सुहाङले आज सांसद पदको शपथ लिँदै

काठमाडाै । गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्बाङले आज बिहान शपथ लिने भएका छन्।

नेम्बाङले आज बिहान ११ बजे सिंहदरबारस्थित कृषि समितिको हलमा शपथ लिने कार्यक्रम तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

उनी इलाम क्षेत्र नम्बर २ मा २७ हजार ७७२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याएका थिए।

खड्काभन्दा नेम्बाङ ५ हजार ७ सय ८० मतान्तरसहित विजयी थिए । त्यहाँ स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो भए ।

२०७९ को निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा एव‌‌ संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। उनको गत वर्ष भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन भएको थियो ।

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौ । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो ।

प्राधिकरणले आगलागीबाट १८, डढेलोले छ तथा चट्याङ लागेर तीन जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका प्राधिकरणले बताएको छ ।

यसैबीच, प्राधिकरणले अग्निपीडित परिवारलाई पनि अस्थायी घर बनाउन आर्थिक सहयोग गर्ने कार्यविधि स्वीकृत गरेको जनाएको छ । यसअघि त्यस्तो सुविधा भूकम्पपीडितका लागि मात्र उपलव्ध थियो ।

कति पुग्याे डलरकाे भाउ ?

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आज काे लागि अमेरिकी डलर एकको डलरकाे भाउ स्थिर छ । अमेरिकी डलर एकको डलरकाे दर अधिकतम १३३ रुपैया ३२ पैसा र बिक्री दर १३३ रुपैया ९२ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ५६ पैसा र बिक्री दर १४४ रुपैयाँ २१ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ र बिक्री दर १४७ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ११ पैसा र बिक्री दर ८८ रुपैयाँ ५१ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ५१पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६३ पैसा र बिक्री दर ८ रुपैयाँ ६७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४७ पैसा र बिक्री दर १८ रुपैयाँ ५५ पैसा रहेको छ ।

टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेललाई नौ वर्ष कैद

नेसनल पेमेन्ट गेटवे प्रकरणका एक मात्र दोषी सुनील पौडेललाई नौ वर्ष कैद सजाय र जरिवाना सुनाइएको छ । गत ७ वैशाखमा दोषी ठहर भएका पौडेललाई मंगलबार विशेषले कैदका साथै २३ करोड २७ लाख ५८ हजार रुपैयाँ जरिवानासमेत तोकेको छ ।

विशेष अदालतमा ६ महिनाअघि दायर मुद्दामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक तथा तत्कालीन सूचना प्रविधि केन्द्रका उपनिर्देशक र कार्यकारी निर्देशक सुनील पौडेल दोषी पाइएका थिए । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले यस मुद्दामा मंगलबार सुनुवाइ तथा सजाय निर्धारण गरेको हो ।

यसै प्रकरणका अन्य आठ प्रतिवादीलाई भने विशेषले सफाइ दिएको थियो । सञ्जय शर्मा, प्रणिता उपाध्याय, रमेश पोखरेल, रामबहादुर बुढा, निमबहादुर वली, रामशरण गायक, सफल श्रेष्ठ र मधुकुमार मरासिनीले सफाइ पाएका थिए । शर्मा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्षका रूपमा कार्यरत थिए ।

सफाइ पाउनेमध्येका श्रेष्ठ केन्द्रका निर्देशक र पछिल्लो समय उपनिर्देशक थिए भने मरासिनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव थिए । उनी तत्कालीन समयमा अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख हुँदा अनियमिततामा संलग्न रहेको अख्तियारको आरोप थियो । यसैगरी, केन्द्रका सहायक निर्देशक पोखरेल, लेखा अधिकृतहरू निमबहादुर वली र रामबहादुर बुढाका साथै केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकलाई पनि विशेषले सफाइ दिएको थियो ।

गत १५ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झन्डै २५ करोड रुपैयाँ भ्रष्टाचार भएको निष्कर्षसहित विशेषमा मुद्दा दायर गरेको थियो । ‘यसमा खरिद प्रक्रिया प्रारम्भ गर्दाको अवस्थामा प्रतिवादी सुनील पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको उपनिर्देशक पदमा कार्यरत रहेको देखिन्छ । निजको नेतृत्वमा एनपिजी (नेसनल पेमेन्ट गेटवे)को परामर्श सफ्टवेयर खरिदका लागि प्राविधिक सम्भाव्यता अध्ययन गरी पेस भएको प्रतिवेदनका आधारमा उक्त एनआइटिसीका तत्कालीन कार्यकारी निर्देशकबाट सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७०(२) को आधारमा तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवसमक्ष आशयपत्र स्वीकृतिका लागि पेस गरी स्वीकृत भएको देखिन्छ,’ विशेषले ठहर गर्दै राय किताबमा उल्लेख गरेको छ ।

हानिनोक्सानी गरी भ्रष्टाचार गरेको यो मुद्दामा पौडेल एक्लैको संलग्नता रहेको ठहर विशेषको छ । परामर्श सेवा खरिदका लागि पौडेलले केन्द्रका तर्फबाट सिएमए स्मल सिस्टम एबीसँग परामर्श सेवा खरिदको सम्झौता गरेका थिए । ‘तत्पश्चात् परामर्श सेवा गरी प्रतिवादीले संस्थाको प्रमुखको हैसियतमा भुक्तानी दिने आदेश गरी २३,२७,५८,०७७ रुपैयाँ भुक्तानी गरेको देखिन्छ । उक्त रकम भुक्तानी गरी खरिद गरिएको सफ्टवेयर सञ्चालनमा ल्याउनुपर्ने जिम्मेवारी संस्था प्रमुख (कार्यकारी निर्देशक) को रूपमा निज प्रतिवादीको रहेकामा हालसम्म पनि सञ्चालनमा आएको देखिएन,’ संक्षिप्त फैसलामा छ ।

पौडेलले कार्यकारी प्रमुखको हैसियतमा आफ्नो ओहोदाको कर्तव्य पालन गर्दा लापरबाही गरी २३,२७,५८,०७७ रुपैयाँ मूल्य तिरी खरिद गरिएको परामर्श सेवा र सफ्टवेयर सञ्चालनमा नल्याई प्रयोगविहीन अवस्थामा रहेकाले नेपाल सरकारलाई नोक्सानी भएको पुष्टि हुने विशेषले जनाएको छ । – नयाँ पत्रिकामा खबर छ

मातातीर्थकाे अवसरमा चन्द्रागिरिमा सार्वजनिक बिदा

काठमाडौ । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ ।

वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।

धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।

मातातीर्थ औँसीका अवसरमा चन्द्रागिरि नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । मातातीर्थ औँसीको अवसर पारेर सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कस्ताे रहला आजकाे माैसम ?

हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिक बदली रहेको तथा गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा कतै हल्का त कतै मध्यम वर्षा भइरहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । देशका पहाडी भेगका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

आज राति देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा देशका पहाडी भागको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आमाप्रति श्रद्धा प्रकट गर्दै मातातीर्थ औँसी मनाइँदै

काठमाडौ । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ ।

वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।

धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।

आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ ।

उपसचिव उमाकान्त अधिकारीलाई कारबाही गर्न नपर्ने निष्कर्ष

काठमाडाै । गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीलाई विभागीय कारबाही गर्नु नपर्ने निष्कर्ष निकालिएको छ ।

सुन तस्करी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस गरेपनि अधिकारीलाई कारबाही गर्न नपर्ने गृह मन्त्रालयका सहसचिव भरतमणी रिजाल नेतृत्वको समितिले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर उनलाई कारबाही गर्नु नपर्ने राय दिएको हो ।

सुन तस्करीमा संलग्न फरार प्रतिवादी जीवन चलाउनेसँग उपसचिव अधिकारीको सम्पर्क देखिएको थियो । अधिकारी माघ ३ बाट चैत ४ सम्म लमजुङ्गको प्रमुख जिल्ला अधिकारी थिए । 

विश्वासको मत असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत असंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिइएको छ । गण्डकी प्रदेश, नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट निवेदनमा मुख्यमन्त्री अधिकारीले लिएको मत असंवैधानिक रहेको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको हो । सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त विवादको सुनुवाइ यही वैशाख २७ गते हुने तय भएको छ ।

विश्वासको मत लिँदा प्रदेशसभाको बहुमतको गणना अवैधानिक रुपमा गणना गरेर विश्वासको मत पाएको रिट निवेदनमा छ । उक्त प्रदेशसभामा ६० सदस्य रहेकोमा ३० मत मुख्यमन्त्री अधिकारीले पाएका पाउनुभएको थियो । बहुमत पुग्नका लागि ३१ मत हुनुपर्ने रिट निवेदनमा दाबी गरिएको छ ।

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

काठमाण्डौ ।अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन् ।

बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मंगलबार मन्त्रालयमा आयोजित छलफलमा उनले बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाइने बताए । त्यसका लागि नेपाल राष्ट्रबैंकसँग छलफल भइरहेको उनको भनाइ थियो । ‘सरकार र नियामक भनेकै राज्य हो । राज्यको उद्धेश्य र नीति एउटै हुन्छ’, उनले भने, ‘नीति कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामञ्जस्यता कायम गरिन्छ ।’


मन्त्री पुनले गत वर्षको तुलनामा यो वर्ष अर्थतन्त्र चलायमान भएको र चालु आर्थिक वर्षभन्दा आगामी वर्ष थप चलायनमा हुने गरी बजेट ल्याउने तयारीमा आफू रहेको मन्त्री पुनले बताए । पुनले संविधानले निर्दिष्ट गरेको नीतिभित्र बसेर राज्यका निश्चिित उद्धेश्य प्राप्तिका लागि सहकार्य गरिने उनले उल्लेख गरे । ‘सबैको जोड संविधानले निर्दिष्ट गरेको आर्थिक नीतिभित्र बसेर निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने, सहजीकरण गर्ने र मनोबल उठाउने गरी काम गर्ने हो’, उनले भने, ‘त्यसका लागि सरोकारवालाहरुबीचमा छलफल र परामर्श भइरहेको छ । उनले अर्थतन्त्रमा राम्रो गरिरहेका नीतिले निरन्तरता पाउने स्पष्ट गरे । राज्य निजी क्षेत्रको अभिभावक भएकाले निर्धक्कसँग आफ्ना कुरा राख्य निजी क्षेत्रलाई आग्रह गरे ।

मुलुकको अवस्थितिअनुसारको आर्थिक नीति हनुपर्ने चर्चा गर्दै मन्त्री पुनले नेपालको भू–राजनीतिक अवस्थितिअनुसार तत्काल प्रवद्र्धन गर्नुपर्ने क्षेत्र सूचना प्रविधि भएको आफूहरुलाई लागेको उल्लेख गरे । ‘हाम्रो भू–अवस्थितिअनुसार सूचना प्रविधि क्षेत्रमा फोकस हुँदा त्यसबाट ठूलो संख्यामा रोजगारी सृजना हुने र लगानी आउने सम्भावना बढी हुन्छ भन्ने हामीलाई लागेको छ’, मन्त्री पुनले भने, ‘बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई प्रवद्र्धन गर्ने सोच बनाएका छौं ।’ यस्तै बजेटमा ऊर्जा, पर्यटन, कृषि, ठूला र मझौला पूर्वाधार क्षेत्रलाई बजेटमा प्राथतिकता दिइने उनको भनाइ थियो । फरक प्रसंगमा मन्त्री पुनले सरकारी निकायबाट निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नहुने स्पष्ट गरे । ‘राज्यका निकायले निजी क्षेत्रलाई तर्साउने र निरुत्साहित गर्ने काम गर्दैन’, उनलले भने, ‘सरकारले निजी क्षेत्रलाई प्रवर्दन र सहजीकरण गर्ने हो ।’

प्रश्न उठ्नेबित्तिकै संसदीय छानबिन समिति गठन गरिहाल्नुपर्ने माग उचित छैनः गृहमन्त्री रवि लामिछाने

काठमाण्डौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी समस्या समाधानका लागि द्रुतमार्गमा कानून निर्माण गर्ने विषयमा सरकारले आवश्यक प्रक्रिया थालिसकेको बताएका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री लामिछानेले यस्तो प्रतिक्रिया दिएकी हुन् । कुनै पनि विषयमा प्रश्न उठ्नेबित्तिकै संसदीय छानबिन समिति गठन गरिहाल्नुपर्ने माग उचित नभएको उनको भनाइ थियो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर रहेको र ठगी प्रकरणमा जोडिएका जिबी राईलगायतलाई पक्राउ गर्न सरकार लागीपरेको उनले बताए ।

प्रकरणमा रास्वपाका सभापतिसमेत रहेका लामिछानेको नाम पनि मुछिएको छ । जसलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो ठूलै मुद्धा बनाएको छ । लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो।

एक छात्रामाथि गोली प्रहार

काठमाडौं । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेका एक छात्रामाथि आक्रमण भएको छ ।

अज्ञात व्यक्तिको गोली प्रहारबाट उदयपुर  स्थायी घर भई दमकमा अध्ययनरत १८ वर्षीया एमिका अधिकारीमाथि गोली प्रहार भएको हो।

उनलाई दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको छ । अधिकारी दमकको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । उनको पेटमा गोलीको छर्रा जस्तो वस्तु लागेको छ । तर यकिन नभएको प्रहरीले जनाएको छ ।

काँग्रेसको व्यक्तिलक्षित संसदीय समितिको माग सम्भव छैन : एमालेका प्रमुख सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताएका छन् ।

मंगलबार (आज) सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले यस्तो भनेका हुन् । उनले उपप्रधान एवं गृहमन्त्रीलाई मात्रै लक्षित गरी काँग्रेसको संसदीय छानबिन समितिको माग गर्ने कुरा सम्भव नरहेको बताए ।

उनले समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा संसदीय छानबिन समिति बनाउन कुनै असहमति नरहेको बताए ।

उनले गृहमन्त्रीमाथि लागेको आरोपबारे संसदमा नेकपा एमालेले सत्य तथ्य जान्न र सुन्न चाहेको बताए ।

सभामुखलाई रवि लामिछानेको पत्र

काठमाडौँ ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा बोल्ने अनुमति माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र लेख्नुभएको छ । सहकारीको बचत अपचलनमा मुछिएका लामिछानेको बारेमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल काँग्रेसले गत अधिवेशनमा अवरोध गरेपछि बोल्न नपाएका उनले २७ गतेबाट सुरु हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका हुन् ।

उनले संसद्‍मा उठेका विषय र मन्त्रीको हैसियतले दिनुपर्ने जवाफ दिन नपाउँदा प्रतिनिधिसभाको नियमावली २०७९ को नियम १५ को उपनियम २ मा भएको व्यवस्था उल्लंघन भएको उपप्रधानमन्त्री लामिछानेले बताए ।

उनले आफ्नाबारेमा उठेका प्रश्नहरूका सम्बन्धमा उजुरी जाहेरी अनुसन्धान तथा अभियोजन समेत नभएको महान्यायाधिवक्ता कार्यालयबाट जानकारी आएको लामिछानेले दाबी गरेका छन् ।

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम घट्यो

काठमाडौँ । मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला ३ कारोबार दिनदेखि घटिरहेको नेप्से ,यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक २.०६ अंक बढेर १९६०.८१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१४ स्टकको ३८ हजार २१४ पटकको कारोबारमा २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको ५० लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

 कारोबारमा आएकामध्ये १ सय २० वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय १४ वटाको घट्यो र बाँकी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । यस दिन लघुवित्त कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ।