खेलकुदमन्त्री विराजभक्तः सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आयो

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे विचार गर्ने बेला आएको बताएका छन् ।

शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अहिले सरकारलाई दिएको समीक्षा गर्ने बेला भएको बताएका हुन् ।

उनले सरकार पुरातन र कर्मकाण्डी हिसाबमै चलेको बताउदै आफूहरु खल्तीमा राजीनामा पत्र बोकेर हिँडेको बताए । उनले राजीनामा पत्र बोकेर हिडेको र त्यसमा मिति मात्रै लेख्न बाँकी रहेको उल्लेख गरे ।

उनले भनेका छन्- ‘केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत हिसाबले हामीलाई कुनै किसिमको सम्झौता गर्नुपर्‍यो भने त्यो दिन नै राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारबाट बाहिर आउन तयार छ,’ उनले भने, ‘हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ, त्यो तयार गरेर बोकेर हामी हिँडेका छौँ ।

वर्तमान राजनीतिक परिस्थितिमा एक पटक हामी जिम्मेवार नेताहरु सबै बसेर सल्लाह पनि भएको छ । सरकारलाई दिएको समर्थको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको छ ।’

ज्येष्ठ नागरिकहरुमाथि दुर्व्यवहारका घटना बढ्दै

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले पछिल्लो समय ज्येष्ठ नागरिकहरूमाथि दुर्व्यवहारका घटना बढ्दै गएको जनाएको छ । आयोगले ज्येष्ठ नागरिकहरूमाथि दुर्व्यवहारका घटना बढ्दै जानु दुःखद पक्ष रहेको समेत बताएको छ ।

शनिबार आयोगका प्रवक्ता डा। टिकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै नेपालमा ज्येष्ठ नागरिकहरूमाथि हुने दुर्व्यवहारका प्रति २४ वटा घटनाहरूमा एउटा मात्र घटना कानुनी कारबाहीको दायरामा पुग्ने गरेको र बाँकी घटनाहरू मेलमिलाप र ढाकछोप गरिने तथ्याङ्कले न्यायमा पहुँच नपुगेको बताएका छन् ।

विज्ञप्तिमा ज्येष्ठ नागरिकहरूले पाउने स्वास्थ्य लगायतका सुविधाको प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताइएको छ । आयोगले ज्येष्ठ नागरिकहरूमा रहेको ज्ञान, सीप, अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न, ज्येष्ठ नागरिकको अधिकारको संरक्षण र संवर्द्धनका सम्बन्धमा व्यवस्था भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार र सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

उपत्यकामा शुक्रबारको तुलनामा आज केही शितल

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही घटेको छ । आज साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज साँझदेखि काठमाडौँ उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले आज अपराह्न र राति यहाँ मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताए । मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्ने क्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उनले बताए ।

शुक्रबारको तुलनामा आज आंशिकदेखि साधरणतया बदली हुने मौसमविद् पुडासैनीले बताए । आज यहाँको अधिकतम तापक्रम २९ देखि ३१ क डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । शुक्रबार यहाँको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

देशका ७१ जिल्लामा फैलियो डेङ्गु

काठमाडौं । डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताए ।
उनले गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको बताए । ‘गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ’, उनले भने ।
उनका अनुसार ७१ जिल्लामा एक हजार एक सय ३० जनामा सङ्क्रमणमा देखिएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनालाई डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । उनका अनुसार कोशी प्रदेशमा दुई सय ७२, मधेस प्रदेशमा ३०, बागमती प्रदेशमा तीन सय ९०, गण्डकी प्रदेशमा एक सय ७५, लुम्बिनी प्रदेशमा एक सय ३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा एक सय १५ जनामा सङ्क्रमण देखिएको छ ।
काठमाडौँमा एक सय १४ जना, भक्तपुरमा २७ जना र ललिपतुरमा १८ जनामा सङ्क्रमण देखिएको छ । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।
डेङ्गु सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् । लामखुट्टेबाट बच्नका लागि सधँै झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ ।

जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु

काठमाडौं । जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक घर भई ललितपुरको जावलाखेल बस्ने २५ वर्षीय उमेर सेन्चुरी र उनकी श्रीमति २५ वर्षकै रेणु सेन्चुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना शुक्रबार राति साढे ८ बजे आफ्नै कोठामा अर्धबेहोस अवस्थामा फेला परेपछि प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्‍याएको थियो ।

चिकित्सकले दुवै जनालाई ९ः २७ मा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहररू नवविवाहित जोडी हुन् । मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लोक सेवा आयोगले शनिबार स्थापनाको ७४ औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौँ । लोक सेवा आयोगले शनिबार स्थापनाको ७४ औँ वार्षिकोत्सव मनाउँदै छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यता रहने कार्यक्रममा विभिन्न संवैधानिक निकायका प्रमुख, लोक सेवा आयोगका पूर्वपदाधिकारी तथा पूर्वसचिव, नेपाल सरकारका सचिव, चार वटै सुरक्षा निकायका लामो समय आयोगमा कार्यरत रही हाल सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीलगायतको बृहत् उपस्थिति रहने आयोगले जनाएको छ ।

आयोगले शुक्रबार जारी विज्ञप्ति अनुसार, आयोगको वार्षिकोत्सवको पूर्वसन्ध्यामा जेठ ३०, ३१ र ३२ गते अन्तरसंवैधानिक निकाय हाजिरीजवाफ प्रतियोगिता, आन्तरिक ब्याडमिन्टन प्रतियोगिता र रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको छ । हाजिरीजवाफ प्रतियोगितातर्फ निर्वाचन आयोग, राष्ट्रिय समावेशी आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । ब्याडमिन्टन खेलतर्फ अर्जुनप्रसाद रेग्मी र नरबहादुर बोगटीले प्रथम स्थान हासिल गरेका छन् ।

सोही अवसरमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी, पूर्वअध्यक्ष कयोदेवी यमी र पूर्वसचिव डा। राजन खनालको सहभागितामा नेपाल टेलिभिजनबाट परिसंवाद, आयोगका सदस्य माधव बेलबासे, डा. भगवान कोइराला र राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाको सहभागितामा रेडियो नेपालबाट परिसंवाद र आयोगका सदस्य वीरबहादुर राईको सहभागितामा रेडियो नेपालबाटै अन्तरसंवाद कार्यक्रमसमेत आयोजना गरिएको छ । वार्षिकोत्सवका अवसरमा आयोगमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने कार्यक्रमसमेत रहेको आयोगले जनाएको छ ।

पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिए

काठमाडौँ । पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

उनले भने, “यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८ः३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिने भएको हो ।”

चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ । अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९ः३० बजेदेखि ११ः३० सम्म खुला गरिँदै आएको थियो ।

यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

कर्णाली प्रदेशः आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज अगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट ल्याउने भएको छ ‌।

प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार कर्णाली प्रदेश सरकारले बजेट ल्याउन लागेको हो ।

आज दिउँसो ३ बजेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट प्रस्तुत गर्नेछन्। प्रदेश सरकारले आगामी वर्षको बजेटका लागि ल्याएको विनियोजन विधेयक प्रदेश सभाबाट पारित भइसकेको छ।

यस्तै आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम पनि संसदको बहुमतले पारित गरेको थियो।

नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित

काठमाडौँ । आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ ।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा भएको खेलमा दक्षिण अफ्रिकाका टाबरेज साम्सीले एकै ओभरमा दुई महत्त्वपूर्ण विकेट लिएपछि नेपाल दबाबमा पुगेको थियो । नेपालले खेलको आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी २१ बलमा १३ रन बनाएर बोल्ड आउट भएका थिए ।

त्यसपछि क्रिजमा आएका कप्तान रोहितकुमार पौडेल दोस्रो बलको सामना गर्ने क्रममा साम्सीबाट बोल्ड आउट भए । त्यसपछि नेपालले तेस्रो विकेटका रूपमा अनिल शाहलाई गुमाउन पुग्यो । अनिल २४ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २७ रनमा आउट भए । आउट हुनु अगाडि उनले ओपनर आसिफ शेखसँग राम्रो साझेदारी गरेका थिए ।

नेपालले ३५ रन जोड्दा कुशल भुर्तेल र कप्तान रोहितकुमार पौडेल आउट भएपछि अनिल क्रिजमा आएका थिए । अनिलले आसिफसँग ५० रनको साझेदारी गरेका थिए ।

ओपनर आशिफलाई नेपालले पाँचौ विकेटको रूपमा गुमाएको थियो । आशिफले ४९ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाए । दीपेन्द्रसिंह ऐरी छ रनमा आउट भए भने कुशल मल्ल एक रनमा पेभिलियन फर्किए । गुल्सन झा छ रनमा आउट हुँदा सोमपाल कामी आठ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका टाबरेज साम्सी एक्लैले चार विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो । उसका लागि रिजा हेन्डरिक्सले सर्वाधिक ४३ रनको योगदान दिए । कूल ४९ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे । साथै टिस्टन स्टब्सले १८ बलमा दुई चौका र एक छक्काको मद्धतमा २७ रन बनाए भन आइडेन मार्करमले २२ बलमा दुई चौका प्रहार गर्दै १५ रन जोडे । क्वान्टन डेककले ११ बलमा १० रन जोडे भने डेभिड मिलरले सात रन बनाए ।

मनसुनी वायु विस्तारै पश्चिमतिर सर्न थाल्यो, मधेश र बाग्मतीमा आंशिक प्रभाव

काठमाण्डौ । पाँच दिनसम्म पूर्वी क्षेत्रमै सीमित रहेको मनसुनी वायु विस्तारै पश्चिमतिर सर्न थालेको छ । मधेश प्रदेशको पूर्वी भेग र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभाव देखिन थालेको मौसमविद सरोज पुडासैनीले जानकारी दिए। मनसुनी वायुकै प्रभावले बाग्मती प्रदेशका अरु ठाउँ र काठमाण्डौको आकाशमा बादल देखिएको उनले बताए ।

मौसमविदकाअनुसार मनसुनी वायु भित्रिनेबित्तिकै पानी पर्छ भन्ने हुँदैन । तर आज दिउँसो कोशी र बाग्मती प्रदेशका केही ठाउँ तथा मधेश र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले कोशी र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुकै प्रभावले वर्षा भएको मौसमविद पूडासैनीले जानकारी दिए। मनसुन पश्चिमतिर पुग्न भने अझै केही दिन लाग्नेछ ।

त्यसैले लुम्बिनी र सुदूरपश्चिम प्रदशेका तराई भेगमा अझै केही दिन गर्मी कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि पश्चिम तराईका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । नेपालमा यसपटक औसत समयभन्दा तीन दिन छिटो जेठ २८ गते मनसुन भित्रिएको हो ।

भौतिक मन्त्रालयद्वारा महानिर्देशक सहित दर्जनौंको हेरफेर

काठमाडौँ । आम नागरिक बीच असारमा गरिने बिकासलाई लिएर आलोचना खेपिरहेको भौतिक मन्त्रालयले कर्मचारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बाह्रमासे सरुवाको खेती मौलाउँदै यो तिर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तिर सोझिन पुगेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विभागका महानिर्देशकलाई मन्त्रालय तानेर उपमहानिर्देशकलाई महानिर्देशक नियुक्त गरेका छन् ।

विभागको योजना तथा अनुगमन महाशाखा हेर्ने उपमहानिर्देशक रामहरि पोखरेललाई महानिर्देशकमा पदोन्नति गरि महानिर्देशक रहेका सुशीलबाबु ढकाललाई मन्त्रालयको योजना महाशाखामा लगिएको हो ।

मन्त्रालय मातहतको बिभागलाई आकर्षक मानिने विभागमा असारको मुखमा आएर प्रमुख फेर्नुलाई फरकफरक प्रक्रियालाई लिएर हेरिएको छ । मन्त्रालयले सहमतिसमेत नलिएर महानिर्देशक फेरबदल गरेको भेटिएको छ । हुन त महानिर्देशक ढकालले बिभागलाई गति दिन नसकेको भनेर लामो समय देखी आलोचना खेप्दै आएका थिए। सरुवा गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहमति लिनुपर्नेमा भौतिक पूर्वाधार मन्त्रालयले बिना सहमति सरुवा गरेको हो । असारको मुखमा सहमतिबिना सहसचिवको सरुवा हुनु गलत भएको सामान्य प्रशासन मन्त्रालयका सेटिङ्वाला कर्मचारी बताउछन्।
निजामती सेवा ऐन, २०४९ को दफा १५ मा निजामती कर्मचारीको पदस्थापन सम्बन्धी व्यवस्था गरिएको छ । दफा १५ मा राजपत्राङ्कित प्रथम श्रेणीको विभागीय प्रमुखको पदमा पदस्थापन सामान्य प्रशासन मन्त्रालयको सहमति बमोजिम गरिने उल्लेख छ ।

सामान्य प्रशासन मन्त्रालयले त्यस्तो पदमा पदस्थापनको लागि सहमति दिँदा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सो पदमा नेतृत्व बहन गर्न सक्ने क्षमता भएको कर्मचारीहरू मध्येलाई सहमति प्रदान गर्ने ऐनमा उल्लेख छ ।
यसबारे उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले गल्ती गरेको सामान्य सचिव मुकुन्द निरौला बताउछ्न्।

त्यसैगरी विभागको उपमहानिर्देशकमा सहसचिव उमेश विन्दु श्रेष्ठलाई पठाइएको छ ।

मन्त्रालयले रेल विभागको महानिर्देशक पनि पूर्ति गरेको छ । रोहितकुमार बिसुरालको अवकाशपछि रिक्त रहँदै आएको रेल विभागको महानिर्देशकमा पुल आयोजना निर्देशक हुलाकी राजमार्ग आयोजना प्रमुख रहेका अजय कुमार मूल नियुक्त गरिएको छ ।

रिक्त ठाउँमा नयाँ पदस्थापन तथा सरुवा स्वभाविक नै भए पनि आर्थिक वर्षको अन्त्यतिर गरिएको सरुवालाई भने विशेष इन्ट्रेष्ट राखेर गर्ने गरिएको बताईएको छ।

पछिल्लो समय सरुवा जस्तो नियमित र पारदर्शी प्रक्रियालाई समेत ‘मोलमोलाइ’ र ‘अपारदर्शी धन्दा’का रूपमा विकास गर्दै लगिएकोप्रति प्रशासकहरू चिन्तित छन् । यो खेलले सिङ्गो कर्मचारीतन्त्रलाई बदनामित बनाउँदै लगेकोमा कहीँ कतैबाट रोक्ने प्रयाससम्म नभएकोप्रति पूर्वप्रशासकहरुको दुःखेसो सुन्न सकिन्छ ।

विशेष परिस्थितिबाहेक आर्थिक वर्षको अन्त्यमा यसो गर्नु भनेको पछिल्लो समय निहित ‘इन्ट्रेस्ट’ पुरा गर्न र गराउन जुनसुकै बेला पनि सरुवा गर्ने गरिएको छ बुझ्न सजिलो भएको छ।

जे होस बिभागका नयाँ जिम्मेवारी पाएका पोख्रेल काबिल र सन्तुलन मिलाएर बिकास प्रशासनमा नतिजा दिन सक्ने कर्मचारीका रुपमा परिचित छ्न्।

वडाध्यक्षसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उमेर नै नपुगेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा राखेको आरोपमा वडाध्यक्षसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

शुक्रबार अख्तियारले मोरङको रतुवामाइ नगरपालिका-६ का वडाध्यक्ष तुलाराम लुइँटेल र त्यहाँका तत्कालीन वडासचिव कल्पना बास्कोटा, इलाका प्रशासन कार्यालय रंगेलीका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र नासु रमेश कोइरालाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

स्थानीय मेगदीप पोखरेल, तारा देवी पोखरेल ‍भक्त कुमारी लुँइटेलविरू पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारका अनुसार वडाले विवरण कीर्ते गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्ने उजुरी परेको थियो।

अनुसन्धानका क्रममा वडाध्यक्षको मिलेमतोमा उमेर नै नपुगेका व्यक्तिहरूलाई उमेर सच्याएर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा राखिएको पाइएको अख्तियार प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए।

त्यति मात्रै नभई उमेर बढाउन नागरिकताको प्रतिलिपि लिनका लागि वडाले जन्ममिति परिवर्तन गरेर सिफारिस समेत गरेको समेत अख्तियारले भेटेको छ। वडाले उमेर बढाइएको नागरिकताको प्रतिलिपि दिन लेखेको सिफारिस इलाका प्रशासन कार्यालयले विवरणहरू जाँच नै नगरी प्रतिलिपि दिएको भेटिएको अख्तियारले जनाएको छ।

वडाध्यक्ष लुइँटेलविरूद्ध १ लाख ६० हजार रूपैयाँ, वडासचिव बास्कोटाविरूद्ध १ लाख ४४ हजार रूपैयाँ, मेगदीप र तारादेवी विरूद्ध १ लाख ४४ हजार र कुमारी लुइँटेलविरूद्ध १६ हजार रूपैयाँ बिगो असुल गर्न समेत अख्तियारले माग गरेको छ।

असार ३ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारलेर असार ३ गते सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार (आज) एक विज्ञप्ति जारी गर्दै सार्वजनिक विदा दिनेबारे जानकारी दिएको हो ।

प्रवक्ता भट्टराईका अनुसार सरकारले सोमबार बक्र ईद (उल अजाह) का अवसरमा सार्वजनिक बिदा दिने भएको हो । सार्वजनिक विदाका दिन शैक्षिक संघसंस्था, बीमा, सेयर बजार, बैंक तथा वित्तिय संस्था बन्द हुनेछन् ।

अधिकांश वाणिज्य बैंकले असारका लागि घटाए ब्याजदर

काठमाडौं । भोलिबाट असार महिना सुरू हुँदैछ । वाणिज्य बैंकहरूले असारको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असार महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन् ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये ११ वटा वाणिज्य बैंकहरूले घटाएर ब्याजदर सार्वजनिक गरेका हुन् ।

घटाएर ब्याजदर सार्वजनकि गर्ने बैंकहरूमा एभरेष्ट बैंक, नेपाल एसबिआई, ग्लोबल आईएमई, लक्ष्मी सनराइज, प्राइम कमर्सियल, कुमारी बैंक, सानिमा बैंक, सिटिजन्स इन्टरनेशल, स्टान्डर्ट चाटर्टड, एनएमबी बैंक, एनआईसी एशिया रहेका छन् ।

असार महिनाको लागि तीन वाणिज्य बैंकले भने ब्याजदर बढाएका छन् । ब्याजदर बढाउने बैंकहरूमा नबिल, माछापुछ्रे र हिमालयन बैंक हुन् । नबिल बैंकले व्यक्तिगततर्फ ७ र संस्थागततर्फ ६ प्रतिशत ब्याज दिने भएको छ । माछापुछ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ७.५ र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८.२५ र संस्थागत निक्षेपमा ७ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ ।

नेपाल बैंक, सिदार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकले ब्याजदर स्थिर राखेका छन् । नेपाल बैंकले जेठ महिनाको लागि व्यक्तिगत निक्षेपमा ६.७५ र संस्थागत ४.७५ ब्याजर दिएकोमा असारमा पनि सोही ब्याजदर लागू हुने भएको हो ।

जेठ महिनाको लागि सिदार्थ बैंकले व्यक्तिगततर्फ ७ र मुद्दती निक्षेपमा ५.७५, नेपाल इन्भेष्टमेन्ट बैंकले व्यक्तिगततर्फ ७ र मुद्दती निक्षेपमा ६ प्रतिशत र प्रभु बैंकले व्यक्तिगततर्फ ७.५, मुद्दती निक्षेपमा ६.५ ब्याजदर दिएकोमा असारमा पनि सोही ब्याजदर कायम गरेको छ ।

बैंक२०८१ असार२०८१ जेठ२०८१ वैशाख२०८० चैत२०८० फागुन
प्राइम कमर्सियल६.७५७.१७.३५७.४
माछापुच्छ्रे७.७५७.२५७.३५७.७५
नेपाल एसबिआइ६.३६.३९५.५३७.०१८.१
कुमारी६.७६७.२६७.३५७.५१८.०१
कृषि विकास५.६६५.६६५.५५५.५५५.४४
प्रभु७.५०७.५०७.५७.५
सानिमा६.८०६.९०७.१७.३५७.५१
एनएमबि७.६९७.८०७.९७८.५
लक्ष्मी सनराइज७.५
एनआइसी एसिया७.६९७.८०७.७५८.५४
राष्ट्रिय वाणिज्य७.२२७.४०५.५५७.३५
नबिल७.७५७.३५७.३५७.७५
ग्लोबल आइएमई६.५०७.५०७.५७.५
स्ट्यान्डर्ड चार्टर्ड७.३५
नेपाल६.७५६.७५५.७५७.३५
एभरेष्ट५.७५६.५०५.५
नेपाल इन्भेष्टमेन्ट मेगा
सिटिजन्स६.९०७.५७.७५८.३५
सिद्धार्थ७.३५७.५
हिमालयन८.२५७.५०७.५७.५८.१५
औसत६.९६७.०६७.१४७.३५८.१५

नेपाल धितोपत्र बोर्ड अध्यक्षका पाँच आकांक्षीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि गठित छनोट समितिका विज्ञ सदस्य उदय निरौलासहित सर्टलिष्टमा परेका पाँचजनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

बोर्ड अध्यक्ष छनोट समितिको विज्ञ सदस्य र अहिले छनोट भएका पाँचजना अध्यक्षका उमेदवारहरू नै व्यापारी स्वार्थबाट प्रेरित भएको भन्दै शुक्रबार अख्तियारमा उजुरी परेको हो । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स हत्याउन व्यापारीले आफू अनुकुलको सदस्य र अहिले प्रतिस्पर्धामा भएकाहरू पनि सत्ता र व्यापारीहरूको प्रतिनिधिको रूपमा आएको भन्दै उजुरी परेको हो ।

त्यस्तै, विज्ञ सदस्य निरौलाको योग्यतामाथि पनि प्रश्न उठाइएको छ । उनी सामान्य सेयर कारोबारी मात्र भएको र उनको प्रत्यक्ष सम्बन्ध हिमालयन स्टक एक्सचेञ्जका लागि आवेदन दिएको समूहसँग रहेको पनि आरोप छ ।

अध्यक्ष सिफारिस समितिले गत चैत २५ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, बिमा प्राधिकरण (तत्कालीन बिमा समिति) का पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं, नेपाल धितोपत्र बोर्डकै कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र डा. नवराज अधिकारी तथा सन्तोष नरायण श्रेष्ठलाई सर्टलिष्टमा पारेको छ ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशकहरू श्रेष्ठ र अधिकारीको विषयमा गम्भीर प्रश्न उठाएका छन् । श्रेष्ठले तत्कालीन अध्यक्ष रमेशकुमार हमालसँग मिलेर प्रिमियम मूल्यमा आईपीओ निष्कासनमा मिलेमतो गरेको आरोप छ । त्यस्तै अधिकारी पनि प्रधानमन्त्रीको नजिकको व्यक्ति भएको भन्दै अभिव्यक्ति दिँदै हिँडेको निवेदनमा जनाईएको छ ।

नेप्सेका सीईओले पनि बजार सुधारका लागि केही काम नगरेको तर, दोस्रो स्टक एक्सचेन्जको लबिङ गर्न सत्तासँग माहिर पात्र भएको निवेदनमा उल्लेख छ । तत्कालीन बिमा समितिको अध्यक्ष हुँदा चापागाईंले व्यापारिक घरानासँग मिलेर लाइसेन्स बिक्री गरेको पनि आरोप छ ।

त्यस्तै, सन्तोष नारायण भने व्यापारीहरूले खडा गरेको पात्र भएकाले उनको योग्यता नै नपुग्ने निवेदनमा उल्लेख छ ।