न्याय सेवाका ३ सहसचिवहरूलाई सचिवमा बढुवा

काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाका तीन जना सहसचिवहरूलाई सचिवमा बढुवा गरेका छन् ।

आयोगको आइतबार बसेको बैठकले एक सरकारी वकिल र दुईजना न्याय प्रशासनका कर्मचारीहरूलाई सचिवमा बढुवा गरेको हो । कामु नायव महान्यायाधिवक्ता खेमराज ज्ञवाली महान्यायाधिवक्ता कार्यालयको सचिव सरहको पद नायव महान्यायाधिवक्ता बढुवा भएका हुन् ।

आयोगले न्यायपरिषदका कामु सचिव भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा बढुवा गरेको हो । त्यसतै सर्वोच्च अदालतका सह–रजिष्ट्रार यमबहादुर बुढामगरलाई न्याय परिषद्को सचिवमा बढुवा गरेको छ ।

नयाँ ठेक्काले सडक बिभाग विवादमा


काठमाण्डौँ । राष्ट्रिय गौरबको आयोजनामा रहेका सडकहरुको निर्माण कार्य नै अलपत्र पर्ने गरेका छन् । प्रायः स्थानियतहले बिकासको बिशेष प्राथमिकतामा राखेका र बर्खायाममा सडक भाँसिने तथा पहिरोका कारण भत्केका सडकहरु निर्माण कार्यमा निकै ढिलासुस्ती भएको पाईन्छ ।

निर्माण व्यवसायीले सडक भत्काएर काम नगर्दा सर्वसाधारणहरुले खाल्डाखुल्डी, धूलो र हिलोको सास्ती खेप्नुपर्ने बाध्यता कायमै छ । सडकको जीर्ण अवस्था र धूलो–हिलोकै कारण सडक किनारका प्रायः सटरहरु समेत खाली हुँदै गएका छन् । एकातिर तीन तहका सरकारबीच सडकको वर्गीकरण हुनसकेको छैन भने अर्कोतिर बहुवर्षीय आयोजनाको निर्माण कार्य प्रभावित हुने गर्दछ ।
राजनीतिक प्रभावका कारण पनि ठेक्का लागेका केही परियोजनामा ठेकेदार कम्पनीले काम गरेको भुक्तानी पाउन सकेका हुदैनन् । अधुरो, अधकल्चो हिलाम्मे र धुलाम्मे सडकमा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य हुन्छन् ।
धेरैजसो ठाउँमा निर्माण कम्पनी तथा ठेकेदारको लापर्वाही कै कारणले निर्माण कार्य अलपत्र पर्ने गरेको स्थानिय तथा जनप्रतिनिधीहरुले बताउछन् ।
सडक विकासको एक आधार हो । तर, सडक निर्माण गर्दा नागरिकको बासस्थानको सुरक्षा, ऐतिहासिक धरोहर, सम्पदा तथा वातावरण संरक्षण पहिलो प्राथमिकता हुनु पर्दछ ।
नेपालको संविधानको धारा ३७ ले आवासको हकअन्तर्गत कानुनबमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको बासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन भनी आवासको हक सुनिश्चित गरेको छ । त्यस्तै, संविधानको धारा १७ (२) (ङ) ले स्वतन्त्रताको हकअन्तर्गत नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रताको पनि ग्यारेन्टि दिएको छ ।
तर, सडक निर्माण, विस्तार, स्तरोन्नतिका क्रममा विवाद, ढिलासुस्ति, लापरवाही हुने गरेको पाइन्छ । यसकारण स्थानीय जनताले निर्माणको विरोधमा सङ्घर्ष गर्नुपरेको समाचार भने प्रकाशित भइरहन्छन् ।
निर्माण व्यवसायीले समयमा काम नसकेपछि सडक डिभिजन पाल्पाले पाल्पा–गुल्मी सडक खण्डमा दिउँसोको समयमा दैनिक १२ घण्टा सडक बन्द गरेर काम गराएको छ ।
चौडा र ढलानका काम गर्न पाल्पामा सडक बन्द
कतिपय ठाउँमा ठेक्काको काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई काम गराउन दिनभर सडक बन्द गर्ने गरेको पनि पाईएको छ । पाल्पा–गुल्मी सडकको लघुवादेखि जोर्ते भिरआसपास क्षेत्रमा सडक चौडा गर्ने कामका लागि दैनिक बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्मका लागि सडक बन्द पनि गरिएको थियो ।
सडक निर्माणमा ठेकेदारको कमजोरी
निर्माण कम्पनी लाचार बन्दा कतिपय सडक निर्माण कार्य अलपत्र पर्ने गरेका छन् । सम्झौता भएदेखि नै सडक निर्माणको काम अघि नबढेको पनि पाईएको छ । सडक निर्माणको कामले गति नलिँदा स्थानीले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे यात्रा गर्नुपरीरहेको स्थानियहरुले बताउने गरेका छन् । पर्याप्त बजेट र काम गर्ने वातावरण हुँदा हुँदै पनि निर्माण व्यवसायीले काम नगर्ने गर्दछन् । काममा बेवास्ता र मनोमानी गर्ने ठेकेदारलाई ताकेता र फोन गर्दागर्दै आजित बनिसकेको काल्चे जोड्ने सडक निर्माण कार्य अलपत्र परेको छ । ‘निर्माण व्यावसायीले पहुँचको भरमा ठेक्का पार्छन् तर मन दिएर काम गर्दैनन्’, । ‘त्यसको प्रत्यक्ष मार हामी र जनताले खेप्नु परेको छ ।’ सुर्खेतको गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले भने ।
बाटोको विकल्प बाटो हो
अर्को विकल्प नै नहेरी नागरिकका घर तथा सम्पदा भत्काउनुपर्ने योजना किन बनाइन्छ ? प्रश्न उठ्छ ।
वैकल्पिक सडक निर्माण गर्न सकिने ठाउँमा किन त्यसतर्फ विचार नगरी भएका पुरातात्विक महत्वका अमूल्य धरोहर भत्काई सडक विस्तार, सडक स्तरोन्नति गर्न लाग्छौंँ ? यो मानवीय संवेदनाहीन कार्य तत्काल रोकिनुपर्छ । नागरिकको बासस्थानको अधिकारलाई संविधानले प्रत्याभूत गरेको कानुनको सम्मान गर्नुपर्दछ ।
सडक निर्माणमा गृहकार्य नपुगेको कारणले ढिलाइ हुन्छ कि गृहकार्य गरिसकेपछि योजना असफल वा योजना त्रुटिपूर्ण हुँदा सडक निर्माणमा ढिलासुस्ती, विवाद आउने गरेको हो ? यसबारे विस्तृत अध्ययन गरी कानुनमा आवश्यक परिमार्जन गर्नुपर्दछ ।
सडक निर्माण, विस्तार तथा स्तोरन्नतिसम्बन्धी छुट्टै कानुन पो चाहिएको हो कि ? स्थानीय स्तरमा वा ठेकेदारसँग विवाद वा मुद्दा परेमा छिटो विवादको निरूपण गर्न छुट्टै न्यायिक संयन्त्रको आवश्यकता परेको हो कि ? यसतर्फ पनि अध्ययन गरी समाधानको उपाय पहिल्याउनु आवश्यक छ ।
सडक निर्माणसँग सम्बन्धित अन्य कानुनमा सार्वजनिक खरिद ऐन, सार्वजनिक सडक ऐन २०३१, जग्गा प्राप्ति ऐन २०३४, आवासको हकसम्बन्धी ऐन २०७५ आदि हुन् । यी कानुनलाई एकीकृत गरी सडक निर्माण, विस्तार तथा स्तरोन्नतिका लागि छुट्टै कानुनी संहिता, छिटोछरितो विवाद तथा समस्या समाधानका लागि न्याय निरूपणको छुट्टै प्रणालीको विकास गर्न छलफल गर्नु जरूरी छ ।
सडक निर्माण कार्य अलपत्र परेका समाचारहरु प्रकाशित भए पनि सडक बिभागका महानिर्देशक सुशीलबाबु ढकाल सहित मातहतका जिम्मेवार ब्याक्ति र कार्यालय भने बेखबर नै छ । पुराना ठेक्काको दिन नसकेर भागाभाग भैरहेको बेलामा नयाँ सेटिङ्का आधारमा नयाँ ठेक्का खुलाएर अरबौको चलखेल गर्ने महानिर्देशक र मन्त्री पत्नी जुलि महतोको हर्कत अख्तियारले देख्दैन ? प्रश्न उठेको छ ।

सहकारी पीडित बचकर्ताको फेरि सडक आन्दोलन सुरु

काठमाडौं । सहकारी पीडित बचकर्ताहरूले फेरि सडक आन्दोलन सुरु गरेका छन् ।

सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन काठमाडौंको माइतीघर मण्डलाबाट सुरु गरेका हुन् । देशभरका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै आइरहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन शुक्रबार माइतीघर मण्डलामा आन्दोलन गरेको हो ।

महासंघका अध्यक्ष कुसलभ केसीले सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन गर्नुपरेको बताएका छन् । तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीसँग विभिन्न सम्झौता गरिएका भएपनि ति सम्झौता कार्यान्वयन नगरेका कारण सहकारी पीडितहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिनिधि सभाको आजको बैठक स्थगित


काठमाडौं ।
प्रतिनिधि सभाको आजको बैठक स्थगित् भएको छ । प्रतिनिधि सभा बैठक सुरू भएलगत्तै कांग्रेसलगायतका विपक्षी दलले विरोध गरेपछि आजका लागि बैठक स्थगित् भएको हो । अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिए ।

सिरोहियालाई म्याद थपका लागि अदालतमा पेश गरिँदै

काठमाडौँ । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा प्रहरीले आज फेरि म्याद थपको लागि अदालतमा पेश गर्न लागेको छ ।

गत बुधवार धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामणी खड्काको इजलासले सिरोहियालाई ३ दिन हिरासतमा राख्न दिएको समय सकिएपछि आज पुनः म्याद थपका अदालतमा पेश गर्न लागेको धनुषा प्रहरीका प्रवक्ता तथा डिएसपी रञ्जन अवाले बताए।

डीएसपी अवाका अनुसार अनुसन्धान जारी रहेकाले सिरोहियालाई दोस्रोपटक म्याद थप्न अदालतमा पेस गरिने भएको हो।

‘अदालतले पहिलोपटक दिएको ३ दिनको म्याद आज सकिँदै छ त्यही भएर पुनः म्याद थपका लागि अदालत पेस गर्न लागिएको हो’ उनले भने, ‘म्याद थप्ने दिन बहस हुन्छ बहस सकेपछि पुनः म्याद थप्ने की छाड्ने त्यो न्यायाधीशको तजबिजले तय गर्नेछ।’

गत बुधवार सिरोहियाको तर्फबाट अधिवक्ता बिनोद शर्मा, रमण कर्ण, नवलकिशोर लाल र किशोर पौडेलले बहस गरेका थिए भने आज काठमाडौंबाट थप अधिवक्ताहरू उनको पक्षमा बहसका लागि जनकपुर आउने बुझिएको छ।

श्रीराम सुगर मिल्स गरुडा सञ्चालन गर्न कार्यदल गठन

काठमाडौं ११ जेठ। लामो समयदेखि बन्द अवस्थामा रहेको रौतहटको मध्यभाग गरुडा स्थित श्रीराम सुगर मिल सञ्चालन गर्न देखिएको समस्या समाधानका लागि महिला तथा सामाजिक मामिलाका सभापति संघीय सांसद किरण साहको नेतृत्वमा कार्यदल गठन गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको कार्यकक्षमा भएको त्रिपक्षीय छलफलपछि सांसद साहको अध्यक्षतामा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा चिनी मिलका तर्फबाट उद्योगपति द्धय हितेश गोल्छा र विशाल अग्रवाल, किसान सङ्घर्ष समिति रौतहटका अध्यक्ष अशोककुमार यादव तथा मन्त्रालयको औद्योगिक प्रवद्र्धन महाशाखा प्रमुख सदस्य रहेका छन् ।
उद्योग मन्त्री भण्डारीले बजेट आउनु अगाडि मिल सञ्चालनको विषयमा देखिएका समस्या समाधानका लागि ठोस योजना ल्याउन सुझाव दिएका थिए। मन्त्री भण्डारीले जिल्लाकै ठूलो उद्योगलाई अन्य जिल्लामा लैजानु सटा स्थानमा सञ्चालन गर्न समेत सुझाव दिएका थिए।
आउने एक हप्ताभित्र चिनीमिलका समस्याको टुङ्गो लगाउनुपर्ने भन्दै मिल सञ्चालनको प्रक्रिया अगाडि बढाउन सुझाव सहित आग्रह गरेका थिए।
बन्द रहेको उद्योगहरु सञ्चालन गर्ने सरकारको उद्देश्य रहेको श्रीराम सुगर मिल्सलाई बन्द गरेर अरु जिल्लामा लैजानु भन्दा यथास्थानमा सञ्चालनका लागि सरकार अथवा मन्त्रालयबाट पूर्ण सहयोग गर्ने उनले प्रतिवद्धता जनाएका थिए।
मन्त्री भण्डारीले मिल सञ्चालनको विषयमा प्रधानमन्त्री प्रचण्ड संगै अर्थमन्त्री सँग आवश्यक सहयोगको लागि पहल गर्ने बताएका थिए।
त्री पक्षिय छलफलको क्रममा संसद किरण कुमार साह,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान, सांसद विनादेवी साह, संविधानसभा सदस्य रामकुमार भट्टराई, कल्याणी खड्काले, संघर्ष समितिका अध्यक्ष अशोक कुमार यादव,गरुडाका मेयर प्रत्याशी ब्रिज किशोर यादव, ब्यवसायी रामजी साह, रामभरोसे यादव,लगायतले श्रीराम सुगर मिल्स सञ्चालनका लागि मन्त्री भण्डारीलाई पहल गरिदिन आग्रह गरेका थिए।
जिल्लाकै धरोहरको रूपमा रहेको श्रीराम सुगर मिल्स अन्यत्र सार्ने षड्यन्त्र भएमा किसानले कडा आन्दोलन गर्ने चेतावनी दिँदै मिल सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए।
सभापति खान,उद्योग सचिव कृष्ण राउत, वाणिज्य सचिव दिनेशकुमार घिमिरे, नेपाल बैंक लिमिटेडका सिइओ , लगायतको सहभागी रहेको थियो । पूर्व प्रधानमन्त्री स्वर्गिय गिरिजा प्रसाद कोइरालाको पहलमा विसं २०४९ सालमा गरुडामा स्थापना भएको श्रीराम सुगर मिल्स २०७७ सालमा बन्द भएको थियो। गरुडा बजारको दक्षिण भागमा ७५ बिघा क्षेत्रफलमा रहेको मिल्स नेपाल बैंक लिमिटेडले लिलामी सूचना निकालेर दुई बर्ष अघि रानाकुमार अग्रवालले साकार गरेका थिए ।
अग्रवालले मिल पर्सा जिल्लामा सार्न खोजेपछि उँखु उत्पादक किसान संघको पहलमा स्थानीय किसानहरु सङ्घर्ष समिति बनाएर आन्दोलन गर्दै आएका छन् । मिल बन्द भएपछि झण्डै ७०० कर्मचारी बेरोजगार भएका छन् भने २० हजार किसान प्रभावीत बनेका छन्।
यसै बिच मिल सञ्चालन संघर्ष समितिका अध्यक्ष अशोक कुमार यादवले बन्द रहेको श्रीराम सुगर मिल्स पुनः सञ्चालनको लागि सबै दल संग आवद्ध नेता, सांसद, समिति तथा मन्त्री समेतले सकारात्मक सोंचको साथ सहयोग गरिरहेको बताएका छन। उनले हजारौँ किसान र सैयौं कर्मचारीको भविष्य मिल संग जोडिएको बताउँदै यस पटकको प्रयास निर्णायक हुने जानकारी दिएका छन्। सञ्जय मिश्रा

सहकारी छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी संस्थाको बचत रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ८ बजे बस्ने तयारी छ ।

हिजो बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति नजुटेकाले शीर्ष नेताहरूको परामर्शपछि आज बिहान पुनः बैठक बस्न लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उहाँको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ।

कांग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ।

यसअघि बसेका बैठक पनि सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकाे आ-आफ्नो अडानका कारण निष्कर्ष बिहिन बनेका थिए ।

प्रतिनिधि सभा बैठक आज बस्दै,यस्ता छन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

आजको बैठकका लागि विभिन्न १० कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ । जसमध्ये आज नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची समेत रहेको छ । सचिवालयले बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र  बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ १८ पैसा र बिक्री दर १४४ रुपैयाँ ८३ पैसा  रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ तपाईंको  ११ जेष्ठ २०८१, शुक्रबार आजको राशिफल

मेष : दैनिकी सामान्य छ। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

वृष : समय राम्रो छ। गरेको श्रमबाट प्रगति हुनेछ। स्वास्थ्य, शिक्षा र रोजगारीमा सामान्य लाभ मिल्नेछ। स्वदेशी लगानीबाट फाइदा हुने योग छ। लगानीको क्षेत्रमा उत्साह मिल्नेछ। परिवारले रचनात्मक सहयोग गर्नेछन्।

मिथुन : संघर्षपूर्ण दिन छ। कुरा काट्नेहरु बढ्नेछन्। ठूला उद्योगमा हात नलगाउनु राम्रो हुन्छ। नयाँ लुगा पाउने लगाउने अवसर मिल्नेछ। मिठो खान पाउने योग रहेको छ। परिवारमा मेलमिलाप हुनेछ।

कर्कट : विवाद बढ्नेछ। पढाइमा रुची, स्वास्थ्यमा सुधार, व्यापार व्यवसायमा फाइदा हुने दिन छ। सामाजिक सेवामा मन जानेछ। परिवारको साथ मिल्नेछ।

सिंह : आज व्यवहारिक चुनौती थपिने छन्। कुनै योजना भए गोप्यता कायम गर्नु राम्रो हुनेछ। पारिवारिक खटपट हुने योग रहेकाले बोल्दा ख्याल गर्नु राम्रो हुनेछ। प्रेम सम्बन्धमा मनमुटाव हुने देखिन्छ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार हुने दिन छ। साथीले दिएको राम्रो सल्लाह अनुसार अगाडि बढ्नु उचित हुन्छ। खर्च बढ्ने योग रहेकाले कारोबारमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

तुला : आफ्नो प्रभाव विस्तार हुनेछ। थोरै लगानीबाट धेरै आम्दानी हुने दिन छ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुन्छ।

वृश्चिक : शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। पश्चिमको लामो यात्रामा नगर्नु राम्रो हुन्छ। परिवारमा तपाईंको बोली कार्यान्वयन नहुने हुँदा कम बोल्नु फाइदाजनक हुनेछ।

धनु : आइसकेको अवसर गुम्ने जोखिम छ। वैदेशिक लगानीबाट फाइदा मिल्नेछ। परिवारको साथ रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : अधुरा काम बन्नेछन्। गुम्न लागेको धन फिर्ता हुनेछ। मिष्ठान्न भोजन मिल्नेछ। यात्रा सफल हुनेछ। आज गरेको लगानीबाट उत्साह मिल्नेछ। प्रेममा सफलता प्राप्त हुनेछ।

कुम्भ : कम बोल्नु राम्रो हुन्छ। झुठा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारमा विवाद बढ्नेछ। साथीसँगको मनमुटावले दिन खराब बन्नसक्छ। कम बोलेर फाइदा लिन सक्नुहुन्छ।

मीन : काम बन्ने योग छ। स्वास्थ्यमा सुधार हुने देखिन्छ। शिक्षामा सफलता प्राप्त होला। आम्दानी बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोर स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बंगलादेशको ढाकामा हुने कबड्डी प्रतियोगितामा दार्चुलाका जितेन्द्रले भाग लिदै

दार्चुला । बंगलादेशको ढाकामा यहि जेठ १३ गते (मे २६ देखि) जेठ २१ गते (जुन ३) तारिखसम्म हुने चौथो बंगबन्दुकप अन्तर्राष्ट्रिय पुरूष कबड्डी प्रतियोगितामा दार्चुलाका कबड्डी खेलाडी जितेन्द्र अवस्थीले पनि भाग लिने मौका पाएका छन् ।

जिल्ला स्तरीय, प्रदेश स्तरीय र राष्ट्रिय स्तरीय खेल खेली सकेका उनले अन्तराष्ट्रिय स्तरको कबड्डीमा भाग लिने अवसर प्राप्त गरेका हुन् । दार्चुलाको महाकाली नगरपालिका–५ मोहतीका अवस्थी सानै देखी कबड्डी खेलाडी हुन् ।

अन्तराष्ट्रिय स्तरको कबड्डी प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुको आज एक कार्यक्रमका बिच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बिदाई गरेको दार्चुलाका पत्रकार एवं भलिवल खेलका राष्ट्रिय खेलाडी भोजराज जोशीले जानकारी दिए । प्रतियोगितामा सहभागी हुने १६ सदस्यीय नेपाली खेलाडीहरुको टोलीलाई बिदाई गरिएको बताइएको छ ।

प्रतियोगितामा नेपालका तर्फबाट घनश्याम रोक्का मगरको कप्तानीमा गणेश कार्की, मनोज भट्ट कपाडी, जीतेन्द्र अवस्थी, सागर यादव, इसरात मियाँ, कमलेस लोनिया, प्रकाश गिरी, खगेन्द्र जोशी, सुशील चुनारा, रोशन श्रेष्ठ र विशाल थापाले भाग लिने छन् । टिममा प्रशिक्षक बिष्णुदत्त भट्ट, व्यवस्थापक महेशचन्द्र भट्ट, अफिसियलहरु तर्कराज भट्ट र रमेश चन्द रहेका छन् ।

५ बुँदे सहमतिपछि सङ्घर्ष समितिद्वारा सत्याग्रह स्थगित

काठमाडौँ । सरकारसँग विभिन्न पाँच बुँदे सहमतिपछि राष्ट्रिय संयुक्त संघर्ष समितिले सत्याग्रहका कार्यक्रम फिर्ता लिएको छ ।

सरकारसमक्ष विभिन्न १८ बुँदे माग राख्दै गत वैशाख २४ गतेदेखि संघर्ष समितिका नौ जना प्रतिनिधि कलंकी चोकम अनसन बसेका  थिए । सरकारका तर्फबाट गठित वार्ता टोलीका संयोजक डा किरण रुपाखेती, राष्ट्रिय संयुक्त संघर्ष समितिका तर्फबाट संयोजक डा. लक्ष्मीप्रसाद खतिवडा र आमरण अनसनकारीका तर्फबाट चन्द्रबहादुर थापा (सागर) बीच सत्याग्रह अन्त्य गर्ने सहमति भएको हो ।

     “समितिले राखेका मागहरू उद्योग व्यवसाय, जनजीविका, सुशासन, धार्मिक सांस्कृतिक र शासकीय प्रणाली रूपान्तरणसँग सम्बन्धित रहेको र विद्यमान कानुनी प्रबन्धबाट तत्काल समाधान गर्न सकिने विषयहरू तत्काल सम्बोधन गरिनेछ”, सम्झौतामा भनिएको छ ।

     उक्त सहमतिपछि जारी विज्ञप्तिअनुसार संयुक्त सङ्घर्ष समितिका तर्फबाट राखिएका अधिकांश मागहरू नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा समावेश गरिसकिएको छ । त्यस्तै, समितिका मागहरुलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रुपमा समाधान गर्ने गरी कार्ययोजना बनाउन सरकार तथा समितिको तर्फबाट समेत सहभागी रहने गरी कार्यदल गठन गर्ने सहमति भएको छ । अधिकार सम्पन्न कार्यदलमा सरकारका तर्फबाट पाँच र सङ्घर्ष समितिका तर्फबाट पाँच गरी १० जना रहने छन् । कार्यदलले ९० दिनभित्र माग कार्यान्वयनका लागि समय तालिकासहितको कार्ययोजना तयार गर्ने र वार्ता समितिमार्फत सरकारमा पेस गर्नेछ ।
     
    त्यस्तै, कार्यदलले राजनीतिक, धार्मिक, सांस्कृतिक तथा दीर्घकालीन रुपमा राष्ट्रिय राजनीतिक सहमति आवश्यक पर्ने विषयहरू यकिन गरी नेपाल सरकारसमक्ष सिफारिस गर्नेछ । समितिले राखेका केही माग सरकारले वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेको र त्यसलाई आगामी आर्थिक वर्षको बजेटमा पनि समावेश गर्ने प्रतिबद्धता सरकार पक्षले जनाएको छ । 

त्यस्तै, राष्ट्रिय संयुक्त सङ्घर्ष समितिका तर्फबाट कलङ्कीमा आमरण अनशनमा रहनुभएका आन्दोलनकर्मीले आजैका मितिबाट अनशनलगायतका कार्यक्रम स्थगन गर्ने सहमति भएको छ ।

सबै सांसद र नेतामाथि छानबिन गर्न काँग्रेस तयार छ : विश्वप्रकाश

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण संसदीय छानबिन समिति बनाउनुपर्ने कुरा दोहोर्‍याएका छन् ।  

नेविसंघ झापा काठमाडौँ सम्पर्क मञ्चको अधिवेशनलाई सम्बोधन गर्दै काँग्रेसले सहकारीको विषयमा व्यक्तिकेन्द्रित मात्रै कुरा नउठाएको उनको स्पष्टोक्ति छ ।

दोष व्यक्तिले बोक्ने कि कम्पनीले भन्नेमा सर्वाेच्चले ०६८ मा ‘कम्पनीको आत्मा हुँदैन, व्यक्तिबाट सञ्चालित हुन्छ, त्यसैले व्यक्तिहरू नै बेइमानी र बेथितिको जवाफदेही हुनुपर्ने’ आदेश गरेको उल्लेख गर्दै शर्माले यो नजिरले रवि लामिछाने र जिबी राई सामेल भएको गोर्खा मिडिया नेटवर्क पनि आकर्षित हुने जिकिर गरे । राई र लामिछाने जिम्मेवार पदमा भएकै वेला आधा दर्जन बढी सहकारीको ८० करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको उनले बताए । 

उनले भने, ‘काँग्रेस दृढतापूर्वक सहकारी ठगीको सन्दर्भमा पनि बोलिरहेका छौँ । प्रश्न एकजना व्यक्तिको कुरा मात्रै होइन । संसदमा उभिएर उहाँले पलानोमाथि यो आरोप छ, अर्कोमाथि यो आरोप छ, भनेर बढा घुमाउरो स्वीकारोक्ति । त्यो भनेको अरू-अरूमाथि पनि छ त ममाथि मात्रै किन देख्छौ ? भनेको हो ।’

उनले काँग्रेसको पार्टी सभापतिदेखि सदस्यसम्मका परिवारसम्मको छानबिन गर्न आफूहरू तयार रहेको उल्लेख गर्दै नाम नै लेखेर समिति गठन गर्न तयार रहेको बताए ।

उनले भने, ‘काँग्रेसको सांसदमाथि, चलनचल्तीको भाषामा दाजुभाउजूमाथि छानबिन गर्न तयार छ । छानबिन गम्भीर हुनुपर्छ । कुनै राजनीतिक दलले आफ्नो पार्टीको सबै छानबिन गर भनेर अरू कसैले भन्न सक्दैन ।’

सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिला बनिन् फुञ्जो

काठमाडाैं । गोरखाकी  फुञ्जो झाङ्मु लामाले बिहीबार बिहान सर्वोच्च शिखर सगरमाथामा पाइला राख्दै सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमानी आफ्नो नाम लेखाउन सफल भएकी छिन्।

यस पटक उनले  १४ घण्टा ३१ मिनेटमा ८,८४८.८६ मिटर अग्लो सगरमाथाको शिखरमा पाइला टेक्न सफल भएकी हुन् । बुधवार अपराह्न ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरु गरेकी उनले बिहीबार बिहान ६ बजेर २३ मिनेटमा सफल आरोहण गरेकी हुन्। 

यसअघि सन् २०२१ मा हङकङकी स्याङ यिन हङ (आडा)ले २५ घण्टा ५० मिनेटमा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाका रुपमा गिनिजबुकमा नाम लेखाएकी थिइन्। त्यस अघि सन् २०१८ मा उनै फुञ्जो झाङ्मुले ३९ घण्टा ६ मिनेटमा आरोहण गरेर छिटो आरोहणको रेकर्ड बनाएकी थिइन्।

यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठघण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषका रुपमा गिनिजबुकमा रेकर्ड कायम गरेका छन्।