शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु

फिक्कल (इलाम) । इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उनले बताए ।

यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थानका साथै सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली हुने तथा देशका बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केही स्थानमा हुरी बतासको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

नेपालले आज वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्दै

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’ टोलीवीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु हुने भएको छ ।

वेस्ट इन्डिजको ‘ए’ र नेपालबीचको पहिलो खेल आज कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ः१५ बजेदेखि सुरु हुनेछ । आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्न लागेको हो ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपाल र वेष्ट इन्डिजको ‘ए’ टोलीबीच पाँच खेल सम्मेलित टी–२० शृङ्खला हुँदैछ । वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल यही वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ । घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, विनोद भण्डारी, अनिल शाह, आरिफ शेख, ललित राजवंशी, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा र करण केसी छन् । त्यसैगरी सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द,.सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम छन् ।

यसैगरी वेस्ट इन्डिज ए टोलीको कप्तानमा रोस्टन चेससहित एलिक एथानाजे, फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स छन् ।

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौँ । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

दुवै निर्वाचन क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएको जनाउँदै निर्वाचन आयोगले निर्धक्क भएर मतदानमा भाग लिन मतादातालाई आह्वान गरेको छ । निर्वाचन कार्यक्रमअनुसार मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघात तथा बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा आज चुनाव हुन लागेको हो ।

आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा मतदाताको नाम हुनुपर्नेछ ।

इलाम उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूलगायत १९ जना चुनावी मैदानमा उत्रनुभएको छ ।

यसैगरी, बझाङमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा (एमाले) बाट दमन भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट जनक बुढा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर सिंहसहित १२ जना प्रतिस्पर्धामा हुनुहुन्छ ।

सवारी व्यवस्थापन
यसैबीच, आयोगले बिरामी बोकेको एम्बुलेन्स, खानेपानी र दूध बोक्ने गाडी, दमकल, परिचयपत्र वाहक सञ्चारकर्मी र स्वास्थ्यकर्मी, दुरसञ्चार तथा केबल सेवा, शव वाहनलाई निर्वाध रूपमा सञ्चालनको अनुमति दिइएको छ ।

आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अनुगमनकर्ता, फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, तरकारी, फलफूल तथा विद्युत् सेवा, कूटनीतिक नियोग, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थामा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने नीलो नम्बर प्लेट भएका सवारी साधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएका सवारी साधन, सुरक्षाकर्मी, आफु खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदानमा खटिएका कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधनलाई सञ्चालनको अनुमति दिइएको छ ।

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाले रोस्टर परिवर्तन गर्न सक्ने

काठमाडौ । कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका नेपाली युवाहरूले आफ्नो सर्भिस सेक्टर (सेवा क्षेत्र) परिवर्तन गर्न सक्ने भएका छन्।

ईपीएस कोरिया शाखाले आज (शुक्रबार) एक सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाहरूले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने जनाएको हो।

सूचना अनुसार रोस्टरको अवधि २०२४ डिसेम्बर ३१ भित्र समाप्त हुने इच्छुक व्यक्तिहरूले रोस्टर परिवर्तन सक्नेछन् ।

मानव संशाधन विकास (एचआरडी) कोरियाले रोस्टर परिवर्तन गर्न सक्नेहरुको नामावलीसहितको तालिका बिहीबार पठाएको ईपीएस कोरिया शाखाले जनाएको छ। शाखाका अनुसार ९ हजार ४२८ जनाको नाम प्राप्त भएको छ।

यदि कसैले पहिले नै रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले अयोग्य भएमा सेवा क्षेत्र परिवर्तन गर्न भने पाइने छैन । सेवा क्षेत्र परिवर्तन गरिए पनि रोस्टरको अवधि भने थप हुने छैन। अघिल्लो रोस्टरको बाँकी अवधि बराबर नै हुने सूचनामा उल्लेख छ।

भाषा परीक्षा पास गरेर कोरिया जान पर्खेर बसेका हजारौं युवाहरुले आफूहरूको समस्या समाधानका लागि पहल गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्याललाई अनुरोध गरेका थिए। गुनासो प्राप्त भएपछि श्रममन्त्री अर्यालले कोरियाका सम्बन्धित निकायका पदाधिकारीसँग पटकपटक छलफल गरेका थिए। पछिल्लोपटक बुधबारमात्रै मन्त्री अर्यालले एचआरडी कोरिया मुख्यालयका प्रतिनिधि, एचआरडी कोरियाका नेपाल प्रतिनिधि, ईपीएस शाखा र कोरिया रिटर्नी एवं रोस्टरमा रहेकाहरूबीच छलफल गराएका थिए। सो छलफलमा कोरिया पक्षले शीघ्र निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेको थियो। त्यसको भोलिपल्ट (बिहीबार) नै कोरिया पक्षले रोस्टर परिवर्तन गर्न सकिने निर्णय गरेको हो।

कोरिया जान पर्खेर बसेका हजारौं युवा तथा सरोकारवालाहरूले नेपाल सरकारको यस प्रकारको पहलकदमी तथा कोरिया सरकारको निर्णयलाई सकारात्मक रुपमा लिनुपर्ने प्रतिक्रिया दिएका छन् ।

मुलुकको अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको अर्थव्यवस्था मिश्रित अवस्थामा रहेको बताएका छन्। नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले २०८० साल समष्टिगत आर्थिक स्थितिको दृष्टिकोणले मिश्रित रहेको बताए ।

‘समग्र मागमा कमी आएको कारण कर्जा प्रवाहको वृद्धिदरमा सुस्तता र आर्थिक गतिविधिमा शिथिलताको अवस्था रहेता पनि यो वर्ष बाह्य क्षेत्रमा सुधार भई विदेशी विनिमय सञ्चिति सहज राख्न, मुद्रास्फीतिलाई नियन्त्रणमा राख्न, भुक्तानी प्रणालीको सुदृढीकरण र वित्तीय स्थायित्व कायम गर्न बैंक सफल रह्यो’, गभर्नर अधिकारीले भने, ‘अघिल्लो आर्थिक वर्ष जस्तै चालु आवमा पनि विप्रेषण आप्रवाह उच्च रहेको छ । विप्रेषण आप्रवाह उल्लेख्य बढेको तथा आयात घटकोले चालु खाता एवं शोधनान्तर बचत कायम भई तरलता व्यवस्थापन गर्न र ब्याजदरमा परेको चाप कम गर्न सहयोग पुगेको छ ।’

पर्याप्त तरलता र कर्जाको घट्दो ब्याजदरका कारण आर्थिक गतिविधि बढाउने आधार सिर्जना भएको पनि गभर्नर अधिकारीले दाबी गरे । थोक मूल्य र तलब तथा ज्यालादर सूचकांकको वृद्धिदर न्यून रहेसँगै नेपालले दुई तिहाइभन्दा बढी आयात गर्ने मुलुक भारतमा समेत मुद्रास्फीति घट्दै गएका कारण मूल्य स्थितिमा परेको चाप क्रमशः कम हुँदै गएको उनको भनाइ छ ।

चालु आवको उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्यवृद्धि दर साढे छ प्रतिशतको वञ्छित सीमाभित्रै रहने देखिएको पनि गभर्नर अधिकारीले बताए । तथापि, रुस–युक्रेन र मध्यपूर्वका मुलुकमा जारी द्वन्द्व र केही मुलुकले खाद्यान्न निर्यातमा लगाएको प्रतिबन्धका कारण मुख्यतः इन्धन र खाद्यवस्तुको मूल्यमा उत्तारचढाव आउनसक्ने जोखिम भने कायमै रहेको उनले बताए ।

आर्थिक वर्ष २०८०/८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल रहेको र मलको आपूर्ति सहज रहेका कारण कृषि उत्पादनको वृद्धिदर सन्तोषजनक रहने अनुमान गरिएको गभर्नर अधिकारीले उल्लेख गरे। त्यसैगरी, करिब छ मेगावाट जलविद्युत् उत्पादन थप हुने र पर्यटन क्षेत्रमा आएको सुधारका कारण चालु वर्षमा आर्थिक वृद्धिदर औसत स्तरमा रहने उनको भनाइ छ ।

‘सरकारको पुँजीगत खर्च अपेक्षित रूपमा हुन नसकिरहेको र पछिल्ला वर्ष उल्लेख्य सङ्ख्यामा वैदेशिक रोजगारी र अध्ययनको लागि युवाहरू विदेशिएकाले आन्तरिक माग भने शिथिल रहेको छ । खासगरी निर्माण, व्यापार र उत्पादनमूलक उद्योगहरू आर्थिक शिथिलताबाट बढी प्रभावित भएका छन्’, उनले भने ।

आर्थिक गतिविधिमा आएको केही शिथिलताका कारण बैंकिङ प्रणालीको कर्जा असुली दबाबमा रहेको हुँदा निष्क्रिय कर्जा अनुपात केही बढेको पनि उनले बताए। राष्ट्र बैंकका अनुसार गत फागुनमा बैंक तथा वित्तीय संस्थाको औसत निष्क्रिय कर्जा कूल कर्जाको तीन दशमलव ७३ प्रतिशत पुगेको छ ।

यद्यपि, गत फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको खुद तरल सम्पत्ति कूल निक्षेपको २९ दशमलव ४१ प्रतिशत र कुल पुँजीकोष जोखिम भारित सम्पत्तिको १२ दशमलव ४४ प्रतिशत रहेकाले नेपालका बैंक तथा वित्तीय संस्थाको वित्तीय स्थिति सुदृढ अवस्थामा नै रहेको गभर्नर अधिकारीले बताए ।

मौद्रिक तथा वित्तीय क्षेत्र व्यवस्थापनका लागि राष्ट्र बैंक केही महत्वपूर्ण कानुन तथा कार्यविधि तर्जुमा गरी सुधारको प्रयास गरेको उनले बताए । ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को संशोधन मस्यौदा तयार गरी संशोधन प्रक्रिया अगाडि बढाइएको छ । बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ मा पुनरावलोकन गर्न संशोधन मस्यौदा र सामाजिक उत्तरदायित्वसम्बन्धी कानुनको मस्यौदा नेपाल सरकारसमक्ष पेस गरिएको छ’, गभर्नर अधिकारीले भने, ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९; भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ र विनिमय अधिकारपत्र ऐन, २०३४ मा पुनरावलोकन गरी संशोधन मस्यौदा तर्जुमा कार्य अगाडि बढाइएको छ ।’

लिज फाइनान्स, वित्तीय सम्पत्तिको पुनर्संरचना तथा धितोपत्रीकरण (सेक्यूरिटाइजेसन) सम्बन्धी कानुनको मस्यौदा तर्जुमाको क्रममा रहेको पनि जानकारी दिए । त्यसैगरी, भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरूको मर्जर र प्राप्तिसम्बन्धी व्यवस्थालाई थप स्पष्ट पार्न भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७ संशोधन गरी लागू गरिएको राष्ट्र बैंकले जनाएको छ ।

भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९, नेपाल राष्ट्र बैंक, विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ (तेस्रो संशोधनसहित) जारी गरिएको तथा नेपाल राष्ट्र बैंक विदेशी विनियम कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मा संशोधन गरिएको छ ।

आर्थिक तथा मौद्रिक सूचक

नेपालको केन्द्रीय बैंकका रुपमा रहेको नेपाल राष्ट्र बैंक आजबाट स्थापनाको ६८ वर्ष पूरा गरी ६९ औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रसँग जोडिएका विभिन्न आर्थिक तथा मौद्रिक सूचकहरुसमेत प्रस्तुत गरे । उनले प्रस्तुत गरेको आर्थिक सूचकहरुको अवस्थासम्बन्धी विवरणको सम्पादित अंश अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा अप्रिल २०२४ मा प्रकाशित वल्र्ड इकोनोमिक आउटलुकअनुसार सन् २०२४ मा विश्व अर्थतन्त्रको वृद्धिदर तीन दशमलव प्रतिशत हुने प्रक्षेपण छ । विकसित देशहरूको अर्थतन्त्र सन् २०२३ मा एक दशमलव छ प्रतिशतले वृद्धि भएकोमा सन् २०२४ मा एक दशमलव प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ ।

यसैगरी, २०२३ मा चार दशमलव तीन प्रतिशतले वृद्धि भएको उदीयमान तथा विकासोन्मुख देशहरूको अर्थतन्त्र सन् २०२४ मा चार दशमलव दुई प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ । सन् २०२४ मा छिमेकी मुलुकहरू भारतको अर्थतन्त्र छ दशमलव आठ प्रतिशत र चीनको अर्थतन्त्र चार दशमलव छ प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ ।

विश्वको मुद्रास्फीति सुधारोन्मुख रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार सन् २०२३ मा विश्वको मुद्रास्फीति छ दशमलव आठ प्रतिशत रहेकोमा सन् २०२४ मा पाँच दशमलव नौ प्रतिशत रहने प्रक्षेपण छ । विकसित अर्थतन्त्रको औसत मुद्रास्फीति चार दशमलव छ प्रतिशत रहेकोमा सन् २०२४ मा दुई दशमलव प्रतिशत रहने प्रक्षेपण छ । यसैगरी, सन् २०२३ मा आठ दशमलव तीन प्रतिशत रहेको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको औसत मुद्रास्फीति सन् २०२४ मा आठ दशमलव तीन प्रतिशत नै रहने कोषको प्रक्षेपण छ ।

आर्थिक वर्ष २०८०/८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल भई समयमा वर्षा भएको र मलको आपूर्ति सहज नै रहेकोले कृषि उत्पादन बढ्ने अनुमान छ । विप्रेषण आप्रवाहमा भएको सुधारले बाह्य क्षेत्र सुदृढ भई बैंकिङ प्रणालीमा तरलता बढेको र कर्जाको ब्याजदर घटेकोले आर्थिक गतिविधि चलायमान हुनका लागि आधार सिर्जना भएको छ ।

पयर्टक आगमन कोभिडपूर्वको अवस्थामा पुगेको तथा विद्युत् र सिमेन्टको निर्यात बढ्दै गएको सन्दर्भमा चालु आवमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार हुने देखिन्छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा धानबाली लगाइएको क्षेत्रफल शून्य दशमलव ६१ प्रतिशतले घटेता पनि धानबालीको उत्पादन चार दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आवको दोस्रो त्रयमासको आर्थिक वृद्धिदर चार प्रतिशत रहेको छ । यस अवधिमा औद्योगिक उत्पादनमा कमी आएको छ भने आवास तथा भोजन सेवा, विद्युत् तथा ग्यास क्षेत्र, यातायात तथा भण्डारण क्षेत्रको उत्पादन उल्लेख्य रूपमा बढेको छ ।

समग्रमा चालु आवको आर्थिक वृद्धिदर तीनदेखि चार प्रतिशतको हाराहारीमा रहन सक्ने अन्तर्राष्ट्रिय संघ संस्थाहरूको अनुमान विसं २०८० फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ४४ प्रतिशत थियो ।

गत फागुन महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ९४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ९५ प्रतिशत रहेको छ । आव २०८०/८१ को सुरुवाती आठ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति छ दशमलव ०८ प्रतिशत छ । अघिल्लो आवको सोही अवधिमा यस्तो मुद्रास्फीति सात दशमलव ९३ प्रतिशत थियो ।

गत फागुन महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति तीन दशमलव ६९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव १० प्रतिशत थियो । चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकांक पाँच दशमलव ५६ प्रतिशतले बढेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार विसं २०८० चैत मसान्तसम्ममा चालु खर्च रु छ खर्ब ४४ अर्ब दुई करोड, पुँजीगत खर्च रु ९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च रु एक ६७ अर्ब ९९ करोड गरी कूल सरकारी खर्च रु नौ खर्ब नौ अर्ब ३९ करोड अर्थात् विनियोजित बजेटको ५१ दशमलव ९३ प्रतिशत रहेको छ ।

धेरै अमेरिकी कम्पनीले ठूलो लगानी लिएर नेपाल आउन चाहेका छन्ः अतुल


काठमाडौँ अमेरिकन व्यवसायीहरुको नेतृत्वदायी संस्था यूएस चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अतुल कश्यपले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन् ।
१६ र १७ वैशाखमा हुने तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन निजी क्षेत्रका प्रतिनिधिहरुको नेतृत्व गरेर आएका कश्पयले शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग भेटेका हुन् ।

उनले धेरै अमेरिकी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए । हाल नेपालमै रहेको बहुराष्ट्रिय कम्पनी कोकाकोलाले ठूलो मात्रामा लगानी बढाउने तयारी गरेको जानकारी उनले मन्त्री पुनलाई गराए । यस्तै सूचना प्रविधि क्षेत्र र अन्तर्राष्ट्रिय स्तरको फन पार्कमा ठूलो लगानी गर्न अमेरिकी कम्पनीहरु इच्छुक रहेको उनको भनाइ थियो । ‘काकाकोलाले धेरै ठूलो स्तरमा लगानी विस्तार गर्दैछ’, उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरको फन पार्क र सूचना प्रविधिको क्षेत्रमा पनि लगानी गर्न इच्छुक छौं ।’ नेपालको सरकारले लगानीका लागि वातावरण बनाउनेमा आफूहरु आशावादी रहेको विश्वास उनले व्यक्त गरे ।


वैदेशिक लगानीलाई स्वागत गर्ने नीति छः मन्त्री पुन
भेटमा मन्त्री पुनले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसहित मन्त्तिपरिषदका सबै सदस्यलाई देशबाहिरको लगानी ल्याउने र देशभित्रका लगानीकर्तालाई पनि प्रोत्साहित गर्न निर्देशन दिएको उनले उल्लेख गरे । नेपाल लोकतान्त्रिक प्रणाली र प्रतिस्पर्धात्मक बजारको पक्षमा रहेकाले संसारका सामु थप खुला हुन चाहेको मन्त्री पुनको भनाइ थियो । उनले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले केही दिनअघि मात्र लगानी प्रतिकूल ठानिएका ९ वटा कानूनमा परिमार्जनका लागि अध्यादेश ल्याएको जानकारी गराए । ‘हामीले अध्यादेशमार्फत हालसालै मात्र ९ वटा कानूनमा सुधारको प्रक्रिया अगाडि बढाएका छौं’, उनले भने, ‘फेरिएको सन्दर्भ र लगानीकर्ताको सुझावका आधारमा थप सुधार गर्दै जाने सोचेका छौं ।’

४ लाख धरौटी रकम बुझाएर दीपेशकुमार पुन रिहा

काठमाडौं । ४ लाख धरौटी रकम बुझाएर दीपेशकुमार पुन रिहा भएका छन्।

सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश अदालतमा ४ लाख धरौटी रकम बुझाएर आज रिहा भएका हुन्।

जिल्ला अदालत रुपन्देहीमा भएको थुनछेक बहसपछि पुनलाई ४ लाख धरौटीमा रिहा गर्न गत शुक्रबार आदेश दिएको थियो।

तर, पुनले ४ लाख धरौटी रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार चलान भएका थिए।

इलाम र बझाङमा हुने उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न निर्वाचन अपिल

काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न निर्वाचन आयोगले सबै मतदातामा अपिल गरेको छ ।

आयोगका उपसचिव एवम् सहायक प्रवक्ता रामदत्त पाण्डेले जारी गर्नुभएका विज्ञप्तिमा बिहान ७ बजेदेखि ५ बजेसम्म हुने मतदानमा तोकिएको मतदान केन्द्रमा उपस्थित भएर आफूले छानेको उम्मेदवारको चिह्नमा मतदान गरी मतको सदुपयोग गर्न आग्रह गरिएको छ ।

उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने कार्यमा सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेमा आयोग विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र न २ मा रिक्त प्रतिनिधिसभा सदस्य र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा रिक्त प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

मतदानका दिन निर्वाचनको स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताको सहज आवागमनका लागि सार्वजनिक यातायात संचालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालय मार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमन भइरहेको आयोगले जनाएको छ ।

नेपाल र चीनबीच दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर

काठमाण्डौ । नेपाल र चीनबीच दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गएको असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा शुरु गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सीका प्रमुख लियु झाओ हुईले आज सम्झौतामा हस्ताक्षर गरे।

सम्झौताअनुसार चीनले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्नेछ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिमा उल्लेख छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चाइना इन्टरनेसनल डेभलपमेन्ट को–अपरेसन एजेन्सीका अध्यक्ष हुईले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच नेपालको आर्थिक विकासका साथै पर्सि आइतवारदेखि काठमाण्डौमा शुरु हुन लागेको दुई दिने लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। रुपक सापकोटाले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच रही आएको सम्बन्धले थप उचाइ लिँदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति देखिएको बताए ।

आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैनः गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ नगरिएको बताउनुभएको छ । गृह मन्त्रालयमा आज आयोजित ‘वन, डढेलो तथा आगलागी हालको अवस्था, जोखिम र तत्कालका प्राथमिकता’ विषयक छलफल कार्यक्रममा उहाँले राहतमा कुनै ढिलाइ नहोस् भन्ने नै सरकारको प्राथमिकता रहेको बताउनुभयो ।

गृहमन्त्री लामिछानेले भने, “आपतका बेला सरकार दुई(चार सय नागरिकलाई खुवाउनै नसक्ने अवस्थाको होइन । राहतको कुरा गर्दा स्रोत जुटाउनमा कुनै ढिलाइ गरेका छैनौँ । स्रोत परिचालन गरेका छौँ ।” विपतको अनुमान गर्न नसकिए पनि अग्रिम तयारी भने गर्न सकिने उल्लेख गर्दै उनले भने, “प्राप्त जानकारीका आधारमा सतर्क रहन सकिन्छ, जसले गर्दा जनधनको क्षति कम हुन्छ । गत वर्षको गल्तीलाई नदोहोर्याउने गरी तयारी गर्न जरुरी छ ।”

साताको एक पटक विद्यालयमा यस विषयमा रहेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा गृहमन्त्री लामिछानेले जोड दिनुभयो । उनले भने, “स्थानीय सरकारसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्नुपर्छ । जनचेतनाका कुरामा हामी चुक्न पुगेका छौँ । अझै पर्याप्त मात्रामा पुग्न सकेका छैनौँ । जनचेतनाको तरिका फेर्नुपर्छ ।” दमकलको क्षमता बढाउनुपर्ने गृहमन्त्री लामिछानेको भनाइ थियो ।

उनले भने, “सरकारले २२ तलासम्म भवन बनाउने अनुमति दिएको छ । तर त्यति माथिसम्म दमकलको क्षमताले भ्याउँछ कि भ्याउँदैन रु यसका लागि स्रोत बढाउनुपर्ने देखिन्छ । सुरक्षा निकायका अस्पतालमा जलन वार्ड विस्तार गर्नुपर्छ ।” गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा ४६ स्थानमा डढेलो, ४३ स्थानमा आगलागी हुनुका साथै जलेर एक जनाको मृत्यु भएको छ । रासस

डीआईजी दुर्गालाई गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी पाएकी छिन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत रहेकी डीआईजी सिंहको शुक्रबार गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा गरिएको हो । गृहमन्त्रीस्तरीय निर्णयबाट सिंहको सरुवा गरिएको हो ।

यसअघि ७ वैशाखमा गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी ५६ वर्षे उमेर हदका कारण अवकाशमा गएपछि गण्डकी प्रदेशमा डीआईजी रिक्त थियो । उनै खनालको ठाउँमा सिंहलाई पठाइएको हो ।

आजै शुक्रबार ६ एसएसपीको सरुवा गरिएको थियो । ८ महिनामै जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्री र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको सरुवा भएको थियो ।

गाउँपालिका उपाध्यक्ष सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिकाकाकी वर्तमान उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर शुक्रबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही गाउँपालिका वडा नं.१ अन्तर्गतका स-साना सडक ढलान गर्नको लागि विनियोजन भएको रकममा अनियमितता गरेको ठहर भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यसबारे उजुर परेसँगै अनुसन्धान हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर संजय कुमार मंडलले योजनाको खरिद प्रक्रियामा तयार गरिएको गुणस्तर सम्बन्धी मापदण्ड अनुसार काम नगरी रु.८ लाख ६५ हजार १४५ भुक्तानी गर्न भूमिका खेलेको पाइएकाले उनीहरुविरुद्ध सो बराबरको बिगो मागदाबी लिइएको छ ।

यसैगरी एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुनले समेत स्थलगत अनुगमन गरी लागत अनुमान बमोजिमको कार्य सम्पन्न भइसकेको भनी गलत प्रतिवेदन दिएको अख्तियारले जनाएको छ ।

सोही प्रतिवेदनसमेतको आधारमा भुक्तानीसमेत भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा ९२० बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय हुन मागदाबी लिइएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

यसैगरी श्री जानकी कन्सट्रक्शनका प्रोपराइटर राकेश कुमार रायले समेत गलत नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदनको आधारमा भुक्तानी लिएको पाइएकाले उनलाई समेत आठ लाख पैंसठ्ठी हजार एक सय पैंतालीस रुपैयाँ बिगो कायम गरेर आरोपपत्र दायर गरिएको घिमिरेले जानकारी दिए ।

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ। मन्त्रालयले शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको हो ।

पत्रमा भनिएको छ– ‘मुलुकको विभिन्न स्थानहरूमा सञ्चालित योजना तथा आयोजनाहरू पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पत्तिको नोक्सानी व्यहोर्नुपरेको गुनासो आएको सन्दर्भमा त्यहाँ जिल्लास्थित आयोजना र योजना सञ्चालन गर्न कार्यालय र निकायसँग समन्वय गरी त्यहाँ जिल्लास्थित हाल अलपत्र र रुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरूको विवरण यस मन्त्रालयमा पठाउनुहुन अनुरोध छ।’

साथै मन्त्रालयले त्यस्ता अलपत्र र रुग्ण योजना र आयोजनालाई पूर्णता दिन सम्बन्धित कार्यालय र निकाय लगायत सरोकारवालासँग समन्वय एवं सहजीकरण गर्न समेत सबै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


डोटी । ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएका छन् ।
डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा कैलालीबाट डडेल्धुरा जाँदै गरेका जानकी गाउँपालिका कटासेका ३६ वर्षीय रमेश विकको मृत्यु भएको भएको भने उनकी श्रीमती लक्ष्मी विक घाइते भएकी छिन् ।
बुधवार बिहान भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराबाटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने खालि ट्याङ्करले सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका दुवै श्रीमान–श्रमतीलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याइएकोमा उपचारमा क्रममा रमेशको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा घाइते लक्ष्मीको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ ।