नेकपा एसले भदौ ९ गते मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) ले थप गरेका दुई सय ५१ केन्द्रीय सदस्यलाई यही भदौ ९ गते काठमाडौँमा शपथ गराउने भएको छ ।

महाधिवेशन सम्पन्न भए लगत्तै मनोनीत ती सदस्यलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले शपथ गराएपछि औपचारिक रूपमा पदीय जिम्मेवारी तथा संघठनका गतिविधिमा सदस्यलाई क्रियाशील गराइने छ । पार्टीले केन्द्रीय सदस्यमा नपरेका नेतालाई विभिन्न विभागमा व्यवस्थापन गर्न लागेको हो ।

पार्टीले केन्द्रीय कमिटी सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । शपथ ग्रहण कार्यक्रमपछि सोही दिनदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा केन्द्रीय विभागका संरचनाको निर्माणका लागि छलफल गरिने छ । बैठकले पदाधिकारी छनोटका लागि कार्यविधि तथा मापदण्ड बनाउने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

पदाधिकारीका आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागेको छ । बैठकले क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा समेत छलफल सोही बैठकमा गरिनेछ ।

नेताहरूको योगदान तथा कार्यक्षमताका आधारमा पार्टीले युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने जनाएको छ ।

पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीमा अहिले अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् । पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले नेताहरूको योगदान र कार्यक्षमताका आधारमा पदाधिकारी छनोट गरिने नेता पाण्डेयले जानकारी दिए।

‘जन्मदिनलाई सत्कर्ममा जोडौं अभियान’ : राष्ट्रिय खेलाडी राधिका हमालले विरुवा रोपेर मनाइन् आफ्नो जन्मदिन

काठमाडौ । रौतहटबाट पहिलो पटक अभियानको रुपमा सुरुवात गरिएको ‘जन्मदिनलाई सत्कर्ममा जोडौं अभियान’ अन्तरगत आज काठमाडौं स्थित तीनकुनेमा वृक्षारोपण गरेर जन्मदिन मनाईएको छ ।

आज रक्षा बन्धनको दिन खेलाडी राधिका हमाल ऐरको जन्मदिनको अवसरमा वृक्षारोपण गरिएको अभियानका संयोजक गोविन्दप्रसाद चौलागाईंले जानकारी दिए ।

सामाजिक क्षेत्रमा कृयाशील डेफेन्स प्रशिक्षण अभियानमा लागिरहेकी हमालले आफ्नो जन्मदिनमा प्रकृतिलाई न्याय गर्दा मानव जातिमा हितहुने हुँदा थप सन्देशका निम्ति पनि यस वर्षदेखि आफ्नो जन्मदिनलाई सतकर्ममा जोडिएर वृक्षारोपण गर्न पाउदा आफु खुसी भएको बताएकी छिन् ।

उनले रौतहटबाट सुरु भएको यस अभियानमा आफुले जोडिन पाउँदा र वृक्षारोपण गरेर जन्मदिन मनाउन पाउँदा आयोजक संस्थालाई धन्यवाद दिएकी छिन् ।

त्यसैगरी अभियानका संयोजक, तराई विकास तथा संचार केन्द्र नेपालका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब गोविन्दप्रसाद चौलागाईंले जन्मदिन भड्किलो बन्दै जाँदा समाजमा विकृति बढेको बताएका छन् । चौंलागाईंले स्वच्छ वातावरण बनाउन र भावी पुस्तालाई हरियाली वातावरण सुम्पिनका निम्ति यो अभियान सुरु भएकोसमेत बताए ।

कार्यक्रममा लाइन्स ३२५ लाइन्स इटरनेशनल डिस्ट्रीक गभर्नर डाक्टर कमलबहादुर कायस्थले सत्कर्मको अभियानमा आफ्नो संंस्थाको एक्यवद्धता जनाएका छन् । उनले लाइन्स क्लबले खेल्दै आएको सामाजिक भूमिकाको बारेमा प्रष्ट पार्दै भावि दिनमा सँगसँगै अगाडी बढ्न आफु प्रतिबद्ध रहेको पनि बताए ।

समाजसेवीसमेत रहेका डाक्टर कायस्थले सेवा नै धर्म भएकोले जन्मदिनलाई सतकर्ममा जोडिन पाउँदा आफू र आफ्नो संस्थाको तर्फबाट आभारसमेत व्यक्त गरेका छन् ।

लाइन्स डिस्ट्रीक प्रेसिडेन्ट अरबिन कुमार दास, राष्ट्रिय खेलाडीका प्रशिक्षक अर्जुनभक्त राई, बिकु लामा लगायतले कार्यक्रममा सहभागिता जनाउदै वृक्षारोपण गरेको थिए ।

झन्डै पचास वटा विरुवा रोपेर राष्ट्रिय खेलाडी हमालको जन्मदिन मनाइएको कार्यक्रममा सहभागी राष्ट्रसेवक सरोज चौधरीले सम्पत्ति न्यूजलाई बताए ।

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको छ ।

जाजरकोटमा पहिरोमा परेर एकै घरमा तीन जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा पहिरोमा परेर एकै परिवारमा तीन जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियार छन् ।

उनीहरू भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए।

इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताए । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ ।

बझाङ पहिरो : वेपत्ता एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं । बझाङमा आइतबार राति गएको पहिरोले घर बगाउँदा एकै परिवारका चार जनाकाृ ज्यान गएको छ ।

राति आएको पहिरोमा परेर बुंगल नगरपालिका–१० को टुमेडाका एकै परिवारका ४ जना बेपत्ता थिए ।

पहिरोमा परेर मृत्यु भएका चारैजनाको शव निकालिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी)रवीन्द्र केसीले जानकारी दिएका छन् ।

उनकाअनुसार पहिरोमा पुरिएर मृत भेटिनेमा ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी छन् ।

प्रहरीकाअनुसार राति करीब साढे १ बजेको समयमा एक्कासि वीरबहादुर धामीको घरमाथिबाट पहिरो गएको थियो । पहिरो गएको थाहा पाएपछि धामीसहितका ६ जना भागेर ज्यान जोगाउन सफल भएका छन् ।

स्थानीय १६ वर्षीया कमला धामी, ३० वर्षीय उज्ज्वल धामी,१० वर्षीय रोशन धामी, २० वर्षीया शान्ति धामी र ७१ वर्षीय अम्बादत्त जोशी भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

घाइते भएका उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बझाङमा पहिरोले घर बगाउदा ४ जना वेपत्ता, ५ जनाको उद्धार

काठमाडौं । बझाङमा गएराती पहिरो जाँदा ४ जना बेपत्ता भएको खबर प्राप्त भएको छ ।

आइतबार राति बुङ्गल नगरपालिका १० स्थित चुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएको बुङ्गल नगरपालिकाका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिएका छन् ।

बोहोरकाअनुसार पहिरोमा पुरिएका ५ जनाको उद्धार गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

आज देशभरीनै भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । सबै प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कशी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सबै प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

क्वाँटी किन खाइन्छ ? यस्तो छ मान्यता

काठमाडौं । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ ।
‘क्वाँटी’ नेपालभाषाको ‘क्वाति’ शब्दबाट व्युत्पत्ति भएको र ‘क्वा’को अर्थ तातो र ‘ति’को अर्थ झोल वा सुप हो ।

क्वाँटी बनाउँदा चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठुलो केराउ, सानो केराउ नौ प्रकारका गेडागुडी टुसा उम्रेने गरी पानीमा चार दिनसम्म भिजाइन्छ । टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

यो दिन विशेषको महत्त्वपूर्ण स्वाद पनि हो । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासँग सम्बन्धित विभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समुदायले खाने विशेष प्रकारको क्वाँटीलाई न्वाँगी पनि भनिन्छ ।

यस दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाइका दाहिने नाडीमा दीर्घायु र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको राखी लाइदिने चलन पनि निकै प्रचलित छ । नेपालको तराई क्षेत्रलगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढी रहेको छ ।

आज जनै पूर्णिमा पर्व मनाइँदै

काठमाडौं । आज जनै पूर्णीमा पर्व मनाइँदै छ ।

जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा रहेको छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै पुरोहितले दाहिने नाडीमा बाँधिदिने परम्परा रहेको छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

शेयर बजारमा करेक्सन, तीन हजार विन्दुबाट ओरालो लाग्यो

काठमाडौं । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । ३४ दशमलव ४७ अंकले घटेर सेयर बजार २ हजार ९ सय ६६ दशमलव ३३ बिन्दुमा झरेको छ ।

त्यस्तै आज २८ अर्ब, ८३ करोड, ६९ लाख, ९७ हजार ३ सय ७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कुल ६ करोड ५४ लाख ७५ हजार ३ सय ६६ कित्ता बराबर सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

आज कारोबारमा आएकामध्ये ४७ कम्पनीको सेयरमा हरियाली छाएको छ भने १९७ कम्पनीको सेयर घटेको छ ।

बालेन र सुनिताको अतिरञ्जित भिडिओ बनाउने युवक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलको अस्लिल भिडिओ बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाजुराका छेडेदह गाउँपालिका–५ का २२ वर्षीय रमेश बहादुर रावत रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले रावतलाई गत साउन ३२ गते सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए ।

रावतले मेयर बालेन र उपमेयर सुनिताको सामान्य अवस्थामा बसिरहेको भिडियोलाई एआईको प्रयोग गरी अस्लिल भिडियो बनाएका थिए । सामाजिक सञ्जालमा उक्त भिडियो सार्वजनिक भएपछि उपमेयर डंगोलले कानुनी उपचारका लागि ब्यूरोमा उजुरी दिएकी थिइन् । सोही आधारमा ब्यूरोले रावतलाई पक्राउ गरेको हो ।

उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ को कसुर अनुसार कारबाही हुने ब्यूरोले जनाएको छ ।

दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपायो अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहनसिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोकसिंह धामीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

कृषि समूहको बिल भुक्तानी गर्दा कसिमन वापत सेवाग्राहीसँग चार लाख १२ हजार बराबरको घुस र दुई लाख ५० हजार बराबरको दुई वटा चेक (पाँच लाख) सहित केही दिन पहिले आयोगको कञ्चनपुर कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो ।

आयोगले आज नौ लाख एक हजार बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई थुनामा पठाउन आदेश दिएको हो ।

केसीको इजलासमा झाविरुद्धको मुद्दाको थुनछेक बहस भएको थियो ।

प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साउन २९ गते काठमाडौं जिल्ला अदालतमा झाविरुद्ध मुद्दा दायर गरेको थियो ।

झाविरुद्ध ठगी, लिखत किर्ते, राज्य बिरुद्दको कसुर र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दायर भएको थियो ।

झाले नेपालीहरुलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै राज्यसंयन्त्र र राजनीतिक नेतृत्व मिलाउन भन्दै २ करोड रुपैयाँ लिएको आरोप छ ।

झा ले २ करोड रुपैयाँको चेक लिएको भएपनि उक्त चेक नसाटिएको बताइएको छ ।

गत आवमा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो, विद्यार्थीले लगे १ खर्ब २५ अर्ब

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैकद्वारा आइतबार सार्वजनीक प्रतिवेदनमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले बढेर १० अर्ब ८६ करोड पुगेको देखिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

गत आर्थिक वर्षमा सरकारले महंगी सीमाभित्र राख्न सरकार सफल भएको छ । गत आवमा वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत थियो । त्यस्तै आव २०८०/८१ मा चालू खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालू खाता ४६ अर्ब ५७ करोडले घाटामा थियो ।

शोधान्तर स्थिति पनि ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा थियो । आर्थिक वर्ष २०८०र८१ मा कुल विदेशी विनिमय सञ्चिती ३२.६ प्रतिशतले बढेर २० खर्ब ४१ अर्ब १० करोड कायम भयो । आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १५.६ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ ।

विदेशमा पढ्न जाने विद्यार्थीले लगे १ खर्ब २५ अर्ब

शिक्षाका लागि विदेशिएका नेपाली विद्यार्थीहरुले स्वदेशबाट १ खर्ब २५ अर्ब रुपैयाँ सटही गरेर लगेका बैंकको प्रतिवेदनमा उल्लेख छ ।

विदेश पढ्न जाँदा उनीहरुले सवा एक खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा लगेका हुन् । अघिल्लो वर्ष अध्ययनका लागि विदेशिने विद्यार्थीले एक खर्ब बराबरको विदेशी मुद्रा साथमा लगेका थिए ।

नेपालीहरु अध्ययनका नाममा विदेशिने क्रम बढिरहेको छ । नेपालीहरु अध्ययनका लागि अमेरिका, अष्ट्रेलिया, बेलायत, जापानलगायतमा मुलुक पुगेका छन् ।

धितोपत्र बजारको जोखिम र प्रणालीगत संरचनाबाट हुने क्षति जोगाउन कोष स्थापना गरिने (पूर्णपाठ)

काठमाडौं । धितोपत्रसम्बन्धी ऐन २०६३ संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेश भएको छ । अर्थमन्त्री विष्णु पौडेलले उक्त संशोधन प्रस्ताव साउन ३२ मा दर्ता गराएका हुन् ।

उक्त ऐनमा धितोपत्र बजारको लगानीको जोखिम र प्रणालीगत संरचनाबाट हुन सक्ने क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष स्थापना गरिनेलगायतका विषयबस्तुहरु समावेश गरिएको छ ।

यसका लागि नियमावलीमै तोकेर अघि बढ्ने गरी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले धितोपत्रसम्बन्धी ऐन २०६३ संशोधन प्रस्ताव प्रतिनिधि सभामा पेश गरेका छन् । यो कोषले शेयर कारोबारको प्रणालीगत जोखिम र अन्य संरचनागत जोखिमबाट जोगाउन सकिने प्रस्तावमा उल्लेख छ ।

शेयर निष्कासन, व्यवस्थित कारोबार र बजारको प्रभावकारी नियमनका लागि ऐन संशोधन अघि बढाइएको पौडेलले बताए ।

संशोधन प्रस्तावमा धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थाले अब आर्थिक वर्ष समाप्त हुनुअगावै वार्षिक शुल्क बोर्डमा बुझाएर नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । अहिले आर्थिक वर्ष सकिएको ३ महिनाभित्र नवीकरण गर्न पाउने व्यवस्था थियो । यदि समयमै नवीकरण गर्नै नसकिए एक साताभित्र २५ प्रतिशत जरिवाना तिरी नवीकरण गर्न पाइने प्रस्ताव अघि सारिएको छ । अहिले नवीकरण गर्न नसके ३ महिनाभित्र २५ प्रतिशत जरिवाना तिरेर गर्न पाउने व्यवस्था छ ।

यस्तै बोर्डको अध्यक्षमा नेपाल सरकारका बहालवाला पदाधिकारी पनि नियुक्त हुन सकिने व्यवस्था गरिएको छ ।