निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइबाट अस्वीकृत

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो।सोमबार सुनुवाइ समितिको बैठक बस्नुअघि नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए । समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको हो ।

पूर्वराज्यमन्त्री राय हत्याको आरोपमा पक्राउ परेका दुईजना सार्वजनिक

जनकपुरधाम । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रायकै घरमा काम गर्ने सर्लाहीको कविलासी नगरपालिकाका २५ वर्षीय राम उजैन राय र चन्द्रपुर गाउँपालिकाका ४६ वर्षीय वीरेन्द्र राय छन् ।

को-को हुन् सहकारीको रकम ठगेर विदेश भागेका १८ जना ? (नामसहित)


काठमाडौँ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भई विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले गृहमन्त्री लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जना सहकारी ठगीमा संलग्न भई विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको बताए ।

उनले विदेश फरार रहेका व्यक्तिहरू संलग्न रहेका सहकारीहरू अनुसन्धानको अनुसूची १ र २ मा छानबिनको दायरामा रहे पनि विदेशमा रहेकाले सरकारले तत्काल छानबिनको दायरामा ल्याउन निर्देशन दिएको बताए ।

उनले बचतकर्ताहरूको दुरुपयोग गरेको बचत फिर्ताको सन्दर्भमा समितिले सोधपुछ गर्न आवश्यक भएको बताए । उनले विदेशमा रहेका १८ जनालाई पनि समितिको छानबिनको दायरामा आउन जरुरी रहेको बताए ।

उनले सानुपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा रहेका जीबी राई, सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जन, सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई, तेजबहादुर बम्जन तामाङ र लीलानाथ गौतम, इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल, साना पाइलाका तस्विरण खातुन र असरफ अली, सहारा बचत तथा ऋण सहकारी र सुप्रिम सुवास केसी, कान्ति सहकारीका प्रेमध्वज लामा, मेगाडिम सहकारीका महाशंकर रेग्मीलाई नेपाल फर्काउन गृहमन्त्रीलाई आग्रह गरिएको बताए ।

प्रेसको नियमन गर्ने छुट्टै निकाय बनाइन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताएका छन्।

सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको भन्दै सरकारले नियमन मात्रै गर्न खोजेको बताए।

उनले प्रेसको नियमन गर्न पनि मन्त्रालयका निकायबाट नभइ स्वायत्त छुट्टै निकाय बनाइने बताए। उनले नियमन, स्वनियमन, संवर्द्धन, प्रवर्द्धन स्वायत्त निकायबाट हुनेगरी व्यवस्था मिलाउने जानकारी गराए।

उनले भने, ‘हाम्रो एउटा अनुरोध के छ भने प्रेस फ्रिडममाथि मन्त्रालयले केही कठोर बन्न खोजेको हो की भन्ने शंका तपाईंहरुलाई लाग्छ भने म अनुरोध गर्न चाहन्छु, हामी सबै एकै ठाउँबाट नै आएका छौँ। हामी सबै जनाको प्रेस फ्रिडम वा प्रेस स्वतन्त्रतामाथिको विश्वास छ, नियमन पनि मन्त्रालयले नगर्ने, मन्त्रालयको विभागले नगर्ने, एउटा अलग्गै स्वायत्त संस्था खोलेर त्यसबाट गरिन्छ।’

कृष्णमानले फिर्ता लिए आयुक्त बाट नाम

काठमाडौं। संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने निश्चित भएपछि निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका छन्।

उनले सोमबार बिहान सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएका हुन् । ‘मेरो बारेमा बाहिर दुष्प्रचार भएकाले काम गर्ने हौसला र इच्छा भएन भनेर उहाँको निवेदन आएको छ’, समिति स्रोतले भन्यो ।

यसअघि विहान ११ बजेका लागि बोलाइएको बैठक रोकेर सत्तारुढ नेपाली कांग्रेस र एमालेका सांसदहरु छलफलमा जुटेका थिए । उक्त छलफलमा नेताहरु विवादास्पद प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्न नसक्ने निष्कर्षमा पुगेका थिए ।

१५ सदस्यीय समितिमा प्रधानलाई अस्वीकृत गर्न दुई तिहाई बहुमत चाहिन्छ । सत्तारुढ कांग्रेस र एमाले मिल्नासाथ ९ जना हुन्छ भने राप्रपाले साथ दिएमा दुई तिहाइ पुग्छ ।

गोरखा पहिरो : बेपत्ता ५ मध्ये ३ को शव भेटियो

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका– ५, रेसेफाँटको पहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव भेटिएको छ। सोमबार ६० वर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ वर्षीय जीतबहादुर गुरुङ र बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङको शव भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गण्डकी गाउँपालिका– ८, बर्खेघाटमा फेला परेको शव कान्छीमायाको भएको पुष्टि भएको छ। सो पहिरोमा पुरिएर सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ट्याक्टर चाल २४ वर्षीय रमेश परियार बेपत्ता छन्। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।

सहमति नजिक पुग्यो टीआरसी

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) सहमति नजिक पुगेको नेताहरूले दाबी गरेका छन्। टीआरसीको सहमति खोज्न गठित कार्यदलले सहमति नजिक पुगेको बताएको छ। आज सोमबार पनि कार्यदलको बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको थियो।

कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले टीआरसी विधेयक करिब टुंग्याउने चरणमा पुगेको बताए। उनले बिहीबारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायहरूसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने बताए।

उनले सबैले सत्ता पक्ष र प्रतिपक्षको नभईकन सिंगो देश र शान्तिको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयसँग जोडेर जिम्मेवारीबोधका साथ सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंगोमा पुर्‍याउनुपर्ने जानकारी दिए।
कार्यदलको बैठक बिहीबार बिहान ८ बजे पुनः बस्नेछ ।

पोखरामा स्कुल बस दुर्घटना, २ जनाको मृत्यु

पोखरा । पोखरामा सोमबार बिहान ९ बजे भएको स्कुल बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना हुँदा सोही स्कुलकी कर्मचारी ३३ वर्षीया आरती विकको गण्डकी मेडिकल कलेज पुर्‍याउने बित्तिकै पौने १० बजे मृत्यु भएको हो। 

आरतीका छोरा अन्दाजी पाँच वर्षीय प्रिन्सको पनि उपचारका क्रममा ११ : ४५ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । बसमा ३० जना सवार रहेकोमा बाँकी २८ जनाको पोखराका तीन अस्पतालमा उपचार हुँदैछ। 

पोखरा महानगरपालिका–२१ फुर्सेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा पोखरा-१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो। ग१क ६२१९ नम्बरको बस सडकबाट झन्डै ५० मिटर तल खसेको छ। बसमा चालक, सहचालक, अभिभावक र विद्यार्थी गरी ३० जना सवार थिए। 

पोखरा महानगरपालिका–२१ फुर्सेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो । ग१क ६२१९ नम्बरको बस सडकबाट झन्डै ५० मिटर तल खसेको छ । बसमा चालक, सहचालक, अभिभावक र विद्यार्थी गरी ३० जना सवार थिए । 

यसैगरी मणिपाल शिक्षण अस्पतालमा तीन जनाको उपचार भइरहेको छ । पोखरा २१ का ८ वर्षीय निशान सुनार र सोही ठाउँका ५ वर्षीय सागर थापाको उपचार मणिपालमा हुँदै छ । बसका चालक पोखरा–१७, विरौटा बस्ने ५५ वर्षीय टेकबहादुर भुजेलको पनि सोही अस्पतालमा उपचार हुँदै छ । भुजेलको अवस्था खतरामुक्त छ ।  बाँकी १२ घाइतेको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार हुँदै छ । पोखरा २१ की अनन्या पौडेल, वर्ष ३ की सिमन मगर, वर्ष ३ का न्युजन मगर, वर्ष ७ का रिजन मगर, वर्ष १२ का रामकृष्ण नेपाली, वर्ष २ का अंकित खत्री, वर्ष १४ की सीतादेवी विक, वर्ष ७ का अस्मित विक, वर्ष ३० की सुमित्रा सुनार, वर्ष २द का निर्दाेष सुनार र वर्ष ११ का निश्चल सुनार पनि घाइते हुनुभएको छ । 

१४ वर्षीय सीतादेवी विक अर्कै विद्यालय छोरेपाटन माविकी विद्यार्थी भएको खुलेको छ । ३० वर्षीया सुमित्रा सुनार एलपी स्कुलकी अभिभावक हुनुहुन्छ । सोही घटनामा घाइते एलपी स्कुलकी शिक्षक ३० वर्षीया सपना आले पनि घाइते भई पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत हुनुहुन्छ । 

टीआरसी सम्बन्धी गठित कार्यदलको बैठक आज बस्ने

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी गठित कार्यदलको बैठक आज बस्ने भएको छ। बैठक सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहान ८ बजे बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको हो।

यसअघि शुक्रबार बसेको कार्यदलको बैठकले संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमाथि रहेका असहमतिमा सैद्दान्तिक सहमति भएको बताइएको छ। कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्यसचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी रहेका छन्।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमाथि सैद्धान्तिक सहमति जुटाएको र सरोकारवालासँग छलफल गरेपाची आज अन्तिम रुप दिन बैठक बस्न लागेको बताइएको छ।

कांग्रेस नेता जोशी भ्रष्टाचार मुद्दामा दोषी

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले उनलाई भ्रष्टाचारी ठहर गरेको हो ।

जोशीलाई नौ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना सुनाइएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

जोशीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०५९ सालमा अनुसन्धान थालेको थियो । ०६० पुस १८ गते जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । जोशीलाई तीन करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरिएको थियो ।

जोशीसँगै गैरकानुनी सम्पत्ति लुकाएको आरोपमा पत्नी सविता पन्त, जेठीसासू चोलाकुमारी पन्त, सासू नीरकुमारी, साला वासुदेव पन्त, वासुदेवका कान्छा ससुरा ताराराज पाण्डेविरुद्ध समेत मुद्दा दायर गरिएको थियो । तर, ०६३ कात्तिक ३० गते विशेष अदालतले अनुसन्धानको हदम्यादका आधारमा जोशीलाई सफाइ दिएको थियो ।

देशभर साधारणतया बदली, एकदुई स्थानमा पानी पर्ने सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना छ । देशभर साधारणतया बदली रहँदा वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति थापा एमालेमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापा नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले थापासँगै नेकपा एकीकृत समाजवादीका खड्ग कार्की, निर्माण चौहान, मोहन मगर र जङ्गबहादुर मगरलाई आज पार्टी कार्यालय, च्यासलमा खादा र टीका लगाई स्वागत गरेका थिए ।
कार्यक्रममा महासचिव पोखरेलले देश अगाडि बढाउन, जनतामा पैदा भएको निराशा चिर्न, युवाको विदेश पलायन रोक्न धेरै पार्टी होइन, बलिया पार्टी आवश्यक भएको बताए ।
उहाँले एमालेलाई बलियो राजनीतिक पार्टीका रूपमा स्थापित गर्न उदयपुरमा पनि अन्य र साना राजनीतिक दलका कार्यकर्ताहरूलाई पार्टीमा समाहित गरी एमालेलाई आगामी २०८४ को निर्वाचनमा बहुमत स्थानमा एक्लै जित्ने अवस्थामा पुर्याउनुपर्ने बताए ।
महासचिव पोखरेलले छ/ छ महिनामा मन्त्री फेरिने अवस्थाले देश कसरी बन्छ ? प्रश्न गर्दै राजनीतिक धू्रवीकरण आवश्यक रहेको बताए । उनले राजनीतिक स्थायित्वका लागि २०८४ को निर्वाचनमा ठुला राजनीतिक दलबीच प्रतिस्पर्धा हुने र साना दलले वार्गेनिङ गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखेका थिए।
महासचिव पोखरेलले नवप्रवेशीहरूलाई विगतका कमजोरी सच्याउनु महत्वपूर्ण कुरा भएको बताउँदै नयाँ यात्रामा सफलताका लागि शुभकामना दिए ।
पार्टी प्रवेशबारे सङ्क्षिप्त भनाइ राख्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति थापाले आफू विना शर्त एमालेमा प्रवेश गरेको र पार्टीले दिने जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । थापाले सात बर्ष अघिसम्म नेकपा (एमाले)मै रहेर काम गरेको स्मरण गर्दै पार्टी छोड्नु जीवनको ठूलो भुलका रूपमा आफूले लिएको बताए।

नेप्सेमा उछाल, ११३ अंकले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सय १३ दशमलव ४२ अङ्क अर्थात् चार दशमलव ४१ प्रतिशतले बढेर दुई हजार छ सय ८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ।

आज तीन सय १८ कम्पनीको चार करोड तीन लाख १४ हजार पाँच सय एक सय ७६ कित्ता शेयर एक लाख ६३ हजार आठ सय १० पटक खरिदबिक्री हुँदा रु १५ अर्ब ८१ करोड पाँच लाख ९६ हजार दुई सय ३५ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा लघुवित्त समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै बैङ्किङ समूह नौ दशमलव ८९ प्रतिशतले बढेको छ। त्यस्तै, लगानी समूह पाँच दशमलव ७५ र विकास बैङ्क समूह चार दशमलव ८७ प्रतिशतले बढेको छ।

गोरखा पहिरो : २ जनाको उद्धार, ५ जना अझै बेपत्ता


काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–५ स्थित सिडला भन्ने स्थानमा पहिरोमा परि बेपत्तामध्ये २ जनाको उद्धार गरिएको छ ।

अविरल वर्षापछि आएको पहिरोमा परि ७ जना हराइरहेका थिए । त्यसमध्ये २ जनाको उद्धार भए पनि अन्य ५ जना अझै हराइरहेको गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन् । उद्धार गरिएका २ जनाको अवस्था गम्भीर रहेको र अस्पताल लैजाने काम भइरहेको उनले बताइन् ।

‘बेपत्ता हुनुभएकोमध्ये २ जनाको उद्धार भएको छ । उहाँहरुको अवस्था गम्भीर रहेको र अहिले अस्पताल लैजाने तयारी भइरहेको छ,’ उनले भनिन्, ‘अन्य ५ जनाको नेपाल प्रहरीसहित स्थानीयको सहयोगमा खोजीकार्य जारी रहेको छ ।’
गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरोमा परि एउटा घर र गोठ बगाएको थियो ।

जसपा नेपालका अध्यक्ष यादव फिलिपिन्स जाँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव फिलिपिन्स जाने भएका छन्।

एसियाली प्रजातान्त्रिक पार्टीहरूको संगठन (सोकडेम एसिया प्यासिफिक) को स्टेरिङ कमिटीको बैठकमा सहभागी हुन यादव त्यसतर्फ जान लागेका हुन्।

बैठक सोमबार फिलिपिन्सको राजधानी मनिलामा हुनेछ।

मलेसिया एयरलाइन्सको विमानबाट राति ११ : ३० बजे मनिला जान लागेका अध्यक्ष यादवसँग जसपा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा पनि सहभागी रहनेछन्।

अध्यक्ष यादवले ३१ जुलाईमा प्रोग्रेसिभ एलायन्सको ग्लोबल कन्फरेन्समा ‘वर्किङ फर अ न्यू प्रोग्रेसिभ ऐरा’ विषयक कार्यपत्र प्रस्तुत गरी उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

३० जुलाईका दिन विदेश विभाग प्रमुख थापाले समेत यो कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।

सम्मेलनमा एसियाका ४१ देशका प्रतिनिधि नेताहरू सहभागी हुँदैछन्। जुलाई २९ मा उदघाटन हुने सम्मेलन तीन दिनसम्म चल्ने छ।