११ असार, काठमाडौं । आगामी साउनदेखि सिंहदरबार प्रवेशको लागि विभिन्न मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पासहरू खारेज हुने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ अर्थात् आगामी साउनदेखि ई–गेटपास प्रणाली प्रयोगमा ल्याउने निर्णय गरेको छ ।
६ असारमा बसेको सचिव बैठकले मन्त्रालयबाट जारी गरिएका सबै अस्थायी पासहरू खारेज गरेर ई–गेटपास प्रणाली प्रयोगमा ल्याउने गृह मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको छ । ई–गेटपास प्रणाली अनलाइनबाट सिंहदरबार छिर्ने गेट पास लिने प्रणाली हो । यसअनुसार अहिले फोन गरेर पनि माग्न सकिने सिंहदरबारको पास साउनदेखि अनलाइनबाटै लिनुपर्ने व्यवस्था हुने भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई अहिले पनि ई–गेट पास प्रणाली प्रयोगमा रहेको र आगामी साउनदेखि थप प्रभावकारी बनाउन लागिएको बताउँछन् । ‘अस्थायी पासहरु हटाएर ई–गेट प्रणालीबाटै पास दिने व्यवस्था गर्न लागेका हौं,’ उनले भने ।
देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा सर्वसाधारणहरू प्रवेश गर्न सम्बन्धित निकायले गेट पासको अनुमति दिनुपर्ने अवस्था छ । अहिले गृह मन्त्रालयले क्यूआर कोडसहितको गेट पासको व्यवस्था गरेको छ ।
‘सिंहदरबार पास’ वेबसाइटमा गएर अकाउन्ट बनाउने र युजर आईडी र पासवर्ड राखेर पासका लागि अनलाइनबाट अनुरोध गर्ने प्रणाली बनाइएको छ ।
गेट पास पाउन आधारभूत विवरण भर्नुपर्ने हुन्छ । आफू जाने निकायको नाम, मिति, समय लगायतकाको विवरण भरेर ‘सब्मिट’ गरेपछि एक दिन, तीन महिना वा अस्थायी ई गेटपासका अनुरोध गर्न सकिने व्यवस्था छ । ड्यासबोर्डमा आफूले अनुरोध गरेको पासको अवस्थाबारे जानकारी पाउन सकिन्छ ।
सम्बन्धित मन्त्रालयले पास स्वीकृत गरेपछि क्यूआर कोड पाइन्छ । सोही क्यूआर कोड सिंहदरबार गेटमा प्रवेश गर्दा देखाउनुपर्ने व्यवस्था छ ।
Month: February 2022
आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा उपसभामुख सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरेका हुन् । सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए।
उक्त बजेटलाई अर्थमन्त्री पुनले पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए। बजेट पारितको प्रस्तावअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोग,उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।
कोशी प्रदेशमा अदालतले दियो हिक्मत कार्कीलाई वैधानिकता
काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
मंगलबार न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले कार्कीको रिट खारेज हुने फैसला सुनाएको हो । सर्वोच्च अदालतले केदार कार्कीले दायर गरेको रिट खारेज गरेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्कीले वैधानिकता पाएका छन् ।
नेपाली काँग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीले विश्वासको मत प्राप्त गर्ने प्रक्रिया नै नगरी बसेपछि प्रदेश प्रमुखले संकल्प प्रस्तावका आधारमा २०८१ जेठ २५ गते एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेको भन्दै आफू अन्तिम मुख्यमन्त्री रहेको र त्यसपछि विकल्प भनेको संसद विघटन गरी अर्को निर्वाचनमा जानुको विकल्प नभएको तथा आफूविरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने भन्दै सर्वोच्चमा रिट दिएका थिए ।
नेकपा एसले राष्ट्रिय महाधिवेशनबाट सदस्यीय कार्यसमिति निर्वाचित गर्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले १०औँ राष्ट्रिय महाधिवेशनबाट एक सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने भएको छ ।
यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा बहुपदीय प्रणालीमा निर्वाचन गरिने सो कार्यसमितिमा १९ पदाधिकारीसहित एक सय ९९ सदस्यीय कार्यसमिति गठन हुने पार्टी स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए ।
विद्यमान कमिटीमा तीन सय ५० सदस्यीय कार्यसमिति रहेकामा एकीकृत समाजवादीले आकार घटाएर सङ्गठनलाई थप प्रभावकारी बनाउन लागेको हो । सानो कार्यसमिति भएपछि छिटो–छरितो बैठक सञ्चालन तथा सदस्यलाई बैठकमा उपलब्ध गराउन, छलफल गर्न, निर्णय कार्यान्वयन गराउन सहज हुने उनले बताए । कार्यसमिति सानो हुने भएपछि केन्द्रीय कमिटीमा जान चाहने नेताहरूको प्रतिस्पर्धा बढेको छ ।
सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको कमिटी निर्माण गर्न र बढीभन्दा बढी सदस्यता विस्तार गरी पार्टी मातहतका सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराएर नेतृत्वलाई थप जिम्मेवार बनाउन करिब एक हजार चार सय महाधिवेशन प्रतिनिधि पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित गरिएको जनाइएको छ ।
महाधिवेशन आयोजक समितिका चार सय ५० केन्द्रीय नेतालाई स्वतः महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ । कुल एक हजार आठ सय ४९ महाधिवेशन प्रतिनिधिको व्यवस्था गरिएकामा त्यसको पाँच प्रतिशत अर्थात् ९५ प्रतिनिधि मनोनयन गरिनेछ ।
पार्टीका सबै कमिटीमा आबद्ध नेता तथा सम्बन्धित भूगोलमा अधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्थाले परिपक्व नेतृत्व स्थापित गर्न सहयोग पुग्ने पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए । महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सदस्य व्यवस्थित र विस्तार, सङ्गठन निर्माण, प्रशिक्षण, प्रकाशनसहितका कार्य सम्पन्न गरेको छ ।
सम्पर्क कार्यालयलाई व्यवस्थित बनाउन तथा सदस्यहरू विस्तार गर्न सदस्यता शुल्क, लेबीलाई व्यवस्थित गराउने र कार्यालय व्यवस्थापनका लागि सम्पर्क मञ्च र सम्बन्धित कमिटीलाई आवश्यकतानुसार दायित्व तोक्नसक्ने व्यवस्था मिलाएको थियो ।
महाधिवेशनका लागि तयार गरिएको राजनीतिक प्रतिवेदनमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको छ ।
वामपन्थी शक्तिबीचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिएको उक्त प्रतिवेदनमा देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवर्द्धन गर्ने विषय प्राथमिकता छ ।
‘समाजवादी कार्यक्रम’को प्रतिवेदनमा वैज्ञानिक समाजवादी व्यवस्थाको अवधारणा, त्यसको स्वरुप तथा संरचना, सामाजिक प्रभाव, आर्थिक रुपान्तरणका पक्ष, अन्तर्राष्ट्रिय अभ्यासलगायत विषय उल्लेख छन् । देश र जनताको प्रगतिको बाधक तत्वको रूपमा पुँजीवादी व्यवस्थालाई चित्रण गरिएको छ ।
विधानमा ७० वर्षको उमेरहद हटाइएको छ भने युवा सहभागिता वृद्धि, समावेशी सिद्धान्तलगायतका विषयलाई जोड दिइएको केन्द्रीय सदस्य चुना केसीले जानकारी दिए । साङ्गठनिक प्रतिवेदनमा पार्टीलाई गतिशील बनाउन सङ्गठनलाई जनतामा केन्द्रित गर्न सुझाव दिइएको छ । त्यसमा देशभर पार्टीको सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि उल्लेख छन् ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग विभक्तपछि गठन गरिएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको भए पनि एमालेकै निरन्तरता भएको भन्दै दशौँ महाधिवेशन गर्न लागेको जनाएको छ । पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रममा पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
चामल खरिदको ठेक्का पाएर कुहिएको चामल आयात
काठमाडौं । कर्णालीलगायत देशभरका जिल्लाहरूमा खाद्यान्न वितरण गर्ने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले म्याद नाघेको खाद्यान्न खरिद गर्नेगरी टेण्डर आह्वान गरेको छ । चामल खरिदको ठेक्का पाएको सप्लायर्सले भारतबाट म्याद नाघेका, कुहिएका कमसल चामल ल्याएर कम्पनीलाई दिन लागेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जेठ ३२ गते जारी गरेको बोलपत्रअनुसार करिब ७० प्रतिशत चामलको ठेक्का श्री जयगुरु राइस मिल झापाले पाएको छ । सो मिलले कम्पनीको प्रादेशिक कार्यालय धनगढी, मुख्य शाखा कार्यालय राजापुर, तुलसिपुर, भैरहवाको अरुवा मोटा चामलको ठेक्का पार्न सफल भएको थियो ।
‘यो सप्लायर्सको विगतको ट्रयाक रेकर्ड राम्रो छैन, अहिले चामल खरिद गर्ने ठेक्का सोही सप्लार्सलाई परेको छ’, थापाथलीस्थित कम्पनीका एक कर्मचारीले भने । ती कर्मचारीका अनुसार मिलेमतोमा टेण्डर दिलाइएको हो ।‘मिलेमतोमा ठेक्का पाएको जयगुरुले भारतबाट कुहिएको चामल ल्याएर वितरण गर्ने तयारी थालेको छ’, ती कर्मचारीले दावी गरे ।
भारत सरकारले आफ्ना विपन्न नागरिकलाई सहुलियत दरमा एफसिआई चामल वितरण गर्ने गरेको छ । सोही चोरी गरेर राखिएका एफसिआई चामल, मिति गुज्रिएका चामल नवलपरासी र रुपन्देहीको सिमानाकाबाट भन्सार छलेर ट्रकका ट्रक भित्राउने काम अहिले भइरहेको स्रोतले जानकारी दियो । ‘त्यहाँबाट चामल ल्याउनका लागि सशस्त्र प्रहरीको पनि साथ रहेको छ, सशस्त्र प्रहरीलाई पनि मिलाइएकाले एफसिआई चामल ल्याउन सहज वातावरण बनेको हो’, स्रोतले भन्यो ।
यसरी गैरकानुनी ढंगबाट नेपाल भित्राइएका चामलमा नेपाली मिलको लेवल त्यसमा दिइराखिएको छ । शुभराजेश ट्रेडस् परासी , जय श्रीलक्ष्मी सप्लायर्स भैरहवाले अहिले सामाग्री ल्याइरहेका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका केही कर्मचारीसँगको मिलेमतोमा सूचना चुहाई जयगुरु मिलले ठेक्का पार्न सफल भएको थियो । सात ठाउँका लागि चामल माग गरिएकोमा आधाभन्दा बढी ठाउँ अर्थात चार ठाउँको ठेक्का जयगुरुले पाएको छ ।
मिलेमतो बिना एउटै कम्पनीले सबै ठाउँको ठेक्का पाउने सम्भावनानै हुँदैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट वितरण हुने चामल विगतमा पनि यस्तै लफडा भएको थियो । लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामल कर्मचारीकै मिलेमतोमा झ्वाम पारिएको थियो ।
सरकारले निषेधाज्ञा जारी गरेको अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट टे«डिङ कर्पोरेसनको चामल पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने निर्णय भएपछि पत्र लुकाएर जिम्मेवार कर्मचारीले साढे दश लाख रकम झ्वाम पारेका थिए ।
नेपाल सरकारको खाद्य नीति कार्यान्वयन गर्ने आधिकारिक निकायको रुपमा देशभर खाद्यान्न आपुर्ति ब्यवस्था मिलाउन देशका बिभिन्न जिल्लामा कामको प्रकृति, चाप र स्वरुप हेरी कम्पनीको प्रधान कार्यालय काठमाडौमा रहेको छ ।
प्रादेशिक कार्यालय , मुख्य शाखा कार्यालय, शाखा कार्यालय र डिपो कार्यालयहरु स्थापना गरेको छ । डिपो मार्फत प्रादेशिक कार्यालयमा खाद्यान्न आपुर्ति हुने गरेको छ । त्यसका लागि प्रधान कार्यालय १ वटा, प्रादेशिक कार्यालय कार्यालयहरु ७ वटा, मुख्य शाखा कार्यालय ५ वटा, शाखा कार्यालयहरु २५ वटा र डिपो कार्यालयहरु २५ वटा रहेका छन् ।
पार्टीमा गुट उपगुट मौलाएको छः नेतृ रेखा थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले राष्ट्रवादी आन्दोलनलाई मूर्तरुप दिन विशेष महाधिवेशनबाट नयाँ उर्जा लिएर अघि बढ्नु पर्ने सुझाएका छन् ।
राप्रपा भित्रको सुस्त संगठन र पार्टीमा आकर्षणको कमी भएको बेला विशेष अधिवेशन गर्न हिचकिचाउनु नहुने, यस्तो कदम पार्टी र विचारको हितमा हुने ठहर राप्रपा कार्यसम्पादन समिति सदस्य थापाको छ ।
‘पार्टी प्रक्रियासम्मत ढंगबाट अघि बढ्न सकिराखेको छैन, गुट उपगुट मौलाएको छ । संगठन सुस्त छ, आकर्षणमा कमी छ, यस्तो बेलामा विशेष महाधिवेशन गरेर नयाँ उर्जाका साथ अघि बढ्न सके राष्ट्रवादी आन्दोलनले मूर्तरुप लिन्छ । पार्टी र विचारको हित हुन्छ,’ मंगलबार ट्वीट गर्दै थापाले भनिन् ।
‘पार्टी जीवनमा यस्तो निर्णय लिन हिचकिचाउनु हुँदैन,’ उनको भनाइ छ ।
एक सातामा जंगली च्याउ खाएर ३ जनाको मृत्यु
११ असार, हेटौंडा । जंगली च्याउ खाँदा मकवानपुरमा एक हप्तामा ३ जनाको मृत्यु भएको छ ।
विषालु जंगली च्याउलाई तरकारी बनाएर खाँदा ३ असार यता मकवानपुरको राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको १९ जना बिरामी भएका थिए । जसमध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ
३ असारमा कैलाश गाउँपालिका–९ नामटारका विनोद लामालगायत परिवारका सदस्यले जंगली च्याउ खाँदा बिरामी परेका उनको छोरा ४ वर्षीय दिपेश लामाको मृत्यु भएको छ । हेटौंडा अस्पतालबाट थप उपचारका लागि चितवन लगिएका लामालाई परिवारले आफू खुशी घर लगेकोमा ८ असार साँझ बाटोमै मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
कैलाश–९ नामटारकी २५ वर्षीया निरुमाया रुम्बाको पनि मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
निरूमायालाई उपचारका लागि ३ असारमा चितवन मेडिकल कलेज लगेकोमा ९ असारमा उपचार गराउन नसक्ने भन्दै मकवानपुरस्थित हेटौंडा अस्पतालमै ल्याएको थियो । उनको सोबार राति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।
राक्सिराङ गाउँपालिका–७ दुगुवाङ बस्ने ५५ वर्षीय बलबहादुर प्रजाको ९ असारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भएको थियो । मृतक प्रजाको परिवारका अन्य चार जनाको अस्पतालमा उपचार जारी छ ।
उनकी श्रीमती ४५ वर्षीय जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, अर्की छोरी ८ वर्षीया सविना प्रजा र छोरा १० वर्षीय सुशल प्रजाको स्वास्थ्य अवस्था सुधार भइरहेको प्रहरीले जनाएको छ ।
१० असारमा राक्सिराङ गाउँपालिका–८ लाचेका ४ जना जंगली च्याउ खाँदा बिरामी परेको मकवानपुर प्रहरीले जनाएको छ । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको डिएसपी भण्डारीले बताए ।
७ असारमा जंगली च्याउ खाँदा मकवानपुरगढी गाउँपालिका–६ सानुसल्ले र ५ नम्बर वडाको कालिवन बस्ने ८ जना बिरामी भएका थिए । उनीहरू हेटौंडा अस्पतालमा उपचारपश्चात् घर फर्किइसकेका छन ।
आज कसरी छ सुनको मूल्य ?
काठमाडौं । आज नेपाली बजारमा पहेलोधातु(सुन)को मूल्य यथावत रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्यसूची तय गर्दै अघिल्लो दिनकै मूल्यमा आजपनि कारोबार सुरु भएको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ कायम छ ।
यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १८ सय १५ छ । हिजो १८ सय २० मा किनबेच भएको थियो ।
बजेटको पक्षमा मतदान गर्न एमालेको ह्वीप
काठमाडौं । आज बस्ने प्रतिनिधिसभा बैठकमा बैठकमा बजेटलाई निर्णयार्थ पेस तयारी भएपछि सांसद्हरुलाई अनिवार्य बैठकमा उपस्थित हुन पनि एमालेले निर्देशन गरेको छ ।
एमालेले पार्टीका सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीपसमेत जारी गरेको छ ।
यसअघि नेकपा माओवादी केन्द्रले पनि बजेटको पक्षमा मतदान गर्न सांसद्हरुलाई ह्वीप जारी गरेको थियो ।
कांग्रेसले पनि पार्टी निकट सांसद्हरुलाई अनिवार्य रूपमा प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।
विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८४ पैसा रहेको छ । सोमबार डलरको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको थियो ।
यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५९ पैसा रहेको छ । सोमबार युरोको खरिद दर १४२ रुपैयाँ ६० पैसा र बिक्री दर १४३ रुपैयाँ २४ पैसामा कारोबार भएको थियो ।
आज, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १६९ रुपैयाँ ४७ पैसा पुगेको छ। हिजो पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहँदा आइतबार खरिद दर १६८ रुपैयाँ ५१ पैसा र बिक्री दर १६९ रुपैयाँ २७ पैसा रहेको थियो ।
त्यस्तै, आज अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ ९४पैसा रहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसामा कारोबार भैरहेको छ ।
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री कार्की दायर गरेको रिटको आज आदेश आउने
काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीद्वारा दायर रिट हिजो सोमबार ‘हेर्दाहेर्दैमा’ राखिएकोमा आज फैसला आउने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा भइरहेको बहसमा रिट निवेदकले जवाफ दिन बाँकी रहेको छ ।
हिजो मुख्यमन्त्री हिक्मतबहादुर कार्कीका तर्फबाट अधिवक्ताहरू रमण श्रेष्ठ, रमेश बडाल, प्रकाश केसी, टीकाराम भट्टराई, माधव बस्नेत, भिर्माजुन आचार्य, हर्कसिंह रावललगायतले बहस गरेका थिए ।
मुख्यमन्त्री कार्कीका तर्फबाट बहस सकिएपछि रिट निवेदकका तर्फबाट जवाफी बहसका लागि एक घण्टाको समय मागिएपछि सुनुवाइ हेर्दाहेर्दैमा आज (मंगलबार)का लागि राखिएको हो ।
पर्साका एसपी कुमोद ढुंगेलको यो हदसम्म बदमासी ! माथिल्लो निकाय मौन
काठमाडौं । “सत्य सेवा सुरक्षणम्” को पवित्र नारा बोकेर अगाडि बढेको नेपाल प्रहरी र प्रहरीको पवित्र नारालाई बदनाम गराउनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेल तल्लिन देखिएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भई आउंदा प्रहरी उपरीक्षक ढुंगेलले केही महिना तस्करी लगायत अवैध कारोबारहरु बन्द गरी विभिन्न तामझाम देखाएका थिए । हाल पर्साको अधिकांश नाकाहरुबाट खुलेयाम तस्करीलाई लाईन दिई आफ्ना सहयोगीहरु मार्फत मासिक करोडौं असुली गरिरहेको स्रोतले दाबी गरेको छ ।
हाल पर्सा जिल्लाको मुख्य भन्सार नाका, ईनर्वा, छपकैया, श्रीसिया, अलौं, अमरपट्टी, भिस्वा, जानकीटोला लगायतको नाकाहरुबाट प्रहरी उपरीक्षक ढुंगेलले आफ्ना सहयोगीहरु मार्फत मासिक करौडो असुली गरेको समाचार स्रोतले बताएको छ ।
ढुंगेलले निर्वाध रुपमा हुण्डी, सुन, हार्डवेयर, लत्ता कपडा, किरान सामग्री, भैसी लगायतको तस्करीको लाईन दिएको जानकीटोलका एक कपडा तस्करले नाम नभन्ने सर्तमा बताएका हुन् ।
ढुंगेलले आफुलाई आँखाको डाक्टर बताउने डा. महेश सिंह धामी मार्फत अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेडले खेलाउदै आएको चिठ्ठाबाट मासिक ५ लाख, हुन्डी कारोबारीहरुबाट मासिक १७ लाख, सुन कारोबारी लगायतका अवैध कारोबारीहरुबाट मासिक करोडौं रुपैया असुली गरिरहेको समाचार स्रोतको दाबी छ ।
प्रहरी उपरिक्षक ढुंगेलले प्रत्येक दिन बिहान ८ बजे देखि राती १० बजे सम्म डा। धामीलाई बिचौलियाका काम गराउन आफु सँगै राखी अवैध कारोबारको रकम उठाउन लगाउने स्रोत बताउछ ।
पेशाले धामी डाक्टर भए पनि पेशाको आवरणमा जिल्ला प्रहरी कार्यालय पर्सामा दलालीको काम गर्दै आएको जो कोहीले पनि सजिलै देख्न सकिने बताइन्छ ।
यति मात्र होईन, जिल्ला प्रहरी कार्यालयमा ग्रामिण क्षेत्रबाट आफ्नो समस्या लिएर आउने पिडितहरु सँग ‘बार्गेनिङ्ग’ गरी रकम लिएपछि प्रहरी उपरिक्षक ढुंगेल सँग भनसुन गरी काम गराउदै आएको एक पिडितले नाम नलेख्ने सर्तमा बताएका छन् ।
प्रहरी उपरीक्षक ढुंगेलको असुली धन्दाले जिल्ला प्रहरी कार्यालय पर्सा पूर्णरुपमा बदनाम भईसक्दा पनि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायत नियमनकारी निकायको ध्यान नपुग्दा पर्सावासीहरु आश्चर्यमा परेका छन् ।
यता, पर्सा प्रहरी प्रशासनको संरक्षणमा अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेडको ठगी धन्दा अझै रोकिएको छैन । वीरगंजको भिस्वा त्रिशुल चौक नजिकै रहेको अभियानको कार्यालयले वर्षौ देखि गर्दै आएको ठगी धन्दा नरोकिएपछि प्रहरी प्रशासनको नै संरक्षण रहेको पुष्टि भएको छ ।
अभियान डिजिटल वल्र्ड प्राईभेट लिमिटेड नामक व्यवसायिक फर्मले काठमाडौंमा ईलेक्ट्रोनिक सामानहरु एसेम्बलीङ गरी विक्री गर्ने अनुमति लिए पनि पर्सा जिल्लामा करिब ८ हजार सदस्य बनाई महिनौ पिच्छे ११ सय ७५ को दरले रकम जम्मा गरी युट्युब मार्फत चिठा खोल्दै करोडौं करोड ठगी गरिरहेको छ ।
सोझासाझा जनतालाई सदस्य बनाई चिठा खेलाउदै गरेका घडिअर्वा निवासी दिपेश वर्णवाल, रानीघाट निवासी सुशिल सर्राफ र नगवा निवासी ऋषिकान्त गुप्तालाई कारवाहीको दायरामा नल्याएर लुटतंन्त्रलाई पर्साा प्रहरी प्रशासनले बढावा दिईरहेको आरोप लागी रहदा तै चुप मै चुमको अवस्था किन आएको होरु जवाफ कसैले दिन नसक्ने परिस्थिति पर्सा प्रशासनको सामु छ।
सो अभियान दोलखा निवासी विष्णु प्रसाद काफ्लेको नाममा दर्ता रहे पनि कमिशनवेसमा वीरगंज निवासी दिपेश, सुशिल र ऋषिकान्तले हजारौं सोझासाझा जनतालाई ललिपप देखाउदै चिठा खोल्दै ठग्ने गर्ने गरेका छन् ।
सो कम्पनीका मुख्य संचालक दोलखा निवासी विष्णु प्रसाद काफ्लेले उद्योग स्थापना गर्ने ठेगाना काठमाडौं महानगरपालिका वडा नं। १३ मा देखाए पनि उनी देशको दर्जनौ स्थान काठमाडौं, नारायणघाट, राजविराज, बुटवल, भैरहवा, वीरगंज लगायतका ठाउंहरुमा चिठ्ठा र किस्ताबन्दी खेलाउदै करोडौं करोड दिनदहाडै ठगी गरिररहदा पनि प्रहरी प्रशासन मुकदर्शक भएर बस्नुको अर्थ के यो ठगी धन्दा बुझ्नेहरुको प्रश्न छ।
वीरगंजमा मात्र चिठ्ठा र किस्ताबन्दीको सदस्य बन्नेहरुले प्रवेश शुल्क रु। ५० र मासिक शुल्क ११ सय ७५ रुपैया कम्पनीको प्रतिनिधि मार्फत जम्मा गर्ने गरेका छन् ।
किस्ताबन्दी खेल्ने सदस्यहरुलाई मात्र युटयुबमा जोडी मुख्य सञ्चालक विष्णु प्रसाद काफ्लले गोला प्रथा मार्फत गोप्य ठाउँमा चिठ्ठा खोल्ने गरेका छन् ।
महिनैपिच्छे चिठ्ठा किस्ताबन्दीको रुपमा कहिले स्कूटी, कहिले मोटरसाईकल, कहिले कुलर, कहिले फ्रिज, कहिले वासिङ्ग मेसिन, कहिले सिलाई मेसिन, कहिले मोबाईल, ल्यापटप र सुनका आकर्षक गरगहनाहरु देखाउदै सदस्यहरुलाई लोभ्याउदै आएका छन् । दिपेश वर्णवाल, सुशिल सर्राफ र ऋषिकान्त गुप्ताले पर्सा, बारा र रौतहट जिल्ला लगायत मधेश प्रदेश भरी नै चालु किस्ताबन्दीको ७ हजार ९ सय ९९ जना सदस्यहरु बनाउन सफल भएको बताईन्छ ।
मुख्य सञ्चालक काफ्लेलाई केही हिस्सा दिई बाँकी रकमहरुमा तीनै जना सञ्चालकहरु बाडफाड गर्ने गरेको सो कार्यक्रममा सहभागीहरुले नै बताउछन् ।
चिट्ठा ऐन २०२५ को दफा २ मा चिट्ठा विक्रि वितरण गर्न र खोल्न नपाउने व्यवस्था रहेको छ । तर दफा ३ मा नेपाल सरकारको स्विकृति लिएर चिट्ठा खोल्न सकिने व्यवस्था पनि रहेको छ । ३ को उपदफा (क) मा कुनै परोपकारी वा सार्वजनिक हित सम्बन्धि कार्यको सहायतार्थ चिट्ठा खोल्दा संस्थाले मात्र खोल्न पाउने छ र त्यसरी चिट्ठा खोल्दा चिट्ठा विक्रि भई प्राप्त भएको कुल रकम मध्येबाट ६० प्रतिशत पुरस्कार बाँडिने छ । त्यसपछि बाँकी हुन आएको रकमलाई सम्बन्धित संस्थाले परोपकारी सार्वजनिक हित सम्बन्धि र चिट्ठा सञ्चालन सम्बन्धि काममा लगाउन सक्ने व्यवस्था रहेको उल्लेख छ । तर गैरकानुनी रुपले चिट्ठा खेलाउनेलाई दफा ७ बमोजिम बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा ६ महिना सम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था रहेको ऐनमा उल्लेख छ ।
खुलेआम चिठ्ठा खेलाइएको भिडिओ हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
मौसमः देशभर मनसुनी वायुको प्रभाव, देशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । अहिले देशभरीनै मनसुनको प्रवाभ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको प्रभावले देशभर बदली भएको महाशाखाले जनाएको छ । यतिवेला कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि साधरणतया बदली रहने छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज संसद बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ।
त्यसअघि सांसदहरूले विभिन्न मन्त्रालयहरूको खर्च कटौतीको प्रस्ताव पेस गर्नेछन्।
त्यसपछि अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै अर्थमन्त्री पुनले आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
यस्तै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार महसुलसम्बन्धि विधयेक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
टी–२० विश्वकप – अपराजित भारत समूह विजेता बन्दै सेमिफाइनलमा
काठमाडौं । अस्ट्रेलियामाथि २१ रनको जित निकाल्दै भारत टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा पुगेको छ।
समूह १ मा रहेको भारतले अस्ट्रेलियालाई हराएसँगै समूह विजेता बन्दै सेमिफाइनल पुगेको हो।
समूह चरणबाटै अपराजित भारतको सुपर ८ का तीन खेलमा जित निकाल्दा ६ अंक बटुलेको छ। अब यो समूहबाट अर्को कुन टोली सेमिफाइनल पुग्छ टुंगो छैन। बंगलादेश र अफगानिस्तानबीचको सुपर ८ को अन्तिम खेल अहिले जारी छ।
अफगानिस्तानले जित निकाले अफगानिस्तान आफै र बंगलादेश विजयी बने रन रेटका आधारमा एक टोली सेमिफाइनल पुग्छ। यो समूहमा ३ खेलबाट अस्ट्रेलियाको २ र अफगानिस्तानको २ खेलबाट २ अंक छ। यता कुनै खेल नजितेको बंगलादेश अंकविहीन छ।
सोमबार बेलुकाको खेलमा भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो।
अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले ४३ बलमा ९ चौका र ४ छक्का सहित सर्वाधिक ७६ रन बनाएपनि टोलीको हार टार्न सकेनन्।
मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २० तथा टिम डेविडले १५ रन थपे। भारतका अर्शदिप सिंहले ३ विकेट लिए। कुलदीप यादवले २ तथा जश्रप्रित बुमराह र अक्षर पटेलले समान १ विकेट लिए।
त्यसअघि अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रनको योगफल तयार पारेको थियो।
कप्तान रोहित शर्माले ४१ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै ९२ रनको उत्कृष्ट कप्तानी पारी खेले।
सूर्यकुमार यादवले ३१, शिभम दुबेले २८, हार्दिक पन्ड्याले २७ तथा ऋषभ पन्तले १५ रन बनाए। अस्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोईनिस समान २ विकेट लिए। जोश हेजलवुडले १ विकेट झारे।