दुई जित निकाल्दै पोर्चुगल नकआउट चरणमा

काठमाडौं । युरो २०२४ मा लगातार दुई जित निकाल्दै पोर्चुगल नकआउट चरणमा पुगेको छ।

टर्कीमाथि ३–० को जित निकाल्दै क्रिस्टियानो रोनाल्डोको टिम नकआउट चरणमा पुगेको हो।

टर्कीमाथि जित निकाल्न पोर्चुगलका बेर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले गोल एक(एक गोल गरेका थिए। थप एक गोल भने टर्कीका डिफेन्डरको गल्तीले लागेको थियो। खेलभर पोर्चुगलले दबदबा राख्यो।

खेल सुरु भएको २१ मिनेटमै सिल्भाले गोल गर्दै अग्रता दिलाएका थिए।

त्यसको ७ मिनेट पश्चात् अर्थात २८ औँ मिनेटमा पोर्चुगलले उपहार स्वरूप अर्को गोल पाएको थियो। २(० को अग्रतालाई ५५ औँ मिनेटमा गोल गर्दै ब्रुनो फर्नान्डेजले ३‍‍० मा पुर्‍याएका थिए।

यो जितसँगै समूह इ बाट पोर्चुगल नकआउट चरणमा पुगेको छ। २ खेलमा २ जित निकाल्दै पोर्चुगल ६ अंकका साथ समूह विजेता बनेर माथिल्लो चरणमा पुगेको हो।

यो समूहबाट टर्की ३ खेलबाट एक जितका साथ ३ लिएर दोस्रो र दुई–दुई खेल खेलेका चेक गणतन्त्र र जर्जिया भने एक–एक अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

आजको राशिफलः २०८१ असार ९ गते

मेष : मान्यजन र उच्चपदस्थ व्यक्तिहरूबाट समर्थन र सहयोग जुटाउन सकिने छ, बलियो भाग्यबल रहेको छ । हाँकेरताकेका हरेक क्रियाकलापमा सफलता पाउन सक्नुहुन्छ । जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष : परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ । स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । लक्ष्यप्रति ध्यानकेन्द्रित नहुने समय छ, चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी अपनाउनु ठीक हुन्छ, अनि आज कार्यक्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन : मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । मन फुरुङ्ग हुने दिन छ । गीतसङ्गीत एवं ललितकलाका अन्य विषयहरूमा तथा सुगन्धित एवं सौन्दर्यपूणर् वस्तुहरूमा झुकाव बढ्नेछ । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ लक्ष्मीनारायणाभ्यां नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट : मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूणर् घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो । आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह : बुद्धिले भाउ पाउने समय हो, लेखन, कला वा संगीतजस्ता अतिरिक्त क्रियाकलापमा रुचि राख्नुहुन्छ भने आज सहकर्मीका माझमा प्रतिष्ठित बन्न पाइने छ । प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । आज सफलताले प्रतीक्षा गरिरहेको दिन हो, त्यसैले सानातिना कुराहरूको बेवास्ता गर्दै ठूला र राम्रा काम बनाउने प्रयास गर्नुपर्छ । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ कलेजीरगाढा रातो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ घृणि सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या : परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । नसोचेको धन प्राप्त हुने वा कतैबाट ऋणरसापटीमा रकम उठाउने समय हो, तर धनको स्थिरता र वचतमा ध्यान दिनु आवश्यक देखिन्छ । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमश्चण्डिकायै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला : दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो । पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षारअन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ विघ्नविनाशिने नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक : आध्यात्मिक वा दार्शनिक विषयवस्तुप्रति मोह जाग्नेछ, नजानेको कुनै सीपका बारेमा समेत जानकारी बटुल्न सकिने छ, प्रयास गरेको काममा सफलता मिल्नेछ । दैनिक आम्दानीमा बढोत्तरी हुनेछ, कतिपय विषयमा बोलीकै भरमा काम सम्पादन हुनेछ, साथै हाकिम र सेवाग्राही दुवै पक्ष प्रसन्न रहनेछन् । मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ । आज १५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनुः बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर : बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ । बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्नसक्छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महाकालाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ : व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ । लाभमूलक विषयमा लगानी गरेमा भविष्य सुध्रने छ । सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ । पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ कलेजी र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हिरण्यगर्भाय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन : नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजीरगाढा रातो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

नेकपा एकीकृत समाजवादीले महाधिवेशनमा साझा दस्ताबेज लैजाने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र सांगठनिक प्रतिवेदनलाई साझा दस्तावेज बनाउने निर्णय गरेको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा शनिबार बसेको बैठकले चारवटा प्रतिवेदनलाई सर्वसम्मतिले अनुमोदन गरेपछि प्रतिवेदनलाई एउटै दस्तावेज बनाएर महाधिवेशनमा लैजाने विषयमा छलफल गरेको हो।

असार १६ देखि २० गतेसम्म काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने राष्ट्रिय महाधिवेशनमा सो दस्तावेजमा छलफल गरिनेछ। महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीले अहिलेसम्म गरेका तयारीबारे जानकारी गराइएको बैठकमा आर्थिक व्यवस्थापनका विषयमा समेत छलफल गरिएको पोलिटब्युरो सदस्य भाष्कर काफ्लेले जानकारी दिए।

छनोट गरिएका प्रतिनिधिको कुल संख्याको पाँच प्रतिशत अर्थात् ९५ जना प्रतिनिधि, क्षेत्र, भूगोल, समावेशी ढंगले सन्तुलन मिलाएर विवादरहित तरिका मनोनयन गर्ने विषयमा छलफल गरिएको छ।

मुलुकको समसामयिक विषयवस्तु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे समीक्षा गरिएको बैठकमा समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ। पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रममा पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

इटालीको डुङ्गा दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३४ पुग्यो

एजेन्सी । इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको आप्रवासी जहाज दुर्घटनामा थप १४ जनाको शव फेला परेसँगै र मृतकको संख्या ३४ पुगेको पुष्टि गरेको छ । ‘यस हप्ताको सुरुमा क्यालाब्रियाको तटमा भएको डुङ्गा दुर्घटनामा ११ जनाको उद्धार गरिएको थियो भने ६० भन्दा बढी बेपत्ता भएका थिए’, तटरक्षकले एक विज्ञप्तिमा जानकारी गरायो । बेपत्ता व्यक्तिहरूको लागि हवाई एवम् समुद्री खोजी जारी रहेको बताएको छ ।

तटरक्षकले बिहीबार महिला र बालबालिकासहित १२ जनाको शव फेला परेको जानकारी गराएको हो । यस हप्ताको सुरुमा मेडिकल च्यारिटी डक्टरस विदाउट बोर्डर्स एमएसएफले कम्तीमा २६ जना बालबालिकासहित ६६ जना बेपत्ता भएको जानकारी दिएको थियो ।

जर्मन सहायता समूह ‘रेस्क्युशिप’ का अनुसार सोमबार इटालीको लम्पेडुसा टापुमा डुबेको आप्रवासी डुङ्गामा १० जनाको शव फेला परेको थियो । संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनका अनुसार गत वर्ष भूमध्यसागरमा करिब ३ हजार १५५ आप्रवासीको मृत्यु र बेपत्ता भएका थिए । यस वर्ष अहिलेसम्म एक हजार भन्दा बढीको मृत्यु र बेपत्ता भएका छन् । उत्तरी अफ्रिका र इटाली र माल्टा बीचको क्षेत्र भूमध्यसागर विश्वको सबैभन्दा घातक आप्रवासन मार्ग हो ।

विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताल

काठमाडौं । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णयले विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई नियुक्त गरेको छ ।

बैकले अध्यक्षमा धितालसहित सदस्यमा डा.मधुसूदन अधिकारी र झमकप्रसाद शर्मालाई नियुत्त गर्ने निर्णय गरेको थियो ।

लामो समयदेखि ऊर्जा क्षेत्रको नीति निर्माणमा सरकार तथा सरोकारवाला क्षेत्रमा योगदान गरेका धितालले यसअघि पनि आयोगको सदस्यमा करिब ३ वर्ष सदस्यको जिम्मेवारी पूरा गरिसकेका हुन् ।

करिव तीन दशक यसै क्षेत्रमा योगदान पुर्याएका उनले ऊर्जा विकासका क्षेत्रमा नीति निर्माण, योजना कार्यान्वयन र अनुगमनमा उल्लेख्य योगदान दिएका धिताल र अधिकारी आयोगको छविलाई माथि उठाउन सक्ने व्यक्तित्वको रुपमा हेरिएको छ । अध्यक्षसहित ४ सदस्य रहने आयोगमा एक सदस्य गौतम डंगोल भने जिम्मेवारीमै छन् ।

कानुनी विवादका कारण महिला सदस्यको भने नियुक्त हुन सकेको छैन ।

पत्रकार महासंघको निर्णयप्रति समाजवादी प्रेस संगठनको आपत्ति

काठमाडौं । पत्रकार महासंघले शुक्रबार राति असार २२ गते मतदान हुनेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको प्रति समाजवादी प्रेस संगठनले आपत्ति जनाएको छ ।

संगठनले सदस्यता विवाद हल नगरी नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोप्रति शनिवार एक विज्ञप्ति सार्वजनीक गर्दे आपत्ति जनाएको हो ।

शनिबार संगठनका अध्यक्ष विश्वमणि सुवेदीले विज्ञप्ति जारी गर्दै सदस्यता विवाद हल गरेरमात्रै निर्वाचन कार्यक्रम सार्वजनिक गरिनुपर्छ भन्ने बहुसंख्यक पत्रकार संगठनको मागलाई महासंघले लत्याएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘महासंघको निर्वाचन गर्नका निम्ति तयार पारिएको सदस्यता विवरणमा आपत्ति जनाउँदै हामीले तालाबन्दी गर्नुपरेको थियो । अहिले त्यही विवरणका आधारमा निर्वाचन गराउन खोज्नु आपत्तिजनक छ ।’

दुई बुँदे सहमति गर्दै तालाबन्दी गर्नुपर्नाका कारणलाई हल गरिने, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, अन्तरजिल्ला स्थानान्तरण र शुद्धीकरणका सम्बन्धमा तालाबन्दी गर्ने तीन संगठनका मागलाई सम्बोधन गरिने प्रतिवद्धता पत्रमा महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले हस्ताक्षर गरेपनि प्रतिवद्धताविपरितको सदस्यता विवरणका साथ निर्वाचनलाई अगाडि बढाउन खोज्नु निन्दनीय भएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ,‘पत्रकारलाई महासंघको सदस्यताबाट बञ्चित गर्ने र गैरपत्रकारका नाम थप्ने होडबाजीबीच तयार पारिएको सदस्यता सूची खारेज गरिनुपर्छ । न्यायोचित सदस्यता सूची प्रकाशित नगरी हुने निर्वाचन महासंघलाई निश्चित संगठनको सिण्डिकेट बनाउने परिपञ्च हो, हामीलाई त्यस्तो निर्वाचन स्वीकार्य छैन ।’

सहमतिका साथ सदस्यता विवाद सुल्झाउन र निर्वाचन कार्यक्रम ल्याउन महासंघ आग्रह गरेका छन्।

चलचित्र ‘घरज्वाइँ’को नयाँ गीत ‘बिन्जुरी’ (भिडिओ)

काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत ‘घरज्वाइँ’ले नयाँ गीत ‘बिन्जुरी’ सार्वजनिक गरेको छ । एसडी योगीको सङ्गीत रहेको गीतमा राम अविरल बिस्टको शब्द तथा सङ्गीतकार योगीको स्वर रहेको छ ।

प्रेमिल शैलीको यो गीतमा दयाहाङको मिरुनाप्रतिको प्रेम आकर्षणलाई महशुष गर्न सकिन्छ। गीतमा मिरुनालाई ‘बिन्जुरी’का रुपमा सम्बोधन गरिएको छ। बिन्जुरीको अर्थ फूल हो ।

अनिल बुढामगरले निर्देशन गरेको फिल्म असार २८ गते रिलिज हुँदै छ। जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

फिल्ममा दयाहाङ र मिरुनाको अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।

बजेटः धनगढी उपमहानगरको बजेट २ अर्ब १८ करोड

धनगढी । आगामी आर्थिक बर्ष २०८१/८२ का लागि धनगढी उपमहानगरपालिकाले दुई अर्ब १८ करोड ८२ लाख ३२ हजार २२० रुपैयाँ बराबरको बजेट सार्वजनीक गरेको छ ।

पालिकाको ११ औं नगर अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

उनकाअनुसार चालु खर्चतर्फ एक अर्ब २० करोड १५ लाख ४४ हजार ११७ रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ ९८ करोड २६ लाख ८८ हजार बजेट विनियोजन गरिएको छ ।

विनियोजित बजेटमा खर्च ब्यहोर्ने स्रोतमा आन्तरिक आयतर्फ ३६ करोड ७६ लाख, राजश्व बाँडपफाँटबाट ४८ करोड २९ लाख ५४ हजार, अन्तर सरकारी वित्ततर्फ संघीय सरकारले हस्तान्तरण गर्ने एक अर्ब एक करोड ८७ लाख, अन्तर सरकार प्रदेशले हस्तान्तरण गर्ने आठ करोड २८ लाख र उपमहानगरपालिकाको चालु आर्थिक वर्षको विनियोजनबाट २३ करोड २३ लाख बचत हुने अनुमान गरिएको छ ।

रानाले अगामी वर्षका लागि बराबरको बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

शान्ति प्रक्रिया नटुङगिएको कारण अहिलेको परिवर्तन ‘सहिद’ नै रह्योः परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । शान्ति प्रकृयाका काम छिटो पुरा हुने परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जिकिर गरेका छन् । शनिबार काठमाडौंमा आयोजित स्मृतिमा पद्यमरत्न तुलाधार पुस्तक विमोचन कार्यक्रममा उनले, शान्ति प्रक्रिया नटुङगिएको कारण अहिलेको परिवर्तन ‘सहिद’ नै रहेको बताएका हुन् र

उनले संक्रमणकालिन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिवद्धताकासाथ अगाडि बढिराखेकोसमेत बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने उनले भने, ‘नेपाल अहिले शान्ति प्रक्रियाको कारणले गर्दा हालको परिवर्तन सहिद छ । शान्ति प्रक्रियाको काम अझै गर्न बाँकी छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिवद्धताकासाथ अगाडि बढ्नुपर्नेछ ।’

उनले स्वर्गीय पद्यमरत्न तुलाधार एक वहुआयामिक व्यक्तित्व रहेको स्मरण गरे । तुलाधारले उत्पीडित भाषा र सांस्कृतिको पक्षमा भएको आन्दोलनको नेतृत्व गर्नका साथै त्यो आन्दोलनमार्फत नेपालको यथास्थितिवाद र राजनीतिक निरङकुशताका विरुद्ध पनि संघर्ष झेलेको बताए ।

अबैध ढङ्गले भित्र्याइएको युरिया मल बरामत

वीरगञ्ज । भारतबाट अबैध ढंगबाट भित्राइएको सातसय १२ बोरा मल प्रहरीले पक्राउ गरेको छ । करिव १० लाख मूल्य पर्ने उक्त मल गैरकानुनीरुपमा भारतीय मल भन्सार छली चोरीपैठारी गरी वीरगञ्जमा ल्याई अनाधिकृत भण्डारण गरेर राखेको ५० केजीका सात सय १२ बोरा मल बरमत गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले भारतबाट भन्सार छली गरेर अवैध ढङ्गले मल भित्र्याएर भण्डारण गरिराखेको सूचनाका आधारमा छापामर्दा सो मल बरामद भएको बताए ।

प्रहरीले अवैध मल भित्र्याएर भण्डारण गर्ने काममा संलग्न रहेको भन्दै नवलपरासी कावासोती नगरपालिका–९ बस्ने ६२ वर्षीय ज्ञानबहादुर महतोलाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । बरामद भएको मल पनि शुक्रबार नै भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ । भाडाका घरमा अनधिकृतरुपमा युरिया मल भण्डारण गरेका अवस्थामा प्रहरीले फेला पारेको थियो ।

बाबुरामको पार्टी छोडेका नेताहरु ‘न यता, न उता’

विपुल अधिकारी
काठमाडौं । डा.बाबुराम भट्टराईको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा)बाट अलग भएका नेताहरुको अहिले विचल्ली भएको छ । नेसपा फुटेर नेकपा (माओवादी केन्द्र)मा जानका लागि महिन्द्रराय यादव, गंगानारायण श्रेष्ठसहितका नेताहरूहरुले बाबुरामको पार्टी छोडेका थिए ।

न यता न उता भएका नेताहरुले चैत ३ मा माओवादीसँग एकता गर्न तयार भएर नेसपा छोडेका थिए । नेसपा छोडेर माओवादीसँग एकता गर्न प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लिखित रुपमै सहमति गरेका थिए ।
नेसपा छोडेका एक नेताका अनुसार माओवादीकै बेवास्ता र आलटालका कारण माओवादीमा विलय हुने प्रकृया रोकिएको हो । सिङ्गो पार्टी नै माओवादीसँग एकता गर्न सहमति नजुट्ता बाबुराम समूहलाई छोडेर यादवसमूहमात्र फुटेर माओवादीसँग एकता गर्न आएको थियो ।

माओवादीसँग एकता गर्न चारबुँदे सहमति गरेको दुई पक्षबीच वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न माओवादीका तर्फबाट महासचिव देव गुरुङ र महिन्द्र पक्षबाट नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा कार्यदल बनाएर प्रकृया अघि बढाइएको थियो ।

स्रोतले बताए अनुसार सहमति भएको मिति चैत ३ यता एक पटक मात्र कार्यदलको बैठक बसेको छ । माओवादीका एक नेताका अनुसार पछिल्लो समय एकताको लागि छलफलनै चलेको छैन । ति नेता भन्छन्– ‘महेन्द्र जीहरु माओवादी भइसक्नुभएको छ । अब उहाँहरुसहितका नेताहरुलाई पदिय जिम्मेवारी दिन मात्र बाँकी छ ।’

माओवादीका एक पदाधिकारीका अनुसार महिन्द्रलाई पदाधिकारी र गंगानारायणलाई केन्द्रीय समितिमा समेट्ने प्रयास भइरहेको छ । अध्यक्ष प्रचण्डले उक्त प्रकृयामा समय दिन नभ्याएका कारण अन्य नेताले चासो नदिएको महिन्द्रनिकट एक नेताको भनाई छ ।

यता नेसपाले भने एक सूचनानै निकालेर महिन्द्रलाई कार्वाही गरेको जनाएको छ । नेसपाले पार्टी हितविपरीत काम गरेको, स्पष्टिकरण माग्दा चित्त बुझने स्पष्टिकरण नआएकोलगायतका कारण कार्वाही गरिएको जनाएको छ ।
महिन्द्र भने नेसपाले आफूलाई कारबाही गर्न नमिल्ने बताउँछन् । उनी भन्छन् ‘बाबुरामजीले कारबाही गरेर केही हुन्न । हामी एकताको तयारीमा छौँ । एकता अब भइहाल्छ ।’


महिन्द्र निकट स्रोत भन्छ – ‘एकता महाधिवेशन अब चाडै हुन्छ । जुन महाधिवेशनमा पार्टीको नाम फेरिन्छ, हामी मात्र होइन । विप्लव (नेत्रविक्रम चन्द) सँग पनि एकता हुन्छ ।’

महिन्द्रलाई अघि सारे मधेशमा माओवादी शक्ति बढ्ने प्रचण्डको अनुमान छ । हुन त माओवादीसँग एकता प्रक्रियामा सहमति हुँदा महिन्द्र प्रचण्डकै नेतृत्वमा खानेपानी मन्त्री थिए ।

नेसपाबाटै माओवादीसँग एकता गर्न तयार गंगानारायण भने बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री छन् ।
माओवादीका महासचिव गुरुङले महाधिवेशनपछि पार्टी एकता हुने बताए पनि महाधिवेशन कहिल्यै हुने टुंगो छैन । माओवादीको आठौँ महाधिवेशन २०७८ पुसमा भएको थियो।

आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । आज देशभरनै मनसुन फैलिएको छ ।

कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज बिहान पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ ।

अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू(भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशका थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

गण्डकी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

युरोकप-२०२४ः नेदरल्यान्ड्स र फ्रान्स गोलरहित बराबरी

एनेन्सी । युरोकप–२०२४ को समूह चरणको खेलमा नेदरल्यान्ड्स र फ्रान्स बराबरीमा रोकिएका छन् । आफ्नो दोस्रो खेलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । लेइपजिग स्टेडियम जर्मनीमा शुक्रबार राति भएको खेलमा केलियन एम्बाप्पे बिनाको फ्रान्सले बल पोसेसन राखे पनि फिनिसिङमा चुकेको थियो ।

यता, नेदरल्यान्ड्सले दोस्रो हाफमा गोल गरे पनि रेफ्री र भिडियो सहायता रेफ्री (भीएआर) को विवादास्पद निर्णयले गोलले मान्यता नपाउँदा जितबाट वञ्चित बन्यो । खेल बराबरीमा सकिएसँगै दुवै टोली नकआउट चरण नजिक पुगेको छ । तर, यस खेलमा जित निकाल्ने टोलीले नकआउट चरणमा स्थान बनाउने थियो ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा फ्रान्सको कप्तानी एन्टोइन ग्रिजमनले गरेका थिए । दुबै टोलीको दुई खेल पछि चार अंक पुगेको छ । गोलअन्तरमा नेदरल्यान्ड्स समूह ‘डी’ मा शीर्षस्थानमा तथा फ्रान्स दोस्रोमा छ । अस्ट्रिया दोस्रो तथा पोल्यान्ड पुछारमा छ । अब नेदरल्यान्ड्सले अस्ट्रियासँग तथा फ्रान्सले पोल्याण्डसँग खेल्नेछ ।

स्कारपियो भिरमा खस्दा दुई जनाको मृत्यु

रौतहट । रौतहटमा स्कारपियो सडकबाट भिरमा खस्दा दुई जनाको ज्यान गएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको धन्सार पुल नजिक टायर पड्किएर भारतीय नम्बर प्लेटको स्कारपियो सडकबाट भिरमा खस्दा दुई जनाको ज्यान गएको प्रहरलिे जनाएको छ ।

मृत्यु हुने दुइजनै भारतिय रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

सर्लाहीको बाग्मती नगरपालिकास्थित भरत ताल घुमेर बाराको पिलुवा जाँदै गरेको बिआरजिरो ५ एटि ५९६३ नम्बरको स्कारपियो जीपको पछाडि बायाँ साइडको चक्का पड्किएपछि अनियन्त्रित भई राजमार्गबाट तल खसेको थियो ।

जीप खयरको रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रुखमा ठोक्किएर क्षतिग्रस्त जीपमा सवार दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । जीपमा सवार चार जना घाइते भएका छन् । घाइतेको बारास्थित निजगढ सामुदायिक अस्पतालमा उपचार गरिएको प्रहरीले जनायो ।

दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक सुरेन्द्र विक्रम बर्तौलाको टोली घटनास्थल पुगेको थियो ।

प्रहरी निरीक्षक बर्तौलाका अनुसार दुर्घटनामा परी जीपमा सवार भारत बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत झिट्काही –४ का ३५ वर्षीय तमन्ना शेखको मृत्यु भएको छ । दुर्घटनामा अर्का गम्भीर घाइते २१ वर्षीय ईर्फान आलमको मेडिसिटी बयोधा अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । आलमको मुख र टाउकोमा चोट लागेको थियो । स्कारपियो चालक २२ वर्षीय सोहेल अमिर घाइते छन् ।

नेकपा एसको विशिष्ट नेताको सुरक्षा फरक ढङ्गले

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आसन्न राष्ट्रिय महाधिवेशनस्थल तथा विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी राजनीतिक तथा सुरक्षा समन्वय कमिटीलाई दिएको छ ।
महाधिवेशनस्थलमा आउने सबै प्रतिनिधि, शुभकामना दिन आउने विभिन्न पार्टीका नेता, पर्यवेक्षकलगायत विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनको जिम्मेवारी सो कमिटीलाई तोकिएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए ।
पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा गठित १६ सदस्यीय कमिटीलाई पूर्णता दिइएको छ । कमिटीको सहसंयोजकमा जयन्ती राई, सचिवमा कृष्णराज पन्त छन् ।
कमिटीको सदस्यमा जगनाथ खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, विरोध खतिवडा, भानुभक्त जोशी, अमरबहादुर थापा, उदयबहादुर बोहोरा, राजेन्द्रलक्ष्मी गैरे, शर्मिला पौडेल, विनोद मैनाली, वसन्त बस्नेत, हरिप्रसाद शर्मा र सविता अर्याल छन् ।
यही असार १६ गतेदेखि २० गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको भावी नीति तथा कार्यक्रम घोषणाका साथै नयाँ नेतृत्व चयन गर्नेछ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट छुट्टिएको पार्टीले आसन्न महाधिवेशनलाई १०औँ राष्ट्रिय महाधिवेशन भनेको छ ।
आफूलाई २००६ सालमा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको उत्तराधिकारी मानेको एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौवटा महाधिवेशनको स्वामित्व लिँदै आगामी महाधिवेशनलाई १०औँ मानेको तर्क गरेको छ ।

-युबराज झा बाट