बागमती प्रदेशमा कांग्रेसका ४ जना मन्त्रीले दिए सपथ

काठमाडौं । बागमती प्रदेशमा कांग्रेसका ४ जना मन्त्रीले शपथ लिएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शनिबार हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र विमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्री हेरफेर गरेका छन । खड्गीलाई सामजिक विकास, लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, महर्जनलाई युव तथा खेलकुद , ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

लामाले आफ्नै दल कांग्रेसका मन्त्रीहरूको जिम्मेवारी हेरफेरसँगै नयाँलाई जिम्मेवारी दिएर आज शपथ गराइएको हो ।

नाउपाका अरुण चौधरी राज्यमन्त्री बन्दै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केपी शर्मा ओली नेतृत्वको सरकारमा अरुण चौधरीलाई राज्यमन्त्री बनाउने भएको छ। पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले सांसद चौधरीलाई राज्यमन्त्रीमा सिफारिस गरेकी छन् ।

प्रतिनिधि सभामा चार सिट रहेको नाउपाले मन्त्री पाउने सम्भावना क्षीण रहेपछि अध्यक्ष रन्जिताले अरुणलाई राज्यमन्त्रीमा सिफारिस गरेकी हुन् ।

अरुण मन्त्रीका आकाङ्क्षी हुन् । केही समय अघिसम्म रन्जिता निकट रहेका अरुण अहिले रेशम निकट भएका छन् ।

आजको राशिफलः २०८१ साउन १२ गते शनिवार, यी राशिका व्यक्तिहरुको भाग्य चम्कदै !

मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आजको दिन राशी एवं नक्षत्रको हिसाबले निक्कै शुभ बन्ने देखिन्छ। मन संकल्पित काममा सफलता। वैदेशिक व्यापार एवं राजनीतिमा योगदान। विदेशी लगानीकर्तासँग सहकार्यको अवसर। प्रेम एवं वैवाहिक सम्बन्धमा सुमधुरता। शुभ अंक १ शुभ दिशा उत्तर शुभ रंग गुलावि

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
मिश्रित फलदाता दिन।निजि व्यवसायमा लगानी गर्दा फाइदा हुने।सामाजिक कार्यक्षेत्रमा समय लगानी गर्नुपर्ने।वैदेशिक लगानीले प्रगतिको गति लिनेछ। घर परिवारमा समय दिन नसकेको गुनासो सुन्नुपर्ने हुनसक्छ।शुभ अंक ५ शुभ रंग कलेजी शुभ दिशा पुर्व।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
आर्थिक हिसाबले शुभ फलदाता दिन रहेको छ। धन संचय हुनेछ। परिवारमा मंगलिक कार्य हुने सुनिश्चित हुनेछ। फलाम तेल औषधीजन्य व्यवसायीहरुको मुनाफा वृद्धि एवं कार्यक्षेत्र विस्ताराको मौका मिल्नेछ।आजको इष्टदेव भैरव हुनुहुन्छ। आराधना पुर्वक दिनको आरम्भ गर्नुहोस।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आर्थिक कारोबारको व्यस्ततामै दिन वित्ने देखिन्छ। खेलाडी ,सैन्य जवान , प्रहरी, र कुटनैतिक क्षेत्रका महानुभावहरुलाइ पदोन्नति तथा मान सम्मान र प्रतिष्ठा मिल्ने योग बनेको छ। यात्राको योग परेको छ। नयाँ सवारी साधनको खरिद तथा घर जग्गाको कारोबारको लागि समेत दिन शुभ मानिन्छ। शुभ अंक ८ शुभ रंग सेतो शुभ दिशा वायव्य

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज विजय प्राप्तिको योग परेको हुँदा निर्णय सदर हुनेछ। मुद्धा मामिलामा जित मिल्नेछ। राजनितिमा सफलता मिल्नेछ।भाग्यले साथ दिएको छ। वित्तीय कारोबार र उर्जा क्षेत्रसँग सम्बन्धित कामबाट मनग्ये लाभ होला। इष्ट देवता गणेश शुभ अंक ४ शुभ रंग रातो शुभ दिशा पुर्व।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
भाग्यले साथ दिएको दिन हो।मनोरथ पूरा होला।वैदेशिक कार्यको लागि सुभ फलदाता नक्षत्र युक्त दिन परेको छ हुनाले लामो यात्राको पहल हुनेछ। ब्राम्हण मान्यजन एवं गुरुदेवको आशीर्वाद प्राप्त हुनेछ।भक्तिमा मन जानेछ।विछोडिएका पति पत्नीको पुनर्मिलको संयोग परेको छ। इष्ट देवता इन्द्रायणी।शुभदिशा आग्नेय शुभ रंग नौनी सेतो शुभ अंक ९

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
दिनको पुर्वार्ध सामान्य ।उत्तरार्ध हर्षबर्धक रहनेछ।भाग्यले साथ दिनेछ।शिक्षा सफल देखिन्छ ।नयाँ नोकरी मिल्ने सम्भावना छ।प्रेम सम्बन्ध तथा विवाहको टुंगो लाग्नेछ। दिनको पुर्वार्धमा नसोचेको झमेला तथा मुद्दा मामिलामा फस्नु पर्ने हुनसक्छ परन्तु साथिभाइको सहयोगले समस्याबाट छुटकरा मिल्ला। इष्ट देवता दुर्गा ।शुभ दिशा पश्चिम।शुभ रंग नीलो शुभ अंक ७

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )
कर्म प्रधान दिन रहेको छ। व्यस्त रहनुपर्ला। आफ्नै निर्णयले आफैंलाइ लज्जित बनाउला। शत्रुको योजना सफल हुनसक्छ सचेत रहनुहोला।पती पत्नीको सल्लाह घातक सिद्ध होला ।वैदेशिक यात्रा हुनसक्छ। तेल फलाम ढुङ्गासँग संबंधित कामबाट फाइदा होला। इष्ट देवता सुर्य शुभ दिशा पुर्व शुभ रंग रातो शुभ अंक ५

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
थकित गराउनेवाला दिन। लग्नेश माथी सुर्यको अशुभ प्रभाव ।शत्रुको डटेर सामना गर्नुपर्ने। चोटपटक तथा रोगको कारण खर्च गर्नुपर्ने। भाग्यको बल लामो समयदेखी रोकिएको काम बन्ने। माता पिताको सेवा गर्ने मौका मिल्ने।शैक्षिक क्षेत्रमा गरेको लगानी फलिभुत हुने। इष्ट देवता शिवजी शुभ दिशा इशान शुभ रंग पंहेलो शुभ अंक ११ वा २

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
प्रगतिकारक दिन।सन्तानको कारण मानसम्मान प्राप्ति ।उद्योग कल कारखानामा लगानी गर्नुपर्ने। लगानीले मुनाफाको गति लिने।राजनीति नोक्सान कारक हुनसक्ने। पति पत्नीमा झगडाको स्थिती हुनसक्ने। विपरित लिङ्गका मित्रहरुबाट सचेत रहनुपर्ने। नोकरी चिट्ठा तथा अकस्मात धन प्राप्तिको योग इष्ट देवता कुलदेवता शुभ दिशा दक्षिण शुभ रंग खराने शुभ अंक ७

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
समय राम्रो। गुमेको सम्पत्ती हात लाग्ने । आर्थिक लगानी नगर्नुहोस नोक्सान हुनसक्छ। गुप्त शत्रुबाट सचेत रहनुपर्ने ।विदेशी मित्रहरुसँग सहकार्य गर्ने मौका मिल्ने। संतानको कारण लज्जा बोध होला।गैरसरकारी निकायमा काम गर्ने मौका मिल्न सक्छ। इष्ट देवता कुबेर शुभ दिशा उत्तर शुभ रंग सेतो शुभ अंक ३

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
समय राम्रै। व्यर्थको परिश्रम गर्नुपर्ने। आय र व्ययको सन्तुलन रहने। नेत्र विकार सम्बन्धी स्वास्थ्य समस्या हुनसक्ने।संचित धनमा शत्रुको नजर रहने। प्रशासनिक सहयोग प्राप्त हुने। वाणीमा संयमता अपनाएको राम्रो जग्गा जमिन तथा वैंकिङ लगानीले प्रगतिको गति लिने।इष्ट देवता हनुमान।शुभ दिशा पश्चिम। शुभ रंग सिन्दुरे। शुभ अंक ४ ।

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै महँगो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। अमेरिकी डलरले आज पनि अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हो।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३४ रुपैयाँ २२ पैसा थियो। बिहीबार अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा थियो। हिजो केही घटेको अमेरिकी डलरको मूल्यले आज फेरि अहिलेसम्मकै उच्च रेकर्ड बनाएको हो।

युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ११ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा थियो। बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८१ पैसा थियो।

अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५४ पैसा थियो। कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ १५ पैसा र बिक्रीदर ४३९ रुपैयाँ १२ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ५७ र बिक्रीदर ३५६ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ४९ र बिक्रीदर ३५६ रुपैयाँ ०८ पैसा थियो।

मौसमः आज कहाँ-कहाँ पानी पर्दैछ ?

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।

विमान दुर्घटना मृत्यु भएकाहरुमध्ये पाँच जनाको शव आफन्तले बुझे

काठमाडौं । बुधबार भएको सौर्य एयरको विमान दुर्घटना मृत्यु भएकाहरुको शव आफन्तले बुझेका छन् ।

शुक्रबार मृतक १८ मध्ये ५ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि आफन्तले बुझेका हुन् ।

जसमा को–पाइलट सुशान्त कटवाल, उद्धव पुरी, अश्मिन निरौला, श्याम विन्दुकर, राजाराम आचार्यको शव आफन्तलाई बुझाइएको हो । त्यस्तै अन्य दुई शव भोलि बुझ्नेगरी प्रक्रिया थालिएको छ ।

तर केही मृतकका आफन्त तथा परिवारले भने क्षतिपूर्तिको सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडान राख्दै आइरहेका छन् ।

बुधबार त्रिभुवन अन्तराट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान उडानको केही बेरमै दुर्घटनामा परेको थियो । त्यसमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको थियो । विमानका पाइलट मनिषरत्न शाक्यको भने उपचार भइरहेको छ । अहिले उनको स्वास्थ्य सुधारोन्मुख रहेको सिनामंगलस्थित केएमसी अस्पतालले जनाएको छ ।

मौद्रिक नीतिः कामदार भिसामा विदेश जानेलाई विनाधितो ऋण

काठमाडौं । रोजगारीका लागि विदेश जानेले अब बिनाधितो ऋण पाउने भएका छन्। शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकिङ च्यानलबाटै रेमिट्यान्स पठाउने सुनिश्चतता भए वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने व्यवस्था मिलाउने घोषणा गरेको हो।

श्रम स्वीकृति लिएर विदेश जानेहरूले बैंक खातामा रेमिट्यान्स पठाउने ग्यारेन्टी गरे बिनाधितो ऋण पाउनेछन्।

कोशी प्रदेशः माओवादी सरकारबाट बाहिरियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । केन्द्रमा कांग्रेस–एमालेको नयाँ समिकरण र त्यपछिको सरकार गठनका कारण माओवादी सरकारबाट बाहिरिएको हो ।

कोशी प्रदेशमा एकजना राज्यमन्त्रीसहित माओवादीका ४ जना मन्त्री थिए । भौतिक पूर्वाधारमन्त्री गणेश उप्रेती, स्वास्थ्मन्त्री राजेन्द्र कार्की, पर्यटनमन्त्री नारायण बुर्जा मगर र पर्यटन वन तथा वातावरण राज्यमन्त्री वन्दना झाँगले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

आज बसेका संसदीय दलको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले बताए । तर, सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने बताएका छन् ।

मौद्रिक नीति सार्वजनिक, के–के छन् नीतिमा (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेका हुन् । त्यसअघि राष्ट्रबैंकको सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गरेको थियो ।

गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको संचिति बढेको र वित्तीय संस्थाहरूमा तरलता बढेकाले ब्याजदर घटदोक्रममा रहेको बताएका छन् । उनले देशको वर्तमान अवस्थालाई विश्लेषण गर्दै लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताए ।

उनले मुद्रा स्फृतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने र ७ महिनाको लागि विदेशी बस्तु तथा सेवा आयात गर्ने गरी विदेशी मुद्राको संचिति राख्ने नीति लिएको जानकारी दिए ।

गभर्नर अधिकारीले बजेटमा व्यवस्था गरिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोगी हुने गरी नीति तय गरिएको बताए ।

मौद्रिक नीतिः  शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै संस्थागत शेयर धितो कर्जामा तोकिएको अधिकतम सीमा खारेज गरेको छ । व्यक्तिगततर्फको शेयर धितो कर्जामा मौद्रिक नीतिले केही नयाँ व्यवस्था ल्याएको छैन ।

‘मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु २० करोडको सीमा खारेज गरिनेछ,’ मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने ।

धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीलाई सहमति प्रदान गरिसकेको मौद्रिक नीतिमा उल्लेख छ ।

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । लामो समयदेखि मृगौला रोगबाट ग्रसित उनको उपचारकै क्रममा बिहीबार राति १०ः४० बजे निधन भएको हो ।

उनले लामो समयदेखि डायलासिस गराउँदै आएकोमा पछिल्लो १ महिनायता समस्या थप बल्झिएको थियो । अहिले उनको पार्थिव शरीर श्रद्धाञ्जलिका कीर्तिपुर नगरपालिका परिसरमा राखिएको छ । नकर्मी गत स्थानीय चुनावमा कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

२०५४ सालमा नगरपालिका बनेको कीर्तिपुरमा पहिलो पटक कांग्रेसका नकर्मी मेयरमा निर्वाचित भएका थिए । वामपन्थीहरूको लालकिल्लाका रूपमा रहेको कीर्तिपुर नगरपालिकामा गत स्थानीय निर्वाचनमा पहिलो पटक एमाले ‘क्लिन स्विप’ भएको थियो ।

सुनको भाउ घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ। बिहीबार एक लाख ४५ हजारमा कारोबार भएको छापावाल सुन आज एक लाख ४४ हजार सात सय निर्धारण भएको छ।

यस्तै, बिहीबार एक लाख ४४ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार निर्धारण भएको छ।

चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको छ। बिहीबार एक हजार सात सय ५० निर्धारण भएको चाँदी आज एक हजार सात सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

वार्षिक मौद्रिक नीति पारित

काठमाडौं । नेपाल राष्ट्र बैंकको बोर्ड बैठकले चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीति पारित गरेको छ।

आज बिहान बसेको बोर्ड बैठकले मौद्रिक नीति पारित गरेको हो। बैठकले आजै सवा १२ बजे मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको छ।

मौद्रिक नीतिमा सेयर बजार, घरजग्गालगायतका क्षेत्रमा खुकुलो नीति लिनेसक्ने अनुमान गरिएको छ।

त्यसैगरी कर्जा, अटोमोबाइललगायत समग्रमा अर्थतन्त्रलाई सहयोग हुनेगरी मौद्रिक नीति आउने अपेक्षा नीजी क्षेत्रको छ।

कोशी प्रदेशमा पनि माओवादी सरकारबाट बाहिरिदै

काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र)ले बाहिरीनका लागि गृहकार्य थालेको छ ।

आज नै माओवादीका मन्त्रीहरुले सरकार छोड्ने बुझिएको छ । एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादीका एक जना राज्यमन्त्रीसहित चार मन्त्री छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन, वन तथा वातावरण मन्त्री रहेका छन् ।

यस्तै वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री छन् । अन्य प्रदेशमा माओवादी सरकारबाट बाहिरी सक्दा पनि कोशीमा ढिलाइ हुनुमा मुख्यमन्त्री हिक्मतबहादुर कार्कीकै आग्रह रहेको माओवादी नेताहरुको भनाइ रहेको छ । कोशी सरकारको नेतृत्व आलोपालो गर्न र मन्त्रालयहरूको भागबन्डा टुंग्याउन नेपाली कांग्रेस र नेकपा ९एमाले०बीच औपचारिक छलफल सुरू हुने भएपछि माओवादीले सरकार छाड्न लागेको हो ।

कोशी सरकारका वन तथा पर्यटनमन्त्री नारायण बुर्जा मगरले पछिल्ला केही दिनमा भने मुख्यमन्त्री कार्कीले सरकारबाट बाहिरिँदा राम्रो भन्ने सुझाव दिएको बताए । ‘मुख्यमन्त्रीले नै अब बाटो खुला गरिदिनूस् भनेपछि गर्नैप¥यो,’ उनले भने, ‘मुख्यमन्त्रीले दलको नेतामार्फत् यस्तो सन्देश पठाउनुभएको छ, त्यसैले आज दिउँसो बैठक बसेर निर्णय गर्नेछौं ।’ माओवादीले कोशी सरकार छाड्ने निर्णय लिएपछि कांग्रेसको प्रदेश सरकार प्रवेशको बाटो खुल्नेछ । उता, सत्ता गठबन्धनका नयाँ सहयात्रीहरू कांग्रेस र एमालेबीच मुख्यमन्त्रीमा आलोपालोको समयसीमा तोक्न, मन्त्रालय र संवैधानिक नियुक्तिहरूको भागबन्डा लगाउन अनौपचारिक रुपमा छलफल अघि बढेको छ ।

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६२ पैसा र बिक्री दर १३४ रुपैयाँ २२ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसा रहेको छ। बेलायती पाउण्ड भने एकको खरिद दर १७२ रुपैयाँ ०४ पैसा र बिक्री दर १७२ रुपैयाँ ८१ पैसा पुगेको छ।

राष्ट्र बैंकका अनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको छ।

त्यसैगरी दक्षिण कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६८ पैसा र बिक्री दर ९ रुपैयाँ ७२ पैसा रहेको छ।

हङकङ डलर १ को खरिद दर १७ रुपैयाँ १२ पैसा र बिक्री दर १७ रुपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।