट इन्डिज पनि पहिलो जित निकाल्ने तयारीमा छ ।

पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दुई टोलीबिच तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ ।

नेपालले वेस्ट इन्डिज ‘ए’ सँग आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकप तयारीका लागि सिरिज खेलेको हो ।

चीनद्धारा नेपाली नागरिकलाई भिसा निःशुल्क

काठमाडौं । चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ ।

१ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सङले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिएका छन् ।

दूतावासका अनुसार नियमित भिसा शुल्क नलागे पनि एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने छ ।

चिनियाँ दूतावासले नियमित, एक्सप्रेस–१ र एक्सप्रेस–२ भिसाका लागि शुल्क लिने गरेको थियो । नियमित शुल्क अब लाग्ने छैन । दूतावासले एक्सप्रेस–१ का लागि ४०० र एक्सप्रेस–२ का लागि २ हजार ७०० रुपैयाँ लिने छ । यसैगरी ग्रुप भिसातर्फ एक्सप्रेस–१ का लागि २ हजार र एक्सप्रेस–२ का लागि १ हजार ३५० रुपैयाँ लाग्ने दूतावासले जनाएको छ ।

यसैगरी भिसा सेन्टरले नियमित भिसाका लागि सेवा शुल्कवाफत् ३ हजार ९०० रुपैयाँ लिनेछ । एक्सप्रेस–१ का लागि ७ हजार ८०० र एक्सप्रेस–२ का लागि ५ हजार ८५० रुपैयाँ तोकिएको छ ।

नेपालले पहिलेदेखि नै चिनियाँलाई भिसा शुल्क लिँदैन । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हालै गरेको चीन भ्रमणको क्रममा नेपालीलाई भिसा निःशुल्क गर्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए ।