आज पनि शेयर बजारमा उत्साह, १५ अर्ब ५४ करोडको कारोबार

काठमाडौं । आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५९.अंकले बढेको छ । दोहोरो अंकले नेप्से बढेसँगै २७ महिना पछि उच्च विन्दुमा पुगेको हो ।

आज नेप्से २४२४ को बिन्दुमा पुगेर रोकिएको छ ।

यस अघि २०७८ चैत १६ गते मात्रै अन्तिम पटक २४६४ को बिन्दुमा परिसूचक पुगेको थियो ।

आज बजारमा ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयरको खरिदबिक्री हुँदा १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँको करोबार भएको छ । यसअघि २०७८ भदौ ८ गते १६ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको थियो ।

अघिल्लो दिन बुधबार मात्रै ५४ अंकले बढेको बजारमा १२ अर्ब ४३ लाख रुपैयाँको कारोबार भएको थियो ।

महान्यायाधिवक्ता रमेश बडालले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले शपथ ग्रहण गरेका छन् । बिहीबार रमेश बडालले शीतल निवासमा सपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले शपथ गराएका हुन् ।

मधेस सरकारमा कांग्रेस सहभागि हुने, चार मन्त्रीको आजै सपथ

काठमाडौं । अर्थमन्त्री नपाउदा मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिन लागेको कांग्रेस सो मन्त्रालय पाएपछि सहभागि हुने भएको छ ।

कांग्रेसले अर्थमन्त्रालयसहित चार मनत्रालय पाउने भएपछि सरकारमा सामेल हुन लागेका हो ।

मुख्यमन्त्री सतिशकुमार सिंहले त्यसमा सहमति नजनाउँदा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको कांग्रेस सहमत भएको हो ।

आज मुख्यमन्त्री सिंह कांग्रेसलाई अर्थ मन्त्रालयसहित ४ मन्त्रालय दिन तयार भएपछि सरकारमा सामेल हुन लागेको कांग्रेस प्रमुख सचेतक कुमरकान्त झाले बताएका छन् ।

नवनियुक्त ४ मन्त्रीको शपथ अपरान्ह ५ बजेका लागि राखिएको उनले बताए ।

नेप्सेले भेट्यो २४ सयको बिन्दु

काठमाडौं । करिव २७ महिनापछि आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले २४ सयको विन्दु भेट्टाएको छ ।

यो साताको अन्तिम दिन नेप्सेले कारोबार सुरु भएको २६ मिनेटमै यो विन्दू भेटाएको हो ।

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बैठक बोलाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

एमाले अध्यक्ष ओली नेतृत्वको सरकार बनेपछि मन्त्रिपरिषद्को दोस्रो बैठक बस्न लागेको हो। बैठकमा मन्त्रालयका नियमित एजेण्डाहरूमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अहिले सरकारमा एमाले, कांग्रेस, जसपा र लोसपा सहभागी छन्। प्रधानमन्त्रीले आइतबार विश्वासको मत लिँदैछन्।

करेन्ट लागेर एक महिलाको मृत्यु

कैलाली । कैलालीमा आफ्नै घरमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । बुधबार लम्कीचुहा नगरपालिका–२ का ४० वर्षीय लक्ष्मी जैसीको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमा पोछा लगाउने क्रममा फ्रिजको पछाडिपट्टि रहेको तार छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

चीनमा सिचुआन प्रान्तको आगलागी, १६ जनाको मृत्यु

काठमाडौं । चीनको स्वशासित प्रान्त तिब्बतसँग सीमा जोडिएको सिचुआन प्रान्तको एक सपिङ मलमा आगलागी भएको छ । आगलागीमा परि १६ जनाको मृत्यु भएको समाचार छ ।

सीएनएनले जनाए अनुसार सिचुआन प्रान्तको चिगोङ सहरमा यस्तो घटना भएको हो । झन्डै ३०० आपत्कालीन उद्धारमा खटिएर ३० जनाको जीवितै उद्धार गरेका थिए ।

१४ तले सपिङ मलमा आगलागी भएको थियो ।

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोभिड पुष्टि

ऐजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोभिड भएको पुष्टि भएको छ । बीबीसीका अनुसार वाइडेनले विराम परे भनेर समाजिक सञ्जालमा वाइडेनले लेखेका थिए ।

बाइडेनलाई कोभिड पुष्टि हुनु अगाडि डेमोक्रेटिक पार्टीका नेताहरुले भेट गरेका थिए ।

घट्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४९ हजार ८ सय रहेको थियो । आज तोलामा ३ सयले सुनको मूल्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज प्रतितोला सुनको मूल्य १ लाख ४९ हजार ५ सय कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै आजका लागि तेजावी सुनको मूल्य १ लाख ४८ हजार ८ सय रहेको छ ।

त्यसो त आज प्रतितोला चाँदीको मूल्य ३५ रुपैयाँले गिरावट आएको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ८ सय ९५ कायम भइ कारोबार भएकोमा आज १ हजार ८ सय ६० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

हर्क साम्पाङका समर्थकद्वारा सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट, पाँच जना पक्राउ

काठमाडौं । सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

बुधबार दिउँसो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धमलालाई धरानका मेयर हर्क साम्पाङ्गका समर्थकहरूले कुटपिट गरेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ । केही दिनदेखि मेयर साम्पाङ्ग र धमला बीचमा विवाद हुँदै आएको थियो ।

उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटसमा भनेकी छन् ‘म बिरामी अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स–रे कोठामा पालोमा थिएँ, हर्क साम्पाङका महिला समर्थकहरूले ‘धमलालाई कुट्न आको भन्दै’ म र मेरो साथीलाई पछाडिबाट आक्रमण गरी, लुगा तान्दै, कुटपिट गर्दै, लछारपछार गरेका थिए ।’

पक्राउ परेकाहरूलाई इनरुवा जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको चेतावनी

काठमाडौं । मन्त्रालय बाँडफाडमा सहमति नभएपछि मधेर सरकारलाई दिएको समर्थन कांग्रेसले फिर्ता लिने चेतावनी दिएको छ । कांग्रेसले अर्थसहित चार मन्त्रालय मागेको तर, मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ आफैं राख्ने अडान लिएका छन् ।

पटक पटक छलफल भएपनि मुख्यमन्त्रीले अर्थ दिन अस्वीकार गरेपछि कांग्रेस वर्तमान सरकारको विकल्प खोजेको छ ।

कांग्रेस मधेश प्रदेशका प्रमुख सचेतक कुमारकान्त झाले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।

उनले आफूहरुसँग मुख्यमन्त्रीले गरेको सहमति पालना नगरेको आरोप लगाए । उनले सहमतीको पालना नगरेकाले समर्थन फिर्ता लिएर नयाँ सरकार गठन प्रक्रियामा अगाडी बढ्ने बताए । उनले अर्थ मन्त्रालय नदिएपछि समर्थन फिर्ता लिन लागेकोबारे खुल्न चाहेनन् ।

आजको मौसमः मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौं । आज देशभर साधारणतया रहेको छ । अहिले गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा सामान्य बर्षा भइरहेको छ ।

मौसम विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बाग्मती र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

सिमलताल बस दुर्घटनाः ८ यात्रुको शव फेला, ४ जनाको सनाखत हुन बाँकी

काठमाडौं। गत असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा भएको बस दुर्घटनामा बेपत्तामध्ये हालसम्म १८ जनाको शव फेला परेको छ ।

सशस्त्र प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार बुधबार साँझसम्म बेपत्तामध्ये १८ यात्रुको शव फेला परेको र त्यसमध्ये ४ जनाको शव सनाखत हुन बाँकी रहेको छ । भेटिएकामध्ये हालसम्म १४ जनाको शव सनाखत भएको छ ।

शुक्रबार बिहान सिमलतालमा दुई बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएको थियो । दुई बसमा ६५ यात्रु रहेका थिए ।

वीरगन्जबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा ३८ जना सवार थिए । काठमाडौंबाट गौरका लागि छुटेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा २७ जना सवार थिए ।

त्यसपछि पनि निरन्तर वर्षाका कारण नदी धमिलो रहेका खोजी कार्यका लागि कठिनाइ भइरहेको छ । हाल नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर प्रयोग गरी खोजी कार्यलाई तीव्रता दिइरहेका छन् ।

आजको विदेशी मुद्राहरूको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य यथावत रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको हो।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ र बिक्रीदर १४६ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ४० पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा थियो। बेलायती पाउन्ड १ को खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७४ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ०१ पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा थियो। कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ४४ पैसा थियो। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ र बिक्रीदर ३५५ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनार यही मूल्यमा कारोबार भएको थियो।

कम्पनी दर्ता गर्दा फेरि शुल्क लाग्ने

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै कम्पनी दर्ता गर्दा फेरि शुल्क लाग्ने भएको छ । आन्तरिक तथा बाह्य लगानी प्रवर्द्धन गर्न भनेर दिइएको छूट सुविधाले चालू आर्थिक वर्षमा निरन्तरता नपाएपछि साविककै शुल्क तिरेर कम्पनी दर्ता गर्नुपर्ने भएको हो ।

गत आव २०८०–८१ को बजेट वक्तव्यमा आन्तरिक तथा बाह्य लगानी प्रवर्द्धन गर्ने उद्देश्यले कम्पनी दर्ता गर्दा शुल्क तिर्न नपर्ने घोषणा गरिएको थियो । सोहीअनुरूप २०८० असोज ८ गते राजपत्रमा सूचना प्रकाशित गरी सरकारले निःशुल्क कम्पनी दर्ताको बाटो खोलेको थियो ।

तर चालू आव २०८१–८२ मा भने सरकारले उक्त व्यवस्थालाई निरन्तरता दिएन । फलस्वरूप नयाँ कम्पनी दर्ता र पूँजी थप्दा साउन १ गतेदेखि नै साविककै शुल्क तिर्नुपर्ने भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जानकारी दियो ।