कस्ताे रहला आजकाे माैसम ?

काठमाडौ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।

विभागका अनुसार अहिले कोशी प्रदेशको केही स्थान र वागमती प्रदेशको पहाडी भूभागको केही भागमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

विभागले आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । कोशी र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले अहिले बिहान छ बजे जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । मधेस र लुम्बिनी प्रदेशलगायत कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिउँपर्नसक्ने छ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको पहाडी भागका केही भेगका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम २० डिग्री सेल्सियस छ । आज यहाँको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने विभागको पूर्वानुमान छ ।

नेपाल प्रहरीका ४ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाण्डौँ । नेपाल प्रहरीका चार जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यलयका कृष्णहरि शर्मा पोखरेल रहेका छन् । त्यस्तै दानबहादुर कार्की, डा मनोज केसी र राजन अधिकारी पनि बढुवाका लागि सिफारिस भएका छन् ।

डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले रु एक करोड ११ लाख ६८ हजार पाँच सय सहयोग गरेको छ ।

लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसिआइएफ) ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो ।

जिल्लाकै ठूलो उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए । तीनवटै लायन्स क्लबले लायन्स क्लब नेपाला इन्टरनेसनल तीन सय २५ एललाई उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि अनुरोध गरेको लायन्स क्लबका डिष्ट्रिक क्याबिनेट सचिव सुजित हीराचनले बताए। उनका अनुसार अब अस्पतालमा डायलासिस सेन्टर स्थापनाका लागि प्रक्रिया थालिनेछ ।

जिल्लामा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला पीडितलाई सास्ती भइरहेकाले क्लबले अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो ।

मिर्गौला पीडित बिरामीका लागि आवश्यक उपचार गर्न अस्पतालमा छ थान मेसिन राख्ने तयारी गरिएको हिराचनले बताए । उनले भने, “यो भेगमा डायलासिस सेवा अति आवश्यक भइसकेको छ । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता छ । यही डायलासिस सेन्टर स्थापना गर्न सकिए उहाँहरुलाई सहज हुन्छ ।”

दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।

अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर अप्रेसनलगायतका सेवा दिइरहेको छ ।

अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ । अस्पतालमा दैनिक दुई सय ५० भन्दा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०/५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ ।

हाल सदरमुकामस्थित दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर छ । दमौली अस्पतालमा सात वटा उपकरणमार्फत मिर्गौला पीडितलाई सेवा दिइएको छ । यसअघि चार वटा उपकरण मात्रै सञ्चालन रहेकामा तीन वटा नयाँ उपकरण थप गरिएको छ ।

केन्द्रमा तीन वटा नयाँ उपकरण आएपछि पालो पर्खिएर बसेका २१ जनालाई समेत डायलासिस सेवा दिन थालिएको केन्द्रका इञ्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए ।

उनले भने, “उपकरण थप नहुँदा सेवा दिन सक्ने अवस्था थिएन, तीन वटा नयाँ उपकरण आएपछि पालो कुरेका सबैलाई सेवा दिइएको छ । हाल केन्द्रबाट ५५ जनाले डायलासिस सेवा लिइरहनुभएको छ ।” पण्डितका अनुसार ४९ जनाले हप्ताको दुई पटक, पाँच जनाले हप्ताको तीन पटक र एक जनाले हप्ताको एक पटक डायलासिस सेवा लिइरहेका छन् ।

विसं २०७२ मङ्सिर ३ गते अस्पतालमा डायलासिस युनिट सञ्चालनमा आएको थियो । उक्त युनिट विसं २०८० कात्तिक २४ गते दमौली अस्पताललाई हस्तान्तरण गरिसकिएको छ । युनिटमा हालसम्म दुई सय २८ जनाले डायलासिस सेवा लिएका छन् । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौला पीडितले पनि डायलासिस सेवा लिइरहेका छन् ।

हेल्थ केयर फाउण्डेसन अफ नेपालले दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधन उपाध्यायको स्मृतिमा सुरुमा रु एक करोड सहयोग गरेका थिए भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गरेका थिए ।

यस्तो छ तपाईंको ५ जेष्ठ २०८१, शनिबारको राशिफल

मेष : ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

वृष : समय राम्रो छ। साथीभाइसँग भेटघाट हुनेछ। जोशजाँगर र उमंग बढ्ला । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।

मिथुन : राम्रो आम्दानी हुनेछ। स्वास्थ्यमा लाभ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

कर्कट : कुरा काट्नेहरु सक्रिय छन्। ठुलो लगानी नगर्नु उपयुक्त हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। कृषिमा गरेको लगानीले फाइदा दिनेछ। परिवारसँगको सम्बन्धमा भने खटपटी हुनेछ।

सिंह : शिक्षामा उन्नति हुनेछ। उत्तरको लामो यात्रामा नजानु राम्रो हुन्छ। स्वास्थ्यमा गडबढी हुने देखिन्छ। पारिवारिक झमेला हुनेछ।

कन्या : समय राम्रो छ। आम्दानी बढ्नेछ। मनमा हुने बेचैनीले तनाव बढ्नेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा गरेको लगानीमा फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

तुला : खर्च बढ्ने योग छ। शिक्षामा कमजोरी हुनसक्छ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक मेलमिलाप सन्तोषजनक रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : आम्दानी बढ्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्यमा समस्या हुने दिन छ। कम बोल्नु राम्रो हुनेछ।

धनु : समय राम्रो छ। दीर्घकालीन योजना बनाएको राम्रो हुन्छ। सामाजिक क्षेत्रमा नाम, व्यापारमा दाम र स्वास्थ्यमा आराम हुने दिन छ। पारिवारिक सम्बन्ध सन्तोषजनक रहनेछ। बोलीले मित्रसँगको सम्बन्धमा खटपट आउनेछ।

मकर : झुटो आरोप लाग्नसक्छ। आफन्तबाट घात हुने योग छ। ठूला योजना नबनाएको राम्रो। पारिवारिक सहयोग भने मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : महत्तवपूर्ण काम गर्नु अगाडि विज्ञसँग सुझाव लिनु राम्रो हुनेछ। परिवारको सल्लाहमा अघि बढ्दा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। व्यवहार गर्दा भने सचेत हुनुपर्ने देखिन्छ।

मीन : चुनौतीको सामना गर्नुपर्नेछ। सफलता मिल्नेछ। सबै क्षेत्रमा गरेको लगानीबाट सामान्य लाभ मिल्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। नसोचेका व्यक्तिबाट सहयोग मिल्नेछ। परिवारको साथ रहनेछ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार अमेरेकी डलर एकको दर अधिकतम १३३ रुपैया ०४ पैसा र बिक्री दर १३३ रुपैया ६४ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४४ रुपैयाँ २२ पैसा र बिक्री दर १४४ रुपैयाँ ८७ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६८ रुपैयाँ ३० पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ ३० पैसा र बिक्री दर १४६ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५० पैसा र बिक्री दर ८८ रुपैयाँ ९० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५३ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ९७ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ५४ पैसा र बिक्री दर ८ रुपैयाँ ५७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४१ पैसा र बिक्री दर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।

कस्ताे रहला शनिबारकाे माैसम ?

काठमाडौँ । हाल नेपालमाब स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसकाे प्रभावले शनिबार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

काठमाडौँ । सहसचिवको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

लोक सेवा आयोगले विज्ञापन नम्बर १६६७७-०८०-८१ (मधेसी) लेखापरीक्षण सेवा, विज्ञापन नम्बर १६६५६-०८०-८१ (खुला) न्याय सेवा र विज्ञापन नम्बर १६६५८-०८०-८१ (खला) प्रशासन सेवा तर्फ लिएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।

आयोगले लेखापरिक्षण सेवा तर्फ एक, प्रशासन सेवा तर्फ २ र न्याय सेवातर्फ एक जनाको नाम सिफारिस गरेको छ ।

काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै

काठमाडौं । नेपालमा पहिलोपटक ‘न्युयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ आयोजना हुने भएको छ । न्युयोर्क राइटर वर्कशपले लोटस बुक पसलसँगको सहकार्यमा यही जेठ ९ देखि १५ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जेठ ९ देखि १३ गतेसम्म कार्यशाला र १४ देखि १५ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल हुने र त्यसक्रममा समूहगत छलफल, नेपाली, नेवारी र अङ्ग्रेजी भाषामा कविता प्रस्तुति, फोटोग्राफी, योगा, मेडिटेसन लगायत कार्यक्रम हुने आयोजकले जनाएको छ ।

नेपाल, भारत, चीन, हङकङ, अमेरिका, रसीया, अष्ट्रेलिया, फिलिपिन्सलगायत १२ भन्दा बढी मुलुकबाट ३५ अन्तर्राष्ट्रिय लेखक तथा प्रशिक्षकहरु सहभागी हुने फेस्टिभलका संरक्षक एवं हिमालयन कवि युयुत्सु आरडी शर्माले बताए । उनले साहित्य तथा पर्यटन प्रवर्द्धन गर्न महोत्सव उपयोगी हुने विश्वास व्यक्त गरे । शर्माका अनुसार कार्यशालामा लेखकहरूले आफ्ना साहित्यिक रचना प्रदर्शन गर्नेछन् । “यस वर्ष हिमालयन लिटरेचर फेस्टिभल सुरू गर्न पाउँदा हामी हर्षित छौँ”, कवि शर्माले भने, “हाम्रो लक्ष्य एउटा ‘प्लेटफर्म’ सिर्जना गर्ने हो, जसले साहित्यलाई मात्र होइन, समुदायको भावनालाई समेत बढावा दिन्छ र रचनात्मकतालाई प्रेरित गर्छ ।”

मुख्य कार्यक्रमहरूको अतिरिक्त महोत्सवमा पुस्तक हस्ताक्षर, पुस्तक विमोचन र विभिन्न विधाका लेखकसँग अन्तरक्रियात्मक सत्रहरू समावेश हुने जनाइएको छ ।

नेपाल प्रहरीका चार जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाण्डौँ । नेपाल प्रहरीका चार जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले एसएसपीहरू कृष्णहरि शर्मा पोखरेल, दान कार्की, मनोज केसी र राजन अधिकारीलाई बढुवा सिफारिस गरेको हो ।

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा न्यौपाने

काठमाडौ । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेलाई दिइएको छ ।

सुदूरपश्चिमको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीबाट हालै सरुवा भएर काठमाडौँ आएका न्यौपानेलाई आज प्रवक्ताको जिम्मेवारी दिइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल नेपाल युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी आफूलाई तोकिएको प्रवक्ता न्यौपानेले बताए ।

श्रम तथा रोजगार सम्बन्धी सुचनालाई व्यापक बनाउन श्रममन्त्रीको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले श्रम तथा वैदेशिक रोजगार सम्बन्धी जानकारीलाई व्यापक बनाउन आग्रह गरेका छन् । शुक्रबार देखि कोहलपुरमा शुरु हुन गै रहेको रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्र्दे मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

रोजगार संयोजक भनेको सुचना संवाहको हो । त्यसैले गाउँ गाउँमा सही सुचना दिएर ठगिनबाट जोगाउन र स्वरोजगार हुनका लागि आवश्यक सहयोग गर्न उनले आग्रह गरे । “तपाईहरुको उपस्थित अत्यन्तै महत्वपूर्ण छ । हामीले यस कार्यक्रमको ढाँचा परिवर्तन गरी तपाईहरुलाई अझै जिम्मेवार बनाउन खोजेका छौ । आफनो जिम्मेवारीलाई इमान्दारीतका साथ पुरा गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु,” उनले भने । त्यस्तै, चार दिनसम्म सञ्चालन हुने तालिमको सफलताको पनि कामना गरे ।

श्रम मन्त्रालय अन्र्तगतको प्रधानमन्त्री रोजगार कार्यक्रमले शुक्रबार देखि लुम्बिनी प्रदेशका रोजगार संयोजकका लागि प्रशिक्षण तालिम शुरु गरेको छ । अन्तराष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा मन्त्रालयले तालिमको आयोजना गरेको हो । तालिममा लुम्बिनी प्रदेशका २०४ जना रोजगार संयोजकको सहभागीता रहेको छ । तालिम सात गतेसम्म सञ्चालन हुनेछ ।

सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा शाही

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही सिफारिस भएका छन् ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मुख्य न्यायाधिवक्तामा अधिवक्ता शाहीलाई सिफारिस गरेका हुन् ।

अब शाहीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नेछन् ।

सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लियो

काठमाडौँ । सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ । विधेयक फिर्ता लिनका लागि सरकारले सङ्घीय संसद् सचिवालयलाई पत्र पठाएको छ। संशोधन विधेयक फिर्ता लिने सम्बन्धी पत्र संसद् सचिवालयमा पुगिसकेको सचिवालय स्रोतले जानकारी दिएको छ ।

सरकारले चाहे जुनसुकै बेला पनि विधेयक फिर्ता लिन सक्ने कानुनी व्यवस्था अन्तर्गत उक्त विधेयक फिर्ता लिइएको हो । सरकारले दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०–४० प्रतिशत सदस्य आवश्यक पर्ने पूर्ववत् व्यवस्था लागू हुने गरी विधेयक अगाडि बढाएको थियो ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा नयाँ दल गठन भएको थियो । सत्ता पक्षकै योजनामा उक्त पार्टी फुटेको आरोप लाग्दै आएको छ । तर सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि उक्त पार्टी अहिले कुनै पनि काम गर्न नपाउने अवस्थामा रहेको छ। जेठ ८ गते अर्को सुनुवाइ तोकिएको र त्यसअघि उक्त पार्टीले कुनै पनि निर्णय लिन नपाउने भएपछि सरकारले विधेयक फिर्ता लिएको देखिन्छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा तत्कालीन राजपा र सङ्घीय समाजवादी पार्टी फुटाउने उद्देश्यसहित राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था संशोधन गर्न अध्यादेश ल्याएका थिए । उक्त अध्यादेशमा केन्द्रीय समिति र संसदीय दल दुबैमा ४०–४० प्रतिशत सदस्य सङ्ख्या आवश्यक पर्नेको ठाउँमा केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए पुग्ने व्यवस्था राखिएको थियो ।

त्यसको चर्को आलोचना भएपछि ओलीले अध्यादेश फिर्ता लिएका थिए ।उक्त विधेयक पास हुन नसकेपछि त्यसपछिका प्रधानमन्त्रीहरुले पनि संसदमा पेश गर्दै आएका छन् । संसद्‌बाट विधेयक पारित भई कानुन बन्न नसक्दा राजनीतिक दल सम्बन्धी ऐन शून्यतामा रहेको छ। रातोपाटीबाट

‘एमडीएच’ र ‘एभरेष्ट’को मसलामा नेपालले लगायो रोक

काठमाडौँ । नेपालले भारतीय मसला निर्माता कम्पनीहरू ‘एमडीएच’ र ‘एभरेष्ट’ ब्रान्डका मसलाहरूमाथि रोक लगाएको छ । भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडीएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाएको हो ।

यससँगै बिहीवार विभागका महानिर्देशक मतिना जोशी वैद्यको अध्यक्षतामा बसेको बैठकले ‘एमडीएच’ र ‘एभरेष्ट’ ब्रान्डका चार वटा मसलाहरूको आयात अनुमति तत्काल स्थगित गर्ने र बजारमा रहेका सो ब्रान्डका उत्पादनहरू ‘रिकल’का लागि निर्देशन दिने निर्णय गरेको छ । 

विभागले एमडीएच ब्रान्डको मद्रास करी पाउडर(स्पाइस ब्लेण्ड फर मद्रास करी), साम्भर मसला मिक्स्ड मसला पाउडर र करी पाउडर मिक्स्ड मसला पाउडर तथा एभरेष्ट ब्रान्डको फिस करी मसलामाथि रोक लगाएको हो । 

यी दुई ब्रान्डका मसलामा क्यान्सर गराउने रसायन रहेको समाचार सार्वजनिक भएसँगै नेपाली उपभोक्तामा पनि यसबारे गम्भीर चासो र चिन्ता व्यक्त भएको थियो । जससँगै विभागलाई थप दबाब सिर्जना भएको थियो । 

आम नागरिकको स्वास्थ्यप्रतिको चाँसो र चिन्तालाई मध्यनजर गर्दै विभागले राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई ‘एथलीन अक्साइड’को परीक्षणलाई उच्च प्राथमिकतामा राखी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । 

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा

काठमाडौँ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा भएको छ । गृह मन्त्रालयले नेपाल प्रशासन सेवा राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन तथा सरुवा गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको शुक्रवारको मन्त्रीस्तरिय निर्णय अनुसार गृह मन्त्रालय वा अन्तर्गत कार्यरत सहसचिव केदारनाथ शर्माको प्रमुख जिल्ला अधिकारीको रूपमा जिल्ला प्रशासन कार्यालय पर्वत र सहसचिव नेत्र प्रसाद सुवेदीको प्रमुख जिल्ला अधिकारीको रूपमा बागलुङमा पदस्थापन गरिएको छ ।

यसै गरी बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई प्रमुख जिल्ला अधिकारीका रूपमा जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको जनाईएको छ ।