‘प्रधानाध्यापक शिक्षक सेवा आयोगबाट ल्याउन माग’

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विद्यालयका प्रधानाध्यापक शिक्षक शेवा आयोगबाट ल्याउनु पर्ने बताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता भण्डारीले विद्यालय तहको नेतृत्व प्रधानाध्यापकले गर्ने भएकाले उसले दृढ भएर काम गर्न पनि सो आयोगले चयन गर्नुपर्ने बताएका हुन् ।

विद्यालय शिक्षा विधेयक संसदमा पेश भएको उल्लेख गर्दै उनले त्यहाँ सो कुरालाई समावेश गर्न सरकारसँग माग गरेका हुन् ।

सांसद भण्डारीले अन्तर्राष्ट्रिय क्षेत्रमा अनुसन्धान गरिरहेकाहरुलाई विश्वविद्यालयको नेतृत्वमा पुर्‍याउन पनि सरकारलाई सचेत गराए ।

सांसद भण्डारीले विश्वविद्यालय अहिले नेतृत्व विहीनजस्तो अवस्थामा रहेको बताएका छन् ।

विद्युत प्राधिकरणले उद्योगहरुमा काटिएको विजुली जोड्ने

काठमाडौं । उद्योगीहरुको काटिएको विजुली नेपाल विद्युत प्राधिकरणले पुनः जोड्ने निर्णय गरेको छ । प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको प्राधिकरणले जनाएको हो ।

आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता विद्युत् महसुल भुक्तानी नगरेमा नियमाअनुसार फेरि बक्यौता असुल उपर गर्न कारबाही अगाडि बढाउने निर्णय गरिएको छ।

लोडसेडिङका बेला ट्रंक र डेडिकेटेड लाइनमार्फत बिजुली खपत गरेका उद्योगीले अर्बौँ रुपैयाँ महसुल तिर्न बाँकी रहेको प्राधिकरणले बताउँदै आएको छ। उद्योगीहरूले भने बिजुली खपतको प्रमाणसहित पठाइएको महसुल तिरिसकिएको र प्रमाणबिनाको महसुल तिर्न नसक्ने बताउँदै आएका छन्।

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसँग यसबारेमा छलफल गरेका थिए। सो क्रममा घिसिङले प्राधिकरणको सञ्चालक समितिमा प्रस्ताव लैजाने बताएका थिए।

आज पनि शेयर बजारमा उछाल

काठमाडौं । आज सेयर बजार नेप्से उच्च अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ७५.३३ अंक अर्थात् तीन ३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३.४३ को बिन्दु कायम भएको हो।

तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता सेयर एक लाख ७१ हजार तीन सय ८७ पटक खरिदबिक्री हुँदा रु १४ अर्ब ११ करोड ६३ लाख ३० हजार नौ सय ९५ बराबरको कारोबार भएको छ।

मंगलबारको कारोबारमा सबै समूहका उपसूचक हरियो देखिँदा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ५.६ र जीवन बिमा समूहको उपसूचक चार दशमलव ४५ प्रतिशतले बढेको छ। ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। समृद्धि फाइनान्स कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु) लिमिटेड, माण्डु हाइड्रोपावर लिमिटेड, हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड, नेपाल वायरहाउजिङ कम्पनी लिमिटेड र साहस ऊर्जा लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

सबैभन्दा धेरै सेयर मूल्य गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको घटेको छ। गणपतिको सयर मूल्य ५.८३ प्रतिशतले घटेको हो।

विपदमा यसवर्ष १ सय ४४ जनाको ज्यान गयो

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपदका कारण यस वर्ष १ सय ४४ जनाको मृत्यु र ४८ जना वेपत्ता भएको बताएका । आज बसेका प्रतिनिधिसभा बैठकमा मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै गृहमन्त्री लेखकले यस वर्ष मनसुन भएको दिन जेठ २८ गतदेखि हालसम्म प्राकृतिक प्रकोपका १ हजार ५ सय ९२ घटना भएको र १ सय ४४ जनाको ज्यान गएको जानकारी दिएका हुन्।

प्राकृतिक विपद्का कारण २ सय ३१ घरमा क्षति पुगेको, ४३ वटा पुल बगेको र ४ हजारभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेको उनले जानकारी दिए।

गृहमन्त्री लेखकले मृत्युमध्ये ४७ परिवारलाई राहत दिएको र बाँकी परिवारलाई राहत दिने क्रममा रहेको जानकारी दिए। उनले बेपत्ता भएका मानिस १० दिनभित्र फेला नपरे मृतकसरह राहत दिने सरकारको नीति रहेको बताए।

त्यस्तै गृहमन्त्री लेखकले सर्लाहीमा पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणबारे अनुसन्धान जारी रहेको र शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएको बताए। उनले छोराको प्रमाणपत्र प्रमाणित गर्न सांसद वीरेन्द्र महतोले बिचौलियालाई घुस दिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताए। मन्त्री लेखकले घटनाको तत्काल छानबिन गर्न आवश्यक निर्देशन दिइसकिएको पनि जानकारी दिए।

पूर्वराज्यमन्त्रीको हत्याबारे अनुसन्धान गर्न सीआईबी परिचालन

काठमाडौं । सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोली खटिएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिनेक्रममा गृहमन्त्री लेखकले यस घटनाबारे जानकारी गराएका छन् । उनले अनुसन्धानका लागि सीआइबीबाट प्राविधिक टोली खटाइएको बताए ।

‘घटनाको थप अनुसन्धानका लागि मधेस प्रदेश प्रहरी कार्यालयबाट समेत प्रहरी टोली खटिएको छ, केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० बाट सिनियर अफिसरको नेतृत्वमा प्राविधिक जनशक्तिसहितको टोली काठमाडौंबाट घटनास्थलतर्फ परिचालन भइसकेको छ,’ उनले भने ।

सिआइबीबाट प्रहरी निरीक्षकको कमाण्डमा दुई जनाको प्राविधिक टोली अनुसन्धानमा सघाउनका लागि खटाइएको उनको भनाइ थियो । सर्लाहीको चन्द्रनगर गाउँपालिका रतनपुरका ८० वर्षीय पूर्वराज्यमन्त्री रायको घरमै धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । टाउकोमा धारिलो हतियार प्रयोग गरिएको अवस्थामा पूर्व भूमिसुधार राज्यमन्त्री रायको शव चन्द्रनगर–१ रतनपुरमा फेला परेको प्रहरीले जनाएको छ ।

रगतले लतपतिएको अवस्थामा रायको शव देखेपछि उनको घरमा बस्दै आएका सहयोगी रामउजैन रायकाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

पूर्वमुख्यमन्त्रीले सचिवलाई ‘शौचालयमा थुन्छु’ भन्दै धम्की दिएपछि…

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मन्त्रालयका एक सचिवलाई कुटपिटको धम्की दिएको खुलासा भएको छ । आफुलाई धम्की आएको भन्दै सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई कुट्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् ।

सोमबार ४ः५३ मिनेटको समयमा फोन गरेर आफूलाई धम्की दिएको उनले उजुरीमा उल्लेख गरेका छन् ।

भुक्तानीको विषयलाई लिएर फोनमार्फत पूर्व मुख्यमन्त्री कार्कीले ‘कुट्छु, शौचालयमा थुन्छु’ लगायतको धम्की दिएको सचिव भट्टराईले बताएका छन् ।

सचिव भट्टराईका अनुसार पूर्व मुख्यमन्त्री कार्कीले विभिन्न गोल्डकपहरूलाई रकम निकासा गर्न दबाब दिएका थिए । तर, आर्थिक मामिला तथा योजना मन्त्रालयले भुक्तानीका लागि सहमति नदिएपछि आफूले निकासा दिन नसक्ने जानकारी गराउँदा कार्कीले धम्की दिएको उनको भनाइ छ ।

उपसभामुखको सचिवालयले अमेरिका पठाउन नौ लाख लिएको मुकुल ढकालको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा राना मगर प्रकरणको राज्यले छानबिन गर्नुपर्ने बताएका छन् ।

आफूले सुरुदेखि नै उपसभामुखलाई घटनाबारे प्रश्न गरे पनि पार्टी नेतृत्वले नजरअन्दाज गर्दै आएको उनले बताएका छन् । ढकालले उपसभामुख रानामगरलाई राजीनामा दिन आग्रह गरेका छन् ।

उपसभामुखले अमेरिकी दूतावासलाई चिठी लेखेको विषयमा सामाजिक सञ्जालमार्फत पूर्व महामन्त्री ढकालले उपसभामुख रानाको विगतको छवि उच्च रहे पनि अहिले छानबिनका लागि तयार हुनु नपर्ने कुनै कारण नरहेको बताएका छन् ।

‘उपसभामुख इन्दिरा आमाको विगतको छवि सबै नेपालीले शीर निहुराएर नमन गर्नैपर्छ । यसो भन्दै गर्दा हामीले यो बिर्सनु हुन्न कि हामी त्यो समाजमा बस्छौं जुन समाजमा कुनै दिन माता सीताले पनि सहजै अग्नि परीक्षा दिन तयार हुनुभएको थियो’, आज बिहान फेसबुकमा उनले लेखेका छन् ।

आफूसँग उक्त घटनाका केही प्रमाण रहेको भन्दै राज्यले सोधपुछ र छानबिनका लागि बोलाए आफूसँग भएका प्रमाण दिन तयार रहेको ढकालले बताएका छन् । आफूले सुरुमा घटनाबारे जानकारी लिन खोज्दा उपसभामुखले थाहा छैन भने पनि पछि एक जनाको नाम बताएको पनि उनले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै ढकालले आर्थिक लेनदेन भएको प्रमाण पीडितसँग रहेको पनि बताएका छन् ।

ढकालले उपसभामुख इन्दिरा रानामगर प्रकरणमा मुख खोल्दै एक वर्षअघि उपसभामुखको सचिवालयले अमेरिका पठाइदिने भन्दै पैसा लिएको उजुरी पार्टीमा आएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘खबर प्राप्त गर्ने बित्तिकै मैले घटनाको बारेमा पार्टी सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, सहकोषाध्यक्ष दीपक बोहोरासम्म कुरा पुर्‍याएको हो ।’

ढकाल इलाममा उपचुनावका बेला भएकाले त्यसपछि आफू समीक्षा यात्रामा निस्किएको र त्यसपछिको अवस्थाका बारेमा सबैलाई जानकारी भएको उल्लेख गरेका छन् । उनले ९ लाख रुपैयाँ उपसभामुखको सचिवालयले लिएको रहेछ र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरेको बताएका छन् ।

ढकालले पीडितलाई उद्धृत गर्दै भनेका छन्, ‘पीडितका अनुसार नौं लाख फिर्ता भएको बैंक स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित छ ।’

एमालेले बागमती प्रदेश सरकारमा सहभागी मन्त्रीको नाम टुङ्ग्यायो

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश सरकारमा सहभागी हुने ६ मन्त्रीको नाम टुंगो लगाएको छ। एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन र किरण थापा मगर तथा चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउन लागेको हो।

बागमतीमा कांग्रेस(एमाले गठबन्धनले आज नै मुख्यमन्त्रीका लागि दाबी पेस गरिसकेका छन् ।

गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेस गर्नेछन्। निवर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो।

बागमतीमा लामाले गरे मुख्यमन्त्रीमा दाबी पेश

काठमाडौं । बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता बहादुर सिह लामाले मुख्यमन्त्री पदका लागि दाबी पेश गरेका छन् ।

एमालेको समर्थनमा उनले ६४ प्रदेशसभा सदस्यको साथ लिएर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दावी पेश गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले मंगलबार साँझ ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गरेका थिए ।

आजै साँझै पाँच बजेपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

बंगलादेशबाट करिव १३ सय विद्यार्थी नेपाल फर्किए

काठमाडौं । बंगलादेशमा भइरहेको आन्दोलनका कारण सोमबारसम्ममा १३ सय बढी विद्यार्थी नेपाल फर्कीएका छन् । सोमबार १२६ जना विद्यार्थी स्वदेश पर्कीएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसमध्ये ११४ जना विद्यार्थीहरु बंगलादेश, भारत हुँदै काँकडभिट्टा नाकाबाट नेपाल फर्किएका छन् ।

बंगलादेशमा सरकारी कोटाका विरोधमा आन्दोलन चर्किएको छ । आन्दोलनमा १५० बढीको मृत्यु पनि भइसकेको छ ।

मौसमः एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको मौसमविदले जनाएका छन् । बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि रातिदेखि नै वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार (मंगलबार) दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज मन्त्रीहरुले सांसदको मौखिम प्रश्नको जवाफ दिने

काठमाडौं । आज पनि प्रतिनिधिसभा बैठक बस्दै छ । आजको बैठकमा सांसदहरुको प्रश्नमा मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ । कार्यसूचीअनुसार सांसदहरूको मौखिक प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन् ।

स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरुले जवाफ दिने आजको कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि रहेको छ ।

सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ ।

महिला एसिया कप क्रिकेटः नेपालले भारतको सामना गर्दै

काठमाडौं । एसीसी महिला एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार नेपालले भारतसँग खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ।

पछिल्लो खेलमा पाकिस्तानविरुद्ध ९ विकेटको हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि यो खेल जित्नु पर्ने दबाब छ। समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेट पराजित गरेको थियो। भारत २ खेलमा जित निकाल्दै समूहको शीर्ष स्थानमा, पाकिस्तान एक जितसहित दोस्रो स्थानमा र नेपाल समान एक जितसहित तेस्रो स्थानमा छ।

दुई खेल हारेको यूएई अंक तालिकाको पुछारमा छ। मंगलबार नै समूह ‘ए’ मा पाकिस्तान र यूएईबीच प्रतिस्पर्धा हुनेछ।

इजरायलले दुई हजार नेपाली श्रमिक लैजाने

काठमाडौं । इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीसँग सोमबार नेपालका लागि इजरायली राजदूत हनान गोदारले गरेको शिष्टाचार भेटमा इजरायलले नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको हो ।

हाल छनोटका चरणमा रहेका पाँच सयजना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कूल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकामा सो सङ्ख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार गरी कूल दुई हजारसम्म नेपाली लैजान सकिनेगरी सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए।

भेटमा द्विपक्षीय श्रम सम्बन्धमा विविध पक्षका साथै ‘जीटूजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रुपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारे समेत छलफल भएको थियो ।

आगामी दिनमा कृषिलगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिक इजरायल लैजान सकिनेबारेमा समेत कुराकानी भएको प्रवक्ता रिजालले जानकारी दिए।

सो क्रममा मन्त्री भण्डारीले नेपाल–इजरायलबीचको श्रम सम्बन्धका बारेमा सन्तोष व्यक्त गर्दै इजरायल–प्यालेष्टाइन द्वन्द्वमा हराइरहेका नेपाली विपिन जोशीको खोजतलास एवं वास्तविक अवस्थाबारे जानकारी र सकुशल फिर्ता गराउने विषयमा थप पहल लिन अनुरोध गरे।

विदेशी मुद्राको विनिमयदरः डलरको मूल्य घट्दा युरोको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसा निर्धारण भएको छ।

दुई दिन अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा थियो। दुई दिन उच्च विन्दुमा स्थिर रहेको अमेरिकी डलरको मूल्य आज घटेको हो। युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९६ पैसा थियो।

बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा थियो। अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ २६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६७ पैसा थियो।