मुलुकको विकासमा सबै एकजुट हुनुपर्नेमा डा. शेखर कोइरालाको जोड

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको आर्थिक, सामाजिक तथा लोकतन्त्रको संस्थागत विकासमा पार्टीका नेता तथा कायकर्ताका साथै सबै एकजुट भएर अगाडि बढनुपर्ने बताएका छन् ।

आज जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले मुलुक सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले आपसी सहकार्य र समन्वयबाट मुलुकको समृद्धिमा सबै लाग्नुपर्नेमा जोड दिए ।

नेता कोइरालाले पार्टीबाट रुष्ट भएका, निष्क्रिय नेता ताथ कार्यकतालाई पार्टीमा फर्किन आग्रह गरे । “कसैप्रति भेदभाव नराखी मुलुकको आर्थिक, सामाजिक पक्षको विकास गर्दै लोकतन्त्रको संस्थागत विकास आवश्यक रहेका हामी सबै यसमा समर्पित हुनुपर्छ”, उनले भने ।

अहिले राजनीतिक अस्थिरताले देशको संवृद्धि र विकासमा समस्या आएकाले राजनीतिक स्थिरता आवश्यक रहेको नेता कोइरालाको भनाइ थियो ।

नेपालले हानेको रन बराबर राप्रपाको युवा सङ्गठनले रुख रोप्ने

काठमाडौँ । आसन्न टी-२० विश्वकपको दौरानमा नेपालको राष्ट्रिय टोलीले हान्ने प्रत्येक एक रन बराबर एक रुख राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले नेपालले रोप्ने भएको छ ।

वातावरण संरक्षण राप्रपा युवा सङ्गठनको प्रमुख मुद्दा रहेको युवा सङ्गठनका प्रचार संयोजक कल्याण विक्रम आचार्यले जानकारी गराए । यसका साथसाथै नेपाली राष्ट्रिय क्रिकेट टिमलाई पनि उत्कृष्ट प्रदर्शनको निम्ति उनले शुभकामना समेत दिएका छन् ।

टी २० विश्वकप अन्तर्गत नेपालले शनिबार बिहान दक्षिण अफ्रिकाको सामना गर्दै छ ।

कावासोती तनावग्रस्तः तीनजनाको मृत्यु

नवलपुर । नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ । मृतकका आफन्त र स्थानीयले नगरप्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नाराबाजी गर्दै नगरपालिका र निजी निवासमा तोडफोड गरेका छन् ।

उनीहरुले नगरपालिकाको लापरवाहीले पुरिएर तीन जनाको मृत्यु भएको भन्दै नगरप्रमुख भुसालको राजीनामा माग्दै ढुङ्गामुढा र तोडफोड गरेका हुन् । नगरपालिका नजिकै जिल्ला प्रहरी कार्यालय रहे पनि घटनास्थलमा प्रहरी आउन ढिला हुँदा पालिकामा ठुलो क्षति पुगेको छ ।

स्थानीय र मृतकका आफन्तले नगरप्रमुख भुसालको घरमा पनि तोडफोड गरेका छन् । उनीहरुले हिजो रातीसम्म पनि भुसालको घर घेराउ गरेका थिए । हिजो घर घेराउ गर्दै नाराबाजी गरिरहेकाहरुलाई प्रहरीले तितरबितर पारे पनि शुक्रबार बिहानैदेखि उनीहरुले नगरपालिका कार्यालय र नगरप्रमुखको घरमा ढुङ्गामुढा गरेका हुन् ।

पीडितपक्ष वार्ता गर्न भनेर नगरपालिका गए पनि नगरप्रमुख भुसाल अनुपस्थित भएपछि पीडित थप आक्रोशित भएका हुन् । नाला खन्ने क्रममा पुरिएर हिजो कावासोती नगरपालिका ५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, सोही ठाउँकी २५ वर्षीया तानमाया गाहा र २३ वर्षीया चमेली दर्लामी मगरको मृत्यु भएको थियो । मृतक तीनै जनाको शव मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।

कावासोती फलफूलचोकदेखि पूर्वतर्फ ११ फिट गहिरो नाला निर्माणको काम भइरहेको छ । उक्त नाला निर्माण गर्ने क्रममा डोजरले खन्ने र मजदुरले भुँइमा ढुङ्गा सोलिङको काम गरिरहेको अवस्थामा एक्कासि माटोको ढिस्को खस्दा पुरिएर मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नगरपालिकाले शहरी विकास मन्त्रालयको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको लागि श्रममूलक आयोजना सञ्चालन गर्ने सर्तमा प्राप्त गरेको सात करोड ४२ लाखमध्ये वडा नं. २ को ढललाई व्यवस्थापन गर्नका लागि ४२ लाख ६० हजार रुपियाँ विनियोजन गरी उपभोक्ता समितिमार्फत काम गराएको हो । गोरखापत्रबाट

काठमाडौँमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ

काठमाडौँ । काठमाडौँमा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । जिल्लाको गोकर्णेश्वर नगरपालिका– ४ गोकर्ण माइती नेपाल चोकस्थित कमला पौडेलको जस्ताको टहरामा जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौँको कपन बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–१ घर भएका ४० वर्षीय बेल कुमार खड्का समेत २२ जना रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३ लाख ६६ हजार ३ सय ८५ रुपैयाँ र ८ थान कौडासहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

सुनको भाउ आज घट्यो

काठमाण्डौ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज चार सय रुपैयाँले घटेर तोलाको एक लाख ४१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

बागमती प्रदेश सरकारः मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण अध्ययन गर्ने

हेटौँडा । बागमती प्रदेश सरकारले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माणका लागि अध्ययन गर्ने भएको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गर्ने गरी अध्ययन गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय हेटौँडा अस्पताल र प्रतिष्ठान मुबिच स्वामित्व विवाद चर्किँदै जाँदा प्रदेश सरकारले प्रादेशिक अस्पताल निर्माणको अध्ययन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार मकवानपुरको हेटौँडा, बकैया वा मनहरी सहितका विभिन्न स्थानीय तहमा अस्पताल स्थापनाको लागि अध्ययन गरिने छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ अनुसार प्रादेशिक अस्पतालको रूपमा रहेको हेटौँडा अस्पताल प्रतिष्ठान अन्तर्गत रहने र मकवानपुरमा प्रादेशिक अस्पताल नरहेकाले अस्पताल स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरिएको उनले बताए । बैठकको निर्णय अनुसार प्रदेशिक अस्पताल स्थापनाका लागि अध्ययन कार्यदल बनाएर अध्ययन गरी सोको प्रतिवेदनका आधारमा निर्माण कार्य सञ्चालनमा सरकार अघि बढ्ने उनले बताए ।

मन्त्री श्रेष्ठले प्रतिष्ठानको ऐन कार्यान्वयनको चरणमा रहेकाले हेटौँडा अस्पताल प्रतिष्ठान अन्तर्गत रहेको बताए । विभिन्न राजनीतिक दलहरुको माग अनुसार ऐन संशोधन गरेर अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने अवस्था नरहेको उनले बताए । ऐनको प्रभावकारी कार्यान्वयन गर्दै प्रतिष्ठानलाई व्यवहारिक ढंगबाट विकास गर्ने र हेटौँडा अस्पतालको स्तरोन्नति गर्ने गरी सरकार अघिबढेको उनले बताए । अस्पताल र प्रतिष्ठान बिच रहेको समस्याहरु क्रमशः हल गर्दै जाने उनले बताए ।

पछिल्लो समय प्रतिष्ठान र अस्पताल बिचको विवादमा दोहोरो प्रशासनको प्रमुख कारण देखिएकाले त्यसलाई छिट्टै नै हल गरेर ऐन अनुसार अघि बढ्ने उनको भनाई छ ।

संसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा शून्य समय, विशेष समयमा संसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबारको बैठकमा सभामुख घिमिरेले संसदमा शून्य समय, विषय समयमा संसदहरूले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

संसदको बैठकमा सांसदहरूले उठाएको विषयमा सरकारले ध्यान नदिएको सांसदहरूले गुनासो गरेपछि सभामुखले सरकारलाई ध्यानाकर्षण गरेका छन्।

आजको बैठकमा विशेष समय लिएर नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमण संसदले थाहा नपाएको बताउँदै प्रधानमन्त्री संसदमा उपस्थित भएर जानकारी दिन माग गरेका थिए।

रोजगारीको खोजीमा श्रम स्वीकृति लिएर विदेश जाने महिलाको सङ्ख्या बढ्दो

काठमाडौँ । पछिल्लो समयमा रोजगारीको खोजीमा श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या बढेसँगै श्रम स्वीकृति लिएर विदेश जाने महिलाको सङ्ख्या पनि बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०-८१ को पछिल्लो १० महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या १६ प्रतिशतले बढेको हो ।

सरकारले घरेलु श्रममा खाडी जाने महिलालाई रोक लगाए पनि पछिल्लो समय घरेलु श्रमबाहेकका कामका लागि संस्थागत श्रम स्वीकृति लिने जाने बढेको छ । विभागका अनुसार गत वर्षको १० महिनामा २७ हजार २१४ महिला वैदेशिक रोजगार व्यवसायी ९म्यानपावर० कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएकोमा चालु आवमा ३१ हजार ५८५ पुगेका छन् । वैधानिकीकरण र पुनः विदेश जानेको सङ्ख्या त्योभन्दा बढी रहेको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगत पाँच वर्षमा विदेश जाने महिलाको हिस्सा पाँच प्रतिशतबाट वृद्धि भएर १२ प्रतिशत पुगेको छ । विभागका निर्देशक गुरुदत्त सुवेदीले वैदेशिक रोजगारीमा जाने समग्र सङ्ख्या वृद्धिसँगै महिलाको हिस्सा पनि क्रमशः बढेको बताए ।

घरेलु श्रममा जान महिलालाई प्रतिबन्ध लगाए पनि अन्य काममा जान खुला रहेको बताउँदै उनले भने, “पछिल्लो समयमा महिला श्रम स्वीकृति लिएर होटेल, उत्पादन उद्योग, सुपरमार्केटलगायतका क्षेत्रमा जाने गरेका छन्, यो क्रमशः बढ्दो छ ।”

सरकारले वैदेशिक रोजगारीमा घरेलु श्रमिकका रूपमा जाने महिलाको श्रम स्वीकृति रोक्का गरे पनि आव २०७८र७९ मा सबैभन्दा बढी महिलाले विदेश जान श्रम स्वीकृति लिएका थिए । २०७४ सालमा संसद्को परराष्ट्र तथा श्रम सम्बन्ध समितिको अध्ययनले घरेलु श्रमिकका रूपमा जाने महिला असुरक्षित रहेको जनाउँदै त्यसलाई रोक्न सरकारलाई निर्देशन दिएपछि विदेश जाने महिलाको सङ्ख्या घट्दै गएको थियो ।

विभागका अनुसार संयुक्त अरब इमिरेट्स (युएई), कतार, दक्षिण कोरिया, इजरायल, कुवेत, साइप्रस र मलेसिया जस्ता श्रम गन्तव्यमा नेपाली महिला श्रमिक रोजगारीका लागि बढी जाने गरेका छन् । वैदेशिक रोजगारीका लागि ११० वटा देश खुला गरिएको भए पनि नेपाली महिलाका लागि मलेसिया, कतार, साउदी अरेबिया, युएई, दक्षिण कोरिया, कुवेत, जोर्डनलगायतका देश वैदेशिक रोजगारीका मुख्य गन्तव्य रहेका छन् । जसमा ५० प्रतिशत हिस्सा युएई र कतारले ओगटेका छन् ।

वैदेशिक रोजगारीमा जाने महिलाको कुल सङ्ख्याको विश्लेषण गर्दा केही पहाडबाट बसाइँ सरेर मिश्रित समुदायको बसाइ भएका तराईका जिल्लाबाहेक बागमती प्रदेशका पहाडी जिल्लाहरूको बाहुल्य छ । जिल्लागत हिसाबले सबैभन्दा बढी वैदेशिक रोजगारीमा झापा, सिन्धुपाल्चोक, मोरङ र काठमाडौँका महिला गएका छन् । सिप र दक्षताको तुलना गर्दा वैदेशिक रोजगारीमा जाने पुरुषको तुलनामा उच्च दक्ष र पेसाकर्मी महिलाको प्रतिशत राम्रो रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

टी–२० विश्वकपः अमेरिका र आयरल्याण्ड खेल्दै

टी–२० विश्वकपमा आज अमेरिका र आयरल्याण्डबीच खेल हुँदैछ । लाउडरहिलमा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । समूह ‘ए’ को अमेरिकाले ३ खेलमा २ मा जित हासिल गर्दै ४ अङ्क बटुलेको छ र दोस्रो स्थानमा छ ।

अमेरिकाले यो खेल जितेमा सुपर आठमा आफ्नो स्थान सुनिश्चित गर्नेछ । त्यस्तै आयरल्याण्डले भने यसअघि लगातार दुई खेलमा हार बेहोरेको छ ।

मनसुनको सुरुमै बाढीपहिरोको प्रकोपः ताप्लेजुङमा ४ जनाको ज्यान गयो

काठमाण्डौँ । यस बर्ष मनसुनको सुरुमै बाढी पहिरो तथा भु–क्षयको जोखिम बढेको छ । अविरल वर्षासँगै आएको पहिरोमा परी ताप्लेजुङमा ४ जनाको ज्यान गएको छ ।
जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नम्बर २ खेजेनिममा गएराति करिब साढे १ बजे पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको वडाध्यक्ष भुपेन्द्र चौलागाईले बताएका छन् ।
ज्यान गुमाउनेमा फक्ताङलुङ गाउँपालिकाका ७० वर्षीय रामबहादुर साम्रा, ५० वर्षीया जसमाया साम्रा, गंगा र जमुना रहेका छन् । ४ जनाको शव घरदेखि करिब ५० मिटर तल फेला पारिएको वडाध्यक्ष चौलागाईले बताए । घरदेखि करिब २ सय मिटर माथिबाट आएको पहिरोले घरसहित ४ जना मानिस र ७० ओटाभन्दा बढी पशुचौपाया बगाएको हो ।
घट्नास्थलमा हाल सिँवा प्रहरी चौकीको टोली खटिएको र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक कमलकुमार लुङगेलीको नेतृत्वमा थप प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

भ्रष्टाचार मुद्दा लागेर अहिले स्थानीय तहका २८ प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा

काठमाण्डौँ । भ्रष्टाचार मुद्दा लागेर अहिले स्थानीय तहका २८ प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय सरकारका बेथितिमाथिको कारबाही तीव्र बनाउँदा ठूलो संख्यामा प्रमुख प्रशासकीय अधिकृतमाथि मुद्दा दायर भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०८०-८१ को ११ महिनाको अवधिमा भ्रष्टाचार मुद्दा दायर भएपछि ४५ प्रमुख प्रशासकीय अधिकृत र ७६ अन्य तहका कर्मचारी निलम्बनमा परेका थिए । निलम्बित हुनेमा उपसचिव तहका प्रमुख प्रशासकीय १२ जना, शाखा अधिकृत तहका सातजना र निमित्त प्रमुख प्रशासकीय अधिकृत ११ जना थिए । त्यस्तै, तह नखुलेका प्रमुख प्रशासकीय अधिकृत १५ जना थिए ।

यसबीचमा १७ प्रमुख प्रशासकीय अधिकृतले भने अदालतबाट सफाइ पाएपछि निलम्बन फुकुवा भएको छ । उपसचिव तहका ११ जना, शाखा अधिकृत तहका आठ र निमित्त प्रमुख प्रशासकीय अधिकृत आठजनाको मुद्दा भने विचाराधीन नै छ । उनीहरू निलम्बनमै छन् ।

भ्रष्टाचार निवारण ऐनको दफा ३३ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १७ अनुसार सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले भ्रष्टाचारजन्य कार्य गरेको विषयमा आयोगबाट अदालतमा आरोपपत्र दायर गरेपछि पदबाट निलम्बन हुन्छ । यसरी मुद्दा चलेपछि त्यसको किनारा नभएसम्मका लागि स्वतः पदबाट निलम्बन भएको मानिन्छ । निलम्बन अवधिमा त्यस्तो व्यक्तिले कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्था वा सरकारलाई कुनै किसिमले प्राप्त ऋण वा अनुदान रकममा व्ययभार पर्ने पदमा नियुक्ति भई काम गर्न नपाउने व्यवस्था छ । अदालतमा मुद्दा दायरसँगै निलम्बन भएको भन्ने पत्र आयोगले सम्बन्धित निकायमा पठाउँछ । तर, मुद्दा दायर भएकै क्षणदेखि स्वतः निलम्बन हुने ऐनको व्यवस्था हो । निलम्बित अवधिमा उनीहरूले खाइपाई आएको तलबको आधा रकम मात्रै पाउँछन् ।

प्रमुख प्रशासकीय अधिकृतको हकमा स्थानीय तहमा सरुवा तथा खटनपटन गर्ने काम संघीय सरकारले गर्ने भएकाले निलम्बनको रेकर्ड संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहन्छ । तर, स्थानीय तहमा कार्यरत रहँदाको कसुरमाथि अभियोजन भए पनि अन्य निकायमा कार्यरत रहेका वेला अदालतमा मुद्दा दर्ता भएको अवस्थामा भने त्यसको रेकर्ड मन्त्रालयसँग रहँदैन ।

सर्लाहीको चर्चित भरत ताल निर्माणमा ३० करोड भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मेयर, उपमेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसहित ६ जनाविरुद्ध यही २९ जेठमा मुद्दा दायर गर्‍यो । संघीय सरकारको स्वीकृतिविना र कानुनविपरीत वन क्षेत्रमा माछापोखरी बनाउने भनेर परियोजना अघि बढाई त्यसबाट ढुंगा, गिटी, बालुवाको उत्खनन तथा बिक्री गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । यस मुद्दामा अख्तियारले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत पोखरेलविरुद्ध जनही ३० करोड बिगो, जरिवाना र सजाय मागदाबी गरेको छ ।

त्यसको अघिल्लो दिन २८ जेठमा अख्तियारले सिराहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत सहित १४ जनाविरुद्ध मुद्दा दायर गर्‍यो । गाउँपालिकाको वडा नम्बर २ स्थित रामजानकी दलित आधारभूत विद्यालय मझौराको अपूरो कार्य गर्ने योजनामा काम नै नगरी १४ लाख ५१ हजार भुक्तानी दिएको अभियोग उनीहरूमाथि छ । उपभोक्ता समितिसँग मिलेमतो गर्दै नगरेको कामलाई गरिएको भनी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ता बिलमा चढाई झुट्टा मूल्यांकनका आधारमा स्वीकृत गरेर भुक्तानी दिएको आरोप अख्तियारको छ ।

कानुनले तोकेको दरभन्दा कम दर कायम गरेर खानी दोहन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले २१ जेठमा ललितपुरको गोदावरी नगरपालिकाका चारजना तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलाई प्रतिवादी बनायो । त्यसमा विश्वराज मरासेनी, कृष्णप्रसाद जैसी, वीरेन्द्रदेव भारती र प्रविन कोइराला छन् । नगरपालिका क्षेत्रमा ढुंगा, गिटी, बालुवालगायतका खानी तथा नदीजन्य खनिज पदार्थहरूको ठेक्का लगाउँदा मिलेमतोमा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । ०७५-७६ देखि पाँच वर्षमा एक अर्ब चार करोड ८७ लाख ४५ हजार दुई सय ८७ रुपैयाँ राजस्व चुहावट गरिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । अख्तियारका अनुसार संघीय तथा प्रदेश कानुनविपरीत न्यून दरमा ठेक्का लगाएर उनीहरूले राज्यकोषमा आउनुपर्ने राजस्व चुहावट गरेका हुन् । बागमती प्रदेश आर्थिक ऐनले निर्धारण गरेको राजस्व दर प्रतिघनफिट नौ रुपैयाँ थियो । तर, त्यसभन्दा निकै कम प्रतिघनफिट २.७५ मात्र राजस्व निर्धारण गरी ठेक्का लगाएर भ्रष्टाचार गरिएको थियो । मुद्दाका प्रतिवादी मरासेनी यसअघि एउटा मुद्दामा दोषी ठहर भइसकेका छन् भने अर्को एक मुद्दा विचाराधीन छ ।

यसअघि २० जेठमा अख्तियारले अर्को एक नौलो प्रकृतिको कसुरमा धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको थियो । रुफ कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सन कम्पनीसँग ०७९-८० मा सम्पूर्ण योजनाको लागत अनुमान तथा कार्यसम्पन्न प्रतिवेदनलगायत योजनाको भुक्तानीसम्बन्धी कागज तयार गर्न सम्झौता गरेका थिए । तर, सम्झौता कार्यान्वयन गर्नुको साटो चौधरीले कम्पनीको नक्कली लेटरप्याड तयार गरेर प्रबन्धकको नक्कली स्क्यान हस्ताक्षर प्रयोग गरे । कम्पनीको तर्फबाट सम्झौताबमोजिमको कागजात गर्ने गरी रमेश चौधरीलाई अधिकारनामा दिएको नक्कली लिखत तयार गरी नगरपालिकामा पेस गरे । त्यही नक्कली लिखतमा सक्कली दस्तखत गरी कार्यालयमा अभिलेख राख्न लगाई त्यसका आधारमा रमेश चौधरीलाई कर्मचारीका रूपमा नियुक्तिसमेत दिए । यसपछि चौधरीद्वयले घुस लिने बदनियतले योजनाहरूको प्राविधिक प्रतिवेदनलगायत कागजात पेस गरे । त्यसमध्ये विद्यालयको बाउन्ड्री वाल निर्माण कार्य सम्पन्न भएपश्चात् प्राविधिक प्रतिवेदनलगायतको कार्य सम्पन्न गरी भुक्तानी गराउन दुई लाख ७५ हजार घुस लिएको पुष्टि भएपछि अख्तियारले प्रमुख प्रशासकीय अधिकृत चौधरी र रमेशकुमार चौधरीसमेत तीनजनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

कतिपय स्थानीय तहमा कार्यसम्पादनमै असर परेको छः अश्विनकुमार पोखरेल, सहप्रवक्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
ठूलो संख्यामा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीविरुद्ध मुद्दा दायर हुँदा कतिपय ठाउँमा कार्यसम्पादनमा नै असर परेको छ । जनप्रतिनिधि र कर्मचारीले कानुन ख्याल नगरी काम गर्दा मुद्दा लाग्ने अवस्था सिर्जना भएको हुन सक्छ । काम गर्दा स्थानीय तह यसबारे सचेत हुनुपर्छ ।

जनप्रतिनिधिको दबाब र कर्मचारीकै चाहनाले पनि अनियमितता बढेका हुन सक्छन् स् सुरेश अधिकारी, पूर्वसचिव
स्थानीय तहमा हुने आर्थिक कारोबारको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुन्छ । जिम्मेवारीसँगै जोखिम पनि जोडिएको हुन्छ । अर्को विषय, स्थानीय सरकारको कार्यप्रकृति बहुआयामिक छ । तर, त्यहाँ अनुभवी कर्मचारी पठाउन र पठाइएकालाई थमाउन सकिएको छैन । प्रमुख प्रशासकीय अधिकृतको छिटोछिटो सरुवा भइरहेको छ । यसले पनि समस्या सिर्जना गरेको छ । कतिपयका हकमा खरिद कानुन, आर्थिक विषय नबुझेर पनि गलत काम भइरहेका छन् । जनप्रतिनिधिको दबाब र कर्मचारी स्वयंका चाहनाले पनि अनियमितताका घटना देखिएका छन् । यस्तो प्रवृत्ति रोक्न कर्मचारीको रोस्टर बनाएर त्यसका आधारमा अनुभवीलाई पठाउने र सरुवालाई व्यवस्थित गर्नुपर्छ । सार्वजनिक खरिद, योजना तथा बजेट, आर्थिक कारोबार आदि आधारभूत विषयका सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृतलाई तालिम दिनु पनि आवश्यक देखिएको छ । नयाँ पत्रिकाबाट

यात्रुबाहक बस कारसँग ठोक्कियो, १२ जना घाइते

काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको यात्रुबाहक बस चितवनको फिस्लिङ नजिकबाट त्रिशुली नदी किनारमा खसेको छ । दुर्घटनामा कम्तिमा १२ जना घाइते भएका छन् । केही यात्रु गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार भे १ ख ४०६२ नम्बर बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कार आज बिहान साढे ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङ नजिकै ठोक्किएका थिए ।

बस त्रिशुली नदी किनारमा खसे पनि कार भने सडक किनारमै छ । कारमा सवार २ जनाको अवस्था गम्भीर छ । टाउकोमा गम्भीर चोट लागेका कार चालक पोखरा महानगरपालिका ५ का ३५ वर्षीय समिर ओझा र टाउकोमा नै चोट लागेका सोही कारमा सवार काठमाडौंको टोखा नगरपालिका ६ टोखाका २२ वर्षीय शेखर मिश्रको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।

बस चालक कोहलपुर-१२, बाँकेका ३५ वर्षीय विकास मल्ल प्रहरी नियन्त्रणमा छन् ।

देशभरका सडक वर्षात सगै जोखिममा

काठमाण्डौँ । देशभर सडक विस्तारको गति बढेको छ । तर सडक आफैँमा धरापमा छन् । यी धराप सडकका कारण कयौंले जोखिमपूर्ण यात्रा मात्रै गर्नुपरेको छैन जीवन नै गुमाउनुपरेको पनि छ । सडक जहाँसुकैका हुन् त्यसमा समस्या छ । अगाडि सडक ठीक होला भन्ने मनसायले यात्रारत जो सुकै होस गन्तब्य सम्म पुग्न कठिनाइ ब्यहोर्नु परेको तितो यथार्थ हामी सग छदैछ
हामीकहाँ प्रत्येक पाइलामा खतरा छ, कहाँ सावधानी अपनाउनु रु बर्खायाम सुरु भएसंगै सडकमा देखिने समस्याहरु उस्तै छन् । सडक बिभागका कर्मचारीहरुको सरुवा, बढुवाका कारणले पनि सडक निर्माण गर्ने कार्य तथा बिस्तार गर्ने कार्यमा निकै बाधा पुग्ने गरेको छ ।
एक बिभागको कर्मचारी अर्को शाखामा सरुवा भएर जाँदा अर्को आउने कर्मचारीले निर्माणाधिन सडकको बारेमा बुझ्न समय लाग्ने जस्ता कारणले गर्दा सडक निर्माणले पाउनु पर्ने गति लिन सकेको छैन । बेलाबेलामा सडक बिभागका कर्मचारीहरु भने सरुवा भईरहन्छन् ।
हिउँदको समयमा सुख्खा पहिरो र बर्खाको समयमा सडक भाँसिने, पहिरो जाने, कच्ची सडकहरु भाँसिने जस्ता समस्याहरु हुने गर्दछन् । सरकारले असार मसान्तसम्ममा सबै खालका बजेट तथा योजनाहरु सिध्याउने खेल अनुसार नै कयौँ सडक निर्माण कार्य अलपत्र पर्ने गर्दछन्, कयौँ सडक गुणस्तरीय रुपमा निर्माण भएका हुदैनन् भने कुनै सडक निर्माण कार्यमा खटिएका कामदारले ज्याला नै पाएका हुँदैनन् ।
खासगरी स्थानीय जनप्रतिनिधीहरुको बिषेश बिकासको रुपमा रहेको सडक संञ्चाल नै अलपत्र पर्ने गरेका छन् । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँमा पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ । कार्यालय प्रमुख रमेशप्रसाद पौडेलका अनुसार तीमध्ये चार स्थान उच्च र सात ठाउँ कम जोखि छ ।
यसैगरी, बेला बखतमा चर्चामा आर्ईरहने यो सडकमा पहिरोको कम जोखिम भएका ठाउँमा गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलो क्षेत्र हुन् । ती ठाउँमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ । विसं २०८० को वर्षामा यो सडकमा ३० र २०७९ मा ३६ पटक पहिरो जाँदा यी क्षेत्रमा पटक–पटक सवारी आवागमन अवरुद्ध भएको थियो ।
कार्यालयका इञ्जिनियर सागर कार्कीले पानी परेपछि जुनसुकै बेला भू–क्षयको जोखिम रहेकाले सेती दोभान, मौरी पुल र चार किलोमा उपकरण तम्तयार अवस्थामा राखिने बताए । ‘हेटौँडास्थित हेवी इक्युप्मेन्ट डिभिजन र डुम्रेको यान्त्रिक कार्यालयबाट पनि उपकरणको प्रबन्ध गरिनेछ,’ उनले भने ।
सोही सडक खण्डको केराबारीमा नेचरबेस सोलुसन नामको संस्थाले बायो इञ्जिनियरिङ प्रविधिबाट पहिरो नियन्त्रण अध्ययन गरिरहेको छ । सोही सडकका खहरे खोला, भतेरीको ओरालो, गाईघाट, सेतीदोभान, जलवीरे, २६ किलो र चार किलो क्षेत्रका ११ ठाउँमा अध्ययन गर्न उक्त संस्थाले सडक विभागलाई पत्राचार गरेको छ ।
खासगरी ग्रमीण कच्ची सडकहरुमा कतिपय त ठेकेदारको लापर्वाहीका कारणले पनि निर्माण कार्यले गति लिन सकिरहेको हुँदैन भने कतिपय सहरी क्षेत्रकै सडकहरुमा पनि गुणस्तरहीन सामग्री, आवश्यक्ता भन्दा बढी वा थोरै सामग्रीको प्रयोग हुँदा ठाउँठाउँमा खाल्डाखुल्डीको समस्याहरु हुने गर्दछन् । राजधानी काठमाण्डौँको बुद्धनगर क्षेत्रमा बिचसडकमा भएका खाल्डाखुडीहरुले राजधानीलाई नै जिस्कारहेको छ ।

देशभरका स्थानियतहको आम्दानी घट्यो, धनगढीको पौने छ करोडले बढ्यो

काठमाण्डौँ । देशभरका स्थानियतहको आन्तरिक आम्दानी घटेको देखिएकोबेला धनगढी उपमहानगरपालिकाले पौने छ करोड रुपियाँ आन्तरिक आम्दानी बढाएको छ ।
फोहोरबाटसमेत पैसा कमाइरहेको सो पालिकाले आर्थिक वर्ष २०७९–०८० मा पाँच करोड ७३ लाख २५ हजार रुपियाँ आन्तरिक आम्दानी गरेको हो ।
यसअघि, आर्थिक वर्ष २०७८–०७९ मा धनगढी उपमहानगरपालिकाको आन्तरिक आम्दानी २२ करोड १९ लाख २२ हजार रुपियाँ रहेको थियो । आर्थिक वर्ष २०७९–०८० मा धनगढीको आन्तरिक आम्दानी बढेर २७ करोड ९२ लाख ४७ हजार रुपियाँ पुगेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
२६ करोड ८८ लाख ४६ हजार रुपियाँ आन्तरिक आम्दानी बढाउने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा बढी आन्तरिक आम्दानी वृद्धि भएको जनाइएको छ । एकीकृत सम्पत्ति कर, घरजग्गा कर, बहाल बिटौरी कर, व्यवसाय कर, साना सवारी कर, तालतलैयाबाट उठ्ने राजस्व लगायत स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत छ ।

हिम्मतिलो हुन भूमिमन्त्रीलाई प्रमुख सचेतक शाहीको सुझाव

काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई हिम्मतिलो हुन सुझाएका छन्।

भूमिको वर्गीकरण गर्न र वर्गीकरणअनुसार मात्रै उपयोग गर्न पाउने गरी कठोर निर्णय लिन उनले आग्रह गरेका हुन्। अन्यथा मुलुक बन्न नसक्ने सांसद शाही बताउँछन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले भने, ‘अप्रिय निर्णय गरिदिनुस्, जहाँजहाँ बस्ती हुन्छन् त्यो बस्ती भएका ठाउँमा कसैले खानी चलाउन पाउँदैन भन्ने नीति बनाउनुस् । जहाँजहाँ खेतीयोग्य जमिन छ, त्यो खेतीयोग्य जमिनमा बस्ती बसाउन पाउँदैन भन्नुस्।’

बनेको नीति कार्यान्वयन गर्ने सन्दर्भमा पनि आवश्यक परे कठोर भएर प्रस्तुत हुनुपर्ने शाहीको राय छ।

‘कृषियोग्य जमिनमा कसैले बस्ती बसालेको छ भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले डोजर बोके जसरी बोकेर भत्काइदिनुस्। त्यसपछि बल्ल देश सही बाटोमा जान्छ,’ शाहीले भने।