फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग


काठमाडौं, २ जेठ– दक्षिण कोरियाले फोहोर मैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना गर्न ९८ लाख अमेरिकी डलर बराबर अनुदान प्रदान गर्ने भएको छ ।
अर्थ मन्त्रालय र कोरिया सरकारबीच त्यससम्बन्धी समझदारीपत्रमा मंगलबार हस्ताक्षर भएको हो । समझदारीपत्रमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि कोरियाली राजदूत तेयोङ पार्कले हस्ताक्षर गरे । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) मार्फत प्राप्त हुने सो रकम पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिनेछ । उक्त कार्यक्रम सयुंक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मार्फत सञ्चालन हुने समझदारीपत्रमा उल्लेख छ । परियोजनाको संयोजन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नेछ ।
अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालका अनुसार पोखरा महानगरपालिकासँगको सहकार्यमा फोहोरमैला व्यवस्थापन माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ । परियोजनाको लक्ष्य नगरपालिकाको क्षमता अभिवृद्धि, सूक्ष्म, साना तथा मझौला उद्यम प्रवद्र्धन गरी दिगो विकास लक्ष्य हासिल गर्नु रहेको मन्त्रालयले जनाएको छ । महानगर क्षेत्रभित्रका घरहरुबाट निस्कने अव्यवस्थित फोहोरको पुनः प्रयोग तथा फोहोरमा आधारित उद्योगहरुलाई आर्थिक र प्राविधिक सहयोग गर्नुका साथै बजारसँगको पहुँच वृद्धिका लागि उक्त रकम खर्च गरिनेछ ।

समझदारीपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा अर्थसचिव मरासिनीले कोरियाले नेपालको आर्थिक विकासमा गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । राजदूत पार्कले हरित रोजगारी परियोजनामार्फत बेरोजगारीहरुले रोजगारीको अवसर प्राप्त गर्ने तथा नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको स्मरण गर्दै नेपाल आफूहरुको प्राथमिकतामा रहेको बताए ।
उनले नेपाललाई आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । नेपालका लागि कोइकाका आवासीय निर्देशक कङ मुहेओनले यस परियोजनाले सर्वसाधारणमा फोहोरको उचित व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे ज्ञानसमेत प्राप्त हुने बताए ।

नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी

दमौली (तनहुँ) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन् । मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार दुई सय ९२ मत प्राप्त गरी उनी विजयी भएका हुन्।

अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले दुई सय चार मत प्राप्त गर्नुभएको निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिए । यसैगरी, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी भएका छन्।

अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । पाँच सय ८५ मतदातामध्ये पाँच सय ६० जनाले मतदान गरेका थिए ।

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार अमेरेकी डलर एकको दर अधिकतम १३३ रुपैया ३२ पैसा र बिक्री दर १३३ रुपैया ९२ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ९५ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ३८ पैसा र बिक्री दर १६८ रुपैयाँ १४ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४६ रुपैयाँ ८८ पैसा र बिक्री दर १४७ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १४ पैसा र बिक्री दर ८८ रुपैयाँ ५३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ९९ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ५२ पैसा र बिक्री दर ८ रुपैयाँ ५६ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर ४५ रुपैयाँ ४३ पैसा र बिक्री दर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।

डुबेर दाजुभाइको मृत्यु

तुलसीपुर (दाङ) । पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।

भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले बताए ।

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए ।

वैशाख मसान्तसम्ममा बजेट खर्च ६० प्रतिशत

काठमाडौ । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् रु १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ ।  सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो ।

 वैशाख मसान्तसम्ममा चालुगततर्फ वार्षिक विनियोजनको ६५ दशमलव ९१ प्रतिशत खर्च भएको छ । चालु शीर्षकमा रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर वार्षिक विनियोजन भएकोमा हालसम्म रु सात खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख बराबर खर्च भएको छ । 

पुँजीगत शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर वार्षिक विनियोनज भएकोमा वैशाख मसान्तसम्म वार्षिक लक्ष्यको ३७ दशमलव ०४ प्रतिशत अर्थात् रु एक खर्ब ११ अर्ब ८८ करोड २९ हजार बराबर खर्च भएको छ । त्यसैगरी, वित्तीय व्यवस्था शीर्षकमा ६२ दशमलव ६ प्रतिशत खर्च भएको छ । यो शीर्षकमा रु तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा रु एक खर्ब ९२ अर्ब ४५ लाख २२ हजार बराबर खर्च भएको हो ।
सो अवधिको कुल सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको ५८ दशमलव दुई प्रतिशत छ । चालु आवमा रु १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ बराबर राजस्व उठाउने लक्ष्य रहेकोमा वैशाख मसान्तसम्ममा रु आठ खर्ब ५७ अर्ब दुई करोड ८० लाख बराबर असुली भएको छ ।

 कर राजस्वतर्फ रु १३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख बराबरको वार्षिक लक्ष्य रहेकोमा हालसम्म ५७ दशमलव २१ प्रतिशत अर्थात् रु सात खर्ब ४६ अर्ब ८३ करोड २८ लाख बराबर उठेको छ । त्यस्तै, गैरकर राजस्वतर्फ रु एक खर्ब १७ अर्ब छ करोड २१ लाख बराबर लक्ष्य रहेकोमा ७२ दशमलव सात प्रतिशत अर्थात् रु ८५ अर्ब १० करोड चार लाख बराबर असुली भएको छ ।

त्यस्तै, रु ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकोमा हालसम्म लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अर्थात् रु दुई अर्ब ७५ करोड ८० लाख बराबर अनुदान लिइएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाइ हुने

काठमाडौ । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा आज बहस भएको र सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।

सरकारको नीति तथा कार्यक्रममा : गण्डकीका कुनकुन योजना परे ?

गण्डकी। सरकारले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा गण्डकी प्रदेशमा पर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि गोरखकाली रबर उद्योग सञ्चालन गरिनेसम्मका योजना समेटिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान सुरु गर्न प्रोत्साहन प्याकेजको व्यवस्था गरिने उल्लेख छ। हाल आन्तरिक उडान मात्र भइरहेको सो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पर्यटकीय राजधानी पोखरामा अर्बौँ लगानीमा बनेको उक्त विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्ने माग उठ्दै आएको छ।

सरकारले वर्षौँदेखि बन्द अवस्थामा रहेको गोरखाकाली रबर उद्योगलाई निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्ने योजना अगाडि सारेको छ । उद्योगको सम्भाव्यता अध्ययन गरी सार्वजनिक–निजी साझेदारी वा अन्य उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

गोरखाको मजुवा देउरालीमा रहेको सो उद्योग विसं २०७२ देखि पूर्ण रुपमा बन्द छ। विसं २०४९ देखि उत्पादन थालेको गोरखकाली रबर उद्योग नेपालको एकमात्र टायर उद्योग हो। सरकारले चालु आवको नीति तथा कार्यक्रममा पनि बन्द अवस्थाको सो उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको थियो। सरकार र राजनीतिक नेतृत्वबाट उक्त उद्योग चलाउने प्रतिबद्धता आउने गरेपनि अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन।

सो उद्योग सञ्चालनका लागि ठोस कार्ययोजना र ढाँचा तय भइ नसकेको जनाइएको छ। गोरखा नगरपालिका–१३ मजुवा देउरालीको छ सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा झण्डै १० अर्ब बराबरको सम्पत्ति रहेको जनाइएको छ। उद्योगको जग्गा, भवन, वन सम्पदा, उपकरण आदिको संरक्षण प्रयास भएपनि लामो समयसम्म सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएका छन्।

यस्तै आगामी आवदेखि बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना सरकारले आफ्नै लगानीमा बनाउने घोषणा यसअघि नै गरेको थियो। गोरखा र धादिङको सीमानामा पर्ने बुढीगण्डकी नदीमा बन्ने एक हजार दुई सय मेगावाटको उक्त आयोजना वर्षौँदेखि अन्यौलमा रहँदै आएको थियो।

गोरखामै एग्रो इण्डस्ट्रियल पार्क बनाइने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्साशास्त सङ्कायको स्नातक तहको कक्षा सुरु गरिने भएको छ। गण्डकीका अधिकांश जिल्ला समेट्ने मध्यपहाडी लोकमार्गलाई समृद्धि कोरिडोरका रुपमा विकास गर्न विद्युत्, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत पूर्वाधार विकास गरी उत्पादकत्व, उद्यमशीलता र रोजगारी सिर्जना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

रणनीतिक महत्वको सालझण्डी–ढोरपाटन सडक र पोखरा–मुग्लिन सडक निर्माण र स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ। कालीगण्डकी करिडोरलाई बाह्रैमास यातायात सञ्चालन हुने गरि निर्माणलाई तीव्रता दिइने भएको छ। प्रदेश राजधानी पोखरामा रहेका संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच सय शय्यामा स्तरोन्नति गरी विस्तार गरिने भएको छ।

गण्डकी प्रदेशलगायत देशका उच्च हिमाली भेगका हिमश्रृङ्खला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित रुपमा सम्बोधन गर्न ‘राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम’ गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

हिमाली क्षेत्रमा भेडाबाख्रा, च्याङ्ग्रा, चौँरीलगायत पशुपालन एवं स्याउ, ओखरजस्ता फलफूल र जडीबुटीका ठूला फार्म सञ्चालन गर्न ‘हिमाल समृद्ध कार्यक्रम’ सञ्चालन गरिने जनाइएको छ। आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य श्रष्टाहरुको प्रतिमा र सप्तधामसहितको ‘भानु साहित्य उद्यान’ निर्माणलाई अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका ६४ जना वरिष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

मङ्गलवार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ६४ प्रहरी वरिष्ठ नायव निरीक्षकलाई बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) बमोजिम बढुवा सूची प्रकाशन गरिएको कार्यालयले जानकारी दिएको छ ।

कस्ताे छ दिनभरकाे माैसम ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही रहने छ। कोशी प्रदेशको थोरै तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

क्रिकेटर लामिछानेको मुद्दामा भोलि सुनुवाइ हुने

काठमाडौ । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा भोली सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा आज बहस भएको र सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।

श्रममन्त्री डोल प्रसाद अर्याल र रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेने बीच भेटवार्ता

काठमाडाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालका लागि रोमानियाकी राजदूत डेनिएला मारियाना सेजोनोभ टेने बीच भेटवार्ता भएको छ । भेटमा रोमानिया र नेपालबीच श्रम लगायत आपसी हितका बिषयमा छलफल भएको थियो । छलफलका दौरानमा श्रममन्त्री अर्यालले रोमानिया र नेपाल सरकारबीच श्रम सम्बन्धी समझदारी समेत भइसकेको र भिसाका लागि भारत जानु पर्दा नेपालीहरुलाई आर्थिक व्ययभार बढ्न जाने हुँदा नेपालबाट नै रोमानियाको भिसा प्रदान गर्ने व्यवस्था मिलाइ दिन आग्रह गरे ।


त्यस्तै, श्रम सचिव घनश्याम उपाध्यायले नेपाली सवारी चालक अनुमतिपत्रलाई रोमानिया सरकारले समेत मान्यता दिन अनुरोध गर्दै रोमानियामा माग हुने रोजगारका क्षेत्रहरु अनुकूल हुने गरी नेपाली श्रमिकको सीप विकासका लागि सहकार्य गर्न आग्रह गरे ।
राजदूत सेजोनोभले रोमानिया रोजगारदाताले नेपाली श्रमिकलाई रुचाएको र रोमानिया सरकारले पनि सहज र सरल प्रक्रियाबाट नेपाली श्रमिक भित्राउन चाहेको बताइन् । साथै रोमानिया नर्सिङ, निर्माण, हस्पिटालिटी लगायतका क्षेत्रमा नेपालीहरुको अत्याधिक माग रहेको कुरा समेत उनले बताइन् ।


राजदूत सेजोनोभका अनुसार रोमानियाले गत जनवरी देखि हालसम्म नेपाली युवाको लागि ७ हजार ८०० भिसा जारी गरेको छ । गत बर्ष ११ हजार ५०० नेपाली श्रमिक रोमानिया पुगेको उनले बताइन् । आगामी दिनमा यो संख्या झनै बढ्ने उनले दाबी गरिन् ।
नेपाल र रोमानिया सरकार बीच सन् १९६८ को अप्रिल २० मा कुटनीति सम्बन्ध स्थापित भएको हो । नेपाल र रोमानिया सरकार बिच सन् २०२३ को अक्टोबर ६ मा श्रम सम्बन्धी समझदारी भएको हो । रोमानियामा करिब १० हजार नेपाली श्रमिक छन् ।

यस्तो छ आर्थिक वर्ष २०८१/०८२ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । मङ्गलबार नै मन्त्रिपरिषद्को बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो ।

सरकारले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गरिने

काठमाडौं । सरकारले सुरु गरिने तीनै तहका स्वास्थ्य सेवा प्रणली, भौतिक पूर्वधार, जनशक्ति समाधानको एकिकृत गरि एवम् समन्वयकाे परिचालन गरि प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गरिने भएको छ ।    

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

सरकारले आगामी आर्थिक वर्षमा एउटा विश्वविद्यालय र पाँच वटा मेडिकल कलेज विस्तारको तयारी गर्ने भएको छ । आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यो कार्यक्रममा पनि घोषणा गरेका थिए । 

एक वर्षभित्र पाँच लाख सुकुम्बासीको समस्या समाधान : सरकार

काठमाडौँ । सरकारले झण्डै ५ लाख सुकुम्बासी, स्ववासी र अव्यवस्थित बसोबास गर्नेलाई यो वर्ष भूमि उपलब्ध गराउने प्रतिवद्धता दोहोर्याएको छ । 

संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा ५ लाख भूमिहीन सुकुमबासीको समस्या समाधान गर्ने उल्लेख छ ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१–८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने यस्तो बताएका हुन् । 

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले बढेर भएको छ । आज नेप्से २८.६२ अंकले बढेर दुई हजार २७ दशमलव ५१ विन्दुमा बन्द भएको हो ।                                                                                          

नेप्से सूचक बढेर २००० विन्दु माथि पुगेपछि कारोबार रकम पनि बढेको छ। सोमबार करिब साढे ३ अर्ब रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब बढीको शेयर कारोबार भएको छ। आज कारोबार भएका कम्पनीमध्ये २१९ वटाको बढेको छ भने २२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।            

नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् ।  यसका साथै आज चार कम्पनीको शेयरमूल्य पनि ९ प्रतिशत भन्दा बढिले बढेको छ ।    

आज हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ४.६४ प्रतिशतले घटेको छ । सबैभन्दा बढि सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १५ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।