काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भई गठन भएको जनता समाजवादी पार्टीका महासचिव राईले पार्टीका कुनै गतिविधि नरोकिने बताएका हुन् ।
पछिल्लो समयमा पार्टीका तर्फबाट महासचिव राईले कडा रुपमा प्रस्तुत हुने पनि बताउदै आएका छन् । सर्वोच्च अदालतबाट अर्को आदेश नआएसम्म निर्वाचित जनप्रतिनिधिको बाँकी सनाखत गर्ने काम अल्पकालीन अन्तरिम आदेशबाट तत्काललाई रोकिएको बताउँदै राईले बाँकी काम गर्न सकिने बताए ।
जसपामा समर्थन गरी सनाखत गरेका जनप्रतिनिधिहरूको पक्षधरता यथावत् कायम हुने समेत दाबी गरेको छ । राईले सर्वोच्च अदालतले दल दर्ताको थप प्रक्रिया अगाडि नबढाई पार्टीलाई यथास्थितिमा राख्न भनेको छ तर त्यो पार्टीबाट कुनै पनि गतिविधि नगर्नु नगराउनु भनेको छैन तर त्यही भएर पार्टीका गतिविधिहरू अगाडि बढाएको छ ।
सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अर्को मुद्दा दायर गरेर जनतामा भ्रम छर्ने काम गरेको समेत उनले बताएका छन् । राईले सात जना सांसद जसपाको होइन भने कुरा सर्वोच्च अदालतको अल्पकालीन आदेशमा नभएको र पुनः त्यसले विश्वासको मत दिन नपाउने भनी कसरी र किन रिट दायर गरेको भन्दै प्रश्न समेत गरेका छन् ।
जनता समाजवादी पार्टी संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ५ बमोजिम निर्वाचन आयोगमा दर्ता भएको हो । निर्वाचन आयोगले नै सो सम्बन्धी जानकारी संसद् सचिवालयलाई गराइसकेको छ ।
सोहीअनुसार निर्वाचन आयोगले सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई जसपा गठन हुनुभन्दा अघि जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका सदस्यहरूलाई नयाँ दल गठन भएको एक्काइस दिनभित्र सनाखत गराउन पनि भनेको छ ।
त्यस्तै सर्वोच्च अदालतले पार्टीलाई यथावत् अवस्थामा राखी निर्वाचन आयोगलाई छलफलका लागि बोलाएको छ । यी सबै कुरालाई प्रभावित पार्ने गरी जसपा नेपालका अध्यक्ष यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेकोप्रति महासचिव राईले आपत्ति समेत जनाएका छन् ।
Month: February 2022
सिरोहियाको गिरफ्तारीप्रति तीन निजी क्षेत्रको ध्यानाकर्षण
सञ्चार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रका तीन छाता संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै निजी क्षेत्रका उद्योगी व्यावसायिकहरूका तीनवटा ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको प्रति आपत्ति जनाएका छन् । कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही कारबाहीको भागिदार हुने भए पनि यसरी धरपकड गर्न नहुने उनीहरूको भनाइ छ ।
कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्नेजस्ता कार्यले सकारात्मक सन्देश नजाने उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरूका कुरा सुनिदिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिसँग मिलेको बहानामा मंगलबार कार्यकक्षबाटै गिरफ्तार गरेको थियो । सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको थियो । बुधबार जिल्ला अदालत धनुषाले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद दिएको छ ।
भारतीय ब्याट्सम्यान विराट कोहलीको अर्को कीर्तिमान खोसियो बाबर आजम
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय ब्याट्सम्यान विराट कोहलीको कीर्तिमान तोडिएको छ। पाकिस्तान र आयरल्यान्डबिचको तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानी टोलीका कप्तान बाबर आजमले विराटको कीर्तिमान तोडेका हुन्।
उक्त खेलमा पाकिस्तान ६ विकेटले विजयी भएको थियो । जितसँगै पाकिस्तानले तीन खेलको शृङ्खला पनि २–१ ले आफ्नो पक्षमा पारेको थियो । उक्त खेलपछि बाबर आजम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी ५० वा त्योभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बाबर आमजले ३९औँ पटक ५० वा त्योभन्दा बढी रन बनाएका हुन् । कोहलीले भने टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३८ पटक ५० वा त्योभन्दा बढी रन बनाएका छन् । यो सूचिमा भारतीय टोलीका कप्तान रोहित शर्मा तेस्रो स्थानमा छन् ।
रोहित शर्माले हालसम्म ३४ पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० वा त्योभन्दा बढी रन बनाएका छन् । आयरल्यान्डविरुद्धको तेस्रो खेलमा बाबर आजमले टोलीका लागि ७५ रनको योगदान गरे । उनले केवल ४२ बलको सामना गरी पाँच छक्का र ६ वटा चौका पनि हिर्काएका थिए ।
परीक्षार्थीको वास्तविक भन्दा धेरै प्राप्ताङ्क ‘इन्ट्री’
नेपालगन्ज । बाँकेको कोहलपुरमा परीक्षार्थीको वास्तविक भन्दा धेरै प्राप्ताङ्क कम्प्युटरमा ‘इन्ट्री’ गरेर परीक्षाफलमा गडबडी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । कक्षा आठको विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि परीक्षार्थीको वास्तविक भन्दा धेरै प्राप्ताङ्क ‘इन्ट्री’ गरी गडबडी गर्नेहरुको अनुसन्धान सुरु गरेको हो ।
उत्तीर्ण दर उच्च देखाउन नगरपालिकाको शिक्षा शाखा प्रमुखकै संलग्नतामा अनियमितता गरेको शङ्का लागेपछि नगरपालिकाले छानबिन समिति नै गठन गरेर अध्ययन गर्दा अनियमितता पुष्टि भएको थियो ।
छानबिन समितिको प्रतिवेदन अनुसार नगरपालिकाभित्रका विद्यालयका परीक्षकले आफ्ना विद्यार्थीको उत्तर पुस्तिका आफैँ परीक्षण गरेको, प्राप्ताङ्कभन्दा बढी अङ्क कम्प्युटरमा प्रविष्ट गरेको, शाखा अधिकृतको कार्यकक्षमा बसेर शिक्षण सिकाइ सहजकर्ताले नयाँ कपी थप गरी प्रश्न हल गरेको, कतिपयको बाहिरी र भित्री पाना साटिएकोलगायतका अनियमितता फेला परेको थियो ।
प्रतिवेदनका आधारमा दोषी देखिएका १५ जना मध्ये १२ जनाको नाममा २०८१ जेठ १ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा मुद्दा दर्ता भएको थियो ।
सोही अन्तर्गत पक्राउ पर्नेमा आभास विक्रम क्षेत्री, उमेश केसी, कुवेर ढकाल, शिक्षण सहजकर्ता रोमिना खत्री र रमेश कुमार थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
२०८० चैत २ गतेदेखि ९ गतेसम्म कक्षा ८ को परीक्षा सुरु भएको थियो भने चैत २३ गते नतिजा प्रकाशित भएको थियो ।
कोहलपुर नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरी ५२ विद्यालयका २ हजार ८६४ जना विद्यार्थीहरूले फारम भरेकोमा ५३ जना अनुपस्थित भएको र २ हजार ८११ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त
काठमाडौं । राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन्। खनाललाई आगामी ४ वर्षका लागि सरकारले सीईओमा नियुक्त गरेको हो ।
बैंकको सीईओबाट किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि कायम मुकायम सीईओको जिम्मेवारीमा थिए । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।
सीईओका लागि १९ जनाले आवेदन दिएका थिए । १९ जनाबाट ५ जना छनोट गरेर अन्तरवार्ता गरिएको थियो । ५ जनामा कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका थिए ।
गाडीको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं ।ललितपुरको ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा गाडीले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा घर भई कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव रहेका छन्
प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई राति १० बजेतिर ग्वार्कोमा पहिचान नभएको गाडीले ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उद्धार गरी बी एन्ड बी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव अस्पतालमै छ ।
सीसीटीभीको भिडियो हेर्दा मोटरसाइकललाई टिपरले ठक्कर दिएकोको जस्तो देखिएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। आज सुनको भाउ प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १९ सय रूपैयाँमा कारोबार भएको थियो।
सहकारी ठगीमा संसदीय समितिको कार्यादेश टुंग्याउन बैठक बस्दै
काठमाडौँ । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न गठित कार्यदलको बैठक (बिहीबार) आज बस्दैछ । आज दिउँसो ३ बजे कार्यदलको बैठक बस्ने भएको छ । सहकारी संस्थाको रकम ठगीको विषयमा छानबिन गर्न गठनबारे संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्ने भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले उनको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ । काँग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुङ्ग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ ।
प्रतिनिधि सभाको बैठक भोलिका लागि बोलाइएको छ । त्यसअघि सहमति खोजेर सदन सुचारु हुने वातावरण बनाइदिन सभामुख देवराज घिमिरेले दलहरुलाई आग्रह गरेका छन् ।
विकल पौडेल भ्रष्टाचार आरोपमा दोषी ठहर
काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई दुई वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरेको हो ।
उनलाई त्यति नै रकम जरिवाना हुने फैसला पनि गरेको विशेष अदालतका उपरजिस्ट्रार एवम प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष वैशाखमा विकल पौडेलसहित विरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
उपसचिवको नतिजा सार्वजनिक (नामावलीसहित)
काठमाडौँ । लोक सेवा आयोगले उपसचिवको लिखित नतिजा सार्वजनिक गरेको छ ।
आयोगले लेखापरीक्षण, प्रशासन राजस्व, प्रशासन लेखा, सामान्य प्रशासनतर्फ लिएको उपसचिवको नतिजा सार्वजनिक गरेको हो ।
लिखित परीक्षामा उत्तीर्ण भएकाहरूलाई अन्तर्वार्ताको लागि जेठ २९ र ३० गते बोलाईएको छ ।
बेलायतमा जुलाई ४ मा आमचुनावको घोषणा
एजेन्सी । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमचुनाव गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री सुनकले संसद भङ्ग गर्ने सिफारिस राजाले स्वीकृत गरेको भन्दै आउँदो जुलाई ४ मा आमचुनावको घोषणा गर्नुभएको हो । बेलायतमा अब अर्को हप्ता संसद विघटन हुँदैछ । त्यसपछि निर्वाचन प्रक्रिया शुरु हुने बेलायती सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।
बेलायतको सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेर विश्वासको मत मागिरहेका बेला उहाँले चुनावको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । संसदको पहिलो बैठक बसेको पाँचौँ वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं । आज २०८१ साल जेठ १० गते बिहीबार सन् २०२४ मे २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ ७० पैसा र बिक्रीदर १३१ रुपैयाँ ३० पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ ३७ पैसा र बिक्रीमा १४५ रुपैयाँ ०३ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५६ पैसा तोकिएको छ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।
हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा रहेको छ। कोशी ,मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भु-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
समान पहिचान सङ्केत दिन काठमाण्डौका पेट्रोल पम्पहरूमा यस्तो रङ
काठमाण्डौ । समान पहिचान सङ्केत दिनका लागि काठमाण्डौ महानगरपालिका क्षेत्रका पेट्रोल पम्पहरूमा एउटै पहेंलो रङ लगाइएको छ । महानगरले एक महिना अघिदेखि महानगरभित्रका सबै पेट्रोल पम्पहरूलाई पहेंलो रङ लगाएको हो । महानगरकाअनुसार सबै पेट्रोल पम्पले शौचालयहरू नियमित सरसफाई गरी निःशुल्क सेवा सुविधा उपलब्ध गराउने छन् ।
पेट्रोल पम्प सञ्चालन मापदण्ड अनुसार हरेक पेट्रोल पम्पमा अनिवार्य निःशुल्क शौचालय सुविधा हुनुपर्ने, अग्नि नियन्त्रक उपकरण सहितको सुविधा हुनुपर्ने, पर्याप्त खुल्ला ठाउँ हुनुपर्ने, सुरक्षा सङ्केत र सुरक्षा रेखाको प्रयोग गरिएको हुनुपर्ने लगायतका मापदण्डको पालना गर्न समेत पेट्रोलियम डिलर्समार्फत् महानगरले अनुरोध गरेको छ ।
मेयर बालेन्द्र शाहले उपभोक्तालाई शुद्ध पेट्रोलियम पदार्थ सहज र सुरक्षित उपलब्ध गराउने, पेट्रोल पम्पसँग जोडिएका सडक पूर्वाधार तथा सडक उपयोगको सुविधा व्यवस्थापनका लागि प्रतिबद्ध रहेको भन्दै तत्काल, मध्यकाल र दीर्घकाल गरी चरण चरणमा काम गर्नुपर्ने अवस्था रहेको बताए ।
तत्काल सुधार गर्न सकिने कामको अध्ययन गर्न महानगरपालिकाको संयोजकत्वमा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एशोसिएसनका प्रतिनिधिसहितको टोलीले दिएको प्रतिवेदनमा उल्लेख भएका सुझावका आधारमा महानगरपालिकाभित्रका सबै पेट्रोल पम्पको पहिचान पहेँलो रङ्ग सङ्केतमा दिइएको छ ।
यस्तो छ तपाईंको १० जेष्ठ २०८१, बिहीबार आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। सामाजिक सेवाको अवसर मिल्नेछ। खानपानमा ख्यालन नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारबाट असहयोग हुने देखिन्छ। लगानी गर्नु अगाडि एक पटक सोच्नु राम्रो हुन्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : समय राम्रो छ। नयाँ कामको अवसर प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। व्यापारमा नाफा हुने देखिन्छ। वैदेशिक रोजगारीमा लाभ प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): आम्दानी बढ्नेछ। लगानीको क्षेत्रमा सफलता प्राप्त होला। सामाजिक क्षेत्रमा सम्मानको अवसर छ। शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। अरुसँग अपेक्षा गर्दा दुःखी बन्नुपर्ने भएकाले आफ्नो काम आफैंले गर्नु राम्रो हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पुरानो आफ्नै कामको कारण पछुताउनुपर्ने हुनसक्छ। कर्म क्षेत्रमा सफलता मिल्नेछ। श्रमको सम्मान हुनेछ। शिक्षामा गरेको लगानीले उत्साह बढाउने छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा मेहनत बढी गरे पनि पारिश्रमिक कम मात्र प्राप्त हुनेछ। खानपानमा सचेत नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ। परिवारमा संकट बढ्ने जोखिम छ। समग्रमा आम्दानी भने बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): तपाईंको प्रशंसा हुनेछ। आर्थिक लाभ हुने दिन छ। स्वास्थ्य, शिक्षा र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा खटपटी बढ्ने योग रहेकाले कम बोल्नु फाइदाजनक हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यापारमा प्रगति हुनेछ। लगानीका क्षेत्र धेरै भएकाले सोचेर लगानी गर्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रको लगानीबाट घाटा हुने देखिन्छ। व्यापार र वैदेशिक क्षेत्रबाट उत्साह बढ्नेछ। परिवारको रचनात्मक सहयोग प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : समय राम्रो छ। योजना सफल हुनेछन्। आफन्तको साथ प्राप्त हुनेछ। लगानीको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। गुरुको सुझाव वा सल्लाह लिएर गरेको काम सफल बन्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): शत्रु बढ्ने दिन छ। व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। परिवारको साथ मिलेमा जुनसुकै काममा सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आम्दानी बढ्नेछ। शिक्षा र स्वास्थ्यका क्षेत्रमा फाइदा हुनेछ। व्यापारमा नाफा मिल्नेछ। परिवारसँगको सम्बन्धमा भने शंका र उपशंका हुने जोखिम रहेको छ। प्रेम सम्बन्धमा खटपटी हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : झुटा आरोप लाग्नसक्छ। शत्रु बढ्ने भएकाले काम गर्दा सचेत बन्नुपर्छ। व्यापारबाट फाइदा भए पनि ठुलो लगानी नगर्नु राम्रो हुनेछ। व्यापारमा फाइदा हुने दिन छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दैनिकी राम्रो छ। श्रमको मूल्य प्राप्त हुने दिन छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीबाट उत्साह बढ्नेछ। कुरा काट्ने सक्रिय भए पनि परिवारको साथ र सहयोग राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।