पुनः खोज्न थालियो सिमलतालमा पहिरोले बगाएको बस तथा सवार यात्रु

काठमाडौं । चितवनको सिमलतालमा पहिरोले बगाएको दुईवटा बस र सवार यात्रुको त्रिशूली नदिमा खोजि कार्य आज पुन सुरु भएको छ । शुक्रबार बेलुकी स्थगित गरिएको खोजी कार्य आज फेरि विहानदेखि सुरु गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट हिजोकै संख्यामा जनपथ प्रहरीसहित विपत सुरक्षामा काम गर्ने टोली तैनाथ गरिएको प्रहरीले जनाएको छ ।

खोताखोरसहितको सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली पनि बिहानैदेखि बस र त्रिशूलीमा हराइरहेका कम्तिमा ५० यात्रुको खोजीमा लागेका हुन् ।

हिजो बिहान साढे ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर २९ मा पर्ने सीमलतालमा आएको लेदोसहितको बाढीले गुडिरहेको दुई बस बगाएको थियो ।

विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर र बहराइन दिनरको मूल्य घट्दा युरो, पाउन्ड अस्ट्रेलियन डलर, कुवेती दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ थियो।

युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ २५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा थियो।

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५० पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ३३ पैसा र बिक्रीदर ९० रुपैयाँ ७४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ५० पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ९१ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ९० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४९ पैसा थियो।

भानुभक्तको २११औं जन्मजयन्ती, विविध कार्यक्रम गरेर मनाइदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध र्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’ मा प्रस्तुत गरेका थिए ।

उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनु पर्छ’ भनी अर्ति उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी, उनका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखेका थिए, ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली ।’

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनको विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।

त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आजबिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगरप्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानुजयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् ।

भानुभक्त भन्दा अघि नै नेपालीभाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायण जस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउँछन् । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ । उनको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।

मौसमः मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ ।

आज देशभर साधारणतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै कर्णाली र प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

ओलीले गरे प्रधानमन्त्रीका लागि दाबी पेश, आजै प्रधानमन्त्री नियुक्त गर्ने तयारी

काठमाडौं । नयाँ सरकार गठनका लागि दाबी पेश गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा यतिखेर सितल निवास पुगेका छन् । सरकार गठनका लागि ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् ।

सम्भवत आजै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको बुझिएको छ । यस्तो विपत्तिको बेला काम चलाउ सरकारले काम गर्न नसक्ने भन्दै आजै नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागिएको बुझिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए ।

सरकार गठनका लागि दाबी पेश गर्न कांग्रेस–एमालेका शिर्ष नेता शितल निवास जाँदै

काठमाडौं । एमाले–कांग्रेसको सहमति अनुसार नयाँ सत्ता समिकरणका लागि सरकार बनाउने बाटो खुलेसँगै नेताहरु दाबी पेश गर्न शितल निवास जाने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेपछि ओलीले राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी पेस गर्ने भएका हुन्।

दाबी पेसका लागि ओली र कांग्रेस सभापति शेरबहादुर देउवा शीतल निवास पुग्दैछन्।

नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मको समय दिएका छन्।

राष्ट्रपति पौडेलद्वारा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि आह्वान गरेका हुन् ।

एमाले र कांग्रेसबीच भएको सहमति अनुसार अव एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न बाटो खुलेको हो । आइतबार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न भनिएको छ ।

ज्ञानेन्द्र शाहीको प्रचण्डलाई चेतावनी:- जातजातीको नाममा रगत बगाएर राजनीति गर्न नखोज्नुहोस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जातजातीको नाममा रगत बगाएर राजनीति गर्न नखोज्न चेतावनी दिएका छन् । आज प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा जातजातीको विषयमा कुरा उठान गरेका थिए ।

प्रचण्डको उक्त भनाइलाई उत्तर दिदै प्रवक्ता शाहीले जातजातिका नाममा फेरि सडकमा आगो बालेर, सुरक्षाकर्मी दाजुभाईको रगत बगाएर राजनीति गर्न नखोज्न चेतावनी दिएका हुन् ।

उनले भने,‘जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम संसदको रोष्ट्रमबाट नहोस् । जातिकै कुरा गर्ने हो भने रुकुममा नवराज विकको हत्या राजाको पालामा भएको हो ? यही गणतन्त्र हुँदा हो नि । माओवादी सरकारमा थियो, त्यसैबेला भएको हो । अहिलेसम्मकै जातीयताका लागि मान्छे मारेको ठूलो घटना हो । हाम्रो जात एउटै छ, नेपाली । देश एउटामात्रै छ, नेपाल । हामीले जात जातिलाई टुक्राएर राजनीति गर्नु छैन । जातजातिका नाममा फेरि सडकमा आगो बालेर, सुरक्षाकर्मी दाजुभाइको रगत बगाएर राजनीति गर्न नखोज्नुस् । बरु राजनीतिकबाट सन्यास लिनुस् ।’

अन्ततः ढल्यो ‘प्रचण्ड’ सरकार

काठमाडौं । पाँचौ पटक विश्वासको मत लिदा अन्तत: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकार ढलेको छ । आज प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि प्रचण्ड सरकार ढलेको हो ।

१८ महिना सत्ताको यात्रा गरेको दाहाल चार पटक विश्वासको मत पाउदा पाँचौ पटक भने सत्ताबाट बहिर्गमन हुनुपरेको छ ।

संसदमा कुल २५८ सांसदको उपस्थिति रहेकामा पक्षमा ६३ मतमात्रै उनको पक्षमा पर्यो । यस्तै विपक्षमा १९४ मत परेको छ । एक जना सांसद तठस्त भए ।

प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए

प्रधानमन्त्री प्रचण्डको प्रश्न – ‘राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादीलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादीलाई किनारा लगाएर कसरी संविधान संशोधन गर्नुे हो भन्दै प्रश्न गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले एमाले–कांग्रेसले संविधान संसोधनको रटान लगाएको भन्दै उनले २०४७ सालको संविधानको व्यवस्थामा फर्किन लागेको आरोप लगाएका छन् ।

उनले कांग्रेस एमालेको सहमतिप्रति आशंका गरेका हुन् ।

उनले भने–‘ उनले दुई ठूला दल साना दलको अस्तित्व समाप्त गर्ने र समानुपातिक समावेशीको व्यवस्था पनि हटाउनेतर्फ लागेको छ । दुई ठूला राजनीतिक दलले स्थायित्वको नारा दिएका छन् राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र हो । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?’

यात्रुलाई टिकट नकाटी यात्रा गराउने सावरीलाई मापसेभन्दा कडा कारबाही

काठमाडौं । धेरै पानी परेको र पहिरो जाने जस्तो सम्भावना भएका त्यो ठाउँको सडकलाई रेड जोनमा गाडी रोक्ने निर्णय भएको छ ।

गृह मन्त्रालयले रात्रिकालीन बस सञ्चालनको विषयमा यातायात व्यवसायीका प्रतिनिधिहरू छलफलका क्रममा सो निर्णय भएको हो ।

मन्त्रालयले यात्रुलाई टिकट नकाटी यात्रा गराउने सावरीलाई मापसेभन्दा कडा कारबाही गर्न गृह सचिवले निर्देशन समेत दिएको छ ।

फेरि सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज फेरि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १८ सय बढेको छ ।

आज १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार सुरु भएको महासंले जनाएको हो ।

बिहीबार १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

रास्वपाको प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

आज बसेको पार्टी संसदीय दलको बैठकले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।

चितवनको सिमलतालमा पहिरोले बस बगाएको घटना प्रति माधव नेपाद्वारा दुख व्यक्त

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम नेकपा (एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चितवनको सिमलतालमा पहिरोले बगाउँदा बस त्रिशूली नदीमा बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

काठमाडौंबाट आफ्नो गृह नगर गौर जाँदै गरेको गणपति डिलक्स बस र काठमाडौं आउँदै गरेको एन्जल बस तथा बसमा सवार यात्रुको उद्धारमा जुट्न पनि सबैलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत उद्धारका लागि आह्वान गर्दै उनले भनेका छन्, ‘काठमाडौँबाट मेरो गृह नगर गौर जाँदै गरेको गणपति डिलक्समा ४१ जना र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको एन्जल बसमा २४ जना सवार रहेकोमा अहिलेसम्म उनीहरूको अवस्था सार्वजनिक हुन सकेको छैन । प्राकृतिक विपत्तिको यस क्षणमा उद्धारको काममा जुट्न सरकारी तथा अन्य निकाय एवम् महानुभावहरूमा सादर अनुरोध गर्दछु ।’

देउवाद्वारा त्रिशूली भएको घटनाप्रति दुःख व्यक्त

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसाएर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘नारायणगढ—मुग्लिङ सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेका दुवै बस त्रिशूली नदीमा आज बिहान खस्दा करिब ६ दर्जन भन्दा बढी यात्रुहरूको अवस्था अज्ञात रहेको घटना र अविरल वर्षाका कारण देशका विभिन्न भू–भागमा बाढी, पहिरो र डुबानमा परी भएको जनधनको ठुलो क्षतिप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनले बाढी पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था दृष्टिगत गरेर तीनै तहका सरकारलाई समन्वय र व्यवस्थित योजनाकासाथ काम गर्न आग्रह गरेका छन् ।