दुईवटा हिमताल फुटेर खुम्बुमा बाढी आएको पुष्टि

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पुष्टि भएको छ ।

शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्‍याएको थियो ।

शनिबार बिहान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।

त्यस क्रममा थामे खोलाको मुहान क्षेत्रमा रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेको पाइएको अवलोकनमा गएकाहरूलाई उधृत गर्दै सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् । २ वटा फुटेको र २ वटा अझै जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् ।

बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका-३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवतजावत ठप्प बनेको छ ।

प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

दुवै नेताबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो। प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित भइसकेपछि ओली र देउवाले पहिलोपटक भेटवार्ता गरेका हुन्।

भेटका क्रममा सरकारले गरिरहेका काम र गर्नुपर्ने कामका विषयमा छलफल भएको प्रधानमन्त्री आलीको सचिवालयले जनाएको छ।

यस अवसरमा दुवै नेताबीच समसामयिक राजनीतिका साथै जानकारी आदानप्रदान गर्ने कामसमेत भएको प्रधानमन्त्री ओलीको सचिवालयले बतायो।

‘राजसंस्थावादी, हिन्दूवादी र राष्ट्रवादीहरु एक ठाउँ उभिनु पर्ने’

काठमाडौं । देशलाई सही मार्गमा ल्याउन राजसंस्थावादी, हिन्दूवादी र राष्ट्रवादीहरु एक ठाउँ उभिनु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले बताएका छन् ।

‘देशको समग्र अवस्था बाटो भुलेको यात्री जस्तो भएको छ । विद्यमान सम्पूर्ण कमी कमजोरी अन्त्य गरेर अघि बढ्न राजावादी, हिन्दूवादी र राष्ट्रवादीको एकता आवश्यक भएको छ । देश र समाजलाई संकटमुक्त गर्न राप्रपा दत्तचित्त भएर अघि बढेको छ, हामी लक्ष्य प्राप्त नगरेसम्म विश्राम लिँदैनौं,’ राप्रपाका महामन्त्री तथा संगठन विभाग प्रमुख राणाले शनिबार भने ।

स्थानीय तहको बल र विगत आन्दोलनको अनुभवका आधारमा राप्रपा यस पटक पूर्ण तयारीका साथ सडकमा उत्रने राणाले प्रष्ट गरे । आन्दोलनकै बाटोबाट भ्रष्ट नेताहरुलाई विदा दिने उनले उद्घोष गरे ।

प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले देशको यथार्थ अवस्था अनुसार शासन नचलेको हुनाले देश र समाज ओरालो लागेको बताए ।

‘राजसंस्था र हिन्दुत्व नेपाली समाजको विकास र निरन्तरताका लागि अपरिहार्य छन्, अन्योन्याश्रित छन् । हिन्दु, वौद्ध र किरात सभ्यतामा आधारित नेपाल समाजमा राजसंस्था र सनातनसापेक्ष हिन्दु अधिराज्यको उपादेयता नजरअन्दाज गर्न सकिन्न । यसै मान्यता केन्द्रमा राखेर संविधान संशोधन गर्नु पर्दछ,’ लावतीले भने ।

सबै शक्ति र विचार समेटेर शान्ति, सुविकास कायम गर्न राप्रपाले नवीन समझदारीको प्रस्तावना अघि सारेको उनले भने ।

कागेश्वरी मनहरा नगर समिति अध्यक्ष मनिराम सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले काठमाडौं उपत्यकाकेन्द्रीत संगठन विस्तार कार्ययोजना अनुसार आन्दोलनलाई सफल तुल्याउन प्रत्येक वडाबाट कम्तिमा दशजना जुझारु युवा तयार गर्न स्थानीय इकाइलाई आह्वान गरे ।

रुसमाथि युक्रेनको अहिलेसम्मकै सबैभन्दा ठुलो आक्रमण

एजेन्सी । रुसको कुर्स्क क्षेत्रमा आक्रमण जारी राख्दै युक्रेनले सीम नदीमा रहेको एउटा पुल भत्काएको छ । ग्लुसकोवो सहर नजिकै युक्रेनी सेनाको यो कारबाहीका कारण सहरको एक भागको अन्य स्थानबाट सम्पर्कविच्छेद भएको रुसी अधिकारीहरूलाई उद्धृत गर्दै बताइएको हो ।

युक्रेनी सेनाले भत्काएको उक्त पुल रुसी सैनिकलाई अत्यावश्यक सामान आपूर्ति गर्न प्रयोग गरिँदै आएको थियो । युक्रेनी राष्ट्रपति भ्लादोमिर जेलेन्स्कीका अनुसार आफ्नो सेनाले कुर्स्कमा उपस्थिति बलियो बनाउँदै गएको छ । कुर्स्क क्षेत्रको बदलामा उनीहरूले रुसलाई युक्रेनी भूभागमाथिको आफ्नो कब्जा त्याग्न पनि माग गर्न सक्ने जेलेन्स्कीले बताएका छन् ।

यसअघि युक्रेनका शीर्ष कमाण्डर ओलेक्जेन्डर सिर्स्कीले युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा आफ्नो सैन्य कार्यालय स्थापना गरेको बताएका थिए । सिर्स्कीका अनुसार सेनाले यस कार्यालयबाट रुसमाथि हमला गर्न जारी राखेको छ ।

युक्रेनको यो कदमप्रति प्रतिक्रिया दिँदै रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले कुर्स्क क्षेत्रका जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्ने बताएका छन् । युक्रेनले पनि बिहीबार रुसी क्षेत्रमा आफ्नो कब्जा जमाएको दाबी गरेको थियो ।

जनरल सिर्स्कीका अनुसार युक्रेनी सेना कुर्स्क क्षेत्रमा हालसम्म ३५ किलोमिटर अगाडि बढेका छन् । यो युक्रेनले रुसमाथि गरेको अहिलेसम्मकै सबैभन्दा ठुलो आक्रमण हो ।

धर्मगुरु विजय कृष्णमूर्तिजी महाराजलाई किन पक्राउ गर्न पशुपति गयो प्रहरी ?

काठमाडौं । शुक्रबार राति एकाएक पशुपति कोटिहोममा तनाव सृजना भयो । प्रहरीले एक महिना सम्म कोटिहोमको आयोजना गरेर बसेका विजय भण्डारी उर्फ विजयकृष्णमूर्तिजी महाराजलाई प्रहरीले पक्राउ गर्न खोजेको भन्दै पशुपति क्षेत्रमा तनाव भएको हो ।

उनले सामाजिक सञ्जालमा लाइभ गरेर आफुलाई प्रहरीले पक्राउ गर्न आएको बताएका छन् । सञ्जालमा लाइभ आएर उनले भनेका छन् – ‘प्रहरी मलाई समात्न आएको छ । प्रहरी आए भौतिक कारवाही गर्र्छौ । बंगलादेशको जस्तो अवस्था आउन सक्छ ।’

प्रहरीले भने महारजलाई सोधपुछ गर्न मात्र आएको बताएका छन् । प्रहरीको नक्कली चारित्रिक प्रमाण पत्र बनाएको आरोपमा उनीमाथि छानबीन चलिरहेको प्रहरीले जनाएको । सोही आरोपमा पक्राउ गर्न प्रहरी त्यहाँ पुगेपनि उनले भने आफूले हिन्दुराष्ट्रको माग गरेकाले पक्राउ गर्न खोजिएको आरोप लगाएका छन् ।

रक्षामन्त्रीको टोली बाढी प्रभावित क्षेत्र सोलुखुम्बु पुग्यो

काठमाडौं । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ ।

त्यहाँस्थित थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासि उल्र्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्य चौकीमा क्षति पु(याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकीगरी २० घरमा क्षति पुगेको छ । रक्षामन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा आज बिहान प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता गौरव केसीले जानकारी दिए ।

हिमताल फुटेर खुम्बुमा बाढी आएको अनुमान, बाढीका कारण खोलाको तटीय क्षेत्रमा कटान जारी

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ । बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ ।

खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ । बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ ।

उक्त बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ । बाढीले कोसी आसपासका क्षेत्र कटान गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पक्की मोटरेबल पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ । प्रहरी नायब उपरीक्षक घिमिरेले भने, “बाढीले जिल्लाको तल्लो क्षेत्रमा पनि क्षति पुर्याएको खबर छ, सोताङ र थुलुङ दूधकोसी जोड्ने दिप्लीघाटस्थित दूधकोसी नदी छेउमा राखिएको बेलीबृजको सामान बगाएको छ, नदी आसपासका बस्तीमा पनि सामान्य क्षति पुगेको छ । बाढी आउनुको कारण खुल्न सकेको छैन ।”

खुम्बु क्षेत्रबाट उक्त बाढी हिमताल फुटेर आएको हुनसक्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए । कुन हिमताल फुट्यो भन्ने यकीन नभएको उनको भनाइ छ । बाढीले गाउँ नै बगाएको स्थानको स्थलगत निरीक्षणमा रक्षामन्त्री मानवीर राईसहित विपत् व्यवस्थापन समितिको टोली आज आउने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए ।

गठ्ठाघर दुर्घटनाको सत्यतथ्य जाँच गर्न छानविन समिति गठन

काठमाडौं । भक्तपुरको गठ्ठाघर दुर्घटनाको सत्यतथ्य जाँच गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज छानबिन समिति गठन गरेको छ ।

बिहीबार दिउँसो गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नंको ट्रकले बा३९प ८९४४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको नेतृत्वको बैठकले सरोकारवालासँग छलफल गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्रप्रसाद निरौलाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिको सदस्यमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी नायब उपरीक्षक राजन कार्की, यातायात व्यवस्था विभाग सवारी चालक अनुमतिपत्र राधेराधे कार्यालयका उत्तम बस्नेत र नागरिक समाजका तर्फबाट मृतकका आफन्त पर्ने तुलसीहरि कोइराला छन् ।

यसअघि आजै गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न प्रहरीले पनि छानबिन समिति गठन गरिसकेको छ । गृह मन्त्री रमेश लेखकको निर्देशनपछि उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनाएर आजदेखि काम सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

मौसमः देशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । आज देशरभर सामान्य बदलि रहने पूर्वानुमान गरिएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ भने बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको ।

आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पाउन्डको मूल्य बढेको छ भने अमेरिकी डलर, युरो, दिनारसहित धेरैजसो विदेशी मुद्रा सस्तिएका छन्।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ११ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८९ रुपैयाँ २४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८९ रुपैयाँ २६ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४४० रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ १९ पैसा र बिक्रीदर ४४० रुपैयाँ १५ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५३ र बिक्रीदर ३५७ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५६ र बिक्रीदर ३५७ रुपैयाँ १५ पैसा थियो।

आजको राशिफल (२०८१ भाद्र १ गते शनिबार)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
दिन फलदायी रहने छ। आय आर्जनका नयाँ बाटाहरु खुल्न सक्छन् ।घरदेखी टाढा गएर काम गरेमा सफलता मिल्नेछ। व्यस्त भएर दिन बित्नेछ। छोटा मोटा यात्राहरु गर्नुपर्ला। नयाँ सम्बन्धको सुत्रपात हुनसक्छ । आय व्ययको सन्तुलन हुनाले फाइदा भने शून्य नै हुनसक्ला।भावी योजना प्रतिफल हुने कार्यमा लगानी गर्नुहोला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
मनमा कुराहरु खेलीरहने भएकोले कुनै निर्णय गर्न सकिंदैन ।मंगलको कारण सैन्य ससस्त्र प्रहरी जवानहरुका लागि पदोन्नति तथा वैदेशिक क्षेत्रमा अवसर मिल्ने दिन छ।आर्थिक र सरकारी कामकाजमा बाधा व्यवधान हुनेछ।हनुमानको उपासना गरे राम्रो होला।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
समय रामो छ। राजनैतिक तथा प्रसासनिक कार्यमा प्रभुत्व रहने छ। कर्मचारी वर्गहरुलाइ स्याबासी मिल्ने दिन रहेको छ। बिद्यार्थी बर्गहरुले सामाजिक कार्यमा योगदान गर्नुपर्ने हुनसक्छ। दिनको उत्तरार्धमा विशिष्ट महानुभावसँग भेटघाटका साथ गौरवशाली कार्यमा योगदान गर्न पाउने अवसर प्रप्त हुन सक्छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मध्यम समय छ शनिमाथी चन्द्रमाको शुभ प्रभाव रहनाले सुख सान्ति र सन्तोष मिल्नेछ । आज धन लाभको राम्रै योग परेको छ। राहुमाथी चन्द्रमाको प्रतिकुल प्रभावका कारण अपरान्ह पछाडी पेट सम्बन्धी स्वास्थ्य समस्या हुन सक्छ। धेरै मेहनतको बाबजुद मात्रै वैदेशिक क्षेत्र सम्बन्धी काममा सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आजको दिन राम्रै छ। व्यस्तताको बाबजुत समय बित्ने छ।आर्थिक पाटो सामान्य छ।कार्यमा ढिलासुस्ती सम्भव छ।पारिवारिक असहयोगले खिन्नता बढाउन सक्छ। हनुमानको आराधना पुर्वक दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
वाणिमा नियन्त्रण गरि कार्य गरेको राम्रो हुनेछ। पशु चौपाय तथा गाडी वाहन सम्बन्धी काम गर्ने महानुभावको दिन फलदायी रहेको छ । कर्मचारी तथा विधार्थी वर्गका लागि भने कार्यालयगत झन्झटले काममा ढिलासुस्ती हुनसक्छ।वैदेशिक कार्यक्षेत्र सम्बन्धी काम गर्ने दिन हो आज। आगो तथा करेन्टबाट सावधान रहनु होला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शैक्षिक क्षेत्रबाट अर्थलाभ हुने दिन रहेको छ। सरकारी कामकाजमा ढिलासुस्ती हुनेछ। सोचे अनुरुप परिवारको साथ नमिल्न सक्छ। आजको दिन कसैलाइ आर्थिक सहयोग नगरेकै राम्रो।पछि फिर्ता नहुन पनि सक्छ। ॐ गं गणपतये नमस् यो मन्त्र २४ पटक कम से कम वा सो भन्दा बढी जप गर्नुहोला दिन थप उर्जावान बन्नेछ।

वृश्चिक (तो , ना, नि, नु, ने, नो, या, यि, यु )
सामान्य तवरले दिन बित्ने देखिन्छ। काममा ढिलासुस्ती र अल्झन कायमै रहला।छाला तथा नेत्र विकार सम्बन्धि समस्या संभव छ। पुरानो मित्रको सहयोगले मात्र काम बन्न सक्छ। ॐ घृणी सुर्याय नमस् यो मन्त्रको २१ पटक जाप गरि दिनको आरम्भ गर्नु राम्रो हुनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
आर्थिक तथा कार्यगत हिसाबले दिन राम्ररी बित्नेछ । भाग्य बलियो भएकोले अड्किएका कामहरु बन्लान।घर भित्रको काममा सामान्य झमेला सम्भव छ। व्यवसायीक तथा प्रसासनिक काममा भने सुर्यको प्रभावले सफलता मिल्नेछ। मङ्गल प्रभावशाली भएकोले शत्रुहरु शरण पर्न आउनेछ्न।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
आर्थिक हिसाबले निकै राम्रो समय छ। राजनीतिमा मन जानेछ ।गुमेको सम्पत्ती हात लाग्न सक्छ। परिवार जनसँग भने छुट्टीएर बस्नुपर्ने हुनसक्छ।सन्तानको लागि लागानी गर्ने समय हो।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
आजको दिन फलदायी रहेको छ। गुमेको धन फिर्ता हुनसक्छ । विछोडीएको मित्रसँग भेट हुनसक्छ।पतिपत्नीको सहकार्यमा नयाँ कामको थालनी गर्न आजको दिन राम्रो मानिएको छ। सन्तान वर्गको प्रगतिले मनमा हर्ष होला।भुमी तथा वित्तिय क्षेत्रमा लगानी गर्नु उचित हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
स्वामी तृतिय हुनाले दिन प्रगतिशील देखिन्छ ।आय आर्जनका नयाँ श्रोतहरु मिल्नेछ्न। आज फलफुल अनाज कपडा सम्बन्धी कारोबार गर्ने लेखा सम्बन्धि काम गर्ने मित्रहरूले विशेष लाभ उठाउनु हुनेछ । नोकरी एवं राजनितिमा अपरान्ह पछि पदिय जिम्मेवारी पुर्वक सम्मान ग्रहण गर्ने अवसर मिल्न सक्छ।

उद्योगीले विद्युतको बक्यौता जुनसुकै हालतमा तिर्नै पर्छः सभापति खतिवडा (भिडिओ)

काठमाडौं । संसदीय राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले उद्योगीहरुले विजुलीको महशुल जुनसुकै हालतमा बुझाउनु जिकिर गरेका छन् । तराई विकास तथा सञ्चार केन्द्र काठमाडौंले आयोजना गरेको सुशासनको क्षेत्रमा देखिएका चुनौती विषयक छलफल कार्यक्रममा विवादमा रहेको डेडिकेटेट र ट्रङ्कलाईनको विषयमा बोल्दै खतिवडाले जनतालाई अध्यारोमा राखेको तर उद्योगीहरुलाई विजुली दिएको र त्यसवापतको रकम जुनसुकै हालतमा बुझाउनुपर्ने अडान लिएका हुन् ।

प्रतिनिधिसभा र समितिमासमेत उनले नेपाल विद्युत प्राधिकरणले विल तिर्न ताकेता गर्नु र लाईन काट्नु जायज भएकोसमेत बताउदै आएका छन् । उनले अविलम्ब उद्योगीहरुले महसुल बुझाउनु पर्ने विषय उठाउदै आएका हुन् ।

उनले भने– ‘कसैको पनि आट होला ? नेपाली जनताहरु १८ घण्टा अन्धकारमा बसेका वेला २४ घण्टा उद्योग धन्दालाई विजुली दिने अनि त्यो वापतको पैसा दिनुहोस् भन्दा पैसा दिनौं भन्ने ? जति प्रयोग गरेको छ प्रयोग गरेको सबै पैसा व्यापारीहरुहरुले बुझाउनै पर्छ । विभिन्न वाहानामा यसलाई रोक्न पाइदैन ।’

२/४ हजार रकम नदिर्ता लाइन काटिने तर लाखौं करोडौं हुँदै अर्व पुगेपछि जोडिने पद्दतीको विकास हो भने त्यसले सुशासनको अनुभुति नदिने खतिवडाको जिकिर थियो ।

अर्को प्रसंगमा वर्तमान सरकारले भ्रष्टचारका विषयमा हदबन्धी राख्ने प्रावधान ल्याउन खोजेको भन्दै खतिवडाले असन्तुष्टि व्यक्त गरेका छन् ।

खतिवडाले भने– ‘जनतामा निरासा छ । दुई वटा ठूला पार्टी मिलेर वर्तमान सरकार निर्माण भएको छ । नयाँ सरकारका प्रधानमन्त्रीले आफु नियुक्त भइरहदा पहिलो प्रतिवद्धता प्रधानमन्त्री ज्युले देशलाई शुसासन दिने परिकल्पनाका कुराहरु गर्नु भएको छ । म उहाँलाई शुभकामना दिन चाहन्छु । काम अब ढिला नगरी गर्न अनुरोध गर्दछु ।’
उनले कार्यकारी प्रमुख, संस्थाका प्रमुख, विभागीय प्रमुख, मन्त्रालयका प्रमुखहरु जो हुनुहुन्छ आफ्नो ठाउँबाट कानुन संवत रुपमा जनतालाई दुःख नदिने गरी सहि निर्णय गर्ने हो भने शुसासन टाढा नभएको बताएका छन् ।

उनले विगतमा भएको एनसेल काण्डको विषय स्मरण गर्दै जसले बदमासी गर्छ त्यो नै पहिले सबै नेतृत्वमा पुग्ने गरेको बताए । सोहि कारण काम गर्ने वातावरण सृजना गर्न अफ्ठेरो रहेको पनि उनले बताएका छन् ।

‘शासन प्रणाली सुध्रिए मात्र देश सुध्रिन्छ’

काठमाडौं । देशमा शासन प्रणाली सुध्रिएमा मात्र देश सुध्रिने सरोकारवालाहरुले बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र काठमाडौंले आयोजना गरेको सुशासनको क्षेत्रमा देखिएका चुनौती विषयक छलफल कार्यक्रममा सरोकारवालाहरुले भावि पुस्ताका लागि भएपनि अहिलेको शासन प्रणाली सुध्रनु जरुरी रहेको बताएका हुन् ।

शुक्रबार काठमाडौंको विजुलीबजार स्थित कार्निवल रेष्ट्रोमा केन्द्रका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाईको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा वर्तमान अवस्थामा शासकसँग नागरिक खुसी नभएकोले पहिलो नम्बरमा शासक नै सुध्रनु पर्नेमा सरकोकारवालाहरुले जोड दिएका हुन् ।

भ्रष्टचारका विषयमा हदबन्दी राम्रो होइनः रामहरि खतिवडा

संसदीय राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले वर्तमान सरकारले भ्रष्टचारका विषयमा हदबन्धी राख्ने प्रावधान ल्याउन खोजेको विषयमा असन्तुष्टि व्यक्त गरेका छन् ।

छलफल कार्यक्रममा बोल्दै सभापति खतिवडाले शुसासनका लागि जनताका पक्षमा कानुनहरु निर्माण गर्नुपर्ने जरुरी रहेको बताएका हुन् ।

खतिवडाले भने– ‘जनतामा निरासा छ । दुई वटा ठूला पार्टी मिलेर वर्तमान सरकार निर्माण भएको छ । नयाँ सरकारका प्रधानमन्त्रीले आफु नियुक्त भइरहदा पहिलो प्रतिवद्धता प्रधानमन्त्री ज्युले देशलाई शुसासन दिने परिकल्पनाका कुराहरु गर्नु भएको छ । म उहाँलाई शुभकामना दिन चाहन्छु । अब ढिला नगरी गर्न अनुरोध गर्दछु ।’
उनले कार्यकारी प्रमुख, संस्थाका प्रमुख, विभागीय प्रमुख, मन्त्रालयका प्रमुखहरु जो हुनुहुन्छ आफ्नो ठाउँबाट कानुन संवत रुपमा जनतालाई दुख नदिने गरी सहि निर्णय गर्ने हो भने शुसासन टाढा नभएको बताएका छन् ।

उनले विगतमा भएको एनसेल काण्डको विषय स्मरण गर्दै जसले बदमासी गर्छ त्यो नै पहिले सबै नेतृत्वमा पुग्ने गरेको बताए । सोहि कारण काम गर्ने वातावरण सृजना गर्न अफ्ठेरो रहेको पनि उनले बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणको डेडिकेटेट रट्रङ्कलाईनको विवादका विषयमा उनले भने– ‘कसैको पनि आट होला ? नेपाली जनताहरु १८ घण्टा अन्धकारमा बसेका वेला २४ घण्टा उद्योग धन्दालाई विजुली दिने अनि त्यो वापतको पैसा दिनुहोस् भन्दा पैसा दिनौं भन्ने । जति प्रयोग गरेको छ प्रयोग गरेको सबै पैसा व्यापारीहरुहरुले बुझाउनै पर्छ । विभिन्न वाहानामा यसलाई रोक्न पाइदैन ।’

उनले उद्योगीहरुले विजुली प्रायोग गरे वापतको रकम जुनसुकै हालतमा पनि तिर्नुपर्ने अडानसमेत राखेका छन् । प्राधिकरणले विद्युतको विल तिर्न राखेका विषय कहि कतै गलत नभएको समेत उनले बताए । २/४ हजार रकम नदिर्ता लाइन काटिने तर लाखौं करोडौं हुँदै अर्व पुगेपछि जोडिने पद्दतीको विकास हो भने त्यसले सुशासनको अनुभुति नदिने खतिवडाको जिकिर थियो ।

प्रतिवेदन पेश हुन्छ तर त्यस उपर छलफल ढिलो हुन्छः तोयम राय

महालेखा परिक्षक तोयम रायले सबै तहको लेखा परिक्षण गर्ने र लेखा परिक्षण गरेपछि तत तत निकायमा प्रतिवेदन दिने तर त्यस उपर छलफल ढिलो हुने बताएका छन् ।

उनले भने– ‘कतिपय अवस्थामा प्रतिवेदन पेश गर्छौ । त्यहाँ धेरै विषय उल्लेख गरिएको हुन्छ । ति प्रतिवेदनहरु समयमा छलफल भएनन् भने त्यसमा उठाइएका विषयहरु अलिक ढिलो छलफल भयो भने त्यति धेरै अर्थ रहदैन ।’
प्रतिवेदनका विषयमा राम्रोसँग छलफल गरेर कार्यान्वयनमा ल्याएमा केही हदसम्म शुसासनको केही संकेत चै दिन सकिने उनले बताए ।

उनले यहि वर्ष पनी विभिन्न आठ वटा क्षेत्रमा प्रतिवेदनहरु पेश गरेको बताएका छन् । अर्थतन्त्र, शासकीय प्रवन्ध, सम्पत्ति व्यवस्थापन, वित्तिय व्यवस्थापन, खरिद व्यवस्थापन, सूचना प्रविधिलगायत विषयमा प्रतिवेदन प्रस्तुत गरेका उनले बताए । कतिपय कानुनहरु एक आपसमा बाझिएका छन् त्यसले गर्दा के गर्ने हो कता जाने हो भन्ने विषयमा अलमल भएको रायले बताए । उनले संघियतामा प्रवेश गरेपछि कतिपय ऐनहरु तत्काल आउनुपर्ने मा ढिलो भएको बताएका छन् ।

जनताले बढी गुनासो गर्ने ठाउँ अख्तियार रहेछः नरहरि घिमिरे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जनताले सुशासन खोज्ने ठाउँ अख्तियार भएको बताएका छन् । उनले जनताले गुनासो गर्ने प्रत्येक निकायमा भएपनि जनताले तत तत निकायमा उजुरी गर्ने भन्दा अख्तियारमा नै उजुरी गर्ने गरेको बताए । उनले जनताले विभिन्न तरिकाले उजुरी गर्ने र त्यस उपर कार्वाही गर्ने उनले बताए ।

उनले भने– ‘आएका उजुरी माथि हामी छानविन गर्छौ । त्यसमा अनुसन्धान र कार्वाही गर्छौ । विशेष अदालतसम्म लान्छौं हामिले हामिले त्यसका लागि विभिन्न कानुनहरु प्रयोग गछौं ।’

शुसासन कायम गर्ने काममा ठूलो चुनौति देखिएको पनि उनले बताएका छन् ।

आउने पिडिलाई टिकाइ राख्न शुसासन जरुरी छ : नवराज अधिकारी

राजश्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले आउने पिडिलाई टिकाइ राख्न शुसासनको आवश्यकता रहेको औंल्याएका छन् । उनले अबको औजार राजनीतिक, आर्थिक, प्रसाशनीक शुसासन आवश्यक रहेको बताएका हुन् ।
राजनीतिक तथा प्रशासनीक नेतृत्वले पनि नैतिकता, निष्ठा, विवेकसिलतामा आधारीत रहेर कृयाकलाप सञ्चालन गर्ने हो भने पक्कैपनि शुसासन स्थापित गर्न सक्छौं ।

उनले भने– ‘सबै खोसा खोस, देश विग्रे दोषा दोष । देश विग्रे के कारणले ? कर्मचारीका कारणले, राजनीतिका कारणले, पत्रकारका कारणले ? तर हाम्रो भुमिका के छ भन्ने मा हुन्छ । सकेसम्म कर छली गर्ने कर कानुनको परिपालना नगर्ने खालका अवैधानीक र अनैतिक गतिविधि गर्ने गरेको पाइन्छ । अनि कहाँ हुन्छ शुसासन ।’

देशको अवस्था दयनीय छः सागर पण्डित

नेपाल समाचार पत्र दैनिकका सम्पादक सागर पण्डितले देशको अवस्था दयनीय भएको उल्लेख गरेका छन् । उनले सर्वप्रथम देशमा शुसासन कायम गर्न पहिले शासक सुध्रनु पर्ने जिकिर गरेका हुन् ।

उनले भने– ‘शुसासन कोमामा पुगेको छ । लगभग लगभग मृत सो-सरह पुगेको छ । जनतामा यस्तो निरासा छ कि शुसासन हुन्छ की हुँदैन् भन्ने छ । अहिलेका शासकहरुबाट देशमा शुसासन हुन्छ भन्ने विषय एक रति पनि जनतामा विश्वास छैन । हाम्रो मुलुकको नेता, कर्मचारी र व्यापारीहरु सुध्रनु पर्छ । यदि शुसासन कायम गर्ने हो भने ।’

उनले पछिल्लो पटक सरकारले भ्रष्टचारमा विषयमा हदम्यादको विषयमा कानुन बनाउन खोजेको भन्दै यसको विरोध गर्नुपर्ने बताएका छन् ।

पण्डितले विद्युत प्राधिकरणले उद्योगिहरुलाई विजुलीको विल तिर्न ताकेता गरेपनि उद्योगीहरुले नतिर्न खोजेको भन्दै जुनसुकै हालतमा महसुल तिर्नु पर्नेसमेत बताएका छन् ।

गठ्ठाघर दुर्घटना : सिसी टिभी सार्वजनिक, चेकिङ्ग पोस्ट काटेपछि दुर्घटना

काठमाडौं । काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा४९प ८९४४ नम्बरको स्कुटरलाई ना६ ख २१७३ नम्बरको भाडाको ट्रकले पछाडिबाट ठक्कर दिँदा चालकको मृत्यु भएको घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएको छ ।

सो घटनामा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका ६५ वर्षीय उत्तम कोइरालाको मृत्यु भएको थियो । यो घटनालाई ट्राफिक चेकिङसँग जोडिएको थियो । ट्राफिक चेकिङका क्रममा दुर्घटना भएको भन्दै ट्राफिक प्रहरीको चर्को आलोचनासमेत भएको थियो । आक्रोशित भीड ट्राफिक प्रहरी अगाडि पुगेपछि उनीहरुको भागाभागसमेत भएको थियो ।

फुटेजको दृश्य अनुसार ठक्कर दिएपछि चालकलाई ट्रकले लछारेको देखिन्छ । भाडा ट्रकले बायाँतर्फ गुडिरहेको स्कुटरलाई ठक्कर दिएको देखिएको । ट्राफिक प्रहरीको चेकजाँच कटेपछि दुर्घटना भएको फुटेजमा देखिन्छ ।

ट्रक चालकले बायाँतर्फ गुडिरहेको स्कुटर देख्न नसक्दा दुर्घटना भएको ट्राफिक प्रहरीका अधिकृतहरु बताउँछन् ।

स्विडेनमा पहिलो पटक भेटियो मंकीपक्सको विरामी

एजेन्सी । अफ्रिका मात्र देखिएको मंकीपक्सका विरामी पहिलो पटक स्वीडेनमा भेटिएको छ ।

स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले स्विडेनमा मंकीपक्सको पहिलो केस फेला परेको जानकारी दिएको हो ।

मंकीपक्सबाट संक्रमित व्यक्ति अफ्रिका बसेर फर्केका भएको बताइएको छ ।

अफ्रिकाका केही भागमा एमपोक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेको छ । संस्थाले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयको रुपमा समेत व्याख्या गरेको छ ।

स्वीडेनको पब्लिक हेल्थ एजेन्सीका कार्यवाहक प्रमुख ओलिभिया विग्जेलका अनुसार संक्रमित व्यक्तिले स्टकहोममा उपचार गराउन आग्रह गरेका थिए ताकि अन्य व्यक्तिमा संक्रमणको जोखिम कम होस् ।

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर पनि यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका थिए ।

अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएका छन् ।