आज मौद्रिक नीति सार्वजनीक गर्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो।

यसका लागि राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको छ। बोर्ड बैठकलगत्तै मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।

मौद्रिक नीति गत शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो।

राष्ट्र बैंकका पूर्व गभर्नर डा.युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक तथा विकास सल्लाहकार नियुक्त भएपछि मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो।

खतिवडाको सुझाव समेटिएर मौद्रिक नीति आउने बताइएको छ।

चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । आंशिकदेखि साधारणतया बदली हुँदा गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त

काठमाडौं । विहीबार बसेको मन्त्री परिषदको बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी यसअघि योजना आयोगका सदस्य थिए । पाल्पाका अधिकारीले त्रिवि अर्थशास्त्र विभागको प्रमुखको रुपमा पनि उनले जिम्मेवारी सम्हालिसकेका छन् ।

उपाध्यक्ष अधिकारीसँगै आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, जयबहादुर टण्डन, गंगादत्त अवस्थी र गीता अधिकारीलाई योजना आयोग सदस्यमा नियुक्त गरेको छ ।

लोक गायक एलपी जोशीको निधन

काठमाडौं । लोक गायक एलपी जोशीका निधन भएको छ । विहीबार साझ खाना खान तयारी गरिरहदा जोशी बेहोस भएका थिए । उनलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याउने वित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेको थिए ।

८८ वर्षीय जोशीले रिटिङ, रिटिङ नबजाउ बिनायो लगायतका सयौं कालजयी लोकगीत गाएका छन् ।

जोशीको भोली दाहसंस्कार हुने पारिवारीक स्रोतले जनाएको छ ।

रामेछापमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु

ठमाडौं । रामेछापको गोकुलगंगामा पहिरोमा पुरिएर एकै घरका तीनजना किशोरीको मृत्यु भएको छ।

गोकुलगंगा गाउँपालिका–६ फर्पुमा गएराति पहिरोमा पुरिएर तीन किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

स्थानीय बिमा तामाङको घर पहिरोले पुरिँदा उनकी १८ वर्षकी छोरी सता, नातिनीहरु १४ वर्षीया आसिका १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए ।

थाइल्याण्डमा एडीपीसीको पाँचौ बैठक सुरु, नेपालमा सबसेन्टर खोल्न प्रस्ताव

काठमाडौं । एसियन डिस्यास्टर प्रिपियर्डनेस सेन्टर(एडीपीसी)को पाँचौ बैठक थाइल्याण्डमा सुरु भएको छ । विहीबारदेखि शुरु भएको उक्त बैठकमा एडीपीसीमा नेपाललगायत चीन, भारत,थाइल्याण्ड,फिलिपिन्स,पाकिस्तान,श्रीलंका,बंगलादेश र कम्बोडिया सदस्य राष्ट्रका रूपमा रहेका छन् ।

सबै सदस्य राष्ट्रका उच्चपदस्थको सहभागिता रहेको सो बैठकमा नेपालको तर्फबाट गृहमन्त्रालयका सचिव एकनारायण अर्याल नेतृत्वको उच्च पदाधिकारीहरूको टोलीले सहभागिता जनाइरहेको छ ।

नेपालबाट सहभागि टोलीको नेतृत्व गरिरहेका गुहसचिव अर्यालले नेपालमा प्रकोप न्यूनीकरण, व्यवस्थापन र प्रकोपपूर्वको तयारीका लागि सबसेन्टर खोल्नुपर्ने प्रस्ताव राखेका छन् । सचिव अर्यालले विपद् व्यवस्थापनमा आवश्यक सहकार्य गर्नुपर्ने प्रस्ताव पनि राखेका थिए ।

गृहसचिव अर्यालले राखेको एजेन्डा र छलफलका विषयमा सहभागी अन्य राष्ट्रहरू सकारात्मक देखिएका छन् । बैठक शुक्रबारसम्म चल्ने जनाइएको छ ।
एडीपीसीले यस क्षेत्रमा संकटकालीन व्यवस्थापन, विपद् व्यवस्थापन,विपद् जोखिम न्यूनीकरण,क्षमता विकास, तालिम र जनशक्ति व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र साझा सहकार्य तथा विभिन्न सहयोग आदान प्रदानका विषयमा काम गरिरहेको छ । हाल यसको अध्यक्ष राष्ट्रको रूपमा भारत रहेको छ र नेपाल भाइस अध्यक्षको रूपमा मनोनयन भएको छ । यससँगै आगामी २०२५ मा नेपाललाई स्वतः एडीपीसीको अध्यक्षता ग्रहण गर्ने बाटो खुलेको छ ।

आजको राशिफलः कस्तो छ आजको तपाईको भाग्यफल

मेष

व्यापार व्यावसायमा लगानी बढाइ प्रशस्त आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाइ लेखाइमा राम्रो प्रगती गरी नाम कमाउन सकिनेछ भने बैकिङ क्षेत्रको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ ।

वृष

प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने पछिसम्म आम्दानी भइरहने व्यवसायमा लगानी गरी रोजगारीको अवसरहरु सिर्जना गर्न सकिनेछ ।

मिथुन

परिवार तथा आफन्तजनसँग मनमुटाव बढ्नेछ । पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ ।

कर्कट

मायाप्रेम तथा पतीपत्नी बीच केहि विषयमा मनमुटाव बढ्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परेको भान हुनेछ । धनमाल हराउन तथा लुटिन सक्छ, सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन बढि नै संघर्ष गर्नुपर्नेछ ।

सिंह

व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । लामो तथा रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न हुनेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तपाईंले सोचेजस्तै राम्रो हुनेछ ।

कन्या

अध्ययनमा समय दिन नसके पनि अतिरिक्त ज्ञान गुनका कुराहरु प्राप्त गर्न सकिने समय रहेको छ । तपाईंको नराम्रो सोच्नेहरु आफै किनारा लाग्नेछन् । शत्रु परास्त हुनेछन् भने ठूला बडाको आशीर्वादले अगाडी बढ्न सहज हुनेछ । परिवारमा मेलमिलापको भाव बढ्नेछ भने एक अर्काबीच आत्मियता वृद्धि भएर जानेछ ।

तुला

व्यापार व्यावसायमा सन्तोषजनक फाइदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढि नै संघर्ष गर्नुपर्नेछ । मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोरा छोरीबाट तपाईंको काममा सहयोग हुने छैन ।

वृश्चिक

जीवनशैली व्यस्त भएपनि आर्थिक रुपमा पछि नै परिनेछ । आमा तथा आफ्नैबाट टाढिनु पर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्रा तय हुनेछ । अध्ययनमा समय दिन नसक्दा सफलता चुम्न निकै मुस्किल पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ भने साथीभाइले नै धोका दिन सक्छन् ।

धनु

छोटो तथा रमाईलो आन्तरिक यात्रा तय हुनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पती पत्नीबीचको सम्बन्धमा प्रगाढता बढेर जानेछ । उद्योग तथा व्यवसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिनेहरुले नाम तथा दाम कमाउन सकिनेछ ।

मकर
आफन्त तथा कुटुम्वसँग व्यवहार गर्दा वा कुनैपनि काम गर्दा सावधानी अपनाउनु होला, कामहरु बिग्रने तथा मनमुटाव पैदा हुनसक्छ । समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेको छ । मायाप्रेममा अविस्वास बढ्नाले मन खिन्न हुनेछ ।

कुम्भ

व्यापार व्यावसायमा लगानी गरी प्रशस्त आम्दानी गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानी खेर जाने छैन भने पद पाउने योगलाई नकार्न सकिँदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ ।

मीन

गलत काम भुलेर पनि नगर्नुहोला, नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिनेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ, सचेत रहनुहोला । व्यापार व्यवसाय खस्केर जानेछ भने विदेशी सामानको व्यापार बढेर जाने योग रहेको छ ।

नेप्से परिसूचक आज उकालो लाग्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर २ हजार ५ सय ६८ दशमलव ११ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव शून्य ९ अङ्कले उकालो लागेर ४ सय ६० दशमलव शून्य तीनमा पुगेको छ। कुल ३ करोड ५५ लाख ९४ हजार ८ सय ६८ कित्ता शेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ मूल्यमा कारोबार भयो।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा गिरावट अएको छ। नौ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ। नेप्सेका अनुसार, उपकार लघुवित्त १०, जीवन विकास लघुवित्त र एसियन हाइड्रोपावरको शेयर मूल्यमा समान ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ।

बेचन झाले थुनामुक्त गर्न माग गर्दै दिएको रिट खारेज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाले आफूलाई थुनामुक्त गर्न माग गर्दै दिएको रिट निवेदन सर्वोच्चले खारेज गरिदिएको छ। सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट खारेजीको आदेश दिँदै थुनामुक्तको आदेश दिन अस्वीकार गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।

‘रिट पनि खारेज गर्दै फैसला भएको छ,’ उनले हिमालप्रेससँग भने, ‘जिल्ला अदालतले गरेकै आदेश सर्वोच्चले पनि सदर गरिदिएको छ।’

सर्वोच्चले जिल्ला अदालतको अनुमति लिएर प्रहरीले अनुसन्धानका लागि थुनामा राखेको देखिएको भन्दै सर्वोच्चले उक्त निर्णय सदर गरिदिएको हो। जिल्ला अदालत काठमाडौँले संगठित अपराधमा अनुसन्धानका लागि पटक(पटक म्याद थप गरेर थुनामा राखेपछि झाका तर्फबाट छोरा दिब्यान्सु शेखर झाले गत असार ३० गते बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए।

झा गत असार १४ गते पक्राउ परेका हुन्। नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले झालाई पक्राउ गरेको थियो। उनलाई नेपाल–भारत सीमावर्ती क्षेत्रबाट नेपाल ल्याइएको हो।

सौर्य एयरको विमान दुर्घटनाः ‘१०० फिट माथि गएपछि जहाज कन्ट्रोल गर्न सकिनँ’

काठमाडौं । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुर्घटनामा रनवेबाट जहाज उडाएर ५०–१०० फिटमाथि पुर्‍याएपछि आफूले नियन्त्रण गर्न नसकेको क्याप्टेन

मनीषरत्न शाक्यले बताएका छन् । काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा उपचाररता शाक्यले अस्पतालकी प्रा.डा. मीना थापासँग दुर्घटनाका विषयमा कुराकानि भएको छ । आज अस्पतालले विज्ञप्ति जारी गर्दे क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

बुधबार बिहान ११ बजेर ११ मिनेटमा उडेको जहाज केहीबेरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो।

जहाज दुर्घटनामा परेर १७ जना नेपाली र एक विदेशीको निधन भएको थियो भने क्याप्टेन शाक्य घाइते हुनुभएको थियो।

अस्पतालकी निर्देशक डा. थापाले क्याप्टेन शाक्यसँग गरेको कुराकानी उद्धृत गर्दै जानकारी दिएकी छन्। ‘जहाज उडाउन कोशिस गर्दै थिएँ, ५०–१०० फिट माथि गएको थियो । त्यसपछि कन्ट्रोल गर्न सकिनँ,’ क्याप्टेन शाक्यले बताएको कुरा उद्धृत गर्दै निर्देशक डा थापाले भनिन्, ‘छिनमै जहाज तल झर्‍यो, मचाहिँ कता–कताबाट बाहिर निस्किएँ।’ शाक्यलाई आइसियूमा राखेर उपचार गरिएको छ । सौर्य एयरको नाइनएन– एएमई – सिआरजे २०० कलसाइनको जहाज बुधबार दुर्घटनामा परेको थियो।

सौर्य एयरको विमान दुर्घटनाः क्याप्टेनको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । बुधबार सौर्य एयरको विमान दुर्घटनामा घाइते पाइलट (क्याप्टेन) मनिषरत्न शाक्यको अवस्था सामान्य रहेको छ ।

काठमाडौं मेडिकल कलेज (केएमसी) ले विज्ञप्ति जारी गर्दै उनको अवस्था सामान्य रहेको र अन्य कुनै जटिलता नरहेको जनाएको हो ।

साथै उनको अनुहार, नाक, आखा तथा टाउकोमा चोटहरु, हड्डी साथै देब्रेपट्टीको ३ वटा करङहरु भाचिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अनुहार तथा नाक र आँखाका चोटहरुको बुधबार नै उपचार भइसकेको छ ।
‘उहाँको अनुहार, आखा, नाक तथा टाउकोमा चोटहरु, ढाडको एउटा हड्डी साथै देब्रे पट्टीको ३ वटा करङहरु भाँचिएका छन्,’ अस्पतालले भनेको छ, ‘अनुहार तथा नाक आखाका चोटहरुको हिजै उपचार भइसकेको जानकारी गराउँदछौँ ।’

पहिलो मुख्यसचिवमा लीलादेवी गडतौला नियुक्त

काठमाडौं । मुख्यसचिवमा लीलादेवी गडतौला नियुक्त भएकी छिन् । आज बसेको मन्त्रिपरिषद् बैठकले कायममुकायम मुख्यसचिव गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

तत्कालिन मुख्यसचिव डा. बैठुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेसँगै यसअघि पुष्पकमल दाहाल प्रचण्डले गडतौलालाई कार्यबाहक मुख्यसचिव बनाउने निर्णय गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव अर्याललाई गत असार १० गते राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गर्ने निर्णय भएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गडतौलाले वरीष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन्।

उनी पहिलो महिला मुख्यसचिव हुन् ।

फिलिपिन्समा ताइफु आँधीका कारण २२ को मृत्यु

मनिला । गेईमी ताइफुको कारण आएको बाढी र पहिरोमा परेर फिलिपिन्समा २२ जनाको मृत्यु भएको छ । डुबेर वा पहिरोमा पुरिएर मृतकको सङ्ख्या बढेको अधिकारीहरूले बताएका छन् । प्रहरीका अनुसार त्यहाँ कम्तीमा तीन जना बेपत्ता छन् ।

ताइफुको कारण ताइवानमा पनि तीन जनाको मृत्यु भएको छ । २२० जना घाइते भएको खबर छ । ताइफुको प्रभावले त्यहाँका न्यून तटीय क्षेत्र डुबानमा परेका थिए भने पहिरोका कारण घर र पसलहरूमा क्षति पुगेको छ ।

बिहीबार लगातार दोस्रो दिन पनि ताइवानमा विद्यालय र कार्यालयहरू बन्द भएका छन् । सर्वसाधारणलाई घरभित्रै बस्न र तटीय क्षेत्रबाट टाढा रहन भनिएको छ । ताइवान बेला बेलामा ताइफुको चपेटामा परिरहन्छ ।

त्यहाँको सरकारले चेतावनी प्रणाली पनि बलियो बनाएको छ । तर भौगोलिक बनावट, उच्च जनघनत्व र हाई–टेक अर्थतन्त्रका कारण यस्तो खालको क्षति टार्न कठिन भइरहेको बताइएको छ ।

आठ विद्यालयमा २५ विद्यार्थी

हुम्ला । उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाका आठवटा विद्यालयमा २५ भन्दा कम विद्यार्थी अध्ययन गर्दै आएका छन्। माथिल्लो कक्षा छोड्ने क्रम वृद्धि भएसँगै ती विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको हो।

नाम्खा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मजोजकुमार बुढाले आफ्नो गाउँपालिकामा २५ भन्दा कम विद्यार्थी भएको विद्यालय संख्या आठवटा रहेको बताए। उक्त गाउँपालिकामा जम्मा १४ वटा विद्यालय रहेका छन्।

उनले बर्सेनि विद्यार्थी संख्या घट्दो क्रममा रहेको बताउँदै यसो हुनुमा माथिल्लो कक्षा चढ्ने बित्तिकै विद्यार्थीले विद्यालय छोड्दा यो अवस्था आएको बताए। यो संख्या इसिममा प्रविष्टि गरेको विवरणमा देखिए पनि वास्तवमै यो संख्या अझै घट्न सक्ने देखिएको छ।

प्रमुख बुढाका अनुसार २५ जना भन्दा कम विद्यार्थी भएका विद्यालयमा वडा नम्बर १ को कक्षा एकदेखि पाँचसम्म अध्ययन हुने नबबुछोमु प्रावि रहेको र सो विद्यालयमा विद्यार्थीको संख्या २२ जना रहेको छ।

त्यसैगरी वडा नम्बर १ कै कक्षा तीनसम्म पढाइ हुने नाम्खा ख्यामेजुम प्राविमा २४ जना, वडा नम्बर १ कै कक्षा पाँचसम्म पढाइ हुने नबुबुद्ध प्राविमा पन्ध्र जना विद्यार्थी अध्ययन गर्दै आएका छन्। यता वडा नम्बर ३ को कक्षा तीनसम्म पढाइ हुने सत्य प्राविमा २५ जना विद्यार्थी रहेका छन्।

वडा नम्बर २ को कक्षा पाँचसम्म अध्ययन हुने च्याछरा प्राविमा १७ जना विद्यार्थी हाल अध्ययन गर्दै आएका छन्। वडा नम्बर ५ को कक्षा तीनसम्म अध्ययन हुने अरनिको प्राविमा सात जना रवडा नम्बर ५ को कक्षा पाँचसम्म अध्ययन हुने सुनखानी प्राविमा २२ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन्।

यता वडा नम्बर ४ को कक्षा पाँचसम्म अध्ययन हुने हिमालय प्राविमा आठ जना मात्र विद्यार्थीले अध्ययन गर्दै आएका छन्। त्यस्तै वडा नम्बर ४ को कक्षा पाँचसम्म अध्ययन हुने मोतीराम प्राविमा ३९ जना र कक्षा एकदेखि आठसम्म अध्ययन हुने खासरपानी आविमा ४८ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन्।

नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको जाङ गाउँका स्थानीय कुन्जोक तामाङले लिमीका तीन वटा विद्यालय मध्य दुई वटा बन्द भएको र बाँकी एक वटा सुनखानी प्राथमिक विद्यालयमा पनि विद्यार्थी संख्या घटी रहेको बताए। गत वर्ष ५४ जना विद्यार्थी‍ भएकोमा यस वर्ष सो विद्यालयमा २२ जना विद्यार्थीले अध्ययन गर्दै आएको उनको भनाइ छ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या घटिरहेको बताउँदै विद्यार्थी घट्दैमा विद्यालय बन्द गर्न सकिने अवस्था नरहेको बताए। जति विद्यार्थी रहेको पनि उनीहरूको लागि विद्यालयलाई सञ्चालनमा ल्याउन आवश्यक रहेको उनले बताए। गोरखापत्र दैनिकबाट

नेपालमा हालसम्म १०८ वटा हवाई दुर्घटना, ९५९ को मृत्यु

काठमाडौं । नेपालमा हालसम्म १ सय ८ वटा हवाई दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परि ९ सय ५९ जनाको ज्यान गएको छ ।

हवाई उडानको इतिहासमा हालसमम सबै प्रकारका वायुयानगरी एक सय आठवटा दुर्घटना नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

ती दुर्घटनामा परी नौ सय ५९ जनाको मृत्युभएको छ। दुर्घटनामध्ये विदेशी दर्ता विमान १० दुर्घटनामा तीन सय ७९ जनाको मृत्यु भएको छ।

त्यसैगरी हेलिकोप्टरतर्फ ३९ दुर्घटनामा ९२ जनाको मृत्यु भएको छ भने सिङ्गल इन्जिन विमान आठ वटा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। ‘फिक्स विङ्ग’ विमान ५० वटा दुर्घटना हुँदा चार सय ५१ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।