अर्थमन्त्रालय अन्तरगत महत्वपूर्ण विभागका महानिर्देशक परिवर्तन

काठमाडौं । अर्थमन्त्रालय अन्तरगत महत्वपूर्ण मानिएका आन्तरिक राजश्व विभाग, भन्सार विभाग तथा मन्त्रालयका महाशाखा प्रमुखहरूको जिम्मेवारी फेरबदल गरिएको छ ।

आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारीमा रामप्रसाद आचार्यलाई दिइएको बुझिएको छ ।

त्यस्तै भन्सार विभागमा हरिशरण पुडासैनीलाई नियुक्त गरिएको स्रोतले जनाएको छ ।

यसैगरी रमेश अर्याललाई ठुला करदाता कार्यालयको प्रमुख कर प्रशासकमा पठाइएको छ । त्यस्तै पार्वती शर्माले मध्यम स्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी पाएकी छिन् ।

अरुले कहाँ पाए जिम्मेवारी

दीपक लामिछानेलाई वीरगन्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक

कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक

गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक

यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक

जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक

डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रक

उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा

मदन दाहाललाई अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख

थानप्रसाद पङ्गेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा

महेश भट्टराईलाई अर्थ मन्त्रालय योजना अनुगमन तथा मुल्यांकन महाशाखा

अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गतको जिम्मेवारी

यसअघि अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार सरुवा भइ अर्थ मन्त्रालय आएका सहसचिवहरूलाई आइतबार मन्त्रालयले जिम्मेवारी दिएको हो ।

यस्तै श्यामप्रसाद भण्डारीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ ।

वागमतीको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त

काठमाडौं । वागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् ।

काफ्लेलाई आइतबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

रमेश खरेललाई कारवाही गर्न युवराज सफलको अख्तियारलाई ध्यानाकर्षण

काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललाई अनुसन्धान गर्न युवराज सफलले अख्तियारमा निवेदन दिएका छन् ।

नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गरिएको छ ।

नक्कली सुराकी खडा गरी लिइएको सुराकी कमिसन रकममा भ्रष्टाचार गरेको आरोपमा पूर्व डिआइजी खरेललाई कारबाही गर्न सफलले अख्तियारको आज ध्यानाकर्षण गराएका हुन् ।

सफलले आयोगलाई पत्र पठाउँदै खरेलमाथि छानबिन गरी कारबाहीका लागि ध्यानाकर्षण गराएका हुन् ।

‘आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी विभिन्न जिल्लामा हुँदा लाखौँ रुपैयाँ सुराकी रकम कमिसन लिएको कमिसन रकम लिने दिने कार्य पनि भ्रष्टाचारजन्य कार्यभित्र नै पर्ने हुँदा निज भ्रष्टाचारमा संलग्न रमेश खरेललाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दछु, ‘सफलले आयोगलाई पठाएको पत्रमा भनिएको छ ।

साथै सफलले विभिन्न समयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले बरामद गरेको ३५ किलो सुन लगायत हालसम्म जफत गरेका सुन प्रकरणमा समेत प्रहरीका उच्च अधिकारीहरूले नक्कली सुराकी खडा गरी प्रहरीकै आफन्तहरूको नाममा करोडौँ रुपैयाँ सुराकी कमिसन दिएको पत्रमा उल्लेख गरेका छन् ।

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कार्र्यालयमा आज समाजवादी मोर्चाको बैठक बस्दै छ ।

पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजनासम्बन्धी राजनीतिक दस्ताबेजलाई अन्तिमरूप दिनेबारे आजको बैठकले तय गर्ने बुझिएको छ ।

‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेपछि साउन १ गते पहिलो पटक बसेको मोर्चाको बैठकले समीक्षात्मक राजनीतिक दस्ताबेज तयार गरी १५ दिनभित्र बुझाउन निर्देशन दिएको थियो । तर, १५ दिनभित्र दस्ताबेज तयार नहुँदा बैठक बस्न सकेको थिएन ।

यसअघि एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गरी संविधान संशोधन र भ्रष्टाचारविरुद्ध सदन र सडकबाट दबाब दिने योजना बनाउने निर्णय गरेको थियो ।

आज बैठक माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

दुई युवकमाथि वडाध्यक्षद्वारा निर्घात कुटपिट, अवस्था गम्भीर

नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकाका–२ का वडाध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’ सहितको समूहले दुई युवालाई निर्घात कुटपिट गरि सक्त घाइते बनाएका छन् ।

प्रहरीले एमालेबाट निर्वाचित वडाध्यक्ष वलीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखेको छ । ती दुई युवामाथि नारायण डाँगी, नवीन, लोके, ऋषि देवकोटालगायत करिब एक दर्जन युवा समुहले आक्रमण गरेको पनि प्रहरीले जनाएको छ ।

शनिबार राति दुई युवकलाई सख्त घाइते हुने गरी कुटपिट गरेका प्रहरीको भनाई छ । घाइते दुबैलाई उपचारका लागि भारतको लखनउ लगिएको छ ।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले उनीहरू दुबैको अवस्था गम्भीर रहेको बताएका छन् ।

वडाध्यक्ष वलीले विगतमा गुन्डा नाइके चक्रे मिलन समूहमा आबद्ध रहेर काम गरेको पनि प्रहरीले जनाएको छ ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति पुग्यो ?

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज तोलामा ३ हजार रुपैयाँले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५० रुपैयाँले बढेर १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज चारवटा संसदीय समितिको बैठक

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चार संसदीय समितिको बैठक बस्दै छ ।

संसद सचिवालयका अनुसार कानून,न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने भएको हो ।

कानून समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै बिहान ११ बजे नै बस्ने महिला समितिमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची छ । त्यस्तै पूर्वाधार समितिमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ ।

यस्तैगरी कृषि समितिको बैठक बिहान ११ः३० मा बस्दैछ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्या र नेपालमा ईआईएरआईईईलगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापनसम्बन्धी समस्याका सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ ।

पशुपतिको कोटिहोममा भएको घटना छानविन गर्न समिति गठन

काठमाडौं । शुक्रबार मध्यराति पशुपतिको कोटिहोमको घटनाबार छानविन गर्न समिति गठन गरिएको छ । शुक्रबार कोटिहोममा प्रहरीले एक महिनासम्म कोटिहोमको आयोजना गरेर बसेका विजय भण्डारी उर्फ विजयकृष्णमूर्तिजी महाराजलाई प्रहरीले पक्राउ गर्न खोजेको भन्दै पशुपति क्षेत्रमा तनाव भएको थियो ।

सोहि घटनाका विषयमा छानविन गर्न शनिबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक गंगा पौडेल, सशस्त्र प्रहरी बल २० गण सिनामंगलका सप्रनाउ प्रमोद यादव, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महासंघका गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसन नेपालका विष्णुकुमार थापा र जिल्ला प्रशासन कार्यालय काठमाडौंका अधिकृत अनुपम पौडेल रहेका छन्।

आज राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रियसभा बैठक बस्ने कार्यसूची छ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन विधेयक) २०८१ पेस गर्ने कार्यसूची छ ।

साथै बैठकमा मन्त्री चौरसियाले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेका कार्यसूची रहेको छ ।

मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आंशिक देखि साधारणतष बदली रहने पूर्वाअनुमान गरिएको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भोलि सोमबार पनि देशभर साधारणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

परराष्ट्र मन्त्री राणा आज पाँच दिने भारत भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणा देउवा आज पाँच दिने भारत भ्रमणमा जाँदै छिन् । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणा आइतबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यतालिका छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेकी हुन् । भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन् । दुई देशबिचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर परराष्ट्र मन्त्री राणा नयाँ दिल्ली आउन लागेको जानकारी दिएको छ । परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबिच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको जनाइएको छ ।

मन्त्री राणा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

मंसिर तेस्रो साता उपनिर्वाचनको तयारी

काठमाडौं । स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग जुटेको छ। आयोग आउँदै मंसिर तेस्रो साता उपनिर्वाचन गर्नेगरी आन्तरिक तयारीमा जुटेको हो। निर्वाचनको मितिबारे सरकारलाई सुझाव दिने, मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने, निर्वाचनमा लाग्ने खर्चको विश्लेषण गरी नेपाल सरकारसँग बजेट सुनिश्चिताको प्रयास गर्नेजस्ता तयारीमा निर्वाचन आयोग जुटेको छ ।

निर्वाचन आयोगले गत साउन २८ गते प्रधानमन्त्रीसँगको छलफलमा अगामी मंसिर तेस्रो साता निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । स्थानीय तह निर्वाचन ऐन २०७३ मा आयोगको सुझावका आधारमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने प्रावधान रहेको छ ।

आयोगले रिक्त रहेका स्थानीय तहलाई लक्षित गरी मतदाता नामावलीमा नाम दर्ता गर्न यसअघि नै आह्वान गरिसकेको छ । उप निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता स्वतः बन्द हुने कानुनी व्यवस्था छ ।

निर्वाचन आयोगका अनुसार हाल स्थानीय तहका ३५ पदाधिकारी रिक्त रहेका छन् । गाउँ पालिकाका अध्यक्ष २ जना, उपाध्यक्ष २ जना, प्रमुख र उपप्रमुख १–१ जना र वडाअध्यक्ष २९ जना गरी ३५ पद रिक्त रहेका छन् ।

कोशी प्रदेशअन्तर्गतको ग्रामथान गाउँपालिकाका अध्यक्ष र कर्णालीको महाबु गाउँपालिकाका अध्यक्षको पद रिक्त छ। त्यसैगरी किर्तिपुर नगरपालिका प्रमुख र कर्णालीका नलगाड नगरपालिकाका उपप्रमुख पद रिक्त रहेको छ ।

विदेशी मुद्रोको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.९४ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.९२ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.६९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.८४ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.२४ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.७१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८७ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.३८ रुपैयाँ रहेको छ ।

आजको राशिफल (२०८१ भाद्र २ गते आइतबार)

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मध्यम समय छ शनिमाथी चन्द्रमाको शुभ प्रभाव रहनाले सुख सान्ति र सन्तोष मिल्नेछ । आज धन लाभको राम्रै योग परेको छ। राहुमाथी चन्द्रमाको प्रतिकुल प्रभावका कारण अपरान्ह पछाडी पेट सम्बन्धी स्वास्थ्य समस्या हुन सक्छ। धेरै मेहनतको बाबजुद मात्रै वैदेशिक क्षेत्र सम्बन्धी काममा सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आजको दिन राम्रै छ। व्यस्तताको बाबजुत समय बित्ने छ।आर्थिक पाटो सामान्य छ।कार्यमा ढिलासुस्ती सम्भव छ।पारिवारिक असहयोगले खिन्नता बढाउन सक्छ। हनुमानको आराधना पुर्वक दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
वाणिमा नियन्त्रण गरि कार्य गरेको राम्रो हुनेछ। पशु चौपाय तथा गाडी वाहन सम्बन्धी काम गर्ने महानुभावको दिन फलदायी रहेको छ । कर्मचारी तथा विधार्थी वर्गका लागि भने कार्यालयगत झन्झटले काममा ढिलासुस्ती हुनसक्छ।वैदेशिक कार्यक्षेत्र सम्बन्धी काम गर्ने दिन हो आज। आगो तथा करेन्टबाट सावधान रहनु होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
शैक्षिक क्षेत्रबाट अर्थलाभ हुने दिन रहेको छ। सरकारी कामकाजमा ढिलासुस्ती हुनेछ। सोचे अनुरुप परिवारको साथ नमिल्न सक्छ। आजको दिन कसैलाइ आर्थिक सहयोग नगरेकै राम्रो।पछि फिर्ता नहुन पनि सक्छ। ॐ गं गणपतये नमस् यो मन्त्र २४ पटक कम से कम वा सो भन्दा बढी जप गर्नुहोला दिन थप उर्जावान बन्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
दिन प्रगतिशील देखिन्छ ।आय आर्जनका नयाँ श्रोतहरु मिल्नेछ्न। आज फलफुल अनाज कपडा सम्बन्धी कारोबार गर्ने लेखा सम्बन्धि काम गर्ने मित्रहरूले विशेष लाभ उठाउनु हुनेछ ।नोकरी एवं राजनितिमा अपरान्ह पछि पदिय जिम्मेवारी पुर्वक सम्मान ग्रहण गर्ने अवसर मिल्न सक्छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
आजको दिन फलदायी रहेको छ। गुमेको धन फिर्ता हुनसक्छ । विछोडीएको मित्रसँग भेट हुनसक्छ।पतिपत्नीको सहकार्यमा नयाँ कामको थालनी गर्न आजको दिन राम्रो मानिएको छ। सन्तान वर्गको प्रगतिले मनमा हर्ष होला।भुमी तथा वित्तिय क्षेत्रमा लगानी गर्नु उचित हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )
आर्थिक हिसाबले निकै राम्रो समय छ। राजनीतिमा मन जानेछ ।गुमेको सम्पत्ती हात लाग्न सक्छ। परिवार जनसँग भने छुट्टीएर बस्नुपर्ने हुनसक्छ।सन्तानको लागि लागानी गर्ने समय हो।

वृश्चिक ( तो , ना, नि, नु, ने, नो, या, यि, यु )
आर्थिक तथा कार्यगत हिसाबले दिन राम्ररी बित्नेछ ।भाग्य बलियो भएकोले अड्किएका कामहरु बन्लान।घर भित्रको काममा सामान्य झमेला सम्भव छ। व्यवसायीक तथा प्रसासनिक काममा भने सुर्यको प्रभावले सफलता मिल्नेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
सामान्य तवरले दिन बित्ने देखिन्छ। काममा ढिलासुस्ती र अल्झन कायमै रहला।छाला तथा नेत्र विकार सम्बन्धि समस्या संभव छ। पुरानो मित्रको सहयोगले मात्र काम बन्न सक्छ। ॐ घृणी सुर्याय नमस् यो मन्त्रको २१ पटक जाप गरि दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
दिन फलदायी रहने छ। आय आर्जनका नयाँ बाटाहरु खुल्न सक्छन् ।घरदेखी टाढा गएर काम गरेमा सफलता मिल्नेछ। व्यस्त भएर दिन बित्नेछ। छोटा मोटा यात्राहरु गर्नुपर्ला। नयाँ सम्बन्धको सुत्रपात हुनसक्छ । आय व्ययको सन्तुलन हुनाले फाइदा भने शून्य नै हुनसक्ला।भावी योजना प्रतिफल हुने कार्यमा लगानी गर्नुहोला।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
समय रामो छ राजनैतिक तथा प्रसासनिक कार्यमा प्रभुत्व रहने छ। कर्मचारी वर्गहरुलाइ स्याबासी मिल्ने दिन रहेको छ। बिद्यार्थी बर्गहरुले सामाजिक कार्यमा योगदान गर्नुपर्ने हुनसक्छ। दिनको उत्तरार्धमा विशिष्ट महानुभावसँग भेटघाटका साथ गौरवशाली कार्यमा योगदान गर्न पाउने अवसर प्रप्त हुन सक्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
मनमा कुराहरु खेलीरहने भएकोले कुनै निर्णय गर्न सकिंदैन ।मंगल ग्रहको कारण सैन्य ससस्त्र प्रहरी जवानहरुका लागि पदोन्नति तथा वैदेशिक क्षेत्रमा अवसर मिल्ने दिन छ।आर्थिक र सरकारी कामकाजमा बाधा व्यवधान हुनेछ।हनुमानको उपासना गरे राम्रो होला।

लोडसेडिङ अन्त्यसँगै निर्यातसमेत गर्न सफल भएका छौंः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्यसँगै निर्यातसमेत गर्न सफल भएको बताएका छन् । उनले प्राधिकरणको ३९ औं वार्षिक उत्सवमा आयोजित कार्यक्रममा उनले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई भारतमा समेत निर्यात गर्न सफल भएको बताएका हुन् ।

उनले भने, ‘विभिन्न आरोह अवरोहकाबीच पनि नेपाल विद्युत् प्राधिकरणले ३९ औँ वर्ष पार गरेको छ । आठ वर्ष अघि वर्षायाममा समेत दैनिक आठ,नौ घण्टा र सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ हुनुपरेको कहालीलाग्दो अवस्थाबाट मुक्ति मिलेको छ । हाल वर्षायाममा देशभित्र खपत गरी दैनिक सात सय मेगावाट भन्दा बढी निर्यात गर्ने अवस्थामा पुगेका छौँ । २०७३ सालको तिहारको लक्ष्मी पूजाको दिनदेखि काठमाडौँ उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ वैशाखबाट मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएका छौँ ।’

साथै उनले प्राविधिक कारणले केही छिन विद्युत् अवरुद्ध भए पनि गर्वका साथ लोडसेडिङ अन्त्य भएको जिकिर गरे ।

उनले वर्षायाममा विद्युत् भारत निर्यात गरी बिदेसी मुद्रा आर्जन गर्नुका साथै व्यापार घाटा कम गर्न विद्युत् प्राधिकरण सफल भएको बताए ।