हेटौँडामा बसको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थाना भर्‍याङस्थित पूर्व–पश्चिम सडकखण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सर्लाहीबाट काठमाडौँतर्फ आउदै गरेको ना ७ ख १६७५ नं. को बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार मृतक पुरुषको हाल नामथर वतन खुलेको र मृतक पुरुषको शव हेटौँडा अस्पतालमा राखिएको छ ।

उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नवलपरासीमा सहकारीको रकम हिनामिनाः सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीद्धारा प्रतिवेदन पेस

काठमाण्डौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका वडा नम्बर ३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेस गरेको छ । बचतकर्ताको १६ करोड ५८ लाखभन्दा बढी रकम हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बर्दियाबाट प्रतिनिधिसभा सदस्य गीता बस्नेत, उनका ज्वाइँ नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाका योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष कावासोतीका गोपीकृष्ण शर्मा, बिनाधितो ऋण लिने बर्दिया घर भएका शिवलाल लामिछानेसहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई सुझाव दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।

२०६६ सालमा स्थापना भएको यो सहकारीमा दुई हजार तीन सय ९३ जना बचतकर्ता र सेयर सदस्य रहेका छन् ।

यस्तो छ तपाईंको आज २०८१ साल जेठ १२ गते शनिवारको राशिफल 

मेष : कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन सञ्चित गर्ने अवसर प्राप्त हुनेछ।

वृष : आकस्मिक धनप्राप्ति हुनेछ । महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ । साथीभाइबाट धोका हुनसक्छ । शत्रुहरु पराजित हुनछन।

मिथुन : प्रेममा सफलता मिल्नेछ । मनमा हर्ष बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । शैक्षिक क्षेत्रमा सुधार हुनेछ । अनावस्यक खर्च बढ्ने देखिन्छ ।

कर्कट : चन्चलता बढ्नेछ । अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ । स्वास्थ्यमा कफको समस्या बढ्नेछ । पारिवारिक सुखप्राप्ति हुनेछ ।

सिंह : सन्तानबाट सहयोग मिल्नेछ । महत्वपूर्ण काम सफल हुनेछन् । महत्वपूर्ण व्यक्तिहरुसँग भेटघाट हुनेछ । राजनैतिक व्यस्तता बढ्नेछ ।

कन्या : ब्यापार व्यवसायमा लगानी बढ्नेछ । मानसिक बिचलन रहनेछ । महत्वपूर्ण कार्यमा अवरोध आउनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ ।

तुला : इच्छा शक्ति बढ्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । राजनैतिक क्षमताको विकास हुनेछ । नेतृत्व क्षमता वृद्धि हुनेछ । मानसिक तनाब बढ्नेछ।

वृश्चिक : मेहनत गरे काममा सफलता मिल्नेछ । आलस्यता बढ्नेछ । पद प्रतिष्ठा प्राप्त हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ।

धनु : धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । पारिवारिक सद्भाव कायम रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । मन प्रसन्न रहनेछ।

मकर : मेहनत गरे महत्वपूर्ण कार्य बन्नेछन् । सामाजिक कार्यमा सफलता मिल्नेछ । आय आर्जनका स्रोत फेला पर्नेछन् । पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

कुम्भ : ब्यापार व्यवसायमा सफलता प्राप्त हुनेछ । साथीभाईसंग भेटघाटमा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ।

मीन : साथीभाईको सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । स्वास्थ्यमा समस्या देखा पर्नेछ । सामाजिक कार्य बढ्नेछन्।

कैलाश सिरोहिया अस्पताल भर्ना

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।  नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई गए राति १० बजे अस्पताल भर्ना गरिएको हो । 

उच्च रक्तचापका कारण सिरोहिया अस्पताल भर्ना भएका हुन् । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाले अहिले सिरोहिया काव्या अस्पतालमा उपचाररत रहेको जानकारी दिए । उनकाअनुसर उच्च रक्तचापको समस्या देखिएपछि राति प्रादेशिक अस्पताल लगिएको थियो । त्यहाँबाट रेफर गरेपछि काव्या अस्पताल लगिएको हो ।

धनुषा जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि मंगलवार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपकै कार्यालयबाट पक्राउ गरिएको थियो । सिरोहियालाई प्रहरीले मंगलवार राति धनुषा ल्याएपछि प्रहरीले अदालतमा पेश गर्दा तीन दिनको म्याद थपियो । शुक्रवार अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई पुनः तीन दिनको म्याद दिएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र  बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४३ रुपैयाँ ७५ पैसा र बिक्री दर १४४ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कस्तो रहला दिनभरको मौसम ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ  । कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का  देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही  बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भू-भागको एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

नेपाल प्रहरीका १४९ जना इन्स्पेक्टर दीक्षित

काठमाडौँ । नेपाल प्रहरीका १४९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन् । आधारभूत तालिम पुरा गरेर उनीहरू दीक्षित भएका हुन् । दीक्षित हुनेमा १८ जना महिला र १३१ जना पुरुष छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार आयोजित दीक्षान्त समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम,  द्वितीय र तृतीय पुरस्कार प्रदान गरे । प्रशिक्षार्थी प्रहरी निरीक्षक पवन कुमार परियार प्रथम, सगुन खड्का  द्वितीय र आयुष ढुंगानाले तृतीय पुरस्कार प्राप्त गरेका छन् ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास सँगै नयाँ सुरक्षा चुनौती थपिएको बताए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पास आउट भएर कार्यक्षेत्रमा जान लागेका इन्स्पेक्टरहरुले इमानदार र व्यावसायिक भएर जिम्मेवारी निर्वाह गर्नेमा आफू विश्वस्त भएको बताए । उनले भने,‘अधिकृतहरू कहिलेकाहीँ बेलगाम हुँदा कार्यसम्पादनमा आँच आउने गरेको छ ।’

बङ्गलादेशविरुद्धको टी-२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित

जेन्सी । अमेरिकाले बङ्गलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ। गए राति सम्पन्न टी-२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बङ्गलादेशलाई ६ रनले पराजित गरेको हो।

जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश १९.३ ओभरमा अलआउट हुँदै १ सय ३८ रनमा समेटिएको हो । बंगलादेशको लागि नाज्मुलहोसिन शान्तोले २६, शाकिब अल हसनले ३०, टोहिड ह्रिदोले २५ र तान्जिद हसनले १९ रन बनाए

अमेरिकाको लागि अलि खानले तीन, सौरभ नेत्राभालकर र शाद्ली भान स्चाल्वाकले दुई/दुई तथा जश्दिप सिंह र कोरी एण्डरसनले समान एक/एक विकेट लिए ।

यसअघि घरेलु मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो । अमेरिकाको लागि मोनाक पटेलले ४२, एरोन जोन्सले ३५, स्टिभ टेलरले ३१ र कोरी एन्डरसनले ११ रन बनाए ।

बंगलादेशको लागि शोरिफुल इस्लाम, मुस्तफिजुर रहमान र रिषद होसिनले समान दुई/दुई विकेट लिए ।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो ।

हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।

रवि लामिछानेको दोहोरो राहदानीमा छानबिन गर्नुपर्दैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महान्यायधिवक्ताको कार्यालय रास्वपाको भातृ संगठन जस्तो बनेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकपछि महामन्त्री शर्माले गृहमन्त्री रवि लामिछाने र संसद्का महासचिव पाण्डेयको दोहोरो नागरिकता र राहदानीको विषय उठ्दा पनि अनुसन्धान तथा गिरफ्तारी नभएको बताएका हुन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकपछि संसद भवनमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री शर्माले महान्यायाधिवक्ता कार्यालय गृहमन्त्रालयको शाखा जस्तो बनेको टिप्पणी गरेका हुन् ।

‘प्रतिशोध स्वरूप कैलाश सिरोहिया रातारात भाग्ने जस्तो गरेर गिरफ्तार गरियो । गिरफ्तार गर्ने निकायमा को हुनुहुन्छ ? दुई वटा पासपोर्टको कारण छानबिन हुनुपर्ने भनेर आरोपित व्यक्ति गृहमन्त्री हुनुहुन्छ । महान्यायाधिवक्ताको कार्यालयले के भनेको छ भन्दा दोहोरो राहदानीमा छानबिन गर्नु नपर्ने । महान्यायाधिवक्ता कार्यालय रास्वपा पार्टीको भ्रातृ संस्था हो ? गृह मन्त्रालयको शाखा हो ?’, शर्माले प्रश्न गरे, ‘कहिले पासपोर्ट प्रकरणमा छानबिन गर्नु पर्दैन भनेको छ । कहिले सहकारी ठगीमा हुनुहुन्न भनेको छ । त्यो (महान्यायाधिवक्ता कार्यालय) संवैधानिक इजलास हो ? विचाराधीन विषयमा अलग्गै लेखेर दिन मिल्छ ?’

महामन्त्री शर्माले सहकारी ठगीबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिमा रविको नाम किटान गर्नुपर्ने बताए ।सहकारी ठगीको विषयमा लामो कुरा केही छैन, जसरी अस्पतालमा आएका सबै विरामीको अप्रेसन गरिँदैन । एपेन्डिक्सको अप्रेसन गर्ने भन्दैमा हस्पिटलमा आएका सबैको त गरिँदैन, जो बिरामी हो त्यसैको गर्ने होला’, शर्माले भने, ‘कागजमा कसैको नाम लेखेपछि समिति बन्नु र नबन्नुको अर्थ हुँदैन ।’

सहकारी ठगीमा रविले एकढंगको स्वीकार्यता गरिसकेकाले कांग्रेस नेताहरूको फाइल खोल्ने बार्गेनिङ गरेको महामन्त्री शर्माले बताए । कांग्रेसको सभापतिमाथि छानबिन गर्ने हो कि दाई भाउजूमाथि छानबिन गर्ने हो गर्नुस् । नाम थर, गोत्र लेख्नुस् । माइती ससुरालीको कुरा लेख्नुस् ।

खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा बर्सेनि कमी हुँदै


डोटी । खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा बर्सेनि कमी हुँदै गएको पाइएको छ । निकुञ्जले आयोजना गरेको सरोकार भएकासँगको समन्वय बैठकमा राजस्व सङ्कलन चुनौती बनेको बताइएको छ ।

चालु आर्थिक वर्ष २०८०-८१ को चैत मसान्तसम्म तीन लाख ३६ हजार १० मात्रै राजस्व सङ्कलन भएको निकुञ्जका कार्यालय प्रमुख सरोजमणि पौडेलले जानकारी दिए । उनका अनुसार सो अवधिमा एक हजार तीन सय चार जनाले खप्तडको भ्रमण गरेका छन् । पौडेलका अनुसार आव २०७९-८० मा सात लाख ८७ हजार छ सय २६ राजस्व सङ्कलन भएको थियो भने दुई हजार आठ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए ।

आव २०७८-७९ मा दुई हजार दुई सय नौ जनाले खप्तडको भ्रमण गरेकामा नौ लाख २० हजार आठ सय २९ राजस्व सङ्कलन भएको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । राजस्वको प्रमुख स्रोत पर्यटकले काट्ने टिकट हो । पछिल्लो समय केही पर्यटकले टिकट बिनै खप्तडको भ्रमण गरिदिँदा राजस्व सङ्कलनमा कमी आएको निकुञ्ज प्रमुख पौडेलको भनाइ छ । विभिन्न बहानामा टिकट नकाट्ने र टिकट छल्ने प्रवृत्ति बढ्दै जाँदा राजस्व सङ्कलनमा कमी आउनुका साथै भ्रमणका क्रममा बिरामी परे उद्दारमा कठिनाइसमेत हुने गरेको उनले बताए ।

हजारौँ रकम खर्च गरेर खप्तड भ्रमण गर्न आउने केही पर्यटकले एक सयको टिकट काट्न आनाकानी गर्दा पर्यटक व्यवस्थापन तथा आपतकालीन उद्धारमा समस्या हुने गरेको पौडेलले बताए । उनका अनुसार निकुञ्जमा प्रवेश शुल्क प्रतिव्यक्ति स्वदेशीका लागि एक सय, सार्क मुलुकका नागरिकलाई पाँच सय र अन्य विदेशीका लागि एक हजार पाँच सय तोकिएको छ ।

जीबी राईको पासपोर्ट रद्द गर्न मिलेन : राहदानी विभाग

काठमाडौं । सहकारीका बचतकर्ताको रकम ठगेर फरार गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द नहुने भएको छ। काठमाडौँको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिमलगायतका सहकारीका बचतकर्ताको रकम हिनामिना गरी फरार भएका ग्यालेक्सी टेलिभिजनका सञ्चालक राई मलेसियामा रहेको प्रहरीको अनुमान छ।

तर, राहदानी विभागले भने अहिलेकै अवस्थामा जीबीको पासपोर्ट रद्द गर्न नमिल्ने जनाएको हो । प्रहरीले जीबी मलेसियामा रहेको आशंका गरेको छ । त्यहाँबाट समेत अन्य देश भाग्न सक्ने भन्दै प्रहरीले उनको पासपोर्ट रोक्काको लागि वैशाखको अन्तिम साता राहदानी विभागलाई पत्राचार गरेको थियो ।

पासपोर्ट रद्द गर्ने कि नगर्ने भन्नेबारे कानुनी परामर्शपछि अहिलेकै अवस्थामा जीबीको पासपोर्ट रद्द गर्न नसकिने राहदानी विभागका निर्देशक एवं प्रवक्ता रमेश कुमार चर्मकारले जानकारी दिए । उनले भने, “राहदानी ऐन, २०७६ अनुसार पासपोर्ट रद्द गर्न अदालतको आदेशबाहेक अन्य अवस्थामा गर्न मिल्ने नदेखिँदा अहिलेकै अवस्थामा रद्द गर्न मिलेन ।”

अनुसन्धान अधिकारीले अनुसन्धानका क्रममा रोक्का गर्न सक्ने प्रावधान कानुनले दिए पनि पासपोर्ट नै बरामद नभएको अवस्थामा रद्द गर्न नमिल्लने उनको भनाइ छ । जीबी राईमाथि सूर्यदर्शन सहकारी, रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी, काठमाडौैको स्वर्णलक्ष्मी सहकारीको अर्बाैं रकम हिनामिना गरेको आरोप छ । सूर्यदर्शन र सुप्रिम सहकारीको मुद्दा अदालत नै पुगिसकेको छ ।

सोही अभियोगमा आरोपी ओखलढुंगाका जीबीमाथि प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस समेत जारी गरेको छ । तर, उनी भने पक्राउ परेका छैनन् ।

राहदानी रद्द नहुने भएपछि उनलाई मलेसियाबाट नेपाल ल्याउन कठिनाइ हुने देखिएको छ। राईका पूर्व व्यावसायिक साझेदार रवि लामिछाने अहिले उपप्रधानमन्त्री तथा गृहमन्त्री छन्। लामिछाने पनि राईसँगै सहकारी ठगीमा मुछिएका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको ३ दिन दिनपछि इन्जिनियर पोखरेल मृत फेला

काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको ३ दिन दिनपछि सिनियर डिभिजन इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

बिहीबार बिहान ८ बजे आफ्नै घरको भर्‍याङमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको भक्तपुरकी प्रहरी जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिइन् ।

प्रहरी जिल्ला अधिकारी श्रेष्ठका अनुसार उनको सुसाइड नोट पनि फेला परेको छ । सुसाई आफुखुशी आत्महत्या गरेको उल्लेख गरेको बताइएको छ । उक्त नोटमा पोखरेलले अन्य कसैलाई दोष नदिएको बुझिएको छ ।

विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रुपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।

सगरमाथा आरोहणका क्रममा यसवर्ष ५ जनाले गुमाए ज्यान

काठमाडौं । जारी पर्वतारोहण सिजनमा सगरमाथामा मात्र ५ आरोहीको मृत्यु भएको छ । पर्यटन विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरण अनुसार नेपाली सहयोगी र विदेशी आरोहीहरूको विभिन्न कारणले मृत्यु भएको हो ।

मृत्यु हुनेमा मंगोलियाका दुई आरोही छन् । उनीहरूको १३ मेका दिन साउथ समिटमा मृत्यु भएको विभागले जनाएको छ । मृत्यु हुनेमा युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ रहेका छन् । क्याम्प थर्डमा रोमानियाका नागरिक ४६ वर्षीय ग्याब्रियल भायोरेल तबराको २१ मेका दिन मृत्यु भएको छ । उनको टेन्टमा सुतिरहेको अवस्थामा मृत्यु भएको पाइएको छ ।

केन्याका नागरिक ४० वर्षीय जोसुआ चेरियट किरुईको समेत सोही दिन मृत्यु भएको विभागले जनाएको छ । उनको चुचुरो नजिकै शव भेटिएको छ । सोही दिन कास्कीका विनोदबाबु बस्ताकोटीको समेत ज्यान गएको छ । उनको साउथ कोल नजिकै ८२ सय मिटरमा ज्यान गएको हो ।

विभागका अनुसार तीन जना आरोही र सहयोगी भने हराइरहेका छन् । २१ तारिखका दिन बेलायती नागरिक ४० वर्षीय ड्यानियम पौल हिलारी स्टेपबाट झरेको र सोही स्थानमा हराइरहेको विभागले जनाएको छ । उनको साथमा रहेका सहयोगी पासतेन्जी शेर्पा समेत हराइरहेका छन् । केन्याली नागरिकको साथमा रहेका ङवाङ शेर्पा समेत चुचुरो नजिकबाट हराइरहेको विभागको विवरणमा उल्लेख छ ।

विभागका अनुसार बिहीबारसम्म कुल ५७० जना भन्दा बढी आरोही र सहयोगीहरूले सगरमाथाको सफल आरोहण गरेका छन् । बिहीबार मात्र ६५ जनाले चुचुरो चुम्न सफल भएका थिए ।

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । आज सुन नेपाली बजारमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३६हजार ९सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३६ हजार २५०रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको१ लाख ३८ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा तोलाको १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय ५५ मा झरेको छ ।