सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो आज सुनचाँदीको मूल्य ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ८०० ले बढेर १ लाख ३६ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख ३५ हजार ६०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

संसदीय छानबिन समिति अस्वीकार गर्ने रास्वपाको निर्णय 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले आफ्ना सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने विषय अस्वीकार गर्ने निर्णय गरेको हो । 

बैठकले २८ गतेदेखि बस्ने सदनको बजेट अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल गरेको सचेतक निशा डाँगीले जानकारी दिइन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । 

भूकम्पपीडितलाई चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउनुपर्नेमा मन्त्री जोशीको जोड

काठमाडौं । जाजारकोट केन्द्रविन्दु भई गत कात्तिकमा गएको भूकम्पका कारण भत्किएका घर बनाई भूकम्पपीडितलाई चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउनुपर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले बताएका छन्। काठमाडौँमा आज आयोजित दोस्रो ‘नेपाल सेल्टर फोरम’ सम्बन्धि छलफल कार्यक्रममा उनले समयमै भूकम्प पिडितलाई राहत उपलब्ध गराउनुपर्नेमा जोड दिए।

“भूकम्पपीडितलाई अस्थायी टहरा बनाउन ढिला गर्नुहुँदैन। चाँडोभन्दा चाँडो राहात दिन सक्नुपर्छ,” मन्त्री जोशीले भने। मनसुनसमेत नजिकिँदै गरिरहेको र यसले भूकम्पपीडितलाई अझै प्रभावित पार्न सक्ने उल्लेख गर्दै उनले राहत वितरणका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए।

“हामी विपद्का विभिन्न पीडाबाट गुज्रिदै आइरहेका छौँ। भूकम्पको जोखिममा छौँ”, मन्त्री जोशीले भने। विसं २०७२ को भूकम्पले भोग्नुपरेको पीडा अझै बाँकी रहेको उनले बताए। बाढीपहिरो, चट्याङ, वनडढेलो जस्ता प्राकृतिक प्रकोपका कारण बर्सेनी धनजनको क्षति भइरहेको उल्लेख गर्दै उनले यसबाट हुने क्षति न्यूनीकरण सम्बन्धी प्रभावकारी नीति कार्यन्वयनको आवश्यकता रहेको बताए।

मन्त्री जोशीले विगतमा गरिएको पुनःनिर्माणको काम प्रशंसनिय रहेको भन्दै अब पनि पुनःनिर्माणको कामलाई प्रभावकारी बनाउन सुझाए। “पुनःनिर्माण प्राधिकरणबाट २०७२ सालको भूकम्पपछिको पुनःनिर्माणको कामअन्तर्गत धेरैजसो निजी निवास, सरकारी भवन, विद्यालय र पुरातात्विक भवनको पनि पुनःनिर्माणको काम अन्तिम चरणमा पुगिसककेको छ।

कञ्चनपुरमा एपिएफको विद्यालय सञ्चालनमा

कञ्चनपुर । कञ्चनपुरमा नेपाल सशस्त्र प्रहरी बल (एपिएफ) ले विद्यालय सञ्चालनमा ल्याएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ स्थित नेपाल एपिएफ विद्यालय झलारी सञ्चालनमा ल्याएको हो ।

आज एक कार्यक्रमबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विद्यालयको उद्घाटन गरे । सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कञ्चनपुरमा पहिलो पटक एपिएफ विद्यालय सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी बल नं ३५ गण हेडक्वाटर शैलेश्वरीका प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रले शैक्षिक सत्र २०८१ देखि पठनपाठन सुरु गरेको हो ।

कक्षा चार र कक्षा पाँचको पठनपाठन सुरु गरिएको विद्यालयमा एक सय पाँच जना विद्यार्थी भर्ना भएका छन् । झलारीमा एपिएफ विद्यालय विसं २०८० फागुन २ मा स्थापना भएको थियो । सुविधा सम्पन्न चारतले भवन निर्माण सम्पन्न भएपछि पठनपाठन थालिएको हो ।

सशस्त्र प्रहरी र सर्वसाधारणको समेत बालबालिकालाई सर्वसुलभ एवम् गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ विद्यालय सञ्चालन गरिएको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बताए ।

“यसले गुणस्तरीय शिक्षाको पहुँचलाई सुनिश्चित गर्नेछ । मुलुकको माटो सुहाउँदो वैज्ञानिक शिक्षा प्रणालीलाई अनुसरण गर्दै रोजगारमूलक, व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिँदै अगाडि बढिरहेका छौँ,” उजले भने ।

सशस्त्र प्रहरीको कल्याणकारी सेवा केन्द्रद्वार देशका विभिन्न चार ठाउँमा एपिएफ विद्यालय सञ्चालनमा छन् । २०६२ सालमा सशस्त्रले कीर्तिपुरबाट विद्यालय सञ्चालन सुरु गरेको थियो । सशस्त्र प्रहरीको विद्यालयप्रति अभिभावकको आशा धेरै भएकाले आशालाई निराश हुन नदिने गरी काम गर्न उहाँले शिक्षकहरूलाई अनुरोध गरे । रासस

मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा खनाल ३० हजार घुससहित नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाललाई ३० हजार घुससहित नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

उनले जग्गा नामसारी गर्ने गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागेका थिए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभाको अवरोध खोल्ने विषयमा सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलगायत सहभागी छन् ।

प्रतिनिधिसभाको वर्षे अधिवेशन २८ वैशाखमा सुरु हुँदैछ । अघिल्लो अधिवेशनमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन माग गरेर बैठक अवरोध गरेको थियो ।

आगामी अधिवेशनमा संसद बैठक विना अवरोध सञ्चालन गर्ने उद्देश्यले सभामुखले दलहरुबीच बैठक राखेका हुन् ।

रास्वपा संसदीय दलको बैठकः आगामी बजेट अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले आगामी बजेट अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल गरेको छ ।

मङ्गलबार सिंहदरबारस्थित पार्टीको संसदीय दलको बैठकमा आगामी वर्षे अधिवेशन र बजेटबारे कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भएको सांसद मनिष झाले बताए। उनले छलफलमा आगमी बजेटको बारेमा नीति तथा कार्यक्रम र आफ्नो दलको तर्फबाट सरकारमा पाएको मन्त्रालयको बारेमा कठोर रुपमा प्रस्तुत हुने बारेमा छलफल भएको बताए्।

‘‘छलफलमा आगमी बजेटको बारेमा नीति तथा कार्यक्रम अहिलेसम्म जुन किसिमले तयार भएको छ, त्यो तयार भएको नीति तथा कार्यक्रममा बजेटको अधिवेशनमा हामीले तयारी गर्ने र बजेटको अधिवेशनमा तयारी गर्दैगर्दा हामी सम्बन्धित दलको चार वटा मन्त्रालय रहेको छ, मन्त्रालयमा पनि हामी कठोर रुपमा प्रस्तुत हुने ।,’’ सांसद झाले भने, ‘‘हाम्रो पार्टीले प्रतिनिधित्व गरेको मन्त्रालय हो, त्यसैले गर्दा यो बाहेकको छलफल गरौँ भन्ने नराखेर राजनीतिक कठोरता, निर्ममता र सबै रुपमा मन्त्रालयहरुलाई सत्ता पक्षमात्र नभइ जनप्रतिनिधिको रुमपा हेर्ने त्यसरी नै प्रस्तुत हुने, प्रतिनिधित्व गर्ने भन्ने छलफल भयो । बजेट अधिवशेन आउँदै गर्दा राजनीतिक दलहरुले विभिन्न साझेदारहरुसँग छलफल गर्न आवश्यक छ ।’’

सांसद झाले राजनीतिक कठोरता, निर्ममता र सबै रुपमा मन्त्रालयहरुलाई सत्ता पक्षमात्र नभइ जनप्रतिनिधिको रुमपा हेर्नेगरी अघि बढ्ने बारेमा छलफल भएको बताउनुभयो । उहाँले बजेट अधिवशेन आउँदै गर्दा राजनीतिक दलहरुले विभिन्न साझेदारहरुसँग छलफल गर्न आवश्यक रहेको बारेमा पनि छलफल भएको जानकारी दिए । उनले साझेदारी संघसंस्था, बैंकर्स, बुद्धिजीवि, निजी क्षेत्रसँग छलफल गर्नुपर्ने भन्ने बारेमा पनि छलफल भएको बताए ।

सांसद झाले गत वर्षको बजेट अधिवेशनमा आफ्नो राजनीतिक दलको प्रस्तुतीलाई हेरेर कमजोरी भए सुधार गर्ने र अघि बढ्ने बारेमा छलफल भएको पनि बताए । बैठकमा वर्तमान राजनीतिक परिस्थितिका बारेमा पनि छलफल भएको औंल्याए ।

उनले भने, ‘‘मिडिया, साझेदारी संघसंस्था, बैंकर्स, बुद्धिजीवि, निजी क्षेत्रसँग छलफल गर्नुपर्ने भन्ने बारेमा पनि छलफल भएको छ । प्रतिनिधि सभामा निखार्ने र तिखार्ने सवालमा पनि छलफल भएको छ । गत वर्षको बजेट अधिवेशनमा हाम्रो प्रस्तुती कस्तो रहेको थियो त्यसलाई हेर्ने र अब सुधार गर्ने बारेमा छलफल भएको छ । बजेट अधिवशेनको तयारीको क्रममा छलफल गरेका छौँ । वर्तमान वस्तुस्थिति र राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ । सभापतिज्युले अपडेट गराएका छन् ।

उनले सबै राजनीतिक दलहरु स्वीकार गर्ने र सत्तामा रहेका दलहरुको सर्वदलीय निर्णय भयो भने छानबिन समिति बनाउने निस्कर्षमा पुगे सहकारी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमाथि छानबिन गर्न आफूहरु सहमत हुने पनि बताए ।

यस्तो छ तपाईंको  २५ बैशाख २०८१, मंगलवार आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : कुनै काममा अगाडि बढ्न अवरोध देखिने छन्। निर्णय क्षमताको आवश्यकता देखिन्छ। मनमा धेरै खटपटी हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीमा उत्साह बढ्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : खर्च बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको प्रेम सुमधुर रहनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) : मनमा उत्साह बढ्नेछ। साना योजनालाई रोकेर ठुलाठुला कामको सुरुवात गर्नु राम्रो हुनेछ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र अब्बल रहेका छन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। समयको सदुपयोग गर्दा राम्रो हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारमा विवादको जोखिम देखिन्छ। लगानी गरेको क्षेत्रको उचित मूल्यांकन हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): तपाईंले गरेको निर्णय दीर्घकालीन हुनसक्छ। सोचेर निर्णय गर्नुपर्ने दिन हो। तपाईंलाई मान्यजनले दिएको सुझाव स्वीकार गर्नु राम्रो हुन्छ। परिवारको साथमा अगाडि बढे फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। लगानीका लागि हिम्मत गर्नु राम्रो हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : लामो समय रोकिएको कामको सुरुवात हुनेछ। वैदेशिक क्षेत्रमा लुट हुने भएकाले लगानी गर्ने भए शिक्षामा अगाडि बढ्नु राम्रो हुन्छ। विदेशको लगानीबाट मनमा उत्साह बढ्नेछ। व्यवहार गर्दा मर्यादा नभुल्नु राम्रो हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आफन्तको चिन्ता गरेर आफूलाई भुल्ने जोखिम देखिन्छ। खानपान र नियमित औषधी छुटेर रोग बढ्नेछ। लगानीका अवसर धेरै भएकाले सोचेर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन राम्रो छ। लगानी र श्रमको उचित मूल्यांकन हुनेछ। काम सम्पन्न नभएसम्म मनको कुरा कसैलाई नभन्नु राम्रो हुन्छ। आज लगानी नगर्नु राम्रो हुनेछ। परिवारको साथ मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): मान र मर्यादाले तपाईंलाई उचाईमा पुर्याउने छ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। लगानीका अवसर थुप्रै भएकाले यसलाई सदुपयोग गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): मन चिन्तित र अशान्त बन्नेछ। ठुलो योजनामा हात नहाल्नु राम्रो हुनेछ। सेतालाई कालो भन्नेसँग तर्क नगर्नु राम्रो हुन्छ। धार्मिक कार्यमा संलग्न भएमा दिन सहज बन्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): कडा प्रतिस्पर्धा गरेर सफल बन्नु हुनेछ। कृषि र पशुपालन क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीले उत्साह बढ्नेछ। शिक्षा क्षेत्रमा भने राम्रो नतिजा प्राप्त नहुने जोखिम देखिन्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दाजुभाइ वा दिदीबहिनीको सहयोग लिएर अगाडि बढ्ने समय छ। बोली नियन्त्रण गर्न नसक्दा आफन्त दुःखी हुने जोखिम देखिन्छ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवद्र्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा बडीमालिका नगरपालिकाको तर्फबाट नगर प्रमुख अमरबहादुर खड्काले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकले पालिका भित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहने नगरबासिहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्नेछ ।

उक्त कर्जाले नगरपालिका भित्र उद्यमशिलता मार्फत आत्मनिर्भर र स्वरोजगार प्रवद्र्धन हुने विश्वास बैंकले लिएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

इन्ड्राइभको सेवा नेपालमा आधिकारिक रूपमा शुरु

काठमाडाै । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुवात गरेको छ । इन्ड्राइभले न्यूनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्दछ । नेपालमा चालक र यात्रु दुवैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न इन्ड्राइभले चालकका लागि १०% सम्म कमिशन शुल्क लागू गरेको छ ।


पिपुल–टु–पिपुल मोडेल र ह्युमन ड्रिभन एप्रोचको कारणले इन्ड्राइभ एपको लोकप्रियता बढ्दै गएको छ । एल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड–हेलिङ एपहरू जस्तो नभई इन्ड्राइभले यात्रु र चालक दुबैलाई स्वतन्त्र रूपमा सवारीको भाडा बार्गेन गर्न सकिने अद्वितीय सुविधा प्रदान गर्दछ । यसले यात्रुहरुलाई आफ्नो सवारीको भाडा निर्धारण गर्न र चालकसँग सीधै एप भित्रै बार्गेन गर्ने स्वतन्त्रता दिन्छ । इन्ड्राइभ एपमा यात्रुहरूले आफ्नो सवारीको लागि आँफै भाडा प्रस्ताव गर्न सक्नुको साथै सवारी साधनको मोडेल, चालकको रेटिङ र चालक आउन लाग्ने समयको आधारमा कुनै एउटा चालकको राइड अफर लिन सक्छन् । यो नयाँँ प्रणालीले चालकहरूलाई पनि आफूलाई उपयुक्त हुने राइड रिक्वेस्ट लिन, आफ्नै मूल्य राख्न र आफ्नो सहजता अनुसार राइड असेप्ट गर्ने अधिकार दिन्छ ।


इन्ड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले भने “एउटा ब्राण्डको रुपमा इन्ड्राइभको मिशन भनेको अन्यायलाई चुनौती दिँदै १ अर्बभन्दा बढी मानिसहरुको लागि विश्वमा राम्रो ठाउँ बनाउनु हो । इन्ड्राइभ अब आधिकारिक रूपमा नेपालमा शुरु भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौँ । इन्ड्राइभले संसारभरका मानिसहरूलाई छनोटको स्वतन्त्रता दिन्छ । हाम्रो लागि नेपालको बजार अत्यन्तै महत्तवपूर्ण छ र हाम्रा सेवाहरूले नेपाली बजारमा नवीनता ल्याउने र रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।”


त्यस्तै इन्ड्राइभ नेपालको डिरेक्टर रीता पोखरेलले भने, “नेपालमा इन्ड्राइभको आधिकारिक सुरुवातले यहाँको राइड–हेलिङ उद्योगमा नयाँ अध्यायको शुरुवात गरेको छ । इन्ड्राइभ अब नेपालमा आधिकारिक रूपमा शुरु भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौँ । हाम्रा प्रयोगकर्ताहरूलाई निर्बाध र सुरक्षित भुक्तानी गर्न सजिलो होस् भनेर हाम्रो पेमेन्ट पार्ट्नरको रुपमा हामीले आइएमइसँग साझेदारी गरेका छौँ ।”

काठमाडौँमा इन्ड्राइभका सेवाहरु
ट्याक्सी
मोटरसाइकल
डेलिभरी
अन्तर–शहर यात्रा (सिटी टु सिटी) राइड
मुख्य विशेषताहरुः
आफ्नै भाडा प्रस्ताव गर्न सकिने – आफ्नो प्रस्ताव स्वीकार गर्ने चालक पाउन सकिने या चालकको प्रस्ताव आफुले स्वीकार गर्न सकिने
चालक छनोट गर्न सकिने – चालकको रेटिङ र उनीहरूले कतिवटा राइड गरिसकेका छन् भन्ने कुरा हेर्न सकिने
आफ्नो रोजाइमा सुरक्षित हुन सकिने – इन्ड्राइभमा आउनु अगाडि प्रत्येक चालकको आधारभूत जानकारी र कागजातहरू एपमा समावेश हुनुपर्ने
सुरक्षा अपडेटः
यात्रु र चालक दुबैले एक अर्काको रेटिङ र तिनीहरूले पहिले गरेका यात्रा संख्याको आधारमा आफू कोसँग यात्रा गर्ने भनेर छनौट गर्न सकिने

सवारीको समयमा एपमा लाइभ राइड विवरण शेयर गर्न मिल्ने र सेभ अवर सोल्स ( एस्ओएस्) बटनको सुविधा
अप्रत्याशित परिस्थितिमा प्रयोगकर्ताहरूलाई छिटो सहयोग लिन सकिने र स्थितिको चाँडै समाधान गर्न कर्मचारीहरुसँग काम गर्न सकिने सुविधा

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर

काठमाडाै । नेपाल राष्ट्र बैंकले आजकाे लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेकाे छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको डलरकाे दर अधिकतम १३३ रुपैया २९ पैसा र बिक्री दर १३३ रुपैया ८९ पैसा कायम भएकाे छ ।

युरोपियन यूरो एकको खरिद दर १४३ रुपैयाँ ६१ पैसा र बिक्री दर १४४ रुपैयाँ २५ पैसा छ । त्यस्तै यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६७ रुपैयाँ ६४ पैसा र बिक्री दर १६८ रुपैयाँ ३९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १४७ रुपैयाँ २७ पैसा र बिक्री दर १४७ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ३५ पैसा र बिक्री दर ८८ रुपैयाँ ७५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४९ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ९३ पैसा छ ।

राष्ट्र बैंकले जनाए अनुसार आज जापानी येन १० को खरिद दर नेपाली ८ रुपैयाँ ६७ पैसा र बिक्री दर ८ रुपैयाँ ७१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४९ पैसा र बिक्री दर १८ रुपैयाँ ५८ पैसा रहेको छ ।

चट्याङ लागेर बालकको मृत्युु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्युु भएको छ । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए ।

यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन्भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।

बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख

काठमाडौ । यही वैशाख २८ गते प्रारम्भ हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सचिवालयले अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम पूरा गरेको छ ।

अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुने जानकारी उनले दिए ।

निर्वाध सदन सञ्चालनका निम्ति परामर्श गर्न सभामुख देवराज घिमिरेले आज संसद्मा प्रतिनिधित्व गरेका पाँच राजनीतिक दलका शीर्ष नेतासँग बैठक गर्दै छन् । संसद् सचिवालयले सदन सञ्चालनका लागि बनाएको ‘क्यालेण्डर’ अनुरूप संसदीय गतिविधिमा सबै राजनीतिक दललाई सहयोग गर्न सभामुखले बैठकमा पुनः अनुरोध गर्ने बताइएको छ ।

सरकारले प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

विगतमा ‘प्रि–बजेट’ छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तमा हिउँदे अधिवेशनमा नै त्यो कार्य पूरा भइसकेको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी २६ वटा विधेयक विचाराधीन छन् । राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा दर्ता भएका २४ वटा विधेयकमध्ये १४ वटा विषयगत समितिमा र १० वटा राष्ट्रियसभामा विचाराधीन छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जनताले बचत गरेको रकम विभिन्न सहकारीले हिनामिना गरेकालगायत विषयमा छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि संसद्को हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

यसैबीच, रासस प्रतिनिधिसँग सङ्क्षिप्त कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्ताैलाले अधिवेशनलाई परिणामुखी तुल्याउन संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसदले जिम्मेवारीबोधका साथ भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।

उनले भने, “अबका चुनौती पार लगाउँदै नागरिकमा आशा जगाउने र युवाशक्ति देशभित्रै रहने वातावरण सिर्जना गर्नेगरी नीति तथा कार्यक्रम सदनमा पेस गर्न सरकारले गृहकार्यमा जुटेको छ, त्यसका आधारमा बजेट पनि आउँछ ।”

युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न राष्ट्रपति पुटिनको आदेश

काठमाडौं– रुसको बेलगोरोड सीमा क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा छ जनाको मृत्यु र ३० भन्दा धेरै घाइते भएपछि राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पश्चिमी ‘धम्कीहरू’ को सामना गर्दै नयाँ आणविक हतियार अभ्यासको आदेश दिएका छन् ।

उक्त अभ्यास ‘निकट भविष्य’ मा गरिने र यसमा वायुसेना, नौसेना र युक्रेन नजिकै तैनाथ सेना संलग्न हुने रुसको रक्षा मन्त्रालयले बताएको छ । फेब्रुअरीमा पुटिनले राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा आणविक युद्धको ‘वास्तविक’ जोखिम रहेको चेतावनी दिएर आफ्नो आणविक बयानबाजीलाई बढाएको थियो ।

यसैबीच उक्त अभ्यास युक्रेनमा सेना पठाएकामा पश्चिमी मुलुकहरूको टिप्पणीको जवाफ भएको क्रेमलिनले बताएको छ । रक्षा मन्त्रालयले अभ्यासको उद्देश्य ‘केही पश्चिमी अधिकारीहरूको धम्कीहरू’ को सामना गर्दै रुसी क्षेत्रीय अखण्डता सुनिश्चित गर्नु रहेको बताएको छ ।

युक्रेनसँग जोडिएको र रुसले कब्जा गरेको युक्रेनी क्षेत्र समेटेको दक्षिणी सैन्य जिल्लाका सेनाले अभ्यासमा भाग लिने मन्त्रालयले उल्लेख गरेको छ ।

युक्रेनी सेना रुससँग लड्नका लागि पश्चिमी सैन्य सहायतामा निर्भर छ तर नाटोले युक्रेनमा सेना नपठाउने बताएको छ ।

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित

काठमाडाै । प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत् आयोजनाको शेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको शेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म ठप्प भएको हो ।

लामो समयसम्म आयोजनाको शेयर निष्कासन गर्न नपाउँदा आयोजनाको निर्माण प्रभावित भएको प्रवर्द्धकहरुले जनाएका छन् । गत आर्थिक वर्षमा ४२ कम्पनीको आइपिओ जारी भएकामा २९ वटा जलविद्युत् कम्पनीहरु रहेका थिए तर चालु आर्थिक वर्षमा भने गत भदौ ५ गते भिजन लुम्बिनी ऊर्जा कम्पनीको आइपिओ जारी हुनुबाहेक अरू कुनै पनि जलविद्युत् कम्पनीको आइपिओ निष्कासन नभएको भन्दै प्रवद्र्धकहरुले गुनासो गरेका छन् । अहिले एउटा सोलारसहित १८ वटा विद्युत् उत्पादन कम्पनीले आइपिओ निष्कासनका लागि अनुमति माग गर्दै सेबोनमा निवेदन दिएका छन् । अनुमति नै नपाउने आइपिओका लागि किन आवेदन दिनु भन्दै चार÷पाँचवटा कम्पनीले आवेदन नै दिएका छैनन् । 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ती सबै कम्पनीको गरी करीब १४/१५ अर्ब रुपैयाँ बराबरको शेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको जानकारी दिए  । उनका अनुसार हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका नौ जलविद्युत् कम्पनीले पनि अनुमति पाएका छैनन् । नौ कम्पनीले हकप्रद निष्कासन गर्न लागेको रकम झन्डै रु सात अर्ब रहेको कार्कीले जानकारी दिए । “यसअघि बोर्डले गत पुसमा अन्तिम पटक जलविद्युत् कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको थियो । त्यसयता नौ कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति माग्दै बोर्डमा दिएको निवेदन अलपत्र परेका छन्,” उनले भने, “गत आर्थिक वर्षमा आठवटा कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति पाउँदा सातवटा जलविद्युत् आयोजना प्रवद्र्धक कम्पनी रहेका थिए ।”

हकप्रद शेयरमा पनि अनुमति नै नपाउने भए किन खर्च गर्नु जनाउँदै धेरै कम्पनी बोर्डमा नगएको कार्कीले जानकारी दिनुभयो । जलविद्युत् कम्पनीहरुले आइपिओ तथा हकप्रद शेयर जारी गरेपछि आउने रकमलाई आयोजना निर्माणमा खर्च गर्ने योजनासहित काम अघि बढाएका हुन्छन् तर सेबोनले शेयर निष्कासनको अनुमति नदिएपछि थप २०/२२ अर्ब रुपैयाँ कहाँबाट जोहो गर्ने भन्ने चिन्ता प्रवद्र्धकलाई थपिएको इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले बताए । जलविद्युत् कम्पनीहरुको आइपिओ तथा हकप्रद शेयर निष्कासनलाई प्राथमिकता दिन सरोकारवाला सबै निकायमा इप्पानले पहल गरे पनि सम्बन्धित निकायबाट तदारुकता नदेखाउँदा धेरै विद्युत् आयोजनाहरुको निर्माण प्रभावित भइरहेको इप्पानका महासचिव बलराम खतिवडाले जानकारी दिए । 

जलविद्युत् आयोजनाले ५० प्रतिशत निर्माण पूरा भएपछि आइपिओ निष्कासनको प्रक्रियामा जान पाउँछन् भने ६० प्रतिशत निर्माण पूरा भएपछि अनुमति पाउने व्यवस्था छ । आइपिओबाट आउने पैसालाई पनि कम्पनीहरुले आयोजना निर्माणमा खर्च गर्नेगरी कार्ययोजना बनाएका हुन्छन् तर शेयर निष्कासनको प्रक्रिया नै रोकिएपछि आइपिओ निष्कासनको चरणमा पुगेका अन्य आयोजनासमेत प्रभावित भएको प्रवद्र्धकहरुको भनाइ छ । अहिले निजी क्षेत्रबाट तीन हजार पाँच सय मेगावाट क्षमताका योजनाहरु निर्माणाधीन छन् ।