वीर अस्पतालमा ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया शुरु

 काठमाडौं। वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिएका छन्।

उनका अनुसार आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ । बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा रु. एकदेखि तीन लाखसम्म पर्छ। शरीरका कोषिकाहरू असामान्य ढंगबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने उहाँले जानकारी दिए। 

‘मानिसको उमेर बढ्दै जाँदा शरीरका अंगहरू कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना बढ्दै जान्छ। हेपाटाइटिस, एड्सजस्ता रोग लागेर कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहन्छ,’ उनले भने।

ब्रेन ट्युमर हुनुको अर्को कारण खराब विकीरण पनि हो। एक्स-रे, सिटीस्क्यान गराउँदा निस्कने विकीरण हानिकारक मानिन्छ। ब्रेन ट्युमरको उपचारमा धेरै प्रयोग हुने प्रविधि भनेको ‘एसआरएस’ अर्थात् ट्याक्सी रेडियो सर्जरीलाई लिने गरिन्छ।

यसले कतिपय ब्रेन ट्युमरलाई शल्यक्रिया नगरी सुकाइदिन्छ, तर उच्च डोजको विकीरण हुने भएकाले शरीरका अन्य भागमा प्रत्यक्ष असर गर्दछ र पछि क्यान्सरको जोखिम बढाउने चिकित्सकहरू बताउँछन्।

अस्पतालमा दैनिक ६ देखि आठजना ब्रेन ट्युमरका बिरामी उपचारका लागि आउने गरेका छन्। झाका अनुसार मुलुकभरि प्रत्येक दिन ब्रेन ट्युमरका सयजना बिरामी अस्पताल आउने गरेका छन्। 

ब्रेन ट्युमरसम्बन्धी लक्षण, यसको जोखिम समयमा पहिचान गर्ने र उपचार गर्ने हो भने यो रोगबाट पार्ने असर, ब्रेन ट्युमरबाट हुन जाने शारीरिक र मानसिक दुर्बलतालाई कम गर्न सकिने उनको भनाइ छ। नेपालमा सबैभन्दा पहिलो ब्रेन ट्युमरको शल्यक्रिया पनि वीर अस्पतालमा गरिएको थियो।

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न प्रदेश सभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ।

गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो। पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले विश्वासको मत नपाएको खण्डमा गण्डकीमा पनि उपधारा ५ बमोजिमको सरकार गठन हुनेछ।

गण्डकीमा विश्वासको मतका लागि ३१ सांसदहरुको समर्थन आवश्यक छ। तर, कांग्रेससँग २७ सिटमात्रै छ। कांग्रेसलाई २ सिट रहेको राप्रपा र स्वतन्त्रको एक मत प्राप्त भएपनि बहुमत पुग्ने देखिदैन्। गण्डकीमा एमालेको सभामुखसहित २२ र माओवादी केन्द्रको ८ सांसद रहेका छन्। गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत पाउने आश गरेका छन्। 

विश्वासको मत प्राप्त गर्ने अवस्था देखिए राप्रपा पनि सकारात्मक देखिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई औपचारिक पत्र पठाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत दिन आग्रह गरेका छन्। नेपाल समाजवादीका नेता समेत रहेका गाेरखाका प्रदेश सांसद फडिन्द्र देवकोटाले विश्वासको मत दिने मुख्यमन्त्री पाण्डेको आश छ। उनले माओवादीको चुनाव चिन्ह लिएर चुनाव जितेका छन्। 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मुख्यमन्त्रीलाई विश्वासको मत दिन प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई औपचारिक रुपमै आग्रह गरिएको बताए।

“असार १ गतेसम्म प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने छ, यस्तो अवस्थामा सबै राजनीतिक दलहरु जिम्मेवार ढंगले प्रस्तुत हुनुहुनेछ भन्ने हाम्रो विश्वास छ”, उनले भने।

विपिन जोशीको घरमा इजरायली राजदूत, उद्धारका लागि दिए आश्वासन

काठमाण्डौँ । नेपालका लागि इजरायली राजदूत हानान गोडर गोल्ड बर्गर विपिन जोशीको घरमा पुगेका छन् । आइतबार इजरायली राजदूत हानान गोडर कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ भाँसी महेन्द्रनगर विपिनको घरमा पुगेका हुन् ।
गत २० असोजमा प्यालेष्टाईनी हमास समूहले इजरायलमाथि हमला गर्दा हमास समूहको नियन्त्रणमा रहेका जोशीको घरमा पुगेका हुन् । इजरायली राजदूत विपिनको घर पुगेर उद्धारका लागि आश्वासन दिएका छन् ।
विपिनका बुवा महानन्द जोशीले छोराको रिहाइका लागि राजदूतसँग अनुरोध गरेका छन् । विपिनका परिवारको अनुरोध अनुरूप इजरायली राजदूतले दुखत घटना भएको भन्दै उद्धारका लागि इजरायली सरकारले पहल गरिरहेको र नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि प्रतिबद्धता जाहेर गरेको परिवारजनले जनाएका छन् ।
यस अघि विपिनको रिहाइका लागि घर परिवारले गृहमन्त्री, पराराष्ट्रमन्त्री, प्रधानमन्त्री, राष्ट्रपतीसम्म भेटघाट गरेर अनुरोध गरेका छन् ।

यस्तो छ तपाईंको २८ जेष्ठ २०८१, सोमबार (आज)को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आयआर्जन बढ्नेछ। जमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। व्यापार व्यवसायमा उन्नति हुनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) दिन सामान्य छ। खर्च बढ्ने देखिन्छ। अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। भएको सम्पत्ति संरक्षणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ। परिवारले साथ दिने दिन छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) झुठा आरोप लाग्नसक्छ। आफूले गरेको काममा भने सन्तोष मिल्नेछ। काम गर्दा विवेक पुर्याउनुपर्ने देखिन्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नसोचेको सम्पत्ति आम्दानी हुनेछ। शत्रु पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोगबाट मुक्ति मिल्नेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। राजनीतिमा संगठन बलियो बन्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) रोगको प्रकोप बढ्नेछ। खर्च पनि धेरै हुनेछ। प्रतिस्पर्धी सक्रिय छन्। अरु क्षेत्र सामान्य रहेपनि दाम्पत्य जीवन धेरै राम्रो छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समस्यामा परिनेछ। शिक्षाको क्षेत्रमा मानसम्मान बढ्नेछ। प्रेममा सफलता मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक क्षेत्रमा मन जानेछ। सहयोग गर्नेहरु बढ्नेछन्। खुसी मिल्नेछ। इष्टमित्रसँगको सम्बन्ध सुधार हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) खर्च बढ्नेछ। दाम्पत्य जीवन सुमधुर हुनेछ। व्यापार व्यावसायमा ठूलो लगानी नगर्नुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) दिन राम्रो छ। रोकिएका कामहरु बन्नेछन्। साथीभाइको सहयोग मिल्नेछ। दाम्पत्य जीवन सफल रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) बोलीमा मिठास बढ्नेछ। मातापिताको सम्झना गर्दा काममा सफलता मिल्नेछ। बन्धुबाट सहयोग मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। साथीको चित्त बुझाउन कठिन हुनेछ। लगानी गर्ने भए विदेशमा भन्दा स्वदेशमै फाइदा हुनेछ। कृषि क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारसँगको सहकार्यमा सफलता मिल्नेछ।

सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने विश्वकपका खेल खेल्ने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजमा हुने दुई खेल खेल्ने भएका छन्। भिसा नदिएपछि विश्वकप खेल्न अमेरिका जान नपाएका क्रिकेटर सन्दीप लामिछानेले वेस्टइन्डिज पुगेका छन् । नेपालले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

दुवै खेलमा सन्दीपले सहभागिता जनाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। (क्यान)ले सोमबार बिहान विज्ञप्ति जारी गर्दै सन्दीपलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश गरिएको जनाएको छ।

पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेस गरेको क्यानले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ।

अमेरिकाले भिसा नदिएपछि क्रिकेटर लामिछाने विश्वकप खेल्न जान पाएका छैनन्।

नेपाली बजारमा भिभो वाई १८ सार्वजनिक, कति पर्छ मूल्य

काठमाडौँ ।  स्मार्टफोन ब्रान्ड भिभोले वाई १७ एस श्रृंखलाको उत्तराधिकारी भिभो वाई १८ सार्वजनिक गरेको छ । आजका प्रयोगकर्ताहरूका विविध आवश्यकता पूरा गर्न डिजाइन गरिएको भिभो वाई १८ ले उत्कृष्ट डिजाइन, सशक्त प्रदर्शन, र असाधारण क्यामेरा विशेषताहरू प्रदान गर्दछ, जसले यसलाई तपाईंको उत्तम मनोरञ्जनात्मक सामाजिक साझेदार बनाउने कम्पनीले जनाएको छ । 

भिभो वाई १८ ले वाई १७ एसको विरासतलाई कायम राख्दै दुई विशिष्ट रंग भेरियन्टहरूः मोचा ब्राउन र वेभ एक्वामा एक शानदार डिजाइन प्रदान गरेको जनाएको छ ।

भिभो वाई १८ ले उत्कृष्ट ६+६ जीबी एक्सटेन्डेड र्‍याम र १२८ जीबीको लागी इन्टर्नल स्टोरेज प्रदान गर्दछ, जसले सजिलो मल्टीटास्किङ र एप्स, फाइलहरू, र मल्टिमिडियाका लागि प्रशस्त स्टोरेज सुनिश्चित गर्छ ।

यस्तै मिडियाटेक हेलिओ जी ८५ प्रोसेसरबाट सञ्चालित यो फोनले प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा ल्याग–फ्री अनुभवको मजा दिन्छ । साथै, वाई १८ मा लामो समयसम्म टिक्ने ५००० एमएएच क्षमताको शक्तिशाली ब्याट्री छ, जुन काम, कन्टेन्ट स्ट्रिमिङ, वा गेमिङका लागि राम्रो मानिएको छ ।

५० एमपी अल्ट्रा क्लियर क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा रहेको उक्त फोनको मूल्य रु. १४,४९९ रुपैयाँ कायम गरिएको छ ।

बालिका बलात्कारको अभियोगमा गुल्मीका युवक पक्राउ

पाल्पा। पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तानसेन नगरपालिका ८ तल्लो डुम्रे बस्दै आएकी ती किशोरीलाई दाहालले सोही ठाउँस्थित बारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो । सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका निर्देशक चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक हेमन्त चौधरीविरुद्ध मुद्दा दायर गरेको छ ।

नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएको आरोपमा आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको उजुरी आयोगमा परेको थियो ।

अख्तियारले नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबी गरेको छ ।

उपप्रधानमन्त्री महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री दाहाल भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्ने समारोहमा सहभागी हुन आज नयाँदिल्ली प्रस्थान गरेका हुन् । भारतीय जनता पार्टीका नेता मोदीले भारतको प्रधानमन्त्री पदमा तेस्रो कार्यकालका लागि आज साँझ शपथग्रहण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री महासेठले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘आइडिए’ को २१औँ बैठक नेपालमा हुँदै

काठमाण्डौँ । विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) को २१औँ बैठक नेपालमा हुँदै छ ।
असारको ४ देखि ७ गतेसम्म काठमाडौंमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने भएका छन् । आइडिएको २१ औँ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेस गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो ।
नेपालले ६ वर्षअघि आइडिए– १९ बैठक काठमाडौंमा गर्न डिसीस्थित विश्व बैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रूपमा ‘लबिङ’ गरेको थियो ।
उदघाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ । समापन सत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन छन् ।
अर्थ मन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेका छन् ।
विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडिए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोस्रो वरीयताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, नौ उपाध्यक्ष र पाँच डाइरेक्टर वासिङटनबाट नेपाल आउँदै छन् ।
यस्तै, विश्व बैंकका लागि दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका तीन सयभन्दा बढी प्रतिनिधि बैठकमा सहभागी हुने सहसचिव नेपालले जानकारी दिए ।
नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो ।

को-को बन्दै छन् मन्त्री मोदीको तेस्रो कार्यकालमा ?

काठमाडौँ । भारतमा नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिने तयारी गरिरहेका छन् तर आम निर्वाचनको नतिजामा भाजपा बहुमत हासिल गर्नबाट चुक्यो । स्थिति यस्तो बनेको छ कि नितीश कुमार र चन्द्रबाबु नायडूको समर्थन पायो भने मात्रै भाजपा सत्तामा रहन सक्ने स्थिति छ । भाजपाले २४० सिट पाएको छ । सरकार बनाउन उसलाई २७२ सिट चाहिन्छ । एनडीए गठबन्धनले करिब २९२ सिट र विपक्षी भारतीय गठबन्धनले २३४ सिट प्राप्त गरेको छ ।

भारतीय मिडियाका अनुसार सम्भावित मन्त्रीहरुलाई सपथका लागि फोन आएको छ । जसमा चार पूर्व मुख्यमन्त्री राजनाथ सिंह, शिवराज सिंह चौहान, मनोहर लाल खट्टर र कुमारस्वामीको नाम समावेश छ।

यी बाहेक मोदीको दोस्रो कार्यकालमा मन्त्री रहेका नितिन गडकरी, पियुष गोयल, ज्योतिरादित्य सिन्धिया र अर्जुन राम मेघवालले फेरि जिम्मेवारी पाउने पक्का रहेको रिपोर्टमा उल्लेख छ ।

त्यस्तै एनडीए गठबन्धनको महत्वपूर्ण दल टीडीपी सांसद राममोहन नायडू पनि मन्त्री बन्ने बताइएको छ । ३६ वर्षीय राम मोहन भारतका सबैभन्दा कान्छो मन्त्री हुनेछन् । त्यस्तै एलजेपी (आर) बाट चिराग पासवान, जेडीयूबाट रामनाथ ठाकुर र ललन सिंह, हामका जीतनराम मांझी र अपना दल (एस)की अध्यक्ष अनुप्रिया पटेल पनि मन्त्री बन्न सक्ने रिपोर्टमा बताइएको छ ।

त्यस्तै मनोहर लाल बाहेक राव इन्दरजीत पनि मन्त्री बन्ने सूचीमा रहेका छन् । मन्त्रिपरिषद्मा यूपी, राजस्थान र गुजरातको हिस्सा घट्ने विश्वास गरिएको छ ।

नरेन्द्र मोदीले आज साँझ ७: १५ बजे राष्ट्रपति भवनमा तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनेछन् । यसअघि बिहान उनले महात्मा गान्धी र पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

शपथ ग्रहण गरेसँगै मोदीले लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने पूर्वप्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको ६२ वर्ष पुरानो कीर्तिमानको बराबरी गर्नेछन् । नेहरू सन् १९५२, १९५७ र १९६२ मा लगातार तीन पटक जितेर प्रधानमन्त्री बनेका थिए । तर, नेहरू सरकारसँग तिनै पटक पूर्ण बहुमत रहेको थियो । मोदीको तेस्रो कार्यक्रल भने गठबन्धनको आधारमा चल्नेछ ।

सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ

काठमाडौं । भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् । कतार एयर उडानद्वारा नेपाल आएका कोइरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा मोरङको केराबारी गाउँपालिका वडा नम्बर ९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा नगरपालिका वडा नम्बर ५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका वडा नम्बर ६ बस्ने ३७ वर्षीय ज्याउदिन मिया रहेका छन । उनीहरुलाई दुई फरक–फरक घटनामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

करिब २५ ग्राम सुनको सिक्रि, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लोसहित कोइराला र आलमलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी ५० ग्राम सुनको सिक्रिसहित अरमान र मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कतार एयरको उडानद्वारा दोहाबाट नेपाल आएका ज्याउदिनले भन्सार छली ल्याएको सुनको सिक्रि अरमानलाई दिने पक्राउ गरिएको जनाईएको छ ।

सत्कर्म अभियानबाट दुर्गा भगवतीमा ४० फलफूलको बृक्ष रोपियो

रौतहट । रौतहट बाट पहिलोपटक सुरुवात गरिएको अभियान जन्म दिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्ष रोपण गर्ने अभियान देशब्यापी बन्दै गएको छ। तराई बिकास तथा संचार केन्द्र नेपालले आयोजना गर्दै अगाडि बढेको यो अबधारणा शुक्रवार रौतहटको दुर्गा भगवती गाउपालिकामा जन्मदिनलाई सतकर्ममा जोडौ अभियान अन्तर्गतको बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

दुर्गा भगवती गाउँ पालिकाको क्याम्पस परिसरमा गाउपालिकाका अध्यक्ष शम्भुकुमार सिंहले फलफूलको बृक्षरोपेर अभियानको सुरुवात गर्नुभएको हो। उहाँ संगै उपाध्यक्ष शिला देबि महालेखा परिक्षक कार्यलयका उपमहालेखा परिक्षक, पदमराज पौडेल, रौतहट जिल्लाका प्रजिअ हिरालाल रेग्मी अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सुरेन्द्र घिमिरे अभियानका संयोजक गोबिन्द चौलागाईं , रौतहट प्रहरी उपरीक्षक दिलिप घिमिरे सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक बिक्रम हुमागाइ ,प्रमुख जिल्ला वन अधिकृतशैलेन्द्र कुमार मिश्र लगायत शिक्षकहरु वरिष्ठ संचारकर्मि संजय मिश्रा,प्रभातकुमार झा,प्रबिण शर्मा लगायतको उपस्थितिमा बिद्यालय हाताभित्र विभिन्न जातका फलफूलको बिरुवा रोपिएको सम्पत्ति न्युजका रौतहट प्रतिनिधि राधेश्याम साहले बताए।
सो कार्यक्रममा दुर्गा भगवती गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठक र उनकि धर्मपत्नी अर्चना पाठकले आफनो २६ औं म्यारिज एनिभर्सरीका दिन भएकोले फलफूलको बिरुवा नै रोपेका थिए।
यो अभियानबाट झण्डै ४० वटा बिरुवा रोपिएको थियो। कार्यक्रममा दुर्गा भगवती गाउँ पालिकाका अध्यक्ष शम्भु कुमार सिंहले यो सतकर्मको अभियान दुर्गा भगवतीमा आजबाट सुरुवात यो अभियानले स्वच्छ वातावरणका निम्ति योगदान पुर्याउनेमा आफू बिश्वस्त रहेको बताउदै मानव जातिले पछिल्ला दिनमा चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपरेकोले यस्ता सत्कर्म अभियानबाट नै वातावरण लाई न्याय मिल्ने अध्यक्ष सिंहले बताए ।

अछाम र दैलेख जिल्ला जोड्ने पुलको लट्ठा चुँडिदा १४ खच्चर फसे

काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लट्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् ।

पुलको लट्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ । यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको जानकारी दिए ।

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौँ । स्थानीय बजारमा सुनकाे मूल्य ह्वात्तै घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला चार हजार रुपैयाँ घटेर कारोबार भएको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य एक लाख ४५ हजार रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँ घटेर एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।