त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली


काठमाडौँ– सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आइतबार फर्किएको छ। असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुबाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो।

लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा भीष्मकुमार भूसालले जानकारी दिए। शुक्रबार बस खोज्न भारतीय टोलीले ल्याएको चुम्बक नै हराएको थियो।

अत्याधुनिक सोनार क्यामेरालगायतका उपकरणसहित १२ सदस्यीय टोलीले खोजी कार्य सुरु गरेको थियो। भारतीय टोली फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी कार्य जारी राख्ने भुसालले जानकारी दिए।

असार २८ गते चितवन महनगरपालिका–२९, सीमलतालमा गएको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुबाहक बस बेपत्ता छन्। वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा हुलेको थियो।

हराएका बस खोज्न भारतबाट आएको भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को टोलीसँगै नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौली, सशस्त्र प्रहरीलगायत उद्धार तथा खोजीमा संलग्न थिए।

तर, १७ दिनसम्म विभिन्न उपकरणसहित खोजी कार्य जारी राख्दासमेत हराएका २ वटै बस भेटिएका छैनन्। दुबै बसमा रहेका कुल ६५ यात्रुमध्ये ३ जना हामफालेर बाँचेका थिए भने अहिलेसम्म २० जनाकोमात्रै शव भेटिएको छ। त्यसमध्ये ४ जनाको शव अझै सनाखत हुन सकेको छैन। २ जनाको शव भारतीय भूमिमा फेला परेको थियो। बसमा सवार बाँकी यात्रुको अवस्था अझै अज्ञात छ।

तयारी नपुगेको भन्दै सर्‍यो एकीकृत समाजवादीको बैठक


काठमाडौँ। तयारी नपुगेको भन्दै नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक दुई दिन पछि धकेलिएको छ।

समाजवादीको बैठक सोमबारलाई तोकिएको थियो। यो बैठकबाट केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी थियो। तर आन्तरिक तयारी नपुगेको भन्दै बैठक सारेको समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

कारबाही गर्ने पार्टीको निर्णविरुद्ध निर्वाचन आयोग पुगे मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकाल आफूलाई कारबाही गर्ने पार्टीको निर्णविरुद्ध निर्वाचन आयोग पुगेका छन्। उनले आज आइतबार आयोगलाई पत्र लेख्दै आफ्नो कारबाहीबारेको पार्टीको कुनै पनि पत्र अद्यावधिक नगर्न भनेका हुन्।

‘राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ को उपदफा (२) बमोजिम मलाई सफाइ पेस गर्ने मानसिव मौका दिइएको छैन। नेपालको संविधानले नेपाललाई लोकतान्त्रिक मुलुकको रूपमा व्याख्या गरेको र सफाइको मौका दिनपर्ने विश्वव्यापि लोकतान्त्रिक मूल्य मान्यता रहेको, राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पनि सो व्यवस्था गरेकाले सफाइको मौका नदिइ गरिएको कुनै पनि कारवाही अवैधानिक ठहर्छ,’ उनले आयोगलाई भनेका छन्।

आफूलाई सफाइको मौका नदिई कारबाही गरिएको भन्दै आपत्ति जनाएका छन्।

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

देशभर साधारणतया बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर साधारणतया बदली रहने छ । लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

मन्त्रालयका सचिवहरूको ब्रिफिङ लिँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ भएको छ ।

आज सिंहदरबारमा प्रधानमन्त्रीले ब्रिफिङ लिएका हुन् । बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी छन् ।

नेकपा एसले बोलायो केन्द्रीय कमिटीको बैठक, केन्द्रीय सदस्य टुङ्गो लगाउने



काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

सोमबार (भोलि) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी एकीकृत समाजवादीले बैठक बोलाएको हो ।

उक्त बैठकले केन्द्रीय सदस्य टुङ्गो लगाउने बताइएको छ ।
पार्टी विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ ।

सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुनेछ ।

आज बढ्यो सुनको भाउ, कसरी कारोबार हुँदै छ ?

काठमाडौं । सुनको भाउ आज पनि बढेको छ। शुक्रबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४५ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय ३० रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

गोरखामा पहिरो : एकै घरपरिवारका तीन जनासहित पाँच जना बेपत्ता

काठमाडौ । उत्तरी गोरखाको धार्चे गाउँपालिका ५ रेसेफाँटमा पहिरो जाँदा एकै घरपरिवारका तीन जनासहित पाँच जना बेपत्ता भएका छन्।

आइतबार बिहान करिब तीन बजे स्थानीय जीतबहादुर गुरुङको कृषि फर्म र एक घर पहिरोले बगाएको हो।

पहिरोमा पुरिएर जीतबहादुरसहित उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका बुबा ६० वर्षीय सुलाल कान्छा, सोही वडास्थित सिङ्लाका ३३ वर्षीय रमेश गुरुङ र ठेगाना नखुलेका ३४ वर्षीय रमेश परियार वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

अन्य दुई जनालाई भने घाइते अवस्थामा उद्धार गरिएको उनले जानकारी दिए । उद्धार हुनेमा सिङ्लाका ३५ वर्षीय दिलिप गुरुङ र २७ वर्षीय थमबहादुर गुरुङ रहेका छन्।

नोभा अस्पतालमा उत्पन्न तनाव साम्य

काठमाडौं  ।  कैलालीको धनगढीको नोभा अस्पतालमा उत्पन्न तनाव साम्य भएको छ।

अस्पताल र पीडितपक्षबीच सहमति भएपछि अस्पतालमा उत्पन्न तनाम साम्य भएको हो।

धनगढीको नोभा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर तनाव उत्पन्न भएको थियो।

अस्पतालले पीडित पक्षलाई क्षतिपूर्ति दिने पीडितपक्षले तोडफोडमा भएका क्षतिको खर्च बेहोर्ने गरी सहमति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सहमति भएसँगै शुक्रबारदेखि अस्पतालमा रहेको शव पीडितपक्ष बुझ्न तयार भएका छन्।

बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड हुन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता गंगादत्त बडूले अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाली प्रहरीको तर्फबाट चार सेल अश्रुग्यास प्रहार गर्नुपरेको बताए।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बलले पनि केही सेल अश्रुग्यास प्रहार गरेको थियो।

चिकित्सकको लापबारहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित बनेका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए। तोडफोडपछि अस्पतालमा क्षति पुगेको छ।

जन्डिस भएको भनेर उपचारका लागि अस्पताल पुगेका कञ्चनपुर जिल्ला, बेलौरी नगरपालिका–२ का १७ वर्षीय युवक नसिभ चौधरीको शुक्रबार मृत्यु भएको थियो।

आफन्तले उपचारमा चिकित्सकले लापारबाही गर्दा मृत्यु भएको आरोप ललगाएका छन्।

तनावपूर्ण अवस्थालाई थप बिग्रिन नदिन धनगढीको मुख्य सडकसँगै जोडिएको अस्पताल आसपासमा आज दिनभर ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

उपचारमा संलग्नचिकित्सकमाथि कारबाही गर्नुपर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्तिन नदिएसम्म शव नउठाउने मृतकका आफन्तले बताएका छन्।

निजी क्षेत्रबाट सञ्चालनमा रहेको नोभा अस्पतालका पदमराज भट्टले भने उपचारमा लापारबाही नभएको बताएका छन्।

‘भुटानी शरणार्थी र गिरीबन्धुको कानुनअनुसार अनुसन्धान हुनुपर्ने’

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्ने बताएका छन् ।

मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाडौँले आज जोरपाटीमा आयोजना गरेको २७ औँ साधारणसभामा उनले नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सातबुँदे समझदारी अनियमिताको अन्त्यका निम्ति भएको बताए । उनले इमान्दारीपूर्वक उक्त सम्झौता कार्यान्वयन गरेर जनतामा सुशासनको अनुभूति गराउनुपर्छ भने । उनले अनियमितामा संलग्न जो सुकैलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

“जनतामा आशा जगाउन आर्थिक अनियमितताका विषयमा कानुनअनुसार काम गर्न सम्बन्धित निकायलाई स्वतन्त्र छोडिदिनुपर्छ, सुशासन सबैको चासोको विषय भएकाले सबै फाइल विधिपूर्वक खुल्नुपर्छ, यसले कोही व्यक्तिलाई गाह्रो पर्ला, कुनै पनि पार्टीलाई गाह्रो पर्दैन, कुनै पनि दलले भ्रष्टाचारका घटनामा संलग्नलाई बचाउन लाग्नुहुँदैन”–महामन्त्री शर्माले भने ।

संविधानमा नागरिकको ३१ वटा मौलिक हक उल्लेख गरेपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउर्दै उनले त्यसको कार्यान्वयनका लागि काम गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

‘उपत्यकामा राप्रपाको अर्जुन दृष्टि’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा धवलशम्सेर राणाले ‘सत्तासीन कुम्भकर्ण’ लाई जगाउन र जनताको पक्षमा परिवर्तन ल्याउन राप्रपाले उपत्यकामा अर्जुन दृष्टि कायम राखेको प्रष्ट पारेका छन् ।

‘जनताको पीरमर्का बेवास्था गरेर सरकारमा मस्त सुतिरहेको कुम्भकर्णलाई प्रभावकारी धक्का दिन राप्रपा रणनीतिक रुपमा अघि बढेको छ । सशक्त युवा दस्ता र उपत्यकाकेन्द्रीत संगठन त्यसै लक्ष्यको माध्यम हो,’ संगठन विभाग प्रमुख समेत रहेका राप्रपा महामन्त्री राणाले शनिबार भने ।

राप्रपा संगठन विभागको कार्ययोजनाअनुरुप सम्पन्न नगरस्तरीय संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै राणाले स्थानीय तहमा हुने बजेट दुरुपयोग र भ्रष्टाचारविरुद्ध कडा खबदारी गर्न कार्यकर्तालाई निर्देशन दिए ।

‘स्थानीय तहको जगमा देश बन्ने हो, समाज बन्ने हो । त्यसैले नगरपालिका र वडा तहमा जनताको पक्षमा र भ्रष्ट मनोवृत्ति विरुद्धमा राप्रपाले खबरदारी गर्नुपर्दछ,’ उनले भने ।

महामन्त्री कृन्ती शाहीले स्थानीय तहमा महिला जागरणको महत्व उजागर गर्दै महिला शक्तिको बलमा घरपरिवारमा मात्र नभएर देशमा सकारात्मक परिवर्तन ल्याउनु पर्ने बताए ।

प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले पात्र र प्रणालीमा विद्यमान समस्या सरकार र प्रधानमन्त्री परिवर्तनले सम्बोधन नहुने भएकोले नवीन समझदारी गरेर सबै शक्ति र विचार अटाउने संरचना र सहमति आवश्यक रहेको बताए ।

नगर अध्यक्ष अनिल पराजुलीको अध्यक्षता सम्पन्न कार्यक्रममा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले आफ्नो सगठन आफैं बनाउनुपर्छ भन्ने यथार्थ मनन् गरेर स्थानीय संगठन मजबुत बनाउनु पर्ने बताए ।

मोहन वैद्य नेतृत्वमा पार्टीका कार्यकर्ताले गरे विद्रोह

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता–कार्यकर्ताले बिद्रोह गरी श्रमिक कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । शनिबार संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले कार्यक्रम गरी उनीहरुलाई प्रवेश गराएको हो ।

वैद्य नेतृत्वले जनता तथा मजदुरको हितमा काम गर्ने भन्दा व्यक्तिवादी तरिकाले चलेको र पार्टीलाई गतिशील भन्दा दर्शनको जामा पहिराएर जनतालाई दिग्भ्रमित बनाएर राखेको आरोप लगाउँदै नयाँ पार्टीमा प्रवेश गरेको उनीहरुले बताएका छन् । नव प्रवेशीहरुलाई पार्टी संयोजक समरजंगसहित केन्द्रीय नेताहरुले खादा तथा अबिर लगाएर स्वागत गरेका थिए ।

पार्टी संयोजक पूर्णबहादुर सिंह ‘समरजंग’ले नेपालमा पार्टी, क्रान्ति र जनताको हितको लागि भन्ने तर हरेक पार्टी आफ्नो निजी स्वार्थबाट माथि उठ्न नसकेको बताए ।जनताले परिवर्तनको चाहना राख्ने तर पार्टीहरुले भ्रमको खेती गर्ने गरेको आरोप लगाउँदै सिंहले भने, ‘संसदीय दलाल पूँजीवादी व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी ब्यवस्था स्थापनाले मात्रै जनताको चाहना पूरा हुन्छ ।’

पार्टीको ट्रेड युनियनका संयोजक विनोद थापाले शोषित पीडित श्रमिजीवी मजदूरहरुको लागि आफूहरुले नयाँ रणनीति बनाएर अगाडी बढ्ने र सबैलाई साथ दिन अनुरोध पनि गरे । विगतदेखिको आफूहरुको श्रम शोषण मुक्त मुलुक बनाउँने सपना पुरा हुनेमा विश्वस्त भएको बताए ।

इश्वर बुढाथोकीले विगतदेखि विभिन्न माओवादी धारहरुमा आफूहरुले पार्टी र क्रान्तिको लागि योगदान गर्दै आएको र पछिल्लो समयमा वैद्य निकटको मजदुर संगठनले श्रमिकहरुको हितमा काम गर्न नसेकोले आफूहरुले बिद्रोह गरेको बताए ।
बुढाथोकीको नेतृत्वमा कालिबहादुर पाण्डे, चन्द्रबहादुर बस्याल, भूमिका सिञ्जाली, दिपेन्द्र घिमिरे, सुजाता रोका, नितु शाह, राजकुमार खड्का, बलराम तामाङलगायत एक दर्जनबढीले बिद्रोह गरी पूर्णबहादुर सिंह ‘समरजंग’ नेतृत्वको श्रमिक कम्युनिष्ट पार्टी निकट रहेको मजदुर संगठनमा प्रवेश गरेका हुन् ।

सरकारलाई असफल हुने छुट छैन, एक बर्षभित्रै ठोश परिणाम निकाल्ने योजना छः सञ्चारमन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको प्रष्ट बटमलाइन सुनाएका छन् ।

गण्डकी प्रदेशको पोखरामा नेपाल पत्रकार महासंघ कास्कीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले यस्तो बटमलाइन सुनाएका हुन् ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले सवै बिकल्प सकिएपछि संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाइएको प्रष्ट पारे ।

उनले वर्तमान सरकारले एक वर्षभित्रमा परिर्वतनको अनुभूति हुनेगरी काम गर्ने जानकारी पनि दिए । ‘देशलाई अघि बढाउनु छ । जनतामा छाएको निरासा चिरेर उत्साहित बनाउनु छ । त्यो गर्ने भनेको कामबाटै हो । त्यसकारण देश बनाउने अठोटसहित गठन भएको वर्तमान सरकारलाई असफल हुने छुट छैन । प्रधानमन्त्रीले पनि यस बिषयमा हामीलाई स्पष्ट दिशानिर्देश गर्नुभएको छ,’ सञ्चारमन्त्री गुरुङले भने ।

मन्त्री गुरुङले राजनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिन संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाइएको बताए । ‘संसदीय अभ्यासमा प्रमुख दुई ठूला दलको सरकार विरलै बन्ने गर्छ । देशलाई अघि बढाउन मिल्नै पर्ने बाध्यात्मक अवस्थामा मात्रै दुई ठूला दल मिलेर सरकार बनाउनु पर्ने अवस्था हुन्छ । बिगतमा पनि त्यही भयो । अहिले पनि हामीले यसलाई अन्तिम विकल्पका रुपमा प्रयोग गरेका हौं,’ एमाले उपमहासचिव तथा गण्डकीका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले भने।

उनले अहिलेको सरकारपनि असफल भए जनतामा चरम निरासा छाउने भएकोले कामको परिणाम ल्याउनै पर्ने अन्तिम बिकल्पमा आफूहरु रहेको बताए । ‘यो सरकार पनि असफल भए मूल धारका पुराना राजनीतिक दलप्रतिको जनविश्वास टुट्छ । जनतामा बाँकी रहेको आत्मबल पनि सकिन्छ । त्यसैले अहिले रमाउने होइन, काम गरेर परिणाम दिने हो भन्ने साझा अठोट प्रधानमन्त्रीले गराउनु भएको छ,’ सञ्चारमन्त्री गुरुङको भनाई थियो ।

नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले सरकारले अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, सुशासन र विकास गतिविधिलाई केन्द्रमा राखेर काम गर्ने खाका पनि सुनाए ।

यस्तै उनले डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिने जानकारी दिए । सञ्चार क्षेत्रसँग सम्बन्धित ऐन, कानुनलाई समयसापेक्ष ढङ्गले परिमार्जन गरिने पनि मन्त्री गुरुङको भनाइ थियो ।

‘अहिले पनि पुराना ऐन, कानुनबाट कतिपय सञ्चार संस्था चलिरहेका छन्, तिनलाई संशोधन र परिमार्जन गर्नुपर्छ, आवश्यक परेका कानुन निर्माणमा सञ्चार मन्त्रालयले विशेष पहल लिन्छ’, सञ्चारमन्त्री गुरुङले भने, ‘हुलाकलगायत संस्थालाई आधुनिक ढङ्गले सञ्चालन गर्न आवश्यक छ ।’

मन्त्री गुरुङले दूरसञ्चार सेवालाई थप गुणस्तरीय बनाइने तथा सञ्चारमाध्यमको सवलीकरण र पत्रकारको वृत्तिविकासका लागि कार्ययोजना बनाएर काम गर्ने जानकारी पनि दिए । यस्तै उनले आफू नाम लेखाउन मात्र आएको नभई एक बर्षभित्र ठोश परिणाम ल्याउने प्रतिवद्धतासहित सहयोग र सहकार्यका लागि मिडियादेखि सूचना प्रविधि क्षेत्रका सवै सरोकारवाला पक्षलाई आग्रह गरे ।

गुरुङ सञ्चारमन्त्री नियुक्त भएपछि पहिलो पटक गृहप्रदेश गण्डकी आएका हुन् । गृहजिल्ला लमजुङ जाने क्रममा पोखरा आउनु भएका सञ्चारमन्त्री गुरुङसँग पत्रकार महासंघले पत्रकार भेटघाटको आयोजना गरी आफ्नो समस्यासमेत सुनाएको छ ।

धनगढीको नोभा अस्पतालमा तनाब, तीन राउन्ड अश्रुग्यास प्रहार

काठमाडौं । धनगढीमा सञ्चालीत नोभा अस्पतालमा तनाब उत्पन्न भएकोे छ ।

सामान्य अवस्थामा ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुङ्गामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका छन्।

प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउन्ड अश्रुग्यास प्रहार गरेको छ।

अश्रुग्यास प्रहार गरेपछि अहिले उनीहरु तितरबितर भएका छन् भने अस्पतालले मृतकका आफन्तसँग वार्ता गरिरहेको छ। जन्डिसको समस्या लिएर साउन ७ गते अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको थियो।

मृतकका आफन्तका अनुसार शुक्रबार अवस्था जटिल बनेपछि मात्र अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भनेको थियो। दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको हो।

मनाङबाट ३२ किलो ५ यार्सा निकासी

मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा संकलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो ५०० ग्राम यार्सागुम्बा निकासी भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा उक्त परिमाणको यार्सागुम्बा संकलन तथा निकासी भएको जानकारी दिए ।

उक्त परिमाणको यार्सागुम्बा निकासीबाट १६ लाख ५७ हजार ५०० राजस्व संकलन भएको उनले बताए । यार्सा निकासीका लागि प्रतिकिलो ५१ हजार कर लिने गरिएको छ ।

निकासी गरिएको कर ५१ हजारमध्येबाट १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा १० हजार स्थानीय तहलाई उपलब्ध गराइन्छ ।