नारायणकाजीको सम्पत्ति न्यून : घर छैन, बैंकमा १ लाख २२ हजार, प्रचण्डले दिएको गाडी

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको खुलाएका छन् ।

मंगलबार सार्वजनिक उनको सम्पत्ति विवरणमा उनले आफ्नो पैत्रिक सम्पत्ति पार्टीलाई हस्तान्तरण गरेको घोषणा गरेका छन् ।

जस अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरणमा बैंक खातामा एक लाख २२ हजार ९ सय १८ रुपैयाँ ६४ पैसा रहेको र सो रकम सेवा सुविधाबाट प्राप्त भएको उल्लेख गरेका छन् ।

त्यस्तै श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा पैतृक जग्गा ३७ रोपनीभन्दा बढी रहेको र त्यो पनि २०५८ सालमा पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको उल्लेख गरेका छन् ।

त्यस्तै श्रेष्ठले आफ्नो सम्पत्ति विवरणमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपलब्ध गराएको गाडी प्रयोग गर्ने गरेको र सो गाडीको खरिद मूल्य र खरिद मिति आफूलाई थाहा नभएको उल्लेख गरेका छन् ।

कति छ गृहमन्त्री रवि लामिछानेको सम्पत्ति ? ८० तोला सुन र दशौँ करोडको जग्गा

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार आफ्नोसहित श्रीमती निकिता पौडेलको पनि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा १ करोड १२ लाख ४८ हजार बराबरको सुन रहेको देखाइएको हो ।

८० तोला सुन जोडेको उनले पन्ध्रबीस तोला चाँदी देखाइएको छ । यस्तै जग्गा बुढानीलकण्ठ, भक्तपुरलगायतका क्षेत्रमा केही रोपनी जग्गा रहेको देखाइएको छ ।

बुढानीलकण्ठमा तीन करोड पचहत्तर लाख रुपैयाँको जग्गा रहेको भनिएको छ । भक्तपुरमा ११ रोपनी जग्गा रहेको छ । जुन पत्नी निकिता पौडेल र आफ्नो नाममा भनिएको छ । ती जग्गा परिवारको नाउँमा सगोलमा रहेको भनिएको छ ।

पत्नीको नाममा गोपीकृष्ण कम्प्लेक्समा ८ करोड ७५ लाखको शेयर रहेको देखाइएको छ । जुन शेयर २५ प्रतिशत हो । ४२ लाखको गाडी भने पती पत्नी दुवैले मिलेर किनेको देखाइएको छ । नारी टीभी र गोपी कृष्ण मिडिया कम्पनीको मूल्य चार करोड भएको देखाइएको छ ।

प्रधानमन्त्री दाहालको सम्पत्ति: १५ कट्ठाको घर–घडेरी, २५ लाख मौज्दात

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति सामान्य देखिएको छ ।

सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ । स्वर्गीय धर्मपत्नी सीता दहालकको नाममा रहेको यो घर र जग्गा पैतृक सम्पत्ति भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यस्तै भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ। पत्नी सीता दाहालको नाममै रहेको उक्त जग्गा अंशबाट प्राप्त भएको जनाइएको छ ।

त्यस्तै प्रचण्डले नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ ।

त्यस्तै प्रचण्डसँग ५ तोला सुन रहेको विवरणमा उल्लेख छ । उक्त सुन सम्पत्तिबाट आएको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

माेरङ कारागारका कैदीको मृत्यु

काठमाडौँ । मोरङ कारागारमा रहेका एक जना कैदीको मृत्यु भएको छ ।

लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका मोरङको पथरीशनिश्चरे नगरपालिका-१० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो ।

जिल्ला कारागार मोरङका अनुसार थापालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक २३.९४ अंक बढेर २११५.९४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक बढेको छ। 

नेप्सेमा आज ५ अर्ब २० करोड ६२ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १९४ वटाको बढेको छ भने ४३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।             

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । अन्य पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ भने दुई कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।     

आज साइन रेसुङ्गा डेभलपमेन्ट लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ४.२८ प्रतिशतले घटेको छ । सबैभन्दा बढि पोखरा फाइनान्स लिमिटेडको २४ करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

चीनको कोइला खानीमा दुर्घटना हुँदा पाँचको मृत्यु

एजेन्सी। उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित कोइलामा खानी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको उक्त कोइलाखानी कम्पनी स्रोतले जनाएको छ ।

कम्पनी स्रोतका अनुसार हेइलोङगजियाङ लङमे समूह अन्तर्गतको हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा सोमबार राति दुर्घटना भएको थियो। सो दुर्घटना हुने क्रममा नौ जना फसेको र उनीहरुमध्ये चार जनालाई उद्धार गरिएको स्रोतले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानले तरल कार्बनडाइअक्साइडको चुहावटको कारणले दुर्घटना भएको देखाएको छ । दुर्घटनाको कारण तथा यथेष्ट विवरणका बारेमा थप अनुसन्धान भइरहेको छ ।

संसद्को गतिरोध अन्त्य गर्न कांग्रेससँग ओलीको आग्रह

काठमाण्डौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्को गतिरोध अन्त्य गर्न कांग्रेससँग आग्रह गरेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको पुरानो पार्टी कांग्रेसलाई नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले सदनको गतिरोध अन्त्यका लागि आग्रह गरे । ‘नेपाली कांग्रेसले आफूलाई परिवर्तन गर्नुपर्छ,’ उनले भने ।

अध्यक्ष ओलीले राजनीतिक स्थायित्वका लागि सहमति, सहकार्य र एकताको आवश्यकता औँल्याउँदै अहिले मूल विषय भनेको जनताको समस्या समाधान गर्नु रहेको बताए ।

अध्यक्ष ओलीले वर्तमान संविधान जारी गर्दाका बखत राजनीतिक दलबीचको भएको एकता, सहकार्य र सहमति अहिले पनि आवश्यक भएको उल्लेख गरे ।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

जनकपुरधाम । जिल्ला अदालत धनुषाले कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। आज जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको जिल्ला अदालत स्रोतले जनाएको छ।

सिरोहियाले कीर्ते नागरिकता लिएको भन्दै वैशाख १६ मा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो। सोही उजुरी पछि अनुसन्धान गरेको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै अदालतबाट पक्राउ पुर्जीका लागि अनुमति मागेको थियो।

आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।

प्रतिनिधि सभा बैठक जेठ ११ गतेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलबार बसेको बैठकमा नेपाली कांग्रेसको अवरोधका बिच राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० फिर्ता भएको छ ।

यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ सभामा पेस गरेका छन् ।

गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको मुद्दा न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर भएको मुद्दाको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ।

यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको उक्त मुद्दामा आज अन्तरिम आदेश निरन्तरता हुने वा नहुनेबारे बहस हुने छ।नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।

विश्वासको मत लिन सभामुखको दुरुपयोग भएको र कुल ६० सदस्यीय प्रदेश सभामा ३० जनाको मतलाई बहुमत मानिएको भन्दै पाण्डेले रिट दायर गरेका थिए । उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि मिति तोक्दै बोलाएको थियो ।

आज हुने सुनुवाइले गण्डकी प्रदेशको सरकारको भविष्य निर्धारण गर्ने छ। सर्वोच्चले अन्तरिम आदेश मुद्दाको फैसला नभएसम्मका लागि निरन्तरता दिएमा अधिकारी मुख्यमन्त्री पदमा रहने छैनन् । सर्वोच्चले उनले पाएको विश्वासको मत असंवैधानिक भएको भनी व्याख्या गरेमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ।

यदि यसअघि जारी भएको अन्तरिम आदेश खारेज भएमा अधिकारीले निरन्तरता पाउने छन् ।

तनहुँमा १४ हजारभन्दा बढी बालबालिकालाई पोलियो रोगविरुद्धको खोप लगाइने

तनहुँ । तनहुँमा यस वर्ष १४ हजारभन्दा बढी बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने भएको छ । यही जेठ १४ देखि २८ गतेसम्म गरी दुई चरणमा खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

पहिलो चरण जेठ १४ देखि २० गतेसम्म व्यास नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिक, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिकाका ३८ वटा वडामा खोप लगाइने छ । दोस्रो चरणमा जेठ २२ देखि २८ गतेसम्ममा भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका ऋषिङ गाउँपालिका, र घिरिङ गाउँपालिकाका ४७ वटा वडामा खोप लगाइने छ ।

कुनै पनि बालबालिका आइपिभी खोपबाट बञ्चित नहोउन् भन्ने उद्देश्यसहित जिल्लामा दुई सय ९० खोप केन्द्र निर्धारण गरी चार सय ६५ जनशक्ति परिचालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा।विद्या तामाङले जानकारी दिए । जिल्लाका १० वटा पालिकामा १४ हजार चार सय ६५ बालबालिकालाई खोप लगाउन आवश्यक तयारी थालिएको उनले बताए ।

खोप अभिायनलाई प्रभावकारी बनाउन जिल्लास्थित पालिका, अस्पताल, स्वास्थ्यचौकीसँग सहकार्य गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न यो खोप सञ्चालन गर्न थालिएको हो । नेपालमा मात्र यस वर्ष १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी छ । सोहीअनुसार तनहुँमा पनि यो अभियान सञ्चालन गरिएको डा।रामु शर्माले बताए । स्वास्थ्य कार्यालयले मङ्गलबार खोप समन्वय समितिका पदाधिकारी तथा सरोकारवाला निकायसँग पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमसम्बन्धी अन्तरक्रियासमेत आयोजना गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा सहभागीले नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रम सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख वासुदेव थापाले जनचेतनाको अभावले बालबालिका छुट्न सक्ने हुँदा खोपको महत्त्वको बारेमा प्रचार प्रसारमा गरिनु आवश्यक रहेको बताए ।

नेपालमा सन् २०२२ देखि २०२६ सम्ममा पोलियो रोग उन्मुलन गर्ने सरकारको रणनीतिक योजना छ । पोलियो रोगविरुद्धको खोप नलगाएमा स्थायीरुपमा पक्षघात हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । सबैभन्दा बढी पाँच वर्षसम्मका बालबालिका पोलियो रोगको भाइरसबाट सङ्क्रमित हुन सक्ने जनाइएको छ ।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज ऐतिहासिक उचाईबाट तल झरेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो ।

सोमबार तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँ पुगेको कीर्तिमानी उचाई बनाएको थियो । तर, आज भने घटेर १ लाख ४० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

साताको तेस्रो कारोबार दिन चाँदीको भाउ पनि सस्तिएको छ । आज चाँदी प्रतितोला ५५ रुपैयाँले घटेको हो । योसँगै आजका लागि चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँ कायम भएको छ । सोमबार भने १ हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।

पशुपतिनाथको भेटी चोर्ने कोषका कर्मचारीसहित आठ जना पक्राउ

काठमाडौँ ।पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गरेको आरोपमा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

उनले भने, “पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सिसि क्यामेरामा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ ।” 

परियार पशुपतिमा बाजा बजाउने कर्मचारी रहेको र पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएको प्रवक्ता अधिकारीले बताए ।

यस्तो छ तपाईको ८ जेष्ठ २०८१, मंगलवार आजको राशिफल

मेष : प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नाम, दाम र इनाम कमाउने बेला छ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ ।

वृष : दैनिकी सहज छ। कर्मक्षेत्रमा गरेका प्रयास सफल हुनेछन्। शिक्षा, स्वास्थ्य भन्दा वैदेशिक क्षेत्रको प्रयासमा उन्नति हुनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा ठगबाट सचेत बन्नुपर्नेछ।

मिथुन : नयाँ योजना बनाउने समय छ। परिवारको साथ प्राप्त हुनेछ। कर्म क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

कर्कट : दिन संघर्षमय छ। आरोपको सामना गर्नुपर्ने हुनसक्छ। आफन्तसँग जोगिएर काम गर्नु राम्रो हुन्छ। लगानी गर्नु अगाडि हल्ला नगर्नु राम्रो हुनेछ। परिवारका सदस्यले धोखा दिने जोखिम रहेको छ।

सिंह : यात्रा रमाइलो हुनेछ। कामको मूल्यांकन हुने दिन छ। खानपानको अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यवसाय गर्नु हुन्छ भने सफलता मिल्नेछ।

कन्या : राम्रो आम्दानी हुने दिन छ। श्रम गरेको ठाउँबाट तपाईंको राम्रो मूल्यांकन हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट राम्रो फाइदा हुनेछ। व्यापारबाट नाफा हुनेछ। परिवारलाई विश्वास गर्दा समस्याको सामना गर्नुपर्ने जोखिम देखिन्छ।

तुला : तपाईंको सीपको प्रशंसा हुनेछ। सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। राजनीतिमा लाभको पद लिने अवसर छ। परिवारको साथ र सहयोग प्राप्त हुने देखिन्छ। जिम्मेवार पदमा रहेकाले धेरैले निगरानी गरिरहेको कुरा काम गर्दा ख्याल गर्नुपर्ने हुन्छ।

वृश्चिक : समय चुनौतीपूर्ण देखिन्छ। कार्यसम्पादनमा अरुको साथ नहुने जोखिम देखिन्छ। काम गर्नु अगाडि कसैको पनि सल्लाह नलिनु राम्रो हुन्छ। एक्लो लगानी गर्नु भन्दा संयुक्त लगानी गर्नु फाइदा देखिन्छ।

धनु : नयाँ कामको सुरुवात नगर्नु राम्रो हुनेछ। पुराना योजनालाई निरन्तरता दिनु नै फाइदा हुनेछ। गुरुले प्रशंसा गर्ने दिन छ। आफन्त र सन्तानले साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : अन्त्य साढेसाती दशा चलिरहेको छ। समाजसेवा गर्नु राम्रो हुन्छ। यसले समाजमा तपाईंको सम्मान बढ्नेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : शनिदेवको छाया योग चल्दै छ। जन्म कुण्डलीमा शनिदेव सकारात्मक भए राम्रोराम्रो काम बन्नेछ। जन्म कुण्डलीमा शनिदेव नकारात्मक भए झुटा आरोप लाग्ने जोखिम हुन्छ।

मीन : राम्रा मानिससँगको भेटले मनमा उत्साह बढ्नेछ। आज कमाउने भन्दा जोगाउने दिन छ। इष्टमित्र र नजिकका आफन्तबाट सचेत रहनु राम्रो हुन्छ। परिवारभित्र शंका र उपशंका बढ्ने देखिन्छ।

गैरकानुनी माध्यमबाट विदेशमा गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्ने गरी छुट्टै कोष स्थापना गर्न श्रम मन्त्रालयको पहल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले गैरकानुनी माध्यमबाट वैदेशिक रोजगारीमा गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्नका लागि छुट्टै कोष स्थापना गर्ने तयारी गरिएको बताएका छन् । शनिबार सुर्खेतमा आयोजित पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

हालको व्यवस्था अनुसार श्रम मन्त्रालयले श्रम स्वीकृति लिएर जाने श्रमिकलाई मात्रै उद्धार गर्दे आएको छ । विदेशमा जाने श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको कोष मार्फत जोखिममा परेका यस्ता श्रमिकको उद्धार गरिदै आएको छ । तर, गैरकानुनी रुपमा गएका श्रमिकलाई उद्धार गर्ने कोष भने सरकारसँग छैन । “गैरकानुनीमा रुपमा गएका श्रमिक पनि नेपाली नागरिक नै हुन् । उनीहरुको उद्धार गर्नु सरकारको दायित्व हो । त्यसैले छुट्टै कोषको व्यवस्था गर्नका लागि आगामी बजेटमा व्यवस्था गर्न अर्थमन्त्रालयसँग प्रस्ताव गरेका छौ,” उनले भने ।

त्यस्तै, वैदेशिक रोजगारीको नाममा ठगिएमा तुरुन्तै सम्बन्धित निकायमा उजुरी गर्न श्रममन्त्री अर्यालले आग्रह गरेका छन् । “वैदेशिक रोजगारीको नाममा ठगिएमा वैदेशिक रोजगार विभागमा तुरुन्तै उजुरी दिनुहोस् । त्यो सम्भव भएन भने पनि हाम्रो सचिवालयमा ठगी गरेको संस्था वा व्यक्तिको विवरण टिपाउनु होस,” उनले भने । ठगी गर्ने व्यक्ति वा संस्थालाई निमर्म भएर कारवाही गरिनेछ । छलफलमा पत्रकारहरुको प्रश्नको जवाफ दिदै मन्त्री अर्यालले मन्त्रालयले अगामी दिनमा श्रमिकलाई अनिवार्य रुपमा सीप तालिमको व्यवस्था गरिने, रोजगार बैक स्थापना गरिने, भारतमा जाने श्रमिकको तथ्यांक संकलन गरिने जानकारी दिए ।

श्रममन्त्री अर्याल राजनीतिमा प्रवेश गर्नु अघि नै कर्णालीको जनजीवनसँग नजिक छन् । उनकै नेतृत्वमा कालीकोटमा २५ बेड क्षमताको अस्पताल निर्माण गरिएको थियो । जसलाई ५० बेडमा स्तरउन्नती गर्न सकिन्छ । कर्णालीमा अथाहा सम्भावना छ । यही सम्भावनालाई अवसरमा परिवर्तन गर्नुपर्ने समय आएको उनले बताए ।