एजेन्सी । उपाधि दाबेदार अष्ट्रेलियाले आईसीसी टी-२० विश्वकप २०२४ मा नामिबियालाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जितले समूह बी मा अष्ट्रेलिया शीर्ष स्थानमा रहँदै एक खेल अगावै सुपर-८ मा पुगेको छ ।
जित्नलाई ७३ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ट्रविस हेड १७ बलमा ५ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे । डेविड वार्नर ८ बलमा ३ चौका र १ छक्कासहित २० रनमा आउट भए । मिचेल मार्श ९ बलमा ३ चौका र १ छक्कासहित १८ रनमा नट आउट रहे । डेविड विजाले १ विकेट लिए ।
त्यसअघि सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबिया १७ ओभरमा ७२ रनमा अल आउट भयो । नामिबियाका कप्तान जेराल्ड इरास्मसले ४३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाए । माइकल भान लिंगेनले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अष्ट्रेलियाका स्पिनर एडम जाम्पाले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । जोश हेजलवुड र मार्कस स्टोइनिसले २–२ विकेट लिए । प्याट कमिन्स र नाथन एलिसले १-१ विकेट लिए ।
समूह बी मा अष्ट्रेलिया ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । अष्ट्रेलियाले ओमानलाई ३९ र इंग्ल्यान्डलाई ३६ रनले हराएको थियो । अष्ट्रेलियाले १६ जुनमा स्कटल्यान्डसँग खेल्नेछ ।
स्कटल्यान्ड ३ खेलमा २ मा जित र एक खेलमा अंक बाड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३ खेलमा १ मा जित र २ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ ।इंग्ल्यान्ड २ खेलमा १ अंकका साथ चौथो स्थानमा छ । ओमान ३ खेलमा जित विहीन हुँदै बाहिरी सकेको छ ।
समूह डी मा दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ सुपर-८ मा स्थान पक्का गरेको छ । अन्य टोलीले भने सुपर ८ मा आफ्नो स्थान पक्का गर्न बाँकी छ । हरेक समूहबाट शीर्ष दुई टोली सुपर-८ मा पुग्नेछन् ।