काठमाडौं महानगरलाई नयाँ भनेर ४ पुराना सवारी बिक्री

काठमाडौँ । सिप्रदी ट्रेडिङले नयाँ भनेर पुराना सवारी साधन बिक्री गरेको भन्दै काठमाडौं महानगरपालिकाले ४ वटा सवारीसाधन फिर्ता गर्ने भएको छ।

महानगरपालिकाले सोमवार पत्रकार सम्मेलन गर्दै सिप्रदीले नयाँ भन्दै पुराना गाडीहरु बिक्री गरेको प्राविधिक परीक्षणका क्रममा पुराना सवारीसाधन बिक्री गरेको जानकारी गराएको हो।

 नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदीले नयाँ भनेर महानगरपालिकालाई ६ वटा सवारी बिक्री गरेको तर ४ वटा भने पुराना रहेको पत्ता लागेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए। 

उनले महानगरले खरिद गरेका ६ वटा टिपरकै ब्लू बुकमा उत्पादन वर्ष २०२२ उल्लेख गरेको तर ४ वटा टिपरको उत्पादन वर्ष २०२१ रहेको पाइएको बताए। हामीले केही वर्ष यता खरिद गरेका ६ वटा गाडी मध्ये ४ वटा गाडी गत वर्षको पायाैं, २ वटा गाडी सोही वर्षको पायौँ। सबै गाडीको ब्लुबुकमा म्यानुफ्याक्चर्स इयर २०२२ देखिन्छ। जुन २०२१ मा बनेको गाडीको पनि ब्लुबुकमा २२ मा रहेको पाइयो। नेपालमा आयात भएर बिक्री नभइ लामो समयसम्म गोदाममा थन्किएका सवारी साधन खरिद नगर्ने उद्देश्यका साथ बोलपत्रमा म्यानुफ्याक्चर्स इयर समावेश गरिएको हुन्छ।’

महानगरले सिप्रदीलाई गाडी फिर्ता लैजान आग्रह गरेको पनि उनले बताए।

अर्थतन्त्रमा क्रमशः सुधार हुँदैछ : राष्ट्रपति

काठमाडौं । सरकारले वित्त तथा मौद्रिक नीतिको समाञ्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमश: सुधार आएको बताएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै यस्तो बताएका हुन्।

उनले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समानजशयताले अर्थतन्त्रमा सुधार भएको बताए। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको बताए। मूल्यवृद्धिदर पनि घटेको बताए। कानुनहरुमा सुधारगरी लगानीको वातावरणमा सुधार गरिएको पनि जानकारी दिए।

वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको छ। मूल्यवृद्धिदर घटेको छ। कानूनहरुमा सुधार गरी लगानीको वातावरणमा सुधार गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम उच्च रहेको छ।’

उनले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम उच्च रहेकाले अर्थतन्त्रमा सुधार हुँदै सकारात्मक दिशामा आएको बताए। शोधनान्तर र चालु खाता वचतमा रहेको पनि बताए।

हुन्डाईका गाडी नेपालमै उत्पादन हुने

काठमाडाैं । दक्षिण कोरियाको गाडी निर्माता कम्पनी हुन्डाईले नेपालमा गाडी एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको छ। हुन्डाईको नेपालस्थित वितरक लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले नवलपरासीको रामग्राममा हुण्डाई मोटर एसेम्बली प्लान्ट स्थापना गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार उक्त प्लान्टको स्थापना गर्नुभएको छ । ५ अर्ब रूपियाँभन्दा बढीको लागतमा ६५ हजार वर्ग मिटरको क्षेत्रफलमा फैलिएको एलएमसी हुण्डाई मोटर एसेम्बली प्लान्टमा १४ हजार वर्ग मिटरको निर्माण क्षेत्र रहेको छ।

८ हजार वटा गाडी वार्षिक उत्पादन क्षमता भएको प्लान्टमा २ सयभन्दा बढीले रोजगारी पाएका छन् । हुण्डाई मोटर कम्पनी (एचएमसी)को सबै मापदण्डको पालना गर्दै नेपालभर हुण्डाई मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने कम्पनीको लक्ष्य राखेको छ।

लामिछानेमाथि छानबिन गर्न समिति नबनाए संसद् चल्न नदिने : कांग्रेसको अडान कायमै

काठमाडौँ । नेपाली कांग्रेसले सहकारीको बचत रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन नगरिए संसद् अवरोध यथावत् रहने निष्कर्ष निकालेको छ । 

मंगलबार बिहान बसेको संसदीय दलको बैठकले आज दिउँसो नीति तथा कार्यक्रम पेस गर्न दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने, आज बसेको बैठकले नीति तथा कार्यक्रम पेस गर्न दिने तर सहकारी छानबिन समिति नबन्दासम्म संसदका अरु कारबाही अगाडि बढ्न नदिने निर्णय गरेको छ । हाम्रो अडान यथावतै छ ।

यस्तै बैठकमा गिरिबन्धु टिस्टेट फैसलाबारे छलफल भएको थियो । यो विषयले बैठकमा प्रवेश पाए पनि यसबारे व्यवस्थित धारणा ल्याउने प्रमुख सचेतक लेखकले बताए ।

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँ घटेर कारोबार भएको हो ।

यसदिन छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको थियो । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने प्र्रतितोला २५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

मन्त्रिपरिषदले पारित गर्‍यो नीति तथा कार्यक्रम

काठमाडौँ । मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गर्ने सरकारको नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् । उनकाअनुसार १६ औं पञ्चवर्षीय योजना पनि मन्त्रिपरिषदबाट पारित भएको छ।

राष्ट्रपति पौडेलले आज अपराहन्न ३ बजे संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।

माबि गोनाहीको अध्यक्षमा अर्जुन यादव चयन

रौतहट १ जेष्ठ। रौतहटको देवाही गोनाही नगरपालिका ७ स्थित माबि गोनाहिको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा अर्जुन यादवलाई चयन गरिएको छ।
सोमवार विद्यालयमा भएको अभिभावक भेलाले माबी गोनाहिको अध्यक्षमा अर्जुन यादवलाई सर्वसहमतिमा चयन गरिएको हो। अन्य सदस्यहरु अर्को बैठकले चयन गर्ने योजना रहेको माबी गोनाहीले जनाएको छ।

भारतको मुम्बईमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु

एजेन्सी । भारतको मुम्बईमा होर्डिङ बोर्ड खस्दा १४ जनाको मृत्यु भएको छ । घटनामा ७० जना घाइते भएका छन् ।

मुम्बईमा आएको आँधीका कारण विशाल होर्डिङ बोर्ड घर र पेट्रोल स्टेशनमथि खसेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मुम्बईको पूर्वी उपनगर घाटकोपरको व्यस्त सडक नजिकैको भवनहरूमा ठोक्किएको हो ।

यसैबीच महाराष्ट्र राज्यका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाको उच्च स्तरीय छानबिनको आदेश दिनुभएको छ । घटनामा मारिएका र घाइते भएका परिवारलाई प्रदेश सरकारले ५ लाख भारतीय रुपैयाँ प्रदान गर्ने भएको छ ।

आँधीबेहरीको समयमा शहरको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू अस्थायी रूपमा रद्द गरिएको छ । मुम्बईमा मनसुन शुरु भएपछि प्राकृतिक बिपत्तीमा धेरैको मृत्यु हुने गरेको छ ।

सन्दीप लामिछानेको मुद्दाको पेशी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दा सुनुवाइ गर्न आज पेसी तोकिएको छ। 

 गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

मुद्दा हेर्न नमिल्ने सूचीमा परेसँगै आजका लागि पेशी तोकिएको थियो । त्यसअघि, न्यायाधीश द्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले गौशाला २६को जन्म दर्ता प्रमाणपत्र झिकाउने आदेश गरेको थियो ।

जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

हाई्वे ट्रमा सेन्टर अस्पताल चन्द्रनिगहपुरले गरीब असहायको सहज उपचार गर्दै 

रौतहट ३१ बैशाख। पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टर खुलेपछि गरीब असहायको उपचारमा सहज भएको छ ।

२०८० साल माघ २२ गते चन्द्रपुर ४ स्थित जंगलटोलमा हाईवे ट्रमा हस्पिटल संचालनमा आएदेखि नै गरिब असहायको उपचारमा सहजता भएको हो। राजमार्गको उत्तरपट्टि रहेको उक्त हस्पिटलमा आधुनिक मेसिनको सहयोगले २४ सौं घण्टा आकस्मिक उपचार सेवा दिँदै आएको छ। दक्ष तथा बिशेषज्ञ डाक्टर द्वारा गुणस्तरिय सेवा दिन हस्पिटलमा आधुनिक उपकरण जडान गरेको छ । राजमार्ग क्षेत्रमा निजि स्तरमा सुविधायुक्त अस्पताल नभएको कारण हाईवे ट्रमा हस्पिटल स्थापना गरीएको संचालक तथा अर्थोपेडिक सर्जन डाक्टर नविन सिंहले बताउनुभयो ।

उनले चन्द्रपुरबाट नै शिक्षा हासिल गरेर डाक्टर वनेकोले आफ्नो गाँउमा स्वास्थ्य सेवा दिने उदेश्यले हस्पिटल संचालनमा ल्याएको बताउनुभयो । विपन्न तथा गरिव समुदायका बिरामीको पहुँचमा रहेको यस अस्पतालकोे शुल्क महँगो नभएको उहाँको भनाई छ डाक्टर सिंहले हस्पिटल नाफामुखी भन्दा पनि सेवामुखी भएको बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको उपचारमा हस्पिटलले सहुलियत दिदै आएको छ । विपन्न पाँच जना बिरामीको जटिल प्रकारका उपचार समेत निशुल्क गरीएको उहाँले जानकारी दिनुभयो । अव कुनै पनि रोगको उपचारका लागि बीरगंज, जनकपुर , भरतपुर , काठमाडौं जानुपर्ने वाध्यता हटेको र हस्पिटलबाट जटिल प्रकारका उपचार पनि सम्भव भएको उहाँले दावी गर्नुभयो ।

हस्पिटलले २४ सैं घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडि सेवा, अथोपिडिक तथा ट्रमा सर्जरी, जेनर तथा ल्यापरोस्कोपिक सर्जरी, दन्त तथा दन्त प्रत्यारोपन सर्जरी, बाल तथा नवजात शिशु रोग, आई.सी.यु, एन.आई.सी.यु, जेनरल मेडिसिन स्त्री तथा प्रसुती रोगको उपचार तथा बालरोग बिशेषज्ञ डक्टरद्धारा बालरोगको उपचार सेवा दिदै आएको छ ।

हस्पिटलमा आधुनिक प्रविधिको ल्याव सेवा, डिआर प्रविधिको डिजिटल एक्सरे सेवा, फोरडि कलर डोपर भिडियो एक्सरे सेवा, ईन्डोस्कोपी सेवा, ईसिजी मुटु जाँचको सेवा, आईसियू, एनआईसियू, पोष्ट, ओपिडी वार्ड सेवा, भिआईपी वाड, भिआईपी क्याविन सेवा उपल्वध छ । बिरामी वा कुरुवाका लागि आवश्यक परेको खण्डमा सुविधायुक्त डिलक्स रुमको समेत व्यवस्था हस्पिटलले गरेको छ । डिलक्स रुममा विरामीका लागि आरामदायी बेड, करुवालाई बस्ने छुट्टै वेड, एट्याच ट्वाईलेट वाथरुम, एसी तथा टिभिको समेत व्यवस्था रहेको हस्पिटलका संचालक सिंहले प्रष्ट पार्नुभयो ।

विरामीको सुविधालाई मध्यनजर गर्दै सम्भवत यस भेगमा नै पहिलो पटक लिफ्टको व्यवस्था गरिएको उहाँको भनाई छ । यस हस्पिटल स्थापनाकाल देखि नै बिरामीको उपचारलाई प्रथामिकतामा राखेको उहाँले दोहोयाउनुभयो । आधुनिक प्रविधिबाट ल्याब परिक्षण गर्नुका साथै दक्ष चिकित्सकबाट चेकजाँच हुने गरेको हस्पिटलका चिकित्सकहरुले बताएका छन् ।

अस्पतालमा उपचारका लागि आउनु भएको रन्जय ठाकुर लोहारले यस अस्पतालले दिएको सेवा र सुविधा प्रति सन्तुष्ट रहेको बताउनुभयो । चिकित्सकको व्यवहार, कर्मचारीले गर्ने कार्यशैली र सरसफाई लगायतका हरेक कुरामा यो हस्पिटल उत्कृष्ट रहेको उहाँको भनाई छ । उहाँका अनुसार हस्पिटलको उपचारमा लाग्ने शुल्क महँगो छैन् ।

यस हस्पिटलको सुविधा र चिकित्सक तथा कर्मचारीले गर्ने व्यवहार प्रशंसा योग्य रहेको उहाँले बताउनुभयो । सो हस्पिटलका अर्का डा।संजय साहका अनुसार यस हस्पिटलबाट बिरामीलाई दिने उपचार सेवामा कमी हुने छैन् । यहाँ २४ सैँ घण्टा चिकित्सकको उपस्थिती रहने र विरामी वा करुवाको हरेक गतिविधि सिसि टिभीको निगरानीमा रहने गरेको उहाँले बताउनुभयो ।

विरामीको सेवा नै मुल धर्म हो भन्ने मान्यताका साथ यो हस्पिटल अघि बढेको उहाँको कथन छ । अस्पताल प्रशासनले स्थानीयलाई सरल एवं सुलभ ढंगबाट सेवा सुविधा दिन थालेपछि ग्रामीण भेगका स्थानीयहरू उपचार गराउन अहिले हाईवे ट्रमा हस्पिटलमा आउन थालेका छन् । बिशेषत गर्भवती महिलाहरुलाइ यो मेशिन बाट बढी लाभ पुग्ने छ ।

पेट भित्रको बच्चाको अवस्था अनि बच्चाको अङ्गहरुको बिकास र पेट भित्रको बच्चाको रगिंन चित्र स्क्रिनमा प्रस्ट रुपमा हेर्न सकिन्छ । यो मेशिन बाट बच्चाको मुटुको अवस्था र बच्चा अपाङ्गता रहे, नरहेको समेत हेर्न सकिने हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टरले जनाएको छ । हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टरका अनुसार दुई महिनामा ३५ वटा मेजर अप्रेशन भएको छ । चन्द्रपुरमा रहेको २५ वेडको यस हस्पिटल सुविधायुत मानिन्छ ।

यस्तो छ तपाईंको १ जेष्ठ २०८१, मंगलवार आजको राशिफल

मेष : समय चुनौतीपूर्ण छ।आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ ।

वृष : आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

मिथुन : दिन रमाइलो बन्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। दीर्घकालीन योजना बनाएर लगानी गर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा प्रगति हुनेछ। परिवारको साथ मिल्नेछ।

कर्कट : चन्द्रमा तपाईंकै राशिमा भएकाले तपाईंको सम्मान हुनेछ। सामाजिक क्षेत्रमा तपाईंले गरेको कामको प्रशंसा हुनेछ। व्यापार विवादित हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी नगर्नु राम्रो हुनेछ। सुन्दरताका पछाडि लाग्दा साथी गुमाउनुपर्ने जोखिम देखिन्छ।

सिंह : राम्रो आम्दानी हुनेछ। जुन क्षेत्रमा लगानी गरे पनि फाइदा हुनेछ। निर्णय लिन नसक्दा परिवारमा खटपटी हुने देखिन्छ। व्यवहार गर्दा विवेक प्रयोग गर्नुपर्ने दिन छ। पैसाको घमण्डले परिवार बिग्रने जोखिम देखिन्छ।

कन्या : सुरक्षाको सुनिश्चितता भएकाले आज लगानी गर्न डराउनु पर्दैन। शिक्षामा गरेको लगानीबाट ठुलो फाइदा हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : आजको दिन रमाइलो गरेर बित्नेछ। परिवारसँगको रमाइलो अविस्मरणीय हुनेछ। रमाइलो गर्दा खानपानमा भने विशेष ख्याल गर्नुपर्ने देखिन्छ। व्यापारमा नाफा आर्जन हुनेछ। शिक्षामा प्रगति हुनेछ भने वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ प्राप्त हुनेछ।

वृश्चिक : अधिकारका लागि कडा रुपमा प्रस्तुत हुनुपर्ने दिन छ। झुटा आरोप लाग्ने जोखिम रहेकाले सचेत हुनुपर्ने देखिन्छ। आज ठुला उद्योगमा लगानी नगर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : व्यापारमा भएको लगानीबाट फाइदा हुनेछ। विदेशमा गरेको लगानीले खुशी मिल्नेछ। शिक्षा क्षेत्रमा भने सफलता प्राप्त गर्न प्रतिक्षा गर्नुपर्नेछ। परिवारको माया पाइने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : अचानक खर्च बढ्नेछ। जुनसुकै काम गर्दा पनि तीन पटक सोच्नु राम्रो हुन्छ। खर्चबाट बच्नका लागि गणेशको सम्झना गर्नु राम्रो हुनेछ। काम गर्नु अगाडि परिवारको सुझाव लिनु उत्तम हुन्छ।

कुम्भ : धेरै रिस उठ्ने देखिन्छ। सोचेर नबोल्दा नराम्रो शब्द सार्वजनिक हुने जोखिम हुन्छ। गणेशको दर्शन गरेर कामको सुरुवात गरेमा सफलता मिल्नेछ। जन्मुकण्डली हेरेर दिन शान्त पार्न सकिन्छ।

मीन : झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। आफ्ना सहकर्मीले कुरा काट्ने गर्छन्। सोचेर र मन शान्त राखेर व्यवहार गर्नु उचित हुनेछ। परिवारबाट हुने साथ र सहयोग राम्रो रहनेछ।

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’

काठमडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो ।

बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।

ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो ।

ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको मेबैंक, बङ्लादेशको स्टान्डर्ड चार्टर्ड बङ्लादेश, फिलिपिन्सको मेट्रोबैंक लगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको हो ।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी समयसान्दर्भिक नविनतम् सेवाहरु प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सबाट “नेपालको उत्कृष्ट बैंक” को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरु प्रदान गर्न थप उत्साहित गर्नेछ ।

बैंकका ग्राहकवर्गहरुको माया, कर्मचारीवर्गको लगनसिलता, शेयरधनि महानुभावहरु, नियमनकारी संस्थाहरु, अन्य सरोकारवालाको मार्गदर्शनले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंकमा स्थापित गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई निरन्तर सहजीकरण गर्दै श्रममन्त्री अर्याल

विभिन्न प्रकृतिका भिसामा विदेश गएर श्रम गरिरहेका श्रमिकहरुलाई ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०८१ संशोधन गर्दै अन्य प्रकृतिका भिसामा विदेश गएर सोही मुलुकमा रोजगारीको लागि भिसा पाएका श्रमिकलाई वैधानिकीकण श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको हो ।


मन्त्रालयले वैधानिकीरण श्रम स्वीकृति प्रक्रियालाई पनि सहज बनाएको छ । यस्तो खालको श्रम स्वीकृति माग गर्दा श्रमिकले स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिमको प्रमाण पेश गर्नुपर्ने छैन । श्रम स्वीकृतिको लागि अनलाईन आवेदन पेश गरेमा श्रम स्वीकृति प्रदान गर्न अख्तियारी पाएका मन्त्रालय अन्र्तगतका कार्यालय वा निकायबाट वैधानिकीकरण श्रम स्वीृकति प्रदान गरिनेछ । सन् २०२४ को मे ३१ सम्म रोजगारीका लागि भिसा प्राप्त गरी सम्बन्धित मुलुकस्थित नेपाली कूटनीतिक नियोगमा आवेदन गरेका श्रमिकलाई सम्बन्धित नियोगले वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्न सक्नेछ ।


अफगानिस्तानमा जाने श्रमिकहरुको हकमा भने नेपाल सरकारको मन्त्रिपरिषद्को २०७३ असोज २० को निर्णय बमोजिम हुनेछ । साथै सप्लायर कम्पनीको सिफारिस पत्र कार्यालय वा विभागको इमेलमा आउनुपर्नेछ । तर, नेपाल सरकारले वैदेशिक रोजगारमा जान खुला नगरेको मुलक र पेशाको हकमा यो व्यवस्था लागू हुने छैन ।


वैधानिकीकरण श्रम स्वीकृतिका लागि अनलाइन आवेदन दिनुपूर्व अनलाइन प्रणालीमा सम्बन्धित व्यक्तिको फोटो खिचिने वा औंठा छापमध्ये कुनै एक वा दुवै लिइनेछ । श्रम स्वीकृति प्रदान गरिने जुन निकाय वा कार्यालयमा कामदारको फोटो खिचिएको र जैविक विवरण लिइएको हो श्रमिकले वैधानिकीकरण श्रम स्वीकृतिको लागि अनलाइन प्रणालीमा सोही निकाय वा कार्यालय मात्र छनौट गरी आवेदन दिनुपर्नेछ ।


यस अघि ‘अन्य प्रकृतिका भिसामा गई वैदेशिक रोजगारीबाट फर्केका कामदारको श्रम स्वीकृति’ शीर्षकमा यस्तो खालको श्रम स्वीकृति प्रदान गरिन्थ्यो । तर, यस्तो खालको श्रम स्वीकृति लिनका लागि श्रमिक नेपाल नै आएको हुनुपर्ने व्यवस्था थियो । साथै श्रमिकले अनिवार्य रुपमा स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था थियो ।
त्यस्तै, नेपालबाट पहिला श्रम स्वीकृति लिई कुनै पनि देशमा वैदेशिक रोजगारीमा गएको व्यक्ति बीचमा अर्को देशमा श्रम स्वीकृति लिई गएकोमा पुन पहिले श्रम स्वीकृति लिई गएको देशमा भिसा प्राप्त गरी रोजगारीका लागि जान चाहेमा भिसा प्रमाणीकरण गर्नुपर्ने व्यवस्था हटाइएको छ । पहिला कै मुलुकमा जान चाहेमा सम्बन्धित मुलुकसँगको श्रम सम्झौता र ई–भिसाको आधारमा पुनः श्रम स्वीकृति दिन सकिने व्यवस्था गरेको छ । यसअघि भने यस्तो व्यवस्था थिएन ।


त्यस्तै, व्यक्तिगत श्रम स्वीकृतिमा प्रमाणीकरण सुरु गर्ने र निर्णय गर्ने जिम्मा कम्प्युटर अपरेटर, नायव सुब्बा, भाषा अनुवादक, शाखा अधिकृत र अधिकृतलाई जिम्मा दिइएको छ । जसले भिसाको प्रकृति, जारी मिति, अन्तिम मितिको रुजु गर्नेछन् । साथै नेपाली वा अँग्रेजी भाषा अनुवाद गर्ने, बायोमेट्रिक नभएको हकमा फिंगर प्रिन्ट स्क्यान गर्नेछन् । यसअघिको व्यवस्थाअनुसार दुई वटा तहबाट श्रम स्वीकृति प्रमाणीकरण गर्ने व्यवस्था थियो । कप्यूटर अपरेटर, नायव सुब्बा र भाषा अनुवादकले कागजपत्र रुजु गर्ने र शाखा अधिकृतले श्रम स्वीकृति प्रमाणित गर्ने व्यवस्था थियो ।


त्यस्तै, मन्त्रालयले कार्यविधि संशोधन गर्दै पुन ः श्रम स्वीकृति माग गर्दा यसअघि श्रम स्वीकृति भएको निस्सा पेश गर्नु नपर्ने व्यवस्था गरेको छ ।


अनलाइन प्रणालीबाट श्रम स्वीकृति प्रदान गर्दा अनलाइन प्रणालीमा प्रविष्ट भएका सम्पूर्ण सूचनाको आधिकारिकता सम्बन्धमा प्रणालीमा विवरण प्रविष्ट गर्ने सम्बन्धित व्यक्ति वा संस्था नै पूर्ण रुपमा जिम्मेवार हुनुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ । प्रयोगकर्ताले गलत सूचना (कागजात) प्रविष्ट गरेको कारणले हुन जाने समस्या तथा कानूनी कारवाहीको भागिदार सम्बन्धित संस्था वा व्यक्ति नै हुनेछन् ।

श्रम स्वीकृतिको माग गर्दा सम्बन्धित व्यक्ति वा संस्थाले प्रणालीमा प्रविष्ट नगरी अन्य व्यक्ति वा संस्थालाई प्रविष्ट गर्न लगाएको अवस्थामा विवरण प्रविष्ट गर्ने दोस्रो व्यक्ति वा संस्थाले आफै वा विवरण प्रविष्ट गर्नुपर्ने व्यक्ति वा संस्थाको अनुरोधमा रद्द भै सकेकाका भिसालाई वैध भिसा बनाई वा अन्य प्रकारको भिसालाई गैरकानुनी रुपमा कामदार भिसामा परिवर्तन गरी वा अन्य व्यक्तिको कागजात सच्चाई आफै जस्तो हुने गरी गलत सूचना वा कागजात प्रविष्ट गरेमा अन्य व्यक्ति वा संस्थाको विवरण प्रविष्ट गर्ने दोस्रो व्यक्ति वा संस्थालाई समेत मतियारको रुपमा प्रचलित कानुन बमोजिम सजाय व्यवस्था छ ।

अर्थमन्त्री पुनद्वारा बजेटबारे विकास साझेदारहरुसँग छलफल

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण सम्बन्धमा छलफल गरेका छन् ।

सोमबार मन्त्रालयमा बोलाएर मन्त्री पुनले उनीहरुसँग परामर्श गरेका हुन् । छलफलमा विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगमजस्ता बहुपक्षीय विकास साझेदार तथा अन्तर्राष्ट्रिय विकास नियोगहरु स्वीट्जरल्याण्ड, डेनिश, फिनल्याण्ड, दक्षिण कोरिया, जापान, बेलायत, र युरोपियन युनियनका आवासीय राजदूत तथा ती देश सम्बद्ध द्विपक्षीय विकास साझेदार संस्थाका प्रमुख र प्रतिनिधिहरुको उपस्थिति थियो ।


छलफलका क्रममा अर्थमन्त्री पुनले आगामी बजेटमा सरकारका प्राथमिकता र सिद्धान्तलगायत विषयमा धारणा राखेका थिए । मन्त्री पुनले नेपालको विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन तथा निजी क्षेत्रका लागि अनुकूल लगानीयोग्य वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए । सरकारले निर्धारण गरेका विकास लक्ष्य हासिल गर्न आन्तरिक श्रोत परिचालनम मात्र पर्याप्त नभएकाले वैदेशिक लगानी वा सहायतामा जोड दिनुपर्ने अवस्थामा आफूहरु रहेको उनको भनाइ थियो । सरकार विकासका लाभहरु सबै जनतामा पुग्ने गरी समावेशी, समतामुलक र दिगो विकासको पक्षमा रहेको उल्लेख गरे ।

‘सरकार समावेशी, समतामूलक र दिगो आर्थिक विकासमा केन्द्रित छ’, उनले भने, ‘नेपाली जनताको जीवन र जीविकोपार्जनमा परिवर्तन ल्याउन तथा विकासका लाभहरु सबैले बराबर उपभोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा हामी अघि बढेका छौं । नेपलाको विकास प्रयासमा विकास साझेदारहरुबाट निरन्तर प्राप्त हुँदै आएको सहयोगका लागि धन्यवाद दिँदै उनले आगामी दिनमा पनि सहकार्यले थप उच्चता प्राप्त गर्ने विश्वास मन्त्री पुनले व्यक्त गरे । नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट विकासशील मुलुक (एलडिसी), २०३० सम्ममा दिगो विकास लक्ष्य (एसजिसी), २०३५ सम्ममा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) र नेपाली अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउने उद्देश्यसहितको राष्ट्रिय जलवायु योजना (एनडिसी) लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीति निर्धारण गरी काम अघि बढाइएको जानकारी विकास साझेदारहरुलाई गराए ।


ती उद्देश्य हासिल गर्न ठूलो लगानी चाहिने उनले बताए । ‘यी महत्वाकांक्षी विकास लक्ष्य हासिल गर्न हामीलाई ठूलो लगानी चाहिन्छ’, उनले भने, ‘त्यसका लागि सरकारी श्रोत मात्र पर्याप्त नभएका कारण हामी विकास साझेदारहरुसँग यी मुद्धाहरुमा हातेमालो गर्न चाहन्छौं ।’


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटकपटक सुशासन, सामाजिक न्याय र समृद्धिप्रति दृढ प्रतिबद्धता जनाएको स्मरण गराए । उनले विकास साझेदारबाट प्राप्त सुझावहरुले बजेट निर्माण कार्यलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले नेपालको विकास प्रयासमा निरन्तर सहकार्यका लागि विकास साझेदारलाई धन्यवाद दिए । हालै सम्पन्न लगानी सम्मेलनमा विकास साझेदार संस्थाले खेलेको भूमिकाको उनीहरुको सराहना गरे ।

टी–२० विश्वकपः नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजका जुन १ तारिखदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि नेदरल्यान्ड्सको टोली घोषणा भएको छ ।

डच क्रिकेट बोर्डले सोमबार स्कट एडवर्ड्सको कप्तानीमा १५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा अलराउन्डर रोलोफ भान डेर मर्वे र मुख्य ब्याट्सम्यान कोलिन एकरम्यानलाई राखिएको छैन ।

नेदरल्यान्ड्स विश्वकपको समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपाल, श्रीलङ्का, बङ्गलादेश र दक्षिण अफ्रिका रहेको छ । नेदरल्यान्ड्सले जुन ४ तारिख नेपालसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

नेदरल्यान्ड्स विश्वकप टोली

स्कट एडवर्ड्स (कप्तान), आर्यन दत्त, बास डी लिडे, डेनियल डोरम, फ्रेड क्लासेन, काइल क्लेन, लोगन भान बीक, म्याक्स ओ’डोउड, माइकल लेभिट, पल भान मिक्रेन, साइब्रान्ड एन्जलब्रेच, तेजा निदामानुरु, ⁠टिम प्रिन्गल, विक्रम सिंह, भिव किंग्मा र वेस्ली ब्यारेसी ।