सन्दीप लामिछानेलाई उच्च अदालतले दियो सफाइ

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।

न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला सदर, आंशिक सदर वा उल्ट्याउदै सन्दिपलाई निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।

रौतहटको सम्पूर्ण पालिका पूर्णखोप सुनिश्चितता घोषणा

रौतहट २ जेष्ठ। रौतहटको सम्पूर्ण पालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। कटहरिया नगरपालिका संगै जिल्लाको सम्पुर्ण पालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो। बुधबार एक विशेष समारोह वीच” पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ कटहरिया नगरपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । कटहरिया संगै जिल्लाको सबै १६ नगरपालिका र दुई गाँउपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।
कटहरिया नगरपालिकाको स्वास्थ शाखा द्वारा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति एवं खोप समन्वय समिति रौतहटका सभापति रामअयोध्या यादव र जिल्ला स्वास्थ्य कार्यालयकाको चेन कोल्ड अधिकृत अनिल कर्णले संयुक्त रूपमा पूर्ण खोप सुनिश्चितता घोषणा गरेका थिए। समन्वय प्रमुख यादवले मेयर अजयप्रकाश जैसवाल लाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
लगत्तै कार्यक्रमका प्रमुख अतिथि यादव र मेयर जैसवालले नौ वटै वडाका वडा अध्यक्षहरु लाई खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
नगरलाई पुर्ण खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने सम्पूर्ण कर्मचारी तथा स्वयंशेविकालाई मेयर जैसवालले कदर पत्र प्रदान गरेका थिए।
कार्यक्रममा जिल्ला समन्वय समिति तथा खोप समन्वय समितिका अध्यक्ष राम अयोध्या प्रसाद यादव, मेयर अजयप्रकाश जैसवाल,नगरपालिका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान, स्वास्थ शाखा प्रमुख शंकर यादव, ९ वडाका वडाध्यक्ष लगायत डब्लु. एच. ओ.को प्रतिनिधि आशा चौधरी ,जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
रौतहटका १८ पालिका मध्ये १७ पालिक यस अघिनै पूर्णखोप सुनिश्चितता घोषणा गरिएको थियो।

६९० किलोग्राम गाँजासहित सुनसरी र मोरङबाट चार जना पक्राउ

सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका-५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ सय ४० किलोग्राम, १ लाख ५० हजार भारतीय रूपयाँ र ५२ हजार नेपाली रूपैयाँसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी नगरपालिका-१४ बस्ने २५ वर्षीय चन्द्र बहादुर पाख्रिन, मोरङ लेटाङ नगरपालिका-६ बस्ने बल बहादुर लिम्बु र सुनसरी देवानगंज गाउँपालिका-४ बस्ने ३० वर्षीय अरबिन्द पाल रहेका छन् ।

इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरीले राजगंज सिनबारीबाट साहेबगंजतर्फ जाँदै गरेको को.१ ख ७१२३ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा १३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक चन्द्र बहादुर तथा ट्रकमा सवार  बल बहादुर र अरबिन्दलाई पक्राउ गरेको हो । 

त्यस्तै मोरङको बिराटनगर महानगरपालिका-१७ आइसिपी रोडबाट अवैध लागूऔषध गाँजा २ सय ५० किलोग्रामसहित धनकुटा सहिदभुमी गाउँपालिका-३ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा प्रदेश १-०२-०२ च. ६३३१ नम्बरको पिकअप भ्यानमा गाँजा अनलोड गर्दै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पिकअपका चालक ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेपाल प्रहरीका ६४ सईको बरिष्ठ सईमा बढुवा सिफारिस [सूचीसहित]

काठमाडौँ । नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

मंगलबार बसेको बढुवा समितिको बैठकले उनहरूलाई बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवा सूची प्रकाशन गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

हेर्नुहोस् सूची

लाखौंको सामान ४ मोटरसाईकल सहित भारतीय तस्कर पक्राऊ

रौतहट २ जेठ। रौतहट स्थित सशस्त्र प्रहरीलाई सफलता मिलेको छ। सशस्त्र प्रहरीको गस्ती टोलीले साढे ९ लाखको अबैध भारतीय सामान,४ वटा मोटरसाइकल सहित एकजना भारतीय तस्कर लाई पक्राउ गर्न सफल भएको छ।

सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहट र मातहतका युनिटबाट खटिगएको गस्ती टोलीले उक्त सामान मोटरसाइकल सहित तस्करलाई पक्राउ गरेको हो।

भारतीय बजारबाट ९ लाख ४५ हजार १३२ रुपैया बराबरको फेन्सी कपडा, किराना, धानको बीउ लगायत बिभिन्न सामानहरू बा५१ प ९९९३,भे२ प ४३८९, विआर ०५ क्यू ९४६२ र विआर २२ एम ६११२ नम्बरको मोटरसाईकलमा राखेर भन्सार छली ल्याउँदै गरेको अवस्थामा सीमाक्षेत्र बाट भारत बिहार घोडासहन पञ्चायत ११ बस्ने बर्ष ३४ का तस्कर सन्तोष कुमार लाई गस्ती टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।

अन्य तीनजना मोटरसाईकल चालक तस्कर गस्ती टोलीलाई हेरेर मोटरसाईकल सहित सामान फालेर भारत तर्फ भाग्न सफल भएको एस्पी हुमागाईंले जानकारी दिएका छन्।
बरामद सामान मोटरसाईकल सहीत तस्कर सन्तोष लाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। पछील्लो समय प्रहरीको गस्ती टोलीले धमाधम अबैध सामान सहित तस्कर लाई पक्राउ गरिरहेको देखिएको छ।

डेढ अर्ब ठगीमा उपसचिवसहित तीन कर्मचारी संलग्न

कास्की । पोखराको प्राइम सहकारीको ठगीमा उपसचिवसहित तीन कर्मचारीको पनि संलग्नता पुष्टि भएको छ । कर्मचारीले घुस लिएर सहकारीको अवैध कारोबारमा साथ दिएका थिए ।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशले गरेको छानविनमा तीन कर्मचारीको संलग्नता रहेको भन्दै उनीहरूमाथि समेत कारबाहीका लागि प्रहरीमा सिफारिस भएको छ ।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशले तत्कालिन रजिष्ट्रार उदय पराजुली, सहकारी विभाग काठमाडौंका शाखा अधिकृत सन्देष प्रसाद जोशी र नायब सुब्बा कमल पोखरेल सहकारीबाट घुस लिएका हुन् । पराजुलीले ३० लाख तथा अधिकृत जोशी तथा नासु पोखरेलले सात लाख ५० हजार घुस लिएर सहकारीको अवैध कारोबार लुकाएका थिए ।

उनीहरुले राम्रोसँग अनुगमन गरेको भए सहकारी अहिलेको अवस्थामा पुग्ने थिएन । उनीहरुमध्ये पराजुली पोखराकै मित्रमिलन सहकारीको ठगी मुद्दामा पक्राउ परी हाल जेलमा छन् । सो सहकारीबाट उनले एक करोड लिएका थिए ।
प्राइम सहकारीका कर्मचारी तथा सञ्चालकले दिएको बयानका आधारमा तीन कर्मचारीले घुस लिएको पुष्टि भएको हो ।

कास्की प्रहरीले सहकारीका अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, पूर्वअध्यक्ष नितेशप्रसाद कोइराला, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा विभाग प्रमुख सुनील थापा, सञ्चालक मनबहादुर गुरुङ, सहकारीका कानुनी सल्लाहकार अधिवक्ता ईन्द्रप्रसाद बराल लगायतलाई पक्राउ गरी अनुसन्धान थालेको छ । दुई कर्मचारीलाई पनि पक्राउ गर्ने प्रहरी तयारी छ ।

नेप्सेमा सामान्य अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ९.५४ अंक घटेर २०१७.९७ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१७ अंक, फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंक घटेको छ।

नेप्सेमा आज ३ अर्ब ७० करोड ८४ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ६५ वटाको बढेको छ भने १७२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।            

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् ।     

आज गुरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन पिपुल्स पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ११ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

सुदूरपश्चिम प्रदेशको संसदीय दलले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

काठमाण्डौँ । नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेशको संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने तर सरकारमा नजाने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो।

एमालेले नीति तथा कार्यक्रम तयार गर्नका लागि भने साझेदार दलसँग छलफल गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री सोडारीले यसअघि वैशाख २१ र २२ गते समेत विश्वासको मत लिन खोज्नुभएको थियो। तर एमालेले निर्णय नगर्दा विश्वासको मत लिने कार्यक्रम स्थगित भएको थियो।

नेकपा (एकीकृत समाजवादी) का दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री सोडारीले बिहीबार १०ः १५ बजे विश्वासको लिने कार्यक्रम छ।

सोडारी मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना पुग्न लागेको बेला विश्वासको मत लिन थाल्नुभएको हो।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन २७ जनाको समर्थन आवश्यक हुन्छ। मुख्यमन्त्री सोडारीलाई एमालेका ११ र नेकपा (माओवादी केन्द्र) का १० गरेर २२ जना, एकीकृत समाजवादीका चार, नागरिक उन्मुक्तिका दुई र स्वतन्त्र एक जना गरेर २८ जना प्रदेश सभा सदस्यको समर्थन छ।

आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने


काठमाडौँ । प्रतिनिधिसभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने जनाएको छ । मङ्गलबार सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि नीति तथा कार्यक्रम ल्याएको थियो ।

प्रतिनिधिसभाले तय गरेको सम्भावित कार्यसूची अनुसार जेठ ३ गतेबाट सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने जनाएको छ । जेठ ४ गते, ६ गते, ७ गते र ८ गते नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

यसैगरी, ९ गते पनि छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने गरी संसदीय क्यालेन्डर तय भएको छ । सो दिन शून्य सयम, विशेष समय, प्रधानमन्त्रीबाट वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ, प्राप्त संशोधनहरु र वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यसैगरी, जेठ १३ गते शून्य समय, विशेष समय, आर्थिक वर्ष २०८०-०८१ को आर्थिक सर्वेक्षण पेश, बैंक तथा वित्ती संस्थासम्बन्धी पहिलो संशोधन विधेयकमाथि विचार गरियोस्, रा।स।मा उत्पत्ति भएको विधायनसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसदीय क्यालेन्डरमा उल्लेख छ ।

जेठ १५ गते आर्थिक वर्ष २०८१-०८२ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल, आर्थिक विधेयक २०८१ पेश, राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरिनेछ ।

उपत्यकाका धारामा मेलम्चीको पानी आउन फेरि बन्द हुने

काठमाण्डौँ । उपत्यकाका धारामा मेलम्चीको पानी आउन फेरि बन्द हुने भएको छ । मेलम्ची बाढीले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स मर्मतपछि पाँच महिनाअघि अस्थायी रूपमा काठमाडौंमा पानी ल्याइएको थियो । तर, बर्खायाम सुरु भएसँगै मेलम्ची नदीमा जुनसुकै वेला बाढी आउन सक्ने र आयोजनामा क्षति पुग्ने भन्दै पानी रोक्न लागिएको हो ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार सुन्दरीजलमा धमिलो पानी आउनेबित्तिकै मेलम्चीको पानी रोकिनेछ । ‘अस्थायी रूपमा पानी ल्याइरहेकाले यो वर्ष पनि बर्खामा मेलम्चीको पानी उपत्यकामा झर्दैन,’ समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले भने, ‘सुरुङ हुँदै सुन्दरीजलसम्म आउने पानीमा धमिलोपन बढ्दै गएपछि पानी बन्द गर्छौँ ।’ मेलम्चीबाट पठाएको पानीमा हुने तीन सय युनिटसम्मको धमिलोपन प्रशोधन गर्न सक्ने क्षमता सुन्दरीजल प्रशोधन केन्द्रको रहेको छ । प्रशोधन केन्द्रले प्रशोधन गर्न नसक्ने अवस्था आएलगत्तै पानी बन्द हुनेछ । धमिलो पानी सुरुङमा पसेमा सफा गर्न गाह्रो हुने भएकाले त्यसअघि नै बन्द गर्ने समितिको योजना छ ।

अघिल्लो वर्षको असारमा पनि मेलम्चीमा धमिलो पानी आउन थालेपछि पानी बन्द गरिएको थियो । त्यसपछि १ माघदेखि मात्र उपत्यकावासीको धारामा पठाउन थलिएको थियो । मेलम्ची नदीमा बाढी आउन थालेपछि गत साउनदेखि भने पूर्ण रूपमा पानीमा रोक लगाइएको थियो । यसअघिका बर्खायाममा पनि मेलम्चीको पानी रोकिएको थियो ।

२७ र २८ साउन ०७९ मा आएको बाढीले आयोजनाको हेडवर्क्स बगाएकाले अस्थायी रूपमा समेत पानी ल्याउन सकस भएको थियो । बर्खा सुरु भएसँगै समितिले ९असार पहिलो सातादेखि० मेलम्चीको पानी बन्द गरेको थियो । यस्तै, १ असार र १५ साउन ०७८ मा मेलम्चीमा आएको बाढीले हेडवर्क्स र सुरुङमा क्षति पुगेको थियो । १५ चैत ०७७ बाट मेलम्चीको पानी उपत्यकाका धारामा वितरण थालिएको थियो ।

प्रत्येक वर्ष बाढीले मुख्य हेडवर्क्समा क्षति पुग्न थालेपछि सरकारले हेडवर्क्स सार्ने तयारी थालेको छ । यसका लागि आयोजनाको मुख्य ऋणदाता एसियाली विकास बैंक, परामर्शदाता र विशेषज्ञहरूको समूहले हेडवर्क्स सार्न सिफारिस गरेको थियो । ऋणदाताबाटै हेडवर्क्स सार्न सुझाव आएपछि सरकार पनि सकारात्मक भएको हो । हेडवर्क्स सार्नका लागि खानेपानी मन्त्रालयले तयारी थालिसकेको जनाएको छ ।

यसका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिनुपर्छ । सकारकाले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि वर्षभरि नै मेलम्चीको खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाई काठमाडौं उपत्यकाको चक्रपथबाहिर र भक्तपुर जिल्लाको अरनिको राजमार्गसँग जोडिएका क्षेत्रमा क्रमशः खानेपानी आपूर्ति गरिने बताए । नयाँ पत्रिकाबाट

सुनको मूल्य तोलामा ३ सयले घट्यो


काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन आइतबार प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि भने १ लाख ३८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन आइतबार १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने १ लाख ३७ हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले ओरालो लागेको छ । आइतबार प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ७ सय १५ रुपैयाँ निर्धारण भएको छ ।

बबई नदीमा डुबेर दाजुभाइको मृत्यु

काठमाण्डौ । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजु भाइको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नम्बर ७ ओदाले घाटमा पौडी खेल्ने क्रममा १८ वर्षका दीपक परियार र १६ वर्षका दिपेश डुबेका थिए । अस्ति सोमवार भारतबाट फूपूको घर बबई आएका दाजुभाइको हिजो नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए । दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको पौडी खेल्नेक्रममै मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताए । उनीहरुको परिवार कामको सिलसिलामा भारतमा बस्ने गरेका छन् ।

अनलाइनमार्फत ४७ लाख ठगेको आरोप, युवती पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ लाई माध्यम बनाएर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएर कुलेश्वर बस्ने सुनिता गुरुङ छिन् ।

२८ वर्षीया गुरुङले ४७ लाख ६८ हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । फेसबुकमा ‘फ्लावर सप नगया’ नामको आइडी बनाएर म्यासेन्जरमार्फत जापानमा चप्पल कारखाना, माछा प्याकिङ र कलम फयाक्ट्रीमा रोजगारीका लागी पठाउँछु भनेर उनले रकम असुलेकी हुन् ।

पीडितहरूसँग रकम असुलेपछि उनी सम्पर्कविहीन भएकी थिइन् । उनलाई कुलेश्वर हाइटबाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।

यस्तो छ तपाईंको २ जेष्ठ २०८१, बुधबार आजको राशिफल

मेष :समय राम्रो छ। बोलीको प्रभावले धेरै मानिस आकर्षित हुनेछन्। सामाजिक र राजनीतिक क्षेत्रबाट प्रगति हुनेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ।

वृष : दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेका प्रतिस्पर्धीहरू सहयोगीका रूपमा देखा पर्नेछन्। साँझतिर साथीभाइमा असमझदारी बढ्नाले लक्ष्यमा पुग्न समस्या पर्नेछ। आफन्तजनको विश्वास पनि गुम्न सक्छ।

मिथुन : नयाँ जिम्मेवारी प्राप्त हुनुका साथै काममा ठूलै फड्को मार्न सकिनेछ। मनग्य धनलाभ हुनाले पारिवारिक आवश्यकता पूर्ति हुनेछ। रोकिएको काम सम्पादन हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्न सक्छ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धन उपयोग गर्दा पनि फाइदा हुनेछ। साँझतिर विवादास्पद जिम्मेवारी सुल्झाउन जुट्नुपर्ने हुन सक्छ।

कर्कट : मनमा अशान्ति बढ्नेछ। जुनसुकै काममा पनि झन्झट आइलाग्न सक्छ। साथीले शंकाले हेर्नेछन्। आफू सकारात्मक बनेर काम गर्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर होला। वैदेशिक लगानीबाट भने घाटा हुने देखिन्छ।

सिंह : बौद्धिक क्षेत्रको प्रयास सफल हुने योग छ। गुरुको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। प्राप्त भएको धन जोगाउनतर्फ लाग्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। विदेशको लगानीले मनमा उत्साह थप्नेछ।

कन्या : पुराना साथी र आफन्तसँग भेट हुनेछ। नयाँनयाँ कामको थालनी गर्ने समय छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा विवाद बढ्ने देखिन्छ। शान्त बसेमा परिवार भित्रको झगडा मिलाउन सक्नुहुनेछ।

तुला : आफ्नो काम आफै गर्नु राम्रो हुनेछ। कुनै योजना बनेको भए गोप्यता कायम राख्नु राम्रो हुन्छ। परिवारमा मेलमिलाप हुनेछ। व्यापार र शिक्षा क्षेत्रमा उपलब्धि नहुने देखिन्छ।

वृश्चिक : दैनिकी चुनौतीपूर्ण छ। खुट्टा तान्नेहरु सक्रिय हुनेछन्। तपाईंको अगाडि मिठो बोल्नेहरु असफल बनाउन सक्रिय छन्। समस्यालाई चिर्दै अगाडि बढे समाधानको बाटो खुल्नेछ। आर्थिक र सामाजिक क्षेत्र सबल छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : स्वास्थयमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा भने सोचे भन्दा विपरीत नतिजा प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : आर्थिक क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। बोल्दा ख्याल नगरेमा आफ्नै बोलीले समस्या पार्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। व्यापारमा घाटा होला।

कुम्भ : तपाईंलाई शंकाको दृष्टिले हेर्ने धेरै छन्। जुनसुकै काम गर्दा पनि जोगिएर गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। आज शनि शान्तिको पूजा गर्नु राम्रो हुनेछ।

मीन : खर्च बढ्ने योग छ। काममा अवरोध हुने भएकाले सचेत बन्नुपर्ने देखिन्छ। अवरोध भइहाले शान्त भएर संघर्ष गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

काठमाडौ । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।

सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ । हरित रोजगारी परियोजना राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)मार्फत सञ्चालन हुनेछ ।

त्यस अवसरमा अर्थसचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता व्यक्त गरे ।

राजदूत पार्कले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग विस्तारमा जोड दिइएको उल्लेख गर्दै नेपाल कोरियाको प्राथमिकताप्राप्त देश भएकाे बताए ।