बागमतीका मुख्यमंत्री लामाले पाए विश्वासको मत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो।

मतसम्बन्धी प्रस्तावमा भएको मतविभाजनका क्रममा लामाको पक्षमा ६४ मत प्राप्त भएको र विपक्षमा ३५ मत प्राप्त भएको सूचना  प्रदेशसभाका सभामुख भुवन पाठकले  सुनाए।

त्यस्तै, तीन सांसद तटस्थ बसे। मुख्यमन्त्री लामा गत साउन ८ गते एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

पार्टी निर्माणमा लाग्नुहोस् : महासचिव पोख्रेल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले पार्टी निर्माणमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नेकपा (एमाले) दाङको बैठकलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले भने, ‘एमालेका नेता कार्यकर्ताहरुको काँधमा समृद्ध मुलुक निर्माण गर्ने दायित्व थपिएको छ । यही दिशामा लाग्नुहोस् ।’

पार्टीलाई जनतासँग जोड्ने अभियानलाई तीब्र बनाउँदै लैजान निर्देशन दिँदै महासचिव पोख्रेलले एमालेलाई जनताको रोजाइको पहिलो पार्टी बनाउनतर्फ सबै लाग्नुपर्ने बताए । ‘जनमतको हिसावले मुलुकको पहिलो पार्टी हुँदाहुँदै पनि प्राविधिक कारणले एमाले दोस्रो पार्टी बनेको छ । एमाले नेता कार्यकर्ताहरुले यो कुरा कहिले पनि भुल्नु हुँदैन’, महासचिव पोख्रेलले भने, ‘विगतका कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्नु पर्दछ । नमिलेका कुरालाई मिलाउँदै रोकिएको पार्टी निर्माणको गतिलाई अगाडि बढाउनुपर्दछ । तपाईँहरु आजैबाट यो कार्यमा लाग्नुहोस् ।’

एमालेलाई उथलपुथल नभई विकास चाहिएको भन्दै महासचिव पोख्रेलले उथलपुथलका नाइके प्रचण्डसँगको सहकार्य तोडेर नयाँ यात्रा प्रारम्भ गरेको बताए । प्रचण्डले सुरु गरेको अस्थिरताले मुलुक झन्पछि झन् कमजोर बन्दै गएको महसुस गरी कांग्रेससँग सत्ता सहकार्य गरेको महासचिव पोख्रेललको भनाइ थियो । ‘प्रचण्डले बिजारोपण गरेको अस्थिरताले मुलुक झन्पछि झन् संकटग्रस्त बन्दै गएकाले एमालेले नयाँ विकल्प खोजेको हो’, महासचिव पोख्रेलले भने, ‘विकास र समृद्धिको यात्रालाई प्रचण्डले बोक्न सक्नुभएन । उहाँ उथलपुथलको नायक बन्नु भयो । जसकारण नेपाली राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाएका छौं ।’

जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा बसेको बैठकमा पोलिटब्युरो सदस्यहरु शुजिता शाक्य, नरुलाल चौधरी, शान्ता चौधरी, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज चेतनारायण आचार्यलगायतका केन्द्रीय र प्रदेशका नेताहरुको उपस्थिति रहेको थियो । जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सञ्चालन सचिव श्याम डाँगीले गरेका थिए ।

बैठकले विभिन्न जिम्मेवारी तोकेको छ । जसमध्ये स्कुल विभागमा राममणि पाण्डे, प्रचार तथा प्रकाशन विभागमा संगीत बस्याल, स्थानीय संघसंस्था विकास विभागमा मानबहादुर रावत, निर्वाचन विभागमा विवेक श्रेष्ठ, संगठन विभागमा श्याम डाँगी, वित्त तथा कोष व्यवस्थापन विभागमा सानुनारायण अधिकारी र सहकारी तथा गरिबी निवारण विभागमा अमर खड्का रहनुभएको प्रचार तथा प्रकाशन विभाग प्रमुख संगीत बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले निर्वाचन क्षेत्र संयोजकको समेत जिम्मेवारी तोकेको छ । जसअन्तर्गत क्षेत्रनम्वर १ मा सहजराम यादव, २ मा सुदन केसी र ३ मा मेघराज भुसाललाई संयोजक तोकिएको बस्यालले जानकारी दिनुभयो । बैठकले जिल्ला सयवटा वडा इञ्चार्ज, जनसंगठन इञ्चार्जसमेत तोकको छ । बैठकले
२४ जनालाई जिल्ला सदस्यमा मनोनित गरेको छ ।

मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा सरकार : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई कुनै हालतमा पनि सफल बनाउनुपर्ने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरुलाई  निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट जनचाहनाअनुसार काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गराए।

‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन्। राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलन लडेर आएका यी पार्टी मुलुकको विकास र परिवर्तनका लागि सधैँ मुख्य भूमिकामा छन्। त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन।’

उपप्रधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर आरामले बसेर हुँदैन। हामीले सफलताको सङ्केत चालु आर्थिक वर्षमा दिनुपर्छ। अर्को आर्थिक वर्षमा अझ धेरै काम गर्नुपर्छ। यो सरकार ‘एक्सन ओरिएन्टेड’ हो । देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो। यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन । बिना आग्रह मूल्याङ्कन गरेर निर्णयमा जान्छ।’

आगामी निर्वाचन एक्लै लड्ने माओवादीको निर्णय


काठमाडौं । नेकपा माओवादी केन्द्रलेको पदाधिकारी बैठकले आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने निर्णय गरेको छ ।
विगत पाँच दिनेदेखि बस्दै आएको पदाधिकारी बैठकले आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने र त्यसको तयारीको लागि जनतामा जाने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

उनले भने, ‘आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने तयारी गर्नुपर्छ । गठबन्धभित्र अरु पार्टीहरुलाई पनि सन्तुलन गर्नुपर्ने हुदाँ हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा जनतामाझ लाने मौका मिलेको थिएन । अब जनतामा जाने निष्कर्षमा पुगेका छौ ।’
यसको साथै, उनले कम्युनिष्ट पार्टीको पुनगठन र सामाजिक न्यायसहितको समृद्ध समाज जनताको चहाना भएको भन्दै बृहत वामपन्थी एकीकरणको विस्तारसँगै कम्युनिष्ट पार्टीको पुनगठन पनि गर्ने बताए ।

उनले भने, ‘हामीले कम्युनिष्ट पार्टीको पुन गठनको लागि निरन्तर प्रयास गरिहनु पर्छ र हाम्रो बैठकको निचोड पनि बृहत वामपन्थी एकीकरण त विस्तार गर्दै अहिले जुन चार वटा पार्टीको सयुक्त मोर्चा छ, त्यसलाई विस्तार गरेर लैजान्छौ नै यसको साथै, कम्युनिष्ट पार्टीको पुनगठन पनि निश्चित रुपमा हुन्छ किनभने कम्युनिष्ट पार्टीको पुनगठन होस र सामाजिक न्यायसहितको समृद्धि कायम होस भन्ने जनता चहान्छन् । जनताको त्यो सपना पूरा गर्नका लागि हाम्रो तर्फबाट नेतृत्वदायी भूमिका खेल्ने समझदारी भएको छ ।’

यस्तै, उनले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने र संख्या कम भएपनि त्यसलाई गुनात्मक बनाउने निर्णय पनि भएको बताए ।

उनले भने, ‘यसको साथै प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने, हाम्रो संख्या कम भएपनि त्यसलाई गुनात्मक बनाउने र देश र जनताका जल्दो बल्दो समस्या र पहिला हाम्रो सरकारले सुरु गरेका सामाजिक न्यायसहितको सुशासन समृद्धिका सवालहरुलाई अझ खोज अनुसन्धानसहित गम्भिरता पूर्वक उठाउने, भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको छ । साउनको २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय पनि भएको छ ।’ पार्टी अध्यक्षले मुख्य रुपमा देशव्यापी रुपमा जनताको माझमा गएर जनताको कुरा सुन्ने कुरा उठाएको पनि उनको भनाई छ ।

‘राजसंस्था तथा हिन्दुराष्ट्र पूनर्स्थापना गर्ने’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा धवलशम्सेर राणाले युवाहरूकोे बल र स्थानीय संगठनको जगमा राजसंस्था तथा हिन्दुराष्ट्र पूनर्स्थापना गर्ने बताएका छन् ।

‘देशको समस्या र आवश्यकता चानचुने कुराले पूरा हुँदैन, त्यसकारण हिजोको गल्ती सच्याएर राजा सहितको प्रजातन्त्र, हिन्दुसंस्था एवं भ्रष्टाचारमुक्त सुशासन स्थापना गर्न टड्कारो भएको छ । यसै लक्ष्य प्राप्त गर्न राप्रपाले देशभरीका वडाबाट बीस हजार युवा दस्ता खडा गर्नेछ,’ राप्रपाका महामन्त्री तथा संगठन विभाग प्रमुख राणाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

संगठन विभागको कार्ययोजना अनुरुप काठमाडौं महानगर कार्य समितिद्वारा आयोजित विस्तारीत वैठकमा उपाध्यक्ष हेमजंग गुरुङले पार्टीको एजेण्डा जनताबीच लोकप्रिय बनेको अवस्था इंगित गर्दै संगठन निर्माणको नियमित कामलाई जोडबल दिनुपर्ने बताए ।

महामन्त्री कुन्ती शाहीले हिजोको अनुभवबाट पाठ सिक्दै राप्रपाले आन्दोलनको आगामी रणनीति तयार गर्ने बताइन् । आन्दोलनमा युवाहरूकोे महत्वपूर्ण भुमिका रहनेछ भन्दै कम क्षति र अधिकतम प्रभावको लाइनमा आन्दोलन अघि बढ्ने बताइन् ।

प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले पात्र र प्रणालीमा देखिएको महारोग केवल सरकार परिवर्तन गरेर मात्र समाधान नहुने बताए । त्रिपक्षीय द्वन्द्वको एक पक्ष राजसंस्थालाई शान्ति प्रक्रियामा समावेश नगरी भएका गल्ती सच्याएर देशमा नवीन समझदारी गर्नुपर्ने, सबै विचार र शक्ति समेटेर दिगो शान्ति कायम गर्नुपर्ने बताए ।

महानगर समितिका अध्यक्ष केदार धमलाको अध्यक्षतामा सम्पन्न विस्तारीत वैठकमा नगर तथा वडा समितिका प्रदाधिकारीहरूले पार्टी संस्थागत रूपमा चल्नुपर्ने, जिल्ला, नगर र क्षेत्र तहको चेन अफ कमाण्ड केन्द्रले मिच्न नहुने, गणेश प्रवृत्ति अन्त्य हुनुपर्ने, राजसंस्था र हिन्दु अधिराज्य  पूनर्स्थापना गर्न अर्जुनदृष्टि लगाउनु पर्ने बताए ।

प्रधानमन्त्रीले आज सचिवहरुलाई आवश्यक निर्देशन दिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सचिवहरुलाई आवश्यक निर्देशन दिने भएका छन्। गत आइतबार ६ घण्टा सबै सचिवहरुसँग छलफल गरेका प्रधानमन्त्री ओलीले नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा राय लिएका थिए।

सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए। बैठकमा सहभागी एक मन्त्रीका अनुसार सचिवहरूले निर्माण व्यवसायीको भुक्तानीको समस्यादेखि संविधानसँग बाझिएका कानुनहरू तत्काल संशोधन परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए।

सचिवको ब्रिफिङ सुनेका ओलीले आज दिउँसो २ बजे सबै सचिवहरुलाई प्रधानमन्त्री कार्यालय सिंहदरबार बोलाएको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए। बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी हुनेछन्।

बागमतीका मुख्यमंत्री लामाले आज विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुर सिंह लामाले आज विश्वासको मत लिँदैछन् ।

मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता भइसकेको छ ।

आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने बताइएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा गत साउन ८ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त हुँदा उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ । मुख्यमन्त्रीमा नियुक्त भएका लामाले बागमती सरकारलाई पूर्णतासमेत दिइसकेका छन् ।

कूल ११० सदस्यीय प्रदेश सभामा लामालाई विश्वासको मतका लागि कम्तीमा पनि ५६ सांसदको समर्थन आवश्यक पर्छ । बागमतीमा कांग्रेस–एमाले एकठाउँमा भएकाले स्पष्ट बहुमत रहेको छ ।

बागमतीमा माओवादी केन्द्रको २१, सभामुखसहित राप्रपाको १३, एकीकृत समाजवादीको सात, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई सांसद रहेका छन् ।

शंकर पोखरेल भन्छन् – लोकतन्त्रको स्थायीत्वका लागि एमाले र काँग्रेसको सत्ता सहकार्य

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायीत्वका लागि एमाले र काँग्रेस बीच सत्ता सहकार्य भएको बताएका छन् । प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र माथि नै प्रश्न उठ्न थालेको भन्दै लोकतन्त्रलाई बलियो बनाउन एमाले र काँग्रेस मिल्नुपरेको दाबी गरे । ´राजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामाथि नै अविश्वास पैदा हुदैँ गयो ।महासचिव पोखरेलले भने ´त्यसको अन्त्य गर्न चुनावी संबिधान संशोधन गर्न आवश्यक छ । एक्लै नसकिने भएकाले काँग्रेसको साथ खोजिएको हो । महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संबैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संबिधान संशोधन गरिने बताए । सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने बताउँदै पोखरेलले त्यसको अन्त्य गर्ने अभियानमा एमाले हिडेको बताए ।

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।   हाल कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ ।

कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भै बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । 

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छ।
हिजो जस्तै अमेरिकी डलर आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।
युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ११पैसा र बिक्रीदर १४५ रुपैयाँ ८० पैसा थियो।  बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८६ पैसा थियो।
अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९३ पैसा थियो। कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ४३९ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ४४ पैसा थियो।
बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ६० र बिक्रीदर ३५६ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ५६ र बिक्रीदर ३५६ रुपैयाँ १५ पैसा थियो।

आज प्रतिनिधिसभाको बैठक बस्दै


काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ।

बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

माओवादीको केन्द्रीय पदाधिकारी बैठक बस्दै, अध्यक्ष दाहालले जवाफ दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जबाफ दिने कार्यक्रम छ। पदाधिकारी बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम सकिएपछि नेताहरूले उठाएको प्रश्नको आज मंगलबार ‘प्रचण्ड’ले जवाफ दिँदै छन्।

हिजो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अधिकांश नेताले पार्टी वर्गीय धरातलमा फर्कनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर संगठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिएका थिए । संगठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरूले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताएका थिए । शुक्रबारदेखि सुरु भएको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका छन्।

पछिल्लो राजनीतिक अवस्था, पार्टीले खेल्नुपर्ने भूमिका एवम् सरकारमा रहेर गरिएका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको सन्दर्भ लिएर जनतामा जानुपर्ने र संगठन विस्तारलाई विशेष प्राथमिकता राख्नुपर्ने नेताहरूको धारणा छ।

नेताहरूको धारणालाई संश्लेषण गरेर प्रचण्डले जबाफ दिएपछि थप छलफलका लागि स्थायी समितिको बैठक बोलाउने तयारी गरिएको छ।

आज साउन १५, खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा


काठमाडौं । साउन १५ गते आज (मंगलबार) नेपालमा खिर खाएर मनाइँदै छ ।
वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा रहेको छ ।अनुसार आज खिर खाएर साउन १५ मनाइँदै आएको छ ।
साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ ।
दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो ।

साउन भगवान् शिवको महिना हो । शिवलाई दुध र दुधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने संस्कृतिका जानकारहरु बताउँछन् ।

ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् ।

चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

मन्त्रिपरिषद् बैठक : राजदूत सिफारिस , को कुन देश ?


काठमाडौं ।  सरकारले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई थमौती गर्दै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएको छ। श्रेष्ठ माओवादीको तर्फबाट चीनमा सिफारिस भएर गएका थिए।

माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सत्ता छोड्न परे लगत्तै माओवादीमा सिफारिस भएकाहरु फिर्ता आउन पर्ने थियो। तर, उनी फिर्ता नआई बसिरहेको थिए। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई फिर्ता बोलाएको हो।

यसअघि दाहाल नेतृत्वकाे सरकारले पनि शर्मालाई भारतकाे राजदूतमा सिफारिस गरेकाे थियाे। भारतमा शर्मालाई फिर्ता गरेर सुरक्षा परिषद सल्लाहकार शंकरदास बैरागीलाई पठाउने तयारी गरेको भए पनि अन्तिम समयमा शर्मालाई नै निरन्तरता दिने निर्णय भएको हो। भारतमा बिदाइ भेट समेत गरेका शर्मा आएर पुनः नियुक्ति लिएर जाने वा त्यही रहने भन्ने विषय अझै अन्योलमा छ।

यसअघि माओवादी एमाले सरकारमा हुँदा सिफारिस भएका राजदूतमा एमालेले आफ्नो तर्फबाट राखेको नाममा हेरफेर खासै नगरे पनि मुलुक भने हेरफेर गरेको छ। लोकदर्शन रेग्मीलाई अमेरिका र यसअघि अमेरिका सिफारिस भएका चन्द्र घिमिरेलाई बेलायत पठाउने निर्णय लिएको छ। रेग्मी यसअघि भारतका लागि सिफारिस थिए भने घिमिरे यसअघि अमेरिकाका लागि सिफारिस थिए।

छिमेकी चीनमा भने कृष्णप्रसाद ओलीलाई पठाउने भएको छ। चीनको राजदूतका लागि सिफारिस भएका ओली प्रकृति संरक्षण कोषका अध्यक्ष हुन्।

दक्षिण कोरियामा पूर्वउपसभामुख एव‌ं पूर्वमन्त्री शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिनालाई नै पठाउने निर्णय भएको छ। यस्तै साउदी अरबमा नरेशविक्रम ढकाल, श्रीलंकामा रामकृष्ण भट्टराई, इजरायल धनप्रसाद पण्डित, पोर्चुगलमा प्रकाशमणि पौडेल, जर्मनीमा शैल रुपाखेती, अस्ट्रेलियामा कान्ता रिजाल, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, पाकिस्तान रिता धिताल, स्पेनमा सनिल नेपाल राजदूतका लागि सिफारिस भएको एक मन्त्रीले जानकारी दिए। सनिल नेपाल  यसअघि पोर्चुगलका लागि सिफारिस भएर जान पाएका थिएनन्।

नरेशविक्रम ढकाललाई यसअघि कतारबाट फर्काइएको थियो। ढकाल कतारी अमिरको नेपाल भ्रमण गराएपछि चर्चामा आएका राजदूत हुन्। यस्तै कान्ता रिजाल यसअघि इजरायलमा राजदूत दिइन्। पोर्चुगलमा सिफारिस भएका पौडेल परराष्ट्र मन्त्रालयका सहसचिव हुन् भने पाकिस्तानमा सिफारिस भएकी धिताल पनि परराष्ट्रकी सहसचिव नै हुन्। जर्मनीमा हाल राजदूत रहेका रामकाजी खड्का परराष्ट्रका सहसचिव हुन्, उनी कार्यकाल सकेर फर्कने भएकाले त्यहाँ रूपाखेतीलाई राजदूत सिफारिस गरिएको हो।

चीनका श्रेष्ठ, रुसका मिलन तुलाधर र अष्ट्रेलियाका कैलाशराज पोखरेल (माधव नेपालका बैनी ज्वाइँ)लाई फिर्ता बोलाइएको हो। श्रीलंकाका बासुदेव मिश्र र दक्षिण अफ्रिकाका दानबहादुर तामाङलाई फिर्ता बोलाउने निर्णय भएको हो। अन्यको हकमा पहिले नै फिर्ता बोलाइएको हो।

सरकारले १८ जना राजदूत सिफारिस गरेको छ। तर मन्त्रिपरिषद्को निर्णय भने बाहिर ल्याइएको छैन।

सचिवहरुसंग प्रधानमन्त्रीले ब्रिफिङ लिएको भोलिपल्टै २१ जनाको सरुवा (को कहाँ ?)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरूको ब्रिफिङ सुनेको भोलिपल्टै २१ जना सरुवा भएका छन् । मङ्गलबार प्रधानमन्त्री ओलीले ब्रिफिङ लिएका थिए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २१ जना सचिवको सरुवा गरेको हो ।

को कहा ?
अर्थ मन्त्रालय : डा रामप्रसाद घिमिरे
अर्थ मन्त्रालय राजश्व सचिव : दिनेश कुमार घिमिरे
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय : राधिका अर्याल
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय (वाणिज्य तर्फ) : मधुसुदन बुर्लाकोटी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग : घनश्याम उपाध्याय
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय : मुकुन्द निरौला
रक्षा मन्त्रालय : रामेश्वर दंगाल
लोकसेवा आयोग : डिल्लीराम शर्मा
वित्त आयोग : किरणराज शर्मा
सार्वजनिक खरिद अनुगमन कार्यालय : रामकृष्ण सुवेदी
उपराष्ट्रपति कार्यालय : मधु कुमार मरासिनी
राष्ट्रपति कार्यालय : नारायण प्रसाद दुवाडी
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : केशव शर्मा विडारी
राष्ट्रिय सतर्कता केन्द्र : सर्जुकुमार वैद्य
नेपाल ट्रष्ट : रामआधार शाह
खानेपानी मन्त्रालय : प्रमिलादेवी बज्राचार्य
उर्जा आयोग :सुरेश आचार्य
भूमि व्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्रालय ः अर्जुन प्रसाद पोखरेल
राष्ट्रिय तथ्यांक कार्यालय : गोकर्णमणि दुवाडी
उर्जा मन्त्रालय : गोपाल सिग्देल
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय : राजकुमार श्रेष्ठ
राष्ट्रिय तथ्यांक कार्यालय : गोकर्णमणि दुवाडी