लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । लगानी सम्मेलनका पूर्वसन्ध्यामा सरकारले ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो । संविधानको धारा ११४ ९१० बमोजिम राष्ट्रपति पौडेलले आइतबार अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो दोस्रो विकेट पनि गुमायो

काठमाडौँ । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो दोस्रो विकेट पनि गुमाएको छ । वेस्ट इन्डिजको दोस्रो विकेट पनि सागर ढकालले लिएका हुन् ।

उनले वेस्ट इन्डिजका अर्का ओपनर ब्याट्सम्यान जोन्सन चार्लिसलाई ११ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । सागरले लिएको यो दोस्रो विकेट हो । २.५ ओभरमा जोन्सन आउट हुँदा वेस्ट इन्डिजले १८ रन बनाएको थियो ।

त्यसअघि वेस्ट इन्डिजको पहिलो विकेट पनि सागर ढकालले नै लिएका थिए । उनले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान एलिक अथान्जलाई ६ रनको ब्यक्तिगत स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका थिए । २.२ ओभरमा अथान्ज आउट हुँदा क्यारेबियन टोलीले १७ रन बनाएको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’ टोलीले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । यसअघि शनिबार खेलिएको पहिलो टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो ।

टिकटक स्टारको गोली हानी हत्या

बगदाद । इराकी टिकटक स्टार घुफ्रान सावादीको गोली हानी हत्या भएको छ । उम फहाद भनेर टिकटकमा चर्चित उनको बगदादस्थित आफ्नै घरबाहिर शुक्रबार राति गोली हानेर हत्या गरिएको स्थानीय प्रहरीले बताएको छ ।

घटना पूर्वी बगदादको जायोउना क्षेत्रमा भएको हो । घटना सर्भिलियन्स क्यामरामा कैद भएको र सामाजिक सञ्जालमा व्यापक शेयर भएका छन् ।

भिडियोमा मोटरसाइकल चढेर आएका एक बन्दुकधारीले सावादीमाथि गोली चलाएको र घटनास्थलमै उनको मृत्यु भएको देख्न सकिन्छ । यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको बताइएको छ । टिकटकमा सवादीले पप गीतमा नाचेको भिडियोहरू हाल्ने गर्थिन् ।

विगतमा पनि यस्ता कन्टेन्टका लागि उनले ६ महिनाको जेल सजाय भोगेकी थिइन् । गएको वर्ष सेप्टेम्बरमा बगदादमै नूर बीएमको नामले टिकटकमा चर्चित नूर अलसफरको गोली हानेर हत्या गरिएको थियो । एजेन्सी

नक्कली लाइसेन्स प्रकरणः यातायात विभागका इञ्जिनियर भट्ट सहित २ जना पक्राउ

काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याललाई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो ।

देशभरका यातायात कार्यालयबाट एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको घटनामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । शनिबार पक्राउ परेका भट्ट यातायात व्यवस्था विभागका करारका इञ्जिनियर हुन् ।

गत पुसमा यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट जारी भएको लाइसेन्सको डाटाबेसबारे अध्ययन गरेको थियो ।

अध्ययनले ५ वर्षको अवधिमा देशभरका यातायात कार्यालयबाट करिब ७३ हजार नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) जारी भएको भेटिएको थियो । तीबाहेक प्रदेश सरकार मातहतका यातायात कार्यालयहरुमा गडबड भएको भेटिएपछि जारी गर्ने तयारीमा रहेका करिब २३ हजार लाइसेन्स रोकिएका थिए ।

देशभरका ३५ वटा यातायात कार्यालयका प्रमुखलाई दिइएको मास्टर युजर आईडी र पासवर्डको दुरुपयोग गरी लाइसेन्स बाँडेको फेला परेको थियो । त्यो काममा विभागका इञ्जिनियर हरिश भट्टको पनि मिलेमतो देखिएको आरोपमा सीआईबीले उनलाई पक्राउ गरेको हो ।

संघीयता कार्यान्वयनका क्रममा संघीय सरकार मातहत रहेको यातायात व्यवस्था तथा सवारीचालक अनुमतिपत्रको क्षेत्राधिकार प्रदेश तहमा पुगेको थियो । सवारीचालक अनुमतिपत्रको व्यवस्थापन र नियमन गर्ने यातायात व्यवस्था विभागले २८ मंसिर २०७५ मा मातहतका कार्यालय र त्यहाँका सबै अभिलेखलाई सम्बन्धित प्रदेश सरकारहरुलाई हस्तान्तरण गरेको थियो । एकरुपताका लागि भने सबै प्रदेशको डाटाबेस मात्रै विभागमा थियो ।

यातायात व्यवस्था विभागका कर्मचारीका अनुसार, २०७० सालदेखि २०७३ सालसम्म यातायात व्यवस्था विभाग र माहतहतका यातायात कार्यालयमा रहेको सवारीचालक अनुमतिपत्रको विवरण डाटाबेसमा राखिएको थियो ।

त्यसक्रममा केही छुटेको भनेर पछिसम्म थप्ने काम भइरहेको थियो । त्यसक्रममा नियमित प्रयोगमा नरहेका र निष्कृय लाइसेन्सधारीहरुको पहिचान गरी उनीहरुको ठाँउमा अर्कैको लाइसेन्स जारी गर्ने काम भएको अनुसन्धानबाट खुलेको हो ।

आजबाट नेपालमा २ दिने तेश्रो लगानी सम्मेलन हुने

काठमाडौं । आजबाट नेपालमा २ दिने तेश्रो लगानी सम्मेलन हुने भएको छ । काठमाडौंको सोल्टी होटेलमा आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ ।

इमर्जिङ इन्भेष्टमेन्ट समिट २०२४ नाम दिइएको लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर १६ सय जना सहभागी हुंदैछन् भने नेपालबाट २ सय प्रतिनिधी सहभागी हुने भएका छन् । लगानी बोर्डका अनुसार सम्मेलनका लागि विभिन्न ५५ वटा देशका लगानीकर्ता आउँदैछन् । सम्मेलनमा एक सय ५० आयोजना सोकेसमा राखिँदैछन् ।

यस्तै सम्मेलन स्थलमा २३ वटा प्रदर्शनी कक्ष रहनेछन् । सम्मेलनका क्रममा विभिन्न १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कुल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् ।

पहिलो दिन आज उदघाटन सत्र रहेको छ । त्यस्तै दोस्रो दिन सोमबार ११ समानान्तर सत्र सञ्चालन हुनेछन् । विदेशी तथा स्वदेशी लगानीकर्तालाई सम्मेलनमार्फत नेपाल लगानीका लागि आकर्षक गन्तव्यका रूपमा रहेको सन्देश दिइने लगानी बोर्डले जनाएको छ ।

लगानीकर्ताको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सम्मेलन स्थल ताहाचलको सोल्टी होटलसम्म स्वागतद्वार निर्माण गरिएका छन् ।

आजदेखि सात जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइँदै

काठमाडौं । सरकारले यही वैशाख १६ गते (आज) देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ ।

हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए ।

यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालेको हो । अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ । अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छन् ।

निर्देशक डा मरासिनीका अनुसार सात जिल्लाका एक सय एक स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो ।

दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधि खुवाइने उनले बताए। गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले सो औषधि खान नहुने निर्देशक डा मरासिनीले बताए । हात्तीपाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सफल भएको उनको भनाइ छ ।

हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुकाजस्तै परजीवीले गराउँछ । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका लक्षण शरीरमा देखिने निर्देशक डा मरासिनीले बताए।

हात्तीपाइले रोगको धेरैजस्तो सङ्क्रमण लक्षण बिनाको हुने भएकाले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ । त्यसैले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्णरुपमा निको हुन आम औषधि सेवन गर्न जरुरी छ ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा अभियानका फोकल पर्सन रामकुमार महतोले ५३ जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको सङ्क्रमण रोकिएको बताए । उनका अनुसार दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको सङ्क्रमण रोकिएको छ ।

इलाम र बझाङमा हिजो भएको मतदानको गणनाका लागि आज सर्वदलीय बैठक

काठमाण्डौ । इलाम र बझाङमा हिजो भएको मतदानको गणनाका लागि आज सर्वदलीय बैठक बस्दैछ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना गर्नका लागि अहिले बिहान सर्वदलीय बैठक बस्दैछ । मतपेटिका गएराति अबेर मात्र सङ्कलन गरेर सदमुकामको मतगणनास्थल ल्याइएको छ । आज बिहान सर्वदलीय बैठक बसेर निर्णयअनुसार मतगणना शुरु गर्ने तयारी छ ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै राजनीतिक दल र उम्मेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकका लागि बोलाइएको जानकारी दिए । सबै प्रक्रिया पूरा गरेर बिहान ११ बजेपछि गणना शुरु गर्ने तयारी छ ।

इलामको गौतम बुद्ध सभा हलका दुई ठाउँमा मतगणना हुनेछ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा तारबार गरी सिसीटिभी जडान गरिएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार सबै मतपेटिका उच्च सुरक्षा साथ राखिएको छ । इलाम–२ मा राजनीतिक दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यहाँ हिजो भएको उपचुनावमा ६० प्रतिशत मत खसेको छ ।

एमाले नेता तथा सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ मा उपचुनाव भएको हो । उहाँका छोरा सुहाङलाई एमालेले उम्मेदवार बनाएको छ भने कांग्रेसबाट डम्बर खड्का हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूसहित १२ दल तथा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम गरी सात स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै प्रदेशसभा सदस्यका लागि बझाङ–१ (क) मा भएको उपचुनावमा झन्डै ५० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी मानबहादुर धामीकाअनुसार साइपाल गाउँपालिकाबाहेकका अन्य ९० वटा केन्द्रका मतपेटिका सदरमुकाममा सङ्कलन गरिएको छ ।

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

काठमाडौ । आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ ।

आयोजना पहिचान भएर पूर्वसम्भाव्यता अध्ययन पूरा भएका तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढिसकेका आयोजनाहरूमा लगानी सम्मेलनमार्फत स्वदेशी तथा विदेशी लगानीकर्ताबाट आशयपत्र आह्वान गर्न लागिएको हो । लगानीका निम्ति आशयपत्र आह्वान गरिने यी २० परियोजनाको विद्यमान अवस्था, लागतअनुमानसहितको विवरण यहाँ प्रस्तुत छ ।

धुलिखेल मेडिसिटी परियोजना

काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिकामा धुलिखेल मेडिसिटी परियोजनालाई विशिष्टिकृत (सुपर स्पेशलिटी) अस्पतालका रूपमा परिकल्पना गरेर प्रस्ताव तयार गरिएको छ । यो परियोजनाको प्रस्तावित लागत रु ११ अर्ब छ । आधुनिक प्रविधिसँगै विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो परियोजना निर्माण गर्ने सरकारको योजना छ । विश्वस्तरीय मेडिकल सेन्टर स्थापना गर्ने र स्वास्थ्य सेवा लिन मेडिकल टुरिजमको हबका रूपमा विकास गर्ने परियोजनाको लक्ष्य छ । यो अस्पतालबाट मुटु, हाडजोर्नी, न्यूरोलोजी, क्यान्सरसम्बन्धी उपचार, कस्मेटिक सर्जरीलगायत विशेषज्ञ सेवा प्रदान गरिनेछ ।

सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना

यो परियोजनाले सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली, कञ्चनपुर र डोटी जिल्लाको यातायात अवस्थालाई सुधार गर्नेछ । परियोजनामा एक सय ७२ बस (६८ डिजेल बस, एक सय चार विद्युतीय बस) तथा ४७ बसबिसौनी प्रस्ताव गरिएको छ । धनगढीबाट चिसापानीसम्म २१ वटा, टीकापुर–लम्कीसम्म चारवटा, गड्डाचौकीबाट अत्तरियासम्म १० वटा र अत्तरियाबाट डोटीसम्म १२ वटा स्टप राखिनेछ । बीच–बीचमा पेट्रोलपम्प र चार्जिङ स्टेशन पनि राखिने छन् । यसको प्रस्तावित लागत रु ३१ अर्ब १३ करोड छ । यो परियोजना निर्माण सुरु भएको तीन वर्षभित्र बनाइसक्ने लक्ष्य छ ।

सुदूरपश्चिम सार्वजनिक यातायात आयोजनाले यातायात पूर्वाधारमा जोड दिएको छ । यातायात व्यवस्था तथा ट्राफिक जामलाई कम गर्न तथा कमजोर सहरी पूर्वाधारजस्ता विद्यमान चुनौतीलाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेशमा यो परियोजना सुरु गर्ने आयोजना छ । सुदूरपश्चिममा विद्युतीय बस सञ्चालन र यातायात सुविधामा स्तरोन्नति गर्न सन् २०२३ मा पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो ।

नौमुरे बहुउद्देश्यीय परियोजना

जलविद्युत् उत्पादन र सिँचाइका लागि नौमुरे बहुउद्देश्यीय आयोजना प्रस्ताव गरिएको छ । यो आयोजनाको लागत रु ९२ अर्ब अनुमान गरिएको छ । कुल दुई सय ८१ दशमलव ०४ मेगावाट उत्पादन क्षमताको यो परियोजनाले तीनवटा जलविद्युत् योजनालाई समेटेको छ । परियोजनामा नौमुरे (दुई सय १८ दशमलव ३४ मेगावाट), लामाताल (आठ मेगावाट) र सुरैनाका (५४ दशमलव सात मेगावाट) छन् ।

कपिलवस्तु सिँचाइ प्रणालीसँगै यसले देउखुरी उपत्यकाको विद्यमान सिँचाइ प्रणालीलाई पनि समेट्छ । यो परियोजनाबाट बाँके जिल्लामा ४२ हजार सात सय ६६ हेक्टर र कपिलवस्तुमा २९ हजार सात सय ३६ हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

खिम्ती ठोसे शिवालय जलाशययुक्त जलविद्युत् आयोजना

 एक हजार दुई सय १६ मेगावाट विद्युत् उत्पादन क्षमताको खिम्ती ठोसे शिवालय जलाशयुयुक्त आयोजना दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्छ । यो नेपालका ठूला जलविद्युत् परियोजनामध्येको एक हो । यो आयोजनाको प्रस्तावित लागत अनुमान रु दुई खर्ब ८९ अर्ब ७७ करोड बराबर रहेको छ ।

हुम्ला कर्णाली जलविद्युत् आयोजना

हुम्ला कर्णाली जलविद्युत आयोजनाको विद्युत् उत्पादन क्षमता ६१ दशमलव दुई मेगावाट छ र यो परियोजनाले वार्षिक तीन सय ९० दशमलव २९ गिगावट आवर ऊर्जा उत्पादन गर्न सक्छ । यो परियोजना हुम्लाको नाम्खा गाउँपालिकामा पर्छ । यस गाउँपालिकामा हालसम्म नेपालतर्फबाट सवारीसाधनको पहुँच पुग्न सकेको छैन । यद्यपि हिल्सामा तिब्बत स्वायत्त क्षेत्र सीमा क्रसिङबाट निर्मित हिल्सा–सिमिकोट सडकखण्ड भने बनेको छ । यो आयोजनाको लागत अनुमान रु १४ अर्ब ७० करोड बराबर रहेको छ ।

माथिल्लो चमेलिया जलविद्युत् आयोजना

दार्चुला जिल्लाको अपीहिमाल गाउँपालिकामा रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता ५३ दशमलव ८५ मेगावाट रहेको छ । वार्षिक तीन सय १९ दशमलव २१ गिगावाट आवर ऊर्जा उत्पादन हुने अनुमान गरिएको यो परियोजनाको लागत रु ११ अर्ब ९० करोड बराबर छ ।

पाँचखाल विशेष आर्थिक क्षेत्र

काभ्रेपलाञ्चोक जिल्लाअन्तगर्तको पाँचखाल नगरपालिकामा यो परियोजना आर्थिक विकास र प्रवर्द्धन गर्ने रणनीतिक पहल हो । पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गरेर पाँचखाल क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न, रोजगारीलाई प्रोत्साहन गर्नेे निर्यात क्षमता अभिवृद्धि गर्ने लक्ष्य यो परियोजनाको छ । यो परियोजनाको प्रस्तावित लगानी एक अर्ब ५७ करोड छ । २०६९ सालमा नै यसको सम्भाव्यता अध्ययन भइसकेको छ ।

कवाडीखोला जलविद्युत् आयोजना

कुल ३० मेगावाट उत्पादन क्षमताको कवाडीखोला जलविद्युत् आयोजनाका लागि रु छ अर्ब ४१ करोड बराबर लागत अनुमान गरिएको छ । बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताँजाकोट गाउँपालिकामा पर्ने यस परियोजनाले १० वर्षमा लगानीको प्रतिफल दिने अपेक्षा गरिएको छ । सार्वजनिक निजी साझेदारीअन्तर्गतको निर्माण–सञ्चालन–हस्तान्तरण (बुट) मोडलमा यो परियोजना विकास गर्ने प्रस्ताव गरिएको छ । सन् २०२० मा सम्भाव्यता अध्ययन भएको यो परियोजनालाई विद्युत् विकास विभागले सोकेसका लागि प्रस्ताव गरेको हो । परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिसकेको छ ।

कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजना

तनहुँ, पाल्पा, नवरपुर र स्याङ्जा जिल्लामा निर्माण प्रस्ताव गरिएको कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता छ सय ५० मेगावाट रहने छ । कुल रु एक खर्ब ७४ अर्ब ७३ करोड बराबर लागत अनुमान गरिएको यो परियोजनाका लागि १० हजार नौ सय ३४ हेक्टर जमिन आवश्यक पर्नेछ । सत्तरी प्रतिशत ऋण तथा ३० प्रतिशत स्वपुँजी रहनेगरी यो आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचा प्रस्ताव गरिएको छ । आयोजनाको पूर्वसम्भाव्यता अध्ययनको काम सकिसकेको छ भने सन् २०२५ सम्ममा वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिसक्ने लक्ष्य राखिएको छ ।

भारबुङ जलाशययुक्त जलविद्युत् आयोजना

तीन सय ७७ दशमलव एक मेगावाट उत्पादन क्षमताको रु ८० अर्ब १२ करोड लागत अनुमान गरिएको भारबुङ जलाशययुक्त जलविद्युत् आयोजनालाई पनि लगानी सम्मेलनमार्फत आशयपत्र माग गर्न ‘सोकेस’मा राखिएको छ । कुल सय हेक्टर जमिन आवश्यक पर्ने यो आयोजना डोल्पाको ठूलीभेरी नदीमा निर्माण गर्ने प्रस्ताव गरिएको छ । आयोजनाको पूर्वसम्भाव्यता अध्ययनको काम सकिसकेको छ भने सन् २०२४ भित्रै सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि सकिसक्ने गरी विद्युत् विकास विभागले यो परियोजना लगानी सम्मेलनमा सोकेसमा राखेको हो ।

तोम दोगर बुढीगण्डकी जलविद्युत् आयोजना

कुल ४० दशमलव ०२ मेगावाट विद्युत् उत्पादन क्षमताको नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाका रूपमा तोम दोगर बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पनि लगानी सम्मेलनमार्फत आशयपत्र मागका लागि सोकेसमा राख्न लागिएको छ । यो जलविद्युत् आयोजनाका लागि कुल रु ८० अर्ब १२ करोड लागत अनुमान गरिएको छ । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका बन्ने यो आयोजनाको पूर्वसम्भाव्यता अध्ययन विद्युत् विकास विभागले गरिसकेको छ ।

सुपर बुढीगण्डकी जलविद्युत् आयोजना

गोरखा जिल्लामा निर्माण प्रस्ताव गरिएको सुपर बुढीगण्डकी जलविद्युत् आयोजनामा आशयपत्र आह्वानका लागि विद्युत् विकास विभागमार्फत लगानी सम्मेलनमा सोकेसमा राख्न प्रस्ताव भएको हो । कुल ३४ दशमलव ९३ मेगावाट उत्पादन क्षमता रहेको यो जलविद्युत् आयोजनाको लागत रु सात अर्ब ३४ करोड अनुमान गरिएको छ ।

पोखरा अन्तराष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र

लगानी बोर्डका अनुसार पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र परियोजनाको अनुमानित लागत रु तीन अर्ब ७२ करोड रहेको छ । लगानी सम्मेलनमार्फत लगानी जुटाउने लक्ष्यका साथ यो परियोजना सोकेसमा राख्न लागिएको छ । प्रस्तावित यस परियोजनाले पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र निर्माण गर्ने लक्ष्य राखेको छ । यो परियोजनामा पाँचतारे होटल, रेष्टुरेन्ट, म्युजियम र बाल उद्यान सञ्चालन गर्ने लक्ष्य राखिएको छ । जुन परियोजनमा पाँच सय जना अटाउन सक्ने एम्फीथिएटर, दुईवटा प्रदर्शनी हल, पाँचतारे होटल (दुई सय कोठा), रेस्टुराँ र फुडकोर्ट, सङ्ग्रहालय र स्मारिका कोठा, बाल उद्यान, तीन हजार मानिस अटाउने सम्मेलन हल, वनभोज क्षेत्र रहने प्रस्ताव गरिने छ ।

पोखराको प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको र पर्यटकीय अकर्षणको केन्द्रबिन्दु बन्दै गइरहेको सन्दर्भमा पर्यटक बढाउन यस्ता परियोजना सञ्चालन गर्न आवश्यक छ । बोर्डका अनुसार अत्याधुनिक सेवा सुविधा दिन सकिने, सङ्ग्रहालय र सांस्कृतिक आकर्षण, मनोरञ्जनका क्षेत्र, अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोमिटरको दूरीमा रहेको, पर्यावरण अनुकूल डिजाइन र सञ्चालन नै परियोजनाका मुख्य विशेषता रहेका छन् ।

दैजी औद्योगिक क्षेत्र

सम्मेलनमा ‘दैजी औद्योगिक क्षेत्र’ परियोजनाका लागि पनि लगानीकर्ताबाट आशयपत्र माग गर्न लागिएको छ । यो औद्योगिक क्षेत्रको अनुमानित लागत रु आठ अर्ब ६० करोड रहेको छ । औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटडेटले यो परियोजनाको लागत र उद्देश्यको खाकासहित सम्मेलनमा सोकेसका लागि छनोट गरेको हो । सुदूरपश्चिम प्रदेशमा औद्योगिकीकरणका लागि दैजी औद्योगिक क्षेत्र निर्माण प्रस्ताव गरिएको छ । यस औद्योगिक क्षेत्रले औद्योगिक उत्पादन र उत्पादकत्वमा सुधार गर्ने र स्थानीय विशेषज्ञता, उपलब्ध स्रोतसाधनको उपयोग गर्ने र निर्यात प्रवर्द्धन गर्ने लक्ष्य छ । लगानी बोर्डका अनुसार एक सय औद्योगिक प्लट, ठूला सवारीसाधन पार्किङ क्षेत्र, प्रशासनिक ब्लक, हेलिप्याड, पेट्रोलपम्प, तौल स्टेशन, पानी आपूर्ति र फायर फाइटिङ सिस्टम, विद्युतीय प्रणाली जडान गर्ने कार्य यो परियोजनाका लागि प्रस्ताव गरिएको छ ।

बबरमहल प्रशासनिक प्लाजा

विभिन्न सरकारी कार्यालय राख्ने लक्ष्यका साथ बबरमहल प्रशासनिक प्लाजा निर्माणका लागि लगानी सम्मेलनमार्फत आशयपत्र माग गर्न लागिएको छ । कुल ३० हजार २१ वर्गमिटरमा फैलिएको यो परियोजना विकासका लागि सहरी विकास मन्त्रालयले प्रस्ताव गरेको हो । यो परियोजनाको अनुमानित लागत रु १० अर्ब २० करोड रहेको छ ।

महादेव खोला जलाशय निर्माण

खानेपानी मन्त्रालयले अध्ययन गरेको यो परियोजनको अनुमानित लागत रु दुई अर्ब ४५ करोड छ । जलवायु परिवर्तनको बढ्दो प्रभाव न्यूनीकरण गर्न यो परियोजना सञ्चालन गर्न आवश्यक रहेको अध्ययनमा उल्लेख छ । मुख्यतया खानेपानी र अन्य घरेलु प्रयोजनका लागि पानीको नियमित उपलब्धता सुनिश्चित गर्न सहयोग गर्नेगरी परियोजना सञ्चालन गर्ने लक्ष्य राखिएको छ । महादेव खोला जलाधारलाई संरक्षण गर्दै भक्तपुरस्थित चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका बासिन्दालाई खानेपानीको दिगो उपलब्धता सुनिश्चित गर्ने परियोजनाको लक्ष्य छ । जलाशयको वरिपरि मनोरञ्जनका लागि पूर्वाधार (नगरकोट फल्स) निर्माण गर्ने लक्ष्य राखिएको छ ।

कर्णाली चिसापानी वायुऊर्जा परियोजना

दश मेगावाट बराबरको ‘कर्णाली चिसापानी वायु ऊर्जा’ परियोजनाका लागि पनि लगानी सम्मेलनमार्फत लगानीका लागि आशयपत्र माग गर्न लागिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अध्ययन गरेको उक्त परियजनाको लागत भने रु १४ अर्ब ७३ करोड छ । नेपालको नवीकरणीय ऊर्जा सम्भाव्यता प्राप्त भएको र यसमा वायु ऊर्जाको हिस्सा न्यून रहेको भन्दै ऊर्जा सुरक्षाको दृष्टिले राष्ट्रिय विद्युत् प्रणालीमा उपयुक्त ऊर्जा मिश्रण अवलम्बन गर्न परियोजना सञ्चालन गर्न उपयुक्त रहेको अध्ययनमा उल्लेख छ ।

चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन दु्रतमार्ग

लगानी बोर्डद्वारा अध्ययन भएको यस परियोजनाको अनुमानित लागत रु दुई खर्ब २१ अर्ब रहेको छ । प्रस्तावित यस दु्रतमार्गले चितवनबाट काठमाडौँ उपत्यका जोड्ने यातायात सञ्जाललाई छिटो र भरपर्दो बनाउने लक्ष्य राखेको छ । सडक पूर्वाधारका क्षेत्रमा लगानीका लागि प्रस्ताव गरिएको ठूलामध्येको यो पनि एक आयोजना हो ।

जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज

लगानी बोर्डद्वारा अध्ययन गरिएको यस परियोजनाको अनुमानित लागत रु दुई अर्ब ३५ करोड रहेको छ । जनकपुरधामलाई मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तथा त्यस क्षेत्रलाई पर्यापर्यटनका रूपमा विस्तार गर्न यो परियोजना निर्माणको प्रस्ताव गरिएको छ । यसमा सुविधासम्पन्न होटल, सांस्कृतिक गाउँको विकास र सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य छ । जसबाट यस क्षेत्रको सम्पदा, संस्कृति र परम्परा प्रदर्शन हुनुका साथै पर्यटकीय विकासको माध्यम बन्न सकिने अपेक्षा गरिएको छ । परियोजनाको मुख्य लक्ष्य भारतीयलाई आकर्षित गर्नु हो । नेपाल र भारतबीचको धार्मिक सम्बन्धको फाइदा उठाउँदै पर्यटक भित्र्याउने लक्ष्य छ ।

धौवादी फलाम खानी उत्खनन आयोजना

नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका–५ मा रहेको धौवादी खानी उत्खनन गर्ने र वार्षिक करिब पाँच लाख मेट्रिक टन स्टिल बिलेट (फलामको कच्चा पदार्थ) निकाल्ने उद्देश्यका साथ सरकारले यो आयोजना विकासको योजना अघि सारेको छ । यो योजनाका लागि रु ५१ अर्ब २५ करोड लागत अनुमान गरिएको छ । धौवादी फलाम खानी उत्खननका लागि सन् २०२३ मा सम्भाव्यता अध्ययन भइसकेको छ ।

सम्मेलनमा विभिन्न क्षेत्रका एक सय ५१ वटा परियोजना प्रस्तुत हुँदैछन् । तीमध्ये सबैभन्दा धेरै ऊर्जा क्षेत्रका ३१ वटा आयोजना छन् । यसैगरी यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषि क्षेत्रका १४, उत्पादन क्षेत्रका पाँच, औद्योगिक पूर्वाधार तथा व्यापार ‘लजिस्टिक’ क्षेत्रका सात, स्वास्थ्य तथा शिक्षा क्षेत्रका तीन, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका दुई, पानी आपूर्तिका चार र सहरी विकाससम्बन्धी छवटा परियोजना छन् । निजी क्षेत्रबाट प्रस्तावित ३१ परियोजना पनि समावेश गरिएको छ ।

नेपालले वेस्टइन्डिज ए सँग आज दोस्रो खेल खेल्दै

काठमाडाै । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज वेस्ट इन्डिजको ‘ए’ टोलीसँग मैत्रीपूर्ण टी-२० प्रतियोगिताको दोस्रो खेल खेल्दै छ । खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी बनेको थियो ।

नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्याएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेलेका थिए ।

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आजकाे लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १३३ रुपैया ०५ पैसा पैसा र बिक्री दर १३३ रुपैया ६५ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६५ रुपैयाँ ५१ पैसा र बिक्री दर १६७ रुपैयाँ २६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४५ रुपैयाँ ९७ पैसा र बिक्री दर १४६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९७ पैसा र बिक्री दर ८७ रुपैयाँ ५७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ८८ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ४९ पैसा र बिक्री दर ८ रुपैयाँ ५३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३६ पैसा र बिक्री दर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

भत्ता सुविधा लिँदा अनिवार्य राष्ट्रिय परिचयपत्र देखाउनुपर्ने

चितवन । आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता लिने हरेक नागरिकलाई भत्ता सुविधा दिँदा अनिवार्य राष्ट्रिय परिचयपत्र देखाउनुपर्ने भएको छ ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका निर्देशक मुकेशकुमार केशरीले सोको लागि आगामी साउन १ गतेबाट लागू हुने गरी राजपत्रमा प्रकाशन गर्ने तयारी रहेको बताए ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित अन्तरक्रियामा उनले भने, “अब सामाजिक सुरक्षा भत्ता मात्र नभई नागरिकता देखाएर पाइने गरेको सबै सेवा राष्ट्रिय परिचयपत्रको आधारमा दिने सरकारको तयारी छ ।” उनले सामाजिक सुरक्षा भत्ता लिने सम्पूर्ण लाभग्राहीको विवरण सङ्कलन तीव्र पारिएको भन्दै राष्ट्रिय परिचयपत्रमा बायोमेट्रिक प्रणाली हुने हुँदा भत्ता वितरणमा भएको अनियमितता अन्त्य हुने विश्वास व्यक्त गरे ।

विभागका अनुसार राष्ट्रिय परिचयपत्रमा नागरिकको वैयिक्तक तथा जैविक विवरण हुन्छ । आँखाको पर्दा स्क्यान गरी त्यसको विवरण परिचयपत्रमा राखिनुका साथै बायोमेट्रिक नमुना लिइएको हुन्छ । हाल ई–पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले व्यक्तिको परिचय प्रमाणीकरण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको उल्लेख गरे । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले क्रमशः सबै नागरिकले परिचयपत्र हात पार्ने बताए । नयाँ प्रविधि प्रयोग हुन थालेको अवस्थामा सरकारले प्रत्येक नेपाली नागरिकको परिचय खुल्ने गरी विद्युतीय अभिलेख राख्ने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सुरु गरेको उनले बताए।

चितवनमा हालसम्म वडा तहबाट तीन लाख २५ हजार चार सय ७० र जिल्ला प्रशासन कार्यालयबाट एक लाख १५ हजार सात सय ६१ जनाले राष्ट्रिय परिचयपत्रको फारम भरेका छन् । जिल्लामा हालसम्म २१ हजार कार्ड आइसकेकामा जम्मा पाँच हजार पाँच सय ९६ जनाले कार्ड लगेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कस्ताे रहला आजकाे माैसम ?

काठमाडौ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा अहिले आंशिक बदली भएको तथा बाँकी क्षेत्रमा मौसम सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा भागमा मौसम सफा रहने छ । गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

इलाम-२ मा बिहान ७ बजेदेखि मतगणना सुरु हुने

करिब ५७ प्रतिशत मात्र मतदान भएको आकन गरिएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमै मतदान सकिएको थियाे ।

इलाम २ मा एक लाख १५ हजार ८८९ मतदातामध्ये करिब ६६ हजार अर्थात् करिब ५७ प्रतिशत मत खसेको आकलन गरिएको छ । सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान सकिएको घिमिरेले बताए ।
राति १० बजेसम्म इलाम सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याइने र आइतबार बिहानबाट मतगणना गर्ने सहमति भएको छ ।

शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो। इलाम २ मा एक स्थानका लागि राजनीतिक दलका १२ र स्वतन्त्र उम्मेदवार सातजना गरी १९ जनाले चुनावी प्रतिस्पर्धामा भाग लिएका छन्।

तेस्रो लगानी सम्मेलन आजदेखि सुरु, विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौँ । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आजदेखि दुई दिवसीय तेस्रो लगानी सम्मेलन सुरु हुँदैछ । दोस्रो सम्मेलन भएको पाँच वर्षपछि हुन लागेको सम्मेलनलाई व्यवस्थित बनाउन सरकारले आवश्यक तयारी गरेको छ । आयोजना छनोटदेखि व्यवस्थापनको कामलाई समेत उत्तिकै महत्व दिइएको छ ।

लगानी बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री वर्षमान पुनले अन्तरसरकारी निकाय, सरोकारवाला पक्ष, व्यक्ति र संस्थासँग निरन्तर छलफल गरिरहनुभएको छ । अर्थमन्त्री पुनले आफ्नै हस्ताक्षरमा विश्वभरका लगानीकर्तालाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक विशेष समारोहका बीच सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनमा स्वदेश तथा विदेशबाट गरी एक हजार छ सय जनाको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डले सम्मेलनका लागि दुई हजार चार सय बढीलाई निमन्त्रणा पठाएको थियो ।

यसअघि सरकारले २०७३ र २०७५ सालमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो । कोरोनालगायतका कारणले घोषणा भए पनि सम्मेलन हुनसकेको थिएन । नेपालको हकमा २०४९ सालमा सरकार र निजी क्षेत्रको सहकार्यमा सम्मेलन आयोजना भएको थियो । सोही सम्मेलनका आधारमा सरकारले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९’ तय गरेको थियो । बोर्डका अनुसार २०७३ को पहिलो लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी गरी करिब पाँच सयको सहभागिता थियो । सो सम्मेलनमा २३ देशका दुई सय ५० बढीको सहभागिता थियो ।

नेपाल लगानीका लागि तयार छ भन्ने सन्देश दिन सफल सो सम्मेलन विशेषगरी भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित थियो । बोर्डका अनुसार २०७५ सालमा आयोजित लगानी सम्मेलनमा ४० देशका सात सय बढीको सहभागिता थियो । रु १७ खर्ब ३० अर्ब बराबरको प्रतिबद्धता आएको सो सम्मेलनमा कृषि, जलविद्युत्, पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको थियो ।

विसं २०७५ चैत १५ र १६ गते आयोजना गरिएको सम्मेलनमा ६६ आयोजनाको सूची प्रस्तुत गरिएको थियो । सम्मेलनमा रु ६४ करोडदेखि रु तीन खर्ब ५० अर्बसम्मका परियोजना प्रस्तुत गरिएका थिए । विशेषगरी ऊर्जा, भौतिक पूर्वाधार, कृषि, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको थियो ।

अघिल्ला दुईवटा सम्मेलनको सकारात्मक पाटोलाई मूर्त बनाउँदै उपलव्धिको खोजी गर्ने लक्ष्यका साथ यसपटकको सम्मेलनलाई थप व्यवस्थित बनाइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले रासससँगको कुराकानीका क्रममा जानकारी दिएकाा थिए।

सम्मेलनलाई केन्द्रमा राखेर सरकारले केही कानुनी र संस्थागत सुधार गरेको छ । ‘रेडी टु गो’ अवस्थामा रहेका आयोजनाको सूची तय भएको छ । बोर्डले यसअघि नै संयोजन गरेका आयोजनाको प्रगति अपेक्षित रूपमा राम्रो छ । कुल नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको भौतिक प्रगति ७५ प्रतिशतको हाराहारीमा छ । हुवासिन नारायणी सिमेन्ट उद्योग यसअघि नै सञ्चालनमा आइसकेको छ । अन्य आयोजनाको प्रगति पनि अपेक्षित रूपमा प्रभावकारी देखिएको छ ।

सम्मेलनलाई एउटा अवसरका रूपमा लिएर लगानीको साझा लक्ष्य तय गर्ने एवं लगानीकर्तालाई ‘नेपाल लगानीका लागि योग्य गन्तव्य’ हो भन्ने सन्देश प्रवाह गर्न खोजिएको बोर्डको भनाइ छ । ऊर्जा क्षेत्रमा मुलुक आयातकर्ताबाट निर्यातकर्तामा रुपान्तरित भएको छ । कानुनी एवं संस्थागत सुधार भएको छ । ठूला जलविद्युत् आयोजना निर्माणमा प्रवेश गरेका छन् । सरकारले आन्तरिक स्रोतको परिचालनलाई पनि उत्तिकै ध्यान दिएको छ । सकारात्मक र लगानीमैत्री वातावरणको आलोकमा हुन लागेको सम्मेलनले एउटा नयाँ मार्गनिर्देश गर्ने विश्वास लिइएको छ ।

सम्मेलनको संयोजन गरेको बोर्डका अनुसार पहिलो सम्मेलनमा रु १४ खर्ब बराबरको प्रतिबद्धता प्राप्त भएको थियो । दोस्रोमा रु २३ खर्ब बराबरको प्रतिबद्धता प्राप्त भएको थियो । संयोग पनि कस्तो परेको छ भने पहिलो लगानी सम्मेलन आयोजना हुँदा प्रधानमन्त्री प्रचण्ड नै थिए । विसं २०७३ फागुन १९ र २० गते आयोजित सो सम्मेलन ‘विदेशी लगानी तथा प्रविधि हहस्तान्तरण ऐन, २०४९’ तय भएको २५ वर्षपछि आयोजना गरिएको थियो । सो सम्मेलनले नेपाल लगानीका लागि योग्य मुलुक हो भन्ने सन्देश दिएको थियो ।

दोस्रो सम्मेलन तत्कालीन वाम गठबन्धनले झण्डै दुईतिहाइ जनमत प्राप्त गरेपछि आयोजना गरिएको थियो । सो सम्मेलनमा रु २३ खर्ब बराबरको प्रतिबद्धता प्राप्त भए पनि एकाधमात्रै आयोजना अगाडि बढेका छन् । सम्मेलन एउटा निरन्तरको प्रक्रिया भएकाले प्राप्त भएका प्रतिबद्धतालाई व्यावहारिक रूप दिन सरकार र सरकारी निकायले पनि निरन्तर अनुगमन गर्नुपर्ने आवश्यकता छ । यसपटक सरकार र निजी क्षेत्रले साझा प्रयास गरेका छन् । सम्मेलनको आयोजक सरकार छ भने निजी क्षेत्रले सक्रियतापूर्वक सहआयोजकजस्तै भूमिका निर्वाह गरेको छ ।

सम्मेलनको पूर्वसन्ध्यामा नै सरकारले मुलुकको सार्वभौम साख मूल्याङ्कनको कामलाई समेत अगाडि बढाएको छ । वैदेशिक लगानीकर्ताले लगानीको पूर्वशर्तका रूपमा सो मूल्याङ्कनलाई लिने गरेका छन् ।

अर्थमन्त्री पुनले रेटिङको कामलाई कुनै ढिला नगरी अगाडि बढाउन सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ । सरकारको समग्र तयारी, कानुनी, संरचनागत सुधारलगायतका कारणले यसपटकको सम्मेलन आफैँमा भव्य र विशिष्ट हुने आम रूपमा अपेक्षा गरिएको छ ।

बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान

चैनपुर (बझाङ) १५ वैशाख: बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । उनका अनुसार जिल्लामा ६१ हजार सात सय ४८ मतदाता छन् । 

जिल्लाका ७४ वटा मतदानस्थल र ९३ केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले बताए । उनका अनुसार प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिष्पर्धामा छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट दिलबहादुर सिंह प्रतिष्पर्धामा छन् ।

साथै नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही, जनमत पार्टीबाट सुशीलादेवी विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीबाट रामबहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा उम्मेदवार रहेका छन् ।